प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w18 अगस्त pp. ८-१२
  • बाहिरी रूप हेरेर न्याय नगर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाहिरी रूप हेरेर न्याय नगर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • जात वा राष्ट्रको आधारमा न्याय नगर्नुहोस्‌
  • धनसम्पत्तिको आधारमा न्याय नगर्नुहोस्‌
  • उमेरको आधारमा न्याय नगर्नुहोस्‌
  • ठीकसित न्याय गर्नुहोस्‌
  • के तपाईं बाहिरी रूप मात्र हेर्नु हुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • के तपाईं बाहिरी रूपरंग मात्र हेर्नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—१९९९
  • ‘सबै मानिसले उद्धार पाउनेछन्‌’
    हाम्रो राज्य सेवकाई—२००७
  • “परमेश्‍वर पक्षपाती हुनुहुन्‍न”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
w18 अगस्त pp. ८-१२
यहूदीहरू कर्नीलियसको घरमा प्रवेश गर्छन्‌

बाहिरी रूप हेरेर न्याय नगर्नुहोस्‌

“बाहिरी रूप हेरेर न्याय गर्न छोड, बरु ठीकसित न्याय गर।” —यूह. ७:२४.

गीत: १४२, १२३

अरूको न्याय गर्नेबारे निम्न बाइबल पदहरूले के सिकाउँछ?

  • प्रेषित १०:३४, ३५

  • लेवी १९:१५

  • १ तिमोथी ४:१२

१. यशैयाले येशूबारे कस्तो भविष्यवाणी गरे अनि यो किन प्रोत्साहनदायी कुरा हो?

यशैयाले प्रभु येशू ख्रीष्टबारे गरेको भविष्यवाणीले हामीलाई आश्‍वासन दिन्छ र हाम्रो मनमा आशा जगाउँछ। यशैयाले येशूबारे यस्तो भविष्यवाणी गरे: “उहाँले मुख हेरेर इन्साफ गर्नुहुनेछैन, औ कानले सुनेर मात्र विचार गर्नुहुनेछैन। तर गरीबहरूको न्याय उहाँले ठीकसित गर्नुहुनेछ।” (यशै. ११:३, ४) यो किन प्रोत्साहनदायी कुरा हो? किनभने हामी पक्षपात र पूर्वाग्रहले भरिएको संसारमा बाँचिरहेका छौँ। त्यसकारण हामी सबै जना उत्तम न्यायाधीशको प्रतीक्षामा छौँ, जसले बाहिरी रूप हेरेर न्याय गर्नुहुनेछैन।

२. येशूले हामीलाई कस्तो आज्ञा दिनुभयो? यस लेखमा हामी के छलफल गर्नेछौँ?

२ हामीले हरेक दिन मानिसहरूको न्याय गरिरहेका हुन्छौँ। तर हामी त्रुटिपूर्ण भएकोले येशूले जस्तै त्रुटिरहित न्याय भने गर्न सक्दैनौँ। आफूले जे देख्छौँ, त्यही हेरेर न्याय गर्ने झुकाव हामीसित छ। येशू पृथ्वीमा हुनुहुँदा उहाँले यस्तो आज्ञा दिनुभयो: “बाहिरी रूप हेरेर न्याय गर्न छोड, बरु ठीकसित न्याय गर।” (यूह. ७:२४) स्पष्ट छ, हामीले पनि येशूको अनुकरण गरेको र अरूको बाहिरी रूप हेरेर न्याय नगरेको उहाँ चाहनुहुन्छ। यस लेखमा हामी मानिसहरूले अक्सर बाहिरी रूप हेरेर न्याय गर्ने यी तीन वटा क्षेत्रबारे विचार गर्नेछौँ: जात वा राष्ट्र, धनसम्पत्ति र उमेर। यी प्रत्येक क्षेत्रमा हामी कसरी येशूको आज्ञा पालन गर्न सक्छौँ, त्यसबारे केही व्यावहारिक तरिकाहरू छलफल गर्नेछौँ।

जात वा राष्ट्रको आधारमा न्याय नगर्नुहोस्‌

३, ४. (क) कस्ता घटनाहरूले गर्दा प्रेषित पत्रुसले अन्यजातिहरूप्रतिको आफ्नो दृष्टिकोण बदले? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌) (ख) यहोवाले पत्रुसलाई कुन नयाँ सत्य बुझ्न मदत गर्नुभयो?

३ प्रेषित पत्रुसलाई सिजरियामा बस्ने अन्यजातिका कर्नीलियसले आफ्नो घरमा बोलाउँदा तिनको मनमा कस्ता कुराहरू खेलिरहेका थिए होलान्‌, कल्पना गर्नुहोस्‌। (प्रेषि. १०:१७-२९) तिनको समयका अरू यहूदीहरूले जस्तै पत्रुसले पनि अन्यजातिका मानिसहरू अशुद्ध हुन्छन्‌ भन्‍ने शिक्षा सानैदेखि सिकेका थिए। तर पत्रुसले अनुभव गरेका घटनाहरूले तिनलाई आफ्नो सोचाइ केलाउन लगायो। उदाहरणको लागि, पत्रुसले एउटा चमत्कारपूर्ण दर्शन देखेका थिए। (प्रेषि. १०:९-१६) पत्रुसले के देखे? तिनले अशुद्ध जनावरहरूले भरिएको तन्‍नाजस्तो केही चीज आकाशबाट झर्दै गरेको देखे अनि स्वर्गबाट यस्तो आवाज आएको सुने: “उठ पत्रुस, मारेर खाऊ!” पत्रुसले ठाडै इन्कार गरे। तिनले इन्कार गर्दा स्वर्गबाट यस्तो आवाज आयो: “परमेश्‍वरले शुद्ध पार्नुभएको कुरालाई अपवित्र भन्‍न छोड।” दर्शनबाट ब्युँझँदा त्यस आवाजले भन्‍न खोजेको कुरा पत्रुसले बुझेनन्‌। त्यही बेला कर्नीलियसले पठाएका सन्देशवाहकहरू आइपुगे। पवित्र शक्‍तिबाट निर्देशन पाइसकेपछि पत्रुस ती सन्देशवाहकहरूसँगै कर्नीलियसको घर गए।

४ पत्रुसले केवल बाहिरी रूप हेरेर न्याय गरेका भए तिनी कर्नीलियसको घरमा कहिल्यै जाने थिएनन्‌ होला। किनभने यहूदीहरू अन्यजातिहरूको घरमा जाँदैन थिए। जरा गाडेर बसेको त्यस्तो पूर्वाग्रहको बाबजुद पत्रुस किन गए? किनभने आफूले देखेको दर्शन र पवित्र शक्‍तिद्वारा पाएको निर्देशनले तिनमा गहिरो प्रभाव पारेको थियो। त्यसैले कर्नीलियसको कुरा सुनेपछि पत्रुस यसरी लेख्न उत्प्रेरित भए: “अब मलाई पक्का भयो, कि परमेश्‍वर पक्षपाती हुनुहुन्‍न, बरु जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र उहाँको स्तरबमोजिम असल काम गर्छ, उसलाई स्वीकार्नुहुन्छ।” (प्रेषि. १०:३४, ३५) पत्रुसको लागि यो नयाँ बुझाइ अत्यन्तै रोचक कुरा थियो। अनि कसैलाई पक्षपात गर्नु हुँदैन भन्‍ने यो सत्यले सबै ख्रीष्टियनहरूमाथि प्रभाव पार्ने थियो। कसरी?

५. (क) सबै ख्रीष्टियनहरूले कुन कुरा बुझेको यहोवा चाहनुहुन्छ? (ख) बाइबलको सत्य थाह भए पनि हामीमा कस्तो भावना लुकेको हुन सक्छ?

५ यहोवाले पत्रुसमार्फत सबै ख्रीष्टियनहरूलाई आफू पक्षपाती नभएको कुरा बुझ्न मदत गरिरहनुभएको थियो। उहाँले जात, सम्प्रदाय, देश, कुल वा भाषाको आधारमा कसैको न्याय गर्नुहुन्‍न। परमेश्‍वरको डर मान्‍ने अनि उहाँको स्तरबमोजिम असल काम गर्ने जुनसुकै पुरुष वा स्त्रीलाई यहोवा स्विकार्नुहुन्छ। (गला. ३:२६-२८; प्रका. ७:९, १०) यो कुरा सत्य हो भनेर तपाईँ पनि पक्कै सहमत हुनुहुन्छ। तर तपाईँ पूर्वाग्रहले भरिएको देश अथवा परिवारमा हुर्कनुभएको थियो भने नि? तपाईँलाई आफू पक्षपाती छैनँ जस्तो लागे पनि मनको कुनै भित्री कुनामा पूर्वाग्रही भावना लुकेको हुन सक्छ। यहोवा पक्षपाती हुनुहुन्‍न भनेर बुझ्न मानिसहरूलाई मदत गर्ने पत्रुसले समेत पछि पूर्वाग्रही व्यवहार देखाए। (गला. २:११-१४) बाहिरी रूप हेरेर न्याय गर्न छोड्‌नू भनी येशूले दिनुभएको आज्ञा हामी कसरी पालन गर्न सक्छौँ?

६. (क) हाम्रो मनमा जरा गाडेर बसेको पूर्वाग्रही झुकावलाई हामी कसरी उखेल्न सक्छौँ? (ख) एक जना जिम्मेवार भाइले बुझाएको रिपोर्टले के देखायो?

६ हामीमा पूर्वाग्रही सोचाइ वा भावना छ कि छैन भनेर थाह पाउन परमेश्‍वरको वचनको ज्योतिमा आफूलाई राम्ररी जाँच्नुपर्छ। (भज. ११९:१०५) आफूमा पूर्वाग्रही झुकाव छैन जस्तो हामीलाई लागे पनि अरूले भने त्यो याद गरिरहेका हुन सक्छन्‌। त्यस्तो कुरा औँल्याइदिन हामीलाई मायालु साथीको मदत चाहिन सक्छ। (गला. २:११, १४) त्यस्तो झुकावले हामीमा जरा गाडेको छ भने हामीलाई त्यसबारे पत्तै नहुन सक्छ। उदाहरणको लागि, एक जना जिम्मेवार भाइले पूर्ण-समय सेवा गरिरहेको एक असल दम्पतीबारे बुझाएको रिपोर्टलाई विचार गरौँ। श्रीमान्‌चाहिँ अरू मानिसहरूले तुच्छ ठान्‍ने एक अल्पसङ्‌ख्यक जातिका रहेछन्‌। आफूमा पनि त्यस जातिप्रति पूर्वाग्रही झुकाव भएको कुरा ती जिम्मेवार भाइले यादै गरेका थिएनन्‌। उनले रिपोर्टमा ती श्रीमान्‌बारे थुप्रै राम्रा कुराहरू लेखे तर अन्तमा यसरी टुङ्‌याए: “हुनत तिनी [फलानो जातिका] हुन्‌। [त्यस जातिका] मानिसहरू साधारणतया फोहोरी र असभ्य हुन्छन्‌। तर [त्यस जातिका] सबै मानिस नै त्यस्तो हुन्छन्‌ भन्‍ने छैन भनेर तिनको राम्रो आनीबानी र जीवनशैलीबाट अरूले प्रस्टै देख्न सक्छन्‌।” यसबाट हामी के बुझ्न सक्छौँ? हामीले जस्तोसुकै जिम्मेवारी वहन गरिरहेको भए तापनि हाम्रो मनमा पूर्वाग्रही झुकाव बाँकी छ कि छैन भनेर होसियार भई जाँच्नुपर्छ अनि अरूको मदत स्विकार्न इच्छुक हुनुपर्छ। यसबाहेक हामी अरू के गर्न सक्छौँ?

७. हामी ठूलो मनको भएको कसरी देखाउन सक्छौँ?

७ हामी ठूलो मनको भयौँ भने हामीले आफ्नो मनमा भएको पूर्वाग्रही भावनालाई हटाएर प्रेम भर्न सक्छौँ। (२ कोरि. ६:११-१३) आफ्नै जात, सम्प्रदाय, राष्ट्र, कुल अथवा भाषाका व्यक्‍तिहरूसित मात्रै सङ्‌गत गर्ने तपाईँको बानी छ कि? छ भने अरू मानिसहरूसित पनि सङ्‌गत गर्ने कोसिस गर्नुहोस्‌। बेग्लै पृष्ठभूमि भएकाहरूलाई प्रचारकार्यमा सँगै भाग लिन अथवा घरमा खाना खान वा जमघटमा निम्तो दिनुभए कसो होला? (प्रेषि. १६:१४, १५) यसो गर्नुभयो भने तपाईँको मन प्रेमले भरिनेछ, जसले गर्दा पूर्वाग्रही भावनाको लागि कुनै ठाउँ नै बाँकी रहनेछैन। तर अरू क्षेत्रहरूमा पनि बाहिरी रूप हेरेर न्याय गर्ने झुकाव हामीसित हुन सक्छ। अब हामी धनसम्पत्ति हेरेर न्याय गर्नेबारे विचार गरौँ।

धनसम्पत्तिको आधारमा न्याय नगर्नुहोस्‌

८. लेवी १९:१५ अनुसार हामीले गर्ने न्यायमा मानिसको धनसम्पत्ति वा गरिबीले कस्तो असर गर्न सक्छ?

८ हामीले अरूप्रति राख्ने दृष्टिकोणलाई असर गर्न सक्ने अर्को कुरा भनेको धनसम्पत्ति हो। लेवी १९:१५ (TBS) यसो भन्छ: “न ता तिमीले गरिबको पक्ष लिनू, न ता मान्छेको मुख हेरेर पक्षपात गर्नू, तर तिमीले धार्मिकतापूर्वक आफ्नो छिमेकीको न्याय गर्नू!” मानिसको धनसम्पत्ति वा गरिबीको कारण हामीले तिनीप्रति राख्ने दृष्टिकोणमा कस्तो असर पर्न सक्छ?

९. सुलेमानले कस्तो तीतो सत्य उल्लेख गरे अनि त्यसबाट हामी के सिक्न सक्छौँ?

९ सुलेमानले पवित्र शक्‍तिको प्रेरणा पाएर त्रुटिपूर्ण मानिसहरूबारे एउटा तीतो सत्य उल्लेख गरे। तिनले हितोपदेश १४:२० मा यस्तो लेखे: “गरिब मानिस आफ्नै मित्रको निम्ति अप्रिय हुन्छ, तर धनीको ता धेरै मित्रहरू हुन्छन्‌।” यी शब्दहरूबाट हामी के सिक्न सक्छौँ? यदि हामी होसियार भएनौँ भने गरिब भाइबहिनीलाई बेवास्ता गरेर धनी भाइबहिनीसित मात्रै सङ्‌गत गर्ने झुकाव हामीमा विकास हुन सक्छ। धनसम्पत्तिको आधारमा मात्र मानिसहरूको न्याय गर्दा कस्तो नराम्रो नतिजा हुन सक्छ?

१०. याकूबले कस्तो समस्याबारे चेतावनी दिए?

१० यदि हामी धनसम्पत्तिको आधारमा अरूको न्याय गर्छौँ भने हामीले मण्डलीभित्र वर्गभेद सृजना गरिरहेका हुन सक्छौँ। यही समस्याले प्रथम शताब्दीको मण्डलीलाई विभाजित गरिरहेको थियो भनेर चेला याकूबले चेतावनी दिए। (याकूब २:१-४ पढ्‌नुहोस्‌) यस्तो सोचाइले आज हाम्रो मण्डलीमा पनि असर नपारोस्‌ भनेर हामी होसियार हुनुपर्छ। बाहिरी रूप हेरेर न्याय गर्ने यस्तो झुकावविरुद्ध हामी कसरी लड्‌न सक्छौँ?

११. के मानिसको धनसम्पत्तिले यहोवासित तिनको सम्बन्धलाई असर गर्छ? व्याख्या गर्नुहोस्‌।

११ हाम्रा भाइबहिनीप्रति हामीले यहोवाको जस्तै दृष्टिकोण राख्नुपर्छ। कुनै मानिस धनी भएकोले अथवा गरिब भएकोले यहोवाको नजरमा बहुमूल्य हुने होइन। हामीसित कति धनसम्पत्ति छ वा के कुराको अभाव छ भन्‍ने कुराले यहोवासितको हाम्रो सम्बन्ध कहिल्यै निर्धारण हुँदैन। हुनत येशूले यसो भन्‍नुभयो: “धनी मानिसलाई स्वर्गको राज्यमा पस्न कठिन हुनेछ।” तर उहाँले धनी मानिस स्वर्गको राज्यमा पस्न असम्भव छ भन्‍नुभएन। (मत्ती १९:२३) अर्कोतर्फ येशूले यसो पनि भन्‍नुभयो: “आनन्दित हौ तिमी गरिबहरू, किनकि परमेश्‍वरको राज्य तिमीहरूकै हो।” (लूका ६:२०) तर यसको मतलब सबै गरिबहरूले येशूको कुरा सुन्‍ने थिए अनि विशेष आशिष्‌हरू पाउने थिए भन्‍ने चाहिँ होइन। थुप्रै गरिब मानिसहरूले येशूको कुरा सुन्‍न इन्कार गरे। त्यसैले कुरा स्पष्ट छ, हामीले कुनै मानिसको धनसम्पत्तिको आधारमा यहोवासित तिनको सम्बन्ध कस्तो छ भनेर न्याय गर्न सक्दैनौँ।

१२. धनी र गरिब दुवैलाई बाइबलमा कस्तो निर्देशन दिइएको छ?

१२ धनी होस्‌ या गरिब यहोवालाई पूर्ण हृदयले प्रेम गर्ने र उहाँको सेवा गर्ने थुप्रै भाइबहिनीहरू हामीमाझ हुनु हाम्रो लागि साँच्चै आशिष्‌को कुरा हो। धनीहरूले “आफ्नो आशा अस्थिर धनसम्पत्तिमा होइन तर . . . परमेश्‍वरमा राखून्‌” भनेर बाइबलमा निर्देशन दिइएको छ। (१ तिमोथी ६:१७-१९ पढ्‌नुहोस्‌) साथै, पैसालाई प्रेम नगर्न बाइबलमा परमेश्‍वरका सबै जनहरूलाई चेतावनी दिइएको छ अनि यो कुरा धनी र गरिब दुवैलाई लागू हुन्छ। (१ तिमो. ६:९, १०) हामीले भाइबहिनीप्रति यहोवाको जस्तै दृष्टिकोण राख्यौँ भने तिनीहरूसित धनसम्पत्ति छ कि छैन, त्यसको आधारमा न्याय गर्नेछैनौँ। तर कुनै व्यक्‍तिको उमेरको आधारमा नि? के हामीले कसैको उमेरको आधारमा न्याय गर्नु ठीक हो? त्यसबारे अब हामी विचार गरौँ।

उमेरको आधारमा न्याय नगर्नुहोस्‌

१३. वृद्धहरूलाई आदर देखाउनेबारे बाइबल के सिकाउँछ?

१३ बाइबलमा हामीलाई वृद्धहरूको आदर गर्न थुप्रै पटक निर्देशन दिइएको छ। लेवी १९:३२ यसो भन्छ: “बूढा-पाकाका सम्मानमा उठ र वृद्ध मानिसको आदर गर। तिमीहरूले परमेश्‍वरको भय मान।” साथै हितोपदेश १६:३१ यसो भन्छ: “फूलेको केश शोभाको मुकुट हो, धर्मी जीवनबाट त्यो प्राप्त हुन्छ।” पावलले पनि तिमोथीलाई वृद्ध पुरुषको कडा आलोचना नगर्न बरु बुबालाई जस्तै व्यवहार गर्न भने। (१ तिमो. ५:१, २) हुनत तिमोथीसित ती वृद्ध भाइहरूमाथि केही हदसम्म अख्तियार थियो तर तिनले उनीहरूलाई दया देखाउनुपर्थ्यो र आदरसाथ व्यवहार गर्नुपर्थ्यो।

१४. कस्तो परिस्थितिमा हामीले आफूभन्दा पाको व्यक्‍तिलाई सल्लाह दिनु वा सच्याउनु आवश्‍यक पर्न सक्छ?

१४ बाइबलमा दिइएको यो सिद्धान्त हामी कुन हदसम्म पालन गर्छौँ? उदाहरणको लागि, हामीभन्दा पाको व्यक्‍तिले जानाजानी पाप गरिरहेका अथवा यहोवालाई अप्रसन्‍न तुल्याउने काम गरिरहेका छन्‌ भने नि? यहोवाले बाहिरी रूप हेरेर न्याय गर्नुहुन्‍न र जानाजानी पाप गर्ने मानिसलाई छुट दिनुहुन्‍न, चाहे तिनी पाको मानिस नै किन नहोऊन्‌। यशैया ६५:२० मा (TBS) दिइएको सिद्धान्तलाई विचार गर्नुहोस्‌। त्यहाँ यसो भनिएको छ: “सय वर्षको भएर पनि पापी मानिस श्रापित हुनेछ।” इजकिएलले देखेको दर्शनमा पनि यस्तै सिद्धान्त पाउँछौँ। (इज. ९:५-७) त्यसैले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको हामीले “अति प्राचीन उमेर”-का अर्थात्‌ यहोवा परमेश्‍वरलाई सधैँ आदर देखाउनुपर्छ। (दानि. ७:९, १०, १३, १४) त्यसो गऱ्‍यौँ भने हामी मानिसको उमेर जतिसुकै भए पनि आवश्‍यक पर्दा सल्लाह दिन डराउनेछैनौँ।—गला. ६:१.

जवान एल्डरप्रति आदर देखाउँदै पाका एल्डरहरू तिनको कुरा ध्यान दिएर सुन्छन्‌

के तपाईँ जवान भाइहरूलाई आदर देखाउनुहुन्छ? (अनुच्छेद १५ हेर्नुहोस्‌)

१५. जवान भाइहरूलाई आदर देखाउने सन्दर्भमा प्रेषित पावलबाट के सिक्न सक्छौँ?

१५ मण्डलीका जवान भाइहरूबारे चाहिँ के भन्‍न सक्छौँ? तपाईँ तिनीहरूलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ? जवान तिमोथीलाई प्रेषित पावलले यस्तो लेखे: “तिम्रो कम उमेर देखेर कसैले तिमीलाई हेला नगरोस्‌, बरु बोली, चालचलन, प्रेम, विश्‍वास अनि चोखो आचरणको सन्दर्भमा विश्‍वासी जनहरूको निम्ति उदाहरण बन।” (१ तिमो. ४:१२) पावलले यी शब्दहरू लेख्दा तिमोथी लगभग ३० वर्षका थिए होलान्‌। तैपनि पावलले तिनलाई गहन जिम्मेवारीहरू सुम्पेका थिए। पावलले यो सल्लाह दिनुको कारण हामीलाई थाह नभए तापनि यसबाट सिक्न सकिने पाठ भने स्पष्ट छ: हामीले केवल उमेरको आधारमा जवान भाइहरूको न्याय गर्नु हुँदैन। नबिर्सनुहोस्‌, हाम्रा प्रभु येशूले पृथ्वीमा आफ्नो सेवाको काम पूरा गर्नुहुँदा उहाँ ३३ वर्षको मात्र हुनुहुन्थ्यो।

१६, १७. (क) कुनै भाइलाई सहायक सेवक वा एल्डरको रूपमा सिफारिस गर्न योग्य छन्‌ कि छैनन्‌ भनेर एल्डरहरूले कसरी निर्धारण गर्छन्‌? (ख) बाइबलमा बताइएको कुरासित व्यक्‍तिगत धारणा वा स्थानीय चलन मेल नखान सक्छ, कसरी?

१६ जवान व्यक्‍तिहरूलाई त्यत्ति आदर नदेखाइने समाजमा हामी हुर्केका हुन सक्छौँ। त्यसो हो भने योग्य जवान भाइहरूलाई सहायक सेवक वा एल्डरको रूपमा सिफारिस गर्न एल्डरहरू हिचकिचाउन सक्छन्‌। कुनै पुरुष सहायक सेवक वा एल्डर नियुक्‍त हुन कम्तीमा यति वर्ष पुगेको हुनुपर्छ भनेर बाइबलमा तोकिएको छैन भन्‍ने कुरा एल्डरहरूले बिर्सनु हुँदैन। (१ तिमो. ३:१-१०, १२, १३; ती. १:५-९) यदि कुनै एल्डरले समाजको चलनअनुसार नियम तोक्छन्‌ भने तिनी बाइबलअनुसार चलिरहेका हुँदैनन्‌। जवान भाइहरूलाई व्यक्‍तिगत दृष्टिकोण वा स्थानीय चलनको आधारमा होइन तर परमेश्‍वरको वचनको स्तरअनुसार न्याय गर्नुपर्छ।—२ तिमो. ३:१६, १७.

१७ बाइबलमा आधारित नभएका स्थानीय चलनअनुसार न्याय गर्दा योग्य जवान भाइहरू जिम्मेवारी पाउनदेखि कसरी वञ्चित भइरहेका हुन्छन्‌, विचार गर्नुहोस्‌। एउटा देशमा एक जना योग्य सहायक सेवकलाई गहन जिम्मेवारीहरू सुम्पिइएको थियो। बाइबलमा उल्लेख गरिएको एल्डरका योग्यताहरू ती भाइसित छन्‌ जस्तो एल्डरहरूलाई लागे तापनि तिनलाई त्यो जिम्मेवारीको लागि सिफारिस भने गरिएन। पाको उमेरका केही एल्डरहरूलाई ती भाइ साह्रै जवान देखिएकोले एल्डर भन्‍न अलि सुहाउँदैन जस्तो लागेछ। दुःखको कुरा, जवान देखिएकोले मात्रै ती भाइलाई एल्डरको रूपमा सिफारिस गरिएन। यस्ता अनुभवहरू थुप्रै छन्‌। रिपोर्टहरूले देखाएअनुसार संसारको विभिन्‍न ठाउँमा यस्तो सोचाइले थुप्रैलाई असर गरेको छ। हामी स्थानीय चलन वा व्यक्‍तिगत धारणाअनुसार चल्ने नभई बाइबलमा भर पर्नु कत्ति महत्त्वपूर्ण छ! यसो गऱ्‍यौँ भने मात्र हामी येशूको आज्ञा पालन गरिरहेका हुन्छौँ अनि बाहिरी रूप हेरेर न्याय गरिरहेका हुँदैनौँ।

ठीकसित न्याय गर्नुहोस्‌

१८, १९. अरूलाई यहोवाको जस्तै दृष्टिकोणले हेर्न हामीले के गर्नुपर्छ?

१८ हामी त्रुटिपूर्ण भए तापनि अरूलाई यहोवाले जस्तै निष्पक्ष दृष्टिकोणले हेर्न सिक्न सक्छौँ। (प्रेषि. १०:३४, ३५) तर यसो गर्न हामीले प्रयास गरिरहनुपर्छ अनि यहोवाको वचनले दिने सम्झौटाहरूलाई ध्यान दिइरहनुपर्छ। यस्ता सम्झौटाहरू लागू गर्दा हामी बाहिरी रूप हेरेर न्याय गर्न छोड भन्‍ने येशूको आज्ञा अझ राम्ररी पालन गरिरहेका हुन्छौँ।—यूह. ७:२४.

१९ चाँडै नै हाम्रा राजा येशू ख्रीष्टले सबै मानिसको न्याय गर्नुहुनेछ। त्यतिबेला उहाँले मुख हेरेर अथवा कानले सुनेर मात्र न्याय गर्नुहुनेछैन बरु ठीकसित न्याय गर्नुहुनेछ। (यशै. ११:३, ४) त्यो समयको हामी कत्ति उत्कट प्रतीक्षा गर्छौँ!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने