सही धर्म चिन्नुसँगसँगै जिम्मेवारी पनि आउँछ
“धन्य हुन्, जसले परमेश्वरको वचन सुन्छन् र पालन गर्छन्।”—लूका ११:२८.
सही धर्म चिनेर मात्र पुग्दैन। हामी सत्य र सही कुराको प्रेमी हौं भने सही धर्म भेट्टाइसकेपछि त्यसैअनुरूप आफ्नो जीवनलाई ढाल्नेछौं। साँचो धर्म मानसिक दर्शन मात्र होइन; त्यो जीवनपद्धति हो।—भजनसंग्रह ११९:१०५; यशैया २:३; तुलना गर्नुहोस् प्रेरित ९:२.
२ परमेश्वरले प्रकट गर्नुभएको उहाँको इच्छाबमोजिम गर्नु पर्ने आवश्यकतामाथि येशू ख्रीष्टले जोड दिनुभयो। येशूलाई प्रभु भनेर पुकार्ने जति सबैले (मसीही भनौंदाहरू) नभइ उहाँको पिताको इच्छाबमोजिम चल्नेहरूले मात्र स्वर्गको राज्यमा प्रवेश गर्न पाउनेछन् भनेर येशूले आफ्नो उपदेशको अन्तमा प्रकट गर्नुभयो। यो उपदेश डाँडाको उपदेशको नाउँले प्रचलित छ। अरू चाहिं “अधर्म काम गर्नेहरू” भनी इन्कार गरिनेछन् भनेर उहाँले भन्नुभयो। तर अधर्म किन? किनभने परमेश्वरको इच्छा गर्न असमर्थ हुनु पाप हो र सबै पाप अधर्म हो भनेर बाइबलले बताउँछ। (मत्ती ७:२१-२३; १ यूहन्ना ३:४; तुलना गर्नुहोस् रोमी १०:२, ३.) एक जना व्यक्तिलाई सही धर्म के हो, त्यो थाहा होला, उसले सिकाउने व्यक्तिको सराहना गर्ला र पालन गर्नेहरूको प्रशंसा पनि गर्ला तर यतिले मात्र पुग्दैन। उसले त्यसलाई आफ्नै जीवनमा प्रयोग गर्नुपर्छ। (याकूब ४:१७) यो जिम्मेवारी स्वीकार्दा आफ्नो जीवन भरपूर हुनेछ र अरू कुनै तरिकाले प्राप्त गर्न नसकिने आनन्द अनुभव गर्नेछ भनी उसले थाहा पाउनेछ।
३ अघिल्लो लेखमा साँचो धर्मका छ वटा चिनारीहरूमाथि विचार गऱ्यौं। ती प्रत्येकले सही धर्म चिन्ने मदत दिनुको साथै व्यक्तिगत तवरमा चुनौती अनि अवसरहरू पनि प्रदान गर्छ। तर कसरी?
परमेश्वरको वचनप्रति तपाईं कस्तो प्रतिक्रिया देखाउनु हुन्छ?
४ नवजिज्ञासु व्यक्तिहरूले यहोवाका साक्षीहरूसँग बाइबल अध्ययन गर्दा आफूलाई सिकाइएका कुराहरू बाइबलबाट लिइएका हुन् भनेर तुरुन्तै बुझ्छन्। तिनीहरूका प्रश्नहरूको जवाफ दिंदा कुनै चर्चको शिक्षा, मानव रीतिरिवाज वा प्रतिष्ठित व्यक्तिहरूका विचारहरूको उल्लेख गरिंदैन। तिनीहरूको आधार स्वयं परमेश्वरको वचन हो। जब ती व्यक्तिहरू राज्य भवनमा जान्छन् त्यहाँ पनि मुख्य पाठ्यपुस्तकको रूपमा बाइबलकै प्रयोग गरेको देख्छन्। अतः इमान्दारीपूर्वक सत्य खोज्नेहरूलाई यहोवाका साक्षीहरूबीच आफूले देखेका आनन्दको मुख्य कारण, परमेश्वरको वचनद्वारा तिनीहरूले पाएको आध्यात्मिक पोषण हो भनी बुझ्न धेरै समय लाग्दैन।—यशैया ६५:१३, १४.
५ तपाईंलाई यो कुरा थाहा भएमा त्यसप्रति कस्तो प्रतिक्रिया देखाउनुहुन्छ? त्यसको सारतत्त्व बुझ्नुभयो भने तपाईं मूकदर्शक मात्र बन्नु सक्नुहुन्न र बन्नु पनि हुँदैन। “वचन पालन गर्ने” नभएर “सुन्ने” मात्र हुनेहरूले आफैलाई ‘झूटो तर्कहरूद्वारा धोका दिइरहेका हुन्छन्’ भनेर बाइबलले बताउँछ। (याकूब १:२२) मुखले जेसुकै बोलेपनि परमेश्वरको आज्ञा पालन गर्न असफल हुनेहरूले साँच्चै नै परमेश्वरलाई प्रेम गर्दैनन् भनी चिन्न नसकेको हुँदा तिनीहरू आफैलाई धोका दिन्छन्। कसैले दाबी गरेको विश्वास कामरहित छ भने त्यो विश्वास, मरेतुल्य विश्वास हो। (याकूब २:१८-२६; १ यूहन्ना ५:३) यसको विपरीत यहोवाप्रतिको प्रेमले गर्दा “काम गर्ने समेत” हुन उत्प्रेरित भएकाहरूले “उसको काममा श्याबासी पाउनेछ।” हो, येशू ख्रीष्टले वर्णन गर्नुभएअनुसार “तिनीहरू . . . धन्य हुन्, जसले परमेश्वरको वचन सुन्छन् र पालन गर्छन्।”—याकूब १:२५; लूका ११:२८; यूहन्ना १३:१७.
६ परमेश्वरको इच्छाबारे अझ बढी ज्ञानमा बढ्दै आफूले सिकेका थप कुराहरू प्रयोगमा ल्याउँदा तपाईंको आनन्द झन् बढ्नेछ। परमेश्वरको वचन अध्ययन गर्न तपाईं कतिको मेहनत गर्नु हुनेछ? विशेषगरि पवित्र शास्त्र पढेर अरूलाई सिकाउन सकोस् भनेर हजारौं निरक्षरहरूले पढ्न सिक्न कडा मेहनत गरेका छन्। अरूचाहिं हरेक दिन बाइबल र प्रहरीधरहरा जस्ता बाइबल अध्ययन सहायक पढ्न सबेरै उठ्छन्। क्रमशः बाइबल पढ्दै जानु हुँदा वा अध्ययन सामग्रीमा उद्धृत शास्त्रपदहरू हेर्नुहुँदा यहोवाका नियम अनि आज्ञाहरूमाथि राम्ररी ध्यान दिनुहोस् र हाम्रो पथप्रदर्शनका लागि त्यहाँ दिइएका थुप्रै सिद्धान्तहरू बुझ्ने कोशिश गर्नुहोस्। तपाईंले पढ्नु भएको प्रत्येक अंशले परमेश्वर, उहाँको उद्देश्य र मानवजातिसँग उहाँको व्यवहारबारे के भन्छ, त्यसमाथि मनन गर्नुहोस्। ती कुराहरूलाई आफ्नो हृदय ढाल्ने समय दिनुहोस्। तपाईंको जीवनमा बाइबलका सिद्धान्तहरूलाई पूर्णतः लागू गर्न मिल्ने तरिकाहरू छन् कि भनी विचार गर्नुहोस्।—भजनसंग्रह १:१, २; १९:७-११; १ थिस्सलोनिकी ४:१.
यहोवाप्रति के तपाईंको भक्ति पूर्ण छ?
७ साँचो परमेश्वर त्रिएक हुनुहुन्न भनेर सिक्न पाउँदा लाखौं मानिसहरूको मन हलुङ्गो भएको छ। “त्यो रहस्य हो” भन्ने जवाफले तिनीहरूको कहिल्यै चित्त बुझेन। आखिरमा तिनीहरू कसरी बुझ्नै नसकिने परमेश्वरको नजिक हुनसक्छन् र? त्यस्तो शिक्षाको फलस्वरूप पिताको बेवास्ता गरेर (जसको नाउँ तिनीहरूले चर्चमा कहिल्यै सुनेनन्) येशूलाई परमेश्वर भनेर उपासना गर्न वा मरियमको (जो “परमेश्वरकी आमा” हुन् भनी तिनीहरूलाई सिकाइएको थियो) उपासना गर्न तिनीहरू प्रवृत्त भएका थिए। तर यहोवाका साक्षीले बाइबल खोलेर परमेश्वरको व्यक्तिगत नाउँ यहोवा हो भनी देखाउँदा तिनीहरूको हृदय प्रफुल्लित भए। (भजनसंग्रह ८३:१८) यो ईश्वरीय नाउँ देखाउँदा भेनेजुएलाकी एउटी महिला साह्रै खुशी भएर सो सत्य कुरा बताउने जवान साक्षी बहिनीलाई अङ्कमाल गरिन् र गृह बाइबल अध्ययन गर्न राजी भइन्। येशूले आफ्नो पितालाई “मेरा परमेश्वर र तिमीहरूका परमेश्वर” भनी बताउनुभयो र उहाँलाई सम्बोधन गर्नुहुँदै “एकमात्र सत्य परमेश्वर” भन्नुभयो भनेर त्यस्ता व्यक्तिहरूले जानेपछि परमेश्वरबारे बाइबलले सिकाउने कुरा बुझ्नै नसकिने खालका रहेनछ भनी थाहा पाउँछन्। (यूहन्ना १७:३; २०:१७) यहोवाका गुणहरू चिन्दै गएपछि उहाँसित नजिकिएको महसुस गर्छन्, प्रार्थना गर्न थाल्छन् र उहाँलाई प्रसन्न पार्न चाहन्छन्। नतिजा?
८ गत दश वर्ष भित्रमा छ महादेश अनि थुप्रै टापूहरूका २५,२८,५२४ मानिसहरूले आफ्नो जीवन यहोवालाई समर्पण गरेर पानीको बप्तिस्माद्वारा त्यसलाई प्रतिकात्मक रूप दिएका छन्। के तपाईं तिनीहरूमध्येका हुनुहुन्थ्यो अथवा अहिले बप्तिस्मा लिने तयारीमा हुनुहुन्छ कि? बप्तिस्मा हरेक साँचो मसीहीका लागि जीवनको महत्त्वपूर्ण मोड हो। येशूले आफ्ना अनुयायीहरूलाई सारा राष्ट्रका मानिसहरूलाई चेला बनाउन अनि बप्तिस्मा दिन अह्राउनु भएको थियो। (मत्ती २८:१९, २०) यहाँ अर्को विचारणीय कुरा के छ भने, स्वयं येशूको बप्तिस्मापछि मात्र यहोवाले स्वर्गबाट यसो भन्नुभयो: “तिमी मेरा प्यारा पुत्र हौ, तिमीसित म प्रसन्न छु।”—लूका ३:२१, २२.
९ यहोवा परमेश्वरसँगको अनुमोदित सम्बन्ध हामीले प्रिय सम्झनु पर्ने कुरा हो। समर्पण र बप्तिस्माद्वारा तपाईंले त्यस्तो सम्बन्ध गाँसिसक्नु भएको छ भने त्यसलाई बिगार्ने कुनै कुरादेखि टाढा बस्नुहोस्। जीवनको फिक्री र भौतिक कुराको चिन्ताले गर्दा तपाईंको त्यस्तो सम्बन्धलाई दोस्रो स्थानमा नराख्नुहोस्। (१ तिमोथी ६:८-१२) हितोपदेश ३:६ को यस सल्लाहअनुरूप जीवन बिताउनुहोस्: “आफ्नो सबै चालमा उहाँलाई परमप्रभु [यहोवा, न्यु व.] सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।”
ख्रीष्टको प्रेमले तपाईंलाई कति धेरै प्रभाव पार्छ?
१० एक मात्र साँचो परमेश्वरको हैसियतमा यहोवालाई चढाइने उचित मूल्याङ्कनले निस्सन्देह एक व्यक्तिलाई येशू ख्रीष्टको उपेक्षा गर्न लगाउँदैन। यसको विपरीत प्रकाश १९:१० ले यसो भन्छ: “येशूको साक्षी अगमवाणीको आत्मा हो।” यहोवाको उद्देश्यमा येशू ख्रीष्टले निर्वाह गर्नुहुने भूमिकाबारे उत्पत्तिदेखि प्रकाशसम्म प्रेरित भविष्यवाणीहरूले पूर्ण विवरण दिन्छ। एक जना व्यक्ति ती विवरणहरूसित राम्ररी परिचित भएपछि उसको सामू मसीहीजगतका झूटा शिक्षाहरूका कारण उठेका विकृति अनि गलत धारणाहरूबाट मुक्त चित्ताकर्षक चित्र देखापर्छ।
११ परमेश्वरको पुत्रसित सम्बन्धित साँचो कुरा सिक्दा त्यसले एक जना व्यक्तिमाथि गहिरो असर पार्नसक्छ। पोलैण्डको डानुटा नाउँ गरेकी महिलालाई त्यस्तै भयो। तिनले यहोवा साक्षीहरूसित सम्पर्क राखेको आठ वर्ष भइसकेको थियो। उनीहरूले सिकाउने कुराहरू मन परे तापनि साँचो धर्मलाई भने तिनले अँगालिसकेका थिएनन्। त्यसपछि तिनले सरल भाषामा येशूको जीवनी प्रस्तुत गरिएको आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान पुरुष नामक पुस्तक पाइन्।a त्यसै रात एउटा मात्र अध्याय पढ्ने मनसाय राखी तिनले सो पुस्तक खोलिन्। तथापि, झिसमिसे बिहान पढ्न नसकुन्जेलसम्म तिनले त्यो पुस्तक बन्द गरिनन्। तिनका आँखाबाट आँसुका धारा बग्न थाले। त्यसपछि याचना गर्दै तिनले भनी, “यहोवा, मलाई माफ गरिदिनुहोस्।” आफूले पढेको कुराहरूबाट यहोवा र उहाँको पुत्रले देखाउनुभएको प्रेमलाई तिनले पहिलेभन्दा धेरै राम्ररी बुझिन्। गत आठ वर्षदेखि परमेश्वरले धैर्यपूर्वक दिनुभएको मदतलाई कृतध्न भएर दुत्कार्दै रहेछु भनेर तिनले महसुस गरिन्। येशू ख्रीष्टमाथिको विश्वासको आधारमा तिनले यहोवाप्रतिको आफ्नो समर्पणलाई १९९३ मा बप्तिस्माद्वारा प्रतिकात्मक रूप दिइन्।
१२ “प्रभु येशू ख्रीष्ट चिन्ने [सही, न्यु व] ज्ञान” सित सक्रिय अनि फलदायी मसीही हुनु सम्बन्धित छ। (२ पत्रुस १:८) अरूलाई राज्य समाचार बाँड्दै त्यस्ता क्रियाकलापमा तपाईं कतिसम्म भाग लिनुहुनेछ? व्यक्ति विशेषले गर्नसक्ने क्षमतामाथि विभिन्न परिस्थितिहरूको कारण असर गर्छ। (मत्ती १३:१८-२३) कुनै कुनै परिस्थितिलाई हामी परिवर्तन गर्न सक्दैनौं तर कतिपय भने परिवर्तन गर्न सकिन्छ। परिवर्तन गर्न सकिने परिस्थितिलाई चिनेर छाँटकाँट गर्न हामीलाई कुन कुराले प्रेरित गर्छ? प्रेरित पावलले लेखे: “ख्रीष्टको प्रेमले हामीलाई करमा पार्दछ”; अर्को शब्दमा भन्ने हो भने हाम्रो निम्ति प्राण दिनुभएर उहाँले देखाउनुभएको प्रेम साह्रै अनुपम भएको हुँदा त्यसप्रति हाम्रो मूल्याङ्कन बढेपछि भित्री गहराइदेखि हाम्रो हृदय उत्प्रेरित हुनेछ। फलस्वरूप स्वार्थी लक्ष्य प्राप्तिपछि दौडिरहनु अनि आत्म-सन्तुष्टिक लागि मात्र बाँच्नु साह्रै असुहाँउदो कुरो हो भनी हामी महसुस गर्छौं। बरु त्यसको विपरीत ख्रीष्टले आफ्ना चेलाहरूलाई सिकाउनुभएको कामलाई पहिलो स्थान दिन हामी आफ्नो कामकुरालाई छाँटकाँट गर्छौं।—२ कोरिन्थी ५:१४, १५.
संसारदेखि अलग—कुन हदसम्म?
१३ मसीहीजगत र अन्य धर्महरू यस संसारका भाग हुन चाहन्छन्। त्यसैकारण तिनीहरूका कर्तुतहरूको रेकर्ड भेट्टाउन त्यति कठिन छैन। क्रान्तिकारी अभियानहरूलाई वित्तीय सहयोग दिन चर्चका कोषहरू चलाइएका छन्। पादरीहरू छापामार लडाकुहरू भएका छन्। पृथ्वीको विभिन्न भागहरूमा धार्मिक गुटहरूबीच आपसी युद्धको रिपोर्ट दिनहुँ पत्रिकाहरूमा पाइन्छन्। तिनीहरूका हातबाट तप-तप रगत चुहिरहेका छन्। (यशैया १:१५) अनि संसारभरि पादरीहरूले धूर्ततापूर्वक राजनैतिक नियन्त्रण हत्याउने कोशिश गरिरहेकै छन्। यस कुरासित साँचो उपासकहरूको कुनै सम्बन्ध छैन।—याकूब ४:१-४.
१४ तर संसारदेखि अलग हुन त्यति मात्र गरेर पुग्दैन। पैसा अनि पैसाले किन्न सकिने चीजहरूप्रतिको प्रेम, व्यक्तिगत प्रतिष्ठाको लालसा, मौजमस्तीमा लग्गू हुनु जस्ता कुराहरूका साथै अरूप्रति साँचो चासोको कमी, झूट अनि दुर्व्यवहारपूर्ण बोली, अख्तियारको विरोध र आत्मसंयमको कमी जस्ता कुराहरू यस संसारका विशेषताहरू हुन्। (२ तिमोथी ३:२-५; १ यूहन्ना २:१५, १६) हाम्रो असिद्धताको कारण शायद हामीले कहिलेकाहीं त्यस्तै मनोवृत्ति देखाउन सक्छौं। यस्ता पासोहरूदेखि बच्ने हाम्रो सङ्घर्षमा कुन कुराले मदत दिनसक्छ? संसारका यस्ता विशेषताहरूको पछाडि कसको हात छ भनी हामीले आफैलाई सम्झाइरहनु आवश्यक छ। “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” (१ यूहन्ना ५:१९) कुनै मार्ग जतिसुकै लोभलाग्दो किन नदेखियोस्, जतिसुकै मानिसहरू त्यस मार्गमा किन नलागून्, त्यसपछाडि यहोवाको मुख्य शत्रु शैतान अर्थात् दियाबल छ भनी थाहा पाएपछि ती कुराहरू कतिको घिनलाग्दा छन् भनेर हामी महसुस गर्छौं।—भजनसंग्रह ९७:१०.
तपाईंको प्रेम कतिको विस्तृत छ?
१५ यहोवाका साक्षीहरूले आपसमा प्रकट गर्ने प्रेम संसारको आत्माभन्दा भिन्न भएको हुँदा तिनीहरूसित पहिलो चोटि सङ्गत गर्न थाल्दा निस्सन्देह तपाईंलाई तिनीहरूको त्यस्तो प्रेम मोहलाग्दो लागेको हुनुपर्छ। निःस्वार्थ प्रेममाथि दिइने महत्त्वले यहोवाको उपासनालाई अन्य प्रकारका उपासनाहरूभन्दा भिन्न बनाउँछ। यहोवा साक्षीहरूले साँच्चै नै सही धर्म पालन गर्दैछन् भनेर शायद यसैले तपाईंलाई आश्वस्त गराएको हुनसक्छ। येशू ख्रीष्ट आफैले यसो भन्नुभयो: “तिमीहरूले आपसमा प्रेम गर्यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्नेछन्।”—यूहन्ना १३:३५.
१६ के यस गुणले पनि तपाईंलाई ख्रीष्टको चेला हो भनी चिनाउँछ? के तपाईंसित यस्तो प्रेम देखाउन अझ ठूलो मनका हुने तरिकाहरू छन्? निस्सन्देह हामी सबैले त्यसो गर्नसक्छौं। राज्य भवनमा अरूसित मित्रैलो हुनु मात्रै त्यसमा समावेश छैन। अनि आफूलाई प्रेम गर्नेजतिलाई मात्र प्रेम गर्ने हो भने के हामी संसारभन्दा केही फरक होऔंला र? “सबैभन्दा बढ़ता आपसमा प्रगाढ़ प्रेम राख” भनी बाइबलले आग्रह गर्छ। (१ पत्रुस ४:८) हामी कसलाई बढ्ता प्रेम देखाउन सक्छौं? के त्यो भिन्दै पृष्ठभूमीबाट आएको त्यो भाइ वा बहिनी हो जसका कुनै कुनै काम व्यवहारदेखि हामी चिढिन्छौं? के त्यो रोग वा वृद्धावस्थाको कारण नियमित रूपमा सभा धाउन नसकिरहेका कुनै भाइ वा बहिनी हुन्? के तिनीहरू हाम्रा पति वा पत्नी हुन्? अथवा हाम्रा वृद्ध आमाबाबु पो हुन् कि? परिवारको कुनै सदस्य साह्रै अशक्त भएर झण्डै पूर्ण हेरचाह गर्नु पर्ने अवस्था आउँदा कठिन परिस्थितिको सामना गर्नु पर्ने हुन्छ। प्रेम लगायत आत्माका अन्य फल राम्ररी प्रकट गर्नेहरूले त्यस्ता परिस्थितिको सामना गर्नुपर्दा ती कुराहरू फेरि सिक्नु पर्ने महसुस गरेका छन्। तर निस्सन्देह त्यस्तो परिस्थितिमा पनि हाम्रो प्रेम आफ्नो परिवारमा मात्रै सीमित हुनुहुँदैन।
राज्य प्रचार —तपाईंको लागि कति महत्त्वपूर्ण छ?
१७ सहमानवप्रति प्रेम प्रकट गर्ने एउटा महत्त्वपूर्ण तरिका तिनीहरूलाई परमेश्वरको राज्य प्रचार गर्नु हो। येशूले अगमवाणी गर्नुभएको यस कार्यमा मानिसहरूको एउटा समूह मात्र लागेको छ। (मर्कूस १३:१०) तिनीहरू हुन्, यहोवाका साक्षीहरू। व्यक्तिगत रूपमा हामीले त्यसबाट लाभ उठाएका छौं। अहिले अरूलाई मदत गर्न पाउनु हाम्रो सुअवसर हो। यस सम्बन्धमा ईश्वरीय दृष्टिकोण राख्यौं भने राज्य प्रचार कार्य हाम्रो जीवनको प्रमुख भाग हुनेछ।
१८ अन्तिम दिनको दौडान पृथ्वीको दुर्गम ठाउँहरूमा पनि राज्य समाचार कसरी पुगेका छन् भन्ने कुराको रोमाञ्चकारी विवरण जेहोवाज विट्नेसेज—प्रोक्लेमर्स अफ गड्स किङ्गडम नामक पुस्तकमा प्रस्तुत गरिएको छ। तपाईंको भाषामा उक्त पुस्तक उपलब्ध छ भने अवश्य पढ्नुहोस्। अनि पढ्दै जाँदा, कुन कुन ढङ्गमा व्यक्ति विशेषले राज्यबारे साक्षी दिने काममा भाग लिए भनेर बढी ध्यान दिनुहोस्। तपाईंले अनुकरण गर्न सक्ने कुनै उदाहरण छ कि? हामी सबैका लागि थुप्रै मौकाहरू खुला छन्। यहोवाप्रतिको हाम्रो प्रेमले ती मौकाहरूको सदुपयोग गर्न हामीलाई उत्प्रेरित गरून्।
१९ यसप्रकार परमेश्वरको इच्छाबमोजिम चल्दा जीवनको अर्थ के हो भन्ने प्रश्नको जवाफ पाउँछौं। (प्रकाश ४:११) खोक्रोपनाको भावना लिएर हामी यताउता भौंतारिनु पर्ने छैन। यहोवा परमेश्वरको सेवामा पूर्ण हृदयका साथ लाग्दा पाइने अधिक सन्तुष्टि तपाईंले अरू कुनै पेशामा पाउन सक्नुहुन्न। अनि त्यसले दिने भविष्य कति सुन्दर छ! उहाँको नयाँ संसारमा अनन्तकालीन सन्तोषप्रद जीवन, जहाँ हामी परमेश्वरले मानवजाति सृष्टि गर्नुहुँदा राख्नु भएको उद्देश्यअनुरूप आफ्नो क्षमतालाई पूर्ण रूपमा उपयोग गर्न सक्नेछौं। (w94 6/1)
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटी अफ न्यु योर्क, इन्कर्पोरेटेडद्वारा प्रकाशित।
तपाईं कस्तो जवाफ दिनुहुन्छ?
◻ कुनै पनि धर्ममा बाइबललाई परमेश्वरको वचन र यहोवालाई साँचो परमेश्वरको रूपमा स्वीकार्नु किन अत्यावश्यक छ?
◻ छुटकाराको मोल तिर्नुहुने व्यक्तिको रूपमा येशूको भूमिकाबारे साँचो धर्मले के सिकाउँछ?
◻ मसीहीहरू किन संसारदेखि अलग बस्छन् र निःस्वार्थ प्रेमको अभ्यास किन गर्छन्?
◻ सही धर्ममा राज्य प्रचारको कस्तो भूमिका छ?
[अध्ययनका लागि प्रश्नहरू]
१. सही धर्म चिनिसकेपछि कस्ता खालका व्यक्तिहरूले त्यसअनुरूप जीवन बिताउँछन्?
२, ३. (क) परमेश्वरको इच्छा गर्नुपर्ने महत्त्वमाथि येशूले कसरी जोड दिनुभयो? (ख) सही धर्म चिन्नेमाथि सबैले कस्तो जिम्मेवारी बहन गर्छ?
४. (क) साक्षीहरूले बाइबलको प्रयोग गर्ने सम्बन्धमा नयाँ व्यक्तिहरूले यहोवाका साक्षीहरूसित सङ्गत गर्न थाल्दा चाँडै नै के देख्छन्? (ख) आध्यात्मिक रूपमा पोषित हुने कुराले यहोवाका साक्षीहरूमाथि कस्तो असर पार्छ?
५. (क) यहोवाका साक्षीहरूलाई अवलोकन गर्नेहरूलाई कस्तो चुनौती दिइएको छ? (ख) साक्षीहरूको आनन्दमा तिनीहरू कसरी सहभागी हुनसक्छन्?
६. परमेश्वरको वचनको साँच्चै नै मूल्याङ्कन गर्छौं भने हामी व्यक्तिगत तवरमा कुन मौका छोप्ने प्रयत्न गर्नेछौं?
७. (क) परमेश्वरको उपासना गर्ने मानिसहरूको प्रयत्नमाथि त्रिएक सिद्धान्तले कसरी असर पारेको छ? (ख) यहोवासित सम्बन्धित सत्य कुरा थाहा पाउँदा एक व्यक्तिमाथि कस्तो असर पर्नसक्छ?
८. (क) यहोवाप्रतिको प्रेम अनि उहाँलाई प्रसन्न पार्ने इच्छाले गर्दा लाखौं मानिसहरूले के गरेका छन्? (ख) मसीही बप्तिस्मा किन अति महत्त्वपूर्ण छ?
९. यहोवासित अनुमोदित सम्बन्ध कायम राख्न हामीले के गर्नुपर्छ?
१०. यहोवाको उपासनाले किन येशूको उपेक्षा गर्न हामीलाई उत्प्रेरित गर्दैन?
११. परमेश्वरको पुत्रबारे बाइबलले सिकाउने वास्तविक कुराहरू सिक्दा पोलैण्डकी महिला कसरी प्रभावित भइन्?
१२. येशू ख्रीष्ट चिन्ने सही ज्ञानले हाम्रो जीवनलाई कसरी असर गर्छ?
१३. आफूलाई संसारको भाग बनाउने धर्मसित किन हामी कुनै सम्बन्ध राख्न चाहँदैनौं?
१४. (क) संसारदेखि अलग हुन व्यक्तिगत रूपमा हामी कुन कुरादेखि अलग बस्नै पर्छ? (ख) सांसारिक मनोवृत्ति अनि चालचलनहरूको पासोबाट जोगिन कुन कुराले हामीलाई मदत गर्नसक्छ?
१५. तपाईंले देख्नुभएको निःस्वार्थ प्रेमले कसरी तपाईंलाई सही धर्म चिन्ने मदत दिन्छ?
१६. आफ्नो प्रेममा ठूलो मनको हुन व्यक्तिगत रूपमा हाम्रा निम्ति कस्ता मौकाहरू हुन सक्छन्?
१७. यहोवाका साक्षीहरूको भेटद्वारा हामी व्यक्तिगत रूपमा लाभान्वित भएका छौं भने अहिले के गर्न हामी उत्प्रेरित हुनुपर्छ?
१८. जेहोवाज विट्नेसेज—प्रोक्लेमर्स अफ गड्स किङ्गडम नामक पुस्तक पढ्नाले राज्य साक्षी दिने हाम्रो काममा कस्तो प्रभाव पार्न सक्छ?
१९. सही धर्म चिनेपछि त्यससङ्गै आउने जिम्मेवारीलाई स्वीकार्दा हामीले कसरी लाभ उठाउनेछौं?
[पृष्ठ १६-मा भएको चित्र]
साँचो उपासना स्वीकार्न लिनु पर्ने अत्यावश्यक कदम बप्तिस्मा हो। विश्वभरि हर महिना २५,००० जनाले त्यो कदम चाल्छन्
रूस
सेनेगल
पापुआ न्यु गिनी
स.रा.अ.
[पृष्ठ १७-मा भएको चित्र]
अरूसँग बाइबलको सच्चाइ बाँड्नु साँचो उपासनाको भाग हो
स.रा.अ.
ब्राजिल
स.रा.अ.
हङ्कङ्