“अघाड़िका दिनहरूलाई सम्झ” किन?
“अघाड़िका दिनहरूलाई सम्झ।” यहूदियाका हिब्रू मसीहीहरूलाई निर्देशित प्रेरित पावलको यो सल्लाह सा.यु. ६१ तिर लेखिएको थियो। (हिब्रू १०:३२) कुन कुराले गर्दा यस्तो टिप्पणी गर्नुपऱ्यो? प्रथम शताब्दीको यहोवाका उपासकहरूले विगतको कुरा सम्झनु किन आवश्यक थियो? आज पनि त्यस्तै सम्झौटा पालन गरेर के हामीले लाभ उठाउनसक्छौं?
शताब्दीयौंदेखि बाइबल लेखकहरूले बितेका कुराहरूको बेवास्ता नगर्न वा ध्यान दिन नछाड्न बारम्बार चेताउनी दिंदै आएका छन्। विगतका समय र घटनाहरूलाई मनमा राखेर विचार गर्नुपर्थ्यो। यहोवाले समेत यसो भन्नुभयो: “अघि अघिका पूराना कुराहरूलाई सम्झ, किनकि म परमेश्वर हुँ, औ मबाहेक अरू कोही छैनँ। म परमेश्वर हुँ, म जस्तै अरू कोही छैन।” (यशैया ४६:९) यो सल्लाह पालन गर्ने तीन सशक्त कारणहरू हामी जाँचौं।
उत्प्रेरणा र प्रोत्साहन
प्रथमतः, यो उत्प्रेरणा र प्रोत्साहनको ठूलो स्रोत हुनसक्छ। पावलले हिब्रू मण्डलीलाई चिठी लेख्दा तिनले यहूदीहरूको विरोधको कारण दिनहुँ विश्वासको परीक्षा सामना गर्ने सँगी मसीहीहरूलाई लेखिरहेका थिए। तिनीहरूले धैर्यधारण गर्नुपर्ने कुरालाई बुझेर पावलले यसो भने: “तर अघाड़िका दिनहरूलाई सम्झ, जसमा तिमीहरूले ज्योति पाएपछि ठूला ठूला शासनको लड़न्त सह्यौ।” (हिब्रू १०:३२) बितेका समयमा वफादारीपूर्वक लडेका आध्यात्मिक युद्धलाई सम्झँदा तिनीहरूले दौड पूरा गर्न आवश्यक साहस पाउँथे। त्यसरी नै भविष्यवक्ता यशैयाले यसो लेखे: “हे मानिसहरू हो, साहस बटुल्न यी कुरा सम्झ।” (यशैया ४६:८, NW) बितेका कुराले गर्नसक्ने त्यस्तै असरलाई मनमा राख्दै येशू ख्रीष्टले एफिससको मण्डलीलाई यसो भन्नुभयो: “यसकारण कहाँबाट तिमी [पहिला भएको प्रेमबाट] पतित भएका हौ, सो सम्झ, र पश्चाताप गर, अनि पहिला[को] काम गर।”—प्रकाश २:४, ५.
मोशाले इस्राएल राष्ट्रलाई यहोवाप्रति निडरतापूर्वक वफादारी प्रदर्शन गर्न आग्रह गर्दा “उहिले उहिलेका दिनको स्मरण गर्, युग युग अघिका पुस्ताका बारेमा सोच्” भन्ने सल्लाह बारम्बार भाषणमा भन्थे। (व्यवस्था ३२:७) व्यवस्था ७:१८ मा लिपिबद्ध तिनका शब्दहरूमा ध्यान दिनुहोस्: “तिनीहरूसँग [कनानीहरू] नडराओ। परमप्रभु तिमीहरूका परमेश्वरले फिरऊन र सारा मिश्रलाई के गर्नुभयो त्यसको स्मरण गर।” यहोवाले आफ्ना जनहरूलाई बचाउन गर्नुभएका कार्यहरूको स्मरण गर्नु परमेश्वरको व्यवस्थालाई विश्वासी भई यथासम्भव पछ्याइरहने प्रेरणाको स्रोत हुनुपर्थ्यो।—व्यवस्था ५:१५; १५:१५.
दुःखको कुरा, इस्राएलीहरू अक्सर बिर्सने पापको वशमा परे। नतिजा कस्तो भयो? “औ फेरि फर्केर तिनीहरूले परमेश्वरको परीक्षा गरे, र इस्राएलका पवित्र जनलाई झोंक उठाए। तिनीहरूले उहाँको बाहुलीको सम्झना गरेनन्, त्यो दिनको पनि सम्झना गरेनन्, जुन दिन उहाँले तिनीहरूलाई तिनका विरोधीहरूबाट मोल तिरेर छुटकारा दिनुभयो।” (भजन ७८:४१, ४२) यहोवाको आदेश बिर्सने तिनीहरूको बानीले गर्दा अन्ततः उहाँले तिनीहरूलाई त्याग्नुभयो।—मत्ती २१:४२, ४३.
सम्झने सन्दर्भमा भजनरचयिताले असल उदाहरण बसालेका थिए जसले यस्तो लेखे: “परमप्रभुका कार्यहरूको म चर्चा गर्नेछु, किनकि म तपाईंका तादिका आश्चर्यकामहरू सम्झनेछु। म तपाईंका सबै कामहरूमा पनि ध्यान गर्नेछु, र तपाईंका कार्यहरूमा घोरिन्छु।” (भजन ७७:११, १२) विगतमा वफादारीपूर्वक गरेको सेवा र यहोवाका मायालु कार्यहरू सम्झँदा हामीले आवश्यक उत्प्रेरणा, प्रोत्साहन र मूल्यांकन पाउँछौं। साथै “अघाड़िका दिनहरूलाई सम्झ[ना]” गर्दा थकाइ हटाएर यथासक्दो गर्न र धीरजपूर्वक विश्वास कायम राख्न पनि प्रेरित गर्नसक्छ।
विगतका गल्तीहरूबाट सिक्ने
दोस्रो, विगतका भूलहरू नभुल्नु र त्यसका नतिजाहरू सम्झनु पनि हाम्रोनिम्ति सिक्ने माध्यम हुनसक्छ। यही कुरा मनमा राख्दै मोशाले इस्राएलीहरूलाई यस्तो सल्लाह दिए: “उजाड़-स्थानमा तिमीहरूले कसरी परमप्रभु तिमीहरूका परमेश्वरलाई रीस उठायौ, यो कुराको सम्झना गर, र नबिर्स। मिश्रबाट यस ठाउँमा आइपुगुञ्जेल तिमीहरूले परमप्रभुको विरोध गरिनै रह्यौ।” (व्यवस्था ९:७) मोशाले औंल्याएअनुसार इस्राएलीहरू अनाज्ञाकारी भएकोले नै ‘यहोवा परमेश्वरले चालीस वर्षभरि उजाड़-स्थानमा तिनीहरूलाई हिंडाउनुभयो।’ त्यसोभए तिनीहरूलाई त्यसबारे सम्झन किन प्रोत्साहित गरिएको? तिनीहरूलाई नम्र बनाउनुका साथै “उहाँको भय मानेर परमप्रभु . . . परमेश्वरका आज्ञापालन” गरेर तिनीहरूको विद्रोही तरिकालाई सच्याउन। (व्यवस्था ८:२-६) तिनीहरूले सिक्नु भन्नुको अर्थ विगतमा गरेको गल्ती फेरि नदोहोऱ्याउनु थियो।
एक लेखकले यस्तो टिप्पणी गरे: “सावधान मानिसले आफ्नो अनुभवबाट लाभ उठाउँछ तर बुद्धिमान मानिसले अरूको अनुभवबाट सिक्छ।” मोशाले इस्राएलीहरूलाई आफ्नै बितेका पुराना गल्तीहरूबारे विचार गरेर लाभ उठाउन आग्रह गरे भने प्रेरित पावलले त्यस ऐतिहासिक अभिलेखबाट अरूलाई अर्थात् प्रथम शताब्दीको कोरिन्थ मण्डलीलाई र अहिले हामीलाई पाठ सिक्न सल्लाह दिए। तिनले लेखे: “यी कुराहरू तिनीहरूलाई [इस्राएलीहरूलाई] उदाहरणको रूपमा भएथे, र हाम्रो चेताउनीको निम्ति लेखिएका हुन्, जसमाथि पुस्ताहरूको अन्त हुनलागेको छ।” (१ कोरिन्थी १०:११) अर्को पुरातन बाइबलीय घटनालाई मनमा राख्दै येशूले यसो भन्नुभयो “लूतको स्वास्नीलाई सम्झ” र त्यसबाट पनि हामीले पाठ सिक्नुपर्छ। (लूका १७:३२; उत्पत्ति १९:१-२६) अंग्रेजी कवि र दार्शनिक शमूएल टेलर कलरिजले यस्तो लेखे: “मानिसले इतिहासबाट सिक्ने हो भने हामीलाई कति धेरै पाठ सिकाउनसक्छ!”
विनय र कृतज्ञता
तेस्रो, बितेका कुरा सम्झ्यौं भने हामीमा विनय र कृतज्ञता जस्ता परमेश्वरलाई खुशी तुल्याउने गुनहरू पलाउनसक्छन्। हाम्रो विश्वव्यापी आध्यात्मिक प्रमोदवनका थुप्रै पक्षहरूको आनन्द उठाउँदा यी खास आधारशिलाहरूमा निर्भर छन् भनी कहिल्यै नबिर्सौं। यसमा वफादारी, प्रेम, आत्मत्याग, विरोधको बेला निडर हुने, धैर्य, सहनशीलता र विश्वास जस्ता गुनहरू समावेश छन्। र यी गुनहरू विभिन्न मुलुकहरूमा दशकौंअघि काम सुरु गर्ने मसीही भाइबहिनीहरूले प्रदर्शित गरे। मेक्सिकोका परमेश्वरका आधुनिक जनहरूको इतिहासको रिपोर्टको अन्तमा यहोवाका साक्षीहरूको वार्षिक पुस्तक १९९५ मा (अंग्रेजी) यस्तो भनियो: “यहोवाका साक्षीहरूसित भर्खरै संगत गर्न थालेकाहरूलाई मेक्सिकोमा काम सुरु गर्न भाग लिनेहरूले सामना गरेका परीक्षाहरू सुन्दा छक्क लाग्ला। तिनीहरूलाई पर्याप्त आध्यात्मिक खाना भएको आध्यात्मिक प्रमोदवनको बानी परिसक्यो जहाँ हजारौं हजार ईश्वरभीरु सँगीहरू छन् र जहाँ परमेश्वरको सेवा सुव्यवस्थित ढंगमा चलाइन्छ।”
ती प्रारम्भिक पथप्रदर्शकहरू अक्सर एक्लै वा स-साना पृथक् समूहहरूमा प्रचारकार्य गर्थे। परमेश्वरको राज्यको उद्घोषणा गर्दै जाँदा तिनीहरूले एकाकीपन, नैराश्यपन महसुस गर्नुका साथै निष्ठाका कठोर परीक्षाहरू सामना गरे। यी पहिलेका सेवकहरूमध्ये थुप्रैको मृत्यु भइसके तापनि यहोवाले तिनीहरूको विश्वासीलो सेवा सम्झनुहुन्छ भनेर थाह पाउनु कत्ति हृदयस्पर्शी छ! प्रेरित पावलले यसबारे पुष्टि दिंदै यस्तो लेखे: “तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ, . . . तिमीहरूले देखाएका छौ, सो बिर्सनालाई परमेश्वर अधर्मी हुनुहुन्न।” (हिब्रू ६:१०) यहोवाले मूल्यांकन गर्दै सम्झनुहुन्छ भने के हामीले पनि कृतज्ञताको भावसहित त्यस्तै गर्नुपर्दैन र?
सत्यसित भर्खरै परिचित भएकाहरूले यहोवाका साक्षीहरू—परमेश्वरको राज्यका उद्घोषकहरू (अंग्रेजी) भन्ने प्रकाशनबाट यस्ता ऐतिहासिक विवरण थाह पाउनसक्छन्।a यसबाहेक हामीले लामो समयदेखि सेवा गर्दै आइरहेको परिवार वा पाको भाइबहिनीहरू भएको मसीही मण्डलीका सदस्य हुने सुअवसर पाएका छौं भने हामीलाई व्यवस्था ३२:७ को मनोभाव राख्न आग्रह गरिएको छ। त्यहाँ यस्तो भनिएको छ: “उहिले उहिलेका दिनको स्मरण गर्, युग युग अघिका पुस्ताका बारेमा सोच्, तेरा बाबुलाई सोध्, उनले तँलाई बताउनेछन्।”
हो, विगतका ईश्वरीय भक्तिका कार्यहरू सम्झ्यौं भने यसले हामीलाई मसीही सेवामा आनन्दपूर्वक धीरज धर्न उत्प्रेरणा दिनसक्छ। त्यसबाहेक इतिहासबाट हामीले सिक्नुपर्ने पाठहरू पनि छन्। अनि परमेश्वरद्वारा आशिषित् आध्यात्मिक प्रमोदवनबारे मनन गर्दा विनय र कृतज्ञता जस्ता गुनहरू पलाउँछन्। हो, ‘अघाड़िका दिनहरूलाई सम्झनुहोस्।’
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।