प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हामी विनाशसम्म पुग्ने गरी पछि हट्‌नेहरूमध्येका कहिल्यै नहोऔं!
    प्रहरीधरहरा—१९९९ | डिसेम्बर १५
    • हामी विनाशसम्म पुग्ने गरी पछि हट्‌नेहरूमध्येका कहिल्यै नहोऔं!

      “हामीचाहिं विनाशसम्म पुग्नेगरी पछि हट्‌नेहरूमध्येका होइनौं।”—हिब्रू १०:३९.

      १. कस्तो परिस्थितिले गर्दा पत्रुस डराए?

      आफ्ना अतिप्रिय मालिक येशूले तिनीहरू तितरबितर हुनेछन्‌ र उहाँलाई त्याग्नेछन्‌ भन्‍नुहुँदा प्रेरितहरू पक्कै पनि अकमक्क भए होलान्‌। उहाँलाई तिनीहरूको औधी खाँचो परेको बेला यस्तो कुरा कसरी हुन सक्ला? तसर्थ, पत्रुसले जिद्दी गरे: “सबै जना तपाईंप्रति रुष्ट भए तापनि म चाहिं ता रुष्ट हुनेछैनँ।” वास्तवमा, पत्रुस साहसी, हो, निडर पुरुष थिए। तर येशूको विश्‍वासघात भइसकेपछि र उहाँ समातिनु भइसकेपछि पत्रुसलगायत जम्मै प्रेरितहरू तितरबितर भए। पछि, प्रधान पूजाहारी कैयाफाको घरमा येशूको पुर्पक्ष हुँदा पत्रुस व्याकुल हुँदै चोकमा हल्लिरहेका थिए। चिसो रात छिप्पिंदै जाँदा पत्रुसलाई येशू र उहाँसित संगत गर्नेजति सबै मारिनेछन्‌ भन्‍ने डरले छोप्दै लगेको हुनसक्छ। वरपर उभिएकाहरूले पत्रुसलाई येशूका घनिष्ठ व्यक्‍तिहरूमध्येका भनी चिन्दा तिनी त्राहित्राहि भए। तिनले तीन-तीनपटक येशूसित कुनै सम्बन्ध छैन भनी जिद्दी गरे। हो, पत्रुसले उहाँलाई चिन्‍नसमेत चाहेनन्‌।—मर्कूस १४:२७ -३१, ६६-७२.

      २. (क) येशू पक्राउ पर्नुभएको रात पत्रुसले चालेको डरपोक कदमले तिनलाई “पछि हट्‌नेहरूमध्येका” किन बनाएन? (ख) हाम्रो संकल्प कस्तो हुनुपर्ने हो?

      २ पत्रुसले आफ्नो जीवनभर सबैभन्दा हीन महसुस गरेको समय यही नै हुन गयो। हो, त्यसो गरेकोमा तिनी जीवनभर पछुताइरहे। तर त्यस रात पत्रुसले जे गरे, के त्यसले तिनलाई डरछेरुवा बनायो त? पछि प्रेरित पावलले “हामीचाहिं विनाशसम्म पुग्नेगरी पछि हट्‌नेहरूमध्येका होइनौं” भनी लेख्दा के पत्रुस “पछि हट्‌नेहरूमध्येका” भए? (हिब्रू १०:३९) पावलले लेखेको कुरा पत्रुसलाई लागू हुँदैन भनी हामीमध्ये थुप्रैले स्वीकार्छौं होला। किन? किनकि पत्रुसको डर क्षणिक थियो, साहस र विश्‍वासले भरिएको जीवनमा एउटा सानो भूल थियो। त्यसै गरी, हामीमध्ये थुप्रैले विगतमा भएका त्यस्ता लाजमर्दो घटनाहरू बिर्सेका छैनौं होला जुन बेला डरले हामीलाई एक्कासी आफ्नो पञ्जामा कसेको थियो अनि सत्यको पक्षमा चाहेजति निडर भएर खडा हुन सकेका थिएनौं। (रोमी ७:२१-२३ तुलना गर्नुहोस्‌।) यस्तो क्षणिक सानो भूलले हामीलाई विनाशसम्म पुग्ने गरी पछि हट्‌नेहरूमध्येका बनाउँदैन भनी हामी विश्‍वस्त हुनसक्छौं। तैपनि, त्यस्ताहरूमध्येका नहुने संकल्प भने हामीले गर्नैपर्छ। किन? अनि हामी त्यस्ताहरूमध्येका नहुन के गर्नसक्छौं?

      विनाशसम्म पुग्ने गरी पछि हट्‌नुको अर्थ

      ३. एलिया अगमवक्‍ता र योना अगमवक्‍ता कसरी डरको सिकार भए?

      ३ पावलले “पछि हट्‌नेहरूमध्येका” भनी लेख्दा डरको पञ्जामा परेर क्षणिक सानो भूल गर्नेहरूलाई संकेत गरिरहेका थिएनन्‌। पावललाई अवश्‍य पत्रुसको अनुभव अनि त्यस्तै अन्य अनुभवहरू थाह थियो। निडर तथा फरासिला अगमवक्‍ता एलिया, दुष्ट रानी ईजेबेलले मार्ने धम्की दिंदा डराए र ज्यान जोगाउन कुलेलम ठोके। (१ राजा १९:१-४) अगमवक्‍ता योना पनि एकपटक असाध्यै डराएका थिए। यहोवाले तिनलाई कुख्यात दुष्ट शहर निनवेमा जान अह्राउनुभएको थियो। योना तुरुन्तै तर्शीशतर्फ जाने जहाजमा चढे। त्यो ठाउँ जानुपर्ने शहरको ठीक विपरीत ३,५०० किलोमिटर टाढा पर्थ्यो। (योना १:१-३) यद्यपि, न यी विश्‍वासी अगमवक्‍ताहरू नत प्रेरित पत्रुसलाई पछि हट्‌नेहरूमध्येका भन्‍न सकिन्थ्यो। किन र?

      ४, ५. (क) पावलले हिब्रू १०:३९ मा उल्लेख गरेको “विनाश” शब्दको अर्थ खुट्याउन प्रसंगले कसरी मदत गर्छ? (ख) “हामीचाहिं विनाशसम्म पुग्नेगरी पछि हट्‌नेहरूमध्येका होइनौं” भनेर पावलले के भन्‍न खोजिरहेका थिए?

      ४ पावलले प्रयोग गरेका सम्पूर्ण वाक्यांशलाई विचार गर्नुहोस्‌: “तर हामीचाहिं विनाशसम्म पुग्नेगरी पछि हट्‌नेहरूमध्येका होइनौं।” तिनले “विनाशसम्म” भन्‍नुको अर्थ के हो? तिनले प्रयोग गरेका युनानी शब्दको अर्थ कहिलेकाहीं अनन्त विनाश हुन्छ। अनि यो अर्थ प्रसंगलाई केलाएर हेर्दा ठ्याक्कै मिल्छ। पावलले भर्खरै “हामीले त्यसको ज्ञान पाएपछि पनि जानी जानी पाप गर्दछौं भनेता पापहरूका निम्ति दण्डको भयानक प्रतीक्षा र विरोधीहरूलाई भस्म गर्ने अग्निको प्रचण्डताबाहेक फेरि कुनै बलिदान बाँकी रहँदैन” भनेर चेताउनी दिएका थिए।—हिब्रू १०:२६, २७.

      ५ त्यसकारण, पावलले आफ्ना सँगी विश्‍वासीहरूलाई “हामीचाहिं विनाशसम्म पुग्नेगरी पछि हट्‌नेहरूमध्येका होइनौं” भन्दा तिनले आफू र आफ्ना विश्‍वासी मसीही पाठकहरू यहोवाबाट कहिल्यै नअलग्गिने र उहाँको सेवा गर्न कहिल्यै नछोड्‌ने संकल्प गर्नेहरूमध्ये हुन्‌ भन्‍न खोजिरहेका थिए। त्यस्तो संकल्प नगरेको खण्डमा तिनीहरू अनन्त विनाशमा पर्ने थिए। त्यस्तो विनाशमा पर्नेहरूमा यहूदा इस्करयोती अनि जानाजानी यहोवाको आत्मा विरुद्ध काम गरी सत्यसित दुस्मनी मोल्ने अरू व्यक्‍तिहरू पर्छन्‌। (यूहन्‍ना १७:१२; २ थिस्सलोनिकी २:३) यस्ता व्यक्‍तिहरू लाक्षणिक अग्नि कुण्डमा सधैंभरिका लागि नाश हुने ‘डराउनेहरूमध्ये’ हुनेछन्‌। (प्रकाश २१:८) हो, हामी कदापि यस्ताहरूमध्ये पर्न चाहँदैनौं!

      ६. हामी कुन मार्गमा हिंडेको शैतान चाहन्छ?

      ६ शैतान अर्थात्‌ दियाबल हामी विनाशसम्म पुग्ने गरी पछि हटेको चाहन्छ। यस्तो विनाशकारी मार्गमा अलि अलि गर्दै बिस्तारै ठेल्न सकिन्छ भनेर “धूर्त चालहरूका” मालिक शैतानलाई थाह छ। (एफिसी ६:११, NW, पादटिप्पणी) प्रत्यक्ष सतावटद्वारा आफ्नो लक्ष्य प्राप्त गर्न सकेन भने त्यसले चालै नपाउने तरिकाहरूमा साँचो मसीहीहरूको विश्‍वासलाई भित्रभित्रै कमजोर पार्ने प्रयत्न गर्छ। ऊ यहोवाका साहसी तथा जोसिला साक्षीहरू चुप लागेको हेर्न चाहन्छ। पावलले पत्र लेखेका हिब्रू मसीहीहरूमाथि त्यसले के कस्ता दाउपेचहरू प्रयोग गऱ्‍यो, आउनुहोस्‌, हामी हेरौं।

      मसीहीहरू पछि हट्‌ने गरी कसरी सताइए

      ७. (क) यरूशलेममा भएको मण्डलीको इतिहास बताउनुहोस्‌। (ख) पावलका कुनै कुनै पाठकहरूको आध्यात्मिक अवस्था कस्तो थियो?

      ७ पावलले हिब्रूहरूलाई सा.यु. ६१ तिर पत्र लेखेका थिए भनेर प्राप्त प्रमाणहरूले देखाउँछन्‌। यरूशलेमस्थित मण्डलीको इतिहासमा निकै उथलपुथल मच्चिएको थियो। येशूको मृत्युपछि क्रूर सतावटको बाढीले गर्दा शहरका थुप्रै मसीहीहरू तितरबितर भए। तथापि, त्यसपछि केही समय शान्ति छायो र मसीहीहरूको संख्या गुणात्मक ढंगले बढ्‌न थाल्यो। (प्रेरित ८:४; ९:३१) वर्षौंको दौडान थुप्रै सतावटहरू आए अनि गए। पावलले हिब्रूहरूलाई यो पत्र लेखुञ्जेलसम्ममा तुलनात्मक हिसाबमा मण्डलीले फेरि शान्तिको आनन्द उठाइरहेको थियो जस्तो देखिन्छ। तैपनि, दबाबहरू त थिए नै। येशूले यरूशलेमको विनाशबारे भविष्यवाणी गर्नुभएको झन्डै तीन दशकभन्दा बढी भइसकेको थियो। कसै कसैलाई अन्त आउन बिना कारण ढिलो भएजस्तो वा आफ्नो जीवनकालमा आउँदै नआउनेजस्तो लाग्यो होला। अन्य कतिपय र त्यसमा पनि विशेष गरी भर्खरै सच्चाइमा आएकाहरूले कठोर सतावट सामना गर्नुपरेको थिएन। तसर्थ सतावट आइपर्दा धीरज किन चाहिन्छ तिनीहरूलाई त्यति थाह थिएन। (हिब्रू १२:४) निस्सन्देह, शैतानले यस्ता अवस्थाहरूको फाइदा उठाउन खोज्यो। त्यसले कस्ता “धूर्त चालहरू” प्रयोग गऱ्‍यो?

      ८. अनुभवहीन मसीहीहरूलाई प्रायजसो यहूदीहरू कुन दृष्टिले हेर्थे?

      ८ यरूशलेम तथा यहूदियाका यहूदीहरू मसीही मण्डलीलाई हिजोको फुल आजको चल्लो ठान्थे। पावलको पत्रलाई राम्ररी नियाल्दा ती घमण्डी यहूदी धार्मिक नेताहरू र तिनका अनुयायीहरूले मसीहीहरूलाई कसरी घोचपेच गर्थे भनी अनुमान गर्नसक्छौं। सायद तिनीहरूले यसो भने होलान्‌: ‘धेरै शताब्दीअघिदेखि यरूशलेममा हाम्रो ठूलो मन्दिर छ! हाम्रा श्रेष्ठ पूजाहारी र तिनका उपपूजाहारीहरू छन्‌। दिनदिनै बलिहरू चढाइन्छन्‌। सीनै पर्वतमा ठूलठूला चमत्कारहरूद्वारा स्वर्गदूत मार्फत मोशालाई दिइएको व्यवस्था छ। यहूदी मतबाट विधर्मी भएका यी टुप्पाबाट पलाएका मसीही गुटसित त्यस्तो के छ?’ के यस्तो तिरस्कारले कुनै हानि पुऱ्‍यायो? केही हिब्रू मसीहीहरू यस्ता आक्रमणहरूले गर्दा बेचैन भएका प्रस्टै देखिन्छ। तसर्थ, पावलले समयमै तिनीहरूलाई पत्र लेखेर मदत गरे।

      किन तिनीहरू विनाशसम्म पुग्ने गरी कहिल्यै पछि हट्‌नु पर्नेछैन

      ९. (क) हिब्रूहरूलाई लेखिएको पत्रमा कुन कुरा व्याप्त छ? (ख) मसीहीहरूले कुन अर्थमा यरूशलेमको भन्दा उत्तम मन्दिरमा सेवा गरे?

      ९ यहूदियाका भाइबहिनीहरूलाई विनाशसम्म पुग्ने गरी कहिल्यै पछि हट्‌नु नपर्ने कुन दुइटा कारण पावलले दिए, आउनुहोस्‌ जाँचौं। पहिलो थियो, मसीही उपासना व्यवस्थाको सर्वश्रेष्ठता, जुन हिब्रूहरूलाई लेखिएको पत्रमा व्याप्त छ। आफ्नो पत्रभरि पावलले यसैलाई आफ्नो मूल विषय बनाएका छन्‌। यरूशलेमस्थित मन्दिर महान्‌ वास्तविकता अर्थात्‌ यहोवाको आध्यात्मिक मन्दिरको प्रतिबिम्ब मात्र थियो। अनि यो मन्दिर “हातले बनाएको” मन्दिर “होइन।” (हिब्रू ९:११) शुद्ध उपासनाको यस आध्यात्मिक प्रबन्धअन्तर्गत यी मसीहीहरूले सेवा गर्ने विशेषाधिकार पाएका थिए। तिनीहरू उत्तम करार अर्थात्‌ निकै अघिदेखि प्रतिज्ञा गरिएको नयाँ करारको अधीनमा थिए। तिनीहरूको मध्यस्थकर्ता येशू ख्रीष्ट मोशाभन्दा उच्च हुनुहुन्थ्यो।—यर्मिया ३१:३१-३४.

      १०, ११. (क) येशूको वंशावलीले उहाँलाई आध्यात्मिक मन्दिरको प्रधान पूजाहारीको रूपमा सेवा गर्नदेखि किन अयोग्य तुल्याउँदैन? (ख) यरूशलेमको मन्दिरमा सेवा गरिरहेका प्रधान पूजाहारीभन्दा येशू कुन कुन तरिकामा उच्च हुनुहुन्छ?

      १० मसीहीहरूका प्रधान पूजाहारी, येशू ख्रीष्ट यहूदीहरूको प्रधान पूजाहारीहरू भन्दा अति उत्तम हुनुहुन्थ्यो। अहँ, उहाँ हारूनको सन्तान हुनुहुन्थेन। उहाँ त “मल्कीसेदेकको रीतिबमोजिम” प्रधान पूजाहारी हुनुहुन्थ्यो। (भजन ११०:४) हुन त, मल्कीसेदेकको पुर्खासम्बन्धी कुनै रेकर्ड छैन। तर तिनी पुरातन शालेमका राजा हुनुका साथै प्रधान पूजाहारी थिए। तिनी येशूको भविष्यसूचक नमुना भए। येशूको पूजाहारीगिरी असिद्ध मानव पुर्खामा नभई त्योभन्दा पनि अति उच्च अर्थात्‌ यहोवा परमेश्‍वरकै शपथमा आधारित थियो। मल्कीसेदेकले जस्तै येशूले प्रधान पूजाहारीको रूपमा मात्र होइन, राजाको रूपमा समेत सेवा गर्नुहुन्छ र उहाँ अजर अमर राजा हुनुहुन्छ!—हिब्रू ७:११-२१.

      ११ यसबाहेक, यरूशलेम मन्दिरका प्रधान पूजाहारीले जस्तो येशूले वर्षेनी बलिदानहरू चढाउनुपर्दैनथ्यो। उहाँले आफ्नो सिद्ध शरीर एकै चोटि सधैंको लागि बलिदान चढाउनुभयो। (हिब्रू ७:२७) मन्दिरमा चढाइएका ती सब बलिदानहरू येशूले चढाउनुभएको बलिदानको छायाँ मात्र थियो। उहाँले चढाउनुभएको सिद्ध बलिदानले विश्‍वास गर्नेजति सबैलाई पापको साँचो क्षमा प्रदान गऱ्‍यो। यरूशलेमका मसीहीहरूले चिनेका येशू नै मसीहीहरूको प्रधान पूजाहारी हुनुहुन्छ भनी पावलले टिप्पणी गर्नु पनि साह्रै मनोहर कुरा हो। उहाँ नम्र, दयालु अनि ‘हाम्रा निर्बलतामा हामीसँग दुःखी हुनसक्ने’ हुनुहुन्थ्यो। (हिब्रू ४:१५; १३:८) अभिषिक्‍त मसीहीहरूले ख्रीष्टको उप-पूजाहारीको रूपमा सेवा गर्ने प्रत्याशा पाएका थिए! अतः यी मसीहीहरूले भ्रष्ट यहूदीधर्मको “निर्बल र कङ्‌गाली” कुराहरूतर्फ फेरि फर्केर जाने विचार मात्र पनि कसरी गर्नसक्थे र?—गलाती ४:९.

      १२, १३. (क) कहिल्यै पछि नहट्‌ने सम्बन्धमा पावलले कुन दोस्रो तर्क पेश गरे? (ख) विगतमा आफूले देखाएको धीरजले हिब्रू मसीहीहरूलाई विनाशसम्म पुग्ने गरी पछि नहट्‌न किन प्रोत्साहन दिने थियो?

      १२ मानौं यत्तिले नपुगेजस्तो पावलले हिब्रूहरूलाई विनाशसम्म पुग्ने गरी कहिल्यै पछि हट्‌नु नपर्ने दोस्रो कारण दिए। त्यो थियो, तिनीहरूको आफ्नै धीरज। तिनले लेखे: “अगाड़िका दिनहरूलाई सम्झ, जसमा तिमीहरूले ज्योति पाएपछि ठूला ठूला शासनको लड़न्त सह्‍यौ।” निन्दा र कष्टहरूले गर्दा तिनीहरू “अरूको तमाशा बनिए” भनेर पावलले तिनीहरूलाई सम्झाए। कोही जेलमा परे; अन्य कतिपयले चाहिं ती जेलमा परेकाहरूलाई सहानुभूति देखाए, मदत गरे। हो, तिनीहरूले उदाहरणीय विश्‍वास अनि लगनशीलता प्रकट गरे। (हिब्रू १०:३२-३४) तर पावलले तिनीहरूलाई किन यस्तो कष्टप्रद अनुभव “सम्झ” भने? के यो निरुत्साहजनक कुरा हुने थिएन र?

      १३ “अगाड़िका दिनहरूलाई स[म्झँदा]” ती हिब्रूहरूलाई यहोवाले तिनीहरूलाई सतावट आइपर्दा सम्हाल्नुभएको सम्झना आउनेथियो। परमेश्‍वरको मदत पाएर तिनीहरूले शैतानका थुप्रै हमलाहरूको प्रतिकार गरिसकेका थिए। पावलले लेखे: “तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ, . . . तिमीहरूले देखाएका छौ, सो बिर्सनालाई परमेश्‍वर अधर्मी हुनुहुन्‍न।” (हिब्रू ६:१०) हो, यहोवाले तिनीहरूका सबै विश्‍वासी कार्यहरू आफ्नो असीमित स्मरणमा राख्नुहुँदै ती सबै सम्झनुभयो। एवम्‌ रीतिले स्वर्गमा धन थुपार भनी येशूले दिनुभएको सल्लाह हामीलाई सम्झाइन्छ। यो सम्पत्ति कुनै पनि चोरले चोर्नसक्दैन; नत कीराले न खियाले नै खानसक्छ। (मत्ती ६:१९-२१) वास्तवमा, कुनै मसीही विनाशसम्म पुग्ने गरी पछि हटेमा मात्र यी सम्पत्ति नाश हुन्छन्‌। त्यसो गरेमा मात्र उसले स्वर्गमा थुपारेको सम्पूर्ण सम्पत्ति डुब्नेछ। यस्तो मार्गमा लाग्दै नलाग्न पावलले हिब्रू मसीहीहरूलाई कत्ति सशक्‍त कारण दिए! त्यत्तिका वर्षदेखि गरेको सेवा किन खेर फाल्ने? बरु, धैर्य गरिरहनु नै कता हो कता बेस हुनेथियो, अति उत्तम हुनेथियो।

      हामी किन विनाशसम्मै पुग्ने गरी पछि हट्‌नु हुँदैन

      १४. प्रथम शताब्दीका मसीहीहरूले भोगेका जस्तै कस्ता चुनौतीहरू हामीले पनि सामना गरेका छौं?

      १४ आज साँचो मसीहीहरू पनि पछि नहट्‌नुपर्ने त्यत्तिकै सशक्‍त कारणहरू छन्‌। सर्वप्रथम, यहोवाले आशिष्‌स्वरूप दिनुभएको शुद्ध उपासनालाई सम्झौं। प्रथम शताब्दीका मसीहीहरूलाई गिल्ला गरेजस्तै आज पनि मानिसहरू आफ्नो लोकप्रिय धर्मको भव्य भवनहरू तथा परम्परा अनि रीतिथितिको घमण्ड गर्दै हाम्रो खिसी गर्छन्‌, गिल्ला गर्छन्‌। तथापि, यहोवाले हाम्रो उपासना स्वीकार्नुभएर हामीलाई विश्‍वस्त गराउनुहुन्छ। वास्तवमा, प्रथम शताब्दीका मसीहीहरूले अनुभव नगरेका आशिष्‌हरू आज हामीले अनुभव गरिरहेका छौं। तपाईंलाई अचम्म लाग्ला, ‘त्यो कसरी हुनसक्छ र?’ के तिनीहरू आध्यात्मिक मन्दिर स्थापित भएको बेलाका होइनन्‌ र? सा.यु. २९ मा ख्रीष्ट उक्‍त मन्दिरका प्रधान पूजाहारी हुनुभयो। कतिपयले त परमेश्‍वरका चमत्कार गर्नुहुने पुत्रलाई देखे। उहाँको मृत्यु भएपछि पनि थुप्रै चमत्कारहरू भए। तथापि, भविष्यवाणी गरिएझैं समयमा यस्ता वरदानहरू रद्द भए।—१ कोरिन्थी १३:८.

      १५. आज साँचो मसीहीहरू कुन भविष्यवाणी पूरा भएको समयमा बाँचिरहेका छन्‌ र हाम्रोनिम्ति यसले के अर्थ राख्छ?

      १५ तथापि, हामी इजकिएल ४०-४८ अध्यायहरूमा मन्दिरबारे गरिएको विस्तृत भविष्यवाणीको उल्लेखनीय ढंगमा पूर्ति भइरहेको समयमा बाँचिरहेका छौं।a शुद्ध उपासनाको निम्ति परमेश्‍वरले गर्नुभएको पुनर्स्थापना हामीले देखेका छौं। उक्‍त आध्यात्मिक मन्दिर हरप्रकारका धार्मिक अशुद्धि तथा मूर्तिपूजाबाट शुद्ध पारिएका छन्‌। (इजकिएल ४३:९; मलाकी ३:१-५) यो शुद्धताले गर्दा हामीले पाएका लाभहरू सोच्नुहोस्‌।

      १६. प्रथम शताब्दीका मसीहीहरूले कस्तो निरुत्साहजनक अवस्थाको सामना गर्नुपऱ्‍यो?

      १६ प्रथम शताब्दीतिर संगठित मसीही मण्डलीको भविष्य अन्धकार देखिएको थियो। त्यो समय, भर्खर रोपेको गहुँबारीमा लहलह सामा उम्रेर सामाबाट गहुँ छुट्ट्‌याउनै नसक्ने बेलाको जस्तै हुनेछ भनी येशूले पहिल्यै भन्‍नु भइसकेको थियो। (मत्ती १३:२४-३०) अनि त्यस्तै भयो पनि। प्रथम शताब्दीको अन्ततिर त्यस किसिमको भ्रष्टता विरुद्ध अन्तसम्म लडिरहने प्रेरित यूहन्‍नाको बुढेसकालसम्ममा धर्मत्याग फैलन थालिसकेको थियो। (२ थिस्सलोनिकी २:६; १ यूहन्‍ना २:१८) प्रेरितहरूको मृत्यु भएको केही समय नबित्दै एउटा भिन्‍नै प्रकारको पादरी समूह खडा भयो र त्यसले बगाललाई थिचोमिचो गर्न थाल्यो, एकदम पृथक देखिने वस्त्र धारण गर्न थाल्यो। धर्मत्याग घाउ कुहिएझैं फैलिन थाल्यो। विश्‍वासी मसीहीहरू कत्ति निरुत्साही भए होलान्‌! शुद्ध उपासनाको लागि भर्खरै स्थापित प्रबन्धको ठाउँ भ्रष्टताले ओगट्‌न थालेको तिनीहरूले देखे। अनि यो पनि ख्रीष्टले मण्डली स्थापित गर्नुभएको एक शतक बित्न नपाउँदै भएको थियो।

      १७. प्रथम शताब्दीको प्रतिरूपक मण्डलीलाई आधुनिक समयको मसीही मण्डलीले कुन अर्थमा उछिन्यो?

      १७ अब त्यसलाई वर्तमान समयसित तुलना गरेर हेर्नुहोस्‌। प्रेरितहरूको मृत्यु होउञ्जेलसम्मको तुलनामा आज शुद्ध उपासना टिकिरहेको धेरै वर्ष भइसक्यो! सन्‌ १८७९ मा यो पत्रिकाको प्रथम संस्करण प्रकाशित भएदेखि यता शुद्ध उपासनालाई झन्‌ झन्‌ शुद्ध बनाउनुभएर यहोवाले हामीलाई आशिष्‌ दिनुभएको छ। यहोवा र ख्रीष्ट येशू आध्यात्मिक मन्दिर सफा गर्ने उद्देश्‍यले १९१८ मा त्यहाँ प्रवेश गर्नुभयो। (मलाकी ३:१-५) सन्‌ १९१९ देखि यहोवा परमेश्‍वरको उपासना गर्ने प्रबन्ध क्रमिक रूपमा चम्काइँदैछ। बाइबल भविष्यवाणी तथा सिद्धान्तसम्बन्धी हाम्रो समझ झन्‌ झन्‌ स्पष्ट हुँदैछ। (हितोपदेश ४:१८) यसको श्रेय कसलाई जान्छ? असिद्ध मानिसहरूलाई त होइन। केवल यहोवालाई। किनकि मण्डलीका शिर हुनुभएको आफ्नो पुत्रसँग मिलेर उहाँले यस्तो भ्रष्ट समयमा आफ्ना जनहरूलाई भ्रष्टाचारबाट जोगाउन सक्नुहुन्छ। तसर्थ, आज हामीलाई शुद्ध उपासनामा भाग लिने अनुमति दिनुभएकोमा यहोवालाई धन्यवाद दिन कहिल्यै नचुकौं। अनि विनाशसम्म पुग्ने गरी कहिल्यै पछि नहट्‌ने दृढ अठोट गरौं।

      १८. विनाशसम्मै पुग्ने गरी कहिल्यै पछि नहट्‌ने के कारण हामीसित छ?

      १८ ती हिब्रू मसीहीहरूसित भएजस्तै हामीसित पनि पछि हट्‌न लगाउने डरछेरुवापन हटाउने दोस्रो कारण छ र त्यो हो, हाम्रो धीरज। चाहे हामीले हालैका वर्षमा वा दशकौंदेखि विश्‍वासी भई यहोवाको सेवा गरेका किन नहोऔं, हामीले मसीही कार्यहरूको रेकर्ड कायम गरेका छौं। हामीमध्ये थुप्रैले सतावट भोगेका छन्‌, जेलमा, प्रतिबन्धमा परेका छन्‌, क्रूरतासाथ सताइएका छन्‌, सरसम्पत्ति गुमाएका छन्‌। अरू कतिले परिवारबाट सतावट भोग्नुपरेको छ, उपेक्षित हुनुपरेको छ, गिल्लाको पात्र अनि भावशून्यता महसुस गर्नुपरेको छ। हामी सबैले धैर्य धारण गरेका छौं र जीवनमा आइपरेका चुनौती तथा परीक्षाहरूको बावजूद विश्‍वासी भई यहोवाको सेवा गरिरहेका छौं। यसो गरेर हामीले यहोवाले नबिर्सनुहुने परिश्रमको रेकर्ड बनाएका छौं, अर्थात्‌ स्वर्गमा सरसम्पत्ति थुपारेका छौं। त्यसोभए, यो पक्कै पनि त्यागिसकेको पुरानो रीतिमा फर्कने गरी पछि हट्‌ने समय हुनसक्दैन! हाम्रो यत्रो मेहनतलाई व्यर्थमा किन खेर फाल्ने? यो अहिले अन्त आउन “एकै छिन” मात्र बाँकी भएको बेला झनै सही साबित भएको छ।—हिब्रू १०:३७.

      १९. हाम्रो अर्को लेखमा के छलफल गरिनेछ?

      १९ आउनुहोस्‌, “हामीचाहिं विनाशसम्म पुग्नेगरी पछि हट्‌नेहरूमध्येका” नहुन कटिबद्ध होऔं! बरु, हामी “विश्‍वास गर्नेहरूमध्येका” होऔं। (हिब्रू १०:३९) हामी यस्तो प्रकारको व्यक्‍ति हौं कि होइनौं कसरी पक्का गर्नसक्छौं र सँगी मसीहीहरूलाई पनि त्यसै गर्न हामी कसरी मदत गर्नसक्छौं? हाम्रो अर्को लेखले यस विषयमा छलफल गर्नेछ।

  • हामी विश्‍वास गर्नेहरूमध्येका होऔं
    प्रहरीधरहरा—१९९९ | डिसेम्बर १५
    • हामी विश्‍वास गर्नेहरूमध्येका होऔं

      “हामीचाहिं . . . आत्माको उद्धारको निम्ति विश्‍वास गर्नेहरूमध्येका हौं।”—हिब्रू १०:३९.

      १. किन यहोवाका प्रत्येक वफादार सेवकहरूको विश्‍वास बहुमूल्य छ भन्‍न सकिन्छ?

      अर्को पटक यहोवाका उपासकहरूले भरिएको राज्यभवनमा जानुहुँदा एकछिन वरपर सबैलाई हेर्नुहोस्‌। उहाँहरूले विश्‍वास प्रकट गर्नुभएका थुप्रै तरिकाहरू विचार गर्नुहोस्‌। सायद तपाईं दशकौंदेखि परमेश्‍वरको सेवा गरिरहेका वृद्ध जनहरू, दिनहुँ साथीहरूको दबाब खप्ने युवकयुवतीहरू र ईश्‍वरभीरु बच्चाहरू हुर्काउन अथक प्रयास गरिरहेका आमाबुबाहरू देख्नुहुन्छ होला। अनि थुप्रै जिम्मेवारी वहन गरिरहेका मण्डलीका प्राचीन तथा सेवकाई सेवकहरू पनि छन्‌। हो, तपाईं यहोवाको सेवा गर्न हर बिघ्नबाधा पार गर्ने विभिन्‍न उमेरका आध्यात्मिक भाइबहिनीहरूलाई देख्नुहुन्छ। उहाँहरू प्रत्येकको विश्‍वास मूल्यवान्‌ छ!—१ पत्रुस १:७.

      २. पावलले हिब्रू अध्याय १० र ११ मा दिएका सल्लाह आज हाम्रोनिम्ति पनि किन लाभदायी छ?

      २ असिद्ध मानिसहरूमध्ये कमैले प्रेरित पावलले जति विश्‍वासको महत्त्व बुझे होलान्‌। वास्तवमा, साँचो विश्‍वासले “आत्माको उद्धार” गर्छ भनी तिनले भने। (हिब्रू १०:३९) तैपनि यो विश्‍वासरहित संसारमा विश्‍वासमाथि आक्रमण भइरहन्छ भनेर पावललाई थाह थियो। आफ्नो विश्‍वास जोगाउन लडिरहेका यरूशलेम र यहूदियाका हिब्रू मसीहीहरूको तिनलाई औधी चिन्ता लागेको थियो। हिब्रू अध्याय १० र ११ का अंशहरू केलाउँदा पावलले तिनीहरूको विश्‍वासलाई दृढ पार्न कस्ता तरिका प्रयोग गरे आउनुहोस्‌, विचार गरौं। यस क्रममा हामी आफ्नो अनि वरपर सबैको विश्‍वास कसरी बलियो बनाउनसक्छौं भनी बुझ्नेछौं।

      एकअर्कामाथि भरोसा जाहेर गर्नुहोस्‌

      ३. हिब्रू १०:३९ मा पावलका शब्दहरूबाट तिनले विश्‍वासमा भएका आफ्ना भाइबहिनीमाथि भरोसा गरे भनी कसरी थाह हुन्छ?

      ३ हामीले याद गर्नसक्ने पहिलो कुरा, आफ्ना स्रोताहरूप्रति पावलको सकारात्मक मनोवृत्ति हो। तिनले लेखे: “हामीचाहिं विनाशसम्म पुग्नेगरी पछि हट्‌नेहरूमध्येका होइनौं, तर आत्माको उद्धारको निम्ति विश्‍वास गर्नेहरूमध्येका हौं।” (हिब्रू १०:३९) पावलले आफ्ना सँगी मसीहीहरूको कुभलो होइन भलो चिताए । तिनले “हामी” भन्‍ने पदावली प्रयोग गरेको पनि याद गर्नुहोस्‌। पावल धर्मी मानिस थिए। तर, आफूलाई अरूभन्दा धेरै धर्मी सम्झेर तिनले आफ्नो स्रोताहरूलाई खसालेर कुरा गरेनन्‌। (उपदेशक ७:१६ तुलना गर्नुहोस्‌।) बरु, तिनले आफूलाई तिनीहरूसँगै गाभे। तिनले, आफू र आफ्ना सबै विश्‍वासी मसीहीहरूले भयावह बिघ्नबाधाहरू पार गर्नेछन्‌, विनाशसम्मै पुग्ने गरी पछि हट्‌नदेखि निडर भई इन्कार गर्नेछन्‌ र आफूलाई विश्‍वास हुनेहरूमध्येका साबित गर्नेछन्‌ भन्‍ने हार्दिक भरोसा जाहेर गरे।

      ४. पावलसित आफ्ना सँगी विश्‍वासीहरूमाथि भरोसा हुनुका कारणहरू के थिए?

      ४ पावलले कसरी यस्तो भरोसा गर्नसके? के तिनले हिब्रू मसीहीहरूको एउटै पनि गल्ती देखेनन्‌? त्यसो होइन। किनकि तिनले आ-आफ्ना आध्यात्मिक कमजोरीहरू हटाउन मदत गर्ने खास खास सल्लाहहरू तिनीहरूलाई दिए। (हिब्रू ३:१२; ५:१२-१४; ६:४-६; १०:२६, २७; १२:५) तैपनि, पावलसित आफ्ना भाइहरूमाथि भरोसा गर्ने कम्तीमा पनि दुइटा कारणहरू थिए। (१) यहोवाको अनुकरण गर्दै तिनले उहाँले आफ्ना जनहरूप्रति राख्नुहुने दृष्टिकोणको अनुकरण गर्ने अथक प्रयास गरे। तिनले उनीहरूको गल्तीको सम्बन्धमा मात्र होइन, तर असल गुणहरूको सम्बन्धमा र भविष्यमा असल काम गरिरहने उनीहरूको सम्भावित छनौटको सम्बन्धमा पनि यहोवाको दृष्टिकोणको अनुकरण गर्ने प्रयत्न गरे। (भजन १३०:३; एफिसी ५:१) (२) पवित्र आत्माको शक्‍तिमाथि पावलको निस्संकोच भरोसा थियो। कुनै पनि बिघ्नबाधा र मानवीय कमजोरीले यहोवालाई आफ्ना विश्‍वासी मसीही सेवकहरूलाई “असामान्य शक्‍ति” दिनदेखि रोक्नसक्दैन भनेर पावललाई थाह थियो। (२ कोरिन्थी ४:७; फिलिप्पी ४:१३) अतः पावलले आफ्ना भाइबहिनीमाथि राखेको भरोसा गलत, अव्यावहारिक वा अन्धाधुन्ध थिएन। त्यस्तो भरोसाको बलियो अनि धर्मशास्त्रीय आधार थियो।

      ५. हामी पावलको भरोसाको कसरी अनुकरण गर्नसक्छौं र यसको परिणाम कस्तो हुने सम्भावना छ?

      ५ पावलले देखाएको यस्तो भरोसाले पक्कै पनि हिब्रू मसीहीहरूलाई प्रभाव पाऱ्‍यो। पावलले यसरी प्रोत्साहनदायी कुरा गर्नु यरूशलेम तथा यहूदियाका मण्डलीकाहरूलाई निकै ठूलो कुरा लागेको हुनसक्छ। वास्तवमा, हिब्रू विद्रोहीहरूले गरेको हेला र एकोहोरो भावशून्यताले खिस्रिक्क परेको हरेक हिब्रू मसीहीलाई यस्तो अभिव्यक्‍तिले विश्‍वास हुनेहरूमध्येको हुन संकल्प गर्ने मदत दिएको हुनुपर्छ। के आज पनि हामी एकअर्कालाई त्यसै गर्नसक्छौं? अरूका गल्तीहरू र अप्ठेरो व्यक्‍तित्वको लामो सूची बनाउनु असाध्यै सजिलो छ। (मत्ती ७:१-५) यद्यपि, प्रत्येकसित भएको विशिष्ट विश्‍वासलाई ध्यानमा राख्दै त्यसको मूल्यांकन गऱ्‍यौं भने एकअर्कालाई अझ धेरै मदत गर्नसक्छौं। यस्तो प्रोत्साहन पाउँदा अझ विश्‍वास बढ्‌नसक्छ।—रोमी १:११, १२.

      परमेश्‍वरको वचनको उचित प्रयोग

      ६. हिब्रू १०:३८ का शब्दहरू लेख्दा पावलले कुन स्रोतबाट उद्धरण गरेका थिए?

      ६ धर्मशास्त्रलाई कुशलतासाथ प्रयोग गरेर पनि पावलले सँगी विश्‍वासीहरूको विश्‍वास बलियो बनाए। उदाहरणका लागि, तिनले लेखे: “मेरो धार्मिक जनचाहिं विश्‍वासबाट बाँच्नेछ, औ यदि उनी पछि हट्‌छ भनेता मेरो मन उनीसित खुश रहनेछैन।” (हिब्रू १०:३८) पावल अगमवक्‍ता हबकूकका शब्दहरू उद्धरण गर्दैथिए।a भविष्यसूचक पुस्तकहरूसित परिचित पावलका हिब्रू मसीही पाठकहरू यी शब्दहरूसित पक्कै पनि अभ्यस्त भएको हुनुपर्छ। तिनको लक्ष्य अर्थात्‌ सा.यु. ६१ तिर यरूशलेम वा वरपरका मसीहीहरूको विश्‍वास बलियो बनाउने तिनको संकल्पसँग हबकूकको उदाहरण सुहाउँदो छनौट थियो। किन?

      ७. हबकूकले कहिले आफ्नो भविष्यवाणी लिपिबद्ध गरे र त्यतिखेर यहूदाको अवस्था कस्तो थियो?

      ७ हबकूकले सा.यु.पू ६०७ मा यरूशलेमको विनाश हुनुभन्दा दुई दशकअघि आफ्नो पुस्तक लेखेका थिए। तिनले “निष्ठूर र फूर्तिलो जाति” कल्दीहरूले (वा बेबिलोनीहरू) अचानक यहूदामा हमला गरेको अनि मानिसहरू र जातिहरूलाई सखाप पार्दै यरूशलेमलाई नाश गरेको दर्शन देखे। (हबकूक १:५-११) तर यस्तो हुनेछ भनी एक शताब्दीअघि यशैयाको समयदेखि नै भविष्यवाणी गरिएको थियो। हबकूकको समयमा असल राजा योशियाहपछिका राजा यहोयाकीमको पालामा यहूदामा फेरि दुष्टताको फलिफाप हुनथाल्यो। यहोयाकीमले यहोवाको नाउँमा बोल्नेहरूलाई सताउनुका साथै ज्यानसमेत लिन थाले। (२ इतिहास ३६:५; यर्मिया २२:१७; २६:२०-२४) मर्माहत भएका हबकूकले “हे परमप्रभु, कहिलेसम्म” भनेर चित्कार गरे।—हबकूक १:२.

      ८. प्रथम शताब्दी र आजका मसीहीहरूका लागि हबकूकको उदाहरण किन मदतकारी साबित हुनेथिए?

      ८ यरूशलेमको विनाश कति नजिक छ भनेर हबकूकलाई थाह थिएन। त्यसै गरी प्रथम शताब्दीका मसीहीहरूलाई यहूदी रीतिरिवाज नाश हुने समय थाह थिएन। आज हामीलाई पनि यस दुष्ट रीतिरिवाजलाई यहोवाले दिनुहुने न्यायदण्डको “दिन र घड़ी” थाह छैन। (मत्ती २४:३६) त्यसोभए, यहोवाले हबकूकलाई दिनुभएको दोहरो जवाफलाई ध्यान देऔं। पहिले त उहाँले अगमवक्‍तालाई अन्त ठीक समयमै आउनेछ भनेर विश्‍वस्त गराउनुभयो। मानिसको नजरमा त्यो ढिलो भएजस्तो देखिए तापनि “त्यसले ढीलो गर्नेछैन” भनेर परमेश्‍वरले भन्‍नुभयो। (हबकूक २:३) दोस्रो, यहोवाले हबकूकलाई सम्झाउनुभयो: “धर्मी चाहिं आफ्नो विश्‍वासद्वारा जिउँछ।” (हबकूक २:४) कति सुन्दर अनि सरल सत्य! सबैभन्दा महत्त्वपूर्ण कुरा अन्त कहिले आउँछ, त्यो होइन तर हामी विश्‍वासको जीवन निरन्तर बिताउँछौं कि बिताउँदैनौं, त्यो हो।

      ९. आफ्नो विश्‍वासको कारण यहोवाका आज्ञाकारी सेवकहरू कसरी बाँचिरहे (क) सा.यु.पू. ६०७ मा? (ख) सा.यु. ६६ पछि? (ग) हामीले आफ्नो विश्‍वासलाई बलियो बनाउनु किन अत्यावश्‍यक छ?

      ९ सा.यु.पू. ६०७ मा यरूशलेम तहसनहस भएपछि यर्मिया, तिनका सचिव बारूक, एबेदमेलेक तथा अन्य वफादार रेकाबीहरूले यहोवाले हबकूकलाई गर्नुभएको प्रतिज्ञा सत्य रहेछ भनी बुझे। यरूशलेममा भएको भीषण विनाशबाट तिनीहरू ‘जीवित रहे।’ किन? विश्‍वासिला भएकाले यहोवाले तिनीहरूलाई इनाम दिनुभयो। (यर्मिया ३५:१-१९; ३९:१५-१८; ४३:४-७; ४५:१-५) त्यसै गरी, प्रथम शताब्दीका हिब्रू मसीहीहरूले पावलको सल्लाह सुनेर राम्रो प्रतिक्रिया देखाएको हुनुपर्छ किनकि, रोमी सेनाले सा.यु. ६६ मा यरूशलेममाथि आक्रमण गर्दा र बिना कारण फर्केर जाँदा विश्‍वासी भई मसीहीहरू येशूको आज्ञा पालन गर्दै यरुशलेमबाट भागे। (लूका २१:२०, २१) विश्‍वासी भएकाले तिनीहरू जीवितै रहे। त्यसै गरी अन्त आउँदा विश्‍वासी भइरह्‍यौं भने हामी पनि जीवितै रहनेछौं। अहिले हाम्रो विश्‍वासलाई बलियो बनाउनुपर्ने कति महत्त्वपूर्ण कारण!

      विश्‍वासका उदाहरणहरूको जीवन्त वर्णन

      १०. पावलले मोशाको विश्‍वास कसरी वर्णन गरे र यससम्बन्धमा कसरी हामी मोशाको अनुकरण गर्नसक्छौं?

      १० उदाहरणहरूको सशक्‍त प्रयोगद्वारा पनि पावलले विश्‍वासलाई दृढ बनाए। हिब्रू अध्याय ११ पढ्‌नुहुँदा तिनी बाइबल पात्रहरूको कसरी जीवन्त वर्णन गर्छन्‌, याद गर्नुहोस्‌। उदाहरणका लागि तिनले मोशाबारे यसो भने, “अदृश्‍यलाई देखेझैं गरी तिनी स्थिर रहे।” (हिब्रू ११:२७) अर्को शब्दमा भन्‍ने हो भने, मोशाको लागि यहोवा यति वास्तविक हुनुहुन्थ्यो कि मानौं तिनी अदृश्‍य परमेश्‍वरलाई देख्नसक्थे। के हामी पनि त्यस्तै छौं? परमेश्‍वरसितको सम्बन्धबारे कुरा गर्न सजिलो छ तर त्यो सम्बन्धलाई दृढ पार्न र बलियो बनाउन काम गर्नु आवश्‍यक हुन्छ। हामीले गर्नैपर्ने काम यही हो! के यहोवा हाम्रोनिम्ति यति वास्तविक हुनुहुन्छ कि, सानोभन्दा सानो निर्णय गर्नुपर्दा समेत हामी उहाँको विचार जान्‍न खोज्छौं? यसप्रकारको विश्‍वासले कठिनभन्दा कठिन परीक्षा सहन मदत गर्नेछ।

      ११, १२. (क) कस्तो परिस्थितिमाझ हनोकको विश्‍वासको जाँच भएको हुनसक्छ? (ख) हनोकले कस्तो प्रोत्साहनदायी इनाम प्राप्त गरे?

      ११ हनोकको विश्‍वासलाई पनि विचार गर्नुहोस्‌। तिनले सामना गर्नुपरेको विरोधको हामी कल्पनासमेत गर्नसक्दैनौं। हनोकले त्यतिखेरका दुष्ट मानिसहरूमाथि आउनलागेको न्यायदण्डबारे अत्यन्त कटु सन्देश सुनाउनुपरेको थियो। (यहूदा १४, १५) यस विश्‍वासी पुरुषमाथि आइपर्न लागेको सतावट यति क्रूर अनि हिंस्रक थियो कि शत्रुहरूले हात हाल्नुअघि नै यहोवाले “तिनलाई लानु[भयो]” र मृत्युको गहिरो निन्द्रामा पार्नुभयो। अतः, आफूले उच्चारण गरेको भविष्यवाणी पूरा भएको हनोकले देख्न पाएनन्‌। तर, अझ भनौं तिनले त्योभन्दा पनि उत्तम उपहार पाए।—हिब्रू ११:५, नयाँ संशोधित संस्करण; उत्पत्ति ५:२२-२४.

      १२ पावल वर्णन गर्छन्‌: “तिनी [हनोक] उठाइलगिनुभन्दा अघि परमेश्‍वरलाई तिनले प्रसन्‍न पारेका कुराको पुष्टि भएको थियो।” (हिब्रू ११:५, नयाँ संशोधित संस्करण) यसको अर्थ के हो? मृत्युको निद्रामा पर्नुअघि हनोकले कुनै खास दर्शन, सायद पार्थिव प्रमोदवनको दर्शन पाएको हुनसक्छ, जहाँ तिनी एकदिन बिउँतने थिए। जे होस्‌, यहोवाले तिनको विश्‍वासी कामदेखि उहाँ अत्यन्त प्रसन्‍न हुनुहुन्छ भन्‍ने कुरा हनोकलाई अवगत गराउनुभयो। हनोकले यहोवाको हृदयलाई आनन्दित तुल्याए। (हितोपदेश २७:११ तुलना गर्नुहोस्‌।) हनोकको जीवनी हृदयस्पर्शी छ हैन र? के तपाईं पनि विश्‍वासको यस्तो जीवन बिताउन चाहनुहुन्छ? त्यसोभए यस्ता उदाहरणहरूमा गौर गर्नुहोस्‌, तिनीहरूलाई वास्तविक व्यक्‍ति ठान्‍नुहोस्‌। दिनहुँ विश्‍वासद्वारा जिउने निश्‍चय गर्नुहोस्‌। अनि यो पनि नबिर्सनुहोस्‌, विश्‍वास गर्नेमध्येकाहरूले यहोवाले आफ्ना सम्पूर्ण प्रतिज्ञाहरू पूरा गर्नुहुने मिति वा अन्तिम म्यादलाई विचार गरेर सेवा गर्ने गर्दैनन्‌। बरु, हामी यहोवाको सदासर्वदा सेवा गर्ने अठोट गर्छौं! त्यसो गर्नु भनेको यस रीतिरिवाजमा अनि आउँदै गरेको रीतिरिवाजमा सर्वोत्तम जीवन बिताउनु हो।

      विश्‍वासमा बलियो कसरी हुने

      १३, १४. (क) हिब्रू १०:२४, २५ मा लिपिबद्ध पावलका शब्दहरूले सभालाई रमाइलो बनाउन कसरी मदत गर्नेछ? (ख) मसीही सभाहरूको मुख्य उद्देश्‍य के हो?

      १३ पावलले हिब्रू मसीहीहरूलाई आफ्नो विश्‍वासलाई दरिलो बनाउने थुप्रै व्यावहारिक तरिकाहरू देखाए। आउनुहोस्‌, तीमध्ये दुइटा विचार गरौं। तिनले हिब्रू १०:२४, २५ मा मसीही सभाहरूमा नियमित तवरमा उपस्थित हुन गरेको आग्रहसित हामी सायद परिचित छौं। तथापि, पावलले प्रेरणाद्वारा लेखेका उक्‍त शब्दहरूले सभाहरूमा धुमधुमती बस्नुपर्छ भन्दैनन्‌। बरु, पावलले सभाहरू त एकअर्कालाई चिन्‍ने, परमेश्‍वरको सेवा अझ बढी गर्न उत्प्रेरित गर्ने अनि प्रोत्साहन दिने मौका हुन्‌ भनेर व्याख्या गर्छन्‌। हामी सभाहरूमा दिन जान्छौं, लिन मात्र होइन। यसरी लेनदेन गर्दा हाम्रा सभाहरू रमाइला हुन्छन्‌।—प्रेरित २०:३५.

      १४ तथापि, हामी मुख्यतः यहोवा परमेश्‍वरको उपासना गर्न मसीही सभाहरूमा उपस्थित हुन्छौं। हामी प्रार्थना र गीतहरूमा भाग लिएर, ध्यानसित सुनेर अनि टिप्पणी तथा सभामा पाएको भाग लिने मौकाहरूद्वारा “ओठको फल” चढाएर यहोवाको प्रशंसा गर्छौं। (हिब्रू १३:१५) यी लक्ष्यहरूलाई मनमा राख्यौं र प्रत्येक सभामा त्यसै गर्ने गऱ्‍यौं भने, हाम्रो विश्‍वास निस्सन्देह झन्‌ झन्‌ पक्का हुँदै जानेछ।

      १५. पावलले हिब्रू मसीहीहरूलाई आफ्नो सेवकाईमा लागिरहन किन आग्रह गरे र आज त्यही सल्लाह किन उपयुक्‍त छ?

      १५ विश्‍वासलाई दृढ बनाउने अर्को तत्त्व प्रचार कार्य हो। पावलले लेखे: “यो नडग्मगाओस्‌ भनेर हाम्रो आशाको स्वीकारलाई हामी दृढ़सँग थामिराखौं। किनभने प्रतिज्ञा गर्नुहुने जो हुनुहुन्छ, उहाँ विश्‍वासयोग्य हुनुहुन्छ।” (हिब्रू १०:२३) कसैले थकित भएर हार मान्‍न खोजेको देख्नुहुँदा तपाईं तिनलाई थामिरहन आग्रह गर्न सक्नुहुन्छ। शैतानले पक्कै पनि ती हिब्रू मसीहीहरूलाई आफ्नो सेवकाईदेखि हार मान्‍न दबाब दिइरहेको थियो। त्यसले आज पनि परमेश्‍वरका जनहरूलाई त्यसै गरी दबाब दिइरहेको छ। यस्तो दबाब आइपर्दा हामीले के गर्नुपर्ने हो? पावलले के गरे, विचार गर्नुहोस्‌।

      १६, १७. (क) पावलले सेवकाईको निम्ति कहाँबाट साहस बटुले? (ख) हाम्रो मसीही सेवकाईको कुनै पक्षसित डर लाग्छ भने हामीले चाल्नसक्ने केही व्यावहारिक कदम के के हुन्‌?

      १६ थिस्सलोनिकीका मसीहीहरूलाई पावलले यसरी लेखे: “तिमीहरू जान्दछौ, फिलिप्पीमा अघाड़ि दुःख पाई बेइज्जती भोगेर पनि तिमीहरूसँग परमेश्‍वरको सुसमाचार बोल्नालाई, अति विरोधमा पनि, हाम्रा परमेश्‍वरमा हामी निर्भय रह्‍यौं।” (१ थिस्सलोनिकी २:२) पावल र तिनका सँगीहरूले फिलिप्पीमा कसरी ‘बेइज्जती भोगे?’ केही शास्त्रज्ञअनुसार पावलले प्रयोग गरेको युनानी शब्दले अपमान, लाज वा घोर बेइज्जतको भाव बुझाउँछ। फिलिप्पीका अख्तियारवालाहरूले तिनीहरूलाई लट्ठीले पिटेका, जेलमा कोचेका अनि ठिंगुरा ठोकेर राखेका थिए। (प्रेरित १६:१६-२४) पावललाई यस्तो पीडादायी अनुभवले कस्तो असर गऱ्‍यो? थिस्सलोनिकीमा दोस्रो मिसनरी यात्रा गर्दा त्यहाँका बासिन्दाहरूले पावल थरथर कामेको पाए? अहँ, तिनी ‘निर्भय रहे।’ तिनले आफ्नो डरलाई वशमा राखे र निर्भयी भएर निरन्तर प्रचार गरिरहे।

      १७ पावलले कहाँबाट यस्तो साहस बटुले? आफैबाट? होइन, तिनले “हाम्रा परमेश्‍वरमा” म निर्भयी रहें भने। बाइबल अनुवादकहरूको एउटा किताबले यो वाक्यलाई “परमेश्‍वरले हाम्रो मनबाट डर हटाइदिनुभयो” भनेर बुझाउन सकिन्छ भनी उल्लेख गर्छ। अतः, तपाईंलाई सेवकाईमा लाग्न डर लाग्छ वा सेवकाईको कुनै खास पक्षमा भाग लिन हिचकिचाउनुहुन्छ भने यहोवालाई बिन्ती गर्नुहोस्‌। उहाँलाई तपाईंको मनबाट डर निकालिदिनुहोस्‌ भनेर आग्रह गर्नुहोस्‌। त्यस कार्यका लागि निर्भयी तुल्याइदिनुहोस्‌ भन्‍नुहोस्‌। यसको अतिरिक्‍त केही अन्य व्यावहारिक कदमहरू पनि चाल्नुहोस्‌। उदाहरणका लागि, तपाईंलाई जेसँग डर लाग्छ, त्यसमा निपुण व्यक्‍तिसित मिलेर काम गर्ने प्रबन्ध मिलाउनुहोस्‌। जस्तै, व्यापारिक इलाकामा काम गर्ने, सडक साक्षी दिने, अनौपचारिक साक्षी दिने वा फोनमा प्रचार गर्ने आदि। हुनसक्छ, तपाईंसित जाने व्यक्‍तिले नै यसरी विभिन्‍न तरिकामा प्रचार कसरी गर्ने भनेर पहिले आफै गरेर देखाउलान्‌। त्यतिबेला ध्यान दिएर हेर्नुहोस्‌ र त्यसबाट सिक्नुहोस्‌। तर त्यसपछि चाहिं, कोसिस गर्न साहस बटुल्नुहोस्‌।

      १८. साहस बटुलेर आफ्नो सेवकाईमा लाग्यौं भने हामीले कस्ता आशिष्‌हरू पाउनेछौं?

      १८ साहस बटुल्नुभएपछि त्यसका परिणामहरू विचार गर्नुहोस्‌। तपाईं लागिरहनुभयो र निरुत्साहित हुनुभएन भने सच्चाइ बाँड्‌दा प्राप्त हुने राम्रा राम्रा अनुभवहरू तपाईंसित पनि हुनेछन्‌। तपाईंले साहस नबटुल्नुभएको भए यस्ता अनुभव बटुल्न सक्नुहुने थिएन। (पृष्ठ २५ हेर्नुहोस्‌।) गाह्रै लागे पनि तपाईंले साहस बटुल्नु भएर काम गर्नुभएको हुँदा त्यसले यहोवालाई प्रसन्‍न तुल्याइरहेको छ भन्‍ने थाह पाउँदा सन्तुष्ट अनुभव गर्नुहुनेछ। तपाईंले उहाँको आशिष्‌ तथा डरलाई जित्ने मदत पाउनुभएको महसुस गर्नुहुनेछ। तपाईंको विश्‍वास दृढ हुनेछ। साँच्चै, तपाईंले आफ्नो विश्‍वासलाई बलियो नपारी अरूको विश्‍वास बलियो बनाउन सक्नुहुन्‍न।—यहूदा २०, २१.

      १९. “विश्‍वास गर्नेहरूमध्येका” लागि कस्तो अनमोल इनाम साँचेर राखिएको छ?

      १९ तपाईंले आफ्नो र वरपर अरूको विश्‍वास निरन्तर दृढ बनाउन सकोस्‌। परमेश्‍वरको वचन निपुणता साथ प्रयोग गरेर, बाइबलमा भएका विश्‍वासको उदाहरणहरू पढेर तथा त्यसलाई जीवन्त बनाएर, मसीही सभाहरूका लागि तयारी गरेर र भाग लिएर अनि जन सेवकाईजस्तो बहुमूल्य विशेषाधिकारलाई थामिराखेर तपाईं आफ्नो र अरूको विश्‍वास बलियो बनाउन सक्नुहुन्छ। त्यसो गर्नुभयो भने तपाईं पक्कै पनि “विश्‍वास गर्नेहरूमध्येका” हुनुहुनेछ भनेर ढुक्क हुनुहोस्‌। नबिर्सनुहोस्‌, यस्तामध्ये पर्नेहरूसित अनमोल इनाम छ। तिनीहरू “आत्माको उद्धारको निम्ति विश्‍वास गर्नेहरूमध्येका” हुन्‌।b तपाईंको विश्‍वास फलोस्‌ फुलोस्‌! अनि यहोवा परमेश्‍वरले तपाईंलाई सदासर्वदा जोगाइराखून्‌!

      [फुटनोटहरू]

      a पावलले सेप्टुआजिन्ट अनुवादबाट हबकूक २:४ उद्धरण गरेका थिए जहाँ “यदि कोही पछि हट्‌छ भनेता मेरो मन उनीसित खुश रहनेछैन” भन्‍ने वाक्यांश समावेश छ। यो वाक्य कुनै पनि वर्तमान हिब्रू धर्मशास्त्रमा पाइँदैन। कसै कसैले सेप्टुआजिन्ट आज अस्तित्वमा नरहेको पुरानो हिब्रू हस्तलिपिमा आधारित हुनसक्ने विचार पोखेका छन्‌। जे होस्‌, पावलले पवित्र आत्माको प्रभावमा परेर उक्‍त वाक्यांशलाई यहाँ समावेश गरे। तसर्थ, उक्‍त वाक्यांशको ईश्‍वरीय समर्थन छ।

      b सन्‌ २००० का लागि यहोवाका साक्षीहरूको वार्षिक पद: “हामीचाहिं विनाशसम्म पुग्नेगरी पछि हट्‌नेहरूमध्येका होइनौं, . . . विश्‍वास गर्नेहरूमध्येका हौं।”—हिब्रू १०:३९.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने