पाठकहरूका प्रश्नहरू
के मसीहीले मानसिक-स्वास्थ्य चिकित्सकको परामर्श लिनु बुद्धिमानी हुनेछ?
यी “आखिरी दिन[मा]” भावनात्मक र मानसिक बिमारीहरू बढ्दो छन् भनेर केही मुलुकहरूबाट प्राप्त प्रतिवेदनहरूले देखाउँछन्। (२ तिमोथी ३:१) मसीहीहरूले त्यस्ता बिमारी भोग्ने सँगी विश्वासीहरूप्रति गहिरो सहानुभूति राख्छन्। तर प्रत्येक मसीहीले आफ्नो बिमारीको उपचार गराउने या नगराउने र गराउने हो भने कुन प्रकारको उपचार अपनाउनेबारे स्वयंले निर्णय गर्नैपर्छ भनेर तिनीहरूले बुझेका छन्।a “हरेक मानिसले आफ्नै निज भार उठाउनुपर्छ।” (गलाती ६:५) स्किट्सेफ्रिनिया, बाइपोलर विकार, गम्भीर मानसिक खिन्नता, मानसिक विकार, स्वयं-अंगभंग र अरू पीडादायी विकारहरूको पञ्जामा जकडिएकाहरू सही पेशेवर चिकित्सकहरूको मदतद्वारा सुखी र केही मात्रामा सामान्य जीवन व्यतीत गर्न सक्षम भएका छन्।
केही ठाउँहरूमा मानसिक स्वास्थ्य उपचार त फेसन नै भएको छ। थुप्रै रोगीलाई गम्भीर मानसिक विकार भएको हुँदैन तर तिनलाई जीवनका कतिपय परिस्थितिहरूको सामना गर्न कठिन परिरहेको हुन्छ। तथापि, जीवनका कठिन समस्याहरूलाई सम्हाल्न बाइबलले सबैभन्दा प्रभावशाली मदत दिन्छ। (भजन ११९:२८, १४३) यहोवाले बाइबल मार्फत बुद्धि, सोच्ने क्षमता र साँचो ज्ञान प्रदान गर्नुहुन्छ। ती कुराले हामीलाई मानसिक र भावनात्मक सुरक्षा प्रदान गर्छ। (हितोपदेश २:१-११; हिब्रू १३:६) ग्रस्त आन्तरिक अशान्तिले गर्दा कहिलेकाहीं परमेश्वरका विश्वासी सेवकहरूले अविवेकी कुराहरू व्यक्त गर्नसक्छन्। (अय्यूब ६:२, ३) याकूब ५:१३-१६ ले यस्ता व्यक्तिहरूलाई मदत र सल्लाहको लागि प्राचीनहरूलाई बोलाउन प्रोत्साहन दिन्छ। कुनै मसीही आध्यात्मिक तवरमा बिरामी होलान् वा तिनी अपरिवर्तनीय परिस्थिति तथा कष्टदायी तनाउहरूको कारण निराश होलान् वा तिनले आफू अन्यायको शिकार भएको महसुस गर्लान्। (उपदेशक ७:७; यशैया ३२:२; २ कोरिन्थी १२:७-१०) यस्ता व्यक्तिले प्राचीनबाट मदत पाउनसक्छन्, जसले ‘तिनलाई तेल घस्नेछन्’ अर्थात् बाइबलका सान्त्वनादायी सल्लाह निपुणतासाथ दिन्छन् र ‘तिनको विषयमा प्रार्थना पनि गर्छन्।’ त्यसको परिणाम? “विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ, र प्रभुले [यहोवाले] त्यसलाई [तिनको निराशा वा परमेश्वरले आफूलाई त्याग्नुभयो भन्ने अनुभूतिबाट] उठाउनुहुनेछ।”
यद्यपि, आध्यात्मिक गोठालाहरूको दक्षतापूर्ण मदतको बावजूद कुनै व्यक्तिको मानसिक पीडा र मानसिक गोलमाल त्यतिकै रह्यो भने नि? केहीले यस्तो स्थितिमा राम्ररी शारीरिक जाँचपड्ताल गर्न रोजेका छन्। (तुलना गर्नुहोस् हितोपदेश १४:३०; १६:२४; १ कोरिन्थी १२:२६) शारीरिक समस्याको कारण भावनात्मक वा मानसिक पीडा भएको हुनसक्छ। यस्तो समस्याको समाधान गरेर केही व्यक्तिको भावनात्मक रोग निको भएको छ।b चिकित्सकले शारीरिक कुनै समस्या नभेट्टाएमा रोगीले मानसिक-स्वास्थ्य पेशेवर चिकित्सककहाँ उपचार गराउन गरेको अनुरोधलाई सिफारिस गर्नसक्छन्। के तपाईं त्यसो गर्नुहुन्छ? माथि उल्लेख गरेअनुसार यो प्रत्येक व्यक्तिविशेषले आफ्नो भार आफै बोक्नुपर्ने निर्णय हो। अरूले त्यसमा आलोचना वा न्याय गर्नु हुँदैन।—रोमी १४:४.
तैपनि, व्यवहारिक बुद्धि चलाउन र बाइबल सिद्धान्तहरूलाई बेवास्ता नगर्न होशियार हुनैपर्छ। (हितोपदेश ३:२१; उपदेशक १२:१३) शारीरिक बिरामी हुँदा रोगीहरूले जडीबुटीदेखि लिएर प्राकृतिक उपचार, अक्युपंकचर र होमियोप्याथीजस्ता उपचारका विभिन्न पक्षहरूको छनौट गर्नुपर्ने हुन्छ। त्यसबाहेक थुप्रै प्रकारका मानसिक-स्वास्थ्य चिकित्सकहरू पनि छन्। तिनीहरूमध्ये वैश्लेषिक मानसिक चिकित्सकहरू र अरूले रोगीको अनियमित आचरण वा पीडादायी भावनाका कारणहरू पत्ता लाउने चेष्टा गर्दै तिनको व्यक्तिगत इतिहास खोतल्नसक्छन्। आचरणवादी मानसिक चिकित्सकहरूले चाहिं रोगीलाई नयाँ आचरण पद्धतिहरू सिक्न मदत दिने चेष्टा गर्लान्। अधिकांश मानसिक बिमारीहरू औषधीमूलोद्वारा निको पार्नुपर्छ भनेर केही मानसिक-स्वास्थ्य चिकित्सकहरू विश्वास गर्छन्।c प्राप्त विवरणअनुसार अरूले चाहिं खानेकुरा र भिटामिनहरू सिफारिस गर्छन्।
यी छनौटहरू गर्दा रोगीहरू र तिनीहरूका परिवारले सावधानी अपनाउनुपर्छ। (हितोपदेश १४:१५) उल्लेखनीय कुरा, जोन्स हप्किन्स् युनिभर्सिटि स्कूल अफ मेडिसिनको मानसिक रोग चिकित्सा तथा आचरणवादी विज्ञान विभागका निर्देशक, प्राध्यापक पल म्याकह्युको भनाइअनुसार मानसिक-स्वास्थ्य चिकित्सा “एउटा अपूर्ण चिकित्सा कला हो। यसद्वारा मानव जीवनका सबैभन्दा जटिल विशेषताहरू अर्थात् मन तथा आचरणका विकारहरूको उपचार गर्दा समेत रोगका प्रमाणहरू सजिलै पत्ता लाग्न सक्दैन।” यस्तो परिस्थिति सृजना हुँदा अनौठो आचरण र जालसाजी सुरु हुन्छ। साथै राम्रो अभिप्रायले गरेको उपचारको परिणाम पनि असलभन्दा खराबै धेरै हुन्छ।
उल्लेखनीय कुरा यो पनि छ, मानसिक चिकित्सकहरू र मनोवैज्ञानिकहरूले पेशेवर पोस्टग्रेजुएट डिग्री हासिल गरेका छन् तर अरू थुप्रैले कुनै पेशेवर योग्यता हासिल नगरी कसैको रेखदेखबिना सल्लाहकार वा चिकित्सकको हैसियतमा उपचार गरी टोपल्छन्। केही मानिसहरूले यस्ता अयोग्य मानिसको परामर्श लिएर धेरै पैसा खर्च गरेका छन्।
प्रशिक्षित र योग्य मानसिक-स्वास्थ्य चिकित्सकको परामर्श लिंदा समेत विचार गर्नुपर्ने कुराहरू छन्। औषधीवेत्ता वा शल्यचिकित्सकको छनौट गर्दा तिनले बाइबल आधारित हाम्रा दृष्टिकोणहरूको आदर गर्नेछन् कि छैनन्, पक्का गर्नुपर्छ। त्यस्तैगरि, हाम्रा धार्मिक तथा नैतिक दृष्टिकोणहरूप्रति आदर नदेखाउने मानसिक-स्वास्थ्य चिकित्सकसित परामर्श लिनु खतरापूर्ण हुनेछ। थुप्रै मसीहीहरूले मानसिक तथा भावनात्मक समस्याको बावजूद ‘येशू ख्रीष्टको झैं मानसिक मनोवृत्ति’ राख्न भरमग्दुर कोसिस गरिरहेका छन्। (रोमी १५:५) यस्ता मसीहीहरूले आफ्नो सोचाइ वा आचरणमा असर पार्नसक्ने कुनै पनि व्यक्तिका मनोवृत्तिहरूबारे चिन्तित हुनु ठीकै हो। केही चिकित्सकहरूले धर्मशास्त्रीय विश्वासमा आधारित कुनै पनि प्रतिबन्ध अनावश्यक र मानसिक स्वास्थ्यको लागि सम्भवतः हानिकारक छ भन्ने दृष्टिकोण राख्छन्। बाइबलले निषेध गरेको समलैंगिकता वा वैवाहिक अवफादारीलाई तिनीहरूले अनुमोदन र सिफारिससमेत गर्लान्।
यी अवधारणाहरू प्रेरित पावलले भनेका “ज्ञान कहलिएको झूटा विरोध[मा]” समावेश छन्। (१ तिमोथी ६:२०) ती अवधारणाहरूले ख्रीष्टसम्बन्धी सत्यको विरोध गर्छन् र ती यस संसारको “तत्त्वज्ञान, र फोस्रो छल” हुन्। (कलस्सी २:८) बाइबलको मापदण्ड स्पष्ट छ: “परमप्रभुको सामने बुद्धि, समझ-शक्ति र युक्ति केही सीप लाग्दैन।” (हितोपदेश २१:३०) ‘असललाई खराब र खराबलाई असल’ भन्ने मानसिक-स्वास्थ्य चिकित्सकहरू नै “खराब संगत” हुन्। तिनीहरूले अस्थिर मनलाई स्थिर पार्नुको साटो “भला चाल-चलनलाई बिगार्दछ।”—यशैया ५:२०; १ कोरिन्थी १५:३३.
तसर्थ, मानसिक-स्वास्थ्य चिकित्सकको परामर्श लिन आवश्यक महसुस गर्ने मसीहीले चिकित्सकको योग्यता, मनोवृत्ति तथा तिनको कस्तो नाउँ चलेको छ र कुनै सिफारिस उपचारद्वारा हुनसक्ने असरबारे सावधानीपूर्वक छानबिन गर्नुपर्छ। पीडित मसीही स्वयंले यसो गर्न नसकेमा सम्भवतः परिपक्व हितैषी मित्र वा आफन्तले यसमा मदत दिनसक्छन्। अन्तिम निर्णय आफ्नै (वा मातापिताको वा पतिपत्नी दुवैको) भए तापनि निश्चित उपचारबारे थाह नभएको मसीहीले मण्डलीका प्राचीनहरूसित यसबारे सल्लाह माग्नु मदतकारी साबित हुनसक्छ।d
विज्ञानले विगतका दिनहरूमा भन्दा अहिले पीडा कम गर्न धेरै थोक गर्नसक्छ। तैपनि, थुप्रै शारीरिक र मानसिक रोगहरू छन्। ती वर्तमान समयमा निको पार्न सकिंदैन र यस रीतिरिवाजभरि ती रोगहरूको मर्का सहनुपर्छ। (याकूब ५:११) त्यतिञ्जेल “विश्वासी अनि बुद्धिमान दास,” प्राचीनहरू र मण्डलीका अरूले बिरामी व्यक्तिहरूलाई अझ धरै सहानुभूति र सहयोग दिन्छन्। अनि यहोवा स्वयंले तिनीहरूलाई रोगव्याधि नरहने गरिमामय समयसम्म धीरज धर्न सशक्त पार्नुहुन्छ।—मत्ती २४:४५; भजन ४१:१-३; यशैया ३३:२४.
[फुटनोटहरू]
a सम्भवतः उच्च-पदवीको जागिरको लागि व्यक्तिविशेषले आफ्नो व्यक्तित्व र भावनात्मक स्थिरता पत्ता लाउने मानसिक परीक्षण गराउलान्। यस्तो परीक्षण गर्नु या नगर्नु व्यक्तिगत निर्णय हो। तर ध्यान दिनुपर्ने कुरा के हो भने, मानसिक परीक्षण भनेको मानसिक उपचार होइन।
b प्रहरीधरहरा (अंग्रेजी), मार्च १, १९९० को “निराशा विरुद्ध युद्ध जित्ने,” लेख हेर्नुहोस्।
c केही मानसिक बिमारीहरू यथोचित औषधीहरूद्वारा राम्ररी निको भएको देखिन्छ। तर ती औषधीहरू दक्ष र अनुभवी औषधीवेत्ता वा मानसिक चिकित्सकहरूको निर्देशनअनुसार सावधानीपूर्वक प्रयोग गरिनुपर्छ। किनभने उचित खुराक दिइएन भने गम्भीर प्रतिकूल असरहरू पर्नसक्छन्।
d प्रहरीधरहरा (अंग्रेजी) अक्टोबर १५, १९८८ को “मानसिक पीडा—जब यसले मसीहीलाई सताउँछ” लेख हेर्नुहोस्।