-
कस्तो प्रेमले साँचो आनन्द दिन्छ?प्रहरीधरहरा (अध्ययन संस्करण)—२०१८ | जनवरी
-
-
२. परमेश्वरबाट टाढा भएका मानिसहरू कस्तो किसिमको प्रेम देखाउँछन्? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)
२ तर बाइबलले अन्तको दिनमा परमेश्वरबाट टाढा भएकाहरूले गलत किसिमको प्रेम अर्थात् स्वार्थी प्रेम देखाउनेछन् भनेर पनि भविष्यवाणी गरेको थियो। “अन्तको दिनमा . . . आफैलाई मात्र प्रेम गर्ने, पैसालाई प्रेम गर्ने, . . . परमेश्वरलाई भन्दा सुखविलासलाई प्रेम गर्ने” मानिसहरू हुनेछन् भनेर प्रेषित पावलले लेखे। (२ तिमो. ३:१-४) यस्तो स्वार्थी प्रेम र परमेश्वरप्रतिको प्रेमबीच ठूलो भिन्नता छ। स्वार्थी चाहनाको पछि लाग्ने मानिसहरू आफूले सोचेजस्तो आनन्दित हुन सक्दैनन्। वास्तवमा भन्नुपर्दा त्यस्तो प्रेमको कारणले गर्दा नै अहिले संसार स्वार्थी मानिसहरूले भरिएको छ अनि जीवन बिताउन असाध्यै कठिन भएको छ।
-
-
कस्तो प्रेमले साँचो आनन्द दिन्छ?प्रहरीधरहरा (अध्ययन संस्करण)—२०१८ | जनवरी
-
-
प्रेम—परमेश्वरलाई कि आफैलाई?
४. आफूलाई प्रेम गर्नु किन गलत होइन?
४ परमेश्वरको प्रेरणा पाएर पावलले मानिसहरू ‘आफैलाई मात्र प्रेम गर्ने’ हुनेछन् भनेर लेखे। आफैलाई प्रेम गर्नु गलत हो र? होइन, आफूले आफूलाई प्रेम गर्नु स्वाभाविक कुरा हो अनि यसो गर्नु आवश्यक पनि छ। यहोवाले हामीलाई त्यसैगरि सृष्टि गर्नुभएको छ। येशूले यसो भन्नुभयो: “तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।” (मर्कू. १२:३१) हामी आफूलाई प्रेम गर्दैनौं भने आफ्ना छिमेकीहरूलाई प्रेम गर्न सक्दैनौं। बाइबलमा हामी यस्तो पनि लेखिएको पाउँछौं: “पतिहरूले आ-आफ्नो पत्नीलाई आफ्नो शरीरलाई जस्तै प्रेम गर्नुपर्छ। जसले आफ्नी पत्नीलाई प्रेम गर्छ, उसले आफूलाई प्रेम गर्छ, किनकि कुनै मानिसले आफ्नो शरीरलाई कहिल्यै घृणा गर्दैन, बरु त्यसलाई . . . खुवाउँछ अनि स्याहार्छ।” (एफि. ५:२८, २९) त्यसैले आफूलाई प्रेम गर्नु गलत होइन।
५. आफूलाई अचाक्ली प्रेम गर्ने मानिसहरू कस्ता हुन्छन्? व्याख्या गर्नुहोस्।
५ तर २ तिमोथी ३:२ मा बताइएको आफैप्रतिको प्रेम स्वाभाविक किसिमको प्रेम होइन। यो विकृत अनि स्वार्थी किसिमको प्रेम हो। आफैलाई मात्र प्रेम गर्ने मानिसहरू आफूलाई जति ठान्न आवश्यक छ, त्योभन्दा बढ्ता ठान्छन्। (रोमी १२:३ पढ्नुहोस्) तिनीहरूको जीवन आफैमा मात्र केन्द्रित हुन्छ। तिनीहरूलाई अरूको केही वास्तै हुँदैन। कुनै समस्या आइपर्दा तिनीहरू गल्ती स्विकार्नुको साटो अरूमाथि दोष थोपर्छन्। बाइबलसम्बन्धी एउटा किताबले बताएअनुसार आफैलाई मात्र प्रेम गर्ने मानिसहरू “दुम्सीजस्तै हुन्छन्, जो आफूचाहिं आफ्नो न्यानो अनि नरम भुत्लाभित्र लुट्पुटिएर बस्छ तर बाहिर अरूलाई चाहिं तीखा-तीखा काँडा देखाउँछ।” आफैलाई मात्र प्रेम गर्ने त्यस्ता मानिसहरूले साँचो आनन्द पाउन सक्दैनन्।
६. परमेश्वरलाई प्रेम गर्दा कस्ता राम्रा गुणहरू देखाउन सक्छौं?
६ पावलले अन्तको दिनमा मानिसहरूमा देखिने दुर्गुणहरूबारे बताउँदा मानिसहरू आफैलाई मात्र प्रेम गर्ने हुनेछन् भन्ने कुरा सुरुमै बताए। आफैलाई मात्र प्रेम गर्ने झुकावले गर्दा नै मानिसहरूमा अरू दुर्गुणहरू देखिने भएकोले पावलले यसबारे सुरुमै बताए भनी बाइबलविद्हरू बताउँछन्। अर्कोतर्फ, परमेश्वरलाई प्रेम गर्ने मानिसहरू भने बेग्लै किसिमका गुणहरू देखाउँछन्। परमेश्वरले चाहनुहुने किसिमको प्रेम देखाउँदा तिनीहरू आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वास, नम्रता अनि आत्मसंयम पनि देखाउँछन्। (गला. ५:२२, २३) भजनहारले यस्तो लेखे: “ती मानिसहरू सुखी हुन्छन्, जसका परमेश्वर परमप्रभुनै [“यहोवा,” NW] हुनुहुन्छ।” (भज. १४४:१५) यहोवा आनन्दित परमेश्वर हुनुहुन्छ अनि उहाँका जनहरू पनि आनन्दित छन्। साथै तिनीहरू आफैलाई मात्र प्रेम गर्ने अनि ‘मै खाऊँ, मै लाऊँ’ भन्ने मानिसहरूजस्तो नभई अरूको हितको लागि आफ्नो समय अनि स्रोतसाधन प्रयोग गर्न पाउँदा रमाउँछन्।—प्रेषि. २०:३५.
आफैलाई अचाक्ली प्रेम गर्नदेखि हामी कसरी जोगिन सक्छौं? (अनुच्छेद ७ हेर्नुहोस्)
७. परमेश्वरलाई प्रेम गरिरहेका छौं कि छैनौं भनेर जाँच्न आफैलाई कस्ता प्रश्न सोध्न सक्छौं?
७ परमेश्वरलाई भन्दा आफैलाई धेरै प्रेम गरिरहेका छौं कि भनेर कसरी जाँच्न सक्छौं? फिलिप्पी २:३, ४ मा दिइएको यो सल्लाह विचार गर्नुहोस्: “वैमनस्यता वा फोस्रो घमन्डले केही नगर तर विनम्र भएर अरूलाई आफूभन्दा श्रेष्ठ ठान, तिमीहरू आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान देओ।” हामी आफैलाई यस्ता प्रश्न सोध्न सक्छौं: ‘के म जीवनमा यो सल्लाह लागू गर्दै छु? के म साँच्चै यहोवाको इच्छाअनुसार चल्न प्रयास गरिरहेको छु? के म मण्डलीमा अनि प्रचारमा मानिसहरूलाई मदत गर्न अग्रसर हुन्छु?’ अरूलाई मदत गर्न आफ्नो समय अनि स्रोतसाधन प्रयोग गर्न सधैं सजिलो हुँदैन। त्यसको लागि मेहनत गर्नुपर्छ र आत्मत्यागी हुनुपर्छ। तर त्यसो गर्दा हामीले ब्रह्माण्डका सार्वभौम शासकको अनुमोदन पाइरहेका हुन्छौं। त्योजति आनन्द अरू कुनै कुराले दिन सक्छ र?
८. परमेश्वरलाई प्रेम गरेकोले केही भाइबहिनीले कस्तो कदम चालेका छन्?
८ परमेश्वरलाई प्रेम गरेकोले अनि उहाँको सेवामा अझ धेरै भाग लिन चाहेकोले केही भाइबहिनीले धेरै पैसा कमाउन सकिने जागिर छोडेका छन्। अमेरिकामा डाक्टरी पेशामा लागेकी एरिकालाई विचार गरौं। चिकित्सा क्षेत्रमा निकै मान-सम्मान पाउने ओहदाको पछि लाग्नुको साटो तिनले नियमित अग्रगामी सेवा गरिन् अनि आफ्नो पतिसित मिलेर विभिन्न देशमा सेवा गर्न गइन्। अहिले तिनी यसो भन्छिन्, “विदेशी भाषाको इलाकामा सेवा गर्दा हामीले थुप्रै रमाइला अनुभव बटुल्न सकेका छौं, थुप्रै साथी बनाउन सकेका छौं। साँच्चै, यसले हाम्रो जीवन अझ अर्थपूर्ण बनाएको छ। म अझै पनि डाक्टरकै काम गर्दै छु। तर आफ्नो धेरैजसो समय अनि शक्ति अरूलाई आध्यात्मिक तवरमा निको पार्न अनि मण्डलीका भाइबहिनीलाई मदत गर्न बिताउँछु। यसले अपार आनन्द र गहिरो सन्तुष्टि दिन्छ।”
धनसम्पत्ति थुपार्ने—स्वर्गमा कि पृथ्वीमा?
९. पैसालाई प्रेम गर्दा मानिस किन आनन्दित हुन सक्दैन?
९ पावलले मानिसहरू “पैसालाई प्रेम गर्ने” हुनेछन् भनेर लेखे। केही वर्षअघिको कुरा हो, आयरल्याण्डका एक अग्रगामी भाइले एक जना मानिससित परमेश्वरबारे कुरा गरेका थिए। त्यस मानिसले पर्सबाट केही नोट निकाल्यो अनि धाक लगाउँदै यसो भन्यो, “यही हो मेरो भगवान्!” संसारका थुप्रै मानिसहरू यसरी हाकाहाकी नबताउलान् तर उनीहरू पनि पैसालाई वा पैसाले किन्न सक्ने चिजबिजलाई नै प्रेम गर्छन्। बाइबलले भने यस्तो चेतावनी दिएको छ: “जसले रुपियाँपैसाको माया गर्छ, त्यसलाई रुपियाँपैसाले कहिल्यै पुग्दैन। जसले धन-सम्पत्तिको माया गर्छ, त्यो आफ्नो आमदानीसँग कहिल्यै सन्तुष्ट हुँदैन।” (उप. ५:१०, NRV) यस्ता मानिसहरूलाई जति पैसा भए पनि पुग्दैन, तिनीहरू जतिसक्दो धेरै धनसम्पत्ति थुपार्न चाहन्छन्। अनि यसले गर्दा तिनीहरूले “थुप्रै पीडा” भोग्छन्।—१ तिमो. ६:९, १०.
१०. धनसम्पत्ति अनि दरिद्रताबारे आगूरले के लेखे?
१० हुन त हामी सबैलाई पैसा चाहिन्छ। यसले केही हदसम्म सुरक्षा दिन्छ। (उप. ७:१२, NRV) तर मानिसको आधारभूत आवश्यकता मात्र पूरा भएमा पनि के मानिस साँच्चै आनन्दित हुन सक्छ? अवश्य सक्छ! (उपदेशक ५:१२ पढ्नुहोस्) याकेका छोरा आगूरले यस्तो लेखे: “मलाई नता दरिद्र बनाउनुहोस्, न मलाई धन दिनुहोस्। मलाई चाहिंदो भोजन मात्र जुटाइ दिनुहोस्।” तिनले आफूलाई दरिद्र नबनाउनुहोस् भनेर बिन्ती गर्नुको कारण हामी सजिलै बुझ्न सक्छौं। तिनले बताएअनुसार दरिद्र भएमा तिनी चोर्नतर्फ लाग्न सक्थे र त्यसले गर्दा परमेश्वरको अनादर हुने थियो। तर तिनले किन धेरै धनसम्पत्ति नदिनुहोस् भनेर पनि बिन्ती गरे? तिनले यस्तो लेखे: “किनभने मसित धेरै भयो भने म तपाईंलाई इन्कार गरूँला, र यसो भनूँला, ‘परमप्रभु को हो र?’” (हितो. ३०:८, ९) आफ्नो भरोसा परमेश्वरमा नभई पैसामा राख्ने मानिसहरू तपाईंले पनि देख्नुभएको छ होला।
११. येशूले पैसाबारे कस्तो सल्लाह दिनुभयो?
११ पैसालाई प्रेम गर्नेहरूले परमेश्वरलाई खुसी बनाउन सक्दैनन्। येशूले यसो भन्नुभयो: “कोही पनि दुई मालिकको दास बन्न सक्दैन; किनकि उसले एक जनालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ अथवा ऊ एक जनासित टाँसिनेछ र अर्कोलाई तुच्छ ठान्नेछ। तिमीहरू परमेश्वर र धनसम्पत्ति दुवैको दास बन्न सक्दैनौ।” त्यसअघि उहाँले यसो भन्नुभएको थियो: “आफ्नो निम्ति पृथ्वीमा धनसम्पत्ति थुपार्न छोडिहाल, जहाँ त्यसलाई कीरा र खियाले खान्छ अनि चोरहरूले फोरेर लैजान्छन्। बरु, आफ्नो निम्ति स्वर्गमा धनसम्पत्ति थुपार, जहाँ न कीराले न त खियाले नै खान्छ अनि चोरहरूले फोरेर पनि लैजाँदैनन्।”—मत्ती ६:१९, २०, २४.
१२. सरल जीवन बिताउँदा यहोवाको सेवा गर्न कसरी अझ सजिलो हुन्छ? एउटा अनुभव बताउनुहोस्।
१२ सरल जीवन बिताउँदा आनन्दित हुनुको साथै यहोवाको सेवामा अझ धेरै समय बिताउन सकेको थुप्रै भाइबहिनीले अनुभव गरेका छन्। अमेरिकामा बस्ने ज्याकले आफ्नी श्रीमतीसित अग्रगामी सेवा गर्नको लागि आफ्नो ठूलो घर बेचे अनि व्यापार व्यवसाय छोडे। तिनी यसो भन्छन्, “शान्त ठाउँमा भएको हाम्रो भव्य घर बेच्न निकै माया लागेको थियो। तर वर्षौं भइसकेको थियो, कामको अनेक झन्झटले गर्दा म अक्सर दिक्क भएर घर फर्कन्थें। अग्रगामी गरिरहेकी मेरी श्रीमतीचाहिं सधैं खुसी देखिन्थिन्। तिनी मलाई यसो भन्थिन्, ‘मैले जस्तो हाकिम त अरू कसले पाएको छ र!’ अहिले म पनि अग्रगामी सेवा गर्दै छु, अनि हामी दुवै जना एउटै हाकिम यहोवाको सेवा गर्दै छौं।”
पैसालाई अचाक्ली प्रेम गर्नदेखि हामी कसरी जोगिन सक्छौं? (अनुच्छेद १३ हेर्नुहोस्)
१३. पैसाप्रति आफूले कस्तो दृष्टिकोण राख्दै छु भनेर कसरी जाँच्न सक्छौं?
१३ पैसाप्रति आफूले कस्तो दृष्टिकोण राख्दै छु भनेर जाँच्न इमानदार भएर आफूलाई यस्ता प्रश्न सोध्न सक्छौं: ‘पैसाबारे बाइबल जे भन्छ, के म त्यसमा विश्वास गर्छु अनि त्यसैअनुसार जीवन बिताउँछु? पैसा कमाउने कुराले के मेरो जीवनमा पहिलो स्थान ओगटेको छ? यहोवा अनि उहाँका जनहरूसितको मेरो सम्बन्धलाई भन्दा के म भौतिक धनसम्पत्तिलाई धेरै महत्त्व दिन्छु? यहोवाले मेरो आवश्यकता पूरा गर्नुहुनेछ भनेर के म साँच्चै विश्वास गर्छु?’ यहोवामा भरोसा गर्नेहरूको आवश्यकता उहाँले सधैं पूरा गर्नुहुनेछ भन्ने कुरामा हामी ढुक्क हुन सक्छौं।—मत्ती ६:३३.
-