के तपाईं परमेश्वरको विश्राममा प्रवेश गर्नुभयो?
“उहाँको विश्राममा प्रवेश गर्नेले परमेश्वर आफैले गर्नुभएझैं आफ्नो कामबाट त्यसले पनि विश्राम लिएको हुनुपर्छ।”—हिब्रू ४:१०.
१. विश्राम किन असाध्यै रहरलाग्दो हुन्छ?
विश्राम। कति कर्णप्रिय शब्द! आज द्रुत गतिले अघि बढिरहेको यो कोलाहलपूर्ण संसारमा प्रायः हामी सबैलाई केही बेर भए पनि विश्राम लिन मन पर्छ। जवान होस् या वृद्ध, विवाहित होस् या अविवाहित, हामी दैनिक जीवनका कामकुराहरूले थिचिएका, लखतरान भएका महसुस गर्छौं। त्यसमा पनि शारीरिक सीमितता वा कमजोरी भएकाहरूको निम्ति त प्रत्येक दिन चुनौतीपूर्ण हुन्छ। धर्मशास्त्रले भनेझैं, “सारा सृष्टि पनि साथसाथै पीड़ाले सुस्केरा हाल्दै प्रसव वेदनामा अहिलेसम्म परेको छ।” (रोमी ८:२२) विश्राम गरिरहेको मानिस अल्छी नै हुन्छ भन्ने छैन। विश्राम मानव आवश्यकता हो।
२. यहोवाले कहिलेदेखि विश्राम गरिरहनुभएको छ?
२ यहोवा परमेश्वर स्वयंले पनि विश्राम लिइरहनुभएको छ। उत्पत्तिको पुस्तकमा यस्तो लेखिएको पाउँछौं: “आकाश र पृथ्वी औ तिनमा भएका सबै कुरा बनाइसकिए। औ आफूले गर्नुभएका काम सातौं दिनमा परमेश्वरले सिध्याउनुभयो। औ सातौं दिनमा आफूले गर्नुभएका सबै कामबाट उहाँले विश्राम लिनुभयो।” यहोवाले “सातौं दिन”-सित विशेष महत्त्व गाँस्नुभयो किनकि प्रेरित अभिलेख अझै भन्छ: “परमेश्वरले सातौं दिनलाई आशिष दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो।”—उत्पत्ति २:१-३.
परमेश्वरले आफ्नो कामबाट विश्राम लिनुभयो
३. परमेश्वरले विश्राम लिनुभएको कारण के हुन सक्दैन?
३ परमेश्वरले किन “सातौं दिनमा” विश्राम लिनुभयो? थकाइ लागेर त कदापि होइन। यहोवा “शक्तिको बड़प्पन” हुनुहुन्छ र “थकित” हुनुहुन्न। (यशैया ४०:२६, २८) नता परमेश्वरले आराम लिन विश्राम लिनुभएको हो न कार्यगतिमा परिवर्तन ल्याउन खोज्नुभएको हो, किनकि येशू हामीलाई यसो भन्नुहुन्छ: “मेरा पिताले अझसम्म काम गर्नुहुन्छ, र म पनि गर्छु।” (यूहन्ना ५:१७) “परमेश्वर आत्मा हुनुहुन्छ।” त्यसकारण, उहाँ शारीरिक चक्र तथा भौतिक प्राणीहरूको आवश्यकतामा बाँधिनुहुन्न।—यूहन्ना ४:२४.
४. “सातौं दिन” कुन तरिकामा अघिका छ ‘दिनहरूभन्दा’ फरक थियो?
४ परमेश्वरले “सातौं दिनमा” विश्राम किन लिनुभयो, त्यसबारे थप अन्तरदृष्टि कसरी पाउन सकिन्छ? छ दिन लामो समयावधिका सृजनात्मक ‘दिनमा’ पूरा गर्नुभएका सृष्टिहरू देखेर परमेश्वर सन्तुष्ट हुनुभए तापनि उहाँले विशेषगरि “सातौं दिनलाई” “पवित्र” तुल्याउनुभएको कुरामा ध्यान दिएर। कन्साइन्स अक्सफोर्ड डिक्सनरी “पवित्र”-लाई “(परमेश्वर वा केही धार्मिक उद्देश्यको लागि) पूर्णतया समर्पित गरिएको वा छुट्याइएको” भनी व्याख्या गर्छ। अतः यहोवाले “सातौं दिनलाई” पवित्र घोषित गर्नुभएर आशिष् दिनुभएबाट उक्त दिन र उहाँको “विश्राम” उहाँलाई चाहिएको थिएन। बरु, उहाँको पवित्र इच्छा तथा उद्देश्यसित त्यो केही हदसम्म सम्बन्धित हुनैपर्छ भन्ने संकेत गर्छ। त्यो सम्बन्ध के हो?
५. प्रथम छ सृजनात्मक ‘दिनहरूमा’ परमेश्वरले के गर्नुभयो?
५ विश्राम दिनअघिका छ सृजनात्मक ‘दिनहरूमा’ परमेश्वरले पृथ्वी र पृथ्वी वरपरका सबै चीजबीजहरूलाई सुचारूरूपले चालू गराउन सम्पूर्ण चक्र तथा नियमहरू बनाउनुभयो र क्रियाशील पार्नुभयो। यी साँच्चै अद्भुत रीतिले बनिएका छन् भनी वैज्ञानिकहरूले अहिले बल्ल बुझिरहेका छन्। “छैटौं दिन”-को अन्तमा परमेश्वरले प्रथम मानव दम्पती सृष्टि गर्नुभयो र तिनीहरूलाई “पूर्वतिर अदनमा एउटा बगैंचा”-मा राख्नुभयो। अन्तमा परमेश्वरले मानव परिवार तथा पृथ्वीसम्बन्धी आफ्नो उद्देश्य यी भविष्यसूचक शब्दहरूमा व्यक्त गर्नुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ। औ समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।”—उत्पत्ति १:२८, ३१; २:८.
६. (क) “छैटौं दिन”-को अन्तमा आफूले बनाउनुभएका सबै कुराहरू देखेर परमेश्वरलाई कस्तो लाग्यो? (ख) कुन अर्थमा “सातौं दिन” पवित्र छ?
६ “छैटौं दिन” अन्त हुँदा विवरण यसो भन्छ: “आफूले बनाउनुभएको हरेक कुरा परमेश्वरले हेर्नुभयो। औ हेर, त्यो साह्रै राम्रो थियो।” (उत्पत्ति १:३१) आफूले बनाउनुभएका सम्पूर्ण कुराहरू देखेर परमेश्वर सन्तुष्ट हुनुहुन्थ्यो। यसकारण, पृथ्वीमा अरू थप सृजनात्मक काम गर्नदेखि उहाँले विश्राम लिनुभयो अथवा रोक्नुभयो। परमेश्वरले बनाउनुभएको प्रमोदवन निष्खोट र सुन्दर भए तापनि यसले एउटा सानो इलाका मात्र ढाकेको थियो र पृथ्वीमा त्यतिबेला दुई मानवहरू मात्र थिए। परमेश्वरले उद्देश्य राख्नुभएको अवस्थासम्म पुग्न पृथ्वी र मानव परिवारलाई समय लाग्ने थियो। यसकारण उहाँले “सातौं दिन”-को प्रबन्ध गर्नुभयो। यसो गर्दा उहाँले यसअघिका छ ‘दिनहरूमा’ सृजनुभएका सम्पूर्ण सृष्टिले उहाँको पवित्र इच्छाअनुरूप वृद्धि हुँदैजाने समय पाउने थिए। (एफिसी १:११ तुलना गर्नुहोस्।) “सातौं दिन” अन्त हुँदा सम्पूर्ण पृथ्वी सदाका लागि सिद्ध मानव परिवारले भरिएको प्रमोदवन भइसकेको हुनेछ। (यशैया ४५:१८) पृथ्वी र मानवजातिको सम्बन्धमा “सातौं दिन” परमेश्वरको इच्छाका लागि र उक्त इच्छा पूरा गर्न अलग पारिएको वा समर्पित गरिएको दिन हो। यस अर्थमा त्यो “पवित्र” छ।
७. (क) कुन अर्थमा परमेश्वरले “सातौं दिन” विश्राम लिनुभयो? (ख) “सातौं दिन” अन्त हुँदा सब थोक के हुनेथिए?
७ अतः पृथ्वीमा अरू थप सृजनात्मक काम गर्नदेखि परमेश्वरले विश्राम लिनुभयो। यसरी विश्राम लिनु आफूले सृजनुभएका चीजबीजहरूलाई आ-आफ्नो काम पूरा गर्न दिन समय दिनुझैं थियो। “सातौं दिन”-को अन्तसम्ममा सब थोक आफ्नो उद्देश्यअनुरूप ठीक ठीक पूरा भइसकेको हुनेछ भनेर उहाँ पूर्णतया विश्वस्त हुनुहुन्थ्यो। केही बाधाअड्चन आइहालेको भए तापनि ती पार गरिने थिए। परमेश्वरको इच्छा वास्तविकतामा परिणत भएपछि आज्ञाकारी मानिसजातिले फाइदा उठाउनेछ। कसैले पनि यसो हुनदेखि रोक्न सक्नेछैन किनकि “सातौं दिन”-माथि यहोवाले आशिष् दिनुभएको थियो र उहाँले त्यसलाई “पवित्र” तुल्याउनुभएको थियो। आज्ञाकारी मानिसजातिको निम्ति कस्तो उज्ज्वल प्रत्याशा!
इस्राएल परमेश्वरको विश्राममा प्रवेश गर्न सकेन
८. इस्राएलीहरूले कहिले र कसरी विश्राम दिन मान्न थाले?
८ काम गर्ने र विश्राम लिने यहोवाको प्रबन्धबाट इस्राएल राष्ट्रले फाइदा उठायो। इस्राएलीहरूलाई सीनै पर्वतमा व्यवस्था दिनुअघि नै परमेश्वरले तिनीहरूलाई मोशा मार्फत भन्नुभयो: “परमप्रभुले तिमीहरूलाई विश्राम दिनुभएको छ, यसैकारण परमप्रभुले तिमीहरूका निम्ति छैंटौं दिनमा दुइ दिनको भोजन दिनुहुन्छ। यसैले तिमीहरू हरेक आफ्नो आफ्नो डेरामानै बसिरहनू। सातौं दिन कुनै पनि मानिस आफ्नो डेराबाट बाहिर नआओस्।” फलतः “मानिसहरूले सातौं दिनमा विश्राम गरे।”—प्रस्थान १६:२२-३०.
९. विश्राम दिन मान्ने व्यवस्थालाई इस्राएलीहरूले स्वागत गरे भन्नुमा किन कुनै शंका गर्ने ठाउँ थिएन?
९ मिश्रको दासत्वबाट भर्खरै मात्र छुटेर आएका इस्राएलीहरूको लागि यो नौलो प्रबन्ध थियो। मिश्री तथा अरूहरूले पाँचदेखि दस दिनको समयावधिले समयको लेखाजोखा गर्ने गरेको भए तापनि दासत्वमा परेका इस्राएलीहरूलाई कामधन्धाबाट एक दिन मात्र भए पनि आराम गर्न पाउने अनुमति दिए भनेर कल्पना गर्नु गाह्रो छ। (प्रस्थान ५:१-९ तुलना गर्नुहोस्।) अतः इस्राएलीहरूले यो परिवर्तनलाई स्वागत गरे भन्नु तार्किक छ। विश्रामलाई बोझ वा प्रतिबन्ध ठान्नुको साटो तिनीहरू खुसी हुनुपर्ने थियो। वास्तवमा विश्राम दिनले मिश्रको दासत्वबाट छुटकारा पाएको सम्झना गराउँछ भनेर परमेश्वरले पछि तिनीहरूलाई भन्नुभयो।—व्यवस्था ५:१५.
१०, ११. (क) आज्ञाकारी भएको भए इस्राएलीहरूले के आनन्द उठाउनसक्थे? (ख) इस्राएलीहरू किन परमेश्वरको विश्राममा प्रवेश गर्न सकेनन्?
१० मोशासँगसँगै मिश्रबाट निस्केर आएका इस्राएलीहरू आज्ञाकारी भइरहेका भए, “दूध र मह बहने” प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्ने विशेषाधिकार पाउने थिए। (प्रस्थान ३:८) त्यहाँ तिनीहरूले विश्राम दिनमा मात्र होइन आजीवन साँचो विश्राम पाउने थिए। (व्यवस्था १२:९, १०) तथापि, यो पूरा हुनसकेन। तिनीहरूबारे प्रेरित पावलले यसरी लेखे: “सुनीकन रीस उठाउने को को हुन् ता? मोशाद्वारा मिश्र देशबाट निस्केर आउने के सबै होइनन्? औ को कोसँग उहाँ चालिस वर्षसम्म रिसाउनुभयो? के ती पाप गर्नेहरूसँग होइन? जसका लाशहरू उजाड़-स्थानमा सोतर परेथे। के केवल ती आज्ञा नमान्नेहरूलाई बाहेक अरू कसैलाई उहाँको विश्राममा पस्न पाउनेछैन भनी उहाँले शपथ खानुभएको थियो? अविश्वासको कारणलेनै तिनीहरू पस्न नसकेका हामी देख्तछौं।”—हिब्रू ३:१६-१९.
११ हाम्रोनिम्ति कत्ति सशक्त पाठ! यहोवामाथिको अविश्वासको कारण उहाँले तिनीहरूसित प्रतिज्ञा गर्नुभएको विश्राम त्यस पुस्ताले पाएनन्। बरु, तिनीहरू उजाडस्थानमा नाश भए। अब्राहामको सन्तान भएकाले पृथ्वीका सबै जातिहरू आशीर्वादी हुने परमेश्वरको इच्छासित तिनीहरूको घनिष्ठ सम्बन्ध थियो भनेर तिनीहरूले बुझ्न सकेनन्। (उत्पत्ति १७:७, ८; २२:१८) ईश्वरीय इच्छाबमोजिम हिंड्नुको साटो तिनीहरू सांसारिक कामकुरा तथा स्वार्थी चाहनाहरू पूरा गर्नमै पूर्णतया अलमलिए। हामीलाई कहिल्यै त्यस्तो अवस्थामा पर्न नपरोस्!—१ कोरिन्थी १०:६, १०.
विश्राम दिनको आराम बाँकी नै छ
१२. प्रथम शताब्दीका मसीहीहरूको निम्ति कुन प्रत्याशा यथावत् थियो र तिनीहरूले त्यो कसरी हासिल गर्नसक्थे?
१२ विश्वासको कमी भएकोले इस्राएलीहरू परमेश्वरको विश्राममा प्रवेश गर्न नपाएको कुरा बताइसकेपछि पावलले आफ्नो ध्यान सँगी विश्वासीहरूतर्फ केन्द्रित गरे। हिब्रू ४:१-५ मा उल्लेख भएझैं पावलले तिनीहरूलाई “[परमेश्वरको] विश्राममा प्रवेश गर्ने प्रतिज्ञा अझै भइरहेकै” छ भन्दै आश्वासन दिए। पावलले तिनीहरूलाई “सुसमाचार”-मा विश्वास गर्न आग्रह गरे, किनकि “हामी विश्वास गर्नेहरूचाहिं ता त्यस विश्राममा प्रवेश गर्नेनैछौं।” येशूको छुटकाराको बलिदानले व्यवस्था खारेज गरिसकेको हुँदा पावल यहाँ विश्राम दिनमा पाइने शारीरिक आरामको कुरा गरिरहेका थिएनन्। (कलस्सी २:१३, १४) उत्पत्ति २:२ र भजन ९५:११ उद्धृत गर्दै पावल हिब्रू मसीहीहरूलाई परमेश्वरको विश्राममा प्रवेश गर्न आग्रह गर्दै थिए।
१३. भजन ९५ उद्धृत गर्दा पावलले किन “आज” भन्ने शब्दमा ध्यान खिचे?
१३ जसरी विश्राम दिनको आराम इस्राएलीहरूका लागि “सुसमाचार” हुनुपर्थ्यो, त्यसरी नै हिब्रू मसीहीहरूका लागि परमेश्वरको विश्राममा प्रवेश पाउने सम्भावना पनि “सुसमाचार” हुनुपर्ने थियो। यसर्थ, पावलले सँगी विश्वासीहरूलाई इस्राएलीहरूले उजाडस्थानमा गरेजस्तै गल्ती नगर्न आग्रह गरे। परमेश्वरले सृष्टि गर्ने कामबाट धेरैअघि विश्राम लिनुभइसकेको भए तापनि पावलले भजन ९५:७, ८ उल्लेख गर्दै “आज” शब्दतर्फ सबैको ध्यान खिचे। (हिब्रू ४:६, ७) पावल के भन्न खोज्दै थिए? परमेश्वरले पृथ्वी र मानिसजातिका लागि राख्नुभएको उद्देश्य पूरा गर्न छुट्याउनुभएको समय अर्थात् “सातौं दिन” अझै जारी छ भन्न खोजिरहेका थिए। तसर्थ, स्वार्थी अभिलाषाहरू पूरा गर्नमा व्यस्त नभएर सँगी मसीहीहरूले त्यस उद्देश्यअनुसार काम गर्नु आवश्यक थियो। तिनले फेरि यो चेताउनी दोहऱ्याए: “हृदय कठोर नपार।”
१४. परमेश्वरको “विश्राम” बाँकी नै छ भनेर पावलले कसरी देखाए?
१४ यसबाहेक, प्रतिज्ञा गरिएको “विश्राम” यहोशूको नेतृत्वमा प्रतिज्ञाकृत देशसम्म बसोबास गर्नु मात्र थिएन भनेर पनि पावलले संकेत गरे। (यहोशू २१:४४) “किनकि यहोशूले तिनीहरूलाई विश्राम दिएका भएदेखि ता,” पावलले तर्क गर्दै भने, “[परमेश्वरले] पछिबाट अर्को दिनको विषयमा भन्नुहुनेथिएन।” यसैलाई ध्यानमा राख्दै पावलले अझै यसो भने: “परमेश्वरका मानिसहरूका निम्ति विश्राम-दिनको आरामी बाँकीनै छ।” (हिब्रू ४:८, ९) यो “विश्राम-दिनको आरामी” के हो?
परमेश्वरको विश्राममा प्रवेश गर्नुहोस्
१५, १६. (क) “विश्राम-दिनको आरामी” पदावलीको महत्त्व के हो? (ख) ‘आफ्नो कामबाट विश्राम लिनुपर्छ’ भन्नुको अर्थ के हो?
१५ “विश्राम-दिनको आरामी” अभिव्यक्ति “आराम गर्ने” अर्थ लाग्ने युनानी शब्दबाट अनुवाद गरिएको हो। (किंगडम इन्टरलिनियर) प्राध्यापक विलियम लेन भन्छन्: “यो पदावली विशेषगरि यहूदी धर्मको विश्राम दिनसम्बन्धी निर्देशनबाट परिष्कृत भएर आएको हो। प्रस्थ २०:८-१० मा आधारित यो निर्देशनमा एकसाथ आराम र प्रशंसा गर्न जोड दिइएको थियो . . . [यसले] परमेश्वरको आराधना र प्रशंसा गर्दा व्यक्त गरिने उत्सव र आनन्दको विशेष पक्षलाई जोड दिन्थ्यो।” अतः, प्रतिज्ञा गरिएको विश्राम कामबाट पाउने छुट्टी मात्र थिएन। यो थकाइलाग्दो, उद्देश्यरहित परिश्रमलाई रोकेर परमेश्वरको आदर गर्ने आनन्ददायी सेवा गर्ने समय थियो।
१६ यो कुरा पावलका निम्न शब्दहरूद्वारा प्रस्ट हुन्छ: “उहाँको विश्राममा प्रवेश गर्नेले परमेश्वर आफैले गर्नुभएझैं आफ्नो कामबाट त्यसले पनि विश्राम लिएको हुनुपर्छ।” (हिब्रू ४:१०) परमेश्वरले थकाइ लागेर सातौं सृजनात्मक दिनमा आराम गर्नुभएको होइन। बरु, आफ्ना हस्तकलाहरूले उहाँको महिमा र आदर गर्न पूर्णतया फलून् फुलून् भनेर पृथ्वीमा सृजनात्मक कार्यहरू गर्न थामिनुभएको थियो। परमेश्वरकै सृष्टिको भाग भएको हुँदा हामीले त्यसै गर्नुपर्छ। हामीले पनि ‘आफ्नो कामबाट विश्राम लिनुपर्छ।’ भनाइको मतलब, मुक्ति पाउन परमेश्वरसामु आफैलाई धर्मी ठहराउने कोसिस बन्द गर्नुपर्छ। बरु, येशू ख्रीष्टको छुटकाराको बलिदानमा हाम्रो मुक्ति निर्भर छ भनेर हामीले विश्वास गर्नुपर्छ। र उहाँद्वारै सबै थोक फेरि परमेश्वरको उद्देश्यअनुरूप चल्नेछन् भन्ने विश्वास हामीसित हुनुपर्छ।—एफिसी १:८-१४; कलस्सी १:१९, २०.
परमेश्वरको वचन प्रबल छ
१७. शारीरिक इस्राएलले पछ्याएको कुन मार्ग पछ्याउनदेखि हामी परै बस्नुपर्छ?
१७ अनाज्ञाकारिता र विश्वासको कमीको कारण इस्राएलीहरूले परमेश्वरको विश्राममा प्रवेश गर्न पाएनन्। त्यसैकारण, पावलले हिब्रू मसीहीहरूलाई यस्तो आग्रह गरे: “हामी त्यस विश्राममा प्रवेश गर्नालाई प्रयत्न गरौं, र त्यही अनाज्ञाकारीको उदाहरणमा कोही मानिस पतित नहोस्।” (हिब्रू ४:११) प्रथम शताब्दीका अधिकांश यहूदीहरूले येशूलाई विश्वास गरेनन् र तिनीहरूमध्ये प्रायजसोले सा.यु. ७० मा यहूदी रीतिरिवाजको अन्त हुँदा साह्रै दुःख पाए। आज हामीले परमेश्वरको प्रतिज्ञामा विश्वास गर्नु कत्ति महत्त्वपूर्ण छ!
१८. (क) परमेश्वरको वचनमा विश्वास गर्ने कस्ता कारणहरू पावलले दिए? (ख) परमेश्वरको वचन कसरी “दुइ-धारे तरवारभन्दा पनि धारिलो” छ?
१८ हामीसित यहोवाको वचनमा भरोसा गर्ने ठोस कारणहरू छन्। पावलले लेखे: “परमेश्वरको वचन जीवित र प्रबल, र कुनै दुइ-धारे तरवारभन्दा पनि धारिलो, औ प्राण र आत्मालाई जोर्नी जोर्नी र हड्डीका मासीलाई भाग भाग पारुञ्जेलसम्म वारपार छेंड़ने, र हृदयको भावना र विचारलाई जाँच्न सक्ने हुन्छ।” (हिब्रू ४:१२) हो, परमेश्वरको वचन वा सन्देश “दुइ-धारे तरवारभन्दा पनि धारिलो” छ। हिब्रू मसीहीहरूले तिनीहरूका पितापुर्खालाई के भयो, त्यो सम्झिरहनुपर्थ्यो। उजाडस्थानमा नाश हुनेछन् भन्ने यहोवाको न्याय वचनलाई बिर्सेर तिनीहरूले प्रतिज्ञा गरिएको देशमा जबरजस्ती पस्न खोजे। तर मोशाले तिनीहरूलाई चेताउनी दिए: “त्यहाँ तिमीहरूले अमालेकीहरू र कनानीहरूलाई सामना गर्नुपर्नेछ, र तिनीहरूका तरवारद्वारा तिमीहरू मर्नेछौ।” हठी भएर इस्राएलीहरू अघि बढ्न खोज्दा “त्यस पहाड़मा बस्ने अमालेकी र कनानीहरू तल ओह्रलेर तिनीहरूलाई होर्मासम्मै मार्दै र खेद्दै ल्याए।” (गन्ती १४:३९-४५) यहोवाको वचन दुई धारे तरवारभन्दा पनि धारिलो छ र जानाजानी त्यसलाई बेवास्ता गर्नेहरूले पक्कै पनि त्यसको दण्ड भोग्नुपर्नेछ।—गलाती ६:७-९.
१९. परमेश्वरको वचनले कति जोडसित ‘छेड्न’ सक्छ र परमेश्वरप्रति जवाफदेही छौं भनेर हामीले किन स्वीकार्नुपर्ने हो?
१९ परमेश्वरको वचनले “प्राण र आत्मालाई जोर्नी जोर्नी र हड्डीका मासीलाई भाग भाग पारुञ्जेलसम्म” कत्ति प्रभावशाली ढंगमा छेड्दो रहेछ! त्यसले प्रत्येक व्यक्तिको विचार तथा भावनाहरूलाई छेड्छ र लाक्षणिक तवरमा हड्डीको भित्री भाग, मासीलाई समेत पूर्णतया छेड्छ! मिश्रको दासत्वबाट छुटेर आएका इस्राएलीहरूले व्यवस्था पालन गर्ने कबूल गरे तापनि तिनीहरूको हृदयले उहाँका प्रबन्ध तथा आवश्यकताहरूको मूल्यांकन गरेका थिएनन् भनी यहोवालाई थाह थियो। (भजन ९५:७-११) उहाँको इच्छा पूरा गर्नुको साटो तिनीहरू आफ्नै शारीरिक अभिलाषा सन्तुष्ट पार्न चिन्तित थिए। यसर्थ, तिनीहरूले परमेश्वरको विश्राममा प्रवेश गर्न पाएनन् बरु, उजाडस्थानमै नाश भए। हामीले यसबाट पाठ सिक्नु जरुरी छ किनकि “[परमेश्वरको] दृष्टिमा सृष्टिको कुनै कुरा छिपेको हुँदैन, तर जससँग हामीले व्यवहार गर्नुपर्छ, उहाँको नजरको सामने सब कुराहरू स्पष्ट र खुला राखिएका छन्।” (हिब्रू ४:१३) अतः यहोवाप्रतिको आफ्नो समर्पण हामी पूरा गरौं र “विनाशसम्म पुग्नेगरी पछि हट्ने” नगरौं।—हिब्रू १०:३९.
२०. हामी सामुन्ने के छ र परमेश्वरको विश्राममा प्रवेश पाउन हामीले अहिल्यै के गर्नैपर्छ?
२० “सातौं दिन” अर्थात् परमेश्वरको विश्राम दिन अझै जारी भए तापनि पृथ्वी र मानिसजातिका लागि तोक्नुभएको आफ्नो उद्देश्य काममा परिणत गर्न उहाँ सचेत हुनुहुन्छ। अब चाँडै मसीह राजा येशू ख्रीष्टले शैतान अर्थात् दियाबललगायत पृथ्वीबाट परमेश्वरको इच्छा विरोधीहरूलाई नामेट पार्नुहुनेछ। ख्रीष्टको हजार वर्षे शासनमा येशू र उहाँका १,४४,००० सहशासकहरूले पृथ्वी र मानिसजातिलाई परमेश्वरले सुरुमा गर्नुभएको उद्देश्यअनुरूप बनाउनेछन्। (प्रकाश १४:१; २०:१-६) हाम्रो जीवन यहोवाको इच्छा पूरा गर्नमै केन्द्रित छ भनेर देखाउने समय अहिल्यै हो। आफैलाई परमेश्वरसामु धर्मी ठहराउन खोज्नु र आफ्ना व्यक्तिगत रुचिहरू पूरा गर्न खोज्नुको साटो हामीले ‘आफ्नो कामबाट विश्राम लिने’ र परमेश्वरको राज्यसम्बन्धी कामकुरालाई अघि बढाउन सम्पूर्ण हृदयले सेवा गर्नुपर्छ। त्यसो गऱ्यौं र स्वर्गमा हुनुहुने हाम्रो पिता यहोवाप्रति विश्वासी भयौं भने हामीले अहिले र सधैंभरि परमेश्वरको विश्रामका फाइदाहरूको लाभ उठाउने विशेषाधिकार पाउनेछौं।
[पृष्ठ १६, १७-मा भएको चित्र]
इस्राएलीहरूले विश्राम दिन मनाए तर तिनीहरूले परमेश्वरको विश्राममा प्रवेश पाएनन्। किन? के तपाईंलाई थाह छ?
के तपाईं व्याख्या गर्न सक्नुहुन्छ?
◻ परमेश्वरले “सातौं दिनमा विश्राम” किन लिनुभयो?
◻ इस्राएलीहरूले कस्तो विश्रामको आनन्द उठाउन पाउने थिए तर तिनीहरू किन त्यस विश्राम दिनमा प्रवेश गर्न सकेनन्?
◻ परमेश्वरको विश्राममा प्रवेश गर्न हामीले के गर्नैपर्छ?
◻ परमेश्वरको वचन कसरी जीवित, प्रबल र दुई धारे तरवारभन्दा धारिलो छ?