तिनीहरूले यहोवाको इच्छा गरे
आमाबाबुको विश्वासको फल
इस्राएलीहरूका लागि छोरा जन्मेको समय असाध्यै हर्षपूर्ण हुन्थ्यो। किनकि छोरा पाउनु प्रतिज्ञा गरिएको कुलले निरन्तरता पाउनुका साथै पैतृक सम्पत्तिको जगेर्ना हुनु थियो। तर सा.यु.पू. १५९३ तिर भने छोरा पाउनु भनेको हिब्रूहरूका लागि आशिष् नभई सरापतुल्य भयो होला। किन? किनभने मिश्रमा च्याउ उम्रे सरह यहूदीहरूको जनसंख्या बढ्दै गयो। यो देखेर फिरऊन त्राही भए। त्यसैले, तिनले यहूदीहरूका नवजात बालकहरूलाई मार्ने आदेश दिएका थिए।—प्रस्थान १:१२, १५-२२.
त्यस्तो निर्ममतापूर्ण जातीय हत्या गर्ने प्रयत्न भैरहेको बेलामै अम्राम र योकेबेदको एउटा रहरलाग्दो छोरो जन्मियो। परेन त फसाद! फिरऊनको उर्दी सम्झँदा तिनीहरूको हर्ष त्रासमा परिणत भयो होला भनेर हामी सजिलै अनुमान लगाउनसक्छौं। तापनि, अम्राम र योकेबेदले कडा उर्दीको बावजूद त्यस बालकलाई बचाइराख्ने निधो गरे।—प्रस्थान २:१, २; ६:२०.
विश्वासमा हिंड्दा
अम्राम र योकेबेदले तीन महिनासम्म आफ्नो बालकलाई लुकाइ राखे। (प्रस्थान २:२) हिब्रूहरू र मिश्रीहरू नजीकै बस्ने हुनाले यो काम कम खतरापूर्ण थिएन। कसैले फिरऊनको उर्दी उल्लंघन गरेको फेला परेमा मृत्युदण्डसमेत पाउन सक्थ्यो। त्यसोभए ती समर्पित आमाबाबुले आफू र आफ्नो बालकलाई बचाउनसक्ने उपाय के थियो त?
योकेबेदले पपाइरसको स्याउला बटुलिन्। पपाइरस भनेको बलियो किसिमको निगालो वा बाँसजस्तै हुन्छ। यसको तीन चुच्चे डाँठ हुन्छ र हाम्रो औंला जत्तिकै मोटो हुन्छ। यो छ मिटरसम्म अग्लो हुन्छ। मिश्रीहरू यस वनस्पतिलाई कागज, चटाई, जहाजको पाल, चट्टी र हलुका किसिमका डुंगाहरू बनाउन प्रयोग गर्थे।
योकेबेदले पपाइरसबाट आफ्नो बच्चा अट्नसक्ने एउटा टोकरी बनाइन्। त्यसपछि तिनले लेसिलो माटो र अल्कत्राले लिपेर पानी नछिर्ने पारिन्। अनि तिनले आफ्नो बच्चालाई त्यो टोकरीभित्र हालेर नील नदीको किनारको कुशको झाँगमा राखिदिइन्।—प्रस्थान २:३.
बच्चा फेला पारिन्छ
योकेबेदकी छोरी, मरियम के हुँदो रहेछ भनेर हेर्न नजीकै बसिन्। केही छिनपछि फिरऊनकी छोरी नील नदीमा नुहाउन आइन्।a शायद योकेबेदलाई राजकुमारी नील नदीको त्यही किनारमा आउने गरेको थाह थियो होला, त्यसैले तिनले त्यो बच्चा भएको टोकरी सजिलै पाउन सक्नेगरि त्यहाँ छोडेकी होलिन्। जे होस्, फिरऊनकी छोरीले केही बेरमै कुशको झाँगमा त्यो टोकरी देखिन् अनि एउटी दासीलाई तान्न लगाइन्। त्यसभित्र बालक रोइरहेको देखेर तिनलाई एकदम दया लाग्यो। यो हिब्रू बालक रहेछ भनेर तिनले थाह पाइन्। तैपनि, यस्तो मायालाग्दो बच्चा मरेको तिनी कसरी हेर्न सक्थिन् र? मानवीय दयाबाहेक फिरऊनकी छोरी लोकप्रिय मिश्री धारणाद्वारा प्रेरित भएकी हुनुपर्छ। त्यस धारणाअनुसार, मानिसले आफ्नो जीवनकालमा कत्तिको दया देखाएको छ, त्यसैको आधारमा उसको स्वर्ग जान पाउने कुरा निर्धारण हुन्छ।b—प्रस्थान २:५, ६.
अलि पर उभिएर हेरिरहेकी मरियम, फिरऊनकी छोरी नजीकै गएर भन्छिन्, “म गएर हिब्रू स्त्रीहरूमध्ये कोही धाईलाई हजूरको निम्ति यस बालकलाई दूध खुवाउन बोलाएर ल्याऊँ?“ राजकुमारीले जवाफ दिइन्: ”हुन्छ, जा।“ मरियम दौडेर आमाकहाँ पुगिन्। केही बेरमै योकेबेद हाजिर भइन्। राजकुमारीले उनलाई भनिन्, “यस बालकलाई लगेर मेरो निम्ति दूध खुवाउने गर्, र म तेरो ज्याला दिनेछु।” यत्तिञ्जेलसम्ममा फिरऊनकी छोरीले त्यस बालककी आमा योकेबेद नै रहिछ क्यारे भनेर थाह पाइन् होला।—प्रस्थान २:७-९.
योकेबेदले स्तनपान गराउञ्जेल आफ्नो बच्चालाई पालिराखिन्।c त्यतिञ्जेलसम्म तिनले छोरालाई सत्य परमेश्वर, यहोवाबारे सिकाउने थुप्रै सुनौला मौका पाइन्। त्यसपछि योकेबेदले त्यस बच्चालाई फिरऊनकी छोरीकहाँ लगिन्। राजकुमारीले उसको नाउँ मोशा राखिन्, अर्थात् ‘पानीबाट निकालेको।’—प्रस्थान २:१०.
हाम्रोलागि पाठ
अम्राम र योकेबेदले छोटो समयको पनि पूर्ण सदुपयोग गर्दै शुद्ध उपासनाका तौरतरिकाहरूबारे आफ्नो छोरालाई सिकाए। आजका आमाबाबुले पनि त्यसै गर्नुपर्छ। वास्तवमा यसरी सिकाउनु अत्यावश्यक छ किनभने विरोधी शैतान “कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर गर्जने सिंहझैं खोजेर हिंड़छ।” (१ पत्रुस ५:८) यहोवाका सज्जन सेवक बन्ने सम्भावना भएका त्यस्ता लहलहाउँदा युवाहरू र केटाकेटीहरूलाई आफ्नो शिकार बनाउन पाउँदा त्यो मख्ख पर्छ। तिनीहरूको कलिलो जीवनप्रति त्यसले रत्तिभर सहानुभूति देखाउँदैन! यो कुरा विचार गरेर बुद्धिमान् आमाबाबुले आफ्ना कलिला केटाकेटीहरूलाई साँचो परमेश्वर यहोवाको भय मान्न सिकाउँछन्।—हितोपदेश २२:६; २ तिमोथी ३:१४, १५.
अम्राम र योकेबेदले आफ्नो शिशुलाई सुरुको तीन महिनासम्म लुकाएर राखेको कामलाई हिब्रू ११:२३ मा विश्वासको काम भनेर लेखिएको छ। आफ्नो बच्चालाई त्याग्न इन्कार गरेर, परमेश्वरको भय मान्ने ती आमाबाबुले यहोवाको बचाउने शक्तिमा भरोसा देखाए र परिणामस्वरूप आशिष् पाए। त्यस्तैगरी, हामीले पनि यहोवाका नियम र सिद्धान्तहरू कडिकडाइसाथ पालन गर्ने र विश्वास गर्ने गर्नुपर्छ। साथै, हामीलाई जे जस्तो परिआए पनि यहोवाले त्यो हाम्रै अनन्त कल्याण र खुशीको लागि गर्नुभएको हो भनेर विश्वस्त हुनुपर्छ।—रोमी ८:२८.
[फुटनोटहरू]
a मिश्रीहरू नील नदीलाई सन्तान दिने देवताको रूपमा पूजा गर्थे। यसको पानीमा फल्दोफुल्दो र दीर्घायु गराउने शक्ति छ भनी तिनीहरू विश्वास गर्थे।
b मिश्रीहरूको विश्वासअनुसार कुनै पनि व्यक्ति मरेपछि उसको आत्माले उनीहरूको देवता ओसिरिसअगाडि यी विभिन्न वाक्यांशहरू सुनाएर आफूले पाप गरेको छैन भनी पुष्टि दिनुपर्छ, “मैले कुनै पनि मान्छेलाई दुःख दिएको छैन, दूधे बालकहरूको दूध खोसेको छैन र भोकाहरूलाई खान दिएको छु अनि तिर्खाएकाहरूलाई पिउन दिएको छु।“
c प्राचीन कालमा आजभोलिका शिशुहरूलाई भन्दा धेरै समयसम्म स्तनपान गराइन्थ्यो। शमूएलले लगभग तीन वर्ष अनि इसहाकले चाहिं लगभग पाँच वर्ष स्तनपान गरे।