प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • आफ्नो प्रगति प्रकट गर्नुहोस्‌
    प्रहरीधरहरा—२००९ | डिसेम्बर १
    • ६ पावलले तिमोथीलाई लेखे: “विश्‍वासीहरूका अगि बोलीवचन, आचरण र प्रेममा, विश्‍वासमा र शुद्धतामा तिमी एक उदाहरण बन।” (१ तिमो. ४:१२, NRV) पावलले अझै भने: “यी कुरामा परिश्रम [“चिन्तन,” NW] गर। तिनीहरूमानै लागिरह, र तिम्रो प्रगति सबैमा प्रकट होस्‌।” (१ तिमो. ४:१५) यो प्रगति तिमोथीको ओहदामा नभई आध्यात्मिक गुणहरूको सम्बन्धमा देखिनुपर्ने थियो। प्रत्येक ख्रीष्टियानले प्रकट गर्नुपर्ने प्रगति यस्तै हो।

  • आफ्नो प्रगति प्रकट गर्नुहोस्‌
    प्रहरीधरहरा—२००९ | डिसेम्बर १
    • बोलीवचनमा उदाहरणीय

      ८. हाम्रो बोलीवचनले हामीले गर्ने उपासनमा कस्तो असर पार्छ?

      ८ तिमोथीले उदाहरण बसाल्नुपर्ने एउटा क्षेत्र बोलीवचनमा थियो। यस क्षेत्रमा हामी कसरी आफ्नो प्रगति प्रकट गर्न सक्छौं? हामी कस्ता छौं भनेर हाम्रो बोलीवचनले देखाउँछ। येशूले यसो भन्‍नु उपयुक्‍त छ: “हृदयमा भरिएका कुरानै मुखले बोल्दछ।” (मत्ती १२:३४) येशूका सौतेनी भाइ याकूबले पनि हाम्रो बोलीवचनले उपासनामा पार्न सक्ने असरबारे मानिलिए। तिनले लेखे: “यदि कोही मानिसले आफूलाई भक्‍त सम्झेर आफ्नो जिब्रोमा लगाम लाउँदैन, तर आफ्नो हृदयलाई धोका दिन्छ भनेता त्यस मानिसको धर्म व्यर्थको हो।”—याकू. १:२६.

      ९. हाम्रो बोलीवचन कुन-कुन तरिकामा उदाहरणीय हुनुपर्छ?

      ९ हामीले कत्तिको आध्यात्मिक प्रगति गरेका छौं मण्डलीका अरूले हाम्रो बोलीवचनबाट थाह पाउन सक्छन्‌। परिपक्व ख्रीष्टियानहरू अमर्यादित, नकारात्मक, आलोचनात्मक वा चित्त दुखाउने खालको बोली बोल्नुको सट्टा सान्त्वना, प्रोत्साहन र ढाडस दिने प्रयास गर्छन्‌। (हितो. १२:१८; एफि. ४:२९; १ तिमो. ६:३-५, २०) परमेश्‍वरको उच्च स्तरको पक्षमा कुरा गर्ने हाम्रो तत्परता र त्यहीअनुसार जीवन बिताउने इच्छाबाट परमेश्‍वरप्रतिको हाम्रो भक्‍ति प्रष्टिन्छ। (रोमी १:१५, १६) बोल्ने वरदान हामी कसरी प्रयोग गर्छौं असल हृदय भएकाहरूले अवश्‍य याद गर्नेछन्‌ अनि तिनीहरूले हाम्रो उदाहरण पछ्याउन सक्छन्‌।—फिलि. ४:८, ९.

      आचरण र शुद्धतामा उदाहरणीय

      १०. आध्यात्मिक प्रगतिको लागि निष्कपट विश्‍वास किन अत्यावश्‍यक छ?

      १० ख्रीष्टियानहरू असल उदाहरण हुनको लागि बोलीवचन उत्थानदायी हुनु मात्र पर्याप्त छैन। सही कुरा भन्‍ने तर गर्नचाहिं नगर्ने मानिस कपटी हो। फरिसीहरूको कपट र तिनीहरूको त्यस्तो मार्गको हानिकारक नतिजाबारे पावललाई राम्ररी थाह थियो। तिनीहरूको त्यस्तो कपट र ढोंगविरुद्ध पावलले तिमोथीलाई थुप्रैचोटि होसियार गराए। (१ तिमो. १:५; ४:१, २) तर तिमोथी कपटी थिएनन्‌। तिमोथीलाई लेखेको दोस्रो पत्रमा पावलले यस्तो लेखे: “तिमीमा भएको निष्कपट विश्‍वासको सम्झना . . . मलाई . . . छ।” (२ तिमो. १:५) तैपनि तिमोथीले ख्रीष्टियानको रूपमा आफ्नो निष्कपटता प्रकट गर्नुपर्ने थियो। आचरणमा उनी उदाहरणीय हुनुपर्थ्यो।

      ११. धनसम्पत्तिबारे पावलले तिमोथीलाई के लेखे?

      ११ तिमोथीलाई लेखेको दुइटा पत्रमा पावलले आचरणका विभिन्‍न पक्षमा सल्लाह दिए। उदाहरणका लागि, तिमोथी धनसम्पत्तिको पछि लाग्नबाट अलग रहनुपर्थ्यो। पावलले लेखे: “रूपियाँ-पैसाको प्रेमनै सबै किसिमका खराबीको जरा हो, जसको पछि लाग्ने कुनै-कुनै विश्‍वासबाट कुमार्गमा तर्केका हुन्छन्‌, र धेरै दुःखले तिनीहरूका हृदय छेंडेका हुन्छन्‌।” (१ तिमो. ६:१०) धनसम्पत्तिप्रतिको प्रेम आध्यात्मिक कमजोरीको चिह्न हो। त्यसको विपरीत, “खान र लाउन” भएपछि त्यसमै सन्तुष्ट भएर सरल जीवन बिताउने ख्रीष्टियानहरूले आध्यात्मिक प्रगति प्रकट गर्छन्‌।—१ तिमो. ६:६-८; फिलि. ४:११-१३.

      १२. व्यक्‍तिगत जीवनमा हामी आफ्नो प्रगति कसरी प्रकट गर्न सक्छौं?

      १२ ख्रीष्टियान स्त्रीहरूले ‘सरलता र भद्रतासाथ [“सुबुद्धिसाथ,” NW] सुहाउँदो वस्त्र पहिरिनु’ कत्तिको महत्त्वपूर्ण छ भनी पावलले तिमोथीलाई उल्लेख गरे। (१ तिमो. २:९, NRV) पहिरन र कोरीबाटीको छनौटलगायत जीवनका अन्य पक्षमा सरल हुने र सुबुद्धि चलाउने स्त्रीहरूले एकदमै राम्रो उदाहरण बसाल्छन्‌। (१ तिमो. ३:११, NW) यो सिद्धान्त ख्रीष्टियान पुरुषहरूलाई पनि लागू हुन्छ। पावलले निरीक्षकहरूलाई ‘परहेजी हुन, आत्मसंयमी हुन [“सुबुद्धि चलाउन,” NW], सुशील हुन’ सल्लाह दिए। (१ तिमो. ३:२) आफ्नो दिनचर्यामा यस्ता गुणहरू देखाउँदा हाम्रो प्रगति सबैसामु प्रकट हुनेछ।

      १३. तिमोथीजस्तै हामी पनि कसरी शुद्धतामा उदाहरणीय हुन सक्छौं?

      १३ तिमोथी शुद्धतामा पनि उदाहरणीय हुनुपर्थ्यो। यो पदावली चलाउँदा पावलले आचरणको खास पक्ष अर्थात्‌ यौन नैतिकतालाई संकेत गरिरहेका थिए। विशेषतः स्त्रीहरूसितको व्यवहारमा तिमोथीको आचरण निष्कलंक हुनुपर्थ्यो। उनले “आफूभन्दा ठूली स्त्रीहरूलाई आमाझैं, र कान्छीहरूलाई चाहिं सम्पूर्ण पवित्रतासाथ बहिनी सम्झेर” व्यवहार गर्नुपर्थ्यो। (१ तिमो. ४:१२; ५:२) गोप्यमा गरेजस्तो लाग्ने अनैतिक कार्यहरूसमेत परमेश्‍वरको नजरबाट लुक्दैनन्‌ र अन्ततः सँगी मानवहरूले पनि थाह पाइहाल्छन्‌। तर यो कुरा पनि साँचो हो, ख्रीष्टियानले गरेको असल कामहरू लुक्न सक्दैनन्‌। (१ तिमो. ५:२४, २५) आचरण र शुद्धतामा आफ्नो प्रगति प्रकट गर्ने मौका मण्डलीका सबैसित छ।

      प्रेम र विश्‍वास अत्यावश्‍यक

      १४. धर्मशास्त्रले आपसमा प्रेम गर्नुपर्ने आवश्‍यकतालाई कसरी जोड दिन्छ?

      १४ साँचो ख्रीष्टियान धर्मको एउटा मुख्य पक्ष प्रेम हो। येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “यदि तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।” (यूह. १३:३५) हामी यस्तो प्रेम कसरी देखाउँछौं? परमेश्‍वरको वचन हामीलाई ‘एउटाले अर्कोलाई प्रेममा सहन,’ ‘एकले अर्कोलाई क्षमा गरेर एक अर्कोप्रति कोमल मनको र दयालु हुन’ र अतिथि सत्कार गर्न आग्रह गर्छ। (एफि. ४:२, ३२; हिब्रू १३:१, २) “भातृप्रेममा एक दोस्रोतर्फ मायालु होओ” भनी प्रेरित पावलले लेखे।—रोमी १२:१०.

      १५. सबैका लागि, अझ विशेषगरि ख्रीष्टियान निरीक्षकहरूका लागि प्रेम किन अत्यावश्‍यक छ?

      १५ सँगी ख्रीष्टियानहरूसित व्यवहार गर्दा तिमोथी कठोर र छुच्चो भएका भए उनले शिक्षक र निरीक्षकको रूपमा गरेका असल कार्यहरू ओझेलमा पर्ने थिए। ( १ कोरिन्थी १३:१-३ पढ्‌नुहोस्‌) अर्कोतर्फ भाइहरूप्रति व्यक्‍त गरेको साँचो मायाको साथै तिनीहरूका खातिर गरेको अतिथि सत्कार र असल कार्यहरूबाट पक्कै पनि तिमोथीको आध्यात्मिक प्रगति प्रकट भयो। त्यसैले तिमोथीलाई लेखेको पत्रमा प्रेरित पावलले उनी उदाहरणीय हुनुपर्ने एउटा गुण प्रेम हो भनेर तोकेरै उल्लेख गर्नु उपयुक्‍त थियो।

      १६. तिमोथीले किन बलियो विश्‍वास देखाउनुपर्थ्यो?

      १६ एफिससमा रहेको बेला तिमोथीको विश्‍वासको जाँच भयो। केही व्यक्‍तिले ख्रीष्टियान शिक्षासित मेल नखाने सिद्धान्तहरू सिकाइरहेका थिए। अरूले चाहिं “दन्त्यकथाहरू” र अनुमानका कुराहरू फैलाइरहेका थिए जसले मण्डलीको आध्यात्मिकतामा कुनै टेवा पुऱ्‍याउँदैन थियो। ( १ तिमोथी १:३, ४ पढ्‌नुहोस्‌) त्यस्ता व्यक्‍तिहरूलाई पावलले ‘केही पनि नजान्‍ने [तर] घमन्डले फुल्ने, सवाल र वाद-विवाद गर्ने रोग लागेकाहरू’ भनी वर्णन गरे। (१ तिमो. ६:३, ४) के तिमोथीले मण्डलीमा फैलिएको हानिकारक शिक्षा सुनेर मात्र हेरौं न भन्‍न सक्थे र? सक्दैनथे, किनभने पावलले तिमोथीलाई ‘विश्‍वासको उत्तम लडन्त लड्‌न’ अनि “अशुद्ध वकवादबाट र ज्ञान कह-लिएको झूटा विरोधबाट” फर्कन सल्लाह दिए। (१ तिमो. ६:१२, २०, २१) निस्सन्देह, तिमोथीले पावलको बुद्धिमानी सल्लाह सुने।—१ कोरि. १०:१२.

      १७. आज कसरी हाम्रो विश्‍वासको जाँच हुन सक्छ?

      १७ चाखलाग्दो कुरा, तिमोथीलाई “पछि आउने समयमा बहकाउने आत्मा र भूतात्माहरूका सिद्धान्ततिर मन लाएर कोही-कोही विश्‍वासबाट पतित हुनेछन्‌” भनिएको थियो। (१ तिमो. ४:१) मण्डलीमा जिम्मेवारी सँभालिरहेका लगायत सबै, बलियो र स्थिर विश्‍वास देखाउनमा तिमोथीजस्तै हुनुपर्छ। धर्मत्यागविरुद्ध दृढ अडान लिंदै निर्णायक कदम चालेर हामी आफ्नो प्रगति प्रकट गर्न र विश्‍वासमा उदाहरणीय हुन सक्छौं।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने