विश्वास गुमाउनदेखि होसियार
“हे भाइ हो, होशियार बस, नत्रता जीवित परमेश्वरबाट पतित हुनालाई [ “टाढिएर,” NW] तिमीहरूमा कसैको अविश्वासको दुष्ट हृदय हुनेछ।”—हिब्रू ३:१२.
१. पावलले हिब्रूहरूलाई लेखेका शब्दहरूले हाम्रो ध्यान, स्तब्ध गराउने कुन चाहिं वास्तविकतातिर खिंच्छ?
कत्ति डरलाग्दो—कुनै समय यहोवासितको व्यक्तिगत सम्बन्धको आनन्द उठाइरहेका मानिसहरूले “दुष्ट हृदय” बनाउनसक्ने र ‘जीवित परमेश्वरबाट पतित हुनसक्ने’ रहेछन्! कस्तो भयानक चेताउनी! प्रेरित पावलका यी शब्दहरू अविश्वासीहरूका लागि होइनन् तर येशू ख्रीष्टको छुटकाराको बलिदानमाथिको विश्वासको आधारमा यहोवालाई आ-आफ्नो जीवन समर्पण गर्ने मानिसहरूका निम्ति हुन्।
२. हामीले कुन प्रश्नहरू विचार गर्नु आवश्यक छ?
२ यस्तो आशिषित् आध्यात्मिक अवस्थामा हुने कुनै व्यक्तिले कसरी “अविश्वासको दुष्ट हृदय” बनाउनसक्छ? परमेश्वरको प्रेम र अपार करुणा कस्तो हुन्छ भनी अनुभव गरिसक्नेहरू उहाँदेखि जानाजानी टाढा कसरी हुनसक्छन्? अनि के हामीलाई पनि त्यस्तै हुनसक्छ? यी प्रश्नहरू गम्भीर छन् र यसले यो चेताउनी दिनुको कारण बुझ्नुपर्ने आवश्यकता पनि बुझाउँछ।—१ कोरिन्थी १०:११.
किन यस्तो सशक्त सल्लाह?
३. प्रथम शताब्दीताक यरूशलेम र वरपरका मसीहीहरूलाई असर गरिरहेको अवस्था वर्णन गर्नुहोस्।
३ पावलले यहूदीयाका हिब्रू मसीहीहरूलाई यो पत्र सा.यु. ६१ तिर लेखेका हुनुपर्छ। त्यतिखेर “यरूशलेम शहरलगायत प्रान्तभरमै कुनै पनि शालीन, इमानदार मानिस सुरक्षित थिएन वा शान्ति थिएन” भनी एक इतिहासकार टिप्पणी गर्छन्। शोषक रोमी सेनाहरूको उपस्थिति, रोमी विरोधी हठधर्मी यहूदीहरूको शेखी र मौकाको फाइदा उठाउने चोरहरूको अपराधिक गतिविधिले गर्दा अराजकता र हिंसा झन् झन् उम्लिरहेको थियो। यस्ता कुराहरूमा बिथोलित नहुन निकै यत्न गरिरहेका मसीहीहरूलाई यी सब कुराहरूले निकै गाह्रो बनाइरहेका थिए। (१ तिमोथी २:१, २) वास्तवमा, तटस्थताको कारण कसै कसैले तिनीहरूलाई असामाजिक र अराजक तत्त्वहरूसमेत ठाने। मसीहीहरू अक्सर दुर्व्यवहारका शिकार हुन्थे र तिनीहरूका सरसम्पत्ति पनि खोसिन्थे।—हिब्रू १०:३२-३४.
४. हिब्रू मसीहीहरूले कस्ता धार्मिक दबाबहरू भोग्नुपरेका थिए?
४ हिब्रू मसीहीहरूले भीषण धार्मिक दबाब पनि खप्नुपरेको थियो। येशूका विश्वासी चेलाहरूको जोस र मसीही मण्डलीको उत्तरोत्तर वृद्धिले गर्दा यहूदीहरू, त्यसमा पनि विशेषगरि तिनीहरूका धर्मगुरुहरू ईर्ष्यालु अनि क्रूद्ध थिए। येशू ख्रीष्टका अनुयायीहरूलाई हैरान पार्न र सताउन तिनीहरू कुनै कसर बाँकी राख्न चाहँदैनथे।a (प्रेरित ६:८-१४; २१:२७-३०; २३:१२, १३; २४:१-९) केही मसीहीहरूले प्रत्यक्ष कुनै सतावट भोग्नु नपरे तापनि तिनीहरू यहूदीहरूका हेला र गिल्लाका पात्र भए। यहूदी धर्मको जस्तो रवाफ, मन्दिर, पूजाहारी र चाडपर्व नभएको, औपचारिक बलिदानहरू चढाउनु नपर्ने अनि त्यस्तै अरू कमीहरू भएको भर्खरको चल्लो भन्दै मसीही धर्मलाई तुच्छ ठानिन्थ्यो। तिनीहरूका गुरु येशू अपराधी ठहराएर मारिएका थिए। अतः आफ्नो धर्म पालन गर्न मसीहीहरूसित विश्वास, साहस र धीरज हुनैपर्थ्यो।
५. त्यतिखेर यहूदीयाका मसीहीहरू आध्यात्मिक तवरमा जागा रहनु किन नितान्त आवश्यक थियो?
५ सबैभन्दा ठूलो कुरा, हिब्रू मसीहीहरू त्यस राष्ट्रको इतिहासको निर्णायक समयमा बाँचिरहेका थिए। तिनीहरूका प्रभु येशू ख्रीष्टले भन्नुभएअनुसार यहूदी रीतिरिवाजको अन्त चिनाउने थुप्रै कुराहरू धमाधम हुन थालिसकेका थिए। अन्त त्यति टाढा थिएन। जीवित रहन मसीहीहरू आध्यात्मिक तवरमा जागा रहनुपर्थ्यो र ‘पहाडहरूतिर भाग्न’ तयार हुनुपर्थ्यो। (मत्ती २४:६, १५, १६) येशूले निर्देशन दिनुभएअनुसार तुरुन्तै काममा परिणत गरिहाल्ने विश्वास र आध्यात्मिक शक्ति के तिनीहरूसित थियो? यहाँनेर अलिक शंका गर्ने ठाउँ थियो।
६. यहूदीयाका मसीहीहरूलाई तुरुन्तातुरुन्तै के चाहिएको थियो?
६ सम्पूर्ण यहूदी रीतिरिवाज विघटित हुनुअघिको दशकमा स्पष्टतः हिब्रू मसीहीहरूले मण्डलीभित्र र बाहिर दुवैतिरबाट भीषण सतावट सहनुपऱ्यो। तिनीहरूलाई प्रोत्साहन चाहिएको थियो। तर तिनीहरूलाई आफूले छानेको मार्ग सही थियो र बिनाकारण धीरजी भएर दुःख भोगिरहेका होइनन् भन्ने कुरा बुझ्न सल्लाह र निर्देशन पनि चाहिएको थियो। खुसीको कुरा, पावलले समयमै तिनीहरूलाई सहयोग गरे।
७. पावलले हिब्रू मसीहीहरूलाई लेखेका कुरामा हामीले किन चासो दिनुपर्छ?
७ पावलले हिब्रू मसीहीहरूलाई लेखेका कुराहरू हाम्रोनिम्ति पनि असीम चासोको विषय हुनुपर्छ। किन? किनकि हामी पनि तिनीहरूको जस्तै समयमा बाँचिरहेका छौं। हामी दिनहुँ शैतानको संसारले ल्याउने दबाबहरूको सामना गर्छौं। (१ यूहन्ना ५:१९) आखिरी दिन र “जगत्को अन्तको” सम्बन्धमा येशू र उहाँका प्रेरितहरूले गरेका भविष्यवाणीहरू हाम्रा आँखाअघि पूरा भइरहेका छन्। (मत्ती २४:३-१४; २ तिमोथी ३:१-५; २ पत्रुस ३:३, ४; प्रकाश ६:१-८) यसबाहेक, अहिले “आउनलागेका कुराहरूबाट उम्कन” हामी सबै आध्यात्मिक तवरमा जागा रहनु आवश्यक छ।—लूका २१:३६.
मोशाभन्दा पनि महान्
८. हिब्रू ३:१ मा पावल आफ्ना सँगी मसीहीहरूलाई के गर्न आग्रह गर्दैथिए?
८ महत्त्वपूर्ण बुँदालाई जोड दिंदै पावलले लेखे: “प्रेरित र प्रधान पूजाहारी, अर्थात् येशूलाई विचार गर।” (हिब्रू ३:१) “विचार गर” भन्नुको अर्थ “राम्ररी ठम्याउनु . . . , पूर्णतया बुझ्नु, नजिकैबाट विचार गर्नु” हो। (भाइन्स एक्सपोजिटरी डिक्सनरी अफ ओल्ड एण्ड न्यु टेस्टामेन्ट वर्डस) यसरी पावलले आफ्ना सँगी विश्वासीहरूलाई येशूले तिनीहरूको विश्वास र छुटकाराको निम्ति निर्वाह गर्नुभएको भूमिकामा साँचो मूल्यांकन गर्न प्रयत्नरत हुन आग्रह गरिरहेका थिए। यसो गर्नाले विश्वासमा अटल रहने तिनीहरूको दृढता अझ पक्का हुने थियो। त्यसो भए, येशूको भूमिका के थियो र हामीले किन उहाँलाई “विचार” गर्नुपर्छ?
९. पावलले येशूलाई किन “प्रेरित” तथा “प्रधान पूजाहारी” भनेर सम्बोधन गरे?
९ पावलले येशूलाई “प्रेरित” तथा “प्रधान पूजाहारी” भनेर सम्बोधन गरे। “प्रेरित” भनेको कसैले पठाएको व्यक्ति हो र यहाँ यो सन्दर्भमा परमेश्वरले मानिसजातिसित कुराकानी गर्ने माध्यम हो। “प्रधान पूजाहारी” चाहिं त्यस्तो माध्यम हो जसद्वारा मानवजातिले परमेश्वरसित सम्पर्क राख्नसक्छ। साँचो उपासनाका लागि यी दुई प्रबन्धहरू अत्यावश्यक छन् र येशू यी दुवैको मूर्त रूप हुनुहुन्थ्यो। उहाँ परमेश्वरबारे सही कुरा सिकाउन स्वर्गबाट पृथ्वीमा पठाइनुभएको व्यक्ति हुनुहुन्छ। (यूहन्ना १:१८; ३:१६; १४:६) येशू पाप क्षमा गर्नका लागि यहोवाले प्रबन्ध गर्नुभएको आत्मिक मन्दिरको प्रतिरूपक प्रधानपूजाहारी पनि हुनुहुन्छ। (हिब्रू ४:१४, १५; १ यूहन्ना २:१, २) येशू मार्फत पाउनसकिने आशिष्हरूको साँच्चै मूल्यांकन गऱ्यौं भने विश्वासमा अटल हुन साहस र दृढता पाउनेछौं।
१०. (क) यहूदी धर्मभन्दा मसीही धर्म ठूलो छ भन्ने कुरालाई बुझ्न पावलले हिब्रू मसीहीहरूलाई कसरी मदत गरे? (ख) आफ्नो बुँदालाई सबल पार्न पावलले कुन ध्रुव सत्य उल्लेख गरे?
१० पावलले मसीही विश्वासको महत्त्वमाथि जोड दिन येशूलाई यहूदीहरूले आफ्नो पूर्वजहरूमध्ये सबैभन्दा महान् अगमवक्ता ठानेका मोशासित तुलना गरे। येशू मोशाभन्दा पनि महान् हुनुहुन्छ भनेर हिब्रू मसीहीहरूले सम्पूर्ण हृदयदेखि बुझेका भए यहूदी धर्मभन्दा मसीही धर्म ठूलो छ भन्ने कुरामा शंका गर्नुपर्ने थिएन। मोशा परमेश्वरको “घराना” अर्थात् इस्राएल राष्ट्र वा मण्डलीको जिम्मेवारी सुम्पन्न योग्य ठहरिएको भए तापनि तिनी विश्वासी चाकर वा सेवक मात्र थिए भनेर पावलले औंल्याए। (गन्ती १२:७) तर, परमेश्वरका पुत्र येशू घरानाका मालिक हुनुहुन्थ्यो। (१ कोरिन्थी ११:३; हिब्रू ३:२, ३, ५) यस बुँदालाई सबल पार्न पावलले यो ध्रुव सत्य उल्लेख गरे: “हरेक घर कुनै नकुनै मानिसबाट बनिएको हुन्छ, तर सबै थोक बनाउने ता परमेश्वरनै हुनुहुन्छ।” (हिब्रू ३:४) सबैभन्दा महान् परमेश्वर हुनुहुन्छ भन्ने तथ्यलाई कसैले नकार्न सक्दैनथ्यो, किनकि उहाँ यावत् चीजका निर्माता अथवा सृष्टिकर्ता हुनुहुन्छ। त्यसो हो भने, परमेश्वरको सहकर्मीको नाताले येशू मोशालगायत सारा सृष्टिभन्दा महान् हुनैपर्छ भन्नु तार्किक छ।—हितोपदेश ८:३०; कलस्सी १:१५-१७.
११, १२. पावलले हिब्रू मसीहीहरूलाई “अन्तसम्मै” के ‘थामिराख’ भने र तिनको सल्लाह हामी कसरी प्रयोगमा ल्याउनसक्छौं?
११ वास्तवमा हिब्रू मसीहीहरू असाध्यै कृपापात्र थिए। तिनीहरू “स्वर्गीय बोलावटका सह-भागी” थिए र त्यो विशेषाधिकार यहूदी रीतिले दिनसक्ने कुनै पनि कुराभन्दा कता हो कता बहुमूल्य छ भनेर पावलले तिनीहरूलाई स्मरण गराए। (हिब्रू ३:१) पावलका शब्दहरूले ती अभिषिक्त मसीहीहरूलाई यहूदी सम्पदासित सम्बन्धित कुराहरू गुमाएकोले दुःखी होइन तर नयाँ हक पाउन लागेकोले पक्कै पनि कृतज्ञ बनाएको हुनुपर्छ। (फिलिप्पी ३:८) आफ्नो विशेषाधिकारलाई थामिराख्न र त्यसलाई हलका नठान्न आग्रह गर्दै पावलले भने: “ख्रीष्ट चाहिं परमेश्वरको घरमा पुत्रजस्तै भई विश्वासयोग्य हुनुहुन्थ्यो, र अन्तसम्मै हामीले हाम्रो साहस र आशाको घमण्डलाई थामिराख्यौं भनेता हामीनै उहाँको घर हौं।”—हिब्रू ३:६.
१२ हो, यहूदी रीतिरिवाजको सन्निकट अन्तबाट जोगिन हिब्रू मसीहीहरूले ईश्वरप्रदत्त आशालाई ‘अन्तसम्मै थामिराख्नु’ आवश्यक थियो। यस रीतिरिवाजको अन्त पार गर्न चाहन्छौं भने आज हामीले पनि त्यसै गर्नुपर्छ। (मत्ती २४:१३) जीवनका फिक्रीहरू, मानिसहरूको भावशून्यता वा हाम्रो आफ्नै असिद्ध झुकाउहरूलाई बहाना बनाएर परमेश्वरले गर्नुभएका प्रतिज्ञामाथिको हाम्रो विश्वासलाई ढलपल हुन दिनु हुँदैन। (लूका २१:१६-१९) हामी आफैलाई कसरी सुदृढ पार्नसक्छौं, त्यो थाह पाउन पावलले अझै के भने, आउनुहोस्, ध्यान देऔं।
“हृदय कठोर नपार”
१३. पावलले के चेताउनी दिए र तिनले भजन ९५ को प्रयोग कसरी गरे?
१३ हिब्रू मसीहीहरू कृपापात्र छन् भन्ने कुरा उल्लेख गरिसकेपछि पावलले यो चेताउनी दिए: “जसरी पवित्र आत्मा भन्नुहुन्छ, ‘आज तिमीहरूले उहाँको शब्द सुन्यौ भनेदेखि, रीस उठाएको दिनमा जस्तोगरी तिमीहरूका हृदय कठोर नपार, उजाड़-स्थानमा भएको परीक्षाको त्यस दिनजस्तै।’ ” (हिब्रू ३:७, ८) पावल भजन ९५ उद्धृत गरिरहेका थिए। त्यसैकारण, “पवित्र आत्मा भन्नुहुन्छ” भन्नसक्थे।b (भजन ९५:७, ८; प्रस्थान १७:१-७) धर्मशास्त्र परमेश्वरको पवित्र आत्माद्वारा प्रेरित भएको हो।—२ तिमोथी ३:१६.
१४. यहोवाले इस्राएलीहरूको खातिर गर्नुभएका कुराहरूप्रति तिनीहरूले कस्तो प्रतिक्रिया व्यक्त गरे र किन?
१४ मिश्रको दासत्वबाट छुटिसकेपछि इस्राएलीहरूले यहोवासित करारद्वारा सम्बन्ध गाँस्ने ठूलो सम्मान पाए। (प्रस्थान १९:४, ५; २४:७, ८) तथापि, परमेश्वरले तिनीहरूको खातिर गर्नुभएका कार्यहरूको मूल्यांकन गर्नुको साटो तिनीहरू बागी भए। (गन्ती १३:२५–१४:१०) यो कसरी हुनसक्थ्यो? पावलले यसको कारण औंल्याए: तिनीहरूको हृदय कठोर भएकोले गर्दा। तर संवेदनशील र परमेश्वरको वचन सहजै ग्रहण गर्ने हृदय कसरी कठोर हुनसक्छ? अनि यसबाट बच्न हामीले के गर्नैपर्छ?
१५. (क) विगत र वर्तमानमा पनि ‘परमेश्वरको शब्द’ कसरी सुनिएको छ? (ख) ‘परमेश्वरको शब्दको’ सन्दर्भमा हामीले आफैलाई कस्ता प्रश्नहरू सोध्नु आवश्यक छ?
१५ “तिमीहरूले उहाँको शब्द सुन्यौ भनेदेखि” भन्दै पावलले चेताउनी दिए। परमेश्वरले आफ्ना जनहरूसित मोशा र अन्य अगमवक्ताहरू मार्फत कुरा गर्नुभयो। त्यसपछि यहोवाले आफ्नो पुत्र येशू ख्रीष्ट मार्फत तिनीहरूसित कुरा गर्नुभयो। (हिब्रू १:१, २) आज हामीसित परमेश्वरको प्रेरित वचन, सम्पूर्ण पवित्र बाइबल छ। आध्यात्मिक भोजन “ठीक ठीक समयमा खान देओस् भनेर” येशूले हाम्रोनिम्ति प्रबन्ध गर्नुभएको “विश्वासी र बुद्धिमान दास” पनि हामीसित छ। (मत्ती २४:४५-४७) यसरी परमेश्वर अझै हामीसित कुरा गरिरहनुभएको छ। तर के हामीले सुनिरहेका छौं? उदाहरणका लागि, लुगाफाटा र श्रृंगार अथवा मनोरञ्जन तथा संगतिसम्बन्धी छनौटबारे दिइएको सल्लाहलाई कसरी स्वीकार्छौं? के हामी ‘सुन्छौ,’ अर्थात् सुनेको कुरालाई ध्यान दिएर पालन गर्छौं? हामी दिइएको सल्लाह पालन नगरी बहाना बनाउँछौं भने हामीले चालै नपाई हृदय कठोर पार्ने खतरामा जाक्किरहेका हुनेछौं।
१६. हाम्रो हृदय कठोर हुनसक्ने एउटा तरिका के हो?
१६ हामीले गर्नसक्ने र गर्नुपर्ने कुरालाई छल्न खोज्छौं भने पनि हाम्रो हृदय कठोर हुनसक्छ। (याकूब ४:१७) यहोवाले इस्राएलीहरूका निम्ति गर्नुभएको सब थोकको अलावा तिनीहरू विश्वासी भइरहन सकेनन्, तिनीहरू मोशा विरुद्ध खडा भए, कनानको नराम्रो रिपोर्टलाई विश्वास गर्न रुचाए तथा प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न इन्कार गरे। (गन्ती १४:१-४) त्यसैकारण, यहोवाले त्यो अविश्वासी पुस्ता नमरुञ्जेल ४० वर्षसम्म उजाडस्थानमा भौंतारिऊन् भन्ने फैसला गर्नुभयो। तिनीहरूदेखि वाक्क भएर परमेश्वरले भन्नुभयो: “ ‘तिनीहरूका हृदय सधैं बरालिन्छन्, र तिनीहरूले मेरा मार्गहरू चिनेनन्।’ मैले आफ्नो क्रोधमा शपथ खाएझैं, ‘मेरो विश्राममा तिनीहरू पस्नेछैनन्।’ ” (हिब्रू ३:९-११) के हामीले यसबाट केही पाठ सिक्नसक्छौं?
हाम्रोनिम्ति पाठ
१७. यहोवाका थुप्रै चमत्कारी कार्यहरू देख्दादेख्दै अनि उहाँका निर्णयहरू सुन्दासुन्दै पनि इस्राएलीहरूले कसरी विश्वास गुमाए?
१७ मिश्रबाट निस्केर आएका इस्राएली पुस्ताले यहोवाका थुप्रै चमत्कारी कार्यहरू आफ्नै आँखाले देखेका थिए, उहाँका निर्णयहरू आफ्नै कानले सुनेका थिए। तैपनि, प्रतिज्ञा गरिएको देशमा यहोवाले सकुशल पुऱ्याउन सक्नुहुन्छ भनी तिनीहरूले भरोसा गर्नसकेनन्। किन? यहोवाले भन्नुभयो, “तिनीहरूले मेरा मार्गहरू चिनेनन्।” यहोवाले भन्नु तथा गर्नुभएका कुराहरू तिनीहरूलाई थाह थियो तर उहाँले तिनीहरूको देखभाल गर्न सक्नुहुन्छ भनेर तिनीहरूले विश्वास र भरोसा गर्न सिकेनन्। तिनीहरू आफ्ना व्यक्तिगत आवश्यकता तथा चाहनाहरूमा यति बिघ्न डुबेका थिए कि परमेश्वरका काम र उद्देश्यतर्फ तिनीहरूको ध्यानै गएन। हो, तिनीहरूले परमेश्वरको प्रतिज्ञामा विश्वास गरिरहन सकेनन्।
१८. पावलअनुसार के गर्दा “अविश्वासको दुष्ट हृदय” हुन्छ?
१८ हिब्रूहरूलाई लेखिएका यी थप शब्दहरू आज हाम्रोनिम्ति पनि उत्तिकै अर्थपूर्ण छन्: “हे भाइ हो, होशियार बस, नत्रता जीवित परमेश्वरबाट पतित हुनालाई [“टाढिएर,” NW] तिमीहरूमा कसैको अविश्वासको दुष्ट हृदय हुनेछ।” (हिब्रू ३:१२) “अविश्वासको दुष्ट हृदय” हुनुको मूल कारण “जीवित परमेश्वरबाट पतित हुनालाई [“टाढिएर,” NW]” हो भनेर पावलले औंल्याए। त्यस पत्रको सुरुमा तिनले लापरवाहीको कारण “तर्केर जाने” विषयमा बताएका थिए। (हिब्रू २:१) तथापि, “टाढिएर” भनी अनुवाद गरिएको हिब्रू शब्दको अर्थ “अलग्गिनु” हो र यो “धर्मत्याग”-सित सम्बन्धित छ। यसले जानाजानी र थाह हुँदा हुँदै तिरस्कृत भावसहित हट्नु, पन्छिनु र छुट्नु भन्ने बुझाउँछ।
१९. सल्लाह पालन नगर्दा त्यसको नतिजा कसरी गम्भीर हुनसक्छ? उदाहरण दिनुहोस्।
१९ त्यसकारण, यसबाट सिक्नसकिने पाठ के हो भने आफ्नो वचन र विश्वासी दासवर्ग मार्फत यहोवाले दिनुहुने सल्लाहलाई बेवास्ता गर्दै ‘उहाँको शब्द सुन्ने’ बानी हामीमा हट्दै गयो भने हाम्रो हृदय चेतनहीन वा कठोर हुन धेरै बेर लाग्दैन। उदाहरणका लागि, एक अविवाहित जोडी निकै घनिष्ठ हुनसक्छन्। तर तिनीहरूले यसलाई वास्ता गरेनन् भने के हुन्छ? तिनीहरूले जे गरे, त्यो फेरि नदोहऱ्याउन के यसले तिनीहरूलाई जोगाउनेछ अथवा फेरि त्यसै गर्न तिनीहरूलाई अझ सजिलो पार्नेछ? त्यसैगरि, विश्वासी दासवर्गले संगीत, मनोरञ्जन र त्यस्तै अरू कुराहरूको छनौट होसियारीसाथ गर्नुपर्छ भनेर सल्लाह दिंदा के हामी धन्यवादी हुँदै स्वीकार्छौं र चाहिने काँटछाँट गर्छौं? पावलले हामीलाई ‘एकै ठाउँमा भेला हुन नछोड्नू’ भनी आग्रह गरेका थिए। (हिब्रू १०:२४, २५) यो सल्लाहको बावजूद, कोही कोही मसीही सभाहरूलाई हल्कासित लिन्छन्। कुनै कुनै सभामा उपस्थित नहुँदैमा वा केही खास सभाहरूमा नजाँदैमा बित्यासै त पर्दैन नि भन्ने सोचाइ तिनीहरूको हुनसक्छ।
२०. धर्मशास्त्रीय सल्लाहहरूलाई सकारात्मक दृष्टिले स्वीकारिहाल्नु किन अत्यावश्यक छ?
२० धर्मशास्त्र र बाइबलआधारित प्रकाशनहरूमा प्रस्ट पारिएको यहोवाको ‘शब्द सुनेर’ पनि नसुनेझैं गऱ्यौं भने हामीलाई “जीवित परमेश्वरबाट पतित हुन [“टाढिएर,” NW]” जान धेरै बेर लाग्नेछैन। सल्लाह वास्ता नगर्ने व्यक्तिले बिस्तारै त्यसको हेला, आलोचना वा विरोध गर्न थाल्छन्। समयमै सुधारिएन भने यसको परिणाम “अविश्वासको दुष्ट हृदय हुनेछ” र यस्तो भएपछि अक्सर विश्वासमा फर्कन निकै गाह्रो हुन्छ। (एफिसी ४:१९ तुलना गर्नुहोस्।) अतः यर्मियाले ठीकै लेखे: “मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ, त्यसलाई कसले जान्नसक्छ र?” (यर्मिया १७:९) त्यसैकारण पावलले हिब्रू विश्वासीहरूलाई यस्तो आग्रह गरे: “ ‘आजको दिन’ भन्दा एउटाले अर्कोलाई दिनदिनै अर्ती देऊ। नत्रता तिमीहरूमध्ये कोही पापको छलले कठोर हुनेछ।”—हिब्रू ३:१३.
२१. हामी सबैलाई के गर्न आग्रह गरिएको छ र हामीसित के प्रत्याशा छ?
२१ यहोवाले आफ्नो वचन र संगठन मार्फत अझै पनि कुरा गरिरहनुभएकोमा हामी कत्ति आनन्दित छौं! “हाम्रा शुरूको विश्वासलाई अन्तसम्मै थामिरा[ख्न]” “विश्वासी र बुद्धिमान दास”-ले हामीलाई निरन्तर सहयोग गरिरहेकोमा हामी कृतज्ञ छौं। (हिब्रू ३:१४) अब हाम्रो काम हो, परमेश्वरको प्रेम र निर्देशनमुताबिक हिंड्नु। त्यसो गऱ्यौं भने यहोवाले गर्नुभएका अद्भुत प्रतिज्ञाहरूको आनन्द उठाउनसक्नेछौं र त्यो हो, उहाँको विश्राममा ‘पस्नु।’ (हिब्रू ४:३, १०) पावलले हिब्रू मसीहीहरूसित छलफल गरेका अर्को विषय यही हो र यसपछिको लेखमा विचार गर्ने लेख पनि यही नै हो।
[फुटनोटहरू]
a जोसेफसको रिपोर्टअनुसार फेस्टसको मृत्यु हुने बित्तिकै सदुकी पन्थका अनानस (हननिया) मुख्य पूजाहारी भए। तिनले येशूका सौतेनी भाइ याकूब र अन्य चेलाहरूलाई महासभासामु उभ्याए र ढुंगा हानेर मार्ने दण्ड सुनाए।
b पावलले सायद युनानी सेप्टुआजिन्ट-बाट क्रमशः “झगडा गर्नु” र “परीक्षा गर्नु” अर्थ लाग्ने हिब्रू शब्दहरू “मरीबा” र “मस्सा” प्रयोग गरेका हुनुपर्छ। वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित धर्मशास्त्रमाथि अन्तरदृष्टि, (अंग्रेजी) खण्ड २ को पृष्ठ ३५० र ३७९ हेर्नुहोस्।
के तपाईं व्याख्या गर्न सक्नुहुन्छ?
◻ पावलले हिब्रू मसीहीहरूलाई त्यस्तो सशक्त सल्लाह किन लेखे?
◻ पावलले हिब्रू मसीहीहरूलाई तिनीहरूसित यहूदी धर्ममा भन्दा उत्तम कुरा छ भनेर मूल्यांकन गर्न कसरी मदत गरे?
◻ कुनै पनि व्यक्तिको हृदय कसरी कठोर हुनसक्छ?
◻ “अविश्वासको दुष्ट हृदय” विकास हुन नदिन हामीले के गर्नैपर्छ?
[पृष्ठ १०-मा भएको चित्र]
के तपाईं महान् मोशा, येशूमाथि विश्वास गर्दै हुनुहुन्छ?