हामी विश्वास गर्नेहरूमध्येका होऔं
“हामीचाहिं . . . आत्माको उद्धारको निम्ति विश्वास गर्नेहरूमध्येका हौं।”—हिब्रू १०:३९.
१. किन यहोवाका प्रत्येक वफादार सेवकहरूको विश्वास बहुमूल्य छ भन्न सकिन्छ?
अर्को पटक यहोवाका उपासकहरूले भरिएको राज्यभवनमा जानुहुँदा एकछिन वरपर सबैलाई हेर्नुहोस्। उहाँहरूले विश्वास प्रकट गर्नुभएका थुप्रै तरिकाहरू विचार गर्नुहोस्। सायद तपाईं दशकौंदेखि परमेश्वरको सेवा गरिरहेका वृद्ध जनहरू, दिनहुँ साथीहरूको दबाब खप्ने युवकयुवतीहरू र ईश्वरभीरु बच्चाहरू हुर्काउन अथक प्रयास गरिरहेका आमाबुबाहरू देख्नुहुन्छ होला। अनि थुप्रै जिम्मेवारी वहन गरिरहेका मण्डलीका प्राचीन तथा सेवकाई सेवकहरू पनि छन्। हो, तपाईं यहोवाको सेवा गर्न हर बिघ्नबाधा पार गर्ने विभिन्न उमेरका आध्यात्मिक भाइबहिनीहरूलाई देख्नुहुन्छ। उहाँहरू प्रत्येकको विश्वास मूल्यवान् छ!—१ पत्रुस १:७.
२. पावलले हिब्रू अध्याय १० र ११ मा दिएका सल्लाह आज हाम्रोनिम्ति पनि किन लाभदायी छ?
२ असिद्ध मानिसहरूमध्ये कमैले प्रेरित पावलले जति विश्वासको महत्त्व बुझे होलान्। वास्तवमा, साँचो विश्वासले “आत्माको उद्धार” गर्छ भनी तिनले भने। (हिब्रू १०:३९) तैपनि यो विश्वासरहित संसारमा विश्वासमाथि आक्रमण भइरहन्छ भनेर पावललाई थाह थियो। आफ्नो विश्वास जोगाउन लडिरहेका यरूशलेम र यहूदियाका हिब्रू मसीहीहरूको तिनलाई औधी चिन्ता लागेको थियो। हिब्रू अध्याय १० र ११ का अंशहरू केलाउँदा पावलले तिनीहरूको विश्वासलाई दृढ पार्न कस्ता तरिका प्रयोग गरे आउनुहोस्, विचार गरौं। यस क्रममा हामी आफ्नो अनि वरपर सबैको विश्वास कसरी बलियो बनाउनसक्छौं भनी बुझ्नेछौं।
एकअर्कामाथि भरोसा जाहेर गर्नुहोस्
३. हिब्रू १०:३९ मा पावलका शब्दहरूबाट तिनले विश्वासमा भएका आफ्ना भाइबहिनीमाथि भरोसा गरे भनी कसरी थाह हुन्छ?
३ हामीले याद गर्नसक्ने पहिलो कुरा, आफ्ना स्रोताहरूप्रति पावलको सकारात्मक मनोवृत्ति हो। तिनले लेखे: “हामीचाहिं विनाशसम्म पुग्नेगरी पछि हट्नेहरूमध्येका होइनौं, तर आत्माको उद्धारको निम्ति विश्वास गर्नेहरूमध्येका हौं।” (हिब्रू १०:३९) पावलले आफ्ना सँगी मसीहीहरूको कुभलो होइन भलो चिताए । तिनले “हामी” भन्ने पदावली प्रयोग गरेको पनि याद गर्नुहोस्। पावल धर्मी मानिस थिए। तर, आफूलाई अरूभन्दा धेरै धर्मी सम्झेर तिनले आफ्नो स्रोताहरूलाई खसालेर कुरा गरेनन्। (उपदेशक ७:१६ तुलना गर्नुहोस्।) बरु, तिनले आफूलाई तिनीहरूसँगै गाभे। तिनले, आफू र आफ्ना सबै विश्वासी मसीहीहरूले भयावह बिघ्नबाधाहरू पार गर्नेछन्, विनाशसम्मै पुग्ने गरी पछि हट्नदेखि निडर भई इन्कार गर्नेछन् र आफूलाई विश्वास हुनेहरूमध्येका साबित गर्नेछन् भन्ने हार्दिक भरोसा जाहेर गरे।
४. पावलसित आफ्ना सँगी विश्वासीहरूमाथि भरोसा हुनुका कारणहरू के थिए?
४ पावलले कसरी यस्तो भरोसा गर्नसके? के तिनले हिब्रू मसीहीहरूको एउटै पनि गल्ती देखेनन्? त्यसो होइन। किनकि तिनले आ-आफ्ना आध्यात्मिक कमजोरीहरू हटाउन मदत गर्ने खास खास सल्लाहहरू तिनीहरूलाई दिए। (हिब्रू ३:१२; ५:१२-१४; ६:४-६; १०:२६, २७; १२:५) तैपनि, पावलसित आफ्ना भाइहरूमाथि भरोसा गर्ने कम्तीमा पनि दुइटा कारणहरू थिए। (१) यहोवाको अनुकरण गर्दै तिनले उहाँले आफ्ना जनहरूप्रति राख्नुहुने दृष्टिकोणको अनुकरण गर्ने अथक प्रयास गरे। तिनले उनीहरूको गल्तीको सम्बन्धमा मात्र होइन, तर असल गुणहरूको सम्बन्धमा र भविष्यमा असल काम गरिरहने उनीहरूको सम्भावित छनौटको सम्बन्धमा पनि यहोवाको दृष्टिकोणको अनुकरण गर्ने प्रयत्न गरे। (भजन १३०:३; एफिसी ५:१) (२) पवित्र आत्माको शक्तिमाथि पावलको निस्संकोच भरोसा थियो। कुनै पनि बिघ्नबाधा र मानवीय कमजोरीले यहोवालाई आफ्ना विश्वासी मसीही सेवकहरूलाई “असामान्य शक्ति” दिनदेखि रोक्नसक्दैन भनेर पावललाई थाह थियो। (२ कोरिन्थी ४:७; फिलिप्पी ४:१३) अतः पावलले आफ्ना भाइबहिनीमाथि राखेको भरोसा गलत, अव्यावहारिक वा अन्धाधुन्ध थिएन। त्यस्तो भरोसाको बलियो अनि धर्मशास्त्रीय आधार थियो।
५. हामी पावलको भरोसाको कसरी अनुकरण गर्नसक्छौं र यसको परिणाम कस्तो हुने सम्भावना छ?
५ पावलले देखाएको यस्तो भरोसाले पक्कै पनि हिब्रू मसीहीहरूलाई प्रभाव पाऱ्यो। पावलले यसरी प्रोत्साहनदायी कुरा गर्नु यरूशलेम तथा यहूदियाका मण्डलीकाहरूलाई निकै ठूलो कुरा लागेको हुनसक्छ। वास्तवमा, हिब्रू विद्रोहीहरूले गरेको हेला र एकोहोरो भावशून्यताले खिस्रिक्क परेको हरेक हिब्रू मसीहीलाई यस्तो अभिव्यक्तिले विश्वास हुनेहरूमध्येको हुन संकल्प गर्ने मदत दिएको हुनुपर्छ। के आज पनि हामी एकअर्कालाई त्यसै गर्नसक्छौं? अरूका गल्तीहरू र अप्ठेरो व्यक्तित्वको लामो सूची बनाउनु असाध्यै सजिलो छ। (मत्ती ७:१-५) यद्यपि, प्रत्येकसित भएको विशिष्ट विश्वासलाई ध्यानमा राख्दै त्यसको मूल्यांकन गऱ्यौं भने एकअर्कालाई अझ धेरै मदत गर्नसक्छौं। यस्तो प्रोत्साहन पाउँदा अझ विश्वास बढ्नसक्छ।—रोमी १:११, १२.
परमेश्वरको वचनको उचित प्रयोग
६. हिब्रू १०:३८ का शब्दहरू लेख्दा पावलले कुन स्रोतबाट उद्धरण गरेका थिए?
६ धर्मशास्त्रलाई कुशलतासाथ प्रयोग गरेर पनि पावलले सँगी विश्वासीहरूको विश्वास बलियो बनाए। उदाहरणका लागि, तिनले लेखे: “मेरो धार्मिक जनचाहिं विश्वासबाट बाँच्नेछ, औ यदि उनी पछि हट्छ भनेता मेरो मन उनीसित खुश रहनेछैन।” (हिब्रू १०:३८) पावल अगमवक्ता हबकूकका शब्दहरू उद्धरण गर्दैथिए।a भविष्यसूचक पुस्तकहरूसित परिचित पावलका हिब्रू मसीही पाठकहरू यी शब्दहरूसित पक्कै पनि अभ्यस्त भएको हुनुपर्छ। तिनको लक्ष्य अर्थात् सा.यु. ६१ तिर यरूशलेम वा वरपरका मसीहीहरूको विश्वास बलियो बनाउने तिनको संकल्पसँग हबकूकको उदाहरण सुहाउँदो छनौट थियो। किन?
७. हबकूकले कहिले आफ्नो भविष्यवाणी लिपिबद्ध गरे र त्यतिखेर यहूदाको अवस्था कस्तो थियो?
७ हबकूकले सा.यु.पू ६०७ मा यरूशलेमको विनाश हुनुभन्दा दुई दशकअघि आफ्नो पुस्तक लेखेका थिए। तिनले “निष्ठूर र फूर्तिलो जाति” कल्दीहरूले (वा बेबिलोनीहरू) अचानक यहूदामा हमला गरेको अनि मानिसहरू र जातिहरूलाई सखाप पार्दै यरूशलेमलाई नाश गरेको दर्शन देखे। (हबकूक १:५-११) तर यस्तो हुनेछ भनी एक शताब्दीअघि यशैयाको समयदेखि नै भविष्यवाणी गरिएको थियो। हबकूकको समयमा असल राजा योशियाहपछिका राजा यहोयाकीमको पालामा यहूदामा फेरि दुष्टताको फलिफाप हुनथाल्यो। यहोयाकीमले यहोवाको नाउँमा बोल्नेहरूलाई सताउनुका साथै ज्यानसमेत लिन थाले। (२ इतिहास ३६:५; यर्मिया २२:१७; २६:२०-२४) मर्माहत भएका हबकूकले “हे परमप्रभु, कहिलेसम्म” भनेर चित्कार गरे।—हबकूक १:२.
८. प्रथम शताब्दी र आजका मसीहीहरूका लागि हबकूकको उदाहरण किन मदतकारी साबित हुनेथिए?
८ यरूशलेमको विनाश कति नजिक छ भनेर हबकूकलाई थाह थिएन। त्यसै गरी प्रथम शताब्दीका मसीहीहरूलाई यहूदी रीतिरिवाज नाश हुने समय थाह थिएन। आज हामीलाई पनि यस दुष्ट रीतिरिवाजलाई यहोवाले दिनुहुने न्यायदण्डको “दिन र घड़ी” थाह छैन। (मत्ती २४:३६) त्यसोभए, यहोवाले हबकूकलाई दिनुभएको दोहरो जवाफलाई ध्यान देऔं। पहिले त उहाँले अगमवक्तालाई अन्त ठीक समयमै आउनेछ भनेर विश्वस्त गराउनुभयो। मानिसको नजरमा त्यो ढिलो भएजस्तो देखिए तापनि “त्यसले ढीलो गर्नेछैन” भनेर परमेश्वरले भन्नुभयो। (हबकूक २:३) दोस्रो, यहोवाले हबकूकलाई सम्झाउनुभयो: “धर्मी चाहिं आफ्नो विश्वासद्वारा जिउँछ।” (हबकूक २:४) कति सुन्दर अनि सरल सत्य! सबैभन्दा महत्त्वपूर्ण कुरा अन्त कहिले आउँछ, त्यो होइन तर हामी विश्वासको जीवन निरन्तर बिताउँछौं कि बिताउँदैनौं, त्यो हो।
९. आफ्नो विश्वासको कारण यहोवाका आज्ञाकारी सेवकहरू कसरी बाँचिरहे (क) सा.यु.पू. ६०७ मा? (ख) सा.यु. ६६ पछि? (ग) हामीले आफ्नो विश्वासलाई बलियो बनाउनु किन अत्यावश्यक छ?
९ सा.यु.पू. ६०७ मा यरूशलेम तहसनहस भएपछि यर्मिया, तिनका सचिव बारूक, एबेदमेलेक तथा अन्य वफादार रेकाबीहरूले यहोवाले हबकूकलाई गर्नुभएको प्रतिज्ञा सत्य रहेछ भनी बुझे। यरूशलेममा भएको भीषण विनाशबाट तिनीहरू ‘जीवित रहे।’ किन? विश्वासिला भएकाले यहोवाले तिनीहरूलाई इनाम दिनुभयो। (यर्मिया ३५:१-१९; ३९:१५-१८; ४३:४-७; ४५:१-५) त्यसै गरी, प्रथम शताब्दीका हिब्रू मसीहीहरूले पावलको सल्लाह सुनेर राम्रो प्रतिक्रिया देखाएको हुनुपर्छ किनकि, रोमी सेनाले सा.यु. ६६ मा यरूशलेममाथि आक्रमण गर्दा र बिना कारण फर्केर जाँदा विश्वासी भई मसीहीहरू येशूको आज्ञा पालन गर्दै यरुशलेमबाट भागे। (लूका २१:२०, २१) विश्वासी भएकाले तिनीहरू जीवितै रहे। त्यसै गरी अन्त आउँदा विश्वासी भइरह्यौं भने हामी पनि जीवितै रहनेछौं। अहिले हाम्रो विश्वासलाई बलियो बनाउनुपर्ने कति महत्त्वपूर्ण कारण!
विश्वासका उदाहरणहरूको जीवन्त वर्णन
१०. पावलले मोशाको विश्वास कसरी वर्णन गरे र यससम्बन्धमा कसरी हामी मोशाको अनुकरण गर्नसक्छौं?
१० उदाहरणहरूको सशक्त प्रयोगद्वारा पनि पावलले विश्वासलाई दृढ बनाए। हिब्रू अध्याय ११ पढ्नुहुँदा तिनी बाइबल पात्रहरूको कसरी जीवन्त वर्णन गर्छन्, याद गर्नुहोस्। उदाहरणका लागि तिनले मोशाबारे यसो भने, “अदृश्यलाई देखेझैं गरी तिनी स्थिर रहे।” (हिब्रू ११:२७) अर्को शब्दमा भन्ने हो भने, मोशाको लागि यहोवा यति वास्तविक हुनुहुन्थ्यो कि मानौं तिनी अदृश्य परमेश्वरलाई देख्नसक्थे। के हामी पनि त्यस्तै छौं? परमेश्वरसितको सम्बन्धबारे कुरा गर्न सजिलो छ तर त्यो सम्बन्धलाई दृढ पार्न र बलियो बनाउन काम गर्नु आवश्यक हुन्छ। हामीले गर्नैपर्ने काम यही हो! के यहोवा हाम्रोनिम्ति यति वास्तविक हुनुहुन्छ कि, सानोभन्दा सानो निर्णय गर्नुपर्दा समेत हामी उहाँको विचार जान्न खोज्छौं? यसप्रकारको विश्वासले कठिनभन्दा कठिन परीक्षा सहन मदत गर्नेछ।
११, १२. (क) कस्तो परिस्थितिमाझ हनोकको विश्वासको जाँच भएको हुनसक्छ? (ख) हनोकले कस्तो प्रोत्साहनदायी इनाम प्राप्त गरे?
११ हनोकको विश्वासलाई पनि विचार गर्नुहोस्। तिनले सामना गर्नुपरेको विरोधको हामी कल्पनासमेत गर्नसक्दैनौं। हनोकले त्यतिखेरका दुष्ट मानिसहरूमाथि आउनलागेको न्यायदण्डबारे अत्यन्त कटु सन्देश सुनाउनुपरेको थियो। (यहूदा १४, १५) यस विश्वासी पुरुषमाथि आइपर्न लागेको सतावट यति क्रूर अनि हिंस्रक थियो कि शत्रुहरूले हात हाल्नुअघि नै यहोवाले “तिनलाई लानु[भयो]” र मृत्युको गहिरो निन्द्रामा पार्नुभयो। अतः, आफूले उच्चारण गरेको भविष्यवाणी पूरा भएको हनोकले देख्न पाएनन्। तर, अझ भनौं तिनले त्योभन्दा पनि उत्तम उपहार पाए।—हिब्रू ११:५, नयाँ संशोधित संस्करण; उत्पत्ति ५:२२-२४.
१२ पावल वर्णन गर्छन्: “तिनी [हनोक] उठाइलगिनुभन्दा अघि परमेश्वरलाई तिनले प्रसन्न पारेका कुराको पुष्टि भएको थियो।” (हिब्रू ११:५, नयाँ संशोधित संस्करण) यसको अर्थ के हो? मृत्युको निद्रामा पर्नुअघि हनोकले कुनै खास दर्शन, सायद पार्थिव प्रमोदवनको दर्शन पाएको हुनसक्छ, जहाँ तिनी एकदिन बिउँतने थिए। जे होस्, यहोवाले तिनको विश्वासी कामदेखि उहाँ अत्यन्त प्रसन्न हुनुहुन्छ भन्ने कुरा हनोकलाई अवगत गराउनुभयो। हनोकले यहोवाको हृदयलाई आनन्दित तुल्याए। (हितोपदेश २७:११ तुलना गर्नुहोस्।) हनोकको जीवनी हृदयस्पर्शी छ हैन र? के तपाईं पनि विश्वासको यस्तो जीवन बिताउन चाहनुहुन्छ? त्यसोभए यस्ता उदाहरणहरूमा गौर गर्नुहोस्, तिनीहरूलाई वास्तविक व्यक्ति ठान्नुहोस्। दिनहुँ विश्वासद्वारा जिउने निश्चय गर्नुहोस्। अनि यो पनि नबिर्सनुहोस्, विश्वास गर्नेमध्येकाहरूले यहोवाले आफ्ना सम्पूर्ण प्रतिज्ञाहरू पूरा गर्नुहुने मिति वा अन्तिम म्यादलाई विचार गरेर सेवा गर्ने गर्दैनन्। बरु, हामी यहोवाको सदासर्वदा सेवा गर्ने अठोट गर्छौं! त्यसो गर्नु भनेको यस रीतिरिवाजमा अनि आउँदै गरेको रीतिरिवाजमा सर्वोत्तम जीवन बिताउनु हो।
विश्वासमा बलियो कसरी हुने
१३, १४. (क) हिब्रू १०:२४, २५ मा लिपिबद्ध पावलका शब्दहरूले सभालाई रमाइलो बनाउन कसरी मदत गर्नेछ? (ख) मसीही सभाहरूको मुख्य उद्देश्य के हो?
१३ पावलले हिब्रू मसीहीहरूलाई आफ्नो विश्वासलाई दरिलो बनाउने थुप्रै व्यावहारिक तरिकाहरू देखाए। आउनुहोस्, तीमध्ये दुइटा विचार गरौं। तिनले हिब्रू १०:२४, २५ मा मसीही सभाहरूमा नियमित तवरमा उपस्थित हुन गरेको आग्रहसित हामी सायद परिचित छौं। तथापि, पावलले प्रेरणाद्वारा लेखेका उक्त शब्दहरूले सभाहरूमा धुमधुमती बस्नुपर्छ भन्दैनन्। बरु, पावलले सभाहरू त एकअर्कालाई चिन्ने, परमेश्वरको सेवा अझ बढी गर्न उत्प्रेरित गर्ने अनि प्रोत्साहन दिने मौका हुन् भनेर व्याख्या गर्छन्। हामी सभाहरूमा दिन जान्छौं, लिन मात्र होइन। यसरी लेनदेन गर्दा हाम्रा सभाहरू रमाइला हुन्छन्।—प्रेरित २०:३५.
१४ तथापि, हामी मुख्यतः यहोवा परमेश्वरको उपासना गर्न मसीही सभाहरूमा उपस्थित हुन्छौं। हामी प्रार्थना र गीतहरूमा भाग लिएर, ध्यानसित सुनेर अनि टिप्पणी तथा सभामा पाएको भाग लिने मौकाहरूद्वारा “ओठको फल” चढाएर यहोवाको प्रशंसा गर्छौं। (हिब्रू १३:१५) यी लक्ष्यहरूलाई मनमा राख्यौं र प्रत्येक सभामा त्यसै गर्ने गऱ्यौं भने, हाम्रो विश्वास निस्सन्देह झन् झन् पक्का हुँदै जानेछ।
१५. पावलले हिब्रू मसीहीहरूलाई आफ्नो सेवकाईमा लागिरहन किन आग्रह गरे र आज त्यही सल्लाह किन उपयुक्त छ?
१५ विश्वासलाई दृढ बनाउने अर्को तत्त्व प्रचार कार्य हो। पावलले लेखे: “यो नडग्मगाओस् भनेर हाम्रो आशाको स्वीकारलाई हामी दृढ़सँग थामिराखौं। किनभने प्रतिज्ञा गर्नुहुने जो हुनुहुन्छ, उहाँ विश्वासयोग्य हुनुहुन्छ।” (हिब्रू १०:२३) कसैले थकित भएर हार मान्न खोजेको देख्नुहुँदा तपाईं तिनलाई थामिरहन आग्रह गर्न सक्नुहुन्छ। शैतानले पक्कै पनि ती हिब्रू मसीहीहरूलाई आफ्नो सेवकाईदेखि हार मान्न दबाब दिइरहेको थियो। त्यसले आज पनि परमेश्वरका जनहरूलाई त्यसै गरी दबाब दिइरहेको छ। यस्तो दबाब आइपर्दा हामीले के गर्नुपर्ने हो? पावलले के गरे, विचार गर्नुहोस्।
१६, १७. (क) पावलले सेवकाईको निम्ति कहाँबाट साहस बटुले? (ख) हाम्रो मसीही सेवकाईको कुनै पक्षसित डर लाग्छ भने हामीले चाल्नसक्ने केही व्यावहारिक कदम के के हुन्?
१६ थिस्सलोनिकीका मसीहीहरूलाई पावलले यसरी लेखे: “तिमीहरू जान्दछौ, फिलिप्पीमा अघाड़ि दुःख पाई बेइज्जती भोगेर पनि तिमीहरूसँग परमेश्वरको सुसमाचार बोल्नालाई, अति विरोधमा पनि, हाम्रा परमेश्वरमा हामी निर्भय रह्यौं।” (१ थिस्सलोनिकी २:२) पावल र तिनका सँगीहरूले फिलिप्पीमा कसरी ‘बेइज्जती भोगे?’ केही शास्त्रज्ञअनुसार पावलले प्रयोग गरेको युनानी शब्दले अपमान, लाज वा घोर बेइज्जतको भाव बुझाउँछ। फिलिप्पीका अख्तियारवालाहरूले तिनीहरूलाई लट्ठीले पिटेका, जेलमा कोचेका अनि ठिंगुरा ठोकेर राखेका थिए। (प्रेरित १६:१६-२४) पावललाई यस्तो पीडादायी अनुभवले कस्तो असर गऱ्यो? थिस्सलोनिकीमा दोस्रो मिसनरी यात्रा गर्दा त्यहाँका बासिन्दाहरूले पावल थरथर कामेको पाए? अहँ, तिनी ‘निर्भय रहे।’ तिनले आफ्नो डरलाई वशमा राखे र निर्भयी भएर निरन्तर प्रचार गरिरहे।
१७ पावलले कहाँबाट यस्तो साहस बटुले? आफैबाट? होइन, तिनले “हाम्रा परमेश्वरमा” म निर्भयी रहें भने। बाइबल अनुवादकहरूको एउटा किताबले यो वाक्यलाई “परमेश्वरले हाम्रो मनबाट डर हटाइदिनुभयो” भनेर बुझाउन सकिन्छ भनी उल्लेख गर्छ। अतः, तपाईंलाई सेवकाईमा लाग्न डर लाग्छ वा सेवकाईको कुनै खास पक्षमा भाग लिन हिचकिचाउनुहुन्छ भने यहोवालाई बिन्ती गर्नुहोस्। उहाँलाई तपाईंको मनबाट डर निकालिदिनुहोस् भनेर आग्रह गर्नुहोस्। त्यस कार्यका लागि निर्भयी तुल्याइदिनुहोस् भन्नुहोस्। यसको अतिरिक्त केही अन्य व्यावहारिक कदमहरू पनि चाल्नुहोस्। उदाहरणका लागि, तपाईंलाई जेसँग डर लाग्छ, त्यसमा निपुण व्यक्तिसित मिलेर काम गर्ने प्रबन्ध मिलाउनुहोस्। जस्तै, व्यापारिक इलाकामा काम गर्ने, सडक साक्षी दिने, अनौपचारिक साक्षी दिने वा फोनमा प्रचार गर्ने आदि। हुनसक्छ, तपाईंसित जाने व्यक्तिले नै यसरी विभिन्न तरिकामा प्रचार कसरी गर्ने भनेर पहिले आफै गरेर देखाउलान्। त्यतिबेला ध्यान दिएर हेर्नुहोस् र त्यसबाट सिक्नुहोस्। तर त्यसपछि चाहिं, कोसिस गर्न साहस बटुल्नुहोस्।
१८. साहस बटुलेर आफ्नो सेवकाईमा लाग्यौं भने हामीले कस्ता आशिष्हरू पाउनेछौं?
१८ साहस बटुल्नुभएपछि त्यसका परिणामहरू विचार गर्नुहोस्। तपाईं लागिरहनुभयो र निरुत्साहित हुनुभएन भने सच्चाइ बाँड्दा प्राप्त हुने राम्रा राम्रा अनुभवहरू तपाईंसित पनि हुनेछन्। तपाईंले साहस नबटुल्नुभएको भए यस्ता अनुभव बटुल्न सक्नुहुने थिएन। (पृष्ठ २५ हेर्नुहोस्।) गाह्रै लागे पनि तपाईंले साहस बटुल्नु भएर काम गर्नुभएको हुँदा त्यसले यहोवालाई प्रसन्न तुल्याइरहेको छ भन्ने थाह पाउँदा सन्तुष्ट अनुभव गर्नुहुनेछ। तपाईंले उहाँको आशिष् तथा डरलाई जित्ने मदत पाउनुभएको महसुस गर्नुहुनेछ। तपाईंको विश्वास दृढ हुनेछ। साँच्चै, तपाईंले आफ्नो विश्वासलाई बलियो नपारी अरूको विश्वास बलियो बनाउन सक्नुहुन्न।—यहूदा २०, २१.
१९. “विश्वास गर्नेहरूमध्येका” लागि कस्तो अनमोल इनाम साँचेर राखिएको छ?
१९ तपाईंले आफ्नो र वरपर अरूको विश्वास निरन्तर दृढ बनाउन सकोस्। परमेश्वरको वचन निपुणता साथ प्रयोग गरेर, बाइबलमा भएका विश्वासको उदाहरणहरू पढेर तथा त्यसलाई जीवन्त बनाएर, मसीही सभाहरूका लागि तयारी गरेर र भाग लिएर अनि जन सेवकाईजस्तो बहुमूल्य विशेषाधिकारलाई थामिराखेर तपाईं आफ्नो र अरूको विश्वास बलियो बनाउन सक्नुहुन्छ। त्यसो गर्नुभयो भने तपाईं पक्कै पनि “विश्वास गर्नेहरूमध्येका” हुनुहुनेछ भनेर ढुक्क हुनुहोस्। नबिर्सनुहोस्, यस्तामध्ये पर्नेहरूसित अनमोल इनाम छ। तिनीहरू “आत्माको उद्धारको निम्ति विश्वास गर्नेहरूमध्येका” हुन्।b तपाईंको विश्वास फलोस् फुलोस्! अनि यहोवा परमेश्वरले तपाईंलाई सदासर्वदा जोगाइराखून्!
[फुटनोटहरू]
a पावलले सेप्टुआजिन्ट अनुवादबाट हबकूक २:४ उद्धरण गरेका थिए जहाँ “यदि कोही पछि हट्छ भनेता मेरो मन उनीसित खुश रहनेछैन” भन्ने वाक्यांश समावेश छ। यो वाक्य कुनै पनि वर्तमान हिब्रू धर्मशास्त्रमा पाइँदैन। कसै कसैले सेप्टुआजिन्ट आज अस्तित्वमा नरहेको पुरानो हिब्रू हस्तलिपिमा आधारित हुनसक्ने विचार पोखेका छन्। जे होस्, पावलले पवित्र आत्माको प्रभावमा परेर उक्त वाक्यांशलाई यहाँ समावेश गरे। तसर्थ, उक्त वाक्यांशको ईश्वरीय समर्थन छ।
b सन् २००० का लागि यहोवाका साक्षीहरूको वार्षिक पद: “हामीचाहिं विनाशसम्म पुग्नेगरी पछि हट्नेहरूमध्येका होइनौं, . . . विश्वास गर्नेहरूमध्येका हौं।”—हिब्रू १०:३९.
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ पावलले हिब्रू मसीहीहरूमाथि आफ्नो भरोसा कसरी जाहेर गरे अनि हामी यसबाट के सिक्नसक्छौं?
◻ पावलले अगमवक्ता हबकूकलाई संकेत गर्नु किन उपयुक्त थियो?
◻ पावलले कस्ता धर्मशास्त्रीय उदाहरणहरूलाई जीवन्त तुल्याए?
◻ विश्वासलाई दृढ बनाउने कस्ता व्यावहारिक तरिकाहरू पावलले सिफारिस गरे?
[पृष्ठ २३-मा भएको चित्र]
फिलिप्पीमा पीडादायी अनुभव भोगिसकेपछि पनि साहस बटुल्दै पावलले प्रचार गरिरहे
[पृष्ठ २४-मा भएका चित्रहरू]
साक्षी दिने थुप्रै तरिकाहरू प्रयोग गरेर हेर्न के तपाईं साहस बटुल्नुहुनेछ?