पाठकहरूका प्रश्नहरू
चेला याकूबले “हामीले ज्यादै दोष पाउनेछौं भनी जानेर धेरै जना शिक्षक नबन” भन्नुको तात्पर्य के हो?—याकूब ३:१.
निस्सन्देह, याकूबले अरूलाई सत्य सिकाउनदेखि मसीहीहरूलाई निरुत्साहित गरिरहेका थिएनन्। मत्ती २८:१९, २० मा येशूले आफ्ना चेलाहरूलाई “गएर सबै देशका जातिहरूलाई चेला बनाओ, . . . जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ” भनेर आज्ञा दिनुभयो। यसर्थ, सबै मसीहीहरू शिक्षक हुनुपर्छ। हिब्रू मसीहीहरू अझै पनि शिक्षकहरू नभएकाले प्रेरित पावलले तिनीहरूलाई सल्लाह दिए। तिनले यसप्रकार लेखे: “किनकि यतिका समयसम्म ता तिमीहरू शिक्षक होइसक्नुपर्दथियो, तर अझै तिमीहरूलाई कसैले परमेश्वरका वचनको शुरूका शिक्षाहरू सिकाइदिनु परेको छ।”—हिब्रू ५:१२.
त्यसोभए, याकूब के भन्दैथिए? तिनले मण्डलीमा सिकाउने विशेष सुअवसर पाएकाहरूको उल्लेख गर्दैथिए। एफिसी ४:११ मा हामी यस्तो लेखिएको पाउँछौं: “उहाँलेनै [येशू ख्रीष्ट, मण्डलीको शिर] कुनैलाई प्रेरित, कुनैलाई प्रचारक र कुनैलाई मण्डलीको गोठालो र शिक्षक हुनालाई [दिनुभयो]।” आजजस्तै प्रथम शताब्दीका मण्डलीहरूमा सिकाउने विशेष सुअवसरहरू थिए। उदाहरणको लागि, परिचालक निकायले “विश्वासी र बुद्धिमान दास[को]” प्रतिनिधित्व गर्छ र विश्वभरिका मण्डलीहरूलाई सिकाउन सुपरिवेक्षण गर्ने विशेष जिम्मेवारी पाएको हुन्छ। (मत्ती २४:४५) परिभ्रणण निरीक्षक तथा मण्डलीका प्राचीनहरूले पनि सिकाउने विशेष जिम्मेवारीहरू पाएका हुन्छन्।
परमेश्वरबाट कडा न्याय पाउलान् भन्ने डरले गर्दा दक्ष मसीही पुरुषहरूले शिक्षकको भूमिका नस्वीकार्नु भनी याकूबले बताइरहेका थिए र? पटक्कै थिएनन्। पहिलो तिमोथी ३:१ ले बताएअनुसार प्राचीनको भूमिका निभाउनु एउटा विशेषाधिकार हो। त्यहाँ यसो भनिएको छ: “यदि कुनै मानिसले बिशपको काम गर्न खोज्छन् भने, तिनले असलै कामको इच्छा गर्छन्।” मण्डलीको प्राचीन नियुक्त हुने एउटा आवश्यकता “सिकाउनमा सिपालु” व्यक्ति हुनु हो। (१ तिमोथी ३:२) याकूबले पावलका प्रेरित शब्दहरूको खण्डन गरेनन्।
तथापि, प्रथम शताब्दी सा.यु. मा केहीले दक्षता वा नियुक्तिबिना नै शिक्षकहरू भई टोपलेका जस्तो देखिन्छ। सम्भवतः तिनीहरूले त्यो भूमिका प्रतिष्ठित ठाने र व्यक्तिगत महिमा पाउने चाहना गरे। (मर्कूस १२:३८-४० तुलना गर्नुहोस्; १ तिमोथी ५:१७) प्रेरित यूहन्नाले डियोत्रिफसको उल्लेख गरे। तिनी ‘ठूलो हुन खोज्थे तर यूहन्नालाई आदरसाथ ग्रहण गर्दैनथे।’ (३ यूहन्ना ९) पहिलो तिमोथी १:७ ले ती व्यक्तिहरूबारे बताउँछ जो “तिनीहरू के बोल्दछन्, ती आफै बुझ्दैनन्, नता दृढ विश्वाससाथ ठोकेर भन्नसक्छन्, तापनि तिनीहरू व्यवस्थाका गुरु हुनचाहन्छन्।” याकूब ३:१ का शब्दहरू विशेषगरि गलत मनसाय राखेर शिक्षक हुन चाहने पुरुषहरूका लागि उपयुक्त छन्। त्यस्ता व्यक्तिहरूले बगाललाई गम्भीर हानि पुऱ्याउनसक्छन् र फलस्वरूप कडा न्यायदण्ड भोग्छन्।—रोमी २:१७-२१; १४:१२.
दक्ष तथा शिक्षकहरूको हैसियतमा सेवा गर्नेहरूका लागि याकूब ३:१ राम्रो सम्झौटा हो। तिनीहरूलाई धेरै कुराहरू सुम्पिएको हुँदा तिनीहरूबाट धेरै माग गरिनेछ। (लूका १२:४८) येशूले यसो भन्नुभयो: “हरेक व्यर्थ कुरा जो मानिसहरू बोल्दछन्, न्यायको दिनमा तिनीहरूले सबको हिसाब दिनु पर्नेछ।” (मत्ती १२:३६) यो विशेषगरि अरूमाथि बढी प्रभाव पार्ने नियुक्त प्राचीनहरूको सन्दर्भमा साँचो साबित हुन्छ।
प्राचीनहरूले यहोवाको भेडासित गरेको व्यवहारको लागि लेखा दिनुपर्नेछ। (हिब्रू १३:१७) तिनीहरू जे भन्छन्, त्यसले मानिसहरूको जीवनलाई असर गर्छ। यसर्थ, फरिसीहरूले जस्तै भेडाहरूसित दुर्व्यवहार गर्न वा आफ्नै विचारधाराहरू अघि सार्नदेखि प्राचीनहरू होशियार हुनुपर्छ। तिनले येशूको जस्तै गहिरो प्रेम देखाउन यत्न गर्नुपर्छ। शिक्षणसम्बन्धी हरेक परिस्थिति र विशेषगरि न्यायिक मामिलाहरूमा प्राचीनले आफ्नो बोलीवचनमा होश पुऱ्याउनुपर्छ ताकि बेमतलबका वा पूर्णतया व्यक्तिगत विचारधाराहरू व्यक्त नहोस्। यहोवा, उहाँको वचन र उहाँको संगठनबाट प्राप्त हुने निर्देशनहरूमाथि पूर्ण भरोसा राख्दा गोठालोले “ज्यादै दोष” होइन, तर परमेश्वरबाट आशिष् पाउनेछ।