एउटा उत्तम संसार—नजिकै!
दी इन्साइक्लोपीडिया अफ रिलिजन यसो भन्छ, “मानिसहरूलाई अतीतको सम्झनाले असाध्यै पिरोल्छ। तीमध्ये प्रमोदवनको लालसा पनि एक हो। यो सबैभन्दा प्रभावशाली र जोडदार लालसा हुन सक्छ। धार्मिक जीवनको हरेक तहमा केही हदसम्म प्रमोदवनप्रतिको तिर्सना झल्किन्छ।”
एउटा उत्तम संसारमा जीवन बिताउने इच्छा सबैजसो संस्कृतिमा पाइन्छ, मानौं पहिले अस्तित्वमा भएको आदर्शप्रति बिलौना गरेजस्तै। यसले एउटा प्रारम्भिक प्रमोदवनको सम्भावनालाई सङ्केत गर्छ। तर कहाँ? यस्तो आकाङ्क्षाले आमाको गर्भमा महसुस गरेको सुरक्षा पुनःप्राप्त गर्ने चाहना व्यक्त गर्छ भनी मनोविश्लेषकले भन्लान्। यद्यपि, धर्मको इतिहास अध्ययन गर्ने शास्त्रज्ञहरूलाई यस्तो बयानले चित्त बुझाउँदैन।
“प्रमोदवनको लालसा”—किन?
कसै कसैको भनाइअनुसार के त्यस्तो प्रकारको अतीतको सम्झनाले कठिनाइहरू मानव अस्तित्वको र क्षणिकतालाई सह्य बनाउन मदत गर्छ र? अथवा के यसको अरू कुनै स्पष्टीकरण छ?
मानवजाति एउटा उत्तम संसारको लालसा किन गर्छ? बाइबलले यसबारे एउटा स्पष्ट र उत्तिकै सरल जवाफ दिन्छ: मानवजातिको सुरुआत एउटा उत्तम संसारमा भएको थियो! प्रारम्भिक प्रमोदवन निश्चय नै अस्तित्वमा थियो। त्यसलाई मध्यपूर्वको एउटा निश्चित ठाउँमा अवस्थित “बगैंचा” भनी परमेश्वरको वचनले वर्णन गर्छ जहाँ “हेर्नमा राम्रो र खानमा असल भएको हरेक रूखको फल” फल्थ्यो। परमेश्वरले प्रथम मानव दम्पतीको हेरचाहमा यो बगैंचा सुम्पनुभयो। (उत्पत्ति २:७-१५) मानिसहरू साँच्चै नै आनन्दित हुन सक्ने त्यो एउटा आदर्श ठाउँ थियो।
त्यस्तो प्रमोदवनरूपी अवस्था किन स्थायी हुन सकेन? एउटा आत्मिक प्राणी अनि त्यसपछि मानव दम्पतीले गरेको विद्रोहले गर्दा हो। (उत्पत्ति २:१६, १७; ३:१-६, १७-१९) तसर्थ, मानिसले प्रमोदवन मात्र होइन तर सिद्धता, स्वास्थ्य र अनन्त जीवन पनि गुमायो। त्यसपश्चात् व्याप्त हुन गएका परिस्थितिहरूले निश्चय नै मानव जीवनलाई उकास्न सकेन। यसको विपरीत आज वर्तमान परिस्थिति अपूर्व ढङ्गमा झन् झन् खस्किरहेको छ।—उपदेशक ३:१८-२०; रोमी ५:१२; २ तिमोथी ३:१-५, १३.
प्रमोदवनको खोज —त्यस विचारपछाडि लुकेको इतिहास
“प्रमोदवनको लालसा” को इतिहास तपाईंले कल्पना गर्न सकेजति लामो छ। सारा ब्रह्माण्डभरि सामञ्जस्यताले नै राज गरेको समय सुमेर्नीहरूले सम्झना गरे: “त्यतिबेला डर, त्रास केही थिएन र मानिसको कुनै प्रतिद्वन्द्वी पनि थिएन। . . . सारा ब्रह्माण्ड र मानिसहरू एक भएर एकै स्वरमा एन्लिलको प्रशंसा गर्थे,” भनी एउटा प्राचीन मेसोपोटामियाली कवितामा स्मरण गरिएको छ। कोही भने प्राचीन मिश्रीहरूले जस्तै मृत्युपश्चात् एउटा उत्तम संसारमा पुग्ने आशा राख्थे। तिनीहरूको अमर आत्मा अरु भनिने खेतमा पुग्छ भनी तिनीहरूले विश्वास गर्थे। तर सुरु सुरुमा यो आशा कुलीनहरूका लागि मात्र खुला थियो; गरीबहरूले त परमसुखी संसारमा पुग्ने सपना समेत देख्न सक्दैनथे।
एउटा बेग्लै धार्मिक क्षेत्रको कुरा गर्ने हो भने, हिन्दूहरूले शताब्दीयौंदेखि एउटा उत्तम संसारको समय (युग) पर्खिरहेका छन्। हिन्दू शिक्षाअनुसार चार वटा युगहरू एउटा अनन्त चक्रमा घुमिरहन्छन् र अहिले हामी सबैभन्दा दयनीय युगमा बाँचिरहेका छौं। दुःखको कुरा, कसै कसैको विचारमा यो कलि युग (अन्धकारको समय) र यतिबेला हुने दुःखकष्टहरू तथा दुष्टता ४,३२,००० वर्षसम्म रहिरहने छ। तापनि विश्वासी हिन्दूहरू स्वर्ण युग, क्रेता युग पर्खिरहेका छन्।
अर्कोतिर, युनानीहरू र रोमीहरूले आन्द्र महासागरमा एउटा काल्पनिक समृद्धि र सुख-शान्तिको काल्पनिक टापुमा पुग्ने सपना देख्थे। हेसियोड, भर्जिल तथा ओभिड जस्ता थुप्रै लेखकहरूले एउटा अद्भुत प्रारम्भिक स्वर्ण युगबारे कुरा गर्थे अनि एक दिन त्यस युगको पुनःस्थापना हुनेछ भन्ने आशा पनि राख्थे। सा.यु.पू. प्रथम शताब्दीको अन्ततिर ल्याटिन कवि भर्जिलले छिट्टै आउन लागेको नयाँ तथा चिरस्थायी इटास अरिअ बारे (स्वर्ण युग) भविष्यवाणी गरे। दी इन्साइक्लोपीडिया अफ रिलिजन अनुसार त्यसपछिका शताब्दीहरूमा “आफ्नो शासनले स्वर्ण युग पुनःस्थापना गऱ्यो भनी कम्तीमा पनि सोह्र जना सम्राटहरूले दावी गरे।” तर आज हामीलाई विदितै छ, त्यो एउटा राजनैतिक अफवाह मात्र थियो।
मानिसहरू पूर्ण आनन्दसाथ बाँच्न समुद्र पारि टापुमा (अथवा द्वीपहरूको समूहमा) एउटा उज्यालो भूमि थियो भनी इन्डो-यूरोपेली मूलका धेरै मानिसहरू विश्वास गर्थे। एउटा दन्त्यकथाअनुसार मरणान्त हुने गरी घाइते भएका राजा आर्थरले आभलन नाउँ गरेको अद्भुत टापु भेट्टाएपछि जीवित रहन सके।
इतिहासकार झाँ डिलोमोले वर्णन गरेअनुसार प्राचीन समय र मध्यकालीन युगतिर धेरैको सोचाइमा “एउटा अगम्य पहाड अथवा समुद्र पारि” अझै त्यस्ता साँच्चिकै आनन्दहरू भएको एउटा बगैंचा अर्थात् अदनको बगैंचा थियो। इटालेली कवि दाँतेले स्वर्गीय प्रमोदवनमा विश्वास गर्थे तापनि यरूशलेम शहरको सामने पापमोचन पहाडको टुप्पामा एउटा पार्थिव प्रमोदवन छ भनी तिनले कल्पना गर्थे। कसैले त्यो एशिया, मेसोपोटामिया अथवा हिमालयहरूमा पाइन्छ भनी विश्वास गर्थे। अदनको बगैंचारूपी प्रमोदवनबारे मध्यकालीन दन्त्यकथाहरू पनि प्रशस्तै थिए। त्यस प्रमोदवनको छेवैमा धर्मी पादरी जोनद्वारा शासित राज्य थियो भनी धेरैले विश्वास गर्थे। पार्थिव प्रमोदवन नजिक भएको हुनाले पादरी जोनको राज्यमा दीर्घायु र परमसुख पाइन्छ, त्यहाँ प्रशस्तता र धनसम्पत्तिहरूको अविरल स्रोत छ भन्ने विश्वास थियो। प्राचीन युनानी दन्त्यकथाहरूलाई ध्यानमा राख्ने केहीले भने प्रमोदवनरूपी टापुहरू आन्द्र महासागरमा पाइन्छन् भनी अझै विश्वास राख्थे। तिनीहरूले अदनको बगैंचाको अस्तित्वमा पूर्णतया विश्वास राख्थे र मध्यकालीन नक्शाहरूमा त्यसको अनुमानित स्थानसमेत तोकिएको छ।
पन्ध्रौं र सोह्रौं शताब्दीतिर आन्द्र महासागर पार गर्ने नाविकहरूले नौलो तर पुरानो संसारको खोजी गरिरहेका थिए। समुद्र पारि इन्डीज मात्र नभई अदनको बगैंचा पनि भेट्टाउनेछन् भनी तिनीहरूले सोचेका थिए। उदाहरणको लागि, क्रिस्टोफर कोलम्बसले दक्षिण र मध्य अमेरिकाको समशीतोष्ण पहाडहरू र उष्ण भूमिहरूबीच अदनको बगैंचा खोजे। ब्राजिलका यूरोपेली अन्वेषकहरू हराएको प्रमोदवन यहीं हुनुपर्छ भनी निश्चित थिए किनभने त्यहाँ मधुर हावापानी र प्रशस्त खाद्यान्न तथा वनस्पतिहरू थिए। तर छिट्टै नै तिनीहरूलाई तीतो वास्तविकता स्वीकार्न करै लाग्यो।
काल्पनिक आदर्श राज्यहरू —आदर्श ठाउँहरू?
पृथ्वीको कुनै दुर्गम ठाउँमा एउटा आदर्श संसार खोज्नुको सट्टा कसै कसैले सो बनाउने प्रयास गरेका छन्। तसर्थ, १५१६ मा बेलाइती मानविकी शास्त्री थोमस मोरले काल्पनिक आदर्श राज्यको टापुबारे वर्णन गरे, जुन तिनलाई थाहा भएको पतित संसारभन्दा एकदमै भिन्न एउटा अद्भुत, शान्तिमय र सह्य ठाउँ थियो। अरूले पनि उत्तम संसार, इमान्दार र न्यायपूर्ण संसारको योजना बनाएका छन्: सा.यु.पू. छैठौं शताब्दीमा प्लाटोको गणतन्त्र; १६०२ मा इटालेली पादरी टोमाजो काम्पानेला र तिनको उच्चतम ढङ्गमा सङ्गठित सूर्यको शहर; केही वर्षपश्चात् बेलाइती दर्शनशास्त्री फ्रान्सिस बेकनले न्यु एटलान्टिसमा तिनको “आनन्द र फलिफाप भएको प्रान्त” भनी व्याख्या गरे। शताब्दीहरू बित्दै जाँदा सबै प्रकारका विचारशील मानिसहरूले (धर्मपन्थीहरू र धर्म नमान्नेहरू दुवैले) थुप्रै प्रकारका काल्पनिक आदर्श राज्यहरूबारे वर्णन गरेका छन्। तर तीमध्ये थोरैलाई मात्र गम्भीरतापूर्वक लिइयो।
आफ्नै काल्पनिक आदर्श राज्य बनाउन खोज्ने व्यक्तिहरू पनि छन्। उदाहरणको लागि, १८२४ मा धनाढ्य बेलाइती रबर्ट ओवेनले काल्पनिक आदर्श राज्यबारे आफ्नो विचारलाई साकार पार्न इन्डियानाको (सं.रा.अ.) सानो गाउँमा बसाईं सरे जसलाई तिनले न्यु हार्मोनी भनी नामाकरण गरे। उचित अवस्था भएमा मानिसहरू सुध्रिने- छन् भनी विश्वस्त भएर आफूले कल्पना गरेको नयाँ नैतिक संसार स्थापना गर्न तिनले आफूसित भएको सबैजसो स्रोतहरू प्रयोग गरे। तर नयाँ मानिसहरू बनाउन नयाँ जीवनस्तर पर्याप्त छैन भनी प्राप्त प्रमाणहरूले छर्लङ्ग पाऱ्यो।
यस पृथ्वीमा स्वप्निल प्रमोदवन ल्याउन मानिस आफैले आफ्नो ज्ञान र साँचो अन्तरचेतनाअनुसार त्यस्तो संसारको योजना बनाउनुपर्छ भन्ने प्रायः सबैजसो राजनैतिक विचारधारा छ। यद्यपि, विडम्बनाको कुरा के हो भने, त्यस्ता आकाङ्क्षाहरू पूरा गर्न खोज्दा १७८९ मा फ्रान्सेली क्रान्ति र १९१७ मा बोल्शेभिक क्रान्ति जस्ता क्रान्ति तथा युद्धहरू भएका छन्। प्रमोदवनरूपी अवस्था ल्याउनुको सट्टा यस्ता प्रयासहरूले झन् बढी पीडा र दुःखकष्टहरू थपेका छन्।
आकाङ्क्षाहरू, योजनाहरू, काल्पनिक आदर्श राज्यहरू र ती साकार पार्ने प्रयासहरू—यी सबै एक पछि अर्को निराशाको कथा मात्र भएका छन्। वर्तमान समयमा केही व्यक्तिहरू “भताभुङ्ग भएको सपना” र “काल्पनिक आदर्श राज्यको अन्त” बारे कुरा गर्छन् र हामीलाई “काल्पनिक आदर्श राज्य नभएको परिस्थितिमा जीवन बिताउन” सिक्न आह्वान गर्छन्। एउटा नयाँ उत्तम संसार देख्न पाउने के कुनै आशा छ अथवा के त्यो एउटा सपना मात्रमा सीमित रहनेछ?
मसीहीहरू र एउटा उत्तम संसार
एउटा नयाँ संसार कुनै हालतमा पनि सपना मात्र होइन—यो एउटा सुनिश्चित आशा हो! मसीही धर्मका संस्थापक, येशू ख्रीष्टलाई यस वर्तमान संसार यथासम्भव सबैभन्दा उत्कृष्ट संसार होइन भनी थाहा थियो। नम्रहरूले पृथ्वीमा अधिकार गर्नेछन् र त्यहाँ परमेश्वरको इच्छा पूरा हुनेछ भनी उहाँले सिकाउनुभयो। (मत्ती ५:५; ६:९, १०) यस संसार परमेश्वरको शत्रु, शैतान अनि दियाबलको नियन्त्रणमा छ र मानवजातिका दुःखहरूको प्रमुख कारण त्यही हो भनी उहाँ तथा उहाँका चेलाहरूलाई थाहा थियो। (यूहन्ना १२:३१; २ कोरिन्थी ४:४; १ यूहन्ना ५:१९; प्रकाश १२:१२) यस पृथ्वीमा शान्तिप्रेमी अनि न्यायप्रेमी मानिसहरूले भर्न परमेश्वरले यसलाई सदाको निम्ति युद्ध, पीडा र बिमारीबाट यसलाई मुक्त गर्ने दिन आउनेछ भनी विश्वासी यहूदीहरूले पर्खिरहेका थिए। त्यस्तैगरि, प्रथम शताब्दीका मसीहीहरूले यस वर्तमान संसारलाई “नयाँ स्वर्ग र नयाँ पृथ्वी” को नयाँ व्यवस्थाले प्रतिस्थापन गर्नेछ भनी पूर्ण विश्वस्तताका साथ बाटो हेरिरहेका थिए।—२ पत्रुस ३:१३; भजनसंग्रह ३७:११; ४६:८, ९; यशैया २५:८; ३३:२४; ४५:१८; प्रकाश २१:१.
येशू ख्रीष्ट शूलीमा लट्काइनुहुँदा उहाँमाथि केही हदसम्म विश्वास देखाउने कुकर्मीलाई उहाँले एउटा उत्तम संसारको प्रतिज्ञा दोहोऱ्याउनुभयो। “[येशूले] त्यसलाई भन्नुभयो: ‘आज, म तिमीलाई साँच्चै भन्दछु तिमी मसित प्रमोदवनमा हुनेछौ।’” (लूका २३:४०-४३ न्यु व.) त्यस कुकर्मीले यी शब्दहरूको कस्तो अर्थ बुझे? कुनै कुनै क्याथोलिक र प्रोटेस्टेन्ट अनुवादहरूले भन्न खोजेझैं के येशूले त्यस कुकर्मीलाई त्यसै दिन ‘उहाँसित’ स्वर्गमा हुनेछ भनी सङ्केत गर्दै हुनुहुन्थ्यो? अहँ, येशूले भन्न खोज्नुभएको त्यो होइन किनभने उहाँको पुनरुत्थानपश्चात् ‘अहिलेसम्म उहाँ माथि पिताकहाँ गएको छैनँ’ भनी येशूले मरियम मग्दलिनीलाई भन्नुभएको थियो। (यूहन्ना २०:११-१८) सा. यु. ३३ पेन्तिकोसअघि येशूले तिनीहरूलाई साढे तीन वर्षसम्म सिकाइसक्नु भएतापनि उहाँका प्रेरितहरूले समेत स्वर्गीय प्रमोदवनबारे सोचेका थिएनन्। (प्रेरित १:६-११) त्यतिबेलाका अधिकांश यहूदीहरूले जे बुझ्नेथिए त्यस कुकर्मीले पनि त्यही बुझ्यो: प्रमोदवनरूपी पृथ्वीमा एउटा उत्तम संसारको प्रतिज्ञा येशूले गरिरहनु भएको थियो। एक जर्मन शास्त्रज्ञले मानी लिए: “मरणपश्चात्को जीवनमा सजाय पाउने कुरा पुरानो नियममा छँदैछैन।”
हाम्रो पृथ्वीमा प्रमोदवन आउनेछ भनी हिब्रूहरूलाई लेखेको पत्रमा प्रेरित पावलले पुष्टि गरेका छन्। ‘येशू ख्रीष्टबाट कहिएको ठूलो मुक्तिको बेवास्ता’ नगर्नू भनी आफ्ना सङ्गी विश्वासीहरूलाई प्रोत्साहन दिंदा “आउँदो संसार [युनानी, ओइकोमेने]” माथि यहोवाले येशूलाई अख्तियार दिनुभयो भनी पावलले जोड दिए। (हिब्रू २:३, ५) मसीही युनानी शास्त्रमा, ओइकोमेने भन्ने पदले स्वर्गीय संसारलाई होइन तर यसले जहिले पनि मानवहरूद्वारा आबादित पृथ्वीलाई सङ्केत गर्छ। (तुलना गर्नुहोस् मत्ती २४:१४; लूका २:१; २१:२६; प्रेरित १७:३१) तसर्थ, येशू ख्रीष्टद्वारा शासित परमेश्वरको राज्यले आबादित पृथ्वीमाथि अधिकार जमाउनेछ। जीवन बिताउनको निम्ति साँच्चै त्यो एउटा आदर्श ठाउँ हुनेछ!
हुनत त्यो राज्य स्वर्गीय हो। तापनि यसले पार्थिव कामकुराहरूमा हस्तक्षेप गर्नेछ। परिणामहरू कस्ता हुनेछन्? अशक्ति, क्रूरता, गरीबी र मृत्यु सबै अतीतका कुराहरू हुनेछन्। निराशा र असन्तुष्टि समेत हराएर जानेछन्। (प्रकाश २१:३-५) ‘परमेश्वरले आफ्नो मुठी खोल्नुहुन्छ र सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुन्छ’ भनी बाइबलले भन्छ। (भजनसंग्रह १४५:१६) बेरोजगारी र प्रदूषण जस्ता समस्याहरूको व्यावहारिक तथा चिरस्थायी समाधान हुनेछ। (यशैया ६५:२१-२३; प्रकाश ११:१८) तर यी सबैभन्दा ठूलो त, परमेश्वरको आशिषहरूका कारण सत्यता, न्याय र शान्ति जस्ता गुणहरू विजयी हुनेछन्, जुन गुणहरू अहिले झण्डै झण्डै लोप भइसके जस्ता छन्।—भजनसंग्रह ८५:७-१३; गलाती ५:२२, २३.
के यो एउटा सपना, वा काल्पनिक आदर्श राज्य मात्र हो? होइन, अहिलेको यो कठिन समयले हामी यस संसारको “आखिरी दिनमा” बाँचिरहेका छौं र नयाँ संसार नजिकै छ भनी प्रमाणित गर्छ। (२ तिमोथी ३:१-५) के तपाईं त्यहाँ बाँच्न चाहनुहुन्छ? यो कसरी सम्भव छ भनी यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरेर सिक्नुहोस्। हामीले कल्पना गरेकोभन्दा अति उत्तम संसार नजिकै छ। यो एउटा काल्पनिक आदर्श राज्य होइन—यो एउटा वास्तविकता हो! (w94 4/1)
[पृष्ठ ७-मा भएको चित्र]
एउटा उत्तम संसार—चाँडै नै एउटा वास्तविकता हुनेछ