अध्याय ३
‘जसले तिमीहरूबीच अगुवाइ लिइरहेका छन्, तिनीहरूलाई सम्झ’
प्रेषित पावलका यी शब्दहरू हिब्रू १३:७ मा पाउँछौँ। इस्वी संवत् ३३ पेन्तिकोसदेखि येसुका वफादार प्रेषितहरूले परिचालक निकायको रूपमा काम गर्न थाले। त्यस निकायले भर्खरै स्थापना भएको ख्रिष्टियन मण्डलीलाई निर्देशन दिने काममा नेतृत्व लियो। (प्रेषि. ६:२-४) इस्वी संवत् ४९ सम्ममा प्रेषितहरूबाहेक अरू अभिषिक्त ख्रिष्टियनहरू पनि यस निकायको सदस्य भइसकेका थिए। खतनाको विवाद सुल्झाउने बेला परिचालक निकायमा “यरुसलेममा भएका प्रेषित र एल्डरहरू” पनि थिए। (प्रेषि. १५:१, २) सबै ठाउँका ख्रिष्टियनहरूलाई असर गर्ने विभिन्न कामकुरा सम्हाल्ने जिम्मेवारी त्यस निकायको थियो। त्यस निकायले मण्डलीहरूलाई पत्र अनि निर्देशनहरू पठाउँथ्यो। यसले गर्दा मण्डलीहरू सुदृढ भए अनि सबैको विचार र काम एउटै भयो। मण्डलीहरूले परिचालक निकायबाट पाएको निर्देशन पालन गरे र त्यस निकायको अधीनमा बसे। परिणामस्वरूप तिनीहरूले यहोवाको आशिष् पाए र तिनीहरूको सङ्ख्या बढ्दै गयो।—प्रेषि. ८:१, १४, १५; १५:२२-३१; १६:४, ५; हिब्रू १३:१७.
२ प्रेषितहरूको मृत्युपछि ठूलो धर्मत्याग सुरु भयो। (२ थिस्स. २:३-१२) येसुले गहुँ र सामाको उदाहरणमा बताउनुभएझैँ गहुँको (अभिषिक्त ख्रिष्टियनहरू) बीच-बीचमा सामा (नक्कली ख्रिष्टियनहरू) छरिए। बाली काट्ने बेला अर्थात् “युगको आखिरी समय”-सम्म ती दुई समूहलाई सँगसँगै बढ्न दिइयो। (मत्ति १३:२४-३०, ३६-४३) सयौँ वर्षको यस अवधिमा प्रत्येक अभिषिक्त ख्रिष्टियनले येसु आफूसँगै हुनुभएको महसुस गरे। तर त्यतिबेला न परिचालक निकाय थियो न त येसुले आफ्ना चेलाहरूलाई निर्देशन दिन चलाइरहनुभएको कुनै माध्यम नै थियो। (मत्ति २८:२०) तर येसुले भविष्यवाणी गर्नुभएझैँ बाली काट्ने बेला एउटा परिवर्तन हुने थियो।
३ “वास्तवमा विश्वासी र बुद्धिमान् दास को हो?” यो प्रश्न सोधेपछि येसु ख्रिष्टले एउटा उदाहरण बताउनुभयो। यो उदाहरण “यस युगको आखिरी समयको चिन्ह”-को एउटा भाग थियो। (मत्ति २४:३, ४२-४७) विश्वासी दासले “ठीक समयमा” परमेश्वरका जनहरूलाई आध्यात्मिक खाना खुवाउनेछ भनेर येसुले बताउनुभयो। प्रथम शताब्दीमा ख्रिष्टियनहरूको अगुवाइ लिन येसुले कुनै एक व्यक्तिलाई नभई एउटा समूहलाई चलाउनुभएको थियो। त्यसैगरि यस युगको आखिरी समयमा पनि कुनै एक व्यक्तिले नभई एउटा समूहले विश्वासी दासको भूमिका पूरा गरिरहेको छ।
“विश्वासी र बुद्धिमान् दास” को हो?
४ येसुले आफ्ना अनुयायीहरूलाई आध्यात्मिक भोजन खुवाउन कसलाई नियुक्त गर्नुभएको छ? पृथ्वीमा भएका अभिषिक्त ख्रिष्टियनहरूलाई। बाइबलअनुसार तिनीहरू “शाही पुजारीको दल” हुन्, जसलाई उहाँले “अन्धकारबाट बोलाएर आफ्नो अद्भुत ज्योतिमा ल्याउनुभयो।” उहाँले तिनीहरूलाई ‘उहाँका असल गुणहरूबारे चारैतिर घोषणा गर्ने’ जिम्मेवारी दिनुभएको छ। (१ पत्रु. २:९; मला. २:७; प्रका. १२:१७) के विश्वासी दासले पृथ्वीमा रहेका सबै अभिषिक्त ख्रिष्टियनलाई बुझाउँछ? अहँ, बुझाउँदैन। एक चोटि येसुले स्त्री र साना केटाकेटीबाहेक लगभग ५ हजार पुरुषलाई खुवाउनुभएको थियो। त्यतिबेला उहाँले चेलाहरूलाई खानेकुरा दिनुभयो र चेलाहरूले त्यो खानेकुरा मानिसहरूलाई बाँडे। (मत्ति १४:१९) यसरी उहाँले थोरै मानिसमार्फत धेरैलाई खुवाउनुभयो। आज पनि आध्यात्मिक भोजन खुवाउन येसुले यही तरिका चलाउँदै हुनुहुन्छ।
५ त्यसैले “विश्वासी र बुद्धिमान् भण्डारे” भनेको ख्रिष्टको उपस्थितिको दौडान आध्यात्मिक भोजन तयार पार्ने र बाँड्ने काममा प्रत्यक्ष रूपमा सम्मिलित अभिषिक्त भाइहरूको एउटा सानो समूह हो। (लुका १२:४२) यस अन्तको दिनमा यी अभिषिक्त भाइहरू मुख्यालयमा सेवा गर्दै छन्। यी भाइहरू मिलेर यहोवाका साक्षीहरूको परिचालक निकाय बनेको छ। त्यसैले अहिलेको परिचालक निकाय नै “विश्वासी र बुद्धिमान् दास” हो।
६ ख्रिष्टले यस निकायलाई बाइबल भविष्यवाणीहरूको पूर्तिबारे जानकारी प्रकाशित गर्न अनि बाइबलका सिद्धान्तहरूलाई दैनिक जीवनमा कसरी लागू गर्ने भन्ने विषयमा समय सुहाउँदो निर्देशन दिन चलाउँदै हुनुहुन्छ। यस्तो आध्यात्मिक भोजन यहोवाका साक्षीहरूको मण्डलीमार्फत बाँडिन्छ। (यसै. ४३:१०; गला. ६:१६) बाइबलकालीन समयमा भरोसायोग्य दास वा भण्डारेले घरको सबै काम सम्हाल्ने गर्थ्यो। त्यसैगरि परमेश्वरका सेवकहरूको रेखदेख गर्ने जिम्मेवारी विश्वासी र बुद्धिमान् दासलाई सुम्पिइएको छ। यसमा भौतिक सरसम्पत्ति, प्रचार गतिविधि र सम्मेलन तथा अधिवेशनका कार्यक्रमहरूको सुपरिवेक्षण गर्नु समावेश छ। साथै सङ्गठनमा विभिन्न कामको निरीक्षण गर्न भाइहरूलाई नियुक्त गर्ने र बाइबलमा आधारित प्रकाशनहरू तयार पार्ने काम पनि पर्छ। यी सबै प्रबन्धबाट “घरका अरू दासहरू”-ले लाभ उठाइरहेका छन्।—मत्ति २४:४५.
७ त्यसोभए “घरका अरू दासहरू” को हुन्? सरल शब्दमा भन्ने हो भने, आध्यात्मिक भोजन खानेहरू सबै। सुरु-सुरुमा घरका अरू दासहरू अभिषिक्त ख्रिष्टियनहरू मात्र थिए। पछि घरका अरू दासहरूमा “अरू भेडा”-को ठूलो भीड पनि सामेल भयो। (युह. १०:१६) यी दुवै समूहले विश्वासी दासले तयार पारेको आध्यात्मिक भोजन लिइरहेका छन्।
८ महासङ्कष्टको दौडान येसु यस दुष्ट युगलाई सजायको फैसला सुनाउन र त्यसलाई विनाश गर्न आउनुहुनेछ। त्यतिबेला उहाँले विश्वासी दासलाई “आफ्ना सबै सम्पत्तिमाथि” नियुक्त गर्नुहुनेछ। (मत्ति २४:४६, ४७) विश्वासी दासका सबै सदस्यले स्वर्गीय इनाम पाउनेछन्। त्यसपछि तिनीहरू र १ लाख ४४ हजारका बाँकी सदस्यहरूले ख्रिष्टसँग मिलेर शासन गर्नेछन्। हुनत त्यतिबेला पृथ्वीमा विश्वासी र बुद्धिमान् दास हुनेछैन तर यहोवा र येसुले आफ्ना जनहरूलाई आवश्यक निर्देशन दिन “शासकहरू” नियुक्त गर्नुहुनेछ।—भज. ४५:१६.
‘अगुवाइ लिइरहेकाहरूलाई सम्झनुपर्छ,’ किन?
९ ‘अगुवाइ लिइरहेकाहरूलाई सम्झनुपर्ने’ अनि तिनीहरूमाथि भरोसा गर्नुपर्ने थुप्रै कारण छन्। यसो गर्दा किन हाम्रै फाइदा हुन्छ? प्रेषित पावलले यस्तो लेखे: “परमेश्वरलाई लेखा दिनुपर्छ भनी सम्झेर तिनीहरूले तिमीहरूको हेरचाह गरिरहेका छन्। तिनीहरूले यो काम खुसीसाथ गरून्, सुस्केरा हाल्दै होइन नत्र त त्यो तिमीहरूका लागि हानिकारक हुनेछ।” (हिब्रू १३:१७) अगुवाइ लिइरहेकाहरूले दिने निर्देशन पालन गर्नु र तिनीहरूको अधीनमा बस्नु जरुरी छ किनभने तिनीहरूले हाम्रै आध्यात्मिक हित र सुरक्षाको लागि हाम्रो हेरचाह गरिरहेका छन्।
१० प्रेषित पावलले १ कोरिन्थी १६:१४ मा यस्तो लेखे: “तिमीहरूबीच सबै काम प्रेमपूर्वक होस्।” विश्वासी दासले परमेश्वरका मानिसहरूका लागि गर्ने निर्णयहरू प्रेममा आधारित हुन्छ। प्रेमबारे १ कोरिन्थी १३:४-८ मा यस्तो लेखिएको छ: “प्रेम धीरजी र दयालु हुन्छ। प्रेमले डाह गर्दैन। यसले फुर्ती लगाउँदैन, यो घमन्डले फुल्दैन, यसले अभद्र व्यवहार गर्दैन, आफ्नै फाइदा खोज्दैन, यो आवेशमा आउँदैन। यसले खराबीको हिसाब राख्दैन। यो कुकर्ममा खुसी हुँदैन तर सत्यमा खुसी हुन्छ। यसले सबै कुरा खप्छ, सबै कुरा पत्यार गर्छ, सबै कुराको आशा गर्छ र सबै कुरा सहन्छ। प्रेम कहिल्यै अन्त हुँदैन।” विश्वासी दासले दिने निर्देशनहरू प्रेममा आधारित हुने भएकोले हामी यहोवाका सेवकहरू ढुक्क भएर ती निर्देशनहरू पालन गर्न सक्छौँ। यस्ता निर्देशनहरू यहोवा हामीलाई धेरै प्रेम गर्नुहुन्छ भन्ने कुराको प्रमाण हो।
अगुवाइ लिइरहेकाहरूको अधीनमा बस्नु जरुरी छ किनभने तिनीहरूले हाम्रै आध्यात्मिक हितको लागि हाम्रो हेरचाह गरिरहेका छन्
११ प्रथम शताब्दीमा जस्तै आज पनि यहोवाले आफ्ना जनहरूमाझ अगुवाइ लिन त्रुटिपूर्ण मानिसहरूलाई चलाउँदै हुनुहुन्छ। यहोवाले विगतमा पनि आफ्नो इच्छा पूरा गर्न त्रुटिपूर्ण मानिसहरूलाई चलाउनुभएको थियो। नुहले एउटा जहाज बनाएका थिए र जलप्रलयबारे मानिसहरूलाई प्रचार गरेका थिए। (उत्प. ६:१३, १४, २२; २ पत्रु. २:५) यहोवाले आफ्ना मानिसहरूलाई मिश्रबाट निकालेर ल्याउन मोसालाई नियुक्त गर्नुभएको थियो। (प्रस्थ. ३:१०) बाइबल लेख्न उहाँले त्रुटिपूर्ण मानिसहरूलाई पवित्र शक्तिले प्रेरित गर्नुभएको थियो। (२ तिमो. ३:१६; २ पत्रु. १:२१) अहिले पनि प्रचार गर्ने र चेला बनाउने काममा अगुवाइ लिन यहोवाले त्रुटिपूर्ण मानिसहरू चलाउँदै हुनुहुन्छ। यसो भन्दैमा उहाँको सङ्गठनप्रति हाम्रो भरोसा कमजोर हुँदैन, बरु झन् बलियो हुन्छ। किन? किनभने यहोवाको साथ नपाएको भए उहाँको सङ्गठनले अहिले जे-जति काम गरिरहेको छ, त्यो गर्न सक्दैन थियो। विश्वासी दासको वर्षौँको अनुभवले र यस दासले सामना गरेको थुप्रै कठिनाइले के देखाउँछ भने परमेश्वरको पवित्र शक्तिले यस दासलाई डोऱ्याउँदै छ। यहोवाले आफ्नो सङ्गठनको दृश्य भागलाई प्रशस्त आशिष् दिनुभएको छ। त्यसैले हामी परमेश्वरको सङ्गठनमाथि पूरा भरोसा गर्छौँ र यसबाट आएका निर्देशनहरू पालन गर्छौँ।
विश्वासी दासमाथि भरोसा राखेको कसरी देखाउन सक्छौँ?
१२ मण्डलीमा अगुवाइ लिन नियुक्त भएकाहरूले आफ्ना जिम्मेवारीहरू खुसीसाथ स्विकारेर अनि तनमनले ती जिम्मेवारीहरू पूरा गरेर विश्वासी दासमाथि भरोसा गरेको देखाउँछन्। (प्रेषि. २०:२८) हामी परमेश्वरको राज्यका प्रचारक हौँ। त्यसैले हामी जोसका साथ घरघरको प्रचारमा जान्छौँ, पुनःभेट गर्छौँ अनि बाइबल अध्ययन गराउँछौँ। (मत्ति २४:१४; २८:१९, २०) विश्वासी दासबाट आउने आध्यात्मिक भोजनको पूरा फाइदा उठाउन हामी पहिल्यै तयारी गरेर सभा, सम्मेलन र अधिवेशनमा जान्छौँ। यी जमघटहरूमा हाम्रा दाजुभाइ दिदीबहिनीसित सङ्गत गर्ने मौका पाउँछौँ र एकअर्कालाई प्रोत्साहन दिएर लाभ उठाउँछौँ।—हिब्रू १०:२४, २५.
१३ परमेश्वरको सङ्गठनमाथि भरोसा गरेको देखाउने अर्को तरिका अनुदान दिनु हो। (हितो. ३:९, १०) हाम्रा ख्रिष्टियन दाजुभाइ दिदीबहिनीलाई खाँचो परेको बेला हामी तुरुन्तै मदत गर्छौँ। (गला. ६:१०; १ तिमो. ६:१८) हामी आफ्ना दाजुभाइ दिदीबहिनीलाई माया गर्छौँ। त्यसैले तिनीहरूलाई मदत गर्न हामी हरदम तयार रहन्छौँ। यसरी हामी यहोवा र उहाँको सङ्गठनले हाम्रो लागि गरेका असल कुराहरूको निम्ति आभारी भएको देखाउँछौँ।—युह. १३:३५.
१४ सङ्गठनले गरेका निर्णयहरूलाई समर्थन गरेर पनि हामी यस सङ्गठनमाथि भरोसा गरेको देखाउँछौँ। यसरी समर्थन गर्नुमा नम्र भई क्षेत्रीय निरीक्षक र एल्डरजस्ता जिम्मेवार भाइहरूको निर्देशन पालन गर्नु समावेश छ। यी भाइहरू पनि ‘अगुवाइ लिइरहेकाहरूमध्ये’ पर्छन्। त्यसैले हामी तिनीहरूप्रति आज्ञाकारी हुनुपर्छ र तिनीहरूको अधीनमा बस्नुपर्छ। (हिब्रू १३:७, १७) सङ्गठनले गरेको कुनै-कुनै निर्णयको पछाडि कस्तो कारण छ भनेर हामी बुझ्न सक्दैनौँ होला। तैपनि ती निर्णयहरूको समर्थन गर्दा हाम्रै भलो हुन्छ भनेर हामीलाई थाह छ। बाइबलको सिद्धान्तअनुसार चल्दा र यहोवाको सङ्गठनप्रति आज्ञाकारी हुँदा हामीले उहाँको आशिष् पाउँछौँ। साथै हाम्रो मालिक येसु ख्रिष्टको अधीनमा बसेका छौँ भनेर पनि देखाइरहेका हुन्छौँ।
१५ विश्वासी र बुद्धिमान् दासमाथि भरोसा गर्ने हामीसित थुप्रै कारण छन्। यस युगको ईश्वर सैतानले यहोवाको नाम र उहाँको सङ्गठनलाई बदनाम गर्न आफ्नो भएभरको शक्ति लगाउँदै छ। (२ कोरि. ४:४) सैतानको पासोमा नफस्नुहोस्। (२ कोरि. २:११) आफ्नो “समय थोरै मात्र बाँकी” छ र त्यसपछि आफूलाई अगाध खाडलमा फालिनेछ भनेर त्यसलाई थाह छ। त्यसैले सैतान सकेसम्म यहोवाका धेरै सेवकलाई उहाँबाट तर्काउन चाहन्छ। (प्रका. १२:१२) त्यसले हामीलाई तर्काउन जतिसुकै प्रयास गरे तापनि झन्झन् यहोवाको नजिक भइरहौँ। अनि यहोवामाथि र आफ्ना मानिसहरूलाई डोऱ्याउन उहाँले चलाउनुभएको माध्यममाथि पनि भरोसा राखौँ। यस्तो भरोसाले हाम्रो एकतालाई बलियो बनाउनेछ।