‘आफू र आफूलाई सुन्नेलाई उद्धार गर्नुहोस्’
“आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा होशियार रह। . . . किनभने यसो गर्नाले तिमीले आफूलाई र तिमीलाई सुन्नेलाई समेत उद्धार गर्नेछौ।”—१ तिमोथी ४:१६.
१, २. साँचो मसीहीहरूलाई जीवनदायी कार्यमा लागिरहन कुन कुराले उत्प्रेरित गर्छ?
उत्तरी थाइल्याण्डको एउटा दुर्गम गाउँमा एक यहोवाका साक्षी दम्पतीले आफूले सिकेको नयाँ भाषामा त्यहाँका पहाडी मानिसहरूसँग कुरा गर्ने कोसिस गरिरहेका छन्। गाउँलेहरूलाई परमेश्वरको राज्यबारे सुसमाचार बताउन त्यस दम्पतीले हालसालै लाँहु भाषा सिकेका छन्।
२ पति भन्छन्, “यी रमाइला व्यक्तिहरूमाझ काम गर्दा अनुभव हुने आनन्द र सन्तुष्टि व्याख्या गरेर साध्य छैन। ‘हरेक जाति, कुल, भाषा र मानिसहरूलाई’ सुसमाचार सुनाइनेछ भन्ने प्रकाश १४:६, ७ को भविष्यवाणीको पूर्तिमा साँच्चै संलग्न भएजस्तो हामीलाई महसुस हुन्छ। सुसमाचार प्रचार नगरेका ठाउँहरू सायद धेरै कम छन् र यो निश्चय पनि त्यस्तै एउटा ठाउँ हो। हामीसँग आफूले सँभाल्न सक्नेभन्दा धेरै बाइबल अध्ययनहरू छन्।” निश्चय, यस दम्पती आफू मात्र नभई तिनीहरूलाई सुन्नेहरूको पनि उद्धार गर्ने आशा गर्छन्। मसीहीहरूको हैसियतमा के हामी सबै त्यस्तै आशा गर्दैनौं र?
“आफ्नो विषयमा . . . होशियार रह”
३. अरूको उद्धार गर्न पहिला हामीले के गर्नुपर्छ?
३ प्रेरित पावलले तिमोथीलाई “आफ्नो विषयमा . . . होशियार रह” भनेर सल्लाह दिए अनि यो सबै मसीहीहरूलाई लागू हुन्छ। (१ तिमोथी ४:१६) निस्सन्देह, अरूलाई मुक्ति पाउन मदत दिनभन्दा पहिला हामीले आफूलाई ध्यान दिनुपर्छ। हामीले कसरी यसो गर्नसक्छौं? एउटा कुरा त, हामी आफू बाँचिरहेको समयबारे सजग हुनुपर्छ। आफ्ना अनुयायीहरूले “जगत्को अन्तको” आगमन थाह पाऊन् भनेर येशूले मिश्रित चिह्नहरू दिनुभयो। तर येशूले, हामीले अन्त कहिले आउँछ ठ्याक्क थाह पाउनेछैनौं भनेर पनि बताउनुभयो। (मत्ती २४:३, ३६) यस तथ्यप्रति हाम्रो प्रतिक्रिया कस्तो हुनुपर्छ?
४. (क) यस दुष्ट रीतिरिवाजको बाँकी रहेको समयप्रति हाम्रो कस्तो मनोवृत्ति हुनुपर्छ? (ख) हामीले कस्तो मनोवृत्ति राख्नु हुँदैन?
४ हामी प्रत्येकले यस्तो प्रश्न गर्नसक्छौं, ‘के मैले यस दुष्ट रीतिरिवाजको बाँकी रहेको समय आफू र अरूलाई बचाउन प्रयोग गरिरहेको छु? वा म यस्तो सोच्ने गर्छु, “अन्त ठीक कहिले आउँछ थाह नभएकोले म यसबारे धेरै चिन्तित हुन्न”?’ पछिल्लो सोचाइ खतरनाक छ। यो येशूको यस सल्लाहको ठीक विपरीत छ: “तिमीहरू पनि तयार रहो किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउँछ।” (मत्ती २४:४४) साँच्चै यहोवाको सेवामा जोस गुमाउने वा सुरक्षा वा सन्तुष्टिको निम्ति संसारमा फर्कने समय अहिले होइन।—लूका २१:३४-३६.
५. मसीहीपूर्व यहोवाका साक्षीहरूले कस्तो उदाहरण बसाले?
५ हामी आफ्नो विषयमा होसियार छौं भनेर प्रमाणित गर्नसक्ने अर्को तरिका मसीहीको हैसियतमा विश्वासीपूर्वक धैर्य धारण गरेर हो। विगतमा परमेश्वरका सेवकहरूले तुरुन्तै छुटकारा पाउने हो या होइन थाह नभए तापनि धैर्य धारण गरे। हाबिल, हनोक, नूह, अब्राहाम र साराजस्ता मसीहीपूर्व साक्षीहरूको उदाहरण उल्लेख गरिसकेपछि पावलले यसो भने: “यी सबै प्रतिज्ञाहरू नपाईकन, तर तिनीहरूलाई टाढ़ैबाट देखेर स्वागत गरी तिनीहरू पृथ्वीमा परदेशी र परदेशी हुन् भन्ने स्वीकार गर्दै विश्वासैमा तिनी मरे।” तिनीहरूले न सुबिस्ताको जीवनको चाहना गरे न वरपरको अनैतिक दबाउको प्रभावमा नै परे। बरु, उत्सुकतासाथ “सबै प्रतिज्ञाहरू” पूरा हुने दिनको पर्खाइमा बसे।—हिब्रू ११:१३; १२:१.
६. प्रथम शताब्दीका मसीहीहरूले मुक्तिबारे राखेको दृष्टिकोणले तिनीहरूको जीवनशैलीमा कसरी प्रभाव पाऱ्यो?
६ प्रथम शताब्दीका मसीहीहरू पनि आफूलाई यस संसारमा “प्रवासी[को]” रूपमा हेर्थे। (१ पत्रुस २:११) सा.यु. ७० मा यरूशलेमको विनाशबाट बचेपछि साँचो मसीहीहरूले न त प्रचार गर्न बन्द गरे न सांसारिक जीवनशैलीतर्फ नै फर्के। विश्वासी भइरहनेहरूले अझै महान् मुक्ति पाउनेछन् भनेर तिनीहरूलाई थाह थियो। वास्तवमा, धेरै पछि सा.यु. ९८ मा प्रेरित यूहन्नाले यस्तो लेखे: “संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।”—१ यूहन्ना २:१७, २८.
७. आधुनिक समयमा यहोवाका साक्षीहरूले कसरी धीरज प्रदर्शित गरेका छन्?
७ आधुनिक समयमा पनि यहोवाका साक्षीहरू भीषण सतावटको बावजूद मसीही क्रियाकलापमा लागिरहेका छन्। के तिनीहरूको धीरज व्यर्थै गएको छ? निश्चय पनि छैन किनभने येशूले यस्तो आश्वासन दिनुभयो: “अन्तसम्म स्थिर रहने चाहिंले उद्धार पाउनेछ” चाहे त्यो अन्त यस दुष्ट रीतिरिवाजको अन्त होस् वा आफ्नो जीवनको अन्त नै किन नहोस्। पुनरुत्थानको बेला यहोवाले आफ्ना मरिसकेका सबै विश्वासी सेवकहरूलाई सम्झनुहुनेछ र इनाम दिनुहुनेछ।—मत्ती २४:१३; हिब्रू ६:१०.
८. पुरातन मसीहीहरूको धीरजको मूल्यांकन गर्छौं भनेर हामी कसरी देखाउनसक्छौं?
८ यसबाहेक, पुरातन समयका विश्वासी मसीहीहरू आफ्नै उद्धारबारे मात्र चिन्तित नभएकोमा हामी खुसी छौं। तिनीहरूकै प्रयासको कारण हामीले परमेश्वरको राज्यबारे सिक्न पाएको हुँदा तिनीहरू येशूले दिनुभएको यस काममा धीरजीसाथ लागिरहेकोमा हामी कृतज्ञ छौं: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ, . . . जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।” (मत्ती २८:१९, २०) मौका छउञ्जेल, अहिलेसम्म सुसमाचार सुन्न नपाएका मानिसहरूलाई प्रचार गरेर हामी आफ्नो कृतज्ञता जाहेर गर्नसक्छौं। तथापि, प्रचारकार्य चेला बनाउने कामको पहिलो कदम मात्र हो।
‘आफ्नो शिक्षाको विषयमा होसियार रह’
९. सकारात्मक मनोवृत्तिले हामीलाई बाइबल अध्ययन सुरु गर्न कसरी मदत गर्छ?
९ हाम्रो काम प्रचार गर्ने मात्र होइन तर सिकाउने पनि हो। येशूले हामीलाई उहाँले आज्ञा गर्नुभएका सबै कुराहरू मानिसहरूलाई सिकाउन आदेश दिनुभयो। हो, केही इलाकाहरूमा कमै मानिसलाई मात्र यहोवाबारे सिक्ने चाहना भएजस्तो देखिन्छ। तर त्यस्तो नकारात्मक विचारधारा, बाइबल अध्ययन सुरु गर्ने हाम्रो प्रयासमा अवरोध बन्नसक्छ। यिभेट नाउँ गरेकी एक अग्रगामी त्यस्तै एउटा फल नफलाउने भनिने इलाकामा अग्रगामी गर्थिन्। तर तिनले त्यहाँ आउने कोही कोही आगन्तुकहरू सकारात्मक मनोवृतिका पाइन् र त्यहाँ तिनीहरू गृह बाइबल अध्ययन सुरु गर्न पनि सफल भए। यिभेटले पनि सकारात्मक मनोवृत्ति विकास गरेपछि बाइबल अध्ययन गर्न इच्छुक व्यक्तिहरू भेट्टाइन्।
१०. बाइबल शिक्षकको रूपमा हाम्रो खास काम के हो?
१० कोही कोही मसीहीहरू आफू अध्ययन सञ्चालन गर्न अयोग्य महसुस गर्दै इच्छुक व्यक्तिहरूलाई बाइबल अध्ययनको प्रस्ताव राख्दैनन्। हो, हामी सबैको योग्यता एउटै छैन। तर परमेश्वरको वचनको सफल शिक्षक बन्न हामी अत्यन्तै सिपालु हुनैपर्छ भन्ने छैन। बाइबलको शुद्ध सन्देश आफै शक्तिशाली छ र भेडा खाले व्यक्तिहरूले साँचो गोठालोको आवाज सुन्नेछन् भनेर येशूले बताउनुभयो। अतः हाम्रो काम हो, आफ्नो क्षमताले सके जति स्पष्टसित असल गोठालो येशूको सन्देश सुनाउनु।—यूहन्ना १०:४, १४.
११. बाइबल विद्यार्थीलाई मदत गर्न तपाईं कसरी अझ प्रभावकारी हुन सक्नुहुन्छ?
११ तपाईंले अझ प्रभावकारी ढंगमा कसरी येशूको सन्देश सुनाउन सक्नुहुन्छ? सर्वप्रथम, विचाराधीन विषयबारे बाइबलले के भन्छ, परिचित हुनुहोस्। कुनै विषयबारे अरूलाई सिकाउनुअघि आफूले त्यो पहिला बुझेको हुनुपर्छ। साथै, अध्ययनको दौडान गम्भीर तर मित्रैलो वातावरण कायम गर्ने कोसिस गर्नुहोस्। साना केटाकेटीलगायत सबै उमेरका विद्यार्थीहरूले मित्रैलो वातावरण हुँदा र शिक्षकले आदर तथा दया देखाउँदा राम्ररी सिक्न सक्छन्।—हितोपदेश १६:२१.
१२. तपाईंले सिकाइरहनुभएको कुरा विद्यार्थीले बुझेको छ कि छैन कसरी पक्का गर्न सक्नुहुन्छ?
१२ शिक्षकको हैसियतमा तपाईंले विद्यार्थीलाई घोकाउन केवल तथ्यहरू बताउने गर्नु हुँदैन। तिनलाई आफूले सिकिरहेका कुरा बुझ्न मदत गर्नुहोस्। विद्यार्थीको शैक्षिक योग्यता, जीवनको अनुभव र ऊ बाइबलसँग कत्तिको परिचित छ, ती सबै कुराले तपाईंले भनिरहेको कुरा बुझ्नु, नबुझ्नुमा असर गर्छ। तसर्थ, तपाईंले आफूलाई यस्तो प्रश्न गर्न सक्नुहुन्छ, ‘के तिनले अध्ययन गरिरहेको विषयवस्तुमा उल्लिखित शास्त्रपदहरूको महत्त्व बुझेका छन्?’ तपाईंले तिनलाई हो या होइनमा मात्र जवाफ दिएर नपुग्ने तर व्याख्या गर्नुपर्ने प्रश्नहरू सोधेर कत्तिको बुझेका छन्, पत्ता लगाउन सक्नुहुन्छ। (लूका ९:१८-२०) अर्कोतर्फ, केही विद्यार्थीहरू अध्ययन सञ्चालकलाई प्रश्न गर्न हिचकिचाउँछन्। अतः तिनीहरू आफूले सिकिरहेको कुरा राम्ररी नबुझे तापनि अध्ययन अगाडि बढाइरहेका हुनसक्छन्। विद्यार्थीहरूलाई प्रश्न सोध्ने र केही बुँदाहरू नबुझ्दा तपाईंलाई बताउन प्रोत्साहन दिनुहोस्।—मर्कूस ४:१०; ९:३२, ३३.
१३. विद्यार्थीलाई शिक्षक बन्न कसरी मदत गर्न सक्नुहुन्छ?
१३ बाइबल अध्ययन सञ्चालन गर्नुको एउटा मुख्य उद्देश्य विद्यार्थीलाई पनि शिक्षक बन्न मदत गर्नु हो। (गलाती ६:६) यो कुरा मनमा राख्दै अध्ययनको अन्तमा, सिकेका बुँदाहरू पहिलो चोटि सुनेको मानिसलाई जस्तै गरी सरल भाषामा तिनलाई बताउन लगाउन सक्नुहुन्छ। अनि तिनी सेवकाईमा भाग लिन योग्य भएपछि क्षेत्र सेवामा जान आमन्त्रित गर्न सक्नुहुन्छ। सायद तिनलाई तपाईंसित काम गर्न सजिलो लाग्नेछ र आफै सेवकाईमा जाने आँट गर्न यस अनुभवले मदत गर्नेछ।
विद्यार्थीलाई यहोवाको मित्र हुन मदत गर्नुहोस्
१४. शिक्षकको हैसियतमा तपाईंको मुख्य उद्देश्य के हो र यो प्राप्त गर्न कुन कुराले मदत गर्नसक्छ?
१४ प्रत्येक मसीही शिक्षकको मुख्य उद्देश्य विद्यार्थीलाई यहोवाको मित्र हुन मदत गर्नु हो। तपाईंले यो वचनद्वारा मात्र होइन तर कामद्वारा पनि गर्न सक्नुहुन्छ। असल नमुनाले विद्यार्थीको हृदयमा अमेट छाप पार्छ। विशेष गरी, विद्यार्थीमा नैतिक गुणहरू विकास गर्ने र जोस जगाउने सन्दर्भमा कुराभन्दा काम प्रभावकारी हुन्छ। तपाईंको कुरा अनि काम दुवैमा यहोवासितको असल सम्बन्ध देखेपछि तिनी आफै त्यस्तो सम्बन्ध विकास गर्न उत्प्रेरित हुनसक्छन्।
१५. (क) विद्यार्थीले यहोवालाई सेवा गर्ने सन्दर्भमा किन असल मनसाय विकास गर्नु महत्त्वपूर्ण छ? (ख) तपाईंले विद्यार्थीलाई आध्यात्मिक तवरमा उन्नति गरिरहन कसरी मदत गर्न सक्नुहुन्छ?
१५ विद्यार्थीले आरमागेडोनमा नाश हुने डरले मात्र होइन तर यहोवाप्रतिको प्रेमको कारण उहाँको सेवा गरोस् भन्ने तपाईं चाहनुहुन्छ। तिनलाई त्यस्तो सही मनोभाव विकास गर्न मदत गर्दा तपाईंले विश्वासको जाँच पार गर्नसक्ने अनि आगोले नखाने सामग्रीले निर्माण गरिरहनुभएको हुनेछ। (१ कोरिन्थी ३:१०-१५) तपाईं वा अन्य कोही मानिसको अनुसरण गर्ने जस्ता गलत मनसायले तिनलाई न त गैरमसीही प्रभावहरूको प्रतिरोध गर्न न सही कुरा गर्न नै साहस दिन्छ। नबिर्सनुहोस्, तपाईं सधैंको लागि तिनको शिक्षक हुनुहुने छैन। मौका हुँदा नै तपाईंले तिनलाई परमेश्वरको वचन दिनहुँ पढेर र त्यसबारे मनन गरेर यहोवासित नजिक हुन प्रोत्साहित गर्न सक्नुहुन्छ। यसरी तिनले अध्ययन सिद्धिएको लामो समयपछिसम्म पनि बाइबल तथा बाइबल आधारित प्रकाशनहरूबाट “पक्का कुराहरूको नमूना पक्रीरा[ख्नेछन्]।”—२ तिमोथी १:१३.
१६. तपाईंले विद्यार्थीलाई भित्री हृदयदेखि प्रार्थना गर्न कसरी सिकाउन सक्नुहुन्छ?
१६ विद्यार्थीलाई भित्री हृदयदेखि प्रार्थना गर्न सिकाएर पनि तपाईं तिनलाई यहोवासित नजिक हुन मदत गर्न सक्नुहुन्छ। तपाईं यो कसरी गर्न सक्नुहुन्छ? तपाईंले येशूको नमुना प्रार्थनालगायत बाइबलको अन्य पुस्तक जस्तै भजनमा लिपिबद्ध हृदयस्पर्शी प्रार्थनाहरूतिर तिनको ध्यानाकर्षण गराउन सक्नुहुन्छ। (भजन १७, ८६, १४३; मत्ती ६:९, १०) यसबाहेक, विद्यार्थीले तपाईंले अध्ययनको सुरु र अन्तमा प्रार्थना गरेको सुन्दा, यहोवाप्रतिको तपाईंका भावनाहरू बुझ्न सक्नेछन्। तसर्थ, तपाईंले सधैं साँचो हृदयले खुलस्त प्रार्थना गर्नुपर्छ साथै प्रार्थनामा आध्यात्मिक र भावनात्मक सन्तुलन पनि झल्किनुपर्छ।
छोराछोरीलाई बचाउन गर्नुपर्ने परिश्रम
१७. आमाबाबुले आफ्ना छोराछोरीलाई मुक्तिको मार्गमा लागिरहन कसरी मदत गर्नसक्छन्?
१७ निस्सन्देह, हामीले बचाउन चाहनेहरूमध्ये हाम्रो परिवारका सदस्यहरू पनि हुन्। मसीही आमाबाबुका थुप्रै केटाकेटी निष्कपट र “विश्वासमा दह्रो” छन्। तथापि, अरू कतिपयको चाहिं भित्र हृदयसम्म सच्चाइ नगडेको हुनसक्छ। (१ पत्रुस ५:९; एफिसी ३:१७; कलस्सी २:७) अनि यस्ता थुप्रैले वयस्क भएपछि मसीही मार्ग त्याग्छन्। तपाईं आमाबाबु हुनुहुन्छ भने त्यस्तो सम्भावना घटाउन के गर्न सक्नुहुन्छ? सुरुमा त राम्रो पारिवारिक वातावरण सृजना गर्ने प्रयास गर्न सक्नुहुन्छ। असल पारिवारिक जीवनले अख्तियारप्रतिको सही दृष्टिकोण, उचित मूल्यमान्यताको मूल्यांकन र अरूसितको राम्रो सम्बन्धमा जग बसालेको हुन्छ। (हिब्रू १२:९) अतः परिवारका सदस्यहरूबीचको घनिष्ठ सम्बन्ध नै छोराछोरीको लागि परमेश्वरसित मित्रता गाँस्ने आधार हुनसक्छ। (भजन २२:१०) असल परिवारहरू सबै मिलेर कामकुराहरू गर्छन् चाहे त्यसको लागि आमाबाबुले आफ्नो व्यक्तिगत फाइदाको काममा लगाउन सकिने समय नै किन त्याग्नु नपरोस्। यसरी तपाईंले नमुना बसाल्नुभएर आफ्ना छोराछोरीलाई जीवनमा सही निर्णयहरू गर्न सिकाउन सक्नुहुन्छ। आमाबाबु हो, तपाईंको छोराछोरीलाई चाहिने सबैभन्दा महत्त्वपूर्ण कुरा भौतिक कुराहरू होइनन् तर तपाईं, तपाईंको समय, प्रयास र प्रेम हुन्। के तपाईंले आफ्ना छोराछोरीलाई यी कुराहरू दिइरहनुभएको छ?
१८. आमाबाबुले आफ्ना छोराछोरीलाई कस्ता शंकाहरू हटाउन मदत गर्नुपर्छ?
१८ मसीही आमाबाबुले आफ्ना छोराछोरी पनि स्वतः मसीही हुनेछन् भन्ने विचारधारा कहिल्यै राख्नुहुँदैन। प्राचीन तथा पाँच छोराछोरीका पिता डानियल यस्तो टिप्पणी गर्छन्: “आमाबाबुले आफ्ना छोराछोरीले स्कूल तथा अन्य ठाउँहरूमा जाँदा निश्चय पनि सामना गर्ने शंकाहरू हटाउन समय निकाल्नुपर्छ। तिनीहरूले धैर्यसाथ यस्ता प्रश्नहरूको जवाफ पत्ता लगाउन छोराछोरीलाई मदत गर्नुपर्छ: ‘के हामी साँच्चै आखिरी दिनमा बाँचिरहेका छौं? के साँच्चै एउटा मात्र साँचो धर्म छ? स्कूलका राम्रै देखिने साथीसँग संगत गर्नु किन उचित नहुनसक्छ? के विवाहअघि यौन सम्बन्ध राख्नु हर हालतमा खराब हो?’ ” आमाबाबु हो, तपाईंको प्रयासमा यहोवाले आशिष् दिनुहुनेछ भनेर तपाईं ढुक्क हुन सक्नुहुन्छ किनभने उहाँ पनि तपाईंको छोराछोरीको भलाइ चाहनुहुन्छ।
१९. आमाबाबु आफैले आफ्ना छोराछोरीसित अध्ययन गर्नु किन बेस हो?
१९ कोही कोही आमाबाबुले आफ्ना छोराछोरीसित अध्ययन गर्न अयोग्य महसुस गर्लान्। तथापि, तपाईंले त्यस्तो महसुस गर्नु पर्दैन किनभने तिनीहरूलाई सिकाउन तपाईं जस्तो राम्रो स्थितिमा अरू कोही पनि हुँदैन। (एफिसी ६:४) आफ्नो छोराछोरीसित अध्ययन गर्दा तपाईंले तिनको मन अनि हृदयको कुरा बुझ्न सक्नुहुन्छ। तिनीहरूको अभिव्यक्ति भित्री हृदयदेखिको हो कि सतही? आफूले सिकिरहेको कुरामा के तिनीहरू साँच्चै विश्वास गर्छन्? तिनीहरूको लागि के यहोवा वास्तविक हुनुहुन्छ? तिनीहरूसित अध्ययन गर्नुभएको खण्डमा मात्र तपाईंले यी अनि अन्य महत्त्वपूर्ण प्रश्नहरूको जवाफ पाउन सक्नुहुन्छ।—२ तिमोथी १:५.
२०. आमाबाबुले पारिवारिक अध्ययनलाई कसरी रमाइलो र लाभदायी बनाउनसक्छन्?
२० तपाईंले एक चोटि पारिवारिक अध्ययन कार्यक्रम थाल्नु भएपछि कसरी कायम राख्न सक्नुहुन्छ? एक प्राचीन तथा साना किशोर छोराछोरीका बुबा जोसेफ यसो भन्छन्: “अरू बाइबल अध्ययनहरूजस्तै पारिवारिक अध्ययन पनि रमाइलो र सबैले उत्सुकतासाथ पर्खने विषय हुनुपर्छ। परिवारमा त्यसका लागि तपाईं समयको सन्दर्भमा अत्यन्तै कठोर हुनु हुँदैन। सामान्यतया अध्ययन एक घण्टाको होला तर कहिलेकाहीं दस मिनेटको लागि मात्र भए पनि हामी अध्ययन गर्छौं। हाम्रा छोराछोरीलाई अध्ययन कार्यक्रम हप्ताको आकर्षण हुनुको एउटा कारण बाइबलका कथाहरू भएको मेरो पुस्तक-बाटa दृश्यहरू अभिनय गर्ने भएकोले हो। हामीले ढाक्ने अनुच्छेदहरूको संख्याभन्दा पढेको कुरा बुझेर हृदयमा कत्तिको बसेको छ, त्यो महत्त्वपूर्ण छ।”
२१. आमाबाबुले आफ्नो छोराछोरीलाई कहिले निर्देशन दिनसक्छन्?
२१ निस्सन्देह, छोराछोरीलाई सिकाउने काम औपचारिक अध्ययनमा मात्रै सीमित हुँदैन। (व्यवस्था ६:५-७) यस लेखको सुरुमा उल्लिखित थाइल्याण्डका साक्षी यसो भन्छन्: “बुबाले मलाई साइकलमा राखेर हाम्रो मण्डलीको दुर्गम इलाकामा प्रचारमा कसरी लानुहुन्थ्यो मलाई अझै राम्ररी याद छ। निश्चय पनि हाम्रो आमाबाबुले हर परिस्थितिको बावजूद बसाल्नुभएको असल उदारहरण र शिक्षाले नै हामीलाई पूर्ण-समय सेवकाईमा लाग्ने निर्णय गर्न मदत गऱ्यो। अनि पाठ पक्कै पनि प्रभावकारी भएको हुनुपर्छ किनभने म त्यसैकारण अझै पनि पृथ्वीको एउटा कुनामा सेवा गर्दैछु!”
२२. ‘आफ्नो र आफ्नो शिक्षाको विषयमा होसियार रहँदा’ नतिजा के हुन्छ?
२२ एक दिन चाँडै येशूले उपयुक्त समयमा यस दुष्ट रीतिरिवाजमाथि परमेश्वरको इन्साफ सुनाउनुहुनेछ। त्यस महान् घटना एक दिन विगतको कुरा हुनेछ तर यहोवाका विश्वासी सेवकहरूले भने अनन्त मुक्तिलाई ध्यानमा राख्दै उहाँको सेवा गरिरहनेछन्। के तपाईं तिनीहरूलगायत आफ्ना छोराछोरी र बाइबल विद्यार्थीहरू माझ हुने आशा गर्नुहुन्छ? गर्नुहुन्छ भने, यो कुरा नबिर्सनुहोस्: “आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा होशियार रह। यी कुरामा लागिबस। किनभने यसो गर्नाले तिमीले आफूलाई र तिमीलाई सुन्नेलाई समेत उद्धार गर्नेछौ।”—१ तिमोथी ४:१६.
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।
के तपाईं बुझाउन सक्नुहुन्छ?
• परमेश्वरले इन्साफ कहिले गर्नुहुनेछ भनेर ठ्याक्क थाह नभएकोले हाम्रो मनोवृत्ति कस्तो हुनुपर्छ?
• ‘आफ्नो शिक्षाको विषयमा’ हामी कुन कुन तरिकामा होसियार रहनसक्छौं?
• एक विद्यार्थीलाई यहोवाको मित्र हुन कसरी मदत गर्न सक्नुहुन्छ?
• आमाबाबुले आफ्ना छोराछोरीलाई सिकाउन समय दिनु किन महत्त्वपूर्ण छ?
[पृष्ठ १५-मा भएको चित्र]
मर्यादित तर मित्रैलो वातावरणमा अझ सिक्न सकिन्छ
[पृष्ठ १८-मा भएको चित्र]
सुलेमानले दुई वेश्याहरूको न्याय गरिरहेको जस्ता बाइबल कथाहरू अभिनय गरेर देखाउँदा पारिवारिक अध्ययन रमाइलो हुन्छ