ऐनाले के प्रकट गर्छ?
ऐनामा हेर्नुहोस्। तपाईं के देख्नुहुन्छ? कहिलेकाहीं ऐना हेर्दा तपाईंको रूपमा आफूलाई अप्ठ्यारो लाग्ने कुनै त्रुटि देख्नुहुन्छ र त्यसलाई अरूले देख्नअघि सच्याउन पाएकोमा खुशी हुनुहुन्छ।
बाइबल एउटा ऐनाजस्तै हो। यसले हामीलाई आफ्नो वास्तविक रूप बुझ्न मदत दिन्छ। त्यसले गर्दा परमेश्वरको नजरमा आफूलाई अचाक्ली वा असाध्यै कम मूल्यवान् ठान्ने सोचाइदेखि जोगाउँछ। (मत्ती १०:२९-३१; रोमी १२:३) यसबाहेक, बाइबलले हाम्रो वचन, कार्य तथा मनोवृत्तिमा सुधार गर्नुपर्ने कुराहरू प्रकट गर्नसक्छ। यसो हुँदा के तपाईं ऐनाले प्रकट गरेका कुराहरूलाई बेवास्ता गर्नुहुन्छ?
बाइबल लेखक याकूब यसो भन्छन्: “यदि कसैले वचन सुनेर त्यसबमोजिम गरेन भनेता त्यो आफ्नो स्वाभाविक मुख ऐनामा हेर्ने मानिस जस्तो मात्र हुनेछ। किनकि त्यसले आफूलाई देख्तछ र आफ्नो बाटो लाग्छ, तर कस्तो किसिमको मानिस थिएँ भनी तुरुन्तै बिर्सिहाल्छ।”—याकूब १:२३, २४.
त्यसको विपरीत, याकूबले अर्को प्रकारको मानिसबारे वर्णन गर्छन्, “जसले स्वतंत्रताको सिद्ध व्यवस्थामा ध्यान दिएर हेर्दछ र सुनेर नबिर्सने भई काम गर्नेसमेत भएर त्यसैमा लागिरहन्छ।” (याकूब १:२५) “हेर्दछ” भनी अनुवाद गरिएको युनानी शब्दको अर्थ हो, हेर्नको लागि झुक्नु वा निहुरिनु। थियोलोजिकल डिक्शनरी अफ द न्यु टेस्टामेन्ट यसो भन्छ, “यहाँ भन्न खोजिएको झलक्क हेर्नु मात्र होइन।” यो शब्दले छिपेका कुराहरूलाई होशियारीपूर्वक खोज्नुपर्ने अर्थ बुझाउँछ। बाइबल टिप्पणीकार आर. भी. जी. टास्कर यसो लेख्छन्: “हेर्नेबित्तिकै देख्न र त्यसको अर्थ बुझ्न गाह्रो भए तापनि दर्शकले हेर्न चाहने महत्त्वपूर्ण कुरा लुकेको हुन्छ।”
त्यसकारण के तपाईंले आफूलाई परमेश्वरको वचनको ऐनामा केलाएर त्यसअनुरूप गर्नुहुनेछ? याकूब अझै भन्छन्: “सुनेर नबिर्सने भई काम गर्नेसमेत भएर त्यसैमा लागिरहन्छ, त्यही मानिसले उसको काममा श्याबासी पाउनेछ।”—याकूब १:२५.