धर्मीहरूको पुनरुत्थान हुनेछ
“धर्मी र अधर्मीहरूको पुनरुत्थान हुन्छ भन्ने आशा परमेश्वरतर्फ राखेको छु।” —प्रेरित २४:१५.
१. आदम र हव्वाको पतनदेखि सारा मानवजातिले कुन परिस्थिति सामना गरेको छ?
“तेरो हातमा जे काम छ त्यो आफ्नो पूरा शक्तिले गर्, किनभने मृत्युमा, जहाँ तँ जानैपर्छ, त्यहाँ नता केही गर्ने, न विचार गर्ने, न समझ-शक्ति, न बुद्धिनै हुन्छ।” (उपदेशक ९:१०) हाम्रा प्रथम मातापिता आदम र हव्वाले पाप गरेदेखि मानवजातिको सबै पुस्ताले सामना गर्नु परेको परिस्थितिलाई बुद्धिमान राजा सुलेमानले यसप्रकार थोरै तर राम्रा शब्दहरूद्वारा वर्णन गर्छन्। धनी होस् या गरीब, राजा होस् या जनता, विश्वासी होस् या धोखेबाज, अन्ततः कसैलाई पनि मृत्युले छाडेको छैन। साँच्चै, “मृत्युले राज्य” गरेको छ।—रोमी ५:१७.
२. यस अन्तको समयमा केही विश्वासी जनहरू किन निरुत्साहित भएका हुन सक्छन्?
२ चिकित्सा विज्ञानमा भएको नवीनतम प्रगतिहरूको बावजूद मृत्युले अहिले पनि सबैमाथि राज गरिरहेको छ। यो कुनै अनौठो कुरा त होइन तर यस पुरानो शत्रु सामना गर्नुपर्दा केही व्यक्तिहरू निरुत्साहित भएका हुनसक्छन्। किन? कुरा के हो भने, सन् १९२० को दशकमा वाच टावर सोसाइटीले “अहिले बाँचिरहेका लाखौं मानिसहरू कहिल्यै मर्नेछैनन्” भन्ने समाचार घोषणा गरेको थियो। यी लाखौं को हुनेछन्? येशूले भेडा र बाख्राहरूको उदाहरणमा भन्नुभएका “भेड़ाहरू” हुनेछन्। (मत्ती २५:३१-४६) यी भेडाखाले मानिसहरू अन्तको समयतिर देखिनेछन् र तिनीहरूको आशा पार्थिव प्रमोदवनमा अनन्त जीवन हुनेछ भनी भविष्यवाणी गरिएको थियो। समय बित्दै जाँदा, यी “भेड़ाहरू[ले]” यहोवाका उद्देश्यहरूमा निभाउने भूमिकालाई परमेश्वरका जनहरूले प्रष्टसित बुझे। आखिरी दिनको दौडान यी आज्ञाकारी जनहरूलाई ढिट “बाख्राहरू [देखि]” छुट्याउनुपर्ने रहेछ र बाख्राहरूको नाशपछि तिनीहरूको निम्ति तयार पारिएको राज्यको पार्थिव क्षेत्रमा तिनीहरूले अधिकार गर्नेरहेछन् भनी बुझे।
भेडाखाले व्यक्तिहरू जम्मा गर्नु
३. सन् १९३५ देखि परमेश्वरका जनहरूले कुन काममा ध्यान केन्द्रित गरेका छन्?
३ सन् १९३५ को प्रारम्भदेखि ‘विश्वासी दासले’ यी “भेड़ाहरू[लाई]” खोजेर यहोवाको संगठनभित्र ल्याउनेतर्फ ध्यान केन्द्रित गरेको छ। (मत्ती २४:४५; यूहन्ना १०:१६) येशू अहिले स्वर्गीय राज्यमा शासन गर्दै हुनुहुन्छ र यस दुष्ट रीतिरिवाजलाई नष्ट गरेर धार्मिकताले बास गर्ने नयाँ संसार ल्याउने समय नजिकै छ भनी यी शिक्षणीय मसीहीहरूले बुझेका छन्। (२ पत्रुस ३:१३; प्रकाश १२:१०) त्यस नयाँ संसारमा यशैयाका यी हृदयग्राही शब्दहरू पूरा हुनेछन्: “उहाँले मृत्युलाई सदाको निम्ति निल्नुभएको छ।”—यशैया २५:८.
४. आरमागेडोनमा यहोवाको सार्वभौमिकता उच्च पारिएको हेर्न उत्सुकतापूर्वक प्रतीक्षा गरे तापनि अरू भेडाका थुप्रैलाई के भएको छ?
४ शैतानी पुरानो रीतिरिवाजको नाश अत्यन्त नजिक छ। त्यसकारण भेडाखाले मसीहीहरू संसारको अन्तिम संकष्टको दौडान यहोवाको सार्वभौमिकता उच्च पारिएको नहेरुन्जेल जीवित रहन साह्रै मन पराउँछन्। (प्रकाश १९:१-३, १९-२१) तर धेरैले त्यस्तो मौका पाएनन्। कहिल्यै नमर्ने “लाखौं[को]” समूहमा आफू पर्ने आशा भएका थुप्रै व्यक्तिहरू साँच्चै मरे। तिनीहरूमध्ये कोही जेल, यातना शिविर वा धार्मिक हठधर्मीहरूको हातबाट सत्यका लागि शहीद भए। अरू चाहिं दुर्घटना वा रोग र वृद्धावस्थाजस्ता तथाकथित स्वाभाविक कारणहरूले मरेका छन्। (भजनसंग्रह ९०:९, १०; उपदेशक ९:११) स्पष्ट छ, अन्त आउनुअघि अरू धेरै व्यक्तिहरू मर्नेछन्। धार्मिकताले बास गर्ने नयाँ संसारको पूर्ति यस्ता व्यक्तिहरूले कसरी देख्नेछन्?
पुनरुत्थानको आशा
५, ६. पार्थिव आशा भएका व्यक्तिहरू आरमागेडोनअघि नै मरे भने तिनीहरूसमक्ष कस्तो भविष्य हुन्छ?
५ रोमी बडा हाकिम फेलिक्ससमक्ष बोल्दा प्रेरित पावलले यस प्रश्नको जवाफ दिए। प्रेरित २४:१५ मा रेकर्ड गरिएअनुसार पावलले निडरतापूर्वक यसो भने: “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ भन्ने आशा परमेश्वरतर्फ राखेको छु।” पुनरुत्थानको आशाले हामीलाई कठिनभन्दा कठिन कष्ट सामना गर्ने साहस दिन्छ। त्यस्तो आशा भएकोले हाम्रा प्रिय मित्रहरू बिमारीको कारण मर्ने निश्चित हुँदा पनि तिनीहरू पूर्णतया निराश भने हुँदैनन्। मरिहाले तापनि आफ्नो विश्वासीलोपनको इनाम पाउनेछन् भनी तिनीहरूलाई थाहा छ। पुनरुत्थानकै आशाको कारण हाम्रा साहसी भाइबहिनीहरू यस कुरामा निश्चिन्त छन्, आफूलाई सताउने व्यक्तिहरूको हातबाट मृत्युको सामना गर्नु परे तापनि ती सतावट दिनेहरू कुनै पनि हालतमा विजयी हुन पाउनेछैनन्। (मत्ती १०:२८) मण्डलीमा कसैको मृत्यु हुँदा हामी दुःखी हुन्छौं। तर यदि त्यस व्यक्ति अरू भेडामध्ये एक हुन् र हाम्रो त्यस सँगी विश्वासी अन्तसम्मै विश्वासी साबित भएका छन् भने परमेश्वरको राज्यबारे आश्वस्त भएर अहिले अचेत अवस्थामा रहेकोमा हामी हर्षित हुन्छौं।—१ थिस्सलोनिकी ४:१३.
६ हो, पुनरुत्थानको आशा हाम्रो विश्वासको अत्यावश्यक भाग हो। यद्यपि, पुनरुत्थानमाथि हाम्रो विश्वास किन यति बलियो छ? अनि क-कसले त्यस्तो आशा राख्छन्?
७. पुनरुत्थान भनेको के हो र यसको निश्चितताबारे बताउने केही शास्त्रपदहरू कुन कुन हुन्?
७ “पुनरुत्थान” शब्दका लागि चलाइने युनानी शब्द अनासतासिस-को शाब्दिक अर्थ “उठ्नु” हो। यसले मुख्यतः मृत्युबाट उठेर आउनुलाई संकेत गर्छ। तर चाखलाग्दो कुरा, हिब्रू शास्त्रमा “पुनरुत्थान” शब्द प्रयोग नगरिए तापनि पुनरुत्थानको आशा भने स्पष्ट रूपले प्रकट गरिएको पाइन्छ। उदाहरणको लागि, आफ्नो कष्टको समयमा अय्यूबले बोलेका यी शब्दहरूमा त्यस किसिमको आशा झल्किन्छ: “तपाईंले मलाई पातालमा लुकाउनुभएता, . . . मेरो समयको सीमा तोकिदिएर मलाई सम्झनुभएता हुनेथियो!” (अय्यूब १४:१३) त्यस्तैगरि होशे १३:१४ मा हामी यस्तो लेखिएको पाउँछौं: “के म तिनीहरूलाई पातालको शक्तिदेखि छुटाऊँ? के म तिनीहरूलाई मृत्युदेखि मुक्त गरुँ? ए मृत्यु, तेरो विध्वंसक प्रकोप कहाँ छ, ए चिहान्, तेरो नाश गर्ने शक्ति कहाँ छ?” प्रेरित पावलले १ कोरिन्थी १५:५५ मा यी शब्दहरू उद्धरण गरे अनि पुनरुत्थानद्वारा मृत्युमाथि विजय प्राप्त हुन्छ भनी देखाए। (निस्सन्देह, त्यस पदमा पावलले स्वर्गीय पुनरुत्थानबारे कुरा गरिरहेका थिए।)
विश्वासीहरू “धर्मी ठहरिएका”
८, ९. (क) धर्मीहरूको पुनरुत्थानमा असिद्ध मानिसहरू कसरी सहभागी हुन सक्छन्? (ख) मृत्युद्वारा अन्त नहुने जीवनको आशाको आधार के हो?
८ धर्मी र अधर्मीहरूको पुनरुत्थान हुनेछ भनेर अनुच्छेद ५ मा उल्लेख गरिएअनुसार पावलले फेलिक्ससमक्ष आफ्नो बयानमा भने। फेरि बिउँताइने यी धर्मीहरू को हुन्? वास्तवमा भन्ने हो भने, कुनै मानिस स्वभाविकतः धर्मी हुँदैन। जन्मैदेखि हामी सबै पापी छौं र जीवनभर हामी पाप गरिरहन्छौं। यी दुई कारणको लागि हामी मृत्युको योग्य छौं। (रोमी ५:१२; ६:२३) तर “धर्मी ठहरिएका” भन्ने शब्द हामी बाइबलमा पाउँछौं। (रोमी ३:२८) यसले त्यस्ता मानिसहरूलाई देखाउँछ जो असिद्ध छन्, तर जसको पाप यहोवाले क्षमा गर्नुभएको छ।
९ यहाँ अभिव्यक्त गरिएको शब्द मुख्यतः स्वर्गीय आशा भएका अभिषिक्त मसीहीहरूको सम्बन्धमा प्रयोग गरिएको छ। रोमी ५:१ मा प्रेरित पावल यसो भन्छन्: “यसैकारण विश्वासबाट धर्मी ठहरिएका भएर, हाम्रा प्रभु येशू ख्रीष्टद्वारा, हामी परमेश्वरमा मिलाप राखौं।” आफ्नो विश्वासको कारण सबै अभिषिक्त मसीहीहरू धर्मी ठहराइएका छन्। तर कसमा विश्वास राखेको कारण? त्यो विश्वास येशू ख्रीष्टमाथि राखिएको विश्वास हो भनेर रोमीको पुस्तकमा निकै विस्तृत वर्णनका साथ पावलले बताएका छन्। (रोमी १०:४, ९, १०) येशू सिद्ध व्यक्तिको रूपमा मर्नुभयो। त्यसपछि मृत्युबाट उहाँको पुनरुत्थान भयो। अनि हाम्रो निम्ति बलिदान दिनुभएको मानव शरीरको मूल्य चढाउन उहाँ स्वर्ग जानुभयो। (हिब्रू ७:२६, २७; ९:११, १२) यहोवाले त्यस बलिदानलाई स्वीकार्नु हुँदा पाप र मृत्युको दासत्वबाट येशूले वास्तवमा मानवजातिलाई किन्नुभयो। यो प्रबन्धमा विश्वास राख्नेहरूले यसबाट निकै लाभ उठाउँछन्। (१ कोरिन्थी १५:४५) यस आधारमा विश्वासी पुरुष तथा स्त्रीहरूले त्यस्तो जीवन प्राप्त गर्ने आशा पाएका छन्, जुन जीवनलाई हाम्रो निर्दयी शत्रु, मृत्युले अन्त गर्नेछैन।—यूहन्ना ३:१६.
१०, ११. (क) विश्वासी अभिषिक्त मसीहीहरू कस्तो पुनरुत्थानको प्रतीक्षा गर्छन्? (ख) मसीही पूर्व उपासकहरूले कस्तो पुनरुत्थानको आशा गर्थे?
१० येशू मसीहले दिनुभएको छुटकाराको बलिदानकै कारण धर्मी ठहरिएका विश्वासी अभिषिक्त जनहरूले उहाँजस्तै अमर आत्मिक प्राणीको रूपमा पुनरुत्थान हुने निश्चित आशा पाएका छन्। (प्रकाश २:१०) प्रकाश २०:६ मा तिनीहरूको पुनरुत्थानबारे उल्लेख गरिएको पाइन्छ। त्यहाँ यसो भनिएको छ: “पहिलो पुनरुत्थानमा भाग पाउने धन्य र पवित्र हो! यिनीहरूमाथि दोस्रो मृत्युको शक्ति हुँदैन तर तिनीहरू परमेश्वर र खीष्टका पूजाहारी भएर उहाँसँग एक हजार वर्षसम्म राज्य गर्नेछन्।” यो स्वर्गीय पुनरुत्थान हो। यद्यपि स्मरण रहोस्, बाइबलले यसलाई “पहिलो पुनरुत्थान” भनेको छ। यसको अर्थ अझ अरू थुप्रै मानिसहरू पुनरुत्थान हुनेछन्।
११ पावलले हिब्रू ११ अध्यायमा मसीही पूर्व विश्वासी सेवकहरूको लामो सूची उल्लेख गरेका छन् र तिनीहरूले यहोवा परमेश्वरमाथि बलियो विश्वास राखे। पुनरुत्थानमाथि तिनीहरूको पनि विश्वास थियो। सोही अध्यायको ३५ पदमा इस्राएलको इतिहासमा भएका चमत्कारपूर्ण पुनरुत्थानहरूबारे पावल बताउँछन्। तिनी यसो भन्छन्: “स्त्रीहरूले आफ्ना मरेकाहरूलाई पुनरुत्थानद्वारा जीवित पाए, र अरूहरूले बढ़ता उत्तम पुनरुत्थान प्राप्त गर्नालाई छुटकाराको इच्छा नगरेर शास्ती खाएर मरे।” पुरातन समयका ती विश्वासी साक्षीहरूले एलिया र एलिशाले गरेकोभन्दा उत्तम पुनरुत्थानको आशा गर्न सक्थे। (१ राजा १७:१७-२२; २ राजा ४:३२-३७; १३:२०, २१) तिनीहरूको आशा त्यस्तो संसारमा पुनरुत्थान हुनु थियो जहाँ आफ्नो विश्वासको खातिर परमेश्वरको कुनै सेवक सताइने छैन र कुनै स्त्रीले आफ्नो प्रियजनलाई मृत्युको कारण गुमाउनु पर्ने छैन। हो, जुन नयाँ संसारको हामी आशा गर्छौं, त्यही संसारमा मृत्युबाट बिउँतने तिनीहरूको आशा थियो। (यशैया ६५:१७-२५) नयाँ संसारबारे हामीलाई थाहा भए जति कुराहरू यहोवाले तिनीहरूलाई प्रकट गर्नुभएको थिएन। तापनि त्यो नयाँ संसार आउँदैछ भनी तिनीहरूलाई थाहा थियो र तिनीहरू त्यहाँ बाँच्न चाहन्थे।
पार्थिव पुनरुत्थान
१२. के मसीही पूर्व विश्वासी जनहरू धर्मी ठहरिएका थिए? वर्णन गर्नुहोस्।
१२ नयाँ संसारमा ती मसीही पूर्व विश्वासी पुरुष तथा स्त्रीहरू फेरि बिउँतिएर आउनुलाई के हामी धर्मीहरूको पुनरुत्थानको भाग भन्न सक्छौं? निस्सन्देह सक्छौं किनभने तिनीहरूलाई बाइबलले धर्मी भनी सम्बोधन गर्छ। उदाहरणका लागि, धर्मी ठहरिएका पुरातन पुरुष तथा स्त्रीहरूबारे चेला याकूब उल्लेख गर्छन्। धर्मी पुरुष हिब्रू जातिको पूर्वज अब्राहाम थिए। तिनको सम्बन्धमा हामी यस्तो लेखिएको पाउँछौं: “‘अब्राहामले परमेश्वरमा विश्वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो, र उनी परमेश्वरको मित्र कहलिए।’” त्यस स्त्री गैरइस्राएली राहाब थिई, जसले यहोवामाथि ठूलो विश्वास प्रदर्शन गरी र पछि गएर हिब्रू राष्ट्रको सदस्य भई। (याकूब २:२३-२५) यसप्रकार यहोवा तथा उहाँका प्रतिज्ञाहरूमाथि बलियो विश्वास राख्ने अनि मृत्युसम्मै विश्वासी रहने पुरातन समयका पुरुष तथा स्त्रीहरू आफ्नो विश्वासको आधारमा यहोवाद्वारा धर्मी ठहरिए। निस्सन्देह, तिनीहरू ‘धर्मीहरूको पुनरुत्थानमा’ सहभागी हुनेछन्।
१३, १४. (क) पार्थिव आशा भएका मसीहीहरू धर्मी ठहरिन सक्छन् भनेर हामी कसरी थाहा पाउन सक्छौं? (ख) तिनीहरूका लागि यसको अर्थ के हो?
१३ तथापि, आज आफूलाई यहोवाप्रति समर्पण गर्ने र अन्तको समयमा विश्वासी भएर मर्ने पार्थिव आशा राख्ने भेडाखाले व्यक्तिहरूबारे के भन्न सकिन्छ? के तिनीहरूले धर्मीहरूको पुनरुत्थानमा भाग लिनेछन्? लिनेछन् जस्तो देखिन्छ। प्रेरित यूहन्नाले त्यस्ता विश्वासी जनहरूको ठूलो भीड दर्शनमा देखेका थिए। यी व्यक्तिहरूलाई तिनले कसरी वर्णन गर्छन् याद गर्नुहोस्: “यी कुरापछि हेर, कसैले गन्न नसक्ने हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड़, सिंहासन र थुमाको अगाड़ि सेता लुगा लगाएर हातमा खजूरका हाँगाहरू लिएर उभिरहेका मैले देखें, र ठूलो सोरले यसो भनेर ती कराउँदा रहेछन्, ‘सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्वर र थुमामा मुक्ति छ।’”—प्रकाश ७:९, १०.
१४ याद गर्नुहोस्, यी नम्र व्यक्तिहरू आफ्नो मुक्तिमा विश्वस्त छन् र यसको श्रेय यहोवा परमेश्वर अनि येशू अर्थात् “थुमा[लाई]” दिन्छन्। यसबाहेक सेता लुगा लगाएर तिनीहरू यहोवा र थुमासमक्ष खडा भएका छन्। तिनीहरूले किन सेता लुगा लगाएका छन्? स्वर्गीय प्राणीले यूहन्नालाई यसो भन्छ: “तिनीहरूले आफ्ना आफ्ना लुगाहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्।” (प्रकाश ७:१४) बाइबलमा सेतो रंग शुद्धता र धार्मिकताको प्रतीक हो। (भजनसंग्रह ५१:७; दानियल १२:१०; प्रकाश १९:८) ठूलो भीडले सेतो लुगा लगाएको देख्नुको अर्थ तिनीहरूलाई यहोवाले धर्मी ठहराउनुभएको छ भन्ने बुझिन्छ। त्यो कसरी सम्भव छ? त्यो सम्भव छ किनभने तिनीहरूले लाक्षणिक अर्थमा आफ्नो लुगा थुमाको रगतमा धोएका छन्। येशू ख्रीष्टले बगाउनु भएको रगतमा तिनीहरूले विश्वास राखेकोले तिनीहरूलाई महा संकष्ट पार गर्ने आशा भएका परमेश्वरका मित्रहरूको रूपमा धर्मी ठहराइन्छ। यसर्थ, महा संकष्ट आउनुअघि मर्ने “ठूलो भीड़[को]” कुनै पनि विश्वासी समर्पित मसीही, धर्मीहरूको पार्थिव पुनरुत्थानमा सहभागी हुन निश्चित हुनसक्छन्।
१५. धर्मी र अधर्मी दुवैको पुनरुत्थान हुने भएकोले धर्मीहरूको पुनरुत्थानको कस्तो फाइदा छ?
१५ त्यो पुनरुत्थानबारे हामी प्रकाश २० अध्याय १३ पदमा यसरी वर्णन गरिएको पाउँछौं: “अनि समुद्रले त्यसमा भएका मुर्दाहरूलाई दिइहाल्यो, औ मृत्यु र पातालले पनि तिनीहरूमा भएका मुर्दाहरूलाई दिइहाले। औ तिनीहरू प्रत्येकको आफ्नो आफ्नो कामअनुसार इन्साफ भयो।” यसप्रकार यहोवाको महान हजार वर्षीय न्यायको दिनमा परमेश्वरको स्मरणमा भएजति सबै अर्थात् धर्मी र अधर्मी दुवैको पुनरुत्थान हुनेछ। (प्रेरित १७:३१) यद्यपि, धर्मीहरूको लागि भने कति असल हुनेछ! किनभने तिनीहरूले विश्वासको जीवन बिताइसकेका छन्। तिनीहरूले यहोवासित घनिष्ठसम्बन्ध गाँसिसकेका छन् र यहोवाले आफ्ना उद्देश्यहरू पूरा गर्नुहुनेछ भनी विश्वस्त भइसकेका छन्। यहोवाले वंशबारे गर्नुभएका प्रतिज्ञाहरू कसरी पूरा भए भनी जान्न उत्सुकतासाथ मसीही युगअघिका धर्मी साक्षीहरू मृत्युबाट बिउँतनेछन्। (१ पत्रुस १:१०-१२) हाम्रो समयमा यहोवाले धर्मी ठहराउनुभएका अरू भेडाका सदस्यहरू यस रीतिरिवाजमा आफूले सुसमाचार प्रचार गर्दा बताएको प्रमोदवनरूपी पृथ्वी बसालिएको हेर्न उत्सुकतासाथ चिहानबाट बिउँतनेछन्। त्यो कस्तो आनन्दित समय हुनेछ!
१६. हाम्रो समयमा मर्नेहरूको पुनरुत्थान त्यस न्यायको दिनमा कति बेला हुनेछ?
१६ शैतानी रीतिरिवाजका यी अन्तिम वर्षहरूमा विश्वासी भई मर्नेहरूको पुनरुत्थान त्यस हजार वर्षीय राज्यमा कति बेला हुनेछ? बाइबलले यसबारे बताउँदैन। प्रारम्भिक पुस्ताहरूलाई स्वागत गर्ने काममा आरमागेडोन पार तर्ने ठूलो भीडलाई यस काममा सहयोग गर्न धर्मी ठहरिएका र अहिले हाम्रो समयमा मर्नेहरूको चाँडै नै पुनरुत्थान हुनु के तर्कपूर्ण होइन र? अवश्य हो!
सान्त्वना प्रदान गर्ने आशा
१७, १८. (क) पुनरुत्थानको आशाले कस्तो सान्त्वना प्रदान गर्छ? (ख) यहोवाबारे कुन कुरा बताउन हामी उत्प्रेरित हुन्छौं?
१७ पुनरुत्थानको आशाले सबै मसीहीहरूलाई बल र सान्त्वना प्रदान गर्छ। हामी विश्वासी भइरह्यौं भने कुनै अप्रत्याशित घटना वा शत्रुले हाम्रो इनाम खोस्न सक्दैन! उदाहरणको लागि, १९९२ यरबुक अफ जेहोभाज् विट्नेसेज्, (१९९२ यहोवाका साक्षीहरूको वार्षिक पुस्तक) पृष्ठ १७७ मा आफ्नो विश्वासको सम्झौता गर्नुभन्दा मर्न तयार इथियोपियाका विश्वासी मसीहीहरूको चित्र छापिएको छ। तिनीहरूको चित्रमुनि यस्तो लेखिएको छ: “पुनरुत्थानपश्चात् हामीले भेट्ने आशा गरेका व्यक्तिहरू।” विश्वासको खातिर मृत्यु सहेका यी र अनगिन्ती विश्वासी साक्षीहरूसित परिचित हुने मौका पाउनु कति राम्रो सुअवसर हुनेछ!
१८ वृद्धावस्था अथवा अशक्तताले गर्दा महा संकष्ट पार तर्नुअघि नै मर्ने हाम्रा प्रिय जनहरू वा मित्रहरूबारे के भन्न सक्छौं? तिनीहरू विश्वासी रहेमा पुनरुत्थानको आशाले गर्दा तिनीहरूसमक्ष एउटा उज्ज्वल भविष्य छ। अनि येशूले दिनुभएको छुटकाराको बलिदानमा हामीले साहसीपूर्वक विश्वास गऱ्यौं भने हामीले पनि उज्ज्वल भविष्य पाउनेछौं। किन? किनभने पावलजस्तै हामी पनि “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान[माथि]” आशा राख्छौं। यस्तो आशाको लागि हामी सहृदयसाथ यहोवालाई धन्यवाद चढाउँछौं। निस्सन्देह त्यस्तो आशाले हामीलाई भजनरचयिताका यी शब्दहरू गुञ्जायमान गर्न प्रेरित गर्छ: “[परमेश्वरको] महिमाको वर्णन जाति जातिका बीचमा गर। सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरू वर्णन गर। किनकि परमप्रभु महान् हुनुहुन्छ, उच्च प्रशंसा गरिने योग्यको हुनुहुन्छ।”—भजनसंग्रह ९६:३, ४.
के तपाईं बुझाउन सक्नुहुन्छ?
◻ पार्थिव पुनरुत्थानमा हाम्रो आशा पक्का गर्न कुन शास्त्रपदहरूले मदत गर्छ?
◻ अहिले कुन आधारमा मसीहीहरू धर्मी ठहरिएका छन्?
◻ पुनरुत्थानको आशाले हामीलाई कसरी साहस र कटिबद्धता प्रदान गर्छ?
[पृष्ठ ९-मा भएको चित्र]
पावलजस्तै अभिषिक्त मसीहीहरू स्वर्गीय पुनरुत्थानको आशा गर्छन्