प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 १२/१५ pp. १९-२३
  • “प्रवासी”-को रूपमा जीवन बिताउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “प्रवासी”-को रूपमा जीवन बिताउनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ‘सारा सृष्टि सुस्केरा हाल्दै छ’
  • साँचो ख्रीष्टियनहरूबाट के आशा गरिन्छ?
  • असल चालचलन
  • सरकारको अधीनमा बस्नुपर्छ
  • प्रेम देखाउनुपर्छ
  • दुष्ट संसारमा “अस्थायी बासिन्दा”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • “अन्यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल गराओ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • साँचो उपासनामा एकताबद्ध “प्रवासीहरू”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • आखिरी दिनमा तटस्थ मसीहीहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 १२/१५ pp. १९-२३

“प्रवासी”-को रूपमा जीवन बिताउनुहोस्‌

“परदेशी अनि प्रवासीहरूझैं शरीरका लालसाहरूदेखि अलग बसिरहो भनेर म तिमीहरूलाई आग्रह गर्छु।”—१ पत्रु. २:११.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

  • अभिषिक्‍त ख्रीष्टियनहरूलाई किन प्रवासी भन्‍न सकिन्छ?

  • “अरू भेडा” कुन अर्थमा प्रवासी हुन्‌?

  • तपाईं कुन कुराको बाटो हेर्दै हुनुहुन्छ?

१, २. “चुनिएका जनहरू” भनेर पत्रुसले कसलाई सम्बोधन गरे र तिनीहरूलाई किन “प्रवासी” भने?

येशू स्वर्ग जानुभएको लगभग ३० वर्षपछि प्रेषित पत्रुसले “पोन्टस, गलातिया, क्यापाडोसिया, एसिया अनि बिथिनियामा अस्थायी बासिन्दाका रूपमा तितरबितर भएका चुनिएका जनहरूलाई” सम्बोधन गर्दै एउटा पत्र लेखे। (१ पत्रु. १:१) “चुनिएका जनहरू” भनेर पत्रुसले आफूजस्तै पवित्र शक्‍तिद्वारा अभिषिक्‍त भएका अनि ख्रीष्टसित स्वर्गमा शासन गर्न “नयाँ जन्म”-द्वारा “जीवित आशा” पाएका अभिषक्‍ति ख्रीष्टियनहरूलाई सङ्‌केत गर्दै थिए। (१ पत्रुस १:३, ४ पढ्‌नुहोस्‌) तर ती चुनिएका जनहरूलाई पत्रुसले पछि किन “परदेशी अनि प्रवासी” भने? (१ पत्रु. २:११) आज संसारमा रहेका यहोवाका साक्षीहरूमध्ये अभिषिक्‍त जन थोरै मात्र छन्‌। त्यसैले पत्रुसका शब्दहरूले हाम्रो लागि कुनै अर्थ राख्छ र?

२ प्रथम शताब्दीका अभिषिक्‍त ख्रीष्टियनहरूलाई “प्रवासी” अर्थात्‌ “अस्थायी बासिन्दा” भन्‍नु उपयुक्‍त थियो। आजका अभिषिक्‍त ख्रीष्टियनहरूजस्तै तिनीहरू पनि पृथ्वीमा सधैंभरि रहने थिएनन्‌। प्रेषित पावल, जो अभिषिक्‍त “सानो बगाल”-का सदस्य थिए, तिनले अभिषिक्‍त ख्रीष्टियनहरू वास्तवमा स्वर्गका नागरिक हुन्‌ भनी बताए। तिनले लेखे: “जहाँसम्म हाम्रो कुरा छ, हाम्रो नागरिकता स्वर्गको हो र त्यहीं हुनुहुने एक जना उद्धारक, प्रभु येशू ख्रीष्टलाई हामी उत्सुकतासाथ पर्खिरहेका छौं।” (लूका १२:३२; फिलि. ३:२०) तिनीहरूको “नागरिकता स्वर्गको” भएको हुँदा ती अभिषिक्‍त ख्रीष्टियनहरूले मृत्युपछि स्वर्गमा उत्तम अमर जीवन पाउनेछन्‌। (फिलिप्पी १:२१-२३ पढ्‌नुहोस्‌) यसकारण शाब्दिक अर्थमा भन्‍ने हो भने, तिनीहरू सैतानले नियन्त्रण जमाएको पृथ्वीमा “प्रवासी” हुन्‌।

३. “अरू भेडा”-बारे कस्तो प्रश्‍न खडा हुन्छ?

३ “अरू भेडा” नि? (यूह. १०:१६) तिनीहरू पृथ्वीका स्थायी बासिन्दा हुनेछन्‌ भनी बाइबल बताउँछ। तिनीहरू पृथ्वीमा सधैंभरि बाँच्नेछन्‌। तर एक अर्थमा तिनीहरू पनि प्रवासी हुन्‌। कसरी?

‘सारा सृष्टि सुस्केरा हाल्दै छ’

४. विश्‍व नेताहरूले के गर्न सकेका छैनन्‌?

४ यहोवाले सैतानको दुष्ट संसार रहन अनुमति देउन्जेल सैतानको विद्रोहले गर्दा निम्तिएको दुःख ख्रीष्टियनलगायत सबैले भोग्नुपर्नेछ। रोमी ८:२२ यसो भन्छ: “हामीलाई थाह छ, सारा सृष्टि अहिलेसम्म एकसाथ सुस्केरा हाल्दै पीडाले छटपटाइरहेको छ।” मानिसको अवस्था उकास्न विश्‍वका नेता, वैज्ञानिक र मानवअधिकारवादीहरूले केही गर्न सकेका छैनन्‌।

५. सन्‌ १९१४ देखि लाखौंले कस्तो कदम चालेका छन्‌ र किन?

५ सन्‌ १९१४ देखि लाखौं मानिसहरू परमेश्‍वरले नियुक्‍त गर्नुभएका राजा ख्रीष्ट येशूको प्रजा बन्‍न अग्रसर भएका छन्‌। तिनीहरू सैतानको संसारको भाग बन्‍न चाहँदैनन्‌। तिनीहरू सैतानको संसारलाई समर्थन गर्दैनन्‌। बरु परमेश्‍वरको राज्यलाई समर्थन गर्न आफ्नो जीवन र धनसम्पत्ति प्रयोग गर्छन्‌।—रोमी १४:७, ८.

६. यहोवाका साक्षीहरूलाई कुन अर्थमा विदेशी भन्‍न सकिन्छ?

६ यहोवाका साक्षीहरू २०० भन्दा धेरै मुलुकमा बसोबास गर्छन्‌ र तिनीहरू आफ्नो देशका असल नागरिक हुन्‌। तर जुन देशमा बसे तापनि तिनीहरू विदेशी अर्थात्‌ अस्थायी बासिन्दाजस्तै हुन्‌। तिनीहरू राजनैतिक र सामाजिक मामिलामा तटस्थ रहन्छन्‌, त्यस्तो कुरामा पटक्कै मुछिंदैनन्‌। तिनीहरू आफूलाई परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारको नागरिक ठान्छन्‌। यस त्रुटिपूर्ण संसारमा तिनीहरूले अब धेरै समयसम्म प्रवासीको रूपमा जीवन बिताउनुपर्ने छैन। त्यसकारण तिनीहरू त्यस दिनलाई उत्सुकतासाथ पर्खन्छन्‌।

७. परमेश्‍वरका सेवकहरू कसरी स्थायी बासिन्दा हुनेछन्‌? तिनीहरू कहाँका बासिन्दा हुनेछन्‌?

७ सैतानको दुष्ट संसारलाई नाश गर्न ख्रीष्टले चाँडै आफ्नो अख्तियार चलाउनुहुनेछ। ख्रीष्टको उत्तम सरकारले पृथ्वीबाट पाप र दुःखकष्ट हटाउनेछ। यसले यहोवाको सार्वभौमिकताको विरुद्धमा खडा हुने कसैलाई पनि छोड्‌नेछैन। परमेश्‍वरप्रति वफादार रहनेहरू पृथ्वीमा स्थापना हुने नयाँ संसारका स्थायी बासिन्दा हुनेछन्‌। (प्रकाश २१:१-५ पढ्‌नुहोस्‌) तब सारा सृष्टिलाई कुनै पनि कुराले दुःख दिनेछैन अनि सबैले “परमेश्‍वरको सन्तानको रूपमा गौरवशाली स्वतन्त्रता पाउनेछ।”—रोमी ८:२१.

साँचो ख्रीष्टियनहरूबाट के आशा गरिन्छ?

८, ९. “शरीरका लालसाहरूदेखि अलग बसिरहो” भन्दा पत्रुसले कुन कुरा बुझाउन खोज्दै थिए?

८ ख्रीष्टियनहरूबाट आशा गरिने कुराबारे पत्रुस यसो भन्छन्‌: “हे मेरा प्रियहरू हो, परदेशी अनि प्रवासीहरूझैं शरीरका लालसाहरूदेखि अलग बसिरहो भनेर म तिमीहरूलाई आग्रह गर्छु। किनकि यस्तै लालसाहरूले तिमीहरूको जीवनसित सङ्‌घर्ष गर्छ।” (१ पत्रु. २:११) यो सल्लाह मुख्यतया अभिषिक्‍त ख्रीष्टियनहरूका निम्ति हो तर येशूका अरू भेडालाई पनि लागू हुन्छ।

९ सृष्टिकर्ताको इच्छाबमोजिम छ भने केही लालसा पूरा गर्नु गलत होइन। त्यसले अझ आनन्दित बनाउँछ। उदाहरणको लागि, मीठो खानपानको मजा लिने इच्छा गर्नु स्वाभाविक हो। साथै साथीभाइसित बसेर रमाइलो गर्दा हामीलाई मजा लाग्छ। आफ्नो पति वा पत्नीसित यौनसम्बन्धको आनन्द उठाउने चाह गर्नु पनि उचित र स्वाभाविक हो। (१ कोरि. ७:३-५) तर पत्रुसले “जीवनसित सङ्‌घर्ष” गर्ने “शरीरका लालसाहरू”-बारे कुरा गर्दै थिए। कुरा स्पष्ट छ, यहोवाको उद्देश्‍यसित मेल नखाने अनि उहाँसितको सम्बन्ध बिगार्ने सबै प्रकारका लालसालाई नियन्त्रणमा राख्नै पर्छ। यसो नगरेको खण्डमा हाम्रो ज्यान जान सक्छ।

१०. ख्रीष्टियनहरूलाई यस संसारको भाग बनाउन सैतानले प्रयोग गर्ने पासोहरू के-के हुन्‌?

१० सैतानको लक्ष्य यस संसारमा “प्रवासी”-को रूपमा जीवन बिताउने साँचो ख्रीष्टियनहरूको कटिबद्धता कमजोर पार्नु हो। भौतिकवादको चमकधमक, अनैतिकताको प्रलोभन, नाम कमाउने लोभ, मपाईंवाद अनि देशभक्‍तिको मोह—यी सबै सैतानका पासो हुन्‌। यस्ता गलत लालसालाई तिरस्कार गर्न कटिबद्ध हुँदा हामी सैतानको दुष्ट संसारको भाग हुन चाहँदैनौं भनेर देखाइरहेका हुन्छौं। अनि यस संसारमा प्रवासी मात्र हौं भनेर प्रस्ट पार्छौं। हाम्रो चाहना परमेश्‍वरको नयाँ संसारको स्थायी बासिन्दा हुनु हो। यो लक्ष्य हासिल गर्न हामी कडा प्रयत्न गर्छौं।

असल चालचलन

११, १२. मानिसहरूले कहिलेकाहीं विदेशीहरूप्रति कस्तो दृष्टिकोण राख्छन्‌? कसै-कसैले यहोवाका साक्षीहरूप्रति कस्तो दृष्टिकोण राख्छन्‌?

११ “प्रवासी”-को रूपमा जीवन बिताउने ख्रीष्टियनहरूबाट आशा गरिने अर्को कुराबारे पद १२ मा पत्रुस यसो भन्छन्‌: “संसारका मानिसहरूबीच तिमीहरूको चालचलन असल भइरहोस्‌, ताकि तिमीहरूलाई कुकर्मी भनेर दोष लगाउने मानिसहरूले आफ्नै आँखाले तिमीहरूको असल काम देखून्‌ र परमेश्‍वरले जाँच्नु हुने दिनमा उहाँको महिमा गरून्‌।” अर्काको देशमा बसोबास गर्ने प्रवासी अर्थात्‌ विदेशीहरूले कहिलेकाहीं आलोचना सहनुपर्ने हुन्छ किनभने तिनीहरू स्थानीय बासिन्दाभन्दा फरक हुन्छन्‌। तिनीहरूको बोलीचाली, बानीबेहोरा, पहिरन र रूपरङ फरक हुने भएकोले कहिलेकाहीं तिनीहरूलाई खराब मानिस ठानिन्छ। तर मानिसहरूले तिनीहरूको राम्रो काम अर्थात्‌ असल चालचलन देख्दा त्यस्ता नकारात्मक टिकाटिप्पणी आफसेआफ हराउँछन्‌।

१२ त्यसैगरि, साँचो ख्रीष्टियनहरू कुनै-कुनै पक्षमा तिनीहरूका छिमेकीभन्दा फरक छन्‌। जस्तै: कुराकानी वा मनोरञ्जनको सन्दर्भमा। पहिरन र कोरीबाटीले गर्दा तिनीहरू अरू मानिसभन्दा अलग्गै छुट्टिन्छन्‌। यसले गर्दा कहिलेकाहीं मानिसहरूले गलत अर्थ लगाएर साक्षीहरूबारे नराम्रो कुरा गर्छन्‌। तर अरू कतिपयले भने साक्षीहरूको असल चालचलन देखेर तिनीहरूको प्रशंसा गर्छन्‌।

१३, १४. ‘परमेश्‍वरको स्तरबमोजिम गर्ने असल कामैले मानिसलाई बुद्धिमान्‌ हो भनेर प्रमाणित गर्छ,’ कसरी? उदाहरणसहित व्याख्या गर्नुहोस्‌।

१३ हाम्रो असल चालचलन देखेपछि हाम्रो विषयमा नकारात्मक टिकाटिप्पणी गर्नु आवश्‍यक छैन भनेर अरूले बुझ्छन्‌। कुनै कुरामा नचुक्ने येशूलाई समेत गलत आरोप लगाइएको थियो। कसै-कसैले उहाँलाई “घिचुवा र पियक्कड मानिस! कर उठाउने र पापीहरूको साथी” भने। तर उहाँले परमेश्‍वरको स्तरबमोजिम असल काम गरेर त्यस्ता आरोपहरू गलत साबित गर्नुभयो। येशूले भन्‍नुभयो: “परमेश्‍वरको स्तरबमोजिम गर्ने असल कामैले ऊ बुद्धिमान्‌ हो भनेर प्रमाणित गर्छ।” (मत्ती ११:१९) आज पनि कुरा त्यस्तै हो। उदाहरणको लागि, जर्मनीको सेल्टर्सस्थित बेथेलमा सेवा गर्ने भाइबहिनीहरू देख्दा छिमेकीहरूलाई अनौठो लाग्छ। तर त्यहाँको मेयरले साक्षीहरूको पक्षमा यस्तो टिप्पणी गरे: “त्यहाँ सेवा गर्ने साक्षीहरू बेग्लै पाराका छन्‌ तर तिनीहरू टोलछिमेकमा कसैलाई बाधा पुऱ्‍याउँदैनन्‌।”

१४ हालै, रूसको मस्कोमा बसोबास गर्ने साक्षीहरूको सन्दर्भमा पनि यस्तै निष्कर्ष निकालियो। तिनीहरूलाई विभिन्‍न किसिमको गलत आरोप लगाइएको थियो। तर जून २०१० मा फ्रान्सको स्ट्रासबर्गस्थित मानवअधिकारसम्बन्धी युरोपेली अदालतले यस्तो निर्णय सुनायो: “धार्मिक स्वतन्त्रता र सरसङ्‌गतिसम्बन्धी अधिकारमा मस्कोले हस्तक्षेप गर्नु गलत हो। स्थानीय अदालतहरूले अभियुक्‍तहरूलाई दोषी प्रमाणित गर्ने ‘सान्दर्भिक र यथेष्ट’ प्रमाण जुटाउन सकेनन्‌।” तिनीहरूलाई परिवार टुक्राउने, आत्महत्या गर्न उक्साउने वा स्वास्थ्य उपचार इन्कार गर्ने जस्ता झूटा आरोप लगाइएको थियो। यसर्थ “स्थानीय अदालतहरूले एकदम पक्षपातपूर्ण ढङ्‌गमा अचाक्ली कडिकडाउ गरेको ठहर हुन्छ।”

सरकारको अधीनमा बस्नुपर्छ

१५. संसारभरिका साँचो ख्रीष्टियनहरू बाइबलको कुन सिद्धान्त पालन गर्छन्‌?

१५ मस्कोका मात्र होइन, संसारभरिका यहोवाका साक्षीहरू पत्रुसले भनेझैं अर्को आवश्‍यकता पनि पूरा गर्छन्‌। तिनले लेखे: “प्रभुको खातिर, मानिसहरूले स्थापना गरेका सबै अख्तियारको अधीनमा बस: चाहे राजाको, किनकि तिनी अरूभन्दा ठूला हुन्‌।” (१ पत्रु. २:१३, १४) हामी यस संसारको भाग होइनौं। तैपनि पावलको सल्लाह पालन गर्दै ‘परमेश्‍वरको मातहतमा’ भएका उच्च अख्तियारवालाहरूको अधीनमा राजीखुसीले बस्छौं।—रोमी १३:१, ५-७ पढ्‌नुहोस्‌।

१६, १७. (क) हामी सरकार विरोधी होइनौं भनेर केले देखाउँछ? (ख) केही राजनैतिक नेताले कुन कुरा मानिलिएका छन्‌?

१६ यहोवाका साक्षीहरूले मौन विरोध जनाउन यस संसारमा “प्रवासी”-को रूपमा जीवन बिताएका होइनन्‌। तिनीहरू राजनैतिक वा सामाजिक निर्णयहरूमा न हस्तक्षेप गर्छन्‌, न त विरोध नै। केही धार्मिक समूह राजनीतिमा सामेल हुन्छन्‌ तर यहोवाका साक्षीहरू राजनीतिबाट अलग्गै बस्छन्‌। तिनीहरू अख्तियारवालाहरूलाई दबाब दिएर आफ्नो पक्षमा निर्णय गर्न लगाउँदैनन्‌। तिनीहरूले सामाजिक सुव्यवस्था खल्बल्याउने वा सरकारको विद्रोह गर्ने कुरा त सोच्न समेत सकिंदैन!

१७ पत्रुसले “राजाको आदर गर” भनी सल्लाह दिए। त्यसैले ख्रीष्टियनहरू ती अख्तियारवालाहरूको अधीनमा बसेर तिनीहरूप्रति आदर र सम्मान देखाउँछन्‌। (१ पत्रु. २:१७) यहोवाका साक्षीहरूलाई खतरनाक ठान्‍नुपर्ने कुनै कारण छैन भनेर अख्तियारवालाहरूले मानिलिएका छन्‌। उदाहरणको लागि, जर्मन राजनीतिज्ञ स्टिभन राइकले यसो भने: “नाजी यातनाको बेला झ्यालखानामा परेका यहोवाका साक्षीहरूले असल आचरण देखाए। तिनीहरू नाजी सेनासामु ढलपल भएनन्‌ र तिनीहरूले सङ्‌गी कैदीप्रति दया देखाए। विगतमा जस्तै आज पनि तिनीहरू संवैधानिक प्रजातान्त्रिक सरकारको लागि अत्यावश्‍यक छन्‌। हाम्रो समाज विदेशीहरू तथा बेग्लै धर्म मान्‍ने र फरक राजनैतिक धारणा राख्ने व्यक्‍तिहरूप्रति झन्‌-झनै निर्दयी हुँदै गइरहेकोले यी गुणहरू हाम्रो देशका प्रत्येक नागरिकले देखाउनु अपरिहार्य छ।”

प्रेम देखाउनुपर्छ

१८. (क) हामीले सबै भाइहरूलाई प्रेम गर्नु किन स्वाभाविक हो? (ख) केही गैर-साक्षीले कस्तो प्रतिक्रिया व्यक्‍त गरेका छन्‌?

१८ प्रेषित पत्रुसले यस्तो लेखे: “सबै भाइहरूलाई प्रेम गर, परमेश्‍वरको डर मान।” (१ पत्रु. २:१७) यहोवाका साक्षीहरू परमेश्‍वरको डर मान्छन्‌ अर्थात्‌ उहाँलाई अप्रसन्‍न पार्न चाहँदैनन्‌। यसकारण तिनीहरू उहाँको इच्छाअनुसार गर्न उत्प्रेरित हुन्छन्‌। संसारको विभिन्‍न भागमा छरिए तापनि एकताबद्ध भई यहोवाको सेवा गर्न पाएकोमा तिनीहरू रमाउँछन्‌। त्यसैकारण तिनीहरूले “सबै भाइहरूलाई प्रेम” गर्नु स्वाभाविक हो। यस्तो प्रेम आजको स्वार्थी संसारमा विरलै पाइन्छ। यो देखेर गैर-साक्षीहरू छक्क पर्छन्‌। उदाहरणको लागि, सन्‌ २००९ मा जर्मनीको अन्तरराष्ट्रिय अधिवेशनमा जर्मन भाइबहिनीले विदेशी प्रतिनिधिहरूलाई प्रेम र सहयोग गरेको देखेर एक जना गाइड दङ्‌गै परिन्‌। गाइडको रूपमा वर्षौं काम गरेकी भए तापनि तिनले यस्तो प्रेम कहिल्यै देखेकी थिइनन्‌। पछि एक जना साक्षीले यस्तो टिप्पणी गरे: “हाम्रो व्यवहार देखेर तिनी तीनछक परिन्‌ र एकदमै उत्साहित हुँदै हामीबारे बताइन्‌।” तपाईं उपस्थित हुनुभएको कुनै अधिवेशनमा मानिसहरूले यस्तै प्रतिक्रिया व्यक्‍त गरेको के तपाईंले सुन्‍नुभएको छ?

१९. हामी के गर्न कटिबद्ध हुनुपर्छ र किन?

१९ यस लेखमा बताइएको र अरू थुप्रै तरिकामा यहोवाका साक्षीहरूले सैतानको संसारमा “प्रवासी”-को रूपमा जीवन बिताएको देखाइरहेका छन्‌। अनि त्यसरी जीवन बिताइरहन तिनीहरू कटिबद्ध छन्‌। परमेश्‍वरले चाँडै स्थापना गर्नुहुने नयाँ संसारको स्थायी बासिन्दा हुने तिनीहरूको आशा एकदमै बलियो छ। के तपाईं त्यस दिनको बाटो हेर्दै हुनुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने