युवा जनहरू सोध्छन्
के म पढाइमा अझ उन्नति गर्नसक्छु?
“मेरा आमाबाबु मैले जाँचमा सधैं बढी अंक ल्याएको चाहनुहुन्छ। ‘हिसाबमा कति आयो? अंग्रेजीमा नि?’ मलाई त्यो सुन्नै मन लाग्दैन!”—१३ वर्षीय साम।
सामले मात्र यो अवस्था भोगिरहेको होइन। “अझ राम्रो गर्न सकिन्छ” (अंग्रेजी) पुस्तकका लेखकहरू यस्तो लेख्छन्: “आफ्नो छोरा वा छोरीले पढाइमा जति गर्नसक्थ्यो, त्यति गरिरहेको छ भन्ने आमाबाबु त हामीले आजसम्म भेटेका छैनौं।” तर सामजस्तै थुप्रै केटाकेटीहरूलाई आफ्ना आमाबाबुले स्कूलमा राम्रो गर्न अनि सर्वोत्कृष्ट हुनसमेत अचाक्ली दबाब दिएजस्तो लाग्छ। यसमाथि यस्ता केटाकेटीहरूले कक्षाकोठाको थप दबाब पनि सामना गर्नु परिरहेको हुनसक्छ। एक जना किशोर यस्तो गुनासो पोख्छन्, “शिक्षकहरूसित धैर्य भनेको पटक्कै हुँदैन। तुरुन्तै सबै कुरा सम्झिहालेको आशा गर्छन् अनि कसैले सम्झन सकेन भने उसलाई मूर्ख ठहराउँछन्। त्यसकारण, म त सम्झने कोसिसै गर्दिनँ।”
आमाबाबु तथा शिक्षकहरूले आशा गरेअनुसार नगर्ने केटाकेटीहरूलाई आफ्नो क्षमताले सक्ने जति नगर्नेहरू भनिन्छ। अनि सबै जसो विद्यार्थी कुनै न कुनै समय यस्तो अवस्थाबाट गुज्रन्छन्। किन? चाखलाग्दो कुरा, यसो गर्नुको कारण सधैं आलस्यता वा सिक्ने असमर्थता होइन।a
किन कोही कोही आफूले सक्ने जति गर्दैनन्
हो, पढाइको सन्दर्भमा कोही कोही केटाकेटीलाई जसोतसो उत्तीर्ण हुन पाए पुग्छ। “अलिकता मात्र प्रयास गरेर उत्तीर्ण हुन सकिन्छ भने त्यति मात्रै गर्छु” भनी १५ वर्षीय हर्मन बताउँछन्। तर निष्पक्ष भई भन्ने हो भने यी सबै केटाकेटीले लेखपढ गर्न हेलचेक्य्राइँ गरेको भन्न मिल्दैन। हुनसक्छ, तिनीहरूलाई कुनै कुनै विषय रमाइलो लाग्दैन। अनि कतिपय आफूले पढिरहेको विषयको व्यवहारिक उपयोग देख्दैनन्। सत्र वर्षीय रुबेनले यसो भने: “कुनै कुनै विषयहरू स्कूलको पढाइ सकिएपछि कहिल्यै काममा आउनेछैन भनेर मलाई पक्का थाह छ।” चासो वा उत्प्रेरणाको कमीले गर्दा पनि आफूले सके जति नगरेको हुनसक्छ।
यसका अन्य कारणहरू पनि छन्। उदाहरणका लागि, शिक्षकले असाध्यै छिटछिटो पढाउँछन् भने तपाईंलाई दिक्क लाग्नेछ। असाध्यै ढिलो पढाउँछन् भने पनि पट्टाइ लाग्नसक्छ। साथीहरूको दबाबले पनि स्कूलको पढाइमा असर गरिरहेको हुनसक्छ। आफूले सकेजति नगर्ने बालबच्चाहरू (अंग्रेजी) पुस्तक यसो भन्छ: “तेजिलो, पढाइमा सक्षम विद्यार्थीले पढाइमा त्यति ध्यान नदिने विद्यार्थीहरूको समूहमा स्वीकृत हुन आफूले सक्ने जति नगर्न बाध्य महसुस गर्छन्।” तसर्थ, एक किशोरले सानो कक्षाहरूमा छँदा मेहनत गरेर पढ्दा अरूले डाह गरेर जिस्क्याएको गुनासो गरे। हो, केटाकेटीहरूले हितोपदेश १४:१७, NW मा उल्लिखित सिद्धान्तको यथार्थता भोग्नु परिरहेको हुनसक्छ: “सोचविचार गर्ने मानिस घृणाको पात्र हुन्छ।”
कहिलेकाहीं आफूले सक्ने जति नगर्नुका कारणहरू जटिल हुन्छन्। दुःखको कुरा, कोही कोही केटाकेटीहरू सानैदेखि आफूप्रति नकारात्मक सोचाइ राख्छन्। बच्चालाई सधैं लोसे, मूर्ख वा अल्छीजस्ता अप्रिय नाउँ काढेर बोलाउने गरियो भने यसो हुनसक्छ। अफसोचको कुरा, बच्चाले त्यही नाउँअनुसारको व्यवहार गर्न थाल्नसक्छ। एक उपचारकले भनेझैं “कसैले तपाईंलाई ग्वाँजे भन्यो र तपाईंले त्यो कुरा पत्याउन थाल्नुभयो भने त्यस्तै व्यवहार पनि गर्न थाल्नुहुन्छ।”
प्रायजसो आमाबाबु र शिक्षकहरूले बच्चालाई जुर्मुराउन खोज्नुमा गलत मनसाय हुँदैन। तैपनि, केटाकेटीहरूले आफूबाट बढ्तै माग गरिएको महसुस गर्नसक्छन्। तपाईंलाई पनि त्यस्तै लाग्छ भने तपाईंका आमाबाबु र शिक्षकहरूले तपाईंलाई रिस उठाउन खोजेका होइनन् भनेर ढुक्क हुनुहोस्। सायद, तिनीहरू तपाईंले आफ्नो क्षमताको पूर्ण सदुपयोग गरेको चाहन्छन्। तैपनि, तिनीहरूले भनेअनुसार गर्नुपर्ने दबाबले गर्दा तपाईंलाई लत्तो छोड्न मन लाग्नसक्छ। तर लत्तो नछाड्नुहोस्: तपाईंले पढाइमा अझ उन्नति गर्न सक्नुहुन्छ।
उत्प्रेरित हुने
प्रथम कदम हो, उत्प्रेरित हुने! त्यसो हुन तपाईंले जे जति सिकिरहनुभएको छ, त्यसको उद्देश्य बुझ्नुपर्छ। बाइबल यसो भन्छ: “जोत्नेले आशामा जोत्नुपर्छ, र अन्न चुट्नेले हिस्सा पाउने आशामा चुट्नुपर्छ।” (१ कोरिन्थी ९:१०) कुनै कुनै विषयमा “जोत्नुपर्ने” महत्त्व बुझ्न त्यति सजिलो नहोला। उदाहरणका लागि, तपाईं भन्नुहोला, ‘म कम्प्युटर प्रोग्रामर बन्न चाहन्छु। त्यसकारण, अहिले इतिहास पढेर के काम?’
हो, अहिले स्कूलको पाठ्यक्रममा समावेश गरिएका सबै विषयहरू हालका लागि अलिकता पनि कामको नलाग्ला। तर पछिसम्मको कुरा विचार गर्नुहोस्। विभिन्न विषयहरूको सामान्य ज्ञान छ भने संसारमा भइरहेका घटनाहरू राम्ररी बुझ्न सक्नुहुन्छ। यहोवाका थुप्रै जवान साक्षीहरूले विभिन्न विषयहरूमा जानकारी हासिल गर्दा “सबैका निम्ति . . . सबै कुरा” हुन र जीवनको बेग्लाबेग्लै मोडका व्यक्तिहरूलाई विभिन्न किसिमले राज्य समाचार प्रस्तुत गर्न मदत भएको अनुभव गरेका छन्। (१ कोरिन्थी ९:२२) कुनै विषयको त्यति व्यवहारिक उपयोग नदेखे तापनि त्यसमा निपुणता हासिल गरेर लाभ उठाउन सक्नुहुन्छ। तपाईंको “विवेक” भए पनि बढ्नेछ जसले अन्तमा गएर तपाईंलाई निकै फाइदा पुऱ्याउँछ।—हितोपदेश १:१-४.
स्कूलले तपाईंका लुकेका प्रतिभाहरू पनि प्रकट गर्नसक्छ। प्रेरित पावलले तिमोथीलाई यसो लेखे: “तिमीमा भएको परमेश्वरको वरदानलाई बल्दो पार।” (२ तिमोथी १:६) स्पष्टतः मसीही मण्डलीमा विशेष सेवाको लागि तिमोथी नियुक्त भएका थिए। तर तिनले आफ्नो ईश्वरप्रदत्त योग्यता अर्थात् “वरदान” खेती गर्नुपर्नेथियो अन्यथा त्यो निष्क्रिय भएर त्यसै खेर जानेथियो। निस्सन्देह, तिमोथीले पाएको वरदानजस्तो तपाईंका शैक्षिक योग्यताहरू परमेश्वरले नै तपाईंलाई दिनुभएको वरदान भन्न मिल्दैन। तर जे होस्, तपाईंका योग्यताहरू चाहे त्यो कला, संगीत, गणित, विज्ञान वा अन्य क्षेत्रमा किन नहोस्, तपाईंका विशेष खुबी हुन् र ती वरदानहरू पत्ता लगाएर त्यसको विकास गर्न स्कूलले मदत गर्नसक्छ।
अध्ययन गर्ने राम्रो बानी
तर स्कूलबाट सर्वोत्तम लाभ उठाउन अध्ययन गर्ने राम्रो बानी बसाल्नुपर्छ। (फिलिप्पी ३:१६ तुलना गर्नुहोस्।) पर्याप्त विषयवस्तु पढ्न भ्याउने तालिका मिलाउनुहोस् तर दिमाग तात्तिन नदिन समय समयमा आराम पनि लिनुहोस्। कुनै विषय पढ्ने तालिका बनाउनुभएको छ भने विषयवस्तु बुझ्न सर्वप्रथम सरसरती हेर्नुहोस्। त्यसपछि अध्यायको शीर्षक तथा मुख्य मुख्य उपशीर्षकहरूमा आधारित प्रश्नहरू बनाउनुहोस्। अनि पढ्नुहोस् र ती प्रश्नहरूका जवाफ पत्ता लगाउन खोज्नुहोस्। अन्तमा आफूले पढेको कुरा किताब नहेरी फरर्र भन्न सक्नुहुन्छ कि हुन्न, जाँच्नुहोस्।
आफूलाई थाह भएका कुराहरूसित अहिले सिकिरहेका कुराहरूको के-कस्ता सम्बन्ध छ, बुझ्ने कोसिस गर्नुहोस्। उदाहरणका लागि, विज्ञान पढेर तपाईंले परमेश्वरको “अदृश्य गुण” छर्लंगै बुझ्न सक्नुहुन्छ। (रोमी १:२०) ऐतिहासिक विवरणद्वारा तपाईंले निम्न वाक्यांशको प्रमाण पाउन सक्नुहुन्छ: “हे परमप्रभु, मलाई थाह छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिड़ाउने शक्ति मानिसमा छैन।” (यर्मिया १०:२३) अध्ययन गर्ने बानी बसाल्नुभयो भने पढ्न त्यति गाह्रो लाग्नेछैन र हुनसक्छ, रमाइलो पनि लाग्न थाल्छ! सुलेमानले यस्तो टिप्पणी गरे: “समझ-शक्ति भएकोलाई ज्ञान सजिलैसित आउँछ।”—हितोपदेश १४:६.
सकारात्मक मनोवृत्ति राख्नुहोस्
तर कहिलेकाहीं साथीभाइको सरसंगतले पनि फरक पार्छ। के तपाईंका साथीहरूले अझ राम्रो गर्न प्रोत्साहन दिन्छन् वा तिनीहरू पनि पढाइमा आफूले सक्ने जति नगर्नेहरू हुन्? बाइबलको एउटा हितोपदेश यसो भन्छ: “बुद्धिमानीहरूको संगत गर्नाले बुद्धिमान होइन्छ मूर्खहरूसित लागे बरालिन्छ।” (हितोपदेश १३:२०) त्यसकारण, बुद्धिमानीपूर्वक संगत छान्नुहोस्। पढाइप्रति सकारात्मक मनोवृत्ति राख्ने साथीहरूसित संगत गर्नुहोस्। पढाइमा राम्रो गर्ने आफ्नो लक्ष्यबारे शिक्षकसित व्यक्तिगत तवरमा कुरा गर्न नहिचकिचाउनुहोस्। तपाईंलाई त्यसो गर्ने मदत दिन शिक्षकले पक्कै पनि थप प्रयास गर्नुहुनेछ।
आफ्ना योग्यताहरूप्रति नकारात्मक भावनाहरू पलाएर आउँदा प्रेरित पावललाई विचार गर्नुहोस्। मानिसहरूले तिनको बोल्ने क्षमताको आलोचना गर्दा तिनले यस्तो जवाफ दिए: “म बोली वचनमा अशिक्षित भए तापनि ज्ञानमा ता त्यस्तो छैनँ।” (२ कोरिन्थी १०:१०; ११:६) हो, पावलले आफ्ना कमजोरीहरूभन्दा योग्यताहरूमा ध्यान दिए। तपाईंसित के के योग्यताहरू छन्? आफूले पत्ता लगाउन सक्नुहुन्न भने तपाईंको कुरा बुझ्ने वयस्कसित कुरा गरे कसो होला? त्यस्तो साथीले तपाईंका योग्यताहरू पत्ता लगाएर त्यसको पूर्ण सदुपयोग गर्न मदत दिनसक्छन्।
समस्याहरूका बावजूद प्रगति गर्ने
“यी कुरामा परिश्रम गर। तिनीहरूमानै लागिरह, र तिम्रो प्रगति सबैमा प्रकट होस्।” (१ तिमोथी ४:१५) बुबाले छोरासित कुरा गरेझैं पावलले सेवकाईमा सफल साबित भइसकेका तिमोथीलाई अझ प्रगति गर्न प्रोत्साहन दिए। बाइबलकालीन बोलीचालीमा “प्रगति” अर्थ बुझाउने युनानी क्रियाले “कुनै कुरालाई पन्छाएर अघि बढ्नु” बुझिन्छ अर्थात् झाडीहरू पन्छाउँदै अघि बढ्नु। कहिलेकाहीं स्कूल जानु भनेको त्यस्तै लाग्नसक्छ। तर अन्तिम परिणाम बेकारको हुनेछैन भनी सोच्नुभयो भने स्कूलको पढाइ त्यति गाह्रो लाग्नेछैन।
प्रयास, उत्प्रेरणा तथा सिक्नु भनेको एक अर्काबाट अलग्याउन नसकिने तत्त्वहरू हुन्। जस्तै: कुनै एक जना वाद्यवादकलाई सम्झनुहोस्। तिनलाई बजाउन रमाइलो लाग्छ भने झन् झन् बजाउँछन्। जति बढी बजायो त्यति नै पोख्त हुन्छन् र त्यसबाट बढी आनन्द पनि पाउँछन्। हामी जति बढी सिक्छौं सिक्न उति नै सजिलो हुन्छ। त्यसकारण, स्कूलको पढाइले नआत्तिनुहोस्। जति प्रयास गर्नुपर्छ, सो गर्नुहोस् अनि उन्नति गर्न तपाईंलाई मदत दिने व्यक्तिहरूसित संगत गर्नुहोस् र साथै अजर्याहले पुरातन राजा आसालाई भनेका यी शब्दहरू नबिर्सनुहोस्: “तिमीहरूको साहस घटनुहुँदैन। किनभने तिमीहरूको कामको प्रतिफल तिमीहरूले पाउनेछौ।”—२ इतिहास १५:७.
[फुटनोट]
a सिक्ने असमर्थता भएका केटाकेटीहरूले यस सन्दर्भमा विशेष प्रकारका चुनौतीहरू सामना गर्छन्। थप जानकारीका लागि ब्यूँझनुहोस्! जुलाई-सेप्टेम्बर, १९९६, पृष्ठ २६-२८ हेर्नुहोस्।
[पृष्ठ १६-मा भएको चित्र]
पढाइमा अझ राम्रो गर्ने तपाईंको लक्ष्यबारे शिक्षकसित कुरा गर्न नहिचकिचाउनुहोस्
[पृष्ठ १७-मा भएको चित्र]
कुनै विषयको त्यति व्यवहारिक उपयोग नदेखे तापनि त्यसमा निपुणता हासिल गरेर लाभ उठाउन सक्नुहुन्छ