प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “परमेश्‍वरको नजीक आओ”
    प्रहरीधरहरा—२००२ | डिसेम्बर १५
    • “परमेश्‍वरको नजीक आओ”

      “परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ।”—याकूब ४:८.

      १, २. (क) मानिसहरूले अक्सर कस्तो दाबी गर्छन्‌? (ख) याकूबले कस्तो आग्रह गरे र किन यसको आवश्‍यकता पऱ्‍यो?

      “परमेश्‍वर हामीसित हुनुहुन्छ।” राष्ट्रिय प्रतीक र सिपाहीहरूका पोसाकसमेत यी शब्दहरूले सजिएका छन्‌। अनि आजकलका असंख्य सिक्का तथा नोटहरूमा “हामी परमेश्‍वरमाथि भरोसा राख्छौं” भनी छापिएका छन्‌। मानिसहरूले परमेश्‍वरसित आफ्नो घनिष्ठ सम्बन्ध छ भन्‍न त भन्छन्‌। तथापि, वास्तवमै यस्तो सम्बन्ध हुन यसबारे कुरा गर्नु वा नारा घन्काउनु मात्र पर्याप्त छैन भन्‍ने कुरामा के तपाईं सहमत हुनुहुन्‍न र?

      २ बाइबलले परमेश्‍वरसित सम्बन्ध गाँस्न सम्भव छ भनी देखाउँछ। तथापि, यसको लागि प्रयत्न चाहिन्छ। प्रथम शताब्दीका केही अभिषिक्‍त मसीहीहरूले समेत यहोवा परमेश्‍वरसँगको आफ्नो सम्बन्ध बलियो बनाउनु आवश्‍यक परेको थियो। मसीही निरीक्षक याकूबले कोही-कोहीलाई तिनीहरूको शारीरिक झुकाव र आध्यात्मिक अशुद्धताबारे चेतावनी दिनुपऱ्‍यो। उक्‍त सल्लाह दिनुका साथै तिनले यो जोडदार आग्रह पनि गरे: “परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूको नजीक आउनुहुनेछ।” (याकूब ४:१-१२) याकूबले “नजीक आओ” भन्‍नुको अर्थ के हो?

      ३, ४. (क) “परमेश्‍वरको नजीक आओ” भन्‍ने अभिव्यक्‍तिले याकूबका प्रथम शताब्दीका पाठकहरूलाई कुन कुरा सम्झाएको हुनुपर्छ? (ख) परमेश्‍वरसामु जान सम्भव छ भनी हामी किन आश्‍वस्त हुन सक्छौं?

      ३ याकूबले आफ्ना अधिकांश पाठकहरूले सजिलै बुझ्न सक्ने अभिव्यक्‍ति चलाए। मोशालाई दिइएको व्यवस्थाले पूजाहारीहरूलाई मानिसहरूको तर्फबाट कसरी यहोवाको ‘नजीक आउने’ वा उहाँसामु जाने भन्‍नेबारे खास निर्देशनहरू दिएको थियो। (प्रस्थान १९:२२) त्यसकारण, यसले याकूबका पाठकहरूलाई यहोवाको नजिक जानु भनेको चानचुने कुरा होइन भनी सम्झाएको हुन सक्छ। यहोवा ब्रह्‍माण्डको सर्वोच्च व्यक्‍ति हुनुहुन्छ।

      ४ अर्कोतर्फ, एक जना बाइबलविद्‌ले टिप्पणी गरेझैं “[याकूब ४:८ को] यो आग्रहले ठोस आशा प्रकट गर्छ।” यहोवाले सधैं असिद्ध मानिसहरूलाई आफ्नो नजिक आउने मायालु निमन्त्रणा दिंदै आउनुभएको छ भनी याकूबलाई थाह थियो। (२ इतिहास १५:२) येशूको बलिदानले पूर्ण रूपमा यहोवाको नजिक जाने बाटो खोलिदियो। (एफिसी ३:११, १२) आज, लाखौं व्यक्‍तिहरूको लागि परमेश्‍वरसामु जाने बाटो खुलेको छ! तथापि, हामी कसरी यस अद्‌भुत सुअवसरको फाइदा उठाउन सक्छौं? यहोवा परमेश्‍वरको नजिक जान सक्ने तीनवटा तरिकाहरूबारे हामी संक्षिप्तमा विचार गर्नेछौं।

      परमेश्‍वको ‘ज्ञान लिइरहनुहोस्‌’

      ५, ६. परमेश्‍वरको ‘ज्ञान लिनुमा’ कुन कुरा समावेश छ भनी जवान शमूएलको उदाहरणले कसरी प्रकाश पार्छ?

      ५ यूहन्‍ना १७:३ अनुसार, येशूले यसो भन्‍नुभयो: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌ [“ज्ञान लिऊन्‌,” NW]।” यस पदको थुप्रै अनुवादहरू न्यु वर्ल्ड ट्रान्सलेसन-भन्दा अलि भिन्‍न छन्‌। परमेश्‍वरको “ज्ञान लिऊन्‌” भन्‍नुको सट्टा यिनीहरूमा परमेश्‍वरलाई “चिनून्‌” मात्र भनिएको छ। तथापि, थुप्रै शास्त्रविद्‌हरूको भनाइअनुसार, मौलिक युनानी भाषामा प्रयोग गरिएको यस शब्दले लगातार चलिरहने प्रक्रियालाई बुझाउँछ, जसले अर्को व्यक्‍तिसँग घनिष्ठ सम्बन्ध विकास गर्नतर्फ समेत डोऱ्‍याउन सक्छ।

      ६ येशूको समयमा परमेश्‍वरसँग घनिष्ठ हुनु भनेको कुनै नौलो कुरा थिएन। उदाहरणका लागि, हिब्रू धर्मशास्त्रमा शमूएल सानो केटा छँदा तिनले “अझसम्म परमप्रभुलाई चिनेका थिएनन्‌” भनी लेखिएको हामी पाउँछौं। (१ शमूएल ३:७) के यसको मतलब शमूएललाई परमेश्‍वरबारे खासै ज्ञान थिएन त? होइन। तिनका आमाबाबु तथा पूजाहारीहरूले पक्कै पनि तिनलाई थुप्रै कुराहरू सिकाएको हुनुपर्छ। तथापि, एक जना शास्त्रज्ञको भनाइअनुसार, यस पदमा प्रयोग गरिएको हिब्रू शब्द, “एकदमै घनिष्ठ सम्बन्ध” जनाउनको लागि प्रयोग गर्न सकिन्छ। शमूएल पछि यहोवाको प्रवक्‍ताको रूपमा सेवा गर्दा उहाँसँग जति घनिष्ठ भए त्यति पहिला थिएनन्‌। शमूएल जसै हुर्कंदै गए, तिनले यहोवालाई साँच्चै चिने र उहाँसँग व्यक्‍तिगत तवरमा घनिष्ठ सम्बन्ध गाँसे।—१ शमूएल ३:१९, २०.

      ७, ८. (क) हामी किन बाइबलका गहिरा शिक्षाहरूदेखि हताश हुनुहुँदैन? (ख) हामीले अध्ययन गर्नुपर्ने परमेश्‍वरको वचनका केही गहिरा सत्य कुरा के-के हुन्‌?

      ७ यहोवासँग राम्रोसित परिचित हुन के तपाईंले उहाँको ज्ञान लिइरहनुभएको छ? यसो गर्न तपाईंले परमेश्‍वरले प्रबन्ध गर्नुहुने आध्यात्मिक खानाको ‘तृष्णा गर्नुपर्छ।’ (१ पत्रुस २:२) आधारभूत ज्ञानहरूमै चित्त बुझाएर नबस्नुहोस्‌। बाइबलका गहिरा-गहिरा शिक्षाहरू सिक्ने कोसिस गर्नुहोस्‌। (हिब्रू ५:१२-१४) यी शिक्षाहरू त साह्रै गाह्रा छन्‌ भन्‍ने सोच्दै, के तपाईं हताश हुनुहुन्छ? त्यसो हो भने, यहोवा “गुरु” हुनुहुन्छ भन्‍ने कुरा कहिल्यै नबिर्सनुहोस्‌। (यशैया ३०:२०) सच्चाइका गहिरा कुराहरू असिद्ध मानिसहरूलाई कसरी बुझाउने भनी उहाँलाई थाह छ। अनि उहाँले सिकाउनुहुने कुरा बुझ्न तपाईंले साँचो प्रयत्न गर्नुभयो भने यसमा उहाँले आशिष्‌ दिन सक्नुहुन्छ।—भजन २५:४.

      ८ “परमेश्‍वरका गहीरा गहीरा कुराहरू” आफूले कति बुझेको छु भनी किन नजाँच्ने? (१ कोरिन्थी २:१०) यी विषयहरू धर्मविद्‌ र पादरीहरूले मात्र छलफल गर्ने नीरस विषयहरू होइनन्‌। यी हाम्रा मायालु पिताको मन अनि हृदयबारे रोमाञ्चकारी कुराहरू बुझ्न सकिने लाभकारी सिद्धान्तहरू हुन्‌। उदाहरणका लागि, छुडौती, “रहस्य,” र यहोवाले आफ्ना जनहरूलाई आशिष्‌ दिन तथा आफ्नो उद्देश्‍य पूरा गर्न बाँध्नुभएका विभिन्‍न करारहरूजस्ता विषयहरूका साथै अन्य त्यस्ता विषयहरूमा व्यक्‍तिगत अध्ययन अनुसन्धान गर्नु रमाइलो र इनामदायी हुन्छ।—१ कोरिन्थी २:७.

      ९, १०. (क) घमण्ड किन खतरनाक हुन्छ र यसबाट जोगिन हामीलाई कुन कुराले मदत गर्नेछ? (ख) यहोवाको ज्ञान लिने सन्दर्भमा हामी किन नम्र हुने कोसिस गर्नुपर्छ?

      ९ जसै गहिरा आध्यात्मिक सत्यसम्बन्धी तपाईंको ज्ञान बढ्‌दै जान्छ, त्यससँग-सँगै आउन सक्ने खतरा अर्थात्‌ घमण्डदेखि पनि होसियार रहनुहोस्‌। (१ कोरिन्थी ८:१) घमण्ड खतरनाक हुन्छ किनभने यसले मानिसजातिलाई परमेश्‍वरबाट तर्काउँछ। (हितोपदेश १६:५; याकूब ४:६) नबिर्सनुहोस्‌, कुनै पनि मानिसले आफ्नो ज्ञानमा घमण्ड गर्ने कारण नै छैन। उदाहरणका लागि, मानिसजातिले हालसालै गरेका वैज्ञानिक उन्‍नतिहरूको लेखाजोखा गरिएको एउटा पुस्तकको परिचयमा उल्लिखित यी शब्दहरू विचार गर्नुहोस्‌: “हामी जति धेरै थाह पाउँछौं, हामीलाई त्यति नै केही पनि थाह नभएको महसुस हुन्छ। . . . हामीले सिक्न बाँकी रहेका कुराहरूको तुलनामा हामीले सिकेका कुराहरू त केही पनि होइनन्‌।” यस्तो नम्रता स्फूर्तिदायी छ। यहोवा परमेश्‍वरको ज्ञान अर्थात्‌ सबैभन्दा ठूलो ज्ञानको सन्दर्भमा हामीसँग झनै नम्र हुनुपर्ने कारण छ। किन?

      १० यहोवाबारे केही बाइबल भनाइहरू ध्यान दिनुहोस्‌। “तपाईंका विचारहरू अति गम्भीर छन्‌।” (भजन ९२:५) “[यहोवाको] ज्ञान अपार छ।” (भजन १४७:५) “[यहोवाको] समझ अथाह छ।” (यशैया ४०:२८) “अहा! परमेश्‍वरका बुद्धि र ज्ञान, दुवैका सम्पत्ति कस्तो गहीरो छ!” (रोमी ११:३३) निस्सन्देह, हामीले यहोवाबारे सबै कुरा कहिल्यै थाह पाउन सक्दैनौं। (उपदेशक ३:११) हामीलाई उहाँले थुप्रै अद्‌भुत कुराहरू सिकाउनुभएको छ। तैपनि हामीले सिक्नुपर्ने कुराहरूको अथाह भण्डार अझै रहिरहनेछ। के यो प्रत्याशा हामीलाई रोमाञ्चक र आफूलाई नम्र तुल्याउनुपर्ने दुवै लाग्दैन र? त्यसकारण, जसै हामी सिक्दै जान्छौं, हाम्रो ज्ञान आफूलाई अरूभन्दा श्रेष्ठ तुल्याउन होइन तर यहोवाको नजिक हुन र अरूलाई पनि त्यसै गर्ने मदत दिन चलाऔं।—मत्ती २३:१२; लूका ९:४८.

      यहोवाप्रति आफ्नो प्रेम देखाउनुहोस्‌

      ११, १२. (क) यहोवाबारे लिने ज्ञानले हामीमा कस्तो असर गर्नुपर्छ? (ख) कुनै व्यक्‍तिले परमेश्‍वरप्रति देखाएको प्रेम साँचो हो कि होइन भनेर कसरी थाह हुन्छ?

      ११ पावलले ज्ञान र प्रेमबीचको सम्बन्ध दर्शाउनु उपयुक्‍त थियो। तिनले लेखे: “म यही प्रार्थना गर्दछु, कि ज्ञान र सबै विवेकमा तिमीहरूको प्रेम झन्‌ झन्‌ प्रशस्त हुँदै जाओस्‌।” (फिलिप्पी १:९) यहोवा र उहाँका उद्देश्‍यहरूबारे सिकेका हरेक अमूल्य सत्यले हामीलाई घमण्डले फुलाउनुको सट्टा स्वर्गमा बस्नुहुने हाम्रा पिताप्रतिको हाम्रो प्रेम बढाउनुपर्छ।

      १२ निस्सन्देह, परमेश्‍वरलाई प्रेम गरेको दाबी गर्ने थुप्रै व्यक्‍तिहरूले वास्तवमा उहाँलाई प्रेम गर्दैनन्‌। तिनीहरूको हृदयमा उठ्‌ने भावनाहरू निष्कपट होलान्‌। यस्ता भावनाहरू सही ज्ञानअनुरूप छन्‌ भने यो राम्रो र प्रशंसनीय हो। तर यस्ता भावनाहरू नै परमेश्‍वरप्रतिको प्रेम हो भन्‍न सकिंदैन। किन? यस्तो प्रेमलाई परमेश्‍वरको वचनले कसरी वर्णन गरेको छ, ध्यान दिनुहोस्‌: “हामीले उहाँका आज्ञा पालन गर्नुनै परमेश्‍वरप्रति प्रेम हो।” (१ यूहन्‍ना ५:३) त्यसकारण, यहोवाप्रतिको प्रेम आज्ञाकारी कामहरूद्वारा देखिन्छ भने मात्रै यो साँचो प्रेम हो।

      १३. ईश्‍वरीय भयले हामीलाई यहोवाप्रति प्रेम देखाउन कसरी मदत गर्नेछ?

      १३ ईश्‍वरीय भयले हामीलाई परमेश्‍वरको आज्ञा पालन गर्न मदत गर्नेछ। यहोवाबारे ज्ञान लिंदा तथा उहाँको असीम पवित्रता, महिमा, शक्‍ति, न्याय, बुद्धि र प्रेमबारे सिक्दा उहाँप्रति गहिरो विस्मय र अगाध श्रद्धा उत्पन्‍न हुन्छ। उहाँसँग नजिक हुन यस्तो भय अत्यावश्‍यक छ। वास्तवमा, भजन २५:१४ ले के भन्छ, ध्यान दिनुहोस्‌: “उहाँसँग डराउनेहरूसँगनै परमप्रभुको घनिष्ठता रहन्छ।” त्यसकारण, हामीमा स्वर्गमा हुनुहुने हाम्रो मायालु पिता हाम्रो कारण अप्रसन्‍न हुनुहोला कि भन्‍ने स्वास्थ्यकर भय छ भने, हामी उहाँसँग घनिष्ठ हुन सक्छौं। ईश्‍वरीय भयले हामीलाई हितोपदेश ३:६ मा लिपिबद्ध बुद्धिमानी सल्लाह पालन गर्न मदत गर्नेछ: “आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।” यसको अर्थ के हो?

      १४, १५. (क) हामीले हरेक दिन कस्ता निर्णयहरू गर्नुपर्ने हुन्छ? (ख) हामी कसरी ईश्‍वरीय भय झल्कने ढंगमा निर्णयहरू गर्न सक्छौं?

      १४ तपाईंले हरेक दिन स-साना वा ठूलठूला निर्णयहरू गर्नुपर्ने हुन्छ। उदाहरणका लागि, तपाईंले आफ्ना सहकर्मी, सहपाठी तथा छिमेकीहरूसँग कस्तो प्रकारको कुराकानी गर्नुहुनेछ? (लूका ६:४५) तपाईं आफ्नो काम परिश्रमसाथ गर्नुहुनेछ वा काम चोर्न खोज्नुहुनेछ? (कलस्सी ३:२३) तपाईं यहोवाप्रति अलिअलि मात्र प्रेम देखाउने वा प्रेम नै नदेखाउने व्यक्‍तिहरूसँग घनिष्ठ हुनुहुनेछ वा आध्यात्मिक व्यक्‍तिहरूसँग आफ्नो सम्बन्ध बलियो बनाउने कोसिस गर्नुहुनेछ? (हितोपदेश १३:२०) राज्यसम्बन्धी कामकुराहरूलाई बढवा दिन, तपाईं सानो तरिकामा भए पनि कसरी योगदान पुऱ्‍याउन सक्नुहुन्छ? (मत्ती ६:३३) यहाँ उल्लेख गरिएजस्ता धर्मशास्त्रीय सिद्धान्तहरूले तपाईंको दैनिक निर्णयहरूमा मार्गनिर्देशकको काम गर्छन्‌ भने पक्कै पनि तपाईंले “आफ्नो सबै चालमा” यहोवालाई सम्झिरहनुभएको छ।

      १५ वास्तवमा भन्‍ने हो भने, हामीले जुनसुकै निर्णय गर्दा पनि यी कुराहरू विचार गर्नुपर्छ: ‘यहोवाले मैले के गरेको चाहनुहुनेछ? मैले कुन मार्ग पछ्याउँदा उहाँलाई आनन्दित तुल्याउँछ?’ (हितोपदेश २७:११) यस ढंगमा ईश्‍वरीय भय देखाउनु यहोवाप्रति प्रेम व्यक्‍त गर्ने अत्युत्तम तरिका हो। ईश्‍वरीय भयले हामीलाई आध्यात्मिक, नैतिक र शारीरिक तवरमा पनि स्वच्छ रहन उत्प्रेरित गर्नेछ। नबिर्सनुहोस्‌, याकूबले मसीहीहरूलाई “परमेश्‍वरको नजीक आओ” भनी आग्रह गरेकै पदमा तिनले यस्तो सल्लाह पनि दिएका छन्‌: “हे पापी हो, तिमीहरूको हात शुद्ध पार, र हे दोमनका हो, तिमीहरूको हृदय पवित्र पार।”—याकूब ४:८.

      १६. यहोवालाई दिएर हामी कहिल्यै पनि कुन कुरा पूरा गर्न सक्दैनौं, तर पनि हामी सदैव के गर्न भने सक्छौं?

      १६ निस्सन्देह, यहोवाप्रति प्रेम व्यक्‍त गर्नुमा खराबीबाट अलग रहनु मात्र पर्याप्त छैन। प्रेमले हामीलाई सही कुरा गर्न पनि उत्प्रेरित गर्छ। उदाहरणका लागि, यहोवाको असीम उदारताप्रति हामी कस्तो प्रतिक्रिया देखाउँछौं? याकूबले लेखे: “हरेक असल दान र हरेक उत्तम वरदान माथिबाटकै हो, र ज्योतिका पिताबाट आउँछ।” (याकूब १:१७) हुन त, हामीले यहोवालाई आफ्नो धन-सम्पत्ति दिएर उहाँलाई धनी बनाउन सक्दैनौं। सबै असल थोक र स्रोत-साधनहरू उहाँकै हुन्‌। (भजन ५०:१२) अनि हामीले यहोवालाई हाम्रो समय र शक्‍ति दिंदा, उहाँले अन्यथा प्राप्त गर्नै नसक्ने कुरा दिइरहेका हुँदैनौं। हामीले परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नै इन्कार गऱ्‍यौं भने उहाँले ढुंगालाई समेत बोल्न लगाउन सक्नुहुन्छ! त्यसोभए, यहोवालाई किन हाम्रो स्रोत-साधन, समय र शक्‍ति दिने त? मुख्य कुरा त, यसो गरेर हामी आफ्नो सारा हृदय, प्राण, बुद्धि र शक्‍तिले उहाँप्रति आफ्नो प्रेम देखाउँछौं।—मर्कूस १२:२९, ३०.

      १७. यहोवालाई खुसीसाथ दिन हामीलाई केले उत्प्रेरित गर्न सक्छ?

      १७ यहोवालाई दिंदा हामीले खुसीसाथ दिनुपर्छ “किनभने खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ।” (२ कोरिन्थी ९:७) व्यवस्था १६:१७ मा लिपिबद्ध सिद्धान्तले हामीलाई खुसीसाथ दिन मदत गर्न सक्छ: “परमप्रभु तिमीहरूका परमेश्‍वरले हरेकलाई दिनुभएको आशिषअनुसार परमप्रभु आफ्ना परमेश्‍वरलाई हरेकले आफ्नो औकातअनुसार चढ़ाओस्‌।” यहोवा हामीप्रति कति उदार हुनुहुन्छ भन्‍ने कुरा विचार गर्दा, हामी उहाँलाई खुसीसाथ दिन इच्छुक हुन्छौं। एक जना प्यारो बच्चाको सानो उपहारबाट उसका आमाबाबु खुसी भएझैं, यसरी दिंदा उहाँको हृदय आनन्दित हुन्छ। यसरी हाम्रो प्रेम व्यक्‍त गर्दा हामीलाई यहोवाको नजिक जान मदत गर्नेछ।

      प्रार्थनाद्वारा घनिष्ठता बढाउनुहोस्‌

      १८. हाम्रा प्रार्थनाहरूको गुणस्तर कसरी बढाउने भनी विचार गर्नु किन उपयुक्‍त हुन्छ?

      १८ व्यक्‍तिगत प्रार्थनाले हामीलाई स्वर्गमा हुनुहुने हाम्रो पितासँग आत्मीय र गोप्य कुराकानी गर्ने मूल्यवान्‌ सुअवसर प्रदान गर्छ। (फिलिप्पी ४:६) परमेश्‍वरसँग घनिष्ठ हुने एउटा महत्त्वपूर्ण माध्यम प्रार्थना भएकोले हाम्रा प्रार्थनाहरूको गुणस्तरबारे केही छिन विचार गर्नु उपयुक्‍त हुन्छ। यसको मतलब हाम्रा प्रार्थनाहरू उच्च कोटीको भाषा शैली प्रयोग गरिएको र चिटिक्क मिलेको हुनुपर्छ भन्‍ने होइन, तर हामीले भन्‍ने कुराहरू हृदयदेखि निस्केको निष्कपट अभिव्यक्‍ति हुनुपर्छ। हामी कसरी हाम्रो प्रार्थनाको गुणस्तर बढाउन सक्छौं?

      १९, २०. प्रार्थना गर्नुअघि किन मनन गर्नुपर्छ र हामी के-कस्ता विषयहरूमा मनन गर्न सक्छौं?

      १९ हामी प्रार्थना गर्नुअघि मनन गर्ने कोसिस गर्न सक्छौं। पहिल्यै मनन गऱ्‍यौं भने हामीले आफ्ना प्रार्थनाहरू स्पष्ट तथा अर्थपूर्ण बनाउन सक्छौं र आफूलाई कण्ठस्थ भएको वा आफ्नो दिमागमा ठप्प बसेका वाक्यांशहरू मात्र दोहोऱ्‍याइरहने छैनौं। (हितोपदेश १५:२८, २९) येशूले आफ्नो आदर्श प्रार्थनामा उल्लेख गर्नुभएका केही विषयहरूबारे चिन्तन गर्नुका साथै यी कसरी हाम्रो परिस्थितिसँग मेल खान्छन्‌ भनी विचार गर्नु मदतकारी हुन सक्छ। (मत्ती ६:९-१३) उदाहरणका लागि, यस पृथ्वीमा यहोवाको उद्देश्‍य पूरा गर्न हामीले कस्तो सानो योगदान पुऱ्‍याउन सक्छौं भनी आफैलाई सोध्न सक्छौं। के हामी यहोवाको लागि यथाशक्य उपयोगी हुने इच्छा व्यक्‍त गर्नुका साथै उहाँले दिनुभएको जुनसुकै जिम्मेवारी पूरा गर्न उहाँको मदतको लागि बिन्ती गर्छौं? के हामी आफ्नो भौतिक आवश्‍यकताहरूको चिन्ताले लादिएका छौं? हामीलाई कस्ता पापहरूको लागि क्षमा चाहिन्छ र हामी कोप्रति अझ बढी क्षमाशील हुनु आवश्‍यक छ? हामीमाथि कस्ता प्रलोभनहरू आइपरेका छन्‌ र यस्तो अवस्थामा हामीलाई तत्कालै यहोवाको सुरक्षा चाहिएको छ भनी के हामी महसुस गर्छौं?

      २० यसबाहेक, हामी यहोवाको मदतको खास आवश्‍यकतामा परेका आफूले चिनेजानेका व्यक्‍तिहरूबारे सोच्न सक्छौं। (२ कोरिन्थी १:११) तथापि, हामीले धन्यवाद चढाउन पनि बिर्सनु हुँदैन। हामीले यसबारे केही छिन विचार गऱ्‍यौं भने, हामीले यहोवाको प्रचुर भलाइका लागि दिनहुँ उहाँलाई धन्यवाद दिनुपर्ने र उहाँको प्रशंसा गर्नुपर्ने कारणहरू पक्कै पनि भेट्टाउनेछौं। (व्यवस्था ८:१०; लूका १०:२१) यसो गर्नुको अर्को पनि लाभ छ। यसले हामीलाई जीवनमा अझ सकारात्मक र कृतज्ञ मनोवृत्ति राख्न मदत गर्न सक्छ।

      २१. प्रार्थनामा यहोवालाई पुकार्दा कस्ता धर्मशास्त्रीय उदाहरणहरू अध्ययन गर्नु मदतकारी हुन सक्छ?

      २१ अध्ययनले हाम्रो प्रार्थनामा पनि उन्‍नति गराउन सक्छ। परमेश्‍वरको वचनमा विश्‍वासी पुरुष तथा स्त्रीहरूका उल्लेखनीय प्रार्थनाहरू लिपिबद्ध छन्‌। उदाहरणका लागि, हामी चुनौतीपूर्ण समस्याको कारण चिन्तित छौं र आफ्नै वा आफ्नो प्रियजनहरूको सुरक्षाको खातिर त्रसित छौं भने, हामी याकूबले बदला लिन कसिएका आफ्नो दाजु एसावसँग भेट गर्नुअघि गरेको प्रार्थना पढ्‌न सक्छौं। (उत्पत्ति ३२:९-१२) वा हामी राजा आसाले, लगभग दस लाख एथियोपियाली फौजले परमेश्‍वरका जनहरूलाई धम्काउँदा गरेको प्रार्थना पढ्‌न सक्छौं। (२ इतिहास १४:११, १२) हामी यहोवाको नाउँमा आँच आउन सक्ने समस्याको कारण चिन्तित छौं भने, एलियाले कर्मेल पर्वतमा बाल उपासकहरूको अगाडि गरेका प्रार्थनाका साथै यरूशलेमको दयनीय अवस्थाबारे नहेम्याहले गरेका प्रार्थनाबारे विचार गर्नु उपयुक्‍त हुन्छ। (१ राजा १८:३६, ३७; नहेम्याह १:४-११) यस्ता प्रार्थनाहरू पढ्‌दा र यसबारे मनन गर्दा यसले हाम्रो विश्‍वास बलियो बनाउनुका साथै हामीलाई कुनै चिन्ताले सताउँदा कसरी अत्युत्तम ढंगमा यहोवासामु जान सकिन्छ भनी सिकाउँछ।

      २२. सन्‌ २००३ को वार्षिक पद के हो र हामीले यस वर्षैभरि समय समयमा आफूलाई के सोधिरहन सक्छौं?

      २२ स्पष्टतः “परमेश्‍वरको नजीक आओ” भनी याकूबले दिएका सल्लाह पालन गर्नुभन्दा ठूलो सुअवसर र लक्ष्य अरू कुनै छैन। (याकूब ४:८) परमेश्‍वरबारे अझ बढी ज्ञान हासिल गरेर, उहाँप्रति बढीभन्दा बढी प्रेम व्यक्‍त गर्ने कोसिस गरेर र प्रार्थनाहरूद्वारा उहाँसँग घनिष्ठता विकास गरेर हामी यसो गर्न सकौं। सन्‌ २००३ भरि नै याकूब ४:८ लाई वार्षिक पदको रूपमा मनमा राख्दै, हामी साँच्चै परमेश्‍वरको नजिक गइरहेका छौं कि छैनौं भनी आफैलाई जाँचिरहन नछोडौं। तथापि, उक्‍त पदको पछिल्लो भागबारे के भन्‍न सकिन्छ नि? कुन अर्थमा यहोवा तपाईंको “नजीक आउनुहुनेछ” र कस्ता आशिष्‌हरू दिनुहुनेछ? अर्को लेखमा यसबारे विचार गरिनेछ।

  • “उहाँ तिमीहरूका नजीक आउनुहुनेछ”
    प्रहरीधरहरा—२००२ | डिसेम्बर १५
    • “उहाँ तिमीहरूका नजीक आउनुहुनेछ”

      “[ परमेश्‍वर] हामी हरेकबाट टाढा हुनुहुन्‍न।”—प्रेरित १७:२७.

      १, २. (क) ताराहरूले भरिएको आकाश देख्दा हामी सृष्टिकर्ताबारे कस्तो प्रश्‍न सोध्न सक्छौं? (ख) मानिसहरू यहोवाको नजरमा तुच्छ छैनन्‌ भनी बाइबलले हामीलाई कसरी आश्‍वस्त पार्छ?

      के तपाईं सफा रातमा टिलपिल-टिलपिल चम्किरहेका ताराहरूले भरिएको आकाश देखेर आश्‍चर्यचकित हुनुभएको छ? असंख्य ताराहरू र अन्तरिक्षको विशालताले मात्रै पनि हामीलाई विस्मित तुल्याउँछ। तर यस बडेमानको ब्रह्‍माण्डमा पृथ्वी त एकदमै सानो थोप्लोजस्तो मात्रै हो। के यसको अर्थ “सारा पृथ्वीमा सर्वोच्च” सृष्टिकर्ता, मानिसको चासो नै नलिने अति नै उच्च व्यक्‍ति वा तिनीहरूले भेट्‌नै नसक्ने गरी टाढा हुनुहुन्छ?—भजन ८३:१८.

      २ बाइबलले मानिसहरू यहोवाको नजरमा तुच्छ छैनन्‌ भनी आश्‍वासन दिन्छ। वास्तवमा, परमेश्‍वरको वचनले हामीलाई उहाँको खोजी गर्ने यस्तो प्रोत्साहन दिन्छ: “उहाँ हामी हरेकबाट टाढा हुनुहुन्‍न।” (प्रेरित १७:२७; १ इतिहास २८:९) निस्सन्देह, हामीले परमेश्‍वरको नजिक हुने कदम चाल्यौं भने उहाँले हाम्रा प्रयत्नहरूको प्रत्युत्तर दिनुहुनेछ। कसरी? सन्‌ २००३ को हाम्रो वार्षिक पदले यस्तो हृदयस्पर्शी जवाफ दिन्छ: “उहाँ तिमीहरूका नजीक आउनुहुनेछ।” (याकूब ४:८) आउनुहोस्‌, यहोवाको नजिक जानेहरूमाथि उहाँले वर्षाउनुहुने केही अद्‌भुत आशिष्‌हरूबारे छलफल गरौं।

      यहोवाबाट व्यक्‍तिगत वरदान

      ३. यहोवाले उहाँको नजिक जानेहरूलाई कस्तो वरदान दिनुहुन्छ?

      ३ सर्वप्रथम, यहोवाका सेवकहरूसँग उहाँले आफ्ना जनहरूको लागि साँचेर राख्नुभएको अमूल्य वरदान छ। यस रीतिरिवाजले दिने सम्पूर्ण शक्‍ति, धनसम्पत्ति र शिक्षाद्वारा यो वरदान प्राप्त गर्न सकिंदैन। यो यहोवाले आफ्नो नजिक हुनेहरूलाई मात्र दिनुहुने व्यक्‍तिगत वरदान हो। यो के हो? परमेश्‍वरको वचनले यस्तो जवाफ दिन्छ: “समझशक्‍तिलाई पुकार्‌। यदि तैंले त्यसलाई चाँदीझैं खोजिस्‌ र गाड़-धनझैं त्यो खनिस्‌ भने, तैंले परमप्रभुको भय बुझ्नेछस्‌, र परमेश्‍वरको ज्ञान प्राप्त गर्नेछस्‌। किनभने बुद्धि दिने परमप्रभुनै हुनुहुन्छ।” (हितोपदेश २:३-६) असिद्ध मानिसहरूले “परमेश्‍वरको ज्ञान प्राप्त गर्ने” कुरा कल्पना गर्नुहोस्‌ त! त्यो वरदान अर्थात्‌ परमेश्‍वरको वचनमा पाइने ज्ञानलाई “गाड़-धन[सँग]” तुलना गरिएको छ। किन?

      ४, ५. “परमेश्‍वरको ज्ञान[लाई]” किन “गाड़-धन[सँग]” तुलना गर्न सकिन्छ? उदाहरण दिनुहोस्‌।

      ४ एउटा कुरा, परमेश्‍वरको ज्ञान बहुमूल्य छ। यसका अमूल्य आशिष्‌हरूमध्ये एउटा अनन्त जीवनको प्रत्याशा हो। (यूहन्‍ना १७:३) तर त्यस ज्ञानले हाम्रो जीवन अहिले पनि समृद्ध बनाउँछ। उदाहरणका लागि, हामीले होसियारीसाथ परमेश्‍वरको वचन अध्ययन गरेको कारण यस्ता महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ पाएका छौं: परमेश्‍वरको नाउँ के हो? (भजन ८३:१८, NW) मृतकहरू वास्तवमा कुन अवस्थामा छन्‌? (उपदेशक ९:५, १०) पृथ्वी र मानिसजातिको लागि परमेश्‍वरको उद्देश्‍य के छ? (यशैया ४५:१८) हामीले सबैभन्दा उत्तम ढंगमा जीवन बिताउने तरिका बाइबलका बुद्धिमानी सल्लाहहरू प्रयोगमा ल्याउनु हो भन्‍ने कुरा पनि सिकेका छौं। (यशैया ३०:२०, २१; ४८:१७, १८) त्यसकारण, हामीसँग जीवनका फिक्रीहरूसँग संघर्ष गर्न तथा साँचो आनन्द र सन्तुष्टि बढाउने जीवन पद्धति पछ्याउन मदत दिने स्वास्थ्यकर निर्देशन छ। सबैभन्दा मुख्य कुरा त, परमेश्‍वरको वचन अध्ययन गरेको कारण हामीले यहोवाका अद्‌भुत गुणहरूबारे बुझ्न तथा उहाँको नजिक जान मदत पाएका छौं। “परमेश्‍वरको ज्ञान[मा]” आधारित यहोवासँगको नजिकको सम्बन्धभन्दा मूल्यवान्‌ कुरा अरू के नै हुन सक्छ र?

      ५ परमेश्‍वरको ज्ञानलाई “गाड़-धन[सँग]” तुलना गर्न सकिने अर्को पनि कारण छ। अधिकांश खजानाहरूजस्तै, तुलनात्मक हिसाबले यो पनि दुर्लभ छ। पृथ्वीका छ अरब बासिन्दाहरूमध्ये, यहोवाका लगभग ६० लाख उपासकहरू अर्थात्‌ १,००० जनामा लगभग १ जनाले मात्रै “परमेश्‍वरको ज्ञान” भेट्टाएका छन्‌। परमेश्‍वरको वचनको सत्य थाह पाउनु कति विशेष सुअवसर हो भनी बुझ्न, एउटा मात्र बाइबल प्रश्‍नबारे विचार गर्नुहोस्‌: मृत्यपछि मानिसहरूलाई के हुन्छ? प्राण मर्छ र मृतकहरू अचेत हुन्छन्‌ भनी हामीलाई धर्मशास्त्रबाट थाह छ। (इजकिएल १८:४) तथापि, संसारका अधिकांश धर्महरूले मानिस मरिसकेपछि पनि ऊ भित्र भएको कुनै तत्त्व बाँचिरहन्छ भन्‍ने गलत धारणा अँगालेका छन्‌। यो मसीहीजगत्‌का धर्महरूको एउटा अभिन्‍न भाग हो। यो धारणा इस्लाम, जैन, ताओ, बौद्ध, यहूदी धर्म, शिन्टो, सिख र हिन्दू धर्महरूमा पनि व्याप्त छ। कल्पना गर्नुहोस्‌ त—यो एउटै झूटो सिद्धान्तद्वारा अरबौं मानिसहरू ठगिएका छन्‌!

      ६, ७. (क) कसले मात्र “परमेश्‍वरको ज्ञान” भेट्टाउन सक्छ? (ख) यहोवाले हामीलाई थुप्रै “बुद्धिमान र समझदार” मानिसहरूले प्राप्त गर्न नसकेका आध्यात्मिक सत्यको अन्तर्दृष्टि दिनुभएको छ भनी कुन उदाहरणले देखाउँछ?

      ६ किन धेरै व्यक्‍तिहरूले “परमेश्‍वरको ज्ञान” भेट्टाउन सकेका छैनन्‌? किनभने परमेश्‍वरको मदतविना कसैले पनि उहाँको वचनको अर्थ पूर्णतया बुझ्न सक्दैन। नबिर्सनुहोस्‌, यो ज्ञान एउटा वरदान हो। यहोवाले आफ्नो वचन इमानदारिता र नम्रतासाथ खोज्न इच्छुक व्यक्‍तिहरूलाई मात्र यो दिनुहुन्छ। यस्ता मानिसहरू ‘सांसारिक स्तरअनुसार बुद्धिमान्‌’ नहुन सक्छन्‌। (१ कोरिन्थी १:२६, नयाँ संशोधित संस्करण) सांसारिक स्तरअनुसार हेर्ने हो भने, तिनीहरूमध्ये थुप्रै “अपठित र अजान” पनि होलान्‌। (प्रेरित ४:१३) तर पनि यसले कुनै फरक पार्दैन। यहोवाले हाम्रो हृदयमा पाउनुहुने गुणहरूको कारण नै उहाँले हामीलाई “परमेश्‍वरको ज्ञान” इनामस्वरूप दिनुहुन्छ।

      ७ एउटा उदाहरण विचार गर्नुहोस्‌। मसीहीजगत्‌का थुप्रै शास्त्रविद्‌हरूले बाइबलबारे व्याख्या गरिएका पुस्तकहरू निकालेका छन्‌। यस्ता सन्दर्भ सामग्रीहरूले ऐतिहासिक पृष्ठभूमि, हिब्रू तथा युनानी शब्दहरूको अर्थका साथै अन्य थुप्रै कुराहरूबारे व्याख्या गर्न सक्छन्‌। ती शास्त्रविद्‌हरूलाई धेरै कुरा थाह भए तापनि के तिनीहरूले साँच्चै “परमेश्‍वरको ज्ञान” भेट्टाएका छन्‌ त? अनि के तिनीहरूले बाइबलको मूल विषय, परमेश्‍वरको स्वर्गीय राज्यद्वारा यहोवाको सार्वभौमिकताको प्रमाणीकरण हो भनी स्पष्टसँग बुझेका छन्‌? के तिनीहरूलाई यहोवा परमेश्‍वर त्रिएकको भाग हुनुहुन्‍न भनेर थाह छ? तर हामीसँग भने यस्ता कुराहरूको सही समझ छ। किन? यहोवाले हामीलाई थुप्रै “बुद्धिमान र समझदार” मानिसहरूले प्राप्त गर्न नसकेका आध्यात्मिक सत्यको अन्तर्दृष्टि दिनुभएको छ। (मत्ती ११:२५) यहोवाले उहाँको नजिक जानेहरूलाई कत्ति धेरै आशिष्‌हरू दिनुहुन्छ!

      ‘उहाँलाई प्रेम गर्ने सबैलाई यहोवाले जोगाइरहनुभएको छ’

      ८, ९. (क) यहोवासँग नजिक हुनेहरूले पाउने अर्को आशिष्‌बारे दाऊदले कसरी वर्णन गरे? (ख) साँचो मसीहीहरूलाई किन ईश्‍वरीय सुरक्षा चाहिन्छ?

      ८ यहोवासँग नजिक हुनेहरूले अर्को पनि आशिष्‌को आनन्द उठाउँछन्‌। त्यो हो, ईश्‍वरीय सुरक्षा। थुप्रै अप्ठ्याराहरूको सामना गरेका, भजनहार दाऊदले यसरी लेखे: “उहाँमा पुकारा गर्ने सबैका नजीक परमप्रभु हुनुहुन्छ, उहाँलाई साँचोसित पुकारने सबैका नजीक। उहाँसित डराउनेहरूको इच्छा उहाँले पूरा गर्नुहुनेछ। उहाँले तिनीहरूको पुकारा पनि सुन्‍नुहुनेछ, र तिनीहरूलाई बचाउनुहुनेछ। उहाँलाई प्रेम गर्ने सबैलाई परमप्रभुले जोगाउनुहुनेछ।” (भजन १४५:१८-२०) हो, यहोवा उहाँलाई प्रेम गर्नेहरूको नजिक हुनुहुन्छ। त्यसैकारण, तिनीहरूले मदतको लागि पुकार्ने बित्तिकै उहाँले तुरुन्तै कदम चालिहाल्न सक्नुहुन्छ।

      ९ हामीलाई किन ईश्‍वरीय सुरक्षा चाहिन्छ? हामी “डरलाग्दो समय[मा]” बाँचिरहेको कारण यसका असरहरू महसुस गर्नुको अलावा साँचो मसीहीहरू यहोवाको प्रमुख प्रतिद्वन्द्वी, शैतान अर्थात्‌ दियाबलका विशेष तारो हुन्‌। (२ तिमोथी ३:१) त्यो धूर्त शत्रु हामीलाई ‘निल्न’ कटिबद्ध छ। (१ पत्रुस ५:८) शैतानले हामीलाई सताउँछ, दबाब दिन्छ र प्रलोभनमा पार्छ। त्यसले हाम्रो मन तथा हृदयको प्रवृत्तिबाट पनि फाइदा उठाउन खोज्छ। त्यसको लक्ष्य हो: हाम्रो विश्‍वास कमजोर बनाएर हाम्रो आध्यात्मिकतालाई तहसनहस पार्ने। (प्रकाश १२:१२, १७) हामीले यस्तो बलियो शत्रुसँग संघर्ष गर्नुपर्ने हुनाले, ‘उहाँलाई प्रेम गर्नेहरू सबैलाई यहोवाले जोगाइरहनुभएको छ’ भनेर थाह पाउनु आश्‍वासनदायी छैन र?

      १०. (क) यहोवाले आफ्ना जनहरूलाई कसरी जोगाउनुहुन्छ? (ख) सबैभन्दा महत्त्वपूर्ण सुरक्षा कुन हो र किन?

      १० तथापि, यहोवाले आफ्ना जनहरूलाई कसरी जोगाउनुहुन्छ? सुरक्षा दिने उहाँको प्रतिज्ञाले यस रीतिरिवाजमा समस्या मुक्‍त जीवनको ग्यारेण्टी दिंदैन; न त यसको अर्थ उहाँ हाम्रो खातिर चमत्कारी कार्यहरू गर्न बाध्य हुनुहुन्छ भन्‍ने नै हो। तैपनि यहोवाले आफ्ना जनहरूलाई सामूहिक तवरमा शारीरिक सुरक्षा दिनुहुन्छ। साँच्चै भन्‍ने हो भने, उहाँले दियाबललाई यस पृथ्वीबाट साँचो उपासकहरू सबैलाई नामेट पार्ने मौका कहिल्यै दिनुहुने छैन। (२ पत्रुस २:९) सबैभन्दा मुख्य कुरा त, यहोवाले हामीलाई आध्यात्मिक तवरमा सुरक्षित राख्नुहुन्छ। उहाँले हामीलाई परीक्षाहरू सहन र उहाँसँगको सम्बन्धलाई सुरक्षित राख्न आवश्‍यक पर्ने कुराहरूद्वारा सुसज्जित पार्नुहुन्छ। वास्तवमा भन्‍ने हो भने, आध्यात्मिक सुरक्षा नै सबैभन्दा महत्त्वपूर्ण सुरक्षा हो। किन? जबसम्म यहोवासँग हाम्रो सम्बन्ध हुन्छ, तबसम्म मृत्युलगायत अन्य कुनै पनि कुराले हाम्रो खासै हानि गर्न सक्दैन।—मत्ती १०:२८.

      ११. आफ्ना जनहरूको आध्यात्मिक सुरक्षाका लागि यहोवाले कस्ता प्रबन्धहरू मिलाउनुभएको छ?

      ११ यहोवाले आफूसँग नजिक हुनेहरूको आध्यात्मिक सुरक्षाका लागि पर्याप्त प्रबन्धहरू मिलाउनुभएको छ। उहाँले आफ्नो वचन, बाइबलद्वारा हामीलाई विभिन्‍न प्रकारका परीक्षाहरूको सामना गर्ने बुद्धि दिनुभएको छ। (याकूब १:२-५) धर्मशास्त्रमा पाइने व्यावहारिक सल्लाह प्रयोगमा ल्याउनु आफै नै सुरक्षा हो। साथै, यहोवाले “उहाँसँग माग्नेहरूलाई . . . पवित्र आत्मा” दिनुहुन्छ। (लूका ११:१३) त्यो आत्मा ब्रह्‍माण्डमा सबैभन्दा शक्‍तिशाली शक्‍ति हो। त्यसकारण, यसले हामीलाई जस्तोसुकै परीक्षा वा प्रलोभनहरू आइपर्दा पनि सफलतापूर्वक सामना गर्न सुसज्जित पार्न सक्छ। यहोवाले येशू ख्रीष्टमार्फत “पुरुषहरूमध्ये वरदान[को]” प्रबन्ध गर्नुहुन्छ। (एफिसी ४:८, NW) यी आध्यात्मिक तवरमा योग्य मानिसहरूले सँगी उपासकहरूलाई मदत गर्ने सन्दर्भमा यहोवाको जस्तै गहिरो अनुकम्पा देखाउने कोसिस गर्छन्‌।—याकूब ५:१४, १५.

      १२, १३. (क) कुन माध्यमद्वारा यहोवाले हामीलाई ठीक-ठीक समयमा आध्यात्मिक आहार दिनुहुन्छ? (ख) यहोवाले हाम्रो आध्यात्मिक भलाइको लागि गर्नुभएका प्रबन्धहरूबारे तपाईं कस्तो महसुस गर्नुहुन्छ?

      १२ हामीलाई सुरक्षित राख्न यहोवाले अर्को कुराको पनि प्रबन्ध गर्नुभएको छ: ठीक-ठीक समयमा आध्यात्मिक आहार। (मत्ती २४:४५) प्रहरीधरहरा तथा ब्यूँझनुहोस्‌! पत्रिकाहरूलगायत अन्य मुद्रित प्रकाशनहरूका साथै सभा, सम्मेलन र अधिवेशनहरूद्वारा यहोवाले हामीलाई चाहिने कुराहरू ठीक-ठीक समयमा आवश्‍यकताअनुसार दिनुहुन्छ। के तपाईं मसीही सभा, सम्मेलन वा अधिवेशनमा सुनेको यस्तो कुरा सम्झन सक्नुहुन्छ, जसले तपाईंको हृदय छोएको थियो र तपाईंलाई बल वा सान्त्वना दिएको थियो? के तपाईंलाई माथि उल्लिखित पत्रिकाहरूका कुनै लेख पढ्‌दा त्यो तपाईंलाई नै भनेको हो जस्तो लागेको छ?

      १३ शैतानका प्रभावकारी हात-हतियारमध्ये एउटा निरुत्साह हो र हामी पनि यसको प्रभावबाट मुक्‍त छैनौं। लामो समयसम्मको नैराश्‍यले हाम्रो बल घटाएर हामीलाई कमजोरसमेत बनाउन सक्छ भनेर त्यसलाई राम्ररी थाह छ। (हितोपदेश २४:१०) शैतानले हाम्रा नकारात्मक भावनाहरूको फाइदा उठाउन खोज्ने हुनाले हामीलाई मदत चाहिन्छ। समय समयमा, प्रहरीधरहरा तथा ब्यूँझनुहोस्‌! पत्रिकामा निरुत्साहसित संघर्ष गर्न मदत गर्ने लेखहरू प्रकाशित हुन्छन्‌। यस्तै एउटा लेखबारे एक जना मसीही बहिनीले यस्तो लेखिन्‌: “म हरेक दिनजसो त्यो लेख पढ्‌छु र मेरो आँखाबाट आँसुको धारा बग्छ। निरुत्साहित भएको बेला यो पढ्‌न सकूँ भनेर म सधैं यसलाई आफ्नो ओछ्यान नजिकै राख्छु। यस्ता लेखहरू पाउँदा, म आफूलाई यहोवाको सुरक्षित अँगालोमा बाँधिएको महसुस गर्छु।”a हामीलाई ठीक-ठीक समयमा आध्यात्मिक आहार दिनुभएकोमा के हामी यहोवाप्रति कृतज्ञ छैनौं र? नबिर्सनुहोस्‌, हाम्रो आध्यात्मिक भलाइको लागि उहाँले गर्नुभएका प्रबन्धहरू, उहाँ हाम्रो नजिक हुनुहुन्छ र उहाँले हामीलाई सुरक्षा दिनुभएको छ भन्‍ने प्रमाण हो।

      “प्रार्थना सुन्‍नुहुने[सामु ]” जानुहोस्‌

      १४, १५. (क) आफ्नो नजिक हुनेहरूलाई यहोवाले कस्तो व्यक्‍तिगत आशिष्‌ वर्षाउनुहुन्छ? (ख) प्रार्थनाद्वारा यहोवासामु निर्धक्कसँग जान पाउनु किन उल्लेखनीय सुअवसर हो?

      १४ मानिसहरूले जति धेरै शक्‍ति वा अख्तियार पाउँछन्‌, आफूभन्दा सानो तहका व्यक्‍तिहरूले तिनीहरूलाई भेट्‌न त्यति नै गाह्रो भएको के तपाईंले याद गर्नुभएको छ? तथापि, यहोवा परमेश्‍वरबारे के भन्‍न सकिन्छ नि? के उहाँ तुच्छ मानिसहरूले उहाँलाई गरेका बिन्तीहरू नै नसुन्‍ने गरी टाढा हुनुहुन्छ? अहँ, हुनुहुन्‍न! प्रार्थनाको वरदान यहोवाले उहाँको नजिक हुनेहरूलाई दिनुहुने अर्को आशिष्‌ हो। “प्रार्थना सुन्‍नुहुने[सामु]” निर्धक्कसँग जान पाउनु साँच्चै उल्लेखनीय सुअवसर हो। (भजन ६५:२) किन?

      १५ उदाहरणका लागि: एउटा ठूलो कम्पनीका प्रमुख कार्यकारीको थुप्रै जिम्मेवारीहरू हुन्छन्‌। तिनले कुन-कुन कुराहरू आफैले रेखदेख गर्ने र कुन-कुन कुराहरूको जिम्मेवारी अरूलाई दिने भनी निर्णय गर्छन्‌। त्यसै गरी, यस ब्रह्‍माण्डका सार्वभौम शासकले पनि कुन-कुन कुराहरू आफैले हेर्ने अनि कुन-कुन कुराहरूको लागि अरूलाई खटाउने भनी रोज्न सक्नुहुन्छ। यहोवाले आफ्नो प्रिय पुत्र, येशूलाई के-के जिम्मेवारी दिनुभएको छ, विचार गर्नुहोस्‌। पुत्रलाई “इन्साफको फैसला गर्ने अधिकार” दिइएको छ। (यूहन्‍ना ५:२७) स्वर्गदूतहरूलाई “उहाँकै अधीनमा राखिएका छन्‌।” (१ पत्रुस ३:२२) पृथ्वीमा रहेका आफ्ना चेलाहरूलाई डोऱ्‍याउन यहोवाको शक्‍तिशाली पवित्र आत्मा येशूकै हातमा दिइएको छ। (यूहन्‍ना १५:२६; १६:७) त्यसकारण, येशूले यसो भन्‍न सक्नुभयो: “स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिइएको छ।” (मत्ती २८:१८) तर, हाम्रो प्रार्थना भने यहोवा आफैले सुन्‍ने निर्णय गर्नुभएको छ। त्यसकारण, बाइबलले हामीलाई येशूको नाउँद्वारा यहोवालाई मात्र प्रार्थना गर्ने निर्देशन दिन्छ।—भजन ६९:१३; यूहन्‍ना १४:६, १३.

      १६. यहोवाले हाम्रा प्रार्थनाहरू साँच्चै सुन्‍नुहुन्छ भनी हामी किन निर्धक्क हुन सक्छौं?

      १६ के यहोवाले हाम्रा प्रार्थनाहरू साँच्चै सुन्‍नुहुन्छ? उहाँ भावशून्य वा कुनै वास्तै नगर्ने भए, हामीलाई “प्रार्थनामा अटूटसँग लगिरहो” भनेर वा हाम्रो भारी र फिक्रीहरू उहाँमाथि राखिदिन आग्रह गर्नुहुने थिएन। (रोमी १२:१२; भजन ५५:२२; १ पत्रुस ५:७) बाइबल समयका विश्‍वासी सेवकहरू यहोवाले प्रार्थना सुन्‍नुहुन्छ भनी पूर्णतया विश्‍वस्त थिए। (१ यूहन्‍ना ५:१४) त्यसकारण, भजनहार दाऊदले यसो भने: “[यहोवाले] मेरो सोर सुन्‍नुहुनेछ।” (भजन ५५:१७) हामी पनि यहोवा हाम्रो नजिकै हुनुहुन्छ र हाम्रा हरेक कुराहरू सुन्‍न तथा हाम्रो हेरविचार गर्न तत्पर हुनुहुन्छ भनी निर्धक्क हुन सक्ने हर कारण छ।

      यहोवाले आफ्ना सेवकहरूलाई इनाम दिनुहुन्छ

      १७, १८. (क) आफ्ना बौद्धिक सृष्टिहरूको विश्‍वासी सेवाबारे यहोवा कस्तो महसुस गर्नुहुन्छ? (ख) हाम्रा दयाका कार्यहरू यहोवासामु व्यर्थै जाँदैन भनी हितोपदेश १९:१७ ले कसरी देखाउँछ वर्णन गर्नुहोस्‌।

      १७ तुच्छ मानिसहरूले के गर्छन्‌ वा के गर्न इन्कार गर्छन्‌ भन्‍ने कुराले ब्रह्‍माण्डको सार्वभौमसत्ताधारीको रूपमा यहोवाको ओहदामा कुनै फरक पार्दैन। तथापि, यहोवा मूल्यांकन देखाउने परमेश्‍वर हुनुहुन्छ। उहाँ आफ्ना बौद्धिक सृष्टिहरूको विश्‍वासी सेवालाई मूल्यावान्‌ ठान्‍नुहुन्छ। अझ भन्‍ने हो भने, मूल्यांकन गर्नुहुन्छ। (भजन १४७:११) त्यसकारण, यहोवासँग नजिक हुनेहरूले प्राप्त गर्ने अर्को लाभ हो: उहाँले आफ्ना सेवकहरूलाई दिनुहुने इनाम।—हिब्रू ११:६.

      १८ यहोवा आफ्ना उपासकहरूले गरेको कामलाई मूल्यवान्‌ ठान्‍नुहुन्छ भनी बाइबलले प्रष्टसित बताउँछ। उदाहरणका लागि, हामी यस्तो पढ्‌छौं: “उदारचित्तले गरीबलाई जो दिन्छ, त्यसले परमप्रभुलाई दिन्छ, उहाँले त्यसलाई भरिपूर्ण प्रतिफल दिनुहुन्छ।” (हितोपदेश १९:१७) मोशालाई दिइएको व्यवस्थामा गरिबहरूप्रति यहोवाको दयालु चिन्ता झल्किएको थियो। (लेवी १४:२१; १९:१५) गरिबहरूसँग व्यवहार गर्दा हामीले यहोवाको दया अनुकरण गऱ्‍यौं भने उहाँलाई कस्तो लाग्छ? हामीले गरिबहरूबाट कुनै कुराको आशा नगरी तिनीहरूलाई केही दियौं भने, यहोवाले यसलाई उहाँले हामीलाई तिर्नुपर्ने ऋणको रूपमा हेर्नुहुन्छ। यहोवाले हामीलाई यो ऋण अनुग्रह र आशिष्‌हरूद्वारा तिर्ने प्रतिज्ञा गर्नुहुन्छ। (हितोपदेश १०:२२; मत्ती ६:३, ४; लूका १४:१२-१४) हो, हामीले खाँचोमा परेका सँगी उपासकहरूप्रति अनुकम्पा देखाउँदा, यसले यहोवाको हृदय छुन्छ। हाम्रा दयाका कार्यहरू स्वर्गमा बस्नुहुने हाम्रा पितासामु व्यर्थै जाँदैन भन्‍ने थाह पाउँदा हामी कत्ति कृतज्ञ छौं!—मत्ती ५:७.

      १९. (क) प्रचार गर्ने तथा चेला बनाउने कार्यमा हामीले गरेका कामकुराहरूको यहोवा मूल्यांकन गर्नुहुन्छ भनी हामी किन आश्‍वस्त हुन सक्छौं? (ख) यहोवाको राज्यको समर्थनमा चढाइएको सेवामा उहाँले कसरी इनाम दिनुहुन्छ?

      १९ यहोवाले विशेष गरी हामीले उहाँको राज्यको खातिर गरेका कामकुराको मूल्यांकन गर्नुहुन्छ। जब हामी यहोवाको नजिक जान्छौं, राज्य प्रचार र चेला बनाउने कार्यमा यथाशक्य भाग लिन हाम्रो समय, शक्‍ति र स्रोत-साधन प्रयोग गर्ने इच्छा गर्नु स्वाभाविक हो। (मत्ती २८:१९, २०) कहिलेकाहीं हामीलाई आफूले धेरै गर्न सकिरहेको छैनजस्तो लाग्न सक्छ। हाम्रो असिद्ध हृदयको कारण, यहोवा हाम्रो प्रयत्नसित खुसी हुनुहुन्छ कि हुनुहुन्‍न होला भनेर हामी चिन्तित हुन सक्छौं। (१ यूहन्‍ना ३:१९, २०) तर यहोवाले प्रेमद्वारा उत्प्रेरित हृदयबाट दिइएको हरेक उपहार, चाहे जतिसुकै सानो किन नहोस्‌, त्यसको मूल्यांकन गर्नुहुन्छ। (मर्कूस १२:४१-४४) बाइबलले हामीलाई यस्तो आश्‍वासन दिन्छ: “तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ, . . . तिमीहरूले देखाएका छौ, सो बिर्सनालाई परमेश्‍वर अधर्मी हुनुहुन्‍न।” (हिब्रू ६:१०) निस्सन्देह, यहोवाको राज्यको समर्थनमा चढाइएको सानोभन्दा सानो सेवा पनि उहाँले सम्झनुहुन्छ र इनाम दिनुहुन्छ। अहिले प्रशस्त आध्यात्मिक आशिष्‌हरू अनुभव गर्नुको अलावा, हामी आउँदै गरेको नयाँ संसारमा बिताइने जीवनका आनन्दहरूको प्रतिक्षा गर्न सक्छौं। त्यतिबेला यहोवाले उदारतापूर्वक आफ्नो मुठी खोल्नुहुनेछ र आफ्नो नजिक हुनेहरू सबैका धार्मिक इच्छाहरू पूरा गर्नुहुनेछ।—भजन १४५:१६; २ पत्रुस ३:१३.

      २०. हामी कसरी सन्‌ २००३ भरि नै हाम्रो वार्षिक पदका शब्दहरू मनमा राख्न सक्छौं अनि यसको नतिजा कस्तो हुन्छ?

      २० सन्‌ २००३ भरि नै, हामीले आफूले आफैलाई स्वर्गमा बस्नुहुने हाम्रा पिताको नजिक जान लगातार प्रयत्न गरिरहेका छौं कि छैनौं भनी सोधौं। हामीले कोसिस गरिरहेका छौं भने, उहाँले प्रतिज्ञा गर्नुभएबमोजिम नै त्यसको प्रत्युत्तर दिनुहुनेछ। आखिर, ‘परमेश्‍वरले कहिल्यै झूट बोल्नुहुन्‍न।’ (तीतस १:२) तपाईं परमेश्‍वरको नजिक जानुभयो भने, उहाँ पनि तपाईंको नजिक आउनुहुनेछ। (याकूब ४:८) अनि यसको नतिजा कस्तो हुन्छ? अहिले, प्रशस्त आशिष्‌हरू पाउनुका साथै सधैंभरि यहोवाको झन्‌-झन्‌ नजिक जाने प्रत्याशा पनि पाउँछौं!

      [फुटनोट]

      a मे १, २०००, अंकको प्रहरीधरहरा, पृष्ठ २८-३१ को “यहोवा हाम्रो हृदयभन्दा महान्‌ हुनुहुन्छ” भन्‍ने लेखको प्रतिक्रिया।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने