प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नम्र भई मायालु गोठालाहरूको अधीनमा बस्ने
    प्रहरीधरहरा—२००७ | अप्रिल १
    • ७. मसीही निरीक्षकहरूप्रति हाम्रो मनोवृत्ति कस्तो हुनुपर्छ भनी प्रेरित पावलले बताए?

      ७ स्वर्गमा हुनुहुने हाम्रा महान्‌ गोठालाहरू यहोवा परमेश्‍वर र येशू ख्रीष्ट, उहाँहरूले मण्डलीमा जिम्मेवारी सुम्पनुभएका गोठालाहरूप्रति हामी आज्ञाकारी भएको र तिनीहरूको अधीनमा बसेको चाहनुहुन्छ। (१ पत्रुस ५:५) परमेश्‍वरबाट प्रेरणा पाएर प्रेरित पावलले यस्तो लेखे: “आफ्ना अगुवाहरूको सम्झना राख, जसले परमेश्‍वरको वचन तिमीहरूलाई सुनाए। तिनीहरूका जीवनको परिणामलाई ध्यान देओ, र तिनीहरूका विश्‍वासको अनुकरण गर। तिमीहरूका अगुवाहरूको आज्ञा पालन गर, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्छ भन्‍ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाहा गर्छन्‌। यो काम तिनीहरूले आनन्दसाथ गरून्‌। दुःख मानेर होइन, नत्रता त्यसबाट तिमीहरूलाई कुनै लाभ हुँदैन।”—हिब्रू १३:७, १७, NRV.

      ८. पावलले हामीलाई के कुरामा ‘ध्यान दिन’ भनेका छन्‌ र हामी कसरी ‘आज्ञा पालन’ गर्ने हुनुपर्छ?

      ८ याद गर्नुहोस्‌, पावलले हामीलाई प्राचीनहरूको विश्‍वासी मार्गको परिणामलाई ‘ध्यान दिन’ वा राम्ररी विचार गर्न र तिनीहरूको विश्‍वासको अनुकरण गर्न भनेका छन्‌। यसबाहेक, ती नियुक्‍त पुरुषहरूप्रति आज्ञाकारी हुन र तिनीहरूको अधीनमा बस्न पनि पावलले हामीलाई सल्लाह दिएका छन्‌। बाइबलविद्‌ आर. टि. फ्रान्सका अनुसार यहाँ “आज्ञा पालन गर” भनी अनुवाद गरिएको मूल युनानी वाक्यांशको शाब्दिक अर्थ “सामान्य अर्थमा आज्ञाकारी हुनु मात्र नभई राजीखुसीले तिनीहरूको अगुवाइ स्वीकारेर ‘मनाइएको हुनु’ ” हो। हामीले प्राचीनहरूको आज्ञा पालन गर्नुको कारण परमेश्‍वरको वचनमा हामीलाई त्यसो गर्न निर्देशन दिइएकोले मात्र होइन तर तिनीहरूले राज्य गतिविधिको र हाम्रो हित चिताउनेले गर्दा पनि हो भनी हामीलाई मनाइएको छ। राजीखुसीले तिनीहरूको अगुवाइ स्वीकाऱ्‍यौं भने हामी पक्कै पनि खुसी हुनेछौं।

      ९. आज्ञाकारी हुनुको सँगसँगै ‘अधीनमा बस्नु’ पनि किन आवश्‍यक छ?

      ९ तर कुनै कामकुरा गर्ने सबैभन्दा उत्तम तरिका प्राचीनहरूले दिएको निर्देशन नै हो भनी हामी विश्‍वस्त हुन सकेनौं भने नि? अधीनता देखाउनुपर्ने बेला यही त हो। सबै कुरा स्पष्ट हुँदा र प्राचीनहरूले दिएको निर्देशन पनि आफूलाई चित्तबुझेको बेला अधीनमा बस्नु सजिलो हुन्छ तर दिइएको निर्देशन स्पष्टसँग नबुझ्दा पनि हामी त्यो स्वीकार्छौं भने साँचो अधीनता देखाइरहेका हुनेछौं। पछि प्रेरित बनेका पत्रुसले यस्तै प्रकारको अधीनता देखाए।—लूका ५:४, ५.

  • नम्र भई मायालु गोठालाहरूको अधीनमा बस्ने
    प्रहरीधरहरा—२००७ | अप्रिल १
    • १२. निरीक्षकहरूले कसरी हाम्रो “प्राणको हेरचाहा गर्छन्‌”?

      १२ मसीही निरीक्षकहरूसित मिलेर काम गर्नुपर्ने दोस्रो कारण हो, तिनीहरूले हाम्रो “प्राणको हेरचाहा गर्छन्‌।” हाम्रो आध्यात्मिकतालाई खतरामा पार्ने केही कुरा हाम्रो मनोवृत्ति र आचरणमा देखेमा हामीलाई सुधार गर्ने हेतुले तिनीहरूले आवश्‍यक सर-सल्लाह दिइहाल्छन्‌। (गलाती ६:१) “हेरचाहा गर्छन्‌” भनी अनुवाद गरिएको युनानी शब्दको शाब्दिक अर्थ “ननिदाइ जागा बस्नु” हो। एक बाइबलविद्‌का अनुसार यसले “चनाखो भइरहने गोठालोलाई” बुझाउँछ। प्राचीनहरू आफू आध्यात्मिक तवरमा चनाखो त रहन्छन्‌ नै तर त्यसका साथै हाम्रो आध्यात्मिक हितको लागि तिनीहरूले आफ्नो निद्रा पनि गुमाउन सक्छन्‌। ‘भेडाका महान्‌ गोठालो’ येशू ख्रीष्टले देखाउनुभएको कोमल हेरचाहको अनुकरण गर्न सक्दो प्रयास गरिरहेका त्यस्ता मायालु गोठालाहरूसित हामीले राजीखुसीसाथ मिलेर काम गर्नुपर्दैन र?—हिब्रू १३:२०.

      १३. निरीक्षकहरू तथा सबै मसीहीहरूले कसलाई अनि कुन तरिकामा लेखा दिनुपर्नेछ?

      १३ निरीक्षकहरूसित मिलेर राजीखुसीले काम गर्नुपर्ने तेस्रो कारण हो, “लेखा दिनुपर्छ भन्‍ने कुरा जानेर” तिनीहरूले हाम्रो हेरचाह गर्छन्‌। निरीक्षकहरूलाई यो कुरा थाह छ कि उनीहरू स्वर्गमा हुनुहुने महान्‌ गोठालाहरू यहोवा परमेश्‍वर र येशू ख्रीष्टको अधीनमा रहेर काम गर्ने गोठालाहरू हुन्‌। (इजकिएल ३४:२२-२४) यहोवा बगालको मूल मालिक हुनुहुन्छ र उहाँले बगाललाई “आफ्नै पुत्रको रगतले किन्‍नुभएको” छ। त्यसैकारण, नियुक्‍त गोठालाहरूले बगाललाई “कोमल ढंगमा” व्यवहार गर्नुपर्छ किनकि तिनीहरूले त्यसको लेखा यहोवालाई दिनुपर्नेछ। (प्रेरित २०:२८, २९, NW) त्यसैगरी उहाँबाट आएको निर्देशनप्रति हामी कस्तो प्रतिक्रिया देखाउँछौं, त्यसको पनि यहोवाले लेखा लिनुहुनेछ। (रोमी १४:१०-१२) नियुक्‍त प्राचीनहरूप्रति हामी आज्ञाकारी हुँदा मण्डलीका शिर ख्रीष्टको अधीनमा बसेका छौं भन्‍ने प्रमाण पनि दिइरहेका हुन्छौं।—कलस्सी २:१९.

      १४. कस्तो अवस्थामा मसीही निरीक्षकहरूले ‘दुःख मान्दै’ सेवा गरिरहेका हुन्छन्‌ र यसको नतिजा के हुन सक्छ?

      १४ हामी नम्र भई मसीही निरीक्षकहरूको अधीनमा बस्नुपर्ने चौथो कारण प्रेरित पावलले दिए। तिनले यस्तो लेखे: “तिनीहरूले आनन्दसाथ गरून्‌। दुःख मानेर होइन, नत्रता त्यसबाट तिमीहरूलाई कुनै लाभ हुँदैन।” (हिब्रू १३:१७, NRV) शिक्षा दिने, गोठालो गर्ने, प्रचारकार्यमा अगुवाइ लिने, परिवारको लालनपालन गर्ने, मण्डलीका समस्याहरू सँभाल्ने जस्ता गह्रौं भार मसीही प्राचीनहरूले बोक्छन्‌। (२ कोरिन्थी ११:२८, २९) हामीले तिनीहरूसित मिलेर काम गरेनौं भने तिनीहरूको बोझ मात्र बढाइरहेका हुनेछौं। यसो भएमा, तिनीहरूले ‘दुःख मानिरहेका’ हुन्छन्‌। हामीले सहयोगी भावना देखाएनौं भने यहोवा अप्रसन्‍न हुनुहुन्छ र यसले हामीलाई नै हानि पुऱ्‍याउन सक्छ। तर, हामीले उचित आदर र सहयोगी भाव देखायौं भने प्राचीनहरूले आफ्नो जिम्मेवारी आनन्दसाथ पूरा गर्न सक्छन्‌। यसो गर्दा हामी अझ बलियो गरी एकतामा बाँधिएर राज्य प्रचारकार्यमा झन्‌ आनन्दसाथ भाग लिन सक्छौं।—रोमी १५:५, ६.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने