प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w06 २/१ pp. १७-२१
  • शैतानको विरोध गर र त्यो भाग्नेछ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शैतानको विरोध गर र त्यो भाग्नेछ!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के हामी शैतानसित डराउनुपर्छ?
  • शैतानले हामीलाई किन सताउँछ?
  • “दुष्टबाट छुटाउनुहोस्‌”
  • शैतानले तपाईंलाई फसाउन नपाओस्‌
  • परमेश्‍वरको हातहतियारबाट सुरक्षित
  • शैतानको विरोध गर र त्यो भाग्नेछ
  • येशूले जस्तै “शैतानको विरोध” गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • अनन्त जीवनको एउटा शत्रु
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • दियाबल—अन्धविश्‍वास मात्रै होइन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • हाम्रो पापको निम्ति के शैतानलाई दोष दिन मिल्छ?
    ब्यूँझनुहोस्‌!—१९९८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
w06 २/१ pp. १७-२१

शैतानको विरोध गर र त्यो भाग्नेछ!

“परमेश्‍वरको अधीनमा बस, शैतानको विरोध गर, अनि त्यो तिमीहरूबाट भाग्नेछ।” —याकूब ४:७.

१, २. (क) यशैया अध्याय १४ मा लेखिएको घोषणामा शैतानको कस्तो दुर्गुण देखिन्छ? (ख) कुन-कुन प्रश्‍न हामी छलफल गर्नेछौं?

सबैभन्दा अहङ्‌कारी व्यक्‍तिलाई सम्झनुपर्दा शैतानको नाउँ आउँछ। परमेश्‍वरको अगमवक्‍ता यशैयाले लेखेका शब्दहरूमा शैतानको घमन्ड देखिन्छ। बेबिलोन विश्‍वशक्‍तिको रूपमा देखा पर्नुभन्दा सय वर्षअघि “बाबेलको राजा” विरुद्ध यहोवाको घोषणा उहाँका जनहरूले यसरी सुनाए: “तैंले आफ्नो मनमा भन्‍ने गर्थिस्‌, ‘म स्वर्गमा उक्लनेछु। परमेश्‍वरका ताराहरूभन्दा [दाऊदको शाही घरानाका राजाहरूभन्दा] माथि म मेरो सिंहासनलाई उच्च पार्नेछु, . . . म परम परमेश्‍वर जत्तिकै हुनेछु।’ ” (यशैया १४:३, ४, १२-१५; गन्ती २४:१७) “बाबेलको राजाको” घमन्ड “यस संसारको देव” शैतानको मनोभाव जस्तै थियो। (२ कोरिन्थी ४:४) बेबिलोनी राजकुलको अपमानजनक अन्त भएझैं अहङ्‌कारी शैतानको पनि पतन हुनेछ।

२ तर शैतानको अस्तित्त्व रहुन्जेल हाम्रो मनमा यस्ता प्रश्‍नहरू उठ्‌न सक्छन्‌: के हामी शैतानसित डराउनुपर्छ? त्यसले मसीहीहरूलाई सताउन किन मानिसहरूलाई उक्साउँछ? शैतानले हामीलाई फसाउन नदिन हामीले के गर्नुपर्छ?

के हामी शैतानसित डराउनुपर्छ?

३, ४. अभिषिक्‍त मसीहीहरू र तिनीहरूका सहयोगीहरू शैतानसित किन डराउँदैनन्‌?

३ येशू ख्रीष्टले भन्‍नुभएका यी शब्दहरूले अभिषिक्‍त मसीहीहरूलाई निकै बल दिन्छ: “तिमीले कष्ट भोग्न लागेका कुराहरूसँग नडराऊ, हेर, तिमीहरू परीक्षामा पर भनेर शैतानले तिमीहरूमध्ये कुनै कुनैलाई कैदमा हाल्नआँटेको छ, र तिमीहरूलाई दशै दिन कष्ट हुनेछ। तिमी मृत्युसम्मै विश्‍वासी होऊ, र म तिमीलाई जीवनको मुकुट दिनेछु।” (प्रकाश २:१०) अभिषिक्‍त मसीहीहरू र पृथ्वीमा सधैंभरि बाँच्ने आशा राख्ने तिनीहरूका सहयोगीहरू शैतानसित डराउँदैनन्‌। स्वभावैले साहसी भएको हुँदा तिनीहरू यत्तिको निडर हुन सकेका होइनन्‌। परमेश्‍वरप्रति श्रद्धेय भय राखेका र उहाँको “पखेटाको छायामा शरण” लिएकाले नै यत्तिको साहसी हुन सकेका हुन्‌।—भजन ३४:९; ३६:७.

४ जस्तोसुकै अवस्था भोग्नुपरे तापनि येशू ख्रीष्टका सुरु-सुरुका चेलाहरू निडर थिए र मृत्युसम्मै विश्‍वासी रहे। शैतानले के गर्ला भनी डराएर तिनीहरूले लत्तो छोडेनन्‌। किनभने यहोवाप्रति वफादार रहने व्यक्‍तिहरूलाई उहाँले कहिल्यै त्याग्नुहुनेछैन भनेर तिनीहरूले बुझेका थिए। त्यसरी नै, अहिले हाम्रो समयमा उग्र सतावट आए तापनि अभिषिक्‍त मसीहीहरू र परमेश्‍वरप्रति समर्पित तिनीहरूका सहयोगीहरूले आफ्नो निष्ठा नतोड्‌ने संकल्प गरेका छन्‌। तर शैतानले मृत्यसम्म पुऱ्‍याउन सक्छ भनी प्रेरित पावलले बताए। के त्यसोभए हामी डराउनुपर्छ?

५. हिब्रू २:१४, १५ बाट हामी के सिक्छौं?

५ पावलले यसो भने: “मृत्युका सामर्थ्य भएको, अर्थात्‌ शैतानलाई मृत्युद्वारा रद्दी पार्नलाई” येशू पनि “यिनैको सहभागी हुनुभयो। औ मृत्युको डरले जीवनभरि दासत्वमा फसेकाहरू सबैलाई छुटाउनलाई पनि हो।” (हिब्रू २:१४, १५) शैतानसित ‘मृत्युको सामर्थ्य भएको’ हुँदा शैतानले यहूदा इस्करयोतीलाई आफ्नो हातमा लियो र यहूदी नेताहरू तथा रोमीहरूलाई चलाएर येशूलाई मार्न लगायो। (लूका २२:३; यूहन्‍ना १३:२६, २७) येशूको यो मृत्यु वास्तवमा बलिदान थियो। यसले पापी मानिसजातिलाई शैतानको पञ्जाबाट मुक्‍त पाऱ्‍यो र हाम्रो लागि अनन्त जीवनको ढोका खोलिदियो।—यूहन्‍ना ३:१६.

६, ७. शैतानसित कुन हदसम्म मृत्युको सामर्थ्य छ?

६ शैतानसित कुन हदसम्म मृत्युको सामर्थ्य छ? दुष्ट कामहरू सुरु गरेदेखि नै शैतानको झूट र गलत डोऱ्‍याइले मानिसहरूलाई मृत्युसम्म पुऱ्‍याएको छ। आदमको पापले गर्दा नै यस्तो अवस्था आएको हो। अनि यसैले गर्दा पाप र मृत्यु सबै मानिसमा फैलियो। (रोमी ५:१२) यस बाहेक, पृथ्वीमा भएका शैतानका सेवकहरूले यहोवाका उपासकहरूलाई सताएका छन्‌ र येशू ख्रीष्टलाई जस्तै कसै-कसैलाई त मृत्युमा समेत पुऱ्‍याएका छन्‌।

७ तैपनि, शैतानले आफूले चाहेको जोसुकैलाई मृत्युसम्म पुऱ्‍याउन सक्छ भन्‍ने सोचाइ राख्नु हुँदैन। आफ्ना जनहरूलाई परमेश्‍वरले जोगाउनुहुन्छ र साँचो उपासकहरू सबैलाई पृथ्वीबाट नामेट पार्न शैतानलाई कहिल्यै दिनुहुनेछैन। (रोमी १४:८) हुन त, यहोवाले आफ्ना सबै जनहरूमाथि सतावट आइपर्न दिनुहुन्छ र शैतानको आक्रमणले गर्दा कसै-कसैको मृत्युसमेत हुन सक्छ। तर परमेश्‍वरको “सम्झनाको पुस्तकमा” नाउँ हुनेहरूको लागि बाइबलले पुनरुत्थानको कस्तो उज्ज्वल आशा दिन्छ! अनि यसरी फेरि जीवन प्राप्त गर्नदेखि शैतानले कुनै हालतमा रोक्न सक्दैन।—मलाकी ३:१६; यूहन्‍ना ५:२८, २९; प्रेरित २४:१५.

शैतानले हामीलाई किन सताउँछ?

८. शैतानले परमेश्‍वरका सेवकहरूलाई किन सताउँछ?

८ हामी परमेश्‍वरका वफादार सेवक हुनु नै शैतानले हामीलाई सताउने एउटा मुख्य कारण हो। त्यसले हाम्रो विश्‍वास विपरीतको काम गराउन खोज्छ। स्वर्गमा हुनुहुने पितासित हाम्रो गहिरो सम्बन्ध छ अनि शैतान त्यो सम्बन्धलाई खत्तम गर्न चाहन्छ। यो थाह पाउँदा हामी छक्क पर्नु पर्दैन। प्रतिकात्मक “स्त्री” र “साँप” अनि तिनीहरूको “सन्तानको” बीचमा दुस्मनी हुनेछ भनेर यहोवाले अदनको बगैंचामै भविष्यवाणी गर्नुभएको थियो। (उत्पत्ति ३:१४, १५) बाइबलले शैतानलाई “त्यो वृद्ध साँप” भनेको छ अनि त्यसको समय थोरै तर रीस चर्को छ। (प्रकाश १२:९, १२) यी दुई “सन्तानको” बीचमा दुस्मनी रहुन्जेल विश्‍वासी भई यहोवाको सेवा गर्नेहरूले सतावट भोग्नुपर्ने आशा गर्न सक्छन्‌। (२ तिमोथी ३:१२) शैतानले यस्तो सतावट वास्तवमा किन ल्याउँछ? यसको पछाडि कस्तो कारण लुकेको छ, के तपाईंले बुझ्नुभएको छ?

९, १०. शैतानले कुन विवाद खडा गरेको छ र मानिसको निष्ठा यसमा कसरी मुछिएको छ?

९ शैतानले विश्‍वव्यापी सार्वभौमिकताको विवाद अर्थात्‌ संसारलाई शासन गर्ने अधिकार वास्तवमा कसको हो भन्‍ने विषयमा विवाद खडा गरेको छ। यही विवादसित सम्बन्धित अर्को कुरा, सृष्टिकर्ताप्रति मानिसहरू निष्ठावान्‌ रहिरहने छन्‌ कि छैनन्‌ भनेर पनि त्यसले प्रश्‍न उठाएको छ। सोझो मानिस अय्यूबलाई शैतानले सतायो। किन? यहोवाप्रति अय्यूबको निष्ठा तोड्‌न। अय्यूबकी पत्नी र “व्यर्थका सान्त्वना दिने” तीन जना साथीहरूले पनि त्यतिबेला शैतानलाई नै साथ दिए। अय्यूबको पुस्तकमा लेखिएझैं मानिसलाई परीक्षा गर्न शैतानलाई मौका दिइयो भने कोही पनि मानिस परमेश्‍वरप्रति वफादार रहनेछैन भन्‍ने दाबी गरेर शैतानले परमेश्‍वरलाई चुनौती दियो। तर अय्यूबले आफ्नो निष्ठा तोडेनन्‌ अनि शैतानलाई झूटा साबित गरे। (अय्यूब १:८–२:९; १६:२; २७:५; ३१:६) यहोवाका साक्षीहरुको निष्ठा तोड्‌न लगाउन अनि आफ्नो दाबी साँचो साबित गर्न शैतानले अहिले पनि तिनीहरूलाई सताउँछ।

१० परमेश्‍वरप्रतिको हाम्रो निष्ठा तोड्‌न शैतानले कुनै कसर बाँकी नराखी हामीलाई सताउँछ भनेर थाह पाउँदा वास्तवमा हामी झन्‌ बलियो र साहसी हुने मदत पाउँछौं। (व्यवस्था ३१:६) हाम्रा परमेश्‍वर विश्‍वव्यापी सार्वभौम हुनुहुन्छ र निष्ठा कायम गर्न उहाँले हामीलाई मदत गर्नुहुनेछ। आफ्नो निष्ठा नतोडौं र यहोवाको आलोचना गर्ने शैतानलाई मुखभरिको जवाफ देऔं। यसरी हामी सधैं यहोवाको हृदय आनन्दित पार्ने कोसिस गरौं।—हितोपदेश २७:११.

“दुष्टबाट छुटाउनुहोस्‌”

११. “हामीलाई परीक्षामा नल्याउनुहोस्‌” भन्‍ने बिन्तीको अर्थ के हो?

११ परमेश्‍वरप्रति निष्ठावान्‌ रहनु सजिलो कुरा होइन। मदतको लागि व्यग्र प्रार्थना गर्नुपर्छ। यसो गर्न नमुना प्रार्थनाका शब्दहरूले खास मदत गर्छ। उक्‍त प्रार्थनाको केही अंश यस्तो छ: “हामीलाई परीक्षामा नल्याउनुहोस्‌, तर दुष्टबाट छुटाउनुहोस्‌।” (मत्ती ६:१३) हामीलाई पाप गर्न लगाउन यहोवाले परीक्षा गर्नुहुन्‍न। (याकूब १:१३) तैपनि उहाँले कुनै कुरा गर्नुभएको वा गराउनुभएको भनेर बाइबलमा कतै-कतै बताइएको छ। वास्तवमा उहाँले कुनै कुरा वा घटना हुन दिनुभएको मात्र हो। (रूथ १:२०, २१) त्यसकारण, येशूले सिकाउनुभएझैं प्रार्थना गर्दा हामीलाई प्रलोभनमा फस्न नदिनुहोस्‌ भनी यहोवालाई पुकारिरहेका हुन्छौं। अनि उहाँले हाम्रो पुकारा सुन्‍नुहुन्छ किनभने बाइबल यस्तो आश्‍वासन दिन्छ: “परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्‍तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहनसकोस्‌ भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ।”—१ कोरिन्थी १०:१३.

१२. “दुष्टबाट छुटाउनुहोस्‌” भनेर हामी किन प्रार्थना गर्छौं?

१२ नमुना प्रार्थनामा परीक्षाबारे बताइसकेपछि येशूले यसो भन्‍नु एकदमै उचित थियो: “दुष्टबाट छुटाउनुहोस्‌।” कसै-कसैले मत्ती ६:१३ को येशूका शब्दलाई हामीभित्र हुने दुष्टता वा कुनै अनिष्ट घटनाबाट जोगाउनुहोस्‌ भन्‍ने अर्थ लाग्ने गरी अनुवाद गरेका छन्‌। तर कसैबाट मुक्‍त गर्ने सन्दर्भमा “छुटाउनुहोस्‌” भन्‍ने शब्द बाइबलमा खास गरी प्रयोग गरिएको छ अनि मत्तीले लेखेको सुसमाचारको पुस्तकमा शैतानलाई “परीक्षा गर्ने” व्यक्‍ति भनिएको छ। (मत्ती ४:३, ११) त्यसकारण त्यस “दुष्ट” शैतानबाट जोगाउनुहोस्‌ भनी प्रार्थना गर्नु आवश्‍यक छ। परमेश्‍वरको विरुद्ध पाप गर्न लगाउन त्यसले हामीलाई चालै नपाउने ढङ्‌गमा छक्याउन सक्छ। (१ थिस्सलोनिकी ३:५) “दुष्टबाट छुटाउनुहोस्‌” भनी बिन्ती गर्दा, शैतानले हामीलाई फसाउन नपाओस्‌ भनेर स्वर्गमा हुनुहुने पिताको डोऱ्‍याइ र मदत हामीले मागिरहेका हुन्छौं।

शैतानले तपाईंलाई फसाउन नपाओस्‌

१३, १४. पहिला अनैतिकतामा फसेको मानिसप्रति कोरिन्थका मसीहीहरूले किन आफ्नो व्यवहार बदल्नुपर्थ्यो?

१३ क्षमा गर्ने विषयमा पावलले कोरिन्थका मसीहीहरूलाई यसो भने: “जसलाई तिमीहरू क्षमा गर्छौ, म पनि क्षमा गर्छु। यदि मैले कसैलाई केही कुरामा क्षमा गरेको छु भने तिमीहरूकै खातिर ख्रीष्टको उपस्थितिमा क्षमा गरेको छु, ताकि शैतानले हामीलाई फसाउन नपाओस्‌, किनकि त्यसका युक्‍तिहरूका विषयमा हामी अजान छैनौं।” (२ कोरिन्थी २:१०, ११, NRV) शैतानले विभिन्‍न किसिमले हामीलाई फसाउन सक्छ तर पावलले कुन सन्दर्भमा यसो भने?

१४ अनैतिक आचरणमा फसेको मानिसलाई मण्डलीमा रहिरहन दिएको हुँदा पावलले कोरिन्थका मसीहीहरूलाई हप्काएका थिए। कोरिन्थका मसीहीहरूको यस्तो व्यवहार देख्दा शैतान पक्कै पनि खुसी भएको हुनुपर्छ किनभने ‘अन्यजातिहरूमा पनि नहुने यस्तो व्यभिचार’ रहिरहन दिंदा मण्डलीको बदनाम भयो। अन्तमा, त्यस्तो गम्भीर गल्ती गर्ने व्यक्‍तिलाई बहिष्कार गरियो। (१ कोरिन्थी ५:१-५, ११-१३) त्यस मानिसले पछि पश्‍चात्ताप गऱ्‍यो। कोरिन्थका मसीहीहरूले त्यस व्यक्‍तिलाई क्षमा गर्न इन्कार गरेर मण्डलीमा फेरि नस्वीकारेको खण्डमा शैतानले तिनीहरूलाई अर्कै किसिमले फसाउन सक्थ्यो। कसरी? शैतानजस्तै तिनीहरू कठोर र निर्दयी हुनेथिए। त्यस पश्‍चात्तापी मानिस “झन्‌ बढता शोकले चुर्लुम्म” डुब्यो र परमेश्‍वरको उपासना गर्नै छोड्यो भने, दयालु परमेश्‍वर यहोवासामु विशेष गरी प्राचीनहरू केही हदसम्म दोषी हुनेछन्‌। (२ कोरिन्थी २:७; याकूब २:१३; ३:१) हो, हामी साँचो मसीहीहरू कहिल्यै क्रूर, कठोर र निर्दयी भएर शैतानको नक्कल नगरौं!

परमेश्‍वरको हातहतियारबाट सुरक्षित

१५. हामीले कस्तो लडाइँ लड्‌नुपर्छ अनि के गऱ्‍यौं भने मात्र हामी विजयी हुन सक्छौं?

१५ शैतानबाट जोगिनको लागि दुष्ट्याइँका आत्मिक सेनाहरू विरुद्ध हामीले आध्यात्मिक लडाइँ लड्‌नुपर्छ। “परमेश्‍वरको सारा हातहतियार” धारण गऱ्‍यौं भने मात्र हामी यस्तो शक्‍तिशाली सेना विरुद्ध विजयी हुन सक्छौं। (एफिसी ६:११-१८) यी हातहतियारमध्ये “धार्मिकताको छाती-पाता” पनि एउटा हो। (एफिसी ६:१४) प्राचीन इस्राएलका राजा शाऊल परमेश्‍वरप्रति अनाज्ञाकारी भए अनि पवित्र आत्मा गुमाए। (१ शमूएल १५:२२, २३) तर धार्मिकताको मार्गमा हिंड्यौं अनि परमेश्‍वरको सारा हातहतियार धारण गऱ्‍यौं भने हामीले उहाँको पवित्र आत्मा पाउनेछौं अनि शैतान र त्यसका दुष्ट प्रेतहरूबाट जोगिन सक्छौं।—हितोपदेश १८:१०.

१६. दुष्ट्याइँका आत्मिक सेनाहरू विरुद्ध हामी कसरी सुरक्षित रहिरहन सक्छौं?

१६ दुष्ट्याइँका आत्मिक सेनाहरू विरुद्ध सुरक्षित रहिरहनको लागि अरू कुराको साथसाथै “विश्‍वासी भण्डारे” मार्फत प्रदान गरिने प्रकाशनहरूको सदुपयोग गर्दै नियमित तवरमा परमेश्‍वरको वचन पढ्‌नु र अध्ययन गर्नुपर्छ। (लूका १२:४२) यसो गऱ्‍यौं भने पावलको सल्लाहअनुसार उत्थानदायी आध्यात्मिक कुराहरूले हाम्रो दिमाग भरिरहेका हुनेछौं: “ए भाइ हो, जे कुरा सच्चा छन्‌, जे कुरा आदरणीय छन्‌, जे कुरा चोखा छन्‌, जे कुरा असल छन्‌, जे कुरा मनपर्दा छन्‌, तिनमा केही सद्‌गुण र केही प्रशंसा छ भने, तिनै कुराको विचार गर।”—फिलिप्पी ४:८.

१७. प्रभावकारी ढङ्‌गमा सुसमाचार प्रचार गर्न हामीलाई कुन कुराले मदत गर्नेछ?

१७ “खुट्टामा मिलापको सुसमाचारको तयारीका जुत्ता” लगाउन यहोवा हामीलाई मदत गर्नुहुन्छ। (एफिसी ६:१५) मसीही सभाहरूमा नियमित तवरमा भाग लिंदा परमेश्‍वरको राज्यको सुसमाचार सुनाउन हामी पोख्त हुन्छौं। परमेश्‍वरको वचनबाट सत्य कुराहरू सिक्न अनि धार्मिक झूटहरूबाट स्वतन्त्र हुन अरूलाई मदत गर्न पाउँदा हामी कत्ति खुसी हुन्छौं! (यूहन्‍ना ८:३२) झूटा शिक्षाहरूबाट आफूलाई जोगाउन अनि “किल्लाहरू भत्काउन” हामीलाई “आत्माको तरवार जो चाहिं परमेश्‍वरको वचन हो” त्यो नभई हुँदैन। (एफिसी ६:१७; २ कोरिन्थी १०:४, ५) परमेश्‍वरको वचन बाइबल चलाउन निपुण हुँदा हामी अरूलाई सत्य सिकाउन सक्छौं अनि शैतानका धूर्त चालहरूको अगाडि लत्तो छोड्‌नदेखि पनि जोगिनेछौं।

१८. “शैतानका युक्‍तिहरूका विरुद्ध” हामी कसरी “खडा” हुन सक्छौं?

१८ हाम्रो आध्यात्मिक हातहतियारबारे कुरा गर्दा पावलले सुरुमै यसो भने: “प्रभुमा र उहाँको शक्‍तिको सामर्थ्यमा बलवान्‌ होओ। शैतानका युक्‍तिहरूका विरुद्धमा खडा हुनसक्नलाई परमेश्‍वरको सारा हातहतियार धारण गर।” (एफिसी ६:१०, ११) “खडा हुन” भनी अनुवाद गरिएको युनानी शब्दले सिपाहीको तयारी अवस्थालाई बुझाउँछ। हाम्रो एकता भङ्‌ग गर्न, हाम्रो शिक्षालाई भ्रष्ट पार्न वा परमेश्‍वरप्रतिको हाम्रो निष्ठा तोड्‌न शैतानले अनेकौं धूर्त चाल चल्छ। तर यो आध्यात्मिक लडाइँमा हामी कटिबद्ध छौं। शैतानको आक्रमण अहिलेसम्म सफल भएको छैन। पछि पनि सफल हुनेछैन!a

शैतानको विरोध गर र त्यो भाग्नेछ

१९. शैतानको विरोध गर्न हामीले चाल्नुपर्ने एउटा ठोस कदम के हो?

१९ शैतान र त्यसको अधीनमा भएको दुष्ट्याइँका आत्मिक सेनाहरू विरुद्ध आध्यात्मिक लडाइँमा हामी विजयी हुन सक्छौं। शैतानको डरले हामी थरथर काँप्नुपर्ने कुनै कारण छैन किनभने चेला याकूबले यस्तो लेखे: “परमेश्‍वरको अधीनमा बस, शैतानको विरोध गर, अनि त्यो तिमीहरूबाट भाग्नेछ।” (याकूब ४:७) शैतान र त्यसको पछि लाग्ने दुष्ट आत्मिक प्राणीहरू विरुद्ध ठोस कदम चाल्ने एउटा तरिका हो—जादू, टुनामुनासित सम्बन्धित कामकुरा र यस्ता कामहरू गर्ने मानिसहरूसित संगतै नगर्ने। यहोवाका सेवकहरूले ज्योतिषविद्या, जोखना हेर्ने र प्रेतवादलाई तिरस्कार गर्नैपर्छ भनेर बाइबलले स्पष्ट बताएको छ। मसीही गतिविधिमा व्यस्त र आध्यात्मिक तवरमा बलिया भयौं भने, कसैले हामीलाई टुनामुना गर्ला कि भनेर डराउनै पर्दैन।—गन्ती २३:२३; व्यवस्था १८:१०-१२; यशैया ४७:१२-१५; प्रेरित १९:१८-२०.

२०. हामी कसरी शैतानको विरोध गर्न सक्छौं?

२० “शैतानको विरोध” गर्न त्यसको विरुद्ध खडा हुनुपर्छ। साथै, बाइबलको स्तर अनि यसको शिक्षाअनुसारै चल्नुपर्छ। यो संसार शैतानको चालअनुसार चल्छ किनभने ऊ नै यस संसारको देव हो। (२ कोरिन्थी ४:४) यसकारण घमन्ड, स्वार्थ, अनैतिकता, हिंसा र भौतिकवादजस्तो यस संसारका दुर्गुणहरू हामी तिरस्कार गर्छौं। उजाडस्थानमा शैतानले येशूलाई फसाउन खोज्यो। तर येशूले परमेश्‍वरको वचन चलाएर त्यसको प्रतिकार गर्दा शैतान भाग्यो भन्‍ने कुरा हामीलाई थाह छ। (मत्ती ४:४, ७, १०, ११) त्यसरी नै, पूर्णतया यहोवाको अधीनमा बस्यौं अनि प्रार्थनाद्वारा उहाँमा भर पऱ्‍यौं भने शैतान हार मानेर ‘हामीबाट भाग्नेछ।’ (एफिसी ६:१८) यहोवा परमेश्‍वर र उहाँको प्यारो पुत्रको मदत पाएपछि कसैले पनि हामीलाई सदाको लागि नाश गर्न सक्दैन। हो, शैतानले समेत केही गर्न सक्दैन!—भजन ९१:९-११.(w06 1/15)

[फुटनोट]

a परमेश्‍वरका हातहतियारबारे थप जानकारीको लागि प्रहरीधरहरा सेप्टेम्बर १५, २००४ को पृष्ठ १५-२० हेर्नुहोस्‌।

तपाईंको जवाफ?

• के हामी शैतानसित डराउनुपर्छ?

• शैतानले मसीहीहरूलाई किन सताउँछ?

• “दुष्टबाट” छुटाउनुहोस्‌ भनेर हामी किन प्रार्थना गर्छौं?

• आध्यात्मिक लडाइँमा हामी कसरी विजयी हुन सक्छौं?

[पृष्ठ १७-मा भएको चित्र]

येशू ख्रीष्टका चेलाहरू निडर थिए र मृत्युसम्मै विश्‍वासी रहे

[पृष्ठ १८-मा भएको चित्र]

यहोवाको सम्झनामा भएकाहरूको पुनरुत्थान हुन्छ, शैतानले रोक्न सक्दैन

[पृष्ठ १९-मा भएको चित्र]

“दुष्टबाट” छुटाउनुहोस्‌ भनेर के तपाईं प्रार्थना गर्नुहुन्छ?

[पृष्ठ २०-मा भएको चित्र]

तपाईंले “परमेश्‍वरको सारा हातहतियार” धारण गर्नुभएको छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने