-
हामी विश्वास गर्नेहरूमध्येका होऔंप्रहरीधरहरा—१९९९ | डिसेम्बर १५
-
-
परमेश्वरको वचनको उचित प्रयोग
६. हिब्रू १०:३८ का शब्दहरू लेख्दा पावलले कुन स्रोतबाट उद्धरण गरेका थिए?
६ धर्मशास्त्रलाई कुशलतासाथ प्रयोग गरेर पनि पावलले सँगी विश्वासीहरूको विश्वास बलियो बनाए। उदाहरणका लागि, तिनले लेखे: “मेरो धार्मिक जनचाहिं विश्वासबाट बाँच्नेछ, औ यदि उनी पछि हट्छ भनेता मेरो मन उनीसित खुश रहनेछैन।” (हिब्रू १०:३८) पावल अगमवक्ता हबकूकका शब्दहरू उद्धरण गर्दैथिए।a भविष्यसूचक पुस्तकहरूसित परिचित पावलका हिब्रू मसीही पाठकहरू यी शब्दहरूसित पक्कै पनि अभ्यस्त भएको हुनुपर्छ। तिनको लक्ष्य अर्थात् सा.यु. ६१ तिर यरूशलेम वा वरपरका मसीहीहरूको विश्वास बलियो बनाउने तिनको संकल्पसँग हबकूकको उदाहरण सुहाउँदो छनौट थियो। किन?
७. हबकूकले कहिले आफ्नो भविष्यवाणी लिपिबद्ध गरे र त्यतिखेर यहूदाको अवस्था कस्तो थियो?
७ हबकूकले सा.यु.पू ६०७ मा यरूशलेमको विनाश हुनुभन्दा दुई दशकअघि आफ्नो पुस्तक लेखेका थिए। तिनले “निष्ठूर र फूर्तिलो जाति” कल्दीहरूले (वा बेबिलोनीहरू) अचानक यहूदामा हमला गरेको अनि मानिसहरू र जातिहरूलाई सखाप पार्दै यरूशलेमलाई नाश गरेको दर्शन देखे। (हबकूक १:५-११) तर यस्तो हुनेछ भनी एक शताब्दीअघि यशैयाको समयदेखि नै भविष्यवाणी गरिएको थियो। हबकूकको समयमा असल राजा योशियाहपछिका राजा यहोयाकीमको पालामा यहूदामा फेरि दुष्टताको फलिफाप हुनथाल्यो। यहोयाकीमले यहोवाको नाउँमा बोल्नेहरूलाई सताउनुका साथै ज्यानसमेत लिन थाले। (२ इतिहास ३६:५; यर्मिया २२:१७; २६:२०-२४) मर्माहत भएका हबकूकले “हे परमप्रभु, कहिलेसम्म” भनेर चित्कार गरे।—हबकूक १:२.
८. प्रथम शताब्दी र आजका मसीहीहरूका लागि हबकूकको उदाहरण किन मदतकारी साबित हुनेथिए?
८ यरूशलेमको विनाश कति नजिक छ भनेर हबकूकलाई थाह थिएन। त्यसै गरी प्रथम शताब्दीका मसीहीहरूलाई यहूदी रीतिरिवाज नाश हुने समय थाह थिएन। आज हामीलाई पनि यस दुष्ट रीतिरिवाजलाई यहोवाले दिनुहुने न्यायदण्डको “दिन र घड़ी” थाह छैन। (मत्ती २४:३६) त्यसोभए, यहोवाले हबकूकलाई दिनुभएको दोहरो जवाफलाई ध्यान देऔं। पहिले त उहाँले अगमवक्तालाई अन्त ठीक समयमै आउनेछ भनेर विश्वस्त गराउनुभयो। मानिसको नजरमा त्यो ढिलो भएजस्तो देखिए तापनि “त्यसले ढीलो गर्नेछैन” भनेर परमेश्वरले भन्नुभयो। (हबकूक २:३) दोस्रो, यहोवाले हबकूकलाई सम्झाउनुभयो: “धर्मी चाहिं आफ्नो विश्वासद्वारा जिउँछ।” (हबकूक २:४) कति सुन्दर अनि सरल सत्य! सबैभन्दा महत्त्वपूर्ण कुरा अन्त कहिले आउँछ, त्यो होइन तर हामी विश्वासको जीवन निरन्तर बिताउँछौं कि बिताउँदैनौं, त्यो हो।
९. आफ्नो विश्वासको कारण यहोवाका आज्ञाकारी सेवकहरू कसरी बाँचिरहे (क) सा.यु.पू. ६०७ मा? (ख) सा.यु. ६६ पछि? (ग) हामीले आफ्नो विश्वासलाई बलियो बनाउनु किन अत्यावश्यक छ?
९ सा.यु.पू. ६०७ मा यरूशलेम तहसनहस भएपछि यर्मिया, तिनका सचिव बारूक, एबेदमेलेक तथा अन्य वफादार रेकाबीहरूले यहोवाले हबकूकलाई गर्नुभएको प्रतिज्ञा सत्य रहेछ भनी बुझे। यरूशलेममा भएको भीषण विनाशबाट तिनीहरू ‘जीवित रहे।’ किन? विश्वासिला भएकाले यहोवाले तिनीहरूलाई इनाम दिनुभयो। (यर्मिया ३५:१-१९; ३९:१५-१८; ४३:४-७; ४५:१-५) त्यसै गरी, प्रथम शताब्दीका हिब्रू मसीहीहरूले पावलको सल्लाह सुनेर राम्रो प्रतिक्रिया देखाएको हुनुपर्छ किनकि, रोमी सेनाले सा.यु. ६६ मा यरूशलेममाथि आक्रमण गर्दा र बिना कारण फर्केर जाँदा विश्वासी भई मसीहीहरू येशूको आज्ञा पालन गर्दै यरुशलेमबाट भागे। (लूका २१:२०, २१) विश्वासी भएकाले तिनीहरू जीवितै रहे। त्यसै गरी अन्त आउँदा विश्वासी भइरह्यौं भने हामी पनि जीवितै रहनेछौं। अहिले हाम्रो विश्वासलाई बलियो बनाउनुपर्ने कति महत्त्वपूर्ण कारण!
-
-
हामी विश्वास गर्नेहरूमध्येका होऔंप्रहरीधरहरा—१९९९ | डिसेम्बर १५
-
-
a पावलले सेप्टुआजिन्ट अनुवादबाट हबकूक २:४ उद्धरण गरेका थिए जहाँ “यदि कोही पछि हट्छ भनेता मेरो मन उनीसित खुश रहनेछैन” भन्ने वाक्यांश समावेश छ। यो वाक्य कुनै पनि वर्तमान हिब्रू धर्मशास्त्रमा पाइँदैन। कसै कसैले सेप्टुआजिन्ट आज अस्तित्वमा नरहेको पुरानो हिब्रू हस्तलिपिमा आधारित हुनसक्ने विचार पोखेका छन्। जे होस्, पावलले पवित्र आत्माको प्रभावमा परेर उक्त वाक्यांशलाई यहाँ समावेश गरे। तसर्थ, उक्त वाक्यांशको ईश्वरीय समर्थन छ।
-