प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 ९/१५ pp. ८-१२
  • अन्तस्करण—तपाईंको मार्गदर्शक

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अन्तस्करण—तपाईंको मार्गदर्शक
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • व्यावहारिक हुनुहोस्‌
  • उत्थानदायी मनोरञ्जनबाट आनन्द उठाउनुहोस्‌
  • जोसका साथ प्रचार गर्नुहोस्‌
  • तपाईं सफा अन्तस्करण कसरी कायम राख्न सक्नुहुन्छ?
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • के तपाईंको अन्तस्करणलाई राम्ररी सिकाइएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • २. परमेश्‍वरको नजरमा सफा अन्तस्करण
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • म आफ्नो अन्तस्करणलाई कसरी तालिम दिन सक्छु?
    युवाहरू सोध्छन्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 ९/१५ pp. ८-१२
एक जना ख्रीष्टियनले मासु किनेको देखेर प्रथम शताब्दीका एक दम्पती आपत्ति जनाउँदै

अन्तस्करण—तपाईंको मार्गदर्शक

‘यो आज्ञाको उद्देश्‍य यही हो, कि हामीले शुद्ध मन अनि सफा अन्तस्करणका साथ आपसमा प्रेम गर्नुपर्छ।’ —१ तिमो. १:५.

गीत: ५७, ४८

हामीले के सिक्यौं?

  • स्वास्थ्य उपचारसम्बन्धी निर्णय गर्न अन्तस्करणले कसरी मदत गर्छ?

  • मनोरञ्जनसम्बन्धी निर्णय गर्नुपर्दा अन्तस्करण कसरी भरपर्दो मार्गदर्शक बन्‍न सक्छ?

  • अन्तस्करणले हामीलाई कस्तो असल काम गर्न उत्प्रेरित गर्छ?

१, २. हामीलाई अन्तस्करण कसले दिनुभएको हो? यहोवाले अन्तस्करण दिनुभएकोमा हामी किन आभारी छौं?

यहोवा परमेश्‍वरले मानिसलाई स्वतन्त्र प्राणीको रूपमा सृष्टि गर्नुभयो। मतलब मानिसहरूले आफ्नो लागि आफैले छनौट गर्न सक्छन्‌। तर सही छनौट गर्न सकोस्‌ भनेर यहोवाले मानिसहरूलाई एउटा भरपर्दो मार्गदर्शक दिनुभएको छ र त्यो हो: अन्तस्करण। अन्तस्करण भनेको असल-खराब, सत्य-असत्य चिन्‍ने मनको आन्तरिक शक्‍ति वा विवेक हो। अन्तस्करणले हामीलाई असल काम गर्न उत्प्रेरित गर्छ भने खराब काम नगर्न पनि चेतावनी दिन्छ। यहोवा हामीलाई माया गर्नुहुन्छ र हामीले असल काम गरेको चाहनुहुन्छ। त्यसैले उहाँले हामीलाई अन्तस्करण दिनुभएको छ।

२ आचरणसम्बन्धी बाइबलमा तोकिएको स्तरबाट अहिले धेरै मानिसहरू टाढिएका छन्‌। तैपनि कतिपय मानिसहरू अझै असल काम गर्छन्‌। (रोमी २:१४, १५ पढ्‌नुहोस्‌ ) यसको कारण हो: अन्तस्करण। वास्तवमा अन्तस्करणले मानिसलाई खराब काम गर्नबाट रोक्छ। मानिसहरूमा अन्तस्करण नै नभएको भए संसारको अवस्था अहिलेको भन्दा झनै खराब हुन्थ्यो होला। त्यसैले परमेश्‍वरले हामीलाई अन्तस्करण दिनुभएकोमा आभारी छौं।

३. राम्रो तालिम पाएको अन्तस्करणले मण्डलीलाई कस्तो फाइदा पुऱ्‍याउँछ?

३ प्रायजसो मानिसहरू अन्तस्करणलाई तालिम दिनुपर्छ भन्‍ने कुरा सोच्दा पनि सोच्दैनन्‌। तर यहोवाका सेवकहरू भने आफ्नो अन्तस्करणलाई तालिम दिन्छन्‌। किनकि तिनीहरू आफ्नो अन्तस्करणलाई परमेश्‍वरले तोक्नुभएको स्तरअनुसार बनाउन चाहन्छन्‌। साथै हामीले अन्तस्करणलाई राम्ररी तालिम दिएका छौं भने मण्डलीमा एकता छाउँछ। तर अन्तस्करणलाई तालिम दिन र यसलाई प्रयोग गर्न बाइबलको ज्ञान लिएर मात्र पुग्दैन। हामीले परमेश्‍वरको स्तरलाई प्रेम गर्नुपर्छ र ती स्तरहरू हाम्रै फाइदाका लागि हुन्‌ भनेर विश्‍वास गर्नुपर्छ। अन्तस्करण कसरी प्रेम र विश्‍वाससित सम्बन्धित छ भन्‍नेबारे पावलले यस्तो लेखे: “यो आज्ञाको उद्देश्‍य यही हो, कि हामीले शुद्ध मन, सफा अन्तस्करण अनि निष्कपट विश्‍वासका साथ आपसमा प्रेम गर्नुपर्छ।” (१ तिमो. १:५) अन्तस्करणलाई तालिम दिंदा र यसको आवाज सुन्दा यहोवाप्रति हाम्रो प्रेम र विश्‍वास बढ्‌छ। हामी आफ्नो अन्तस्करणलाई कसरी प्रयोग गर्छौं, त्यसबाट हामी यहोवासित कत्तिको घनिष्ठ छौं र उहाँको आज्ञा मान्‍न कत्तिको इच्छुक छौं भन्‍ने कुरा देखिन्छ। हो, हामीमा भएको यो आन्तरिक शक्‍तिले हामी वास्तवमा कस्ता मानिस हौं भन्‍ने कुरा छर्लङ्‌ग पार्छ।

४. हामी अन्तस्करणलाई कसरी तालिम दिन सक्छौं?

४ हामी अन्तस्करणलाई कसरी तालिम दिन सक्छौं? नियमित रूपमा बाइबल पढेर, मनन गरेर अनि सिकेको कुरा लागू गरेर। हामीले बाइबल पढ्‌नुको उद्देश्‍य ज्ञानको भण्डार बढाउनु वा यहोवाको नीतिनियम सिक्नु मात्र होइन। बरु यहोवा, उहाँको व्यक्‍तित्व, उहाँका गुणहरू अनि उहाँलाई के मनपर्छ, के मन पर्दैन भनेर अझ राम्ररी बुझ्नु हो। यसरी यहोवालाई अझ राम्ररी चिन्दा हाम्रो अन्तस्करणले उहाँको स्तरअनुसार काम गर्न थाल्छ। हो, अन्तस्करणलाई तालिम दिंदा हाम्रो सोचाइ यहोवाको जस्तै हुन्छ।

५. यस लेखमा कुन कुरा छलफल गर्नेछौं?

५ आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: अन्तस्करणलाई तालिम दिएका छौं भने निर्णयहरू गर्नुपर्दा कस्तो फाइदा हुन्छ? अरूले आफ्नो अन्तस्करणको आधारमा गरेको निर्णयलाई हामी कसरी कदर गर्न सक्छौं? जोसिलो भएर सुसमाचार प्रचार गर्न अन्तस्करणले हामीलाई कसरी उत्प्रेरित गर्छ? यी प्रश्‍नहरू मनमा राख्दै यी तीनवटा क्षेत्रमा अन्तस्करणले कसरी मदत पुऱ्‍याउँछ, विचार गरौं: (१) स्वास्थ्य उपचार (२) मनोरञ्जन र (३) प्रचारकार्य।

व्यावहारिक हुनुहोस्‌

६. स्वास्थ्य उपचारको सन्दर्भमा हामीले कस्तो निर्णय गर्नुपर्ने हुन्छ?

६ हाम्रो स्वास्थ्यलाई हानि पुऱ्‍याउने कुराहरूबाट अलग रहन अनि खानपिनको सन्दर्भमा सन्तुलित हुन बाइबलले हामीलाई सल्लाह दिएको छ। (हितो. २३:२०; २ कोरि. ७:१) यस्तो सल्लाहले हामीलाई स्वस्थ रहन मदत पुऱ्‍याउँछ। तैपनि ढल्कँदो उमेर वा रोगबिमारले गर्दा हाम्रो स्वास्थ्य बिग्रँदै जान सक्छ। यस्तो बेला कस्तो प्रकारको उपचारविधि अपनाउने भनेर निर्णय गर्नुपर्ने हुन्छ। अहिले मानिसहरूले आफ्नो स्वास्थ्य उपचार गराउँदा आधुनिक चिकित्सा उपचारविधि वा परम्परागत उपचारविधि अपनाउने गरेको पाइन्छ। केही साक्षीहरूले उपचारविधिको सन्दर्भमा शाखा कार्यालयमा पत्रसमेत पठाएका छन्‌। तिनीहरू यसरी सोध्छन्‌: “यो उपचारविधि साक्षीहरूले अपनाउन मिल्छ कि मिल्दैन?”

७. स्वास्थ्य उपचारको सन्दर्भमा हामी कसरी सही निर्णय गर्न सक्छौं?

७ शाखा कार्यालयले वा एल्डरहरूले मण्डलीका सदस्यहरूको लागि स्वास्थ्य उपचारसम्बन्धी निर्णय गरिदिन मिल्दैन। (गला. ६:५) तर तिनीहरूले बाइबलमा पाइने सिद्धान्तहरू बताउन सक्छन्‌। एउटा सिद्धान्त प्रेषित १५:२९ मा पाइन्छ। त्यस पदमा ‘रगतबाट अलग रहने’ सल्लाह दिइएको छ। त्यसैले उपचार गर्दा रगत र यसको चारवटा मुख्य तत्त्व ख्रीष्टियनहरूको लागि स्वीकार्य छैन। तर रगतका मुख्य तत्त्वबाट निकालिएका सूक्ष्म तत्त्वहरू स्वीकार्ने कि नस्वीकार्ने भन्‍ने निर्णय चाहिं हामी आफैले गर्नुपर्ने हुन्छ।a स्वास्थ्य उपचारको सन्दर्भमा हामीलाई सही निर्णय गर्न मदत दिने अन्य के-कस्ता सल्लाह बाइबलमा पाइन्छ?

८. स्वास्थ्य उपचारसम्बन्धी निर्णय गर्नुपर्दा फिलिप्पी ४:५ ले कसरी मदत गर्छ?

८ कतिपय रोगको उपचार अहिलेसम्म पत्ता लागेको छैन। त्यसैले मानिसहरूले भनेको सबै कुरा पत्याउनु र सुनेको भरमा मात्र कुद्‌नु बुद्धिमानी होइन। हितोपदेश १४:१५ ले पनि यसो भन्छ: “निर्बुद्धि मानिसले आफूले सुनेको एक-एक कुरा पत्याउँछ, चतुर मानिसले चाहिं प्रमाणको आवश्‍यकतालाई बुझ्छ।” पावलले पनि यसो भनेका थिए: “तिमीहरूको व्यावहारिकता सबै मानिसहरूलाई थाह होस्‌।” (फिलि. ४:५) हामी व्यावहारिक छौं भने आध्यात्मिक गतिविधि नै ओझेलमा पर्ने गरी स्वास्थ्यको विषयमा मात्र चिन्ता गर्दैनौं। हामी स्वास्थ्यबारे बढ्‌तै चिन्ता गरिरहन्छौं भने आफ्नै कुरामा ध्यान दिइरहेका हुन्छौं। (फिलि. २:४) तर हाम्रो लागि आध्यात्मिक कुराहरू सबैभन्दा महत्त्वपूर्ण छन्‌। साथै यो सैतानको संसारमा पूर्ण रूपमा स्वस्थ भएको आशा गर्न सकिंदैन।—फिलिप्पी १:१० पढ्‌नुहोस्‌।

शरीरका लागि आवश्‍यक तत्त्वको पूर्ति गर्ने औषधीको विज्ञापन गर्दै एक दम्पती

के तपाईं आफ्नो विचार अरूमाथि थोपर्नुहुन्छ? (अनुच्छेद ९ हेर्नुहोस्‌ )

९. रोमी १४:१३, १९ ले स्वास्थ्यसम्बन्धी निर्णय गर्न कसरी मदत गर्छ? के गरेमा मण्डलीको एकता भङ्‌ग हुन सक्छ?

९ अरूले पनि आफूले जस्तै गर्नुपर्छ भन्‍ने सोचाइ राख्छौं भने हामी व्यावहारिक भइरहेको हुँदैनौं। युरोपेली मुलुकमा एक दम्पतीले शरीरका लागि आवश्‍यक तत्त्वको पूर्ति गर्ने औषधी (फुड सप्लिमेन्ट) खान मण्डलीका दाजुभाइ दिदीबहिनीलाई प्रोत्साहन दिए। ती दम्पतीको कुरा सुनेर कसै-कसैले त त्यो औषधी सेवन गरे। त्यसरी औषधी सेवन गर्दा परिणाम सोचेजस्तो भएन र धेरैले गुनासो गर्न थाले। के खाने र के नखाने भनेर ती दम्पतीले आफ्नो लागि निर्णय गर्न सक्थे। तर आफ्नो दृष्टिकोण अरूमाथि थोपरेर मण्डलीको एकता नै खतरामा पार्नु के ठीक थियो होला त? प्रथम शताब्दीमा पनि रोमका ख्रीष्टियनहरूबीच खानेकुरा वा कुनै दिनलाई विशेष ठान्‍ने सन्दर्भमा बेग्लाबेग्लै धारणा थियो। पावलले ती ख्रीष्टियनहरूलाई यस्तो सल्लाह दिए: “एक जना मानिसले कुनै एक दिनलाई अर्को दिनभन्दा महत्त्वपूर्ण मान्छ तर अर्को मानिसले भने सबै दिनलाई बराबर ठान्छ। हरेक मानिस आफैले सोचविचार गरेर पूर्णतया विश्‍वस्त होस्‌।” त्यसैले हामीले पनि आफ्नो सोचाइ अरूमाथि थोपरेर अरूको लागि ठेस लाग्ने कारण बन्‍नु हुँदैन।—रोमी १४:५, १३, १५, १९, २० पढ्‌नुहोस्‌।

१०. हामीले किन अरूको निर्णयको कदर गर्नुपर्छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌ )

१० कुनै भाइ वा बहिनीले आफ्नो अन्तस्करणको आधारमा निर्णय गर्दा हामीले तिनीहरूले गरेको निर्णयमा औंला ठड्याइहाल्नु हुँदैन वा तिनीहरूलाई सल्लाह दिन हतार गर्नु हुँदैन। कसै-कसैको अन्तस्करण अझै पनि “कमजोर” हुन सक्छ र तिनको अन्तस्करणलाई तालिम चाहिएको हुन सक्छ। अथवा तिनको अन्तस्करण अति नै सङ्‌कुचित हुन सक्छ। (१ कोरि. ८:११, १२) अर्कोतर्फ हामीले आफ्नै अन्तस्करण पनि केलाउनुपर्ने वा तालिम दिनुपर्ने हुन सक्छ। स्वास्थ्य उपचार जस्ता क्षेत्रहरूमा हामी प्रत्येकले आफ्नो लागि आफैले निर्णय गर्नुपर्छ र त्यस निर्णयले गर्दा आउने परिणामको भागीदार पनि आफै हुनुपर्छ।

उत्थानदायी मनोरञ्जनबाट आनन्द उठाउनुहोस्‌

११, १२. मनोरञ्जन छान्दा हामीले बाइबलका कस्ता सल्लाहहरू मनमा राख्नुपर्छ?

११ यहोवा परमेश्‍वर मानिसहरूले रमाइलो गरेको र मनोरञ्जनबाट आनन्द उठाएको चाहनुहुन्छ। सुलेमानले पनि “हाँस्ने एउटा समय,” “नाच्ने एउटा समय” छ भनेका थिए। (उप. ३:४) तर सबै प्रकारको मनोरञ्जनले हामीलाई फाइदा गर्छ वा स्फूर्ति दिन्छ भन्‍ने छैन र रमाइलो गर्नमै धेरै समय बिताउनु पनि ठीक होइन। हाम्रो अन्तस्करणले उत्थानदायी मनोरञ्जनमा भाग लिन कसरी मदत गर्छ?

१२ बाइबलले हामीलाई “शरीरका कामहरू”-बाट अलग बस्न चेतावनी दिएको छ। शरीरका कामहरू के-के हुन्‌? “अवैध यौनसम्बन्ध, अशुद्धपन, छाडा आचरण, मूर्तिपूजा, तन्त्रमन्त्र, दुस्मनी, कलह, डाह, रिस, झगडा, फूट, गुटबन्दी, ईर्ष्या, अनियन्त्रित मद्यपान, भोजको मोजमस्ती र यस्तै अरू कुराहरू।” “यस्ता कुराहरूमा लागिरहने मानिसहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌।” (गला. ५:१९-२१) त्यसकारण हामीले आफैलाई यस्तो प्रश्‍न सोध्नुपर्छ: ‘असाध्यै प्रतिस्पर्धा हुने, राष्ट्रियता झल्किने र हिंसात्मक खेलकुद हेर्न वा खेल्नदेखि मेरो अन्तस्करणले मलाई रोक्छ? अश्‍लील दृश्‍य भएको अथवा अनैतिकता, मद्यपान वा तन्त्रमन्त्र मुछिएको फिल्म हेरौं-हेरौं जस्तो लाग्दा के मेरो अन्तस्करणले मलाई चेतावनी दिन्छ?’

१३. मनोरञ्जन छान्दा १ तिमोथी ४:८ र हितोपदेश १३:२० मा पाइने सिद्धान्तले हामीलाई कसरी मदत गर्छ?

१३ हाम्रो अन्तस्करणलाई तालिम दिन चाहिने सिद्धान्तहरू बाइबलमा पाइन्छ। त्यसोभए मनोरञ्जन छान्‍ने सन्दर्भमा कस्ता सिद्धान्तहरू छन्‌? एउटा, पहिलो तिमोथी ४:८ मा पाइन्छ। त्यहाँ यस्तो लेखिएको छ: “शारीरिक तालिमबाट केही फाइदा . . . हुन्छ।” नियमित तवरमा व्यायाम गर्दा हाम्रो स्वस्थ राम्रो हुन सक्छ। तर हामीलाई समूहमा व्यायाम गर्न मन पर्छ भने नि? यतिबेला हामी कोसँग सङ्‌गत गर्दै छौं भनेर विचार पुऱ्‍याउनुपर्छ। किनकि हितोपदेश १३:२० यसो भन्छ: “बुद्धिमानीहरूको सङ्‌गत गर्नाले बुद्धिमान्‌ होइन्छ, मूर्खहरूसित लागे बरालिन्छ।” हो, मनोरञ्जन छान्दा हामीले बाइबलको सिद्धान्तद्वारा तालिम पाएको अन्तस्करण चलाउनुपर्छ।

१४. एक आमाबुबाले रोमी १४:२-४ मा पाइने सिद्धान्त बुझ्न छोरीलाई कसरी मदत गरे?

१४ क्रिस्टीयान र डान्यालाले किशोरावस्थाका दुई छोरी हुर्काउँदै छन्‌। क्रिस्टीयान यसो भन्छन्‌: “हामीले पारिवारिक उपासनामा मनोरञ्जनबारे कुरा गऱ्‍यौं। कुनै-कुनै मनोरञ्जन हामी साक्षीहरूको लागि उपयुक्‍त छैन भनेर बतायौं। अनि कसलाई साथी बनाउनुपर्छ भनेर पनि छलफल गऱ्‍यौं। हाम्री छोरीले उसको स्कुलमा पढ्‌ने केही साक्षीहरूको आनीबानी त्यत्ति ठीक नलागेको गुनासो गरिन्‌। अनि उसलाई पनि त्यसै गर्ने दबाब महसुस भएको रहेछ। यहोवाले हामी सबैलाई अन्तस्करण दिनुभएको छ अनि के गर्ने, के नगर्ने र कसलाई साथी बनाउने भनेर हामी आफैले निर्णय गर्नुपर्छ भनेर सम्झायौं।”—रोमी १४:२-४ पढ्‌नुहोस्‌।

१. ख्रीष्टियन सभा, एक किशोर टिप्पणी दिंदै, अर्को किशोरचाहिं निदाउँदै; २. एक किशोरले ख्रीष्टियनहरूलाई नसुहाउने व्यवहार देखाउँदा अप्ठ्यारो मान्दै एक भाइ

बाइबलद्वारा तालिम पाएको अन्तस्करणले तपाईंलाई खतराबाट जोगिन मदत गर्छ (अनुच्छेद १४ हेर्नुहोस्‌ )

१५. रमाइलो गर्ने योजना बनाउँदा मत्ती ६:३३ ले कसरी मदत गर्छ?

१५ मनोरञ्जनको लागि कति समय बिताइरहेका छौं, त्यो कुरा पनि विचार गर्नुपर्छ। के तपाईं सभा वा प्रचारमा जाने समयमा अथवा व्यक्‍तिगत अध्ययन गर्ने समयमा साथीभाइहरूसित रमाइलो गर्ने योजना बनाउनुहुन्छ? तपाईं कुन कुरालाई पहिलो स्थानमा राख्नुहुन्छ? येशूले यसो भन्‍नुभएको थियो: “उहाँको राज्यलाई र उहाँको स्तरबमोजिमको असल कामलाई पहिलो स्थान दिइरहो अनि यी सबै कुरा तिमीहरूलाई दिइनेछ।” (मत्ती ६:३३) के तपाईंको अन्तस्करणले तपाईंलाई येशूको यो सल्लाह पालन गर्न उत्प्रेरित गर्छ?

जोसका साथ प्रचार गर्नुहोस्‌

१६. हाम्रो अन्तस्करणले हामीलाई के गर्न उत्प्रेरित गर्छ?

१६ हाम्रो अन्तस्करणले हामीलाई खराब कामविरुद्ध चेतावनी दिने मात्र गर्दैन। यसले हामीलाई असल काम गर्न पनि उत्प्रेरित गर्छ। घरघरको प्रचारकार्यमा भाग लिंदा र अनौपचारिक साक्षी दिंदा हामीले असल काम गरिरहेका हुन्छौं। पावललाई तिनको अन्तस्करणले प्रचार गर्न उत्प्रेरित गरेको थियो। तिनले यस्तो लेखे: “यो त मेरो दायित्व नै हो। बरु मैले सुसमाचार सुनाइनँ भने मलाई धिक्कार छ!” (१ कोरि. ९:१६) पावल जस्तै प्रचारकार्यमा सक्रिय भयौं भने हाम्रो अन्तस्करण सफा हुन्छ र आफूले ठीक काम गरेकोमा ढुक्क हुन सक्छौं। यस काममा भाग लिंदा मानिसहरूले हाम्रो असल आचरण देख्छन्‌ र बाइबलमा पाइने ज्ञानले तिनीहरूको मन छुन सक्छ। पावलले यसो भने: “सत्य प्रकट गरेर परमेश्‍वरको नजरमा हामी आफैलाई हरेक मानिसको अन्तस्करणसामु सिफारिस गर्छौं।”—२ कोरि. ४:२.

१७. एक बहिनीले आफ्नो अन्तस्करणको आवाज सुनेको कसरी देखाइन्‌?

१७ स्कुलमा छँदा ज्याकलिनले पढ्‌नु परेको एउटा विषय जीवविज्ञान पनि थियो। एक दिन कक्षामा क्रमविकासको विषयमा छलफल हुँदै थियो। तिनी यसो भन्छिन्‌, “अरू दिन त म कक्षामा ध्यान दिएर सुन्थें अनि शिक्षकलाई प्रश्‍नहरू सोध्ने गर्थें। तर क्रमविकासको विषयमा छलफल हुँदा भने भाग लिनै मन लागेन। क्रमविकासको शिक्षा झूटो हो भनेर मलाई थाह थियो। त्यसैले शिक्षकलाई आफ्नो विश्‍वासबारे बताएँ। त्यसपछि उहाँले मलाई कक्षामा सृष्टिको विषयमा बताउन लगाउनुभयो।” आफ्नो अन्तस्करणको आवाज सुनेर त्यसअनुसार गरेकोमा ज्याकलिन असाध्यै खुसी छिन्‌। के तपाईंको अन्तस्करणले पनि तपाईंलाई सही काम गर्न उत्प्रेरित गर्छ?

१८. हामीले अन्तस्करणलाई किन तालिम दिनुपर्छ?

१८ हामी यहोवाले तोक्नुभएको स्तरअनुसार जीवन बिताउन चाहन्छौं र त्यसो गर्न हाम्रो अन्तस्करणले हामीलाई मदत गर्छ। हरेक दिन बाइबल पढेर, मनन गरेर अनि पढेको कुरा लागू गरेर हामी अन्तस्करणलाई तालिम दिन सक्छौं। यसरी अन्तस्करणलाई तालिम दिने गऱ्‍यौं भने यो हाम्रो लागि भरपर्दो मार्गदर्शक बन्‍न सक्छ।

a जून १५, २००४ को प्रहरीधरहरा, पृष्ठ २९-३१ मा भएको “पाठकहरूका प्रश्‍नहरू” हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने