प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ७/१५ pp. २६-२९
  • गमलिएल तिनले टार्ससका शावललाई सिकाए

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गमलिएल तिनले टार्ससका शावललाई सिकाए
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • गमलिएल को थिए?
  • गमलिएलबाट सिकाइएका—कसरी?
  • गमलिएलका शिक्षाहरूको मुख्य उद्देश्‍य
  • पावलको लागि यसले के अर्थ राख्यो?
  • “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍नै पर्छ”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • मिश्‍नाह र परमेश्‍वरले मोशालाई दिनुभएको व्यवस्था
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • अन्तिम विजयतर्फ अघि बढिरहेको!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • तपाईं कसको आज्ञा मान्‍नुहुन्छ—परमेश्‍वरको कि मानिसहरूको?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ७/१५ pp. २६-२९

गमलिएल तिनले टार्ससका शावललाई सिकाए

भीड चुपचाप लागेर उठे। केही क्षणअघि मात्रै तिनीहरूले झन्डै प्रेरित पावललाई मारेका थिए। टार्ससका शावल भनेर पनि चिनिने पावललाई रोमी सेनाले बचाएको थियो। अनि अहिले यरूशलेममा मन्दिर नजीकैको भऱ्‍याङमा मानिसहरूसित मुठभेड भयो।

पावलले चुप लाग्ने इशारा गर्दै हिब्रू भाषामा यसो भने: “ए भाइ तथा बाबै हो, अब तपाईंहरूका सामु दिने मेरो जवाफ सुन्‍नुहोस्‌। . . . म साँच्चिनै सिलिसियाको शहर टार्ससमा जन्मेको एक यहूदी मानिस हुँ। तापनि गम[लिए]लका चरणमा यही शहरमा हुर्किएको हुँ। औ हाम्रा पुर्खाका व्यवस्थाको विधिमा ठीक ठीक शिक्षा पाएको हुँ। आज तपाईंहरू परमेश्‍वरतर्फ जतिका कट्टर हुनुहुन्छ, म पनि त्यतिकै कट्टर थिएँ।”—प्रेरित २२:१-३.

जीवन खतरामा पर्दा सुरुमै पावलले आफ्नो बचाउको निम्ति गमलिएलबाट शिक्षा पाएको हुँ भनी किन भने? गमलिएल को थिए र तिनीबाट शिक्षा पाउनुमा के समावेश थियो? शावल पछि गएर मसीही प्रेरित पावल भइसकेपछि पनि के यो प्रशिक्षणले अझै प्रभाव पाऱ्‍यो?

गमलिएल को थिए?

गमलिएल चिरपरिचित फरिसी थिए। तिनी प्राचीन हिलेलका नाति थिए, जसले फरिसी यहूदी धर्म अपनाउनेहरूका लागि दुइ ठूल-ठूला पाठशालामध्ये एउटा खोलेका थिए।a हिलेलको शिक्षणशैली तिनका प्रतिद्वन्द्वी शामीको भन्दा बेस मानिन्थ्यो। सा.यु. ७० मा यरूशलेमको मन्दिरको विनाशपछि यहूदीहरू बेट शामीभन्दा (शामीका घर) बेट हिलेललाई (हिलेलको घर) बढी रुचाउँथे। मन्दिरको विनाशसँगसँगै यहूदी धर्मका अन्य सबै गुटहरू लोप भएकोले हिलेलको घर यहूदी धर्मको आधिकारिक अभिव्यक्‍ति भयो। बेट हिलेलका निर्णयहरूलाई मिश्‍नाहमा अक्सर यहूदी नियमको आधार मानिन्छ जुन पछि ताल्मुदको जग बन्यो र स्पष्टतः यसको प्रधानताको मुख्य कारण पनि गमलिएलको प्रभाव नै थियो।

गमलिएललाई असाध्यै आदर गरिएकोले रब्बीभन्दा धेरै उच्च पदवी, रब्बन पाउने पहिलो व्यक्‍ति तिनी थिए। वास्तवमा, गमलिएल आदरणीय व्यक्‍ति मानिएकोले तिनीबारे मिश्‍नाह यसो भन्छ: “प्राचीन रब्बन गमलिएलको मृत्युपश्‍चात्‌ तोरहको महिमा अन्त भयो र स्वच्छता तथा सन्त [शाब्दिक “पृथक्‌ता”] नाश भयो।”—सोता ९:१५.

गमलिएलबाट सिकाइएका—कसरी?

प्रेरित पावलले यरूशलेमको भीडलाई ‘गमलिएलका चरणमा शिक्षा’ पाएको भनेर के भन्‍न खोजिरहेका थिए? गमलिएलजस्ता गुरुको चेला हुनुमा के समावेश थियो?

जेविस थियोलजिकल सेमिनरी अफ अमेरिकाका प्राध्यापक डोभ जोल्टनेकले त्यस्तो प्रशिक्षणसम्बन्धी यसरी लेख्छन्‌: “मौखिक नियमको यथार्थता अर्थात्‌ यसको विश्‍वसनीयता गुरु-चेलाको सम्बन्धमा पूर्णतया निर्भर हुन्छ: शिक्षकले नियम सिकाउन गरेको हेरचाह र चेलाको त्यो सिक्ने उत्सुकता। . . . अतः चेलाहरूलाई शास्त्रविद्‌हरूको चरणमा बस्न . . . ‘अनि तिर्खाएर तिनीहरूका शब्दहरू पिउन’ आग्रह गरिन्थ्यो।”—एभट १:४, मिश्‍नाह.

एमेल सुरर्र आफ्नो पुस्तक येशू ख्रीष्टको समयमा यहूदीहरूको इतिहास-मा (अंग्रेजी) प्रथम शताब्दीका यहूदी धर्मगुरुहरूको शिक्षण तरिकाबारे प्रकाश पार्छन्‌। तिनी यसो लेख्छन्‌: “प्रख्यात रब्बीहरूले अक्सर निर्देशन पाउन इच्छुक थुप्रै युवाहरूलाई आफू वरिपरि भेला गराउँथे। यसो गर्नुको उद्देश्‍य तिनीहरूलाई विविध तथा जटिल ‘मौखिक नियम’-सित पूर्णतया परिचित गराउनु थियो। . . . यस निर्देशनमा स्मरण-शक्‍तिको अटुट अभ्यास समावेश थियो। . . . गुरुले चेलाहरूसामु निर्णय गर्न केही कानुनी प्रश्‍नहरू प्रस्तुत गर्थे र आफ्ना चेलाहरूलाई जवाफ दिन लाउँथे वा आफै जवाफ दिन्थे। चेलाहरूले पनि गुरुलाई प्रश्‍नहरू सोध्नसक्थे।”

रब्बीहरूको विचारधारामा उत्तीर्णांक प्राप्त गर्नुभन्दा चेलाहरूले मोल्नुपर्ने खतरा भयानक थियो। त्यस्ता गुरुहरूसित अध्ययन गर्ने चेलाहरूलाई यस्तो चेताउनी दिइन्थ्यो: “ज-जसले पढेको कुरामध्ये एउटा मात्र पनि बिर्सिन्छ, उसलाई धर्मशास्त्रले मृत्युदण्ड पाउने योग्यको ठहराउँछ।” (एभट ३:८) “एक थोपो पानी पनि नचुहिने गरी प्लास्टर लगाएको इनार” जस्ता खालका चेलाको सबैभन्दा धेरै प्रशंसा गरिन्थ्यो। (एभट २:८) त्यतिबेला आफ्नो हिब्रू नाउँ टार्ससका शावल भनेर पनि चिनिने पावलले गमलिएलबाट त्यस्तो प्रशिक्षण पाएका थिए।

गमलिएलका शिक्षाहरूको मुख्य उद्देश्‍य

फरिसी शिक्षाशैलीअनुरूप गमलिएलले मौखिक नियममा विश्‍वास राख्न जोड दिए। अतः तिनले प्रेरित धर्मशास्त्रभन्दा रब्बीहरूको विधिलाई बढी जोड दिए। (मत्ती १५:३-९) मिश्‍नाहमा गमलिएलको यस भनाइलाई उद्धरण गरिएको छ: “आफ्नो लागि एक गुरु [रब्बी] भेटाउनुहोस्‌ अनि शंकाबाट मुक्‍त हुनुहोस्‌ किनभने तपाईंले अनुमानको भरमा बढी दशांश दिनु हुँदैन।” (एभट १:१६) यसको अर्थ, हिब्रू धर्मशास्त्रले के गर्ने भनेर स्पष्टसित नबताउँदा कुनै व्यक्‍तिले आफ्नै तर्क वा आफ्नो अन्तस्करणअनुसार निर्णय गर्नु हुँदैन। बरु, तिनले निर्णय गरिदिने एक योग्य रब्बी भेटाउनुपर्थ्यो। गमलिएलअनुसार यसो गरेपछि मात्र कुनै व्यक्‍तिले पाप गर्ने थिएन।—रोमी १४:१-१२ तुलना गर्नुहोस्‌।

तथापि, गमलिएल साधारणतया धार्मिक कानुनी नियमहरूमा सहनशील र उदार मनोवृत्तिको लागि परिचित थिए। उदाहरणका लागि, तिनी निर्णय सुनाउँदा स्त्रीहरूको विचार गर्थे किनभने तिनले “एक मात्र साक्षीको बयानको आधारमा पनि [तिनको पतिको मृत्यु भएमा] पत्नीलाई पुनः विवाह गर्न अनुमति दिन्थे।” (इभामट १६:७, मिश्‍नाह) यसबाहेक पारपाचुके भएकी स्त्रीलाई सुरक्षा दिन गमलिएलले पारपाचुके पत्रमा थुप्रै प्रतिबन्धहरू लागू गरे।

येशू ख्रीष्टका प्रारम्भिक अनुयायीहरूप्रति गमलिएलले गरेको व्यवहारबाट पनि उक्‍त मनोवृत्ति झल्किन्छ। प्रचारको कारण पक्रिएका येशूका प्रेरितहरूलाई अन्य यहूदी धर्मगुरुहरूले मार्न खोज्दा प्रेरितको पुस्तकको विवरण यसरी बताउँछ, “त्यस महासभामा गमलिएल नाउँ भएका एक जना फरिसीले, जो व्यवस्थाका पण्डित र जनतामा माननीय पनि थिए, उठेर यी मानिसहरूलाई केही बेर बाहिर जानलाई आदेश गरे। र तिनले उनीहरूलाई भने, ‘ए इस्राएली हो, यी मानिसहरूका विषयमा तपाईंहरूले जे गर्नआँट्‌नुभएको छ, त्यसमा होशियार हुनुहोस्‌। . . . त अब म तपाईंहरूलाई भन्दछु, कि यी मानिसहरूबाट अलग रहनुहोस्‌, र यिनीहरूलाई छोड़िदिनुहोस्‌, . . . नत्रता तपाईंहरू परमेश्‍वरका विरुद्धमा चलेको ठहरिनुहोला।’” गमलिएलको सल्लाह पालन गरियो र प्रेरितहरूलाई छाडि दियो।—प्रेरित ५:३४-४०.

पावलको लागि यसले के अर्थ राख्यो?

सा.यु. प्रथम शताब्दीका एक महान्‌ रब्बी गुरुबाट पावलले प्रशिक्षण र शिक्षा पाएका थिए। निस्सन्देह, प्रेरित पावलले आफ्नो भाषणमा गमलिएलको उल्लेख गरेपछि यरूशलेमको भीडले विशेष ध्यान दिएर सुन्‍न थाले। तर तिनले गमलिएलभन्दा अति श्रेष्ठ गुरु, मसीह अर्थात्‌ येशूबारे बताए। अब पावलले गमलिएलको चेलाको रूपमा होइन तर येशूको चेलाको हैसियतमा भीडलाई सम्बोधन गरे।—प्रेरित २२:४-२१.

मसीहीको हैसियतमा पावलले दिने शिक्षामा के गमलिएलको प्रशिक्षणले प्रभाव पाऱ्‍यो? सम्भवतः पावललाई मसीही गुरुको रूपमा धर्मशास्त्र तथा यहूदी नियमका कडा निर्देशनहरू उपयोगी साबित भए। यद्यपि, बाइबलमा पाइने पावलका ईश्‍वरप्रेरित चिठीहरूले स्पष्टसित देखाएअनुसार तिनले गमलिएलको फरिसी विश्‍वासको सारलाई अस्वीकार गरेको देखिन्छ। पावलले आफ्ना सँगी यहूदीहरू तथा अरू सबैलाई यहूदी धर्मका रब्बीहरू वा मानवनिर्मित परम्पराहरूतर्फ नभई येशू ख्रीष्टतर्फ डोऱ्‍याए।—रोमी १०:१-४.

पावल, गमलिएलकै चेला भइरहेका भए तिनले धेरै मानसम्मानको आनन्द उठाउने थिए। गमलिएलबाट शिक्षा पाएका अन्य व्यक्‍तिहरूले यहूदी धर्मको भविष्य निर्धारण गर्न मदत गरे। उदाहरणका लागि, गमलिएलका छोरा सम्भवतः पावलका सहपाठी सिमोनले रोम विरुद्ध यहूदी विद्रोहमा प्रमुख भूमिका निर्वाह गरे। मन्दिरको विनाशपछि गमलिएलका नाति, गमलिएल द्वितीयले महासभालाई जाबनेमा सारेर यसको अख्तियार पुनर्स्थापित गरे। गमलिएल द्वितीयका नाति जुडा हेनेसेले मिश्‍नाहको संकलन गरे र यो अहिलेसम्म यहूदी मतहरूको आधारशिला भएको छ।

गमलिएलको चेलाको हैसियतमा टार्ससका शावल यहूदी धर्मको असाध्यै प्रतिष्ठित व्यक्‍ति हुनसक्थे। यद्यपि, त्यस्तो पेशाबारे पावलले यसप्रकार लेखे: “जुन कुरा मलाई फायदाका थिए, ती ता मैले ख्रीष्टका निम्ति हानिकानै सम्झें। साँच्चै मेरा प्रभु ख्रीष्ट येशूको ज्ञानको श्रेष्ठताको निम्ति म सब कुरालाई पनि हानिको ठान्छु, जसको निम्ति मैले सबै कुरा गुमाएँ, र ख्रीष्टलाई प्राप्त गरूँ भनेर तिनलाई रद्दी सम्झन्छु।”—फिलिप्पी ३:७, ८.

फरिसीको हैसियतमा आफ्नो लक्ष्यलाई त्यागेर येशू ख्रीष्टको अनुयायी बनेका पावलले आफ्नो पहिलेको गुरुले भनेअनुसार “परमेश्‍वरका विरुद्धमा चलेको ठहरिनुहोला” भन्‍ने सल्लाहलाई व्यवहारमा उतारे। येशूका चेलाहरूलाई सताउन छाडेर पावलले परमेश्‍वर विरुद्ध लड्‌न बन्द गरे। बरु, ख्रीष्टको अनुयायी भएर “परमेश्‍वरका सहकर्मी” बने।—१ कोरिन्थी ३:९.

हाम्रो समयमा यहोवाका जोशिला साक्षीहरूले साँचो मसीही धर्मको सन्देश उद्‌घोषण गरी नै रहेका छन्‌। पावलले जस्तै यिनीहरूमध्ये धेरैले आफ्नो जीवनमा नाटकीय परिवर्तनहरू गरेका छन्‌। केहीले त परमेश्‍वरको राज्य प्रचारकार्य अर्थात्‌ साँच्चै “परमेश्‍वरबाटै[को]” कार्यमा अझ बढी भाग लिन लाभप्रद पेशाहरू पनि त्यागेका छन्‌। (प्रेरित ५:३९) पावलको भूतपूर्व गुरु, गमलिएलको साटो पावलकै नमुना पछ्याएकोमा तिनीहरू कति खुशी छन्‌!

[फुटनोट]

a केही स्रोतहरू गमलिएल हिलेलका छोरा हुन्‌ भन्छन्‌। यस विषयमा ताल्मुदले स्पष्टसित बताउँदैन।

[पृष्ठ २८-मा भएको चित्र]

प्रेरित पावलको हैसियतमा टार्ससका शावलले अन्यजातिका मानिसहरूलाई सुसमाचारको उद्‌घोषणा गरे

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने