द्वेष नराख्नुहोस्
अरूले हाम्रो चित्त दुखाउँदा द्वेष नराख्नु साह्रै कठिन चुनौती हुनसक्छ। तर बाइबलले त्यस्तो बेला के गर्नुपर्छ भन्नेबारे व्यवहारिक सल्लाह दिन्छ। यस सम्बन्धमा प्रेरित पावलले यसो भने, “क्रोध गर, तर पाप नगर, घाम अस्ताउन अघिनै तिमीहरूको रीस मरोस्।”—एफिसी ४:२६.
अरूले हाम्रो हानि गर्दा रिस उठ्नु स्वाभाविक हो। पावलले “क्रोध गर” भन्नुको अर्थ कुनै कुनै बेला रिस गर्नु उचित हुनसक्छ। शायद अरूले नराम्रो व्यवहार वा पक्षपात गर्दा रिसाउनु उचित हुनसक्छ। (२ कोरिन्थी ११:२९ तुलना गर्नुहोस्।) तर रिस उचित होस् वा अनुचित त्यसलाई वशमा राखेन भने डरलाग्दो नतिजा हुनसक्छ र गम्भीर पाप गर्न पुग्नसक्छ। (उत्पत्ति ३४:१-३१; ४९:५-७; भजन १०६:३२, ३३) त्यसोभए रिस उठ्दा के गर्न सकिन्छ त?
सानोतिनो भूलले गर्दा रिस उठेको हो भने त्यसलाई “चूपचाप” बिर्सनसक्छौं वा भूल गर्ने व्यक्तिसँग कुरा गर्नसक्छौं। (भजन ४:४; मत्ती ५:२३, २४) तर यीमध्ये जे गरे तापनि तुरुन्तै समस्या समाधान गरिहाल्नु चाहिं सबैभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसो गरेमा द्वेष बढेर नराम्रो नतिजा हुन पाउँदैन।—एफिसी ४:३१.
हामीले अज्ञानतामा गरेका भूलहरूलाई यहोवाले उदार हृदयले क्षमा गर्नुहुन्छ। के हाम्रा सहमानवहरूले सानातिना भूल गर्दा त्यसै गर्न सक्दैनौं र?—कलस्सी ३:१३; १ पत्रुस ४:८.
चाखलाग्दो कुरा, “क्षमा” अर्थ लाग्ने युनानी शब्दको अक्षरसः अर्थ “बिर्सिनु” हुन्छ। तसर्थ, क्षमा गर्नुको अर्थ अरूको गल्तीलाई सानो बनाउनु वा बेवास्ता गर्नु होइन। बरु, कसैप्रति द्वेष राख्नु बोझ हो र त्यसले मसीही मण्डलीको एकतालाई भंग गर्नसक्छ भनेर मनमा राख्दै अरूको भूलचूकलाई “बिर्सनु” त्यसमा समावेश हुनसक्छ। यसबाहेक, द्वेष राख्नाले आफ्नै स्वास्थ्यलाई हानि पुग्नसक्छ।—भजन १०३:९.