“हामी जस्तै दुःख सुख भोगी” मानिसहरू
तिनी राजा, अगमवक्ताका साथै मायालु बुबा पनि थिए। तिनको एक जना छोरा पछि निकम्मा तथा घमण्डी भए। गद्दी हडप्न कम्मर कसेका त्यस छोराले गृह युद्ध सुरु गरेर आफ्नो बुबालाई मार्ने सुर कसे। तर युद्धमा उल्टो छोरा चाहिं मारिए। आफ्नो छोराको मृत्युको खबर सुनेपछि बुबा कौसीको कोठामा गएर रोए: “हाय मेरो छोरो! मेरो छोरो अब्शालोम, मेरो छोरो अब्शालोम! तेरो सट्टामा म मरेको भएता हुने थियो! हाय अब्शालोम, मेरो छोरो, मेरो छोरा!” (२ शमूएल १८:३३) यो बुबा थिए, राजा दाऊद। यहोवाका अन्य अगमवक्ताहरूजस्तै तिनी “हामी जस्तै दुःख सुख भोगी मानिस” थिए।—याकूब ५:१७.
यहोवाको अगमवाणी गर्ने बाइबलकालीन पुरुष तथा स्त्रीहरू विभिन्न जीवनशैली भएका सामान्य मानिसहरू थिए। हामीजस्तै तिनीहरूका पनि समस्याहरू थिए र आफ्ना असिद्धताहरूसित तिनीहरू पनि लड्नुपर्थ्यो। यी अगमवक्ताहरू को थिए र कसरी तिनीहरूका भावनाहरू हाम्राजस्तै थिए?
मोशा अति विश्वस्तबाट पछि विनम्र भए
मोशा, मसीहीपूर्व समयका प्रमुख अगमवक्ता थिए। तथापि, ४० वर्षको उमेर पुगिसक्दा पनि तिनी यहोवाको प्रवक्ताको रूपमा सेवा गर्न तयार भइसकेका थिएनन्। किन? आफ्ना दाजुभाइहरूले मिश्रका फिरऊनको थिचोमिचो भोगिरहेका भए तापनि मोशा चाहिं फिरऊनको घरानामा हुर्के बढे र “आफ्ना कुरा र काममा शक्तिशाली भए।” हामी यस्तो विवरण पाउँछौं: “परमेश्वरले मेरो हातबाट तिनीहरूको उद्धार गर्नुहुन्छ, भन्ने मेरा भाइ-बन्धुले बुझ्लान् भन्ने तिनले विचार गरेका थिए।” अति विश्वस्त भएको हुँदा तिनले हिब्रू दासको पक्ष लिंदै एक जना मिश्रीलाई मारे।—प्रेरित ७:२२-२५; प्रस्थान २:११-१४.
अब मोशा भाग्न बाध्य भए र त्यसपछिको चार दशक तिनले टाढा मिद्यान देशमा गोठालो जीवन बिताए। (प्रस्थान २:१५) त्यो समयको अन्ततिर मोशा ८० वर्ष पुगिसकेका थिए र यहोवाले तिनलाई अगमवक्ता हुन खटाउनुभयो। तर अब भने मोशा अति विश्वस्त थिएनन्। तिनले आफू असाध्यै अयोग्य महसुस गरे र यहोवाले उनलाई अगमवक्ता नियुक्त गर्नुभएकोमा यस्तो प्रश्न गरे: “फिरऊनकहाँ गएर . . . ल्याउनसक्ने म को हुँ र?” अनि “मैले तिनीहरूलाई के भन्ने?” (प्रस्थान ३:११, १३) यहोवाको मायालु आश्वासन तथा सहयोग पाएर मोशा आफ्नो कार्यभारमा अत्यन्तै सफल भए।
के तपाईं पनि कहिलेकाहीं अति विश्वस्त हुनुभएर मूर्ख कुराहरू गर्नुभएको वा भन्नुभएको छ? छ भने विनम्र भएर थप प्रशिक्षण स्वीकार्नुहोस्। अथवा के तपाईंले कुनै कुनै मसीही जिम्मेवारीहरू पूरा गर्न असक्षम महसुस गर्नुभएको छ? ती जिम्मेवारीहरू अस्वीकार गर्नुको साटो यहोवा र उहाँको ईश्वरतान्त्रिक संगठनले प्रदान गर्ने मदत स्वीकार्नुहोस्। मोशालाई मदत गर्नुहुने व्यक्तिले तपाईंलाई पनि मदत गर्न सक्नुहुन्छ।
अनुशासन दिनुपर्दा एलिया पनि हामी जस्तै दुःख सुख भोग्ने मानिस थिए
“एलिया पनि ता हामी जस्तै दुःख सुख भोगी मानिस थिए, र तिनले वर्षा नहोस् भनेर भक्तिसाथ प्रार्थना गरेथे, र तीन वर्ष छ महीनासम्म पृथ्वीमा पानी परेन।” (याकूब ५:१७) यहोवाबाट बिराना भएको जातिलाई अनुशासन दिने यहोवाको इच्छाअनुरूप एलियाले प्रार्थना गरे। यद्यपि, खडेरी परोस् भनेर प्रार्थना गर्दा मानिसहरूले दुःख भोग्नुपर्नेछ भनेर पनि तिनलाई थाह थियो। इस्राएल मुख्यतया कृषिप्रधान देश थियो र त्यहाँका मानिसहरूको जीवन तुसारो र पानीमा निर्भर थियो। लामो समयसम्म खडेरी परिरह्यो भने आपद् हुनेथियो। वनस्पतिहरू ओइलाउनेथिए, अन्नबाली हुनेथिएन। घरायसी काम तथा भोजनको लागि प्रयोग गरिने जनावरहरू मर्नेथिए र कतिपय परिवारहरू भोकभोकै हुनेथिए। सबैभन्दा बढी कसले दुःख भोग्नेथियो? साधारण मानिसहरूले। भाँड़ामा एक मुठी पीठो र ढुंग्रोमा अलिकता तेलबाहेक खानेकुरो केही छैन भनी एउटी विधवाले एलियालाई पछि भनिन्। आफू र आफ्नो छोरो अब धेरै बाँच्नेछैनन् भनी तिनलाई यकिन थियो। (१ राजा १७:१२) धनी होस् या गरिब, साँचो उपासना नत्याग्ने परमेश्वरका जनहरूलाई उहाँले हेरचाह गर्नुहुनेछ भनी यसरी प्रार्थना गर्न सक्ने हुनको लागि एलियासित दृढ विश्वास हुनु जरुरी थियो। विवरणले देखाएअनुसार एलिया निराश हुनुपरेन।—१ राजा १७:१३-१६; १८:३-५.
तीन वर्षपछि यहोवाले पानी पार्नेछु भनी संकेत दिनुहुँदा एलियाले खडेरीको अन्त होस् भन्ने उत्कट चाहना गर्थे भनेर तिनका व्यग्र प्रार्थनाहरूबाट प्रकट हुन्छ किनभने तिनले “भूइँमा निहुरेर आफ्नो शिर घुँड़ाहरूमा अड़ाए[र]” प्रार्थना गरे। (१ राजा १८:४२) बारम्बार तिनले आफ्ना चाकरलाई यसो भने: “गएर पश्चिमतिर हेर्” यहोवाले मेरो प्रार्थनाको जवाफमा कुनै संकेत दिनुभएको छ कि। (१ राजा १८:४३) आफ्नो प्रार्थनाको जवाफमा “आकाशबाट वर्षा [हुँदा], र पृथ्वीले उब्जनी” दिंदा तिनी कति रमाए होलान्!—याकूब ५:१८.
तपाईं आमाबाबु वा मसीही मण्डलीको प्राचीन हुनुहुन्छ भने अरूलाई सच्चाउनुपर्दा गहिरा भावनाहरू विरुद्ध संघर्ष गर्नुपर्न सक्छ। तथापि, कहिलेकाहीं अनुशासन दिनु खाँचो हुन्छ र प्रेमपूर्वक दिइएको छ भने “पछिबाट शान्तिको फल, अर्थात् धार्मिकताको फल दिइन्छ” भनी निर्धक्क हुनुपर्छ। (हिब्रू १२:११) यहोवाका नियमहरू पालन गर्नाको प्रतिफल सधैं मनमोहक हुन्छ। चाहिएको बेला अनुशासन दिन सकौं भनेर हामी पनि भित्री हृदयदेखि प्रार्थना गर्छौं।
यर्मियाले हतोत्साहको बावजूद साहस देखाए
बाइबल लेखकहरूमध्ये यर्मियाले जत्तिको आफ्ना भावनाहरूबारे अरू कसैले लेखेनन्। बच्चै छँदा तिनी परमेश्वरले अह्राउनुभएको काम स्वीकार्न हिचकिचाएका थिए। (यर्मिया १:६) तर जे होस् तिनी परमेश्वरको वचन घोषणा गर्न निकै साहसी भए तर तिनले सँगी इस्राएलीहरूबाट कडा विरोध सहनुपऱ्यो र तिनलाई राजादेखि रैती सबैले खेदे। विरोधले गर्दा तिनी कहिलेकाहीं रिसले चूर भए त कहिले आँसु बगाउनुपऱ्यो। (यर्मिया ९:३; १८:२०-२३; २०:७-१८) कहिले त तिनी लुटिए, हिर्काइए, पाता कसिए, थुनिए त कहिले मृत्युको धम्की सहे र हिलो मात्र भएको इनारमा फ्याँकिए। कहिले त यहोवाको सन्देश सुनेर पनि तिनी विचलित भए भनेर यी शब्दहरूले देखाउँछ: “हाय मेरो वेदना, मेरो वेदना! पीड़ाले म मढ़ारिनेछु! मेरो हृदयको वेदना।”—यर्मिया ४:१९.
तैपनि यहोवाको वचन सुन्न पाउँदा रमाउँदै यसो भने: “तपाईंका वचन पाइए औ मैले ती खाएँ, तपाईंका वचन मलाई रमाहट, र मेरो हृदयलाई आनन्द दिने कुरा भए।” (यर्मिया १५:१६) त्यति नै बेला निराशाले गर्दा तिनले परमेश्वरसित यस्तो चित्कार गरे: “के तपाईं मेरो लगि धोका दिने खोलाझैं, पानी सुक्ने खोलाझैं हुनुहुन्छ?” (यर्मिया १५:१८) तैपनि यहोवाले तिनको मनमा खेलिरहेको अन्तरद्वन्द बुझ्नुभयो अनि तिनलाई अह्राइएको काम पूरा गर्न सकोस् भनेर मदत गरिरहनुभयो।—यर्मिया १५:२०; २०:७-९ पनि हेर्नुहोस्।
के तपाईंले आफ्नो सेवकाईमा लाग्दा यर्मियाले जस्तै निराशा वा विरोधको सामना गर्नुपरेको छ? यहोवासित मदत माग्नुहोस्। उहाँको निर्देशन पछ्याइरहनुहोस् र यहोवाले तपाईंका प्रयासहरूमा आशिष् दिनुहुनेछ।
येशूको पनि हाम्रा जस्तै भावनाहरू थिए
सबैभन्दा महान् अगमवक्ता परमेश्वरको आफ्नै पुत्र, येशू ख्रीष्ट हुनुहुन्थ्यो। सिद्ध हुनु भए तापनि उहाँले आफ्ना भावनाहरूलाई दबाउनुभएन। हामी प्रायजसो उहाँका भित्री भावनाहरूबारे पढ्छौं जुन उहाँको मुहार तथा अरूप्रतिको प्रतिक्रियामा प्रस्टै झल्किएको हुनुपर्छ। येशू प्रायजसो “टिठाउनुभयो” र उहाँले चलाउनुभएका उदाहरणका पात्रहरू वर्णन गर्न पनि त्यस्तै प्रकारका अभिव्यक्तिहरू चलाउनुहुन्थ्यो।—मर्कूस १:४१; ६:३४; लूका १०:३३.
उहाँले मन्दिरबाट सराफी तथा जनावरहरूलाई धपाउन ठूलो स्वरले हकार्नुभएको हुनुपर्छ: “यहाँबाट यी लैजाओ।” (यूहन्ना २:१४-१६) “परमेश्वरको कृपा रहोस्” भनी पत्रुसले सुझाउ दिंदा तिनले यस्तो कडा जवाफ पाए, “ए शैतान, मेरो सामनेबाट हटिजा!”—मत्ती १६:२२, २३.
येशूले आफूलाई अलि बढी मन परेका व्यक्तिहरूप्रति विशेष चासो राख्नुहुन्थ्यो। प्रेरित यूहन्नालाई “येशूले प्रेम गर्नुहुने त्यस चेला” भनिएको छ। (यूहन्ना २१:७, २०) अनि हामी यस्तो लेखिएको पाउँछौं: “येशूले मार्था, तिनकी बहिनी र लाजरसलाई प्रेम गर्नुहुन्थ्यो।”—यूहन्ना ११:५.
येशूको चित्त पनि दुख्थ्यो। लाजरसको मृत्युको दुःखले गर्दा “येशू रुनुभयो।” (यूहन्ना ११:३२-३६) यहूदा इस्करियोतिले धोखा दिएपछि महसुस गर्नुभएको पीडा प्रकट गर्न येशूले भजनसंग्रहबाट मुटु छुने यो अभिव्यक्ति उद्धरण गर्नुभयो: “जसले मेरो रोटी खान्थ्यो, त्यसले मेरो विरुद्धमा लात उठाएको छ।”—यूहन्ना १३:१८; भजन ४१:९.
शूलीमा असह्य पीडा भोगिरहनु हुँदा समेत येशूले आफ्ना गहन भावनाहरू प्रकट गर्नुभयो। आफूले “प्रेम गर्नुभएको चेलालाई” आफ्नी आमाको हेरचाह गर्ने जिम्मा कोमलतापूर्वक सुम्पनुभयो। (यूहन्ना १९:२६, २७) आफूसँगै शूलीमा टाँगिएको कुकर्मीले पश्चात्ताप गरेको देख्नुभएपछि येशूले करुणामय ढंगमा यसो भन्नुभयो: “तिमी मसित स्वर्ग-लोकमा [“प्रमोदवन,” NW] हुनेछौ।” (लूका २३:४३) उहाँको हृदय कत्तिको छियाछिया भएको हुनुपर्छ भनेर हामी उहाँको यस चित्कारबाट बुझ्न सक्छौं: “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभयो?” (मत्ती २७:४६) अनि मर्नुअघि उहाँले उच्चारण गर्नुभएका यी शब्दहरूले उहाँको हार्दिक प्रेम तथा भरोसा देखाउँछ: “हे पिता, म मेरो आत्मा तपाईंको हातमा जिम्मा दिन्छु।”—लूका २३:४६.
यसले हामीलाई निकै आश्वासन दिन्छ! “किनकि हाम्रा प्रधान पूजाहारी हाम्रा निर्बलतामा हामीसँग दुःखी हुन नसक्ने होइन। तर सबै कुरामा हामीजस्तै परीक्षित, र पनि पापरहित हुनुहुन्छ।”—हिब्रू ४:१५.
यहोवाको विश्वस्तता
प्रवक्ता हुन नियुक्त गरिसक्नुभएपछि आफूले गरेको छनौटमा यहोवा कहिल्यै पछुताउनुभएन। तिनीहरूको निष्ठा उहाँलाई थाह थियो र असिद्ध मानवहरूका कमजोरीहरूलाई उहाँले करुणामय ढंगमा बेवास्ता गर्नुभयो। यद्यपि तिनीहरूले आफ्नो काम पूरा गरेको उहाँ चाहनुहुन्थ्यो। उहाँको मदत पाएर तिनीहरूले त्यसो गर्न सके।
हाम्रा निष्ठावान् भाइबहिनीहरूमाथि धैर्यपूर्वक भरोसा गरौं। यो रीतिरिवाज रहुञ्जेल हामीजस्तै तिनीहरू पनि असिद्धै हुनेछन्। तैपनि, आफ्ना भाइहरूलाई हाम्रो प्रेम तथा हेरचाह पाउन अयोग्यको ठहराउनु हुँदैन। पावलले यसप्रकार लेखे: “हामी बलियाहरूले निर्धाहरूका निर्बलतालाई सहनु पर्दछ, आफ्नो खुशी मात्र गर्नुहुँदैन।”—रोमी १५:१; कलस्सी ३:१३, १४.
यहोवाका अगमवक्ताहरूले हाम्राजस्तै सबै भावनाहरू महसुस गरे। तैपनि तिनीहरूले यहोवामाथि भरोसा राखे र यहोवाले तिनीहरूलाई सँभाल्नुभयो। त्यति मात्र होइन यहोवाले तिनीहरूलाई रमाउने कारण दिनुभयो—स्वच्छ अन्तस्करण, उहाँको अनुग्रह पाएको आभास, तिनीहरूलाई सँभाल्ने निष्ठावान् सहचरहरू तथा आनन्दित भविष्यको आश्वासन। (हिब्रू १२:१-३) पुरातन समयका अगमवक्ताहरू अर्थात् ‘हामी जस्तै दुःख सुख भोग्ने’ मानिसहरूको विश्वास अनुकरण गर्दै पूर्ण विश्वस्तताका साथ यहोवामा निर्भर होऔं।