शैशवकालदेखि तिनीहरूलाई प्रशिक्षण दिनुहोस्
आधुनिक अनुसन्धानले संकेत गरेअनुसार “आवाजले भ्रूणहरूलाई शारीरिक तवरमा असर गर्छ।” “आमाहरूले आफ्ना छोराछोरीलाई गर्भमा छँदा पढेका अंशहरू भर्खरै जन्मेकाहरूलाई फेरि सुनाउँदा तिनीहरूले प्रतिक्रिया देखाएको” नर्थ क्यारोलाइना विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले पत्ता लगाएको विनिङपेग फ्रि प्रेस-ले बताउँछ। गर्भावस्थामा स्त्रीहरूले ठूलो स्वरले पढ्दा बच्चाको मनमा असल नैतिक मान्यताहरू ठप्प बसाल्न योगदान पुऱ्याउनसक्छ। बाइबल भन्छ, ‘तिमोथीले शैशवकालदेखि पवित्र लेखोटहरू’ जान्थे। (२ तिमोथी ३:१४, १५) स्पष्टतः, तिनकी आमा र बज्यैले तिनलाई शैशवकालदेखि नै प्रशिक्षण दिने महत्त्वलाई बुझेका थिए। र यसो गर्नुमा सम्भवतः ठूलो स्वरले पढ्नु पनि समावेश थियो।
लेखक जिम ट्रेलेसअनुसार “आज हाम्रो समाजमा भएको सबैभन्दा सशक्त प्रतिभा” नै पढ्नु हो। ठूलो स्वरले पढ्दा भाषा र शब्द भण्डारको प्रगति हुन्छ।
तपाईंले आफ्नो बच्चासित कुरा गर्न थालेदेखि नै ठूलो स्वरले पढ्नु बुद्धिमानी हो। गर्भको वा नवजात शिशुले सुरुमा तपाईंले भन्नुभएको नबुझे तापनि सम्भाव्य दीर्घकालीन फाइदाहरूलाई विचार गर्ने हो भने त्यसो गर्नु सार्थक छ। हितोपदेश २२:६ यसो भन्छ: “बालकलाई ठीक बाटोमा लगाऊ, र बृद्धावस्थामा पनि त्यसले त्यो त्याग्दैन।”
व्यवहारिक र लाभदायी दुवै हुनेगरि तपाईं कस्ता पाठ्यसामग्री पढ्न सक्नुहुन्छ? दिनहुँ तपाईंको बच्चालाई बाइबल ठूलो स्वरले पढेर सुनाउनुहोस्। अनि महान् शिक्षकबाट सुन्ने (अंग्रेजी), बाइबलका कथाहरू भएको मेरो पुस्तक, आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान पुरुष जस्ता गहकिला प्रकाशनहरू र प्रहरीधरहरा तथा ब्यूँझनुहोस्! पत्रिकाका लेखहरू पढ्न सक्नुहुन्छ।
हो, यसो गर्दा तपाईंले समय दिनुपर्छ तर यो समय असल काममा बिताएको हुनेछ। यसो गर्नु भनेको तपाईं आफ्नो बच्चालाई हेरचाह तथा माया गर्नुहुन्छ भनेर देखाउने ठोस तरिका हो।