प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ५/१ pp. १३-१७
  • क-कसको पुनरुत्थान हुनेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क-कसको पुनरुत्थान हुनेछ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मरिसकेकाहरू कहाँ छन्‌?
  • ‘आफ्ना पिता-पुर्खाहरूसँग मिल्न गए’
  • के शिओलमा अधर्मीहरू छन्‌?
  • गेहेन्‍नामा को-को छन्‌?
  • “पहिलो” र “उत्तम” पुनरुत्थान
  • शिओल र हेडिज के हो?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • पुनरुत्थानको आशाको शक्‍ति
    एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
  • नरक कस्तो ठाउँ हो?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ५/१ pp. १३-१७

क-कसको पुनरुत्थान हुनेछ?

“यसमा अचम्म नमान, किनभने बेला आउँछ, जब [ “सम्झनाको,” Nw] चिहानमा हुनेहरू सबैले उसको सोर सुन्‍नेछन्‌ . . . [ र] निस्किआउनेछन्‌।”—यूहन्‍ना ५:२८, २९.

१. जलिरहेको पोथ्रामा मोशाले कस्तो उल्लेखनीय घोषणा सुने र त्यही शब्दहरू पछि कसले दोहोऱ्‍याउनुभयो?

यो ३,५०० वर्षभन्दा अघि घटेको एउटा अनौठो घटना हो। मोशाले कुलपिता यित्रोका भेडा-बाख्रा चराइरहेका थिए। होरेब पर्वत नजिकै एउटा जलिरहेको पोथ्राको ज्वालामा यहोवाका दूत मोशाको सामु देखा परे। प्रस्थानको विवरण यसो भन्छ: “तिनले पोथ्रालाई हेरे। त्यो पोथ्रा जलिरहेको थियो—तापनि भस्म हुँदैन थियो।” तब पोथ्राको बीचबाट एउटा आवाजले तिनलाई बोलायो। त्यो आवाजले यस्तो घोषणा गऱ्‍यो: “म तेरा पितापुर्खाका परमेश्‍वर हुँ। अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर हुँ।” (प्रस्थान ३:१-६) पछि, सा.यु. प्रथम शताब्दीमा परमेश्‍वरको आफ्नै पुत्र येशू ख्रीष्टले ती शब्दहरू दोहोऱ्‍याउनुभयो।

२, ३. (क) अब्राहाम, इसहाक र याकूबको सामु कस्तो प्रत्याशा छ? (ख) कस्ता प्रश्‍नहरू खडा हुन्छन्‌?

२ पुनरुत्थानमा विश्‍वास नगर्ने कोही-कोही सदुकीहरूसित येशू छलफल गरिरहनुभएको थियो। येशूले यसो भन्‍नुभयो: “जब तिनले परमप्रभुलाई अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर भनेर पुकारे, तब मुर्दाहरू बिउँतन्छन्‌ भन्‍ने मोशाले समेत पोथ्राको वर्णनमा देखाएका छन्‌। उहाँ मुर्दाहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका, किनकि सबै जना उहाँकै निम्ति जीवित छन्‌।” (लूका २०:२७, ३७, ३८) धेरै पहिले मरिसकेका अब्राहाम, इसहाक र याकूब परमेश्‍वरको सम्झनामा अझै जीवित छन्‌ भनेर येशूका यी शब्दहरूले पुष्टि गऱ्‍यो। अय्यूबजस्तै तिनीहरू पनि “कठीन सेवा” अन्त हुने अर्थात्‌ मृत्युको निद्राबाट ब्यूँझने प्रतीक्षामा छन्‌। (अय्यूब १४:१४, NRV) परमेश्‍वरको नयाँ संसारमा तिनीहरूको पुनरुत्थान हुनेछ।

३ विगतमा मरेका अरू अरबौं व्यक्‍तिहरूलाई के हुनेछ? के तिनीहरूको पनि पुनरुत्थान हुनेछ? यो प्रश्‍नको चित्तबुझ्दो जवाफ पाउनुअघि आउनुहोस्‌ मानिस मरेपछि कहाँ जान्छ भनेर हामी परमेश्‍वरको वचनबाटै पत्ता लगाऔं।

मरिसकेकाहरू कहाँ छन्‌?

४. (क) मानिसहरू मरेपछि कहाँ जान्छन्‌? (ख) शिओल के हो?

४ मरिसकेकाहरूले “केही पनि जान्दैनन्‌” भनी बाइबलले बताउँछ। मरेपछि नरकमा तड्‌पिने वा वैतरणी तर्न नसकेर पर्खनुपर्ने केही पनि हुनेछैन बरु तिनीहरू माटोमा फर्कन्छन्‌। त्यसकारण परमेश्‍वरको वचनले जिउँदाहरूलाई यस्तो सल्लाह दिन्छ: “तेरो हातमा जे काम छ त्यो आफ्नो पूरा शक्‍तिले गर्‌, किनभने मृत्युमा [“शिओलमा,” NW], जहाँ तँ जानैपर्छ, त्यहाँ नता केही गर्ने, न विचार गर्ने, न समझ-शक्‍ति, न बुद्धिनै हुन्छ।” (उपदेशक ९:५, १०; उत्पत्ति ३:१९) “शिओल” भन्‍ने शब्द धेरैलाई थाह छैन। यो हिब्रू शब्द हो र यसको सुरुआत यकिन छैन। थुप्रै धर्महरूले मरिसकेकाहरू अझै जीवित छन्‌ भनेर सिकाउँछन्‌ तर परमेश्‍वरको प्रेरित वचनले देखाएझैं शिओलमा हुनेहरू मरिसकेका छन्‌ र तिनीहरूमा कुनै चेतना हुँदैन। शिओल मानिसहरूको सामान्य चिहान हो।

५, ६. मरेपछि याकूब कहाँ गए र तिनी त्यहाँ कोसँगै गाडिए?

५ मौलिक बाइबलमा “शिओल” भन्‍ने शब्द पहिलो चोटि उत्पत्ति ३७:३५ मा प्रयोग गरिएको छ। आफ्नो प्यारो छोरा यूसुफको मृत्यु भएजस्तो देखिंदा कुलपिता याकूबलाई अरूले सान्त्वना दिन खोजे तापनि तिनलाई शान्ति भएन र तिनले यसो भने: “यो मेरो शोकमानै म मेरो छोराकहाँ चिहानमा [“शिओलमा,” NW] जानेछु!” याकूबले आफ्नो छोरा मरिसक्यो भन्ठानेको हुँदा तिनी पनि मरेर शिओलमा जान चाहन्थे। पछि, अनिकालबाट केही राहत पाउनको लागि याकूबका नौ जना छोराहरूले आफ्नो कान्छो भाइ बिन्यामीनलाई मिश्रमा लैजान खोजे। तर याकूबले यसो भनेर इन्कार गरे: “मेरो छोरो तिमीहरूसँग जानेछैन, किनकि त्यसको दाज्यू मरिहाल्यो। अब यही मात्र बाँकी छ। यदि तिमीहरूले गर्न लागेका यात्रामा त्यसमाथि केही खतरा पर्न आयो भने तिमीहरूले मलाई यी सेता कपाल लिएर अफसोसमै चिहानमा [“शिओलमा” NW] पुऱ्‍याउनेछौ।” (उत्पत्ति ४२:३६, ३८) यी दुवै विवरणले मृत्युलाई मरेपछिको जीवनसित नभई शिओलसित जोडेको छ।

६ उत्पत्तिको विवरणले प्रकट गरेअनुसार यूसुफ मिश्रका खाद्य प्रशासक बनिसकेका थिए। यसकारण यूसुफसित सुखद पुनर्मिलनको लागि याकूब त्यहाँ जान सके। त्यसपछि, एकदमै वृद्ध भएर १४७ वर्षको उमेरमा मृत्यु नहोउन्जेल याकूब त्यहीं बसे। मृत्युशय्यामा तिनले व्यक्‍त गरेको इच्छाअनुसारै तिनका छोराहरूले तिनका अवशेषहरू लगेर मकपेलाको खेतको ओढारमा गाडिदिए। (उत्पत्ति ४७:२८; ४९:२९-३१; ५०:१२, १३) यसरी याकूब आफ्ना पिता इसहाक र हजुरबुबा अब्राहामसितै गाडिए।

‘आफ्ना पिता-पुर्खाहरूसँग मिल्न गए’

७, ८. (क) मरेपछि अब्राहाम कहाँ गए? व्याख्या गर्नुहोस्‌। (ख) अरू व्यक्‍तिहरू पनि मरेपछि शिओलमा गए भनेर कुन कुराले देखाउँछ?

७ पहिला, यहोवाले अब्राहामसित बाँध्नुभएको करार पक्का गरेर तिनका सन्तान धेरै हुनेछन्‌ भनेर प्रतिज्ञा गर्नुहुँदा अब्राहामलाई के हुनेछ भनेर परमेश्‍वरले सङ्‌केत गर्नुभयो। यहोवाले यसो भन्‍नुभयो: “तँ चाहिं आफ्ना पित्रहरूकहाँ शान्तिसित जानेछस्‌। तेरो पूरो बूढेसकालमा तँ गाडिनेछस्‌।” (उत्पत्ति १५:१५) अनि वास्तवमा यस्तै भयो। उत्पत्ति २५:८ यसो भन्छ: “अब्राहाम दीर्घायु भई पूरो बूढेसकालमा मरे, र आफ्ना मरेका पिता-पुर्खाहरूसँग मिल्न गए।” यी पिता-पुर्खाहरू को थिए? उत्पत्ति ११:१०-२६ मा अब्राहामका पुर्खाहरूको वंशावली नूहको छोरा शेमसम्मै उल्लेख गरिएको छ। अतः मृत्युपछि शिओलमा सुतिरहेका यी पिता-पुर्खाहरूसित अब्राहाम मिल्न गए।

८ “आफ्ना मरेका पिता-पुर्खाहरूसँग मिल्न गए” भन्‍ने अभिव्यक्‍ति हिब्रू धर्मशास्त्रमा पटक-पटक प्रयोग गरिएको छ। त्यसकारण अब्राहामको छोरा इश्‍माएल र मोशाका दाइ हारून दुवै मरेपछि शिओलमा गए र पुनरुत्थान हुन पर्खिरहेका छन्‌ भन्‍ने निष्कर्षमा पुग्नु तार्किक हो। (उत्पत्ति २५:१७; गन्ती २०:२३-२९) त्यसरी नै, मोशाको चिहान कहाँ छ भनेर कसैलाई थाह नभए तापनि तिनी शिओलमै गए। (गन्ती २७:१३; व्यवस्था ३४:५, ६) साथै, इस्राएलका नेताको रूपमा मोशाका उत्तराधिकारी यहोशू अनि मानिसहरूको एउटा सिंगो पुस्ता पनि मरेपछि शिओलमा गए।—न्यायकर्त्ता २:८-१०.

९. (क) हिब्रू शब्द “शिओल” र युनानी शब्द “हेडिस” दुवैले एउटै ठाउँलाई बुझाउँछ भनेर बाइबलले कसरी देखाउँछ? (ख) शिओल अर्थात्‌ हेडिसमा हुनेहरूको सामु कस्तो प्रत्याशा छ?

९ शताब्दीऔंपछि दाऊद इस्राएलको १२ कुलका राजा भए। दाऊदको मृत्यु हुँदा तिनी “आफ्ना पित्रहरूसित सुते।” (१ राजा २:१०) के तिनी पनि शिओलमै थिए? चाखलाग्दो कुरा के छ भने, सा.यु. ३३ पेन्तिकोसको दिनमा प्रेरित पत्रुसले दाऊदको मृत्युलाई सङ्‌केत गर्दै भजन १६:१० यसरी उद्धरण गरे: “तपाईंले मेरो प्राणलाई पातालमा [“शिओलमा,” NW] छोड्‌नुहुनेछैन।” दाऊद अझै पनि तिनको चिहानमै छन्‌ भनी उल्लेख गरिसकेपछि पत्रुसले ती शब्दहरू येशूमाथि लागू गरे अनि दाऊदको सन्दर्भमा यस्तो सङ्‌केत गरे कि “अघिबाटै यो देखेर उनले ख्रीष्टको पुनरुत्थानको विषयमा बोलेका हुन्‌, उहाँ न पातालमा [“हेडिसमा,” NW] छोडिनुभयो, नता उहाँको शरीरनै कुह्‍यो। यिनै येशूलाई परमेश्‍वरले बिउँताउनुभयो। जुन कुराको हामी सबै गवाही छौं।” (प्रेरित २:२९-३२) पत्रुसले यहाँ “हेडिस” भन्‍ने शब्द चलाए र यो हिब्रू शब्द “शिओल[को]” युनानी रूप हो। त्यसैले हेडिसमा हुनेहरू पनि शिओलमा हुनेहरूको जस्तै अवस्थामा छन्‌। तिनीहरू पुनरुत्थानको पर्खाइमा सुतिरहेका छन्‌।

के शिओलमा अधर्मीहरू छन्‌?

१०, ११. कोही-कोही अधर्मीहरू मरेपछि शिओल अर्थात्‌ हेडिसमा जान्छन्‌ भनेर हामी किन भन्‍न सक्छौं?

१० मोशाले इस्राएल राष्ट्रलाई मिश्रबाट छुटाएपछि उजाडस्थानमा कसै-कसैले विद्रोह गरे। मोशाले मानिसहरूलाई विद्रोही समूहका नाइकेहरू अर्थात्‌ कोरह, दातान र अबीरामबाट पर हट भने। तिनीहरूको स्वाभाविक मृत्यु हुने थिएन। मोशाले यसो भने: “यदि यी मानिसहरू पनि सबै अन्य मानिसझैं स्वाभाविक मृत्युले मरे भने परमप्रभुले मलाई पठाउनुभएको होइन। तर यदि परमप्रभुले अनौठो काम गर्नुभयो र धरती फाटेर यिनीहरूका सबै थोक साथै यिनीहरू जिउँदै पातालमा [“शिओलमा,” NW] पुरिए भने यी मानिसहरूले परमप्रभुलाई तुच्छ ठानेकानै रहेछन्‌ भनी तिमीहरूले थाह पाउनेछौ।” (गन्ती १६:२९, ३०) चाहे धरतीले मुख बाएर निलेकाहरू हुन्‌ वा आगोले भस्म भएका कोरह र तिनको पक्षमा लाग्ने २५० जना लेवी, ती सबै विद्रोहीहरू शिओल अर्थात्‌ हेडिसमा गए।—गन्ती २६:१०.

११ राजा दाऊदलाई सरापेका शिमीले दाऊदका उत्तराधिकारी सुलेमानको हातबाट दण्ड भोग्नुपऱ्‍यो। दाऊदले यस्तो आज्ञा दिए: “त्यसलाई दण्ड नदिई तैंले नछोड्‌। तँ बुद्धिमानी मानिस छस्‌, औ त्यसलाई कस्तो व्यवहार गर्नुपर्छ सो तैंले जान्‍नेछस्‌। त्यसको फुलेको कपाल चिहानमा [“शिओलमा,” NW] रगतैसँग जाओस्‌।” यो दण्ड दिनको लागि सुलेमानले बनायाहलाई हुकुम गरे। (१ राजा २:८, ९, ४४-४६) बनायाहको तरबारबाट मृत्यु भोगेका अर्का व्यक्‍ति इस्राएलको भूतपूर्व सेना प्रमुख योआब थिए। तिनको फुलेको कपाल “चैनसित चिहानमा [“शिओलमा,” NW]” गएन। (१ राजा २:५, ६, २८-३४) यी दुवै उदाहरणले दाऊदको प्रेरित भजनको सत्यताको प्रमाण दिन्छ: “दुष्टचाहिं पातालमै [“शिओलमै,” NW] फर्केर जानेछ, परमेश्‍वरलाई बिर्सने सबै जातिहरू पनि।”—भजन ९:१७.

१२. अहीतोपेल को थिए र मरेपछि तिनी कहाँ गए?

१२ अहीतोपेल, दाऊदका निजी सल्लाहकार थिए। तिनको सल्लाहलाई यहोवाले नै भन्‍नुभएझैं खुबै कदर गरिन्थ्यो। (२ शमूएल १६:२३) दुःखको कुरा, यो भरोसायोग्य सेवक धोकेबाज निस्क्यो अनि दाऊदको छोरा अब्शालोमको विद्रोहमा सहभागी भयो। सायद दाऊदले यही धोकालाई सङ्‌केत गर्दै यस्तो लेखे: “मलाई तुच्छ ठान्‍ने ता मेरो शत्रु होइन, त्यसो भएता म सहनसक्ने थिएँ। नता त्यो मलाई घृणा गर्ने र मभन्दा ठूलो हुन खोज्ने थियो। त्यसो भएता म त्यसदेखि लुक्ने पो थिएँ।” दाऊदले अझै यसो भने: “तिनीहरूमाथि अचानक मृत्यु आइपरोस्‌, तिनीहरू जिउँदै खाल्डामा [“शिओलमा,” NW] परिजाऊन्‌, किनकि दुष्टता तिनीहरूका घरमा, तिनीहरूका अन्तस्करणभित्रै छ।” (भजन ५५:१२-१५) अहीतोपेल र तिनका साथीहरू मरेपछि शिओलमा गए।

गेहेन्‍नामा को-को छन्‌?

१३. यहूदालाई किन “विनाशको छोरो” भनिन्छ?

१३ दाऊदको अवस्थालाई महान्‌ दाऊद येशूले भोग्नुभएको अवस्थासित तुलना गर्नुहोस्‌। ख्रीष्टका १२ जना प्रेरितहरूमध्ये एक जना अर्थात्‌ यहूदा इस्करयोती, अहीतोपेलजस्तै धोकेबाज निस्क्यो। यहूदाको धोकेबाजपूर्ण कार्य अहीतोपेलको भन्दा कयौं गुणा गम्भीर थियो। यहूदाले परमेश्‍वरको एकमात्र पुत्र विरुद्ध कदम चाल्यो। आफ्नो पार्थिव सेवकाईको अन्ततिर परमेश्‍वरको पुत्रले प्रार्थनामा आफ्ना अनुयायीहरूबारे यसो भन्‍नुभयो: “जब म तिनीहरूसित थिएँ, तपाईंले मलाई दिनुभएकाहरूलाई तपाईंको नाउँमा जोगाइराखें, र तिनीहरूको रक्षा गरें। औ तिनीहरूमध्ये अरू कोही नष्ट भएन, केवल विनाशको छोरो मात्र, कि धर्म-शास्त्र पूरा होस्‌।” (यूहन्‍ना १७:१२) यहाँ यहूदालाई “विनाशको छोरो” भनी सम्बोधन गर्नुभएर येशूले कुन कुरालाई सङ्‌केत गर्दै हुनुहुन्थ्यो भने, यहूदाको मृत्यु भएपछि तिनको पुनरुत्थान हुने कुनै आशा थिएन। तिनी परमेश्‍वरको सम्झनामा रहिरहेनन्‌। तिनी शिओलमा होइन तर गेहेन्‍नामा गए। गेहेन्‍ना भनेको के हो?

१४. गेहेन्‍नाले कुन कुरालाई सङ्‌केत गर्छ?

१४ येशूले आफ्नो समयका धार्मिक नेताहरूको निन्दा गर्नुभयो किनभने तिनीहरूले आफ्ना सबै चेलाहरूलाई पनि “नरकको [“गेहेन्‍नाको,” NW] कीरो” बनाए। (मत्ती २३:१५) त्यतिबेलाका मानिसहरूलाई हिन्‍नोमको बेंसीबारे थाह थियो। हिन्‍नोमको बेंसी फोहोर फाल्ने ठाउँ थियो जहाँ मृत्युदण्ड दिइएपछि मर्यादित ढङ्‌गमा गाड्‌न अयोग्य ठहराइएका अपराधीहरूको लास फ्याँकिन्थ्यो। यसअघि पनि, येशूले डाँडाको उपदेशमा गेहेन्‍नाबारे उल्लेख गरिसक्नुभएको थियो। (मत्ती ५:२९, ३०, NW) यसको लाक्षणिक अर्थ येशूका स्रोताहरूले स्पष्टसित बुझेका थिए। गेहेन्‍नाले पुनरुत्थानको आशा नभएको पूर्ण विनाशलाई बुझाउँथ्यो। येशूको समयका यहूदा इस्करयोतीबाहेक के अरू मानिसहरू पनि मरेपछि शिओल अर्थात्‌ हेडिसमा नभई गेहेन्‍नामा गएका छन्‌?

१५, १६. मरेपछि को-को गेहेन्‍नामा गए अनि तिनीहरू त्यहाँ जानुको कारण के थियो?

१५ प्रथम मानवहरू आदम र हव्वा सिद्ध सृजिएका थिए। तिनीहरूले जानाजानी पाप गरेका थिए। तिनीहरूले अनन्त जीवन वा मृत्युमध्ये कुनै एउटा छनौट गर्न सक्थे। तिनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी भए अनि शैतानको पक्ष लिए। तिनीहरूको मृत्यु हुँदा तिनीहरूले ख्रीष्टको छुडौतीको बलिदानबाट लाभ उठाउने कुनै प्रत्याशा पाएनन्‌। बरु, आदम र हव्वा गेहेन्‍नामा गए।

१६ आदमको जेठो छोरा कयिनले आफ्नो भाइ हाबिलको हत्या गऱ्‍यो अनि त्यसपछि भगुवा जीवन बितायो। प्रेरित यूहन्‍नाले कयिनलाई “दुष्टबाटको” भनी वर्णन गरे। (१ यूहन्‍ना ३:१२) मरेपछि आफ्ना आमाबाबुजस्तै कयिन पनि गेहेन्‍नामा गयो भन्‍ने निष्कर्षमा पुग्नु तार्किक हो। (मत्ती २३:३३, ३५) धर्मी हाबिलको अवस्थाभन्दा कत्ति भिन्‍न अवस्था! “विश्‍वासैबाट हाबिलले कयिनभन्दा उत्तम बलिदान परमेश्‍वरमा चढाए, जसद्वारा तिनी धर्मी हुन्‌ भन्‍ने तिनको गवाही भयो। तिनका भेटी विषयमा परमेश्‍वरलेनै गवाही दिनुभयो” भनी पावलले बताए अनि तिनले अझ यसो भने, “र यसैद्वारा उनी मरिसके तापनि अझै बोल्दैछन्‌।” (हिब्रू ११:४) हो, हाबिल अहिले शिओलमा पुनरुत्थान पर्खंदैछन्‌।

“पहिलो” र “उत्तम” पुनरुत्थान

१७. (क) यस ‘अन्तको समयमा’ को-को शिओलमा जान्छन्‌? (ख) शिओलमा हुनेहरूको सामु कस्तो प्रत्याशा छ र गेहेन्‍नामा हुनेहरूलाई के हुनेछ?

१७ यो जानकारी पढ्‌ने धेरैले यस ‘अन्तको समयमा’ मर्नेहरूको अवस्था कस्तो हुनेछ भनेर सोच्नेछन्‌ होला। (दानियल ८:१९) प्रकाशको पुस्तकको छैटौं अध्यायले त्यस अन्तको समयका चार जना घोडचढीबारे वर्णन गरेको छ। चाखलाग्दो कुरा के हो भने, यी घोडचढीमध्ये अन्तिमको नाउँ मृत्यु हो र त्यसको पछिपछि पाताल अर्थात्‌ हेडिस छ। अतः अघिल्ला घोडचढीहरूको कार्यले गर्दा असामयिक मृत्यु भोगेकाहरूमध्ये थुप्रै हेडिसमा छन्‌ र परमेश्‍वरको नयाँ संसारमा पुनरुत्थान पर्खिरहेका छन्‌। (प्रकाश ६:८) त्यसोभए शिओलमा (हेडिस) हुनेहरूको सामु कस्तो प्रत्याशा छ र गेहेन्‍नामा हुनेहरूलाई के हुनेछ? सरल शब्दमा भन्‍ने हो भने, शिओलमा हुनेहरूको पुनरुत्थान हुनेछ र गेहेन्‍नामा हुनेहरूको अनन्त विनाश हुनेछ।

१८. “पहिलो पुनरुत्थान” हुनेहरूको सामु कस्तो प्रत्याशा छ?

१८ प्रेरित यूहन्‍नाले यस्तो लेखे: “पहिलो पुनरुत्थानमा भाग पाउने धन्य र पवित्र हो! यिनीहरूमाथि दोस्रो मृत्युको शक्‍ति हुँदैन तर तिनीहरू परमेश्‍वर र ख्रीष्टका पूजाहारीहरू भएर उहाँसँग एक हजार वर्षसम्म राज्य गर्नेछन्‌।” येशूसित शासन गर्नेहरूको “पहिलो पुनरुत्थान” हुनेछ तर बाँकी मानिसजातिको लागि कस्तो आशा छ?—प्रकाश २०:६.

१९. “उत्तम पुनरुत्थान[बाट]” कसै-कसैले कसरी लाभ उठाउँछन्‌?

१९ परमेश्‍वरका सेवकहरू एलिया र एलिशाको समयदेखि नै चमत्कारपूर्ण पुनरुत्थानमार्फत मानिसहरू फेरि जीवित भए। पावलले यसरी वर्णन गरे: “स्त्रीहरूले आफ्ना मरेकाहरूलाई पुनरुत्थानद्वारा जीवित पाए, र अरूहरूले बढ्‌ता उत्तम पुनरुत्थान प्राप्त गर्नालाई छुटकाराको इच्छा नगरेर शास्ती खाएर मरे।” हो, यी विश्‍वासी निष्ठावान्‌ व्यक्‍तिहरूले उत्सुकतापूर्वक यस्तो पुनरुत्थानको प्रतीक्षा गरे जुन केही वर्ष बाँचेर मर्नुपर्ने नभई अनन्त जीवनको प्रत्याशासहितको पुनरुत्थान थियो! त्यो साँच्चै एउटा “उत्तम पुनरुत्थान” हुनेछ।—हिब्रू ११:३५.

२०. यसपछिको लेखले कुन कुरा छलफल गर्नेछ?

२० यस दुष्ट रीतिरिवाजलाई यहोवाले विनाश गर्नुअघि मृत्युसम्मै विश्‍वासी रहेर हामी मऱ्‍यौं भने हामीसित “उत्तम पुनरुत्थान[को]” पक्का आशा हुनेछ र यो यस अर्थमा उत्तम पुनरुत्थान हो कि यसले अनन्त जीवनको आशा प्रदान गर्छ। येशूले यस्तो प्रतिज्ञा गर्नुभयो: “यसमा अचम्म नमान, किनभने बेला आउँछ, जब [“सम्झनाको,” NW ] चिहानमा हुनेहरू सबैले उसको सोर सुन्‍नेछन्‌ . . . [र] निस्किआउनेछन्‌।” (यूहन्‍ना ५:२८, २९) यसपछिको लेखले पुनरुत्थानको उद्देश्‍यबारे थप छलफल गर्नेछ। पुनरुत्थानको आशाले हामीलाई निष्ठावान्‌ हुन कसरी अझ सुदृढ पार्छ अनि आत्मत्यागी मनोभाव विकास गर्न कसरी मदत गर्छ भनेर त्यस लेखले बताउनेछ।

के तपाईंलाई याद छ?

• यहोवालाई किन “जीवितहरूका” परमेश्‍वर भनिएको छ?

• शिओलमा हुनेहरू कस्तो अवस्थामा छन्‌?

• गेहेन्‍नामा हुनेहरूलाई के हुनेछ?

• “उत्तम पुनरुत्थान[बाट]” कसै-कसैले कसरी लाभ उठाउनेछन्‌?

[पृष्ठ १५-मा भएको चित्र]

शिओलमा जानेहरू अब्राहामजस्तै पुनरुत्थान पर्खिरहेका छन्‌

[पृष्ठ १६-मा भएका चित्र

आदम, हव्वा, कयिन र यहूदा इस्करयोती किन गेहेन्‍नामा गए?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने