तनाउग्रस्त आमाबाबुहरू
भर्खरै पहिलो बच्चा जन्मेका आमाबाबुहरूको अक्सर खुशीले भुइँमा खुट्टा हुँदैन। बच्चाले जे गरे पनि तिनीहरू मक्ख पर्छन्। बच्चाको पहिलो मुस्कान, पहिलो तोते बोली, पहिलो ताते कदम आमाबाबुले कहिल्यै बिर्संदैनन् होला। बच्चाले गरेका, भनेका हरेक कुरा सुनाएर अनि तिनको तस्बिर देखाएर आमाबाबुले साथीभाइ तथा नातेदारहरूलाई दंग पार्छन्। तिनीहरूले बच्चालाई आफ्नो मुटुको टुक्रा ठानेका हुन्छन् भन्ने कुरामा कसैको दुइ मत नहोला।
तर केही परिवारहरूमा समय बित्दै जाँदा एकपछि अर्को गर्दै दुःखद घटनाहरू हुन थाल्छन्। आमाबाबुको मीठो बोली बिस्तारै कठोर तथा कटु वचनमा परिणत हुन थाल्छ; स्नेहपूर्ण अंकमालहरूको साटो रीसले मुरमुरिएर कुटपिट सुरु हुन थाल्छ वा एकअर्कालाई माया गरेर सुम्सुम्याउन छोड्छन्। आमाबाबुले आफ्नो बच्चाको हरेक कुरामा जुन गर्व महसुस गर्थे, ती सबै कटु भावनाले ओगट्न थाल्छ। धेरैले भन्छन्, “छोराछोरी जन्माएर ठूलो भूल गरें।” अरू कतिपय परिवारमा समस्या अझ गम्भीर हुन्छ। आमाबाबुले केटाकेटी काखे बालक छँदा पनि माया देखाउँदैनन्! तर अवस्था जेसुकै होस्, कुरा कहाँ बिग्रियो त? मायाममता कहाँ हरायो?
छोराछोरीहरूले अवश्य त्यस्ता प्रश्नहरूको जवाफ राम्ररी बुझ्न सकेका हुँदैनन्। त्यसकारण, तिनीहरू आफ्नै निष्कर्ष निकाल्न थाल्छन्। मनमा कता कता बच्चालाई यस्तो लाग्नसक्छ, ‘आमा र बुबाले मलाई माया नगर्नुमा मेरो कुनै दोष छ होला। शायद म असाध्यै बदमास पो छु कि।’ यस्तो भावनाले मनमा जरा गाड्नसक्छ र यसले जिन्दगीभर घात पुऱ्याउनसक्छ।
तर वास्तविकता भने अर्कै हुनसक्छ। शायद विभिन्न कारणहरूले गर्दा आमाबाबुले छोराछोरीलाई माया देखाउन नसकेको होला। हो, आजकल आमाबाबुहरूले भयंकर दबाबहरू सामना गर्छन् र कतिपय समस्याहरू त तिनीहरूले सपनामा समेत चिताएका थिएनन् होला। आफ्ना छोराछोरीसित उचित व्यवहार गर्न असक्षम भएकाहरूले आफू आदर्श आमाबाबु हुन नसकेको महसुस गर्छन्। एउटा ज्ञानवर्धक पुरातन भनाइ यसप्रकार छ: “छल गर्दा [“थिचोमिचोले,” NW] बुद्धिमान मानिसको मति बिग्रन्छ।”—उपदेशक ७:७.
“आखिरी दिनमा डरलाग्दो समय”
समस्यारहित परमसुखको युग। वर्तमान युग त्यस्तै होला भनेर धेरैजसो मानिसहरूले परिकल्पना गरेका थिए। आर्थिक दबाब, अनिकाल, खडेरी, युद्ध इत्यादि केही नभएको! तर त्यस्ता आशाहरू पूरा हुन सकेका छैनन्। त्यसको विपरीत, सा.यु. प्रथम शताब्दीका बाइबल लेखकले जस्तो भविष्यवाणी गरेका थिए, अहिले त्यस्तै भइरहेको छ। हामीले “आखिरी दिनमा डरलाग्दो समय” सामना गर्नेछौं भनेर तिनले लेखेका थिए। (२ तिमोथी ३:१-५) प्रायजसो आमाबाबु यस कुरामा सहमति जनाउन शायद पछि पर्नेछैनन्।
भर्खर पहिलो बच्चा जन्मेका आमाबाबुहरू आजको संसारमा छोराछोरी हुर्काउन बेहोर्नुपर्ने खर्चले गर्दा चित खाएका हुन्छन्। प्रायजसो, हातमुख जोर्न मात्र पनि आमा र बुबा दुवैले जागिर खानुपर्ने हुन्छ। औषधी खर्च, लुगाफाटा, स्कूल खर्च, शिशु स्याहार केन्द्र अनि भोजन र आवासको प्रबन्ध गर्न मात्र पनि निकै खर्च लाग्छ। यसले गर्दा धेरैजसो आमाबाबुहरू यसको पारै नलाग्ला भन्ठानेर आत्तिन्छन्। अहिलेको आर्थिक अवस्थाले बाइबल विद्यार्थीहरूलाई बाइबलको पुस्तक, प्रकाशमा भविष्यवाणी गरिएको त्यो समयबारे स्मरण गराउँछ, जब एक दिनको आधारभूत आवश्यकताहरू पूरा गर्न मात्र पनि दिनभरिको ज्याला खर्च गर्नुपर्ने हुन्छ!—प्रकाश ६:६.
आमाबाबुले भोग्ने यी सबै दबाबहरू छोराछोरीले बुझ्छन् भन्ने आशा गर्न सकिंदैन। केटाकेटी स्वभावैले मायाका भोका हुन्छन् र आमाबाबुले चासो देखाओस् भन्ने आशा गर्छन्। सञ्चार माध्यम र सहपाठीहरूको दबाबले गर्दा अत्याधुनिक खेलौना, लुगाफाटा र इलेक्ट्रोनिक मालताल किन्न आमाबाबुलाई कचकच गर्छन्। तर आमाबाबुले ती सबै मागहरू पूरा गर्न थाले भने कहिल्यै टुंगो लाग्दैन।
आमाबाबुले भोग्ने अर्को एउटा दबाब हो, छोराछोरीको विद्रोही मनोभाव। यस्तो मनोभावको असाध्यै जगजगी भइरहेको छ। चाखलाग्दो कुरा, अहिलेको समस्याग्रस्त समयको अर्को चिनारी, अनाज्ञाकारी छोराछोरी पनि हुन् भनी बाइबलले भविष्यवाणी गरेको थियो। (२ तिमोथी ३:२) हो, छोराछोरीलाई अनुशासनमा राख्नु कुनै चानचुने कुरा होइन भनेर सबै आमाबाबुलाई थाह छ। अनि आमाबाबुले बच्चासित दुर्व्यवहार गर्नुको दोष बच्चालाई मात्र दिन सकिंदैन। आजका आमाबाबुले जताततै विद्रोही मनोभाव जगजगी भएको वातावरणमा छोराछोरी हुर्काउनु परेको छ भन्ने कुरामा के तपाईं सहमत हुनुहुन्न र? लोकप्रिय संगीतले क्रोध, विद्रोह र निराशालाई बढावा दिन्छ। टिभी कार्यक्रमहरूले आमाबाबुलाई पटमूर्ख र छोराछोरी चाहिं जान्नेसुन्ने जस्तो देखाउँछन्। चलचित्रहरूले पनि रूखो, क्रूर व्यवहारको तारिफ गर्छन्। केटाकेटीहरूमाथि यस्ता कुराहरूको भीषण वर्षा भइरहेको छ। केटाकेटीहरूले यस्ता गुणहरूको देखासिकी गर्दा आमाबाबु अत्यन्तै तनाउग्रस्त हुनसक्छन्।
“स्वाभाविक प्रेम रहितका”
आजको परिवारको समस्यामाथि समस्या थप्ने अर्को एउटा कुरा उक्त पुरातन भविष्यवाणीमा बताइएको छ। त्यहाँ बताइएअनुसार प्रायजसो मानिसहरू “स्वाभाविक प्रेम रहितका” हुनेछन्। (२ तिमोथी ३:३) परिवारलाई एकतामा बाँध्ने सूत्र स्वाभाविक प्रेम हो। बाइबललाई असाध्यै संकीर्ण दृष्टिले हेर्नेहरूसमेत एउटा कुरामा पूर्ण सहमत छन्। त्यो हो, अहिले हाम्रो समयमा जति पारिवारिक जीवन पहिले कहिल्यै भताभुंग भएको थिएन। सारा संसारभरि पारपाचुके दर बढिरहेको छ। आमाबाबु, छोराछोरी सबै भएको सिंगो परिवारको साटो आमा या बुबा मात्र भएको वा सौतेनी परिवारहरूको संख्यामा वृद्धि हुँदै जानु सामान्य भइरहेको छ। एकल आमा या बुबा र सौतेनी आमाबाबुहरूले कहिलेकाहीं विशेष प्रकारका चुनौती तथा दबाबहरू सामना गर्छन्। यसले गर्दा तिनीहरू आफ्ना छोराछोरीलाई चाहिनेजति माया देखाउन सक्दैनन्।
यद्यपि, त्यसले अमेट छाप पार्छ। वर्तमान समयका थुप्रै आमाबाबुहरू स्वयं पनि रत्तिभर “स्वाभाविक प्रेम” नभएको वा त्यति माया नभएको परिवारमा हुर्केका थिए। शायद तिनीहरूको परिवार व्यभिचार र पारपाचुकेले गर्दा भताभुंग भएको थियो होला। मायाममता थिएन होला वा परिवारका सदस्यहरूले एकअर्कालाई घृणा गर्थे होलान्। अथवा मौखिक, भावनात्मक वा यौन दुर्व्यवहार सामान्य थियो होला। त्यस्तो परिवारमा हुर्केका केटाकेटीहरूको बाल्यावस्थामा मात्र होइन तर वयस्क जीवनमा समेत क्षति पुग्नसक्छ। आमाबाबुले बाल्यावस्थामा दुर्व्यवहार भोगेका थिए भने तिनीहरूले पनि आफ्ना छोराछोरीलाई दुर्व्यवहार गर्ने सम्भावना बढी हुन्छ भनेर हालसम्म गरिएका अध्ययनहरूले देखाएका छन्। बाइबलकालीन यहूदीहरू यसो भन्ने गर्थे: “अमीलो अंगूर खाने बाबु, दाँत कुड़िने छोरा–छोरी।”—इजकिएल १८:२.
तथापि, आमाबाबुले दुर्व्यवहार भोगे भन्दैमा छोराछोरीलाई पनि दुर्व्यवहार गर्नुपर्छ भन्ने छैन भनी परमेश्वरले आफ्ना जनहरूलाई भन्नुभयो। (इजकिएल १८:३) यहाँ एउटा महत्त्वपूर्ण बुँदा स्पष्ट पार्नु आवश्यक छ। आमाबाबुमाथि यति बिघ्न दबाब छ भन्दैमा के तिनीहरूले आफ्ना छोराछोरीप्रति दुर्व्यवहार नगरी हुर्काउनै सक्दैनन् भनेको हो त? पटक्कै होइन! तपाईं पनि आमा या बुबाको जिम्मेवारी वहन गर्दै हुनुहुन्छ र माथि उल्लिखित दबाबहरूले पिरोलिनुभएको छ, अनि असल आमा या बाबु हुन नसकेको जस्तो लागेमा हरेश नखानुहोस्! तपाईंजस्तै संघर्ष गरिरहने अरू थुप्रै आमाबाबुहरू छन्। तपाईंको अतीत जस्तोसुकै किन नहोस्, भविष्य बदल्न सक्नुहुन्छ।
अवस्था सुधार्न सकिन्छ भन्ने धर्मशास्त्रीय आश्वासनअनुरूप सही तरिकाले बालबच्चा हुर्काउने (अंग्रेजी) पुस्तक यस्तो टिप्पणी गर्छ: “तपाईंको आमाबाबुको जस्तो व्यवहार नक्कल नगर्न प्रयास नगरुञ्जेल बाल्यावस्थामा भोग्नुभएका कुराहरू तपाईंले चाहोस् या नचाहोस्, देखा परिरहनेछन्। यो चक्रलाई रोक्न कतै मैले गलत तरिकाले बालबच्चा हुर्काउँदै छु कि भनेर सजग हुनुपर्छ र त्यो तरिकालाई चटक्कै बदल्न सिक्नुपर्छ।”
हो, आवश्यक परेको खण्डमा तपाईंले छोराछोरीलाई दुर्व्यवहार गर्ने त्यस्तो बानी रोक्न सक्नुहुन्छ! अनि अहिले वर्तमान समयमा बालबच्चा हुर्काउन यत्तिको गाह्रो बनाउने दबाबहरूको सामना गर्न सक्नुहुन्छ। तर कसरी? सही तरिकाले बालबच्चा हुर्काउने सन्दर्भमा सर्वोत्तम, सबैभन्दा भरपर्दो स्तर कहाँ सिक्न सक्नुहुन्छ? यसपछिको लेखमा त्यो विषय छलफल गरिनेछ।
[पृष्ठ ६-मा भएको चित्र]
समस्याहरूले पिरोलिंदा कोही कोही आमाबाबु आफ्ना छोराछोरी- हरूलाई माया देखाउन सक्दैनन्
[पृष्ठ ७-मा भएको चित्र]
छोराछोरीलाई आमाबाबुको माया चाहिने हुँदा तिनी- हरूलाई माया गर्नुपर्छ