प्राचीनहरू आफ्नो जिम्मेवारीको संरक्षण गर्नुहोस्
“यसकारण तपाईंहरू आफै र पवित्र आत्माले परमेश्वरका मण्डलीमा चराउनलाई तपाईंहरूलाई धर्माधिकारी तुल्याउनुभएको र बगालसमेत, उहाँले आफ्नै रगतले किन्नुभएकोले होशियारी हुनुहोस्।”—प्रेरित २०:२८.
१. मसीही जिम्मावारीमा के सम्मिलित छ?
यहोवा परमेश्वरले आफ्नो पार्थिव सङ्गठनमा हुनेहरूलाई एउटा अद्भुत जिम्मावारी दिनुभएको छ। तर जिम्मावारी भन्नाले के बोध हुन्छ? यो कुनै एउटा व्यक्तिलाई जिम्मा लगाइएको मूल्यवान चीज हो जसको हिसाब उसले दिनुपर्नेछ। मसीही जिम्मावारीमा धर्मशास्त्रबाट बताइएका “पक्का कुराहरूको नमूना,” र “विश्वासी र बुद्धिमान दास” द्वारा बाँड़िएको सत्य समावेश छ। (२ तिमोथी १:१३, १४; मत्ती २४:४५-४७) यस जिम्मावारीमा सत्यसित सम्बन्धित सेवकाईको काम सामेल छ, जसलाई मण्डली भित्र र बाहिर प्रचार गर्न जरूरी छ। (२ तिमोथी ४:१-५) आत्माद्वारा नियुक्ती पाएका प्राचीनहरू लगायत सबैनै राज्य प्रचारकहरूले यस जिम्मावारीलाई अति मूल्यवान सम्झनु पर्दछ।
२. प्राचीनहरूका अरू के थप जिम्मावारीहरू छन्, र पत्रुसले त्यसवारे के भने?
२ मसीही प्राचीनहरूको अझ थप जिम्मावारी छ—परमेश्वरको बगालको हेरचाह गर्ने जिम्मावारी। यस सिलसिलामा, प्रेरित पत्रुसले लेखेका छन्: “तिमी धर्म-गुरुहरूलाई, म पनि एक धर्म-गुरु र ख्रीष्टको शासनाको गवाही, र प्रकट हुनलागेको महिमाको सहयोगी पनि हुनाले, उपदेश दिन्छु। तिमीहरूका जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर बगालको उदाहरण होओ। औ जब मूल-गोठाला प्रकट हुनुहुन्छ, तब तिमीहरूले कहिल्यै न ओइलाउने महिमाको मुकुट पाउनेछौ।”—१ पत्रुस ५:१-४.
३. मसीही प्राचीनहरू के को श्रोत हुन पर्दछ?
३ मसीही प्राचीनहरू “बतासबाट लुक्ने ठाउँ, र आँधी-बेह्रीबाट आड़ लिने ठाउँ, सुखा ठाउँमा पानी भएको खोला, र बिरानो भूमिमा ठूलो चटानको छायाजस्तै” हुन पर्छ। (यशैया ३२:१, २) यसको अर्थ, परमेश्वरका भेड़ाजस्ता सेवकहरूका निम्ति प्राचीनहरू, सुरक्षा, शान्ति, र स्थायित्वका स्रोतहरू हुनुपर्दछ। बगालका उप-गोठालाहरू अर्थात् प्राचीनहरूबाट “धेरै” कुराको आशा गरिनेछ किनभने तिनीहरूको जिम्मामा “धेरै सुम्पिएको” छ। (लूका १२:४८) तिनीहरूलाई एउटा वास्तवमा अमूल्य जिम्मेवारी सुम्पिएको छ जसको संरक्षण गर्न अत्यावश्यक छ।
तपाईंलाई किन जिम्मा दिइएको?
४. यत्तिका धेरै प्राचीनहरूको आवश्यकता किन छ?
४ यहोवाका साक्षीहरूको विश्व भरि, ६३,००० भन्दा बढ़ी मण्डलीहरू भएकाले, परमेश्वरका बगाललाई हेरचाह गर्न आ- ध्यात्मिक योग्यता भएका हजारौं मानिसहरूको आवश्यकता छ। प्रत्येक देशमा धेरै प्राचीनहरू छन्, र यो हर्षको कुरा हो। विश्व-व्यापी स्तरमा, प्रत्येक मण्डलीमा, सरदर ६० जना प्रकाशकहरू हुन्छन्। त्यसकारण प्राचीनहरूले गर्नुपर्ने काम धेरै छ।—१ कोरिन्थी १५:५८.
५. प्राचीनको रूपमा सेवागर्ने विशेषाधिकार एउटा व्यक्तिलाई के आधारमा दिइन्छ?
५ तपाईं एउटा प्राचीन हुनुहुन्छ भने, तपाईंलाई यो धन्यको विशेषाधिकार किन दिइयो? किनभने तपाईंले केही विशेष कुराहरू गर्नु भएको छ, र तपाईंमा आत्मिक योग्यताहरू छन्। उदाहरणकालागि, तपाईंले परमेश्वरको वचनको अध्ययन लगनशीलतासाथ गर्नु भएको हुनु पर्छ। (यहोशू १:७, ८) र अरूहरूलाई पनि राज्य प्रचारक बन्नमा मद्दत दिनु हुँदै, तपाईंले क्षेत्र सेवकाईमा उत्साहित भएर भाग लिनु भएको हुनु होला। “तपाईं निष्कलङ्क” हुनुहुन्छ भनी जाँचिए पछि, तपाईंले विश्वासीलो भएर सहायक सेवकको जिम्मावारी पूरा गर्नुभयो। एक जना ओभरसियर हुनु “असल काम” हो भनेर त्यस्को मूल्याङ्कन गर्नु हुँदै, प्राचीन हुने योग्यको हुन तपाईंले प्रयास गर्नु भयो। (१ तिमोथी ३:१, १०) तिमोथीको झैं, तपाईंको पनि भाइहरूमा “असल नाउँ चलेको” थियो। (प्रेरित १६:२) प्राचीन हुने तपाईंको सिफारिस हुँदा, सम्भवतः तपाईंको उमेर, ३० वर्ष अथवा त्यो भन्दा अलिक बढ़ी थियो होला र त्यस बेलासम्म तपाईंले जीवनमा केही अनुभव पनि प्राप्त गरी सक्नु भएको थियो होला। मण्डलीले तपाईंलाई आध्यात्मिक परिपक्वता भएको र शास्त्रमा आधारित सर सल्लाह प्रभावशाली ढङ्गमा दिन सक्ने, साथै गोप्य कुराहरूको गोपनियता कायम राख्न सक्ने एक जना मिलनसार भाइको रूपमा आदर गर्न थालेको थियो।—हितोपदेश २५:९, १०.
आफ्नो जिम्मावारीको संरक्षण कसरी गर्ने
६, ७. प्राचीनको हैसियतमा आफ्नो जिम्मावारी निभाउनलाई १ तिमोथी ४:१३-१५ ले के सल्लाह दिन्छ?
६ हो, तपाईं प्राचीन हुनु हुन्छ भने, तपाईंलाई यो मसीही निरीक्षणको जिम्मावारी सुम्पिने ठोस कारणहरू थिए। र यो जिम्मेवारी पाउनु भएकोमा तपाईं कति गौरव गर्नु हुन्छ! तर यो आफ्नो जिम्मावारीको तपाईंले कसरी संरक्षण गर्न सक्नु हुनेछ?
७ एक जना प्राचीनले निभाउनु पर्ने जिम्मावारीको संरक्षण गर्ने एउटा तरीका आफ्नो कामको हेरचाह गर्दा सकारात्मक र लगनशील हुनु हो। यहोवाको सङ्गठनमा हामीले पूरा गर्नु पर्ने बेग्ला-बेग्लै जिम्मावारीहरू छन्। यसकारण, आफ्नो ठाउँमा बसेर, ‘आफूलाई सबैभन्दा सानो ठान्नुमा सन्तोष मान्नु होस्। (लूका ८:४६-४८; न्यायकर्त्ता ७:२१ सँग तुलना गर्नुहोस्) आफ्नो विशेषाधिकारको कदर गर्नुहोस्, र कहिले पनि ‘अल्छे हातले काम’ नगर्नुहोस्। (हितोपदेश १०:४) अप्रगतिशील हुनुको सट्टा, सेवकाईको हर क्षेत्रमा उन्नति गर्नुहोस्। वास्तवमा, पावलले तिमोथीलाई दिएका यस सल्लाहलाई अनुसरण गर्नुहोस्: “म नआउञ्जेल धर्मशास्त्र पढ़ाइ, अर्ती र शिक्षामा ध्यान देऊ। धर्म-गुरुहरूले हात राखिदिएर तिमीलाई अगमवाणी द्वारा मिलेको तिमीमा भएको वरदानको हेल-चेक्राइँ नगर। यी कुरामा परिश्रम गर। तिनीहरूमानै लागिरह, र तिम्रो प्रगति सबैमा प्रकट होस्।”—१ तिमोथी ४:१३-१५.
८. ठोस सल्लाह दिन सक्न र सभाहरूमा अरूहरूको आध्यात्मिक बृद्धि हुने शिक्षा प्रदान गर्नका लागि, प्राचीनलाई कुन कुराले मद्दत दिनेछ?
८ व्यक्तिगत अध्ययन गर्नका लागि, एउटा राम्रो र फलदायी तालिका बनाउनुहोस्। प्राचीन हुनुभएको हुनाले, तपाईंबाट ठोस शास्त्रीय सल्लाहको आशा गरिन्छ। यो जिम्मावारी पूरा गर्ने योग्यका हुनका निम्ति, के तपाईंले सारा बाइबल ध्यानपूर्वक, सम्भवतः धेरै पटक, अध्ययन गर्नु भएको छ? (हितोपदेश १५:२८) मञ्चबाट दिनु पर्ने भाषणहरू बारे कसो गर्नु हुन्छ? तिनीहरूका लागि पनि राम्रोसँग तयारी गर्नुहोस् र सभाहरूमा उपस्थित हुनेहरूका आध्यात्मिक वृद्धि गराउन सक्षम हुनका लागि यहोवासित प्रार्थना द्वारा मद्दत माग्नुहोस्। विशेषगरी, प्राचीनहरूले मुखबाट यस प्रकारका कुराहरू निकाल्ने गर्नु पर्दछ जसबाट ‘सुन्नेहरूलाई अनुग्रह मिलोस्’ र तिनीहरूको ‘सुधार’ होस्।—एफिसी ४:२९; रोमी १:११.
९. २ तिमोथी ४:२ अनुसार एक जना प्राचीनले के गर्न जरूरी छ?
९ तपाईं प्राचीन हुनुहुन्छ भने, पावलले दिएको यो नसीहतलाई पालन गर्नु होस्: “वचन प्रचार गर, समय र बेसमयमा तयार रह, सब सहनशीलता र शिक्षासाथ दोष देखाइदेऊ, हप्काऊ, अर्ती देऊ।” (२ तिमोथी ४:२) पावललाई धर्मत्यागको चिन्ता थियो किनकि मण्डलीमा शब्दहरूबारे ‘झगड़ा गर्ने,’ र ‘मूर्ख र बेसमझका सवाल-जवाफहरू,’ र ‘आपसमा विरोध गर्ने’ मानिसहरू थिए। (२ तिमोथी २:१४-१८, २३-२५; ३:८-१३; ४:३, ४) तर मण्डली भित्र शान्ति होस् वा अशान्ति, तिमोथीले “वचन प्रचारगर्नु” परेको थियो। यसबाट सङ्गी विश्वासीहरूले धर्मत्यागको मुकाविला गर्ने बल पाउने थिए। यसैप्रकार आज, प्राचीनहरूले पनि हृदय सम्म पुग्ने र यहोवाका सिद्धान्तहरूको पालना गर्ने प्रेरणा दिने, परमेश्वरका वेधक वचन वा सन्देश प्रचार गर्नु पर्दछ।—हिब्रू ४:१२.
१०. आफ्नो परिवारका सदस्यहरू र अरूहरूसित क्षेत्र सेवकाईमा प्राचीनले नियमित रूपमा भाग लिन किन उचित हो?
१० अख्तियार सहित बोल्नका लागि, एक जना प्राचीनले परमेश्वरको वचन अनुसार आफ्नो जीवन सञ्चालन गर्नु पर्दछ। तर तिनले मण्डली भित्र मञ्चबाट मात्र ‘वचनको प्रचार’ गर्दछन् भने तिनले आफ्नो जिम्मावारीको पूर्णरूपमा संरक्षण गरिरहेका छैनन्। यसै सिलसिलामा पावलले तिमोथीलाई आग्रह गरे: “प्रचारकको काम गर।” एउटा प्राचीनको हैसियतमा ‘सेवाको काम पूरा गर्न,’ तपाईंले परमेश्वरको वचन “घर-घरमा खुल्लमखुल्ला” प्रचार गर्नु पर्दछ। (२ तिमोथी ४:५; प्रेरित २०:२०, २१) त्यसकारण, आफ्नो परिवारसँग क्षेत्र सेवकाईको काममा भाग लिनु होस्। यसबाट, तपाईं र तपाईंकी श्रीमति बीचको आध्यात्मिक बन्धन अझ बलियो हुनसक्तछ र यो तपाईंका छोरा-छोरीका लागि पनि धेरै नै लाभदायक हुनेछ। मण्डलीका अरू सदस्यहरूसित पनि प्रचारको कार्यमा केही समय बिताउनु होस्। यसले पनि आपसको आध्यात्मिक बन्धनलाई बलियो तुल्याउन र भ्रातृ प्रेममा बृद्धि गराउन सक्तछ। (यूहन्ना १३:३४, ३५) भनौं भने, प्राचीन भएको मानिसले परिवार र मण्डलीका लागि आफ्नो अमूल्य समय संतुलित रूपमा बिताउनु पर्दछ। समझ शक्तिको प्रयोग गरेमा, तिनले एउटाको हेलचक्राइँ गर्दै अर्कोलाई आवश्यकता भन्दा बढ़ी समय दिने छैनन्।
११. एउटा निपुण शिक्षक हुनका लागि, प्राचीनले किन मेहनत गर्नु पर्दछ?
११ प्राचीनले निभाउनु पर्ने आफ्नो जिम्मेवारीको संरक्षण गर्ने हो भने, एउटा निपुण शिक्षक हुने परिश्रम गर्नु होस्। “शिक्षा दिनेले, शिक्षामा, वा अर्ती दिनेले अर्ती दिने काममा” लागिरहन भनेर पावलले भने। (रोमी १२:७, ८) एक जना शिक्षक अरूको सामुन्ने उपदेशक भएर उभिने भएको हुनाकारण, तिनीबाट धेरै आशा राख्ने अरूहरूको अधिकार छ। प्राचीनले दिएको शिक्षा गम्भीर रूपमा गलत छ र यसले गर्दा, सङ्गी विश्वासीहरू बीच समस्याहरू उत्पन्न भयो भने, परमेश्वरले तिनको न्याय गर्नु हुनेछ। किनभने, शिक्षकहरूमाथि “ज्यादै दोष” आइ पर्नेछ। (याकूब ३:१, २; मत्ती १२:३६, ३७) अतः प्राचीनहरूले परमेश्वरका वचन लगनशीलतासाथ अध्ययन गर्दै त्यसलाई आफ्नो जीवनमा प्रयोग गर्नु पर्दछ। यसरी, तिनीहरूले प्रथम आफ्नै जीवनमा प्रयोग गरेका शास्त्रीय शिक्षाहरूको, सङ्गी विश्वासीहरूले ठूलो मूल्याङ्कन गर्नेछन्। यसबाट धर्मत्याग लगायत अन्य हानिकारक प्रभावहरूदेखि पनि मण्डलीको बचाव हुनेछ।
पासोहरूबाट जोगिनुहोस्
१२. यस पत्रिकामा केही समय अघि प्रकाशित कुनचाहिं सल्लाहबाट, एक जना प्राचीनले, आफ्नो जिब्रोको दुरूपयोग गर्नदेखि जोगिने मद्दत पाउनेछ?
१२ प्राचीनले पूरा गर्नु पर्ने जिम्मावारीको संरक्षण गर्नुहुँदा, लुकेका पासोहरूबाट पनि जोगिनु होस्। र एउटा पासो, शिक्षक भएर जिब्रोको कुप्रयोग गर्नु हो। यहोवाको सङ्गठनले यसवारे सावधान हुने आवश्यकतामाथि धेरै अघि देखि जोड् दिंदै आएको छ। उदाहरणकालागि, १८९७, मई १५ को आफ्नो अङ्कमा, यस पत्रिकाले याकूब ३:१-१३ को छलफल गर्दै, खासगरी प्राचीनहरूका विषयमा एसो भनको थियो: “तिनीहरूमा वाक्पटुताको वरदान छ भने, यो वरदान, मानिसहरूलाई प्रभु, सत्यता र धार्मिकताको बाटोमा लैजाने एउटा ठूलो आशिषको माध्यम हुन सक्तछ। तर दूषित जिब्रोले विश्वास, नैतिकता र असल कार्यहरूलाई भनी नसक्ने हानि पुर्याउन सक्तछ। साँच्चै नै, शिक्षा दिने वरदान प्रयोग गर्ने जुन सुकै व्यक्तिले, परमेश्वर र मानिसको सामुन्ने, धेरै नै भारी जिम्मावारी उठाउनु पदर्छ . . . आशिष र ताजगी र ताकत दिने दैवी वचनको फोहोरा हुन चाहने मानिसले परमेश्वरको अपमान गर्ने र उहाँका वचन बङ्ग्याउने र श्राप ल्याउने झुट्टा शिक्षाहरूलाई आफ्नो मुखबाट कदापि निस्कन दिनु भएन। सभाकालागि अगुवाहरू छान्दा, यहाँ उल्लेखित ‘जिब्रो’ सम्बन्धी योग्यतालाई ध्यानमा राख्नु पर्दछ। रिसाहा जिब्रो हुनेहरूलाई छान्नु भएन, तर आफ्नो जिब्रोमा “लगाम” लगाउने र सावधानीपूर्वक ‘ईश्वरका वाणीहरूमात्र’ बोल्ने प्रयास गर्ने नम्र र संयमी व्यक्तिहरूलाई मात्र रोज्ने गर्नु पर्दछ।” एक जना प्राचीनले आफ्नो जिब्रो ठीकसँग प्रयोग गर्नु कत्ति जरूरी कुरा हो!
१३. मनोरञ्जन बारे, प्राचीनहरू कसरी सतर्क हुन सक्छन्?
१३ बढ़ता मनोरञ्जन एउटा अर्को पासो हो जसबाट जोगिएर बस्नु पर्दछ। मनोरञ्जनले एक जना मसीहीको ध्यान अलमलाउनु र तिनलाई थकित पार्नुको सट्टा, त्यो स्फूर्ति र बलदायक हुनु पर्दछ। साथै, अध्यक्षहरू “आत्मसंयमी” हुनु आवश्यक छ। (१ तिमोथी ३:२) मनोरञ्जन बारे आत्मसंयमी हुनु भयो भने, तपाईं र तपाईंको परिवारको बचाव हुनेछ र मण्डलीका निम्ति पनि यो एउटा असल उदाहरण हुनेछ। तपाईंका सङ्गी विश्वासीहरू क्षेत्र सेवकाईमा परिश्रम गरिरहेको बेलामा, तपाईंचाहिं मनोरञ्जनका लागि, सप्ताहको अन्तमा, बरावर बाहिर भ्रमणमा जानु भयो भने, यो एउटा राम्रो उदाहरण हुनेछैन। सुसमाचारको प्रचार हुनै परेकोछ र उत्साही राज्य प्रचारकहरू भएर प्राचीनहरूले त्यस काममा अगुवाइ लिने गर्नु पर्दछ।—मर्कूस १३:१०; तितस २:१४.
१४. (क) प्राचीनहरू योनिक अनैतिकताबाट जोगिनु पर्ने आवश्यकतालाई कुन शास्त्रीय उदाहरणहरूले जोड् दिन्छ? (ख) आत्मिक साइनु पर्ने बहिनीहरूलाई मद्दत दिने विषयमा वारम्वार दिइएको कुन सल्लाहको प्राचीनहरूले उपेक्षा गर्नु हुँदैन?
१४ योनिक अनैतिकता एउटा अर्को पासो हो जसबाट जोगिएर बस्ने खाँचो छ। परमेश्वरका जनहरूको समग्रता भङ्ग गर्न शैतानले गरेको प्रयासहरूको विरोध गरिएन भने, संसारको नैतिक पतनको कुप्रभाव एक जना प्राचीनमाथि पनि पर्न सक्तछ। (मत्ती ४:१-११; ६:९, १३ सङ्ग तुलना गर्नुहोस्) तपाईंलाई यादै होला कसरी इस्राएलीहरूलाई श्राप दिने अगमवक्ता बिलामको प्रयास असफल भए पछि, तिनले इस्राएलीहरूलाई योन उपासना गर्न फँसाउनु सकेमा तिनीहरूलाई स्वयं यहोवाले नै श्रापनु हुनेछ भनी तर्क गरे। त्यसकारण “इस्राएलका छोराहरूका सामुन्ने बाधा खड़ा गर्नु,” र तिनीहरूलाई “मूर्तिलाई चढ़ाएका चीजहरू खान, र व्यभिचार” गर्न लाउनु भनी मोआबी राजा बालाकलाई बिलामले सिकाए। के ती इस्राएलीहरू त्यो पासोबाट जोगिन सके? सकेनन्, किनभने तिनीहरूले मोआबी आइमाईहरूसित अनैतिक सम्बन्ध राखे र तिनीहरूका देवताहरूलाई दण्डवत् गरे, जसले गर्दा यहोवाले पठाउनु भएको महामारीमा, २४,००० इस्राएलीहरू मरे। (प्रकाश २:१४; गन्ती २५:१-९) न बिर्सनु होला, ‘परमेश्वरले आफै रूचाउनु” भएको मानिस, दाऊद पनि अनैतिकताको पासोमा परे। (१ शमूएल १३:१४; २ शमूएल ११:२-४) त्यसकारण, आत्मिक साइनु पर्ने कुनै पनि बहिनीलाई कहिले पनि एक्लैमा मद्दत दिने नगर्नु होस्, तर प्राचीनको हैसियतमा आफ्नो यो जिम्मावारी पूरा गर्दा एक जना अर्को प्राचीन आफूसँग लैजानु होस् भनेर “विश्वासी र बुद्धिमान दासले” बारम्बार दिएको सल्लाहलाई ध्यान दिनुहोस्।—लूका १२:४२.
१५. भौतिकवादको पासोबाट बच्न, एक जना प्राचीनको परिवारले तिनलाई कसरी मद्दत दिन सक्तछ?
१५ प्राचीनहरू बचेर बस्नु पर्ने अर्को पासो भौतिकबाद हो। यहोवाले चाहिंदो कुराहरूको पुग्दो प्रबन्ध मिलाइ दिनुहुनेछ भनी जानेर, जीवनका आवश्यक कुराहरूसँग सन्तुष्ट रहनु होस्। (मत्ती ६:२५-३३; हिब्रू १३:५) परिवारलाई मितव्ययी हुने प्रशिक्षण दिनुहोस्, किनकि खर्चालु स्वभाव नै त्यो समयको चोर हो, जुन समय परिवारलाई मद्दत दिन, सेवकाइमा भाग लिन, मण्डलीलाई बलियो पार्न र राज्य सम्बन्धी कार्यहरू गर्न प्रयोग हुन सक्तछ। परिवारले यस सम्बन्धमा दिएको सहयोगबाट एक जना प्राचीनले लाभ उठाउदछन् र खाँचो न भएका कुराहरूका लागि परिवारले तिनीमाथि दबाब नदिएकोमा तिनी कृतज्ञ हुन्छन्। भनौं भने, “दुःखको थुप्रोको साथमा धेरै धन राख्नुभन्दा थोरै धनसित परमप्रभुको (यहोवाको न्यु. व.) भय राख्नु असल हो।”—हितोपदेश १५:१६.
“होशियारी हुनुहोस्”
१६. एफिसीका अध्यक्षहरूलाई पावलले के सल्लाह दिए?
१६ प्राचीनहरूले आफ्नो जिम्मावारीको संरक्षण गर्ने हो भने, पावलले एफिसीका अध्यक्षहरूलाई दिएको सल्लाह प्रयोगमा ल्याउनु पर्दछ। तिनले तिनीहरूलाई भने: “यसकारण तपाईंहरू आफै र पवित्र आत्माले परमेश्वरका मण्डलीमा चराउनलाई तपाईंहरूलाई धर्माधिकारी तुल्याउनुभएको र बगाल समेत, उहाँले आफ्नै [आफ्नै पुत्रको, न्यु.व.] रगतले किन्नुभएकोले होशियारी हुनुहोस्। किनभने मलाई थाह छ, कि म गए पछि बगाललाई स्वाहा पार्ने डरलाग्दा ब्वाँसाहरू पस्नेछन्। औ तपाईंहरू मध्ये पनि कुनै कुनै मानिसहरू बराल्ने कुरा बोलेर चेलाहरूलाई आफ्ना पछिपछि लैजानालाई खड़ा हुनेछन्। यसकारण यो सम्झेर होशियार हुनुहोस्, कि तीन वर्षसम्म, दिन-रात आँसुको साथ हरेक मानिसलाई जनाउ दिनलाई म थामिनँ।”—प्रेरित २०:२८-३१.
१७, १८. करीब ८२ वर्ष अघि यस पत्रिकामा प्रकाशित कुन सल्लाह आज पनि मसीही प्राचीनहरूका निम्ति उपयुक्त छ?
१७ ८२ वर्ष भन्दा अघि, दी वाचटावर पत्रिकामा (मार्च १, १९०९) पावलले आफ्ना सङ्गी प्राचीनहरूलाई दिएका यो सल्लाहको उद्धरणका साथ साथै, त्यस बारे यो टिप्पणी छापिएको थियो: “प्रत्येक ठाउँका प्राचीनहरूले विशेष ध्यान दिनु पर्दछ; किनभने सबै भन्दा प्रतिष्ठित र अनुग्रह प्राप्त व्यक्तिहरूलाई नै हर परीक्षामा सबै भन्दा कठिन जाँच र सतावटले घेर्दछ। त्यसैकारण [याकूबले] जोड् दिंदै भन्छ, ‘हामीले ज्यादै दोष पाउनेछौं भनी जानेर धेरै जना शिक्षक नबन।’ त्यसैगरी हामी पनि शुद्ध र निस्वार्थ हृदय भएका सबैनै प्राचीनहरूलाई आग्रह गर्दछौं कि तिनीहरूको मनमा सबै मानवजातिका निम्ति प्रेम र शुभ कामना बाहेक अरू केही नहोस्, र तिनीहरू पवित्र आत्माको फल र अनुग्रहमा वृद्धि गरून् र बगाललाई ध्यान दिउन्। याद राख्नुहोस्, बगाल प्रुभको हो र तपाईं दुवै प्रभु र तिनीहरूको सामुन्ने जिम्मावार हुनुहुन्छ। महान प्रमुख गोठालालाई हिसाब बुझाउनु पर्ने हुनाले तपाईंहरूले तिनीहरूका प्राणको (हितको) हेरचाह गर्नु परेको छ। सबै कुरामा सबै भन्दा मुख्य कुरा प्रेम हो भनी याद गर्नु होस्; र एका तिर धर्म-शिक्षाहरूको हेलचक्राइ न गर्दै, अर्को तिर, प्रभुका शरीरका विभिन्न सदस्यहरूमा उहाँका आत्माको विकाश होस् भनी विशेष ध्यान दिनुहोस्, ताकि तिनीहरू ‘ज्योतिका पवित्र जनहरूका विशेषाधिकार पाउने योग्य ठहरिन सकून्’ र ईश्वरको पनि यही इच्छा भएको हुनाले, यो दुष्ट दिनमा तिनीहरूले कुनै पनि ठोकरको कारण अनुभव गर्न न परोस् तर सबै कुरा पूरा गरी सके पछि, ख्रीष्टमा, उहाँका शरीरमा, उहाँका सदस्यहरू, उहाँका बलिदानका सहभागीहरू र उहाँका सह-शासकहरू भएर खड़ा हुन सकून्।”
१८ यी शब्दहरू, यहोवाका सङ्गठन भर्खरै शुरू भएको बेलाको परिस्थिति र समझ अनुसार, अभिषिक्त प्राचीनहरू र सङ्गी विश्वासीहरूका निम्ति लेखिएका थिए। तथापि, त्यो सल्लाह आजकालागि पनि कति उपयुक्त छ! आफ्नो आशा स्वर्गीय अथवा पार्थिव, जे भएता पनि, मसीही प्राचीनहरूले आफ्नो होश गर्नु पर्दछ, आफूले पाएको जिम्मावारीलाई विशेष ध्यान दिनु पर्दछ र परमेश्वरका बगालको हितको हेर विचार मायालु ढङ्गमा गर्नु पर्दछ।
आफ्नो जिम्मावारी पूरा गर्नुको परिणाम हर्ष हुनेछ
१९, २०. प्राचीनहरूले आफ्नो जिम्मावारीको संरक्षण गरेमा आनन्द प्राप्त हुनेछ भनी किन भन्नसकिन्छ?
१९ एक जना मसीही प्राचीनको हैसियतमा आफ्नो जिम्मा- वारी निभाउँदा, आनन्द—हृदय भित्रबाट आनन्द—अनुभव गर्न सकिन्छ। हो, एउटा गम्भीर जिम्मेवारी जस्तो कुरा पनि राम्रोसँग निभाउँदा, आनन्द अनुभव गर्न सकिन्छ। अतः होसियार हुनुहोस्, प्रार्थनामा लागि रहनुहोस्, मेहनती हुनुहोस्। प्राचीनलाई सुम्पिएको जिम्मावारीको संरक्षण गर्नुहोस् र त्यो समयको प्रतीक्षा गर्नुहोस् जब मसीदानी भिरने मानिसले झैं, तपाईंले पनि एसो भन्नसक्नु हुनेछ: “तपाईंले मलाई आज्ञागर्नुभए बमोजिम मैंले गरें।”—इजकिएल ९:३, ४, ११.
२० हो, एउटा प्राचीनको हैसियतमा वफादारीसाथ काम गर्नुहोस् ताकि नूहको विषयमा भनिए झैं, तपाईं बारे पनि एसो भन्न सकिनेछ: “तिनले त्यसै गरे।” (उत्पत्ति ६:२२) यस प्रकार, लगनशीलता साथ गरिएको सेवाद्वारा मण्डलीले धेरै तरिकाबाट लाभ उठाउन सक्तछ। सर्व प्रथम, आफ्नो जिम्मेवारीको संरक्षण गर्ने विश्वासी प्राचीनहरू भएका सबल र सक्रिय मण्डलीहरूद्वारा यहोवा सम्मानित हुनु हुनेछ। तर “स्याबास असल दास!” भन्ने स्याबासी पाउनका लागि, अझ केही कुराहरू गर्न आवश्यक छ। (लूका १९:१७) साथै, एक जना प्राचीनको हैसियतमा, तपाईंले परमेश्वरको बगालसित कोमलताकासाथ व्यवहार पनि गर्नुपर्छ। (w89 9/15)
तपाईं के भन्नुहुनेछ?
◻ मसीही प्राचीनहरूको के थप जिम्मावारी छ?
◻ आफ्नो जिम्मावारीको संरक्षण गर्नकालागि प्राचीनले के सकारात्मक कदमहरू उठाउन सक्छन्
◻ आफ्नो जिम्मावारीको संरक्षणकालागि एक जना प्राचीन कुन कुन पासोहरूबाट जोगिनु पर्दछ?
◻ प्राचीनहरूले आफ्ना जिम्मावारीको संरक्षण गर्दा किन आनन्द अनुभव गर्न सक्नेछन्?
[पृष्ठ १२-मा भएको चित्र]
मसीही प्राचीनहरू “आँधी-बेह्रीबाट आड़ लिने ठाउँ” हुनुपर्दछ
[पृष्ठ १४-मा भएको चित्र]
एउटा प्राचीनको हैसियतमा आफ्नो परिवार र अरूहरूसित बराबर क्षेत्र सेवकाईमा भाग लिनु होस्
[पृष्ठ १५-मा भएको चित्र]
प्राचीनको हैसियतमा तपाईंले आफ्नो जिम्मावारीको संरक्षण गर्नु भयो भने, मण्डलीले धेरै तरिकाबाट लाभ उठाउन सक्नेछ