प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w23 सेप्टेम्बर pp. २६-३१
  • पत्रुसका दुई वटा पत्रबाट सिक्न सकिने पाठहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रुसका दुई वटा पत्रबाट सिक्न सकिने पाठहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको दिनको बाटो हेर्नुहोस्‌
  • मानिसको डरलाई जित्नुहोस्‌
  • “आपसमा प्रगाढ प्रेम गर”
  • एल्डरहरू हो, बगालको हेरचाह गर्नुहोस्‌
  • यहोवालाई तपाईँको तालिम पूरा गर्न दिनुहोस्‌
  • पत्रुसजस्तै यहोवाको सेवामा लागिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • हाम्रो अनमोल विश्‍वासलाई थामिराखौं!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • तिनले आफ्नो गुरुबाट क्षमा दिन सिके
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • परीक्षा आइपर्दा तिनी वफादार रहे
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
w23 सेप्टेम्बर pp. २६-३१

अध्ययन लेख ४१

पत्रुसका दुई वटा पत्रबाट सिक्न सकिने पाठहरू

“म सधैँ तिमीहरूलाई यी कुराहरू सम्झाइरहने इच्छा गर्छु।”—२ पत्रु. १:१२.

गीत १२७ म कस्तो मानिस बनूँ?

परिचयa

१. परमेश्‍वरले प्रेषित पत्रुसलाई तिनको जीवनको अन्ततिर के गर्न प्रेरणा दिनुभयो?

प्रेषित पत्रुसलाई आफ्नो मृत्यु नजिकै छ भनेर थाह थियो। वर्षौँको वफादार सेवाको दौडान तिनी येसुसँगसँगै हिँडे, नयाँ-नयाँ इलाकामा साक्षी दिए अनि प्रथम शताब्दीको परिचालक निकायका सदस्यको रूपमा सेवा गरे। तर पत्रुसको सेवा अझै सकिएको थिएन। इस्वी संवत्‌ ६२-६४ तिर तिनले परमेश्‍वरको प्रेरणा पाएर दुई वटा पत्र लेखे, जसलाई अहिले हामी पहिलो र दोस्रो पत्रुस भन्छौँ। तिनले आफ्नो मृत्युपछि पनि ख्रिष्टियनहरूले ती पत्रहरूबाट लाभ उठाऊन्‌ भन्‍ने इच्छा व्यक्‍त गरे।—२ पत्रु. १:१२-१५.

२. पत्रुसले लेखेका पत्रहरू किन समय सुहाउँदा थिए?

२ पत्रुसले यी पत्रहरू लेख्दा तिनका सङ्‌गी भाइबहिनीले ‘विभिन्‍न परीक्षाले गर्दा दुःख भोगिरहेका’ थिए। (१ पत्रु. १:६) झूटा शिक्षकहरूले मण्डलीमा गलत शिक्षाहरू सिकाइरहेका थिए र ख्रिष्टियनहरूलाई छाडा जीवन बिताउन उक्साइरहेका थिए। (२ पत्रु. २:१, २, १४) यरुसलेमका ख्रिष्टियनहरूले चाँडै “सबै कुराको अन्त” भएको आफैले देख्ने थिए; रोमी सेनाले त्यो सहर र त्यहाँको मन्दिरलाई विनाश गर्ने थियो। (१ पत्रु. ४:७) पत्रुसका पत्रहरूले ती ख्रिष्टियनहरूलाई परीक्षाहरूको बाबजुद वफादार रहन र भविष्यमा भोग्नुपर्ने परीक्षाहरूको लागि तयार हुन पक्कै मदत गऱ्‍यो।b

३. हामीले किन पत्रुसका पत्रहरू अध्ययन गर्नुपर्छ?

३ पत्रुसले ती पत्रहरू प्रथम शताब्दीका ख्रिष्टियनहरूको लागि लेखेको भए पनि यहोवाले ती पत्रहरूलाई आफ्नो वचनको भाग बनाउनुभयो। त्यसैले आज हामीले पनि ती पत्रहरूबाट लाभ उठाउन सकिरहेका छौँ। (रोमी १५:४) अशुद्ध आचरणले भरिएको यस संसारमा हामीले पनि यहोवाको सेवा गर्न गाह्रो बनाउने परीक्षाहरूको सामना गर्नुपर्छ। यसबाहेक अब चाँडै हामीले महासङ्‌कष्टको सामना गर्नेछौँ, जुन यरुसलेम र त्यहाँको मन्दिरको विनाशभन्दा अझ भयानक हुनेछ। पत्रुसका दुई वटा पत्रमा हाम्रो लागि केही महत्त्वपूर्ण सम्झौटा छन्‌। ती सम्झौटाहरूले हामीलाई यहोवाको दिनको बाटो हेर्न, मानिसको डरलाई जित्न अनि आपसमा प्रगाढ प्रेम विकास गर्न मदत गर्छ। साथै एल्डरहरूलाई परमेश्‍वरको बगालको राम्ररी हेरचाह गर्न मदत गर्छ।

यहोवाको दिनको बाटो हेर्नुहोस्‌

४. दोस्रो पत्रुस ३:३, ४ ले सङ्‌केत गरेअनुसार केले गर्दा हाम्रो विश्‍वास डगमगाउन सक्छ?

४ हाम्रो समयका थुप्रै मानिस बाइबलका भविष्यवाणीहरूमा विश्‍वास गर्दैनन्‌। विरोधीहरूले हाम्रो गिल्ला गर्छन्‌ किनकि हामीले धेरै वर्षदेखि परमेश्‍वरको दिन नजिकै छ भनेर बताउँदै आएका छौँ। केही आलोचक त त्यो दिन कहिल्यै आउँदैन समेत भन्छन्‌। (२ पत्रुस ३:३, ४ पढ्‌नुहोस्‌।) साक्षीकार्यमा भेटिने मानिसहरू, हाम्रा सहकर्मीहरू वा परिवारका सदस्यहरूले यस्ता कुराहरू भनेको सुन्दा हाम्रो विश्‍वास डगमगाउन सक्छ। त्यस्तो अवस्थामा हामीलाई केले मदत गर्छ भनेर पत्रुसले बताएका छन्‌।

५. यस युगको विनाशबारे सही दृष्टिकोण राख्न हामीलाई केले मदत गर्छ? (२ पत्रुस ३:८, ९)

५ कसै-कसैलाई परमेश्‍वरले यस दुष्ट युगको विनाश गर्न ढिला गरिरहनुभएको छ जस्तो लाग्न सक्छ। तर पत्रुसका शब्दहरूबाट समयप्रति यहोवाको दृष्टिकोण हाम्रोभन्दा धेरै फरक छ भनेर बुझ्न सक्छौँ। (२ पत्रुस ३:८, ९ पढ्‌नुहोस्‌।) परमेश्‍वरको लागि एक हजार वर्ष भनेको एक दिनजस्तै हो। उहाँ धीरजी हुनुहुन्छ र कोही पनि नाश नहोस्‌ भन्‍ने चाहनुहुन्छ। तर उहाँले तोक्नुभएको दिनमा यस संसारको विनाश अवश्‍य हुनेछ। त्यतिन्जेल सबै जातिका मानिसलाई साक्षी दिने काममा लाग्न पाउनु हाम्रो लागि ठूलो सुअवसर हो!

६. हामी कसरी यहोवाको दिनलाई ‘मनमा राख्न’ सक्छौँ? (२ पत्रुस ३:११, १२)

६ पत्रुस हामीलाई यहोवाको दिनलाई ‘मनमा राख्न’ आग्रह गर्छन्‌। (२ पत्रुस ३:११, १२ पढ्‌नुहोस्‌।) हामी कसरी त्यसो गर्न सक्छौँ? सकिन्छ भने हामी हरेक दिन नयाँ संसारमा पाइने आशिष्‌हरूबारे मनन गर्न सक्छौँ। प्रदूषणरहित स्वच्छ वातावरणको आनन्द उठाएको, स्वस्थकर खानेकुरा खाएको, फेरि जीवित भएका प्रियजनहरूलाई स्वागत गरेको अनि सयौँ वर्षअघिका मानिसहरूलाई बाइबल भविष्यवाणीहरू कसरी पूरा भए भनेर सिकाएको कल्पना गर्नुहोस्‌। यसरी मनन गर्दा यहोवाको दिनको बाटो हेरिरहन र अहिले हामी बाँचिरहेको समय अन्तको दिन हो भन्‍ने कुरामा विश्‍वस्त हुन सक्नेछौँ। हामीसित भविष्यबारे ‘पहिल्यैदेखि ज्ञान भएकोले’ झूटा शिक्षकहरूद्वारा ‘बहकिनेछैनौँ।’—२ पत्रु. ३:१७.

मानिसको डरलाई जित्नुहोस्‌

७. मानिसको डरले हामीलाई कसरी असर गर्न सक्छ?

७ यहोवाको दिनलाई मनमा राख्यौँ भने हामी अरूलाई सुसमाचार सुनाउन उत्प्रेरित हुनेछौँ। तर कुनै-कुनै अवस्थामा भने अरूलाई साक्षी दिन हामी हिचकिचाउन सक्छौँ। किन? मानिसको डरले गर्दा। पत्रुसलाई पनि त्यस्तै भएको थियो। येसुको पुर्पक्षको रात पत्रुसले आफू येसुको चेला भएको मानिलिन इन्कार गरे अनि पटक-पटक उहाँलाई चिन्दिनँ समेत भने। (मत्ति २६:६९-७५) तर पछि तिनले नै विश्‍वस्त हुँदै यसो भने: “तिनीहरू जुन कुरासित डराउँछन्‌, तिमीहरू त्यससित नडराओ न त त्यसले गर्दा चिन्तित नै होओ।” (१ पत्रु. ३:१४) पत्रुसका शब्दहरूबाट हामी पनि मानिसको डरलाई जित्न सक्छौँ भनेर आश्‍वासन पाउँछौँ।

८. मानिसको डरलाई जित्न हामीलाई केले मदत गर्न सक्छ? (१ पत्रुस ३:१५)

८ मानिसको डरलाई जित्न हामीलाई केले मदत गर्न सक्छ? पत्रुस यसो भन्छन्‌: “आ-आफ्नो हृदयमा ख्रिष्टलाई प्रभु मानेर तिमीहरू उहाँलाई पवित्र सम्झ।” (१ पत्रुस ३:१५ पढ्‌नुहोस्‌।) यसमा येसु ख्रिष्ट हाम्रा प्रभु र राजा हुनुहुन्छ अनि उहाँ शक्‍तिशाली हुनुहुन्छ भनेर आफूलाई सम्झाउनु समावेश छ। अरूलाई सुसमाचार सुनाउने मौका पाउँदा तपाईँलाई डर लाग्छ भने हाम्रा राजा येसुलाई सम्झनुहोस्‌। उहाँले स्वर्गमा शासन गरिरहनुभएको र उहाँको वरपर अनगिन्ती स्वर्गदूत उभिरहेको कल्पना गर्नुहोस्‌। उहाँसित “स्वर्ग र पृथ्वीको सबै अधिकार . . . छ” र ‘यस युगको आखिरी समयसम्म उहाँ सधैँभरि तपाईँसितै हुनुहुन्छ’ भन्‍ने कुरा सम्झनुहोस्‌। (मत्ति २८:१८-२०) पत्रुसले हामीलाई आफ्नो विश्‍वासको पक्षमा बोल्न “सधैँ तयार भइरहो” भनेर सल्लाह दिएका छन्‌। के तपाईँ पनि स्कुलमा, काम गर्ने ठाउँमा वा अन्य ठाउँमा अनौपचारिक साक्षी दिन चाहनुहुन्छ? कुन बेला साक्षी दिने अथवा के भन्‍ने भनेर पहिला नै राम्ररी विचार गर्नुहोस्‌। साहसको लागि यहोवालाई प्रार्थना गर्नुहोस्‌ अनि उहाँले तपाईँलाई मानिसको डरलाई जित्न मदत गर्नुहुनेछ भन्‍ने कुरामा भरोसा गर्नुहोस्‌।—प्रेषि. ४:२९.

“आपसमा प्रगाढ प्रेम गर”

प्रेषित पत्रुस अन्यजातिका भाइहरूसँगै खाँदै छन्‌।

पत्रुसले पावलको सल्लाह स्विकारे। पत्रुसले लेखेका दुई वटा पत्रबाट भाइबहिनीलाई प्रेम देखाउने तरिका सिक्न सक्छौँ (अनुच्छेद ९ हेर्नुहोस्‌)

९. एकचोटि पत्रुस प्रेम देखाउन कसरी चुके? (चित्र पनि हेर्नुहोस्‌।)

९ पत्रुसले आपसमा प्रेम देखाउन सिकिरहनुपऱ्‍यो। येसुले यी शब्दहरू भन्‍नुहुँदा पत्रुस पनि उहाँसँगै थिए: “म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिँदै छु, तिमीहरू आपसमा प्रेम गर; मैले तिमीहरूलाई प्रेम गरेजस्तै तिमीहरूले पनि आपसमा प्रेम गर।” (युह. १३:३४) तैपनि पछि अरूको दबाबमा परेर पत्रुसले अन्यजातिका भाइबहिनीसँगै बसेर खान छोडे। पत्रुसको यस्तो व्यवहारलाई प्रेषित पावलले “देखावटी” वा कपटी व्यवहार भने। (गला. २:११-१४) पत्रुसले पावलको सल्लाह स्विकारे र आफ्नो व्यवहार सुधारे। पत्रुसले आफ्नो दुवै पत्रमा हामीले भाइबहिनीप्रतिको प्रेम महसुस गर्नु मात्र पर्याप्त छैन बरु त्यसलाई व्यवहारमा पनि देखाउनुपर्छ भनेर जोड दिए।

१०. हामीले के गऱ्‍यौँ भने “निष्कपट भ्रातृस्नेह” देखाउन सक्नेछौँ? (१ पत्रुस १:२२)

१० पत्रुसले हामीमा भाइबहिनीप्रति “निष्कपट भ्रातृस्नेह” हुनुपर्छ भनेर बताए। (१ पत्रुस १:२२ पढ्‌नुहोस्‌।) हामीले “सत्यको वचन पालन” गऱ्‍यौँ भने भाइबहिनीलाई यस्तो भ्रातृस्नेह देखाउन सक्नेछौँ। अनि त्यस सत्यमा “परमेश्‍वर पक्षपाती हुनुहुन्‍न” भन्‍ने शिक्षा पनि समावेश छ। (प्रेषि. १०:३४, ३५) यदि हामी मण्डलीमा कसैलाई माया गर्छौँ र कसैलाई गर्दैनौँ भने प्रेम देखाउने सन्दर्भमा येसुको सल्लाह पालन गरिरहेका हुँदैनौँ। हुनत हामी येसुजस्तै मण्डलीमा कसैसित अरूसित भन्दा नजिक महसुस गर्छौँ होला। (युह. १३:२३; २०:२) तर पत्रुसले हामीलाई मण्डलीका सबै भाइबहिनीलाई आफ्नै परिवारलाई जस्तै “भ्रातृस्नेह” देखाउन सम्झाएका छन्‌।—१ पत्रु. २:१७.

११. कसैलाई “हृदयदेखि प्रगाढ प्रेम” गर्नुको अर्थ के हो?

११ पत्रुसले हामीलाई “एकअर्कालाई हृदयदेखि प्रगाढ प्रेम गर” भनेर सल्लाह दिए। यहाँ चलाइएको “प्रगाढ प्रेम” भन्‍ने अभिव्यक्‍तिले कसैलाई प्रेम देखाउन गाह्रो लाग्दा पनि आफैलाई तन्काउनु वा तिनलाई प्रेम देखाउन कडा मेहनत गर्नु भन्‍ने अर्थ दिन्छ। उदाहरणको लागि, कुनै भाइ वा बहिनीले हाम्रो चित्त दुखाउँदा हाम्रो स्वाभाविक झुकाव ‘जस्तालाई त्यस्तै’ गर्ने हुन सक्छ। तर त्यस्तो व्यवहारले परमेश्‍वरलाई खुसी बनाउँदैन भनेर पत्रुसले येसुबाट सिके। (युह. १८:१०, ११) पत्रुसले यस्तो लेखे: “खराबीको बदला खराबी नगर; अपमानको बदला अपमान नगर। त्यसको उल्टो आशिष्‌ देओ।” (१ पत्रु. ३:९) तपाईँमा प्रगाढ प्रेम छ भने तपाईँको चित्त दुखाउने व्यक्‍तिसित समेत दयालु र विचारशील हुन उत्प्रेरित हुनुहुनेछ।

१२. (क) प्रगाढ प्रेमले हामीलाई अरू के गर्न मदत गर्छ? (ख) उपहारस्वरूप पाएको बहुमूल्य एकतालाई जोगाउनुहोस्‌ भिडियोमा देखाइएझैँ तपाईँ के गर्ने कोसिस गर्न चाहनुहुन्छ?

१२ आफ्नो पहिलो पत्रमा “प्रगाढ प्रेम”-ले एक-दुई वटा मात्र होइन, “असङ्‌ख्य पापहरू” क्षमा गर्न मदत गर्छ भनेर पत्रुसले बताए। (१ पत्रु. ४:८) सायद वर्षौँअघि येसुले क्षमा दिनेबारे सिकाउनुभएको कुरा तिनले सम्झेको हुनुपर्छ। त्यतिबेला पत्रुसले येसुलाई यस्तो प्रश्‍न सोधेका थिए: “मैले कति पटकसम्म क्षमा दिनुपर्छ? सात पटकसम्म?” पत्रुसलाई आफू एकदमै उदार भइरहेको छु जस्तो लागेको हुन सक्छ। तर येसुले तिनलाई “७७ पटकसम्म” अर्थात्‌ गन्ती नगरी क्षमा दिनुपर्छ भनेर सिकाउनुभयो। (मत्ति १८:२१, २२) अनि यो कुरा अहिले हामीलाई पनि लागू हुन्छ। तर तपाईँलाई यो सल्लाहअनुसार गर्न गाह्रो भइरहेको छ भने निराश नहुनुहोस्‌। हामी सबै जना त्रुटिपूर्ण भएकोले कहिलेकाहीँ अरूलाई क्षमा दिन गाह्रो हुन्छ। तर महत्त्वपूर्ण कुरा भनेको भाइबहिनीलाई क्षमा दिन र तिनीसित शान्ति कायम गर्न हामीले आफ्नो तर्फबाट सक्दो कोसिस गर्नुपर्छ।c

एल्डरहरू हो, बगालको हेरचाह गर्नुहोस्‌

१३. एल्डरहरूलाई बगालको हेरचाह गर्न किन गाह्रो हुन सक्छ?

१३ फेरि जीवित हुनुभएपछि येसुले दिनुभएको यो सल्लाह सायद पत्रुसले कहिल्यै बिर्सेनन्‌: “मेरा साना भेडाहरूको हेरचाह गर।” (युह. २१:१६) तपाईँ एल्डर हुनुहुन्छ भने यो निर्देशन तपाईँलाई पनि लागू हुन्छ भनेर तपाईँले पक्कै बुझ्नुभएको होला। तर यो महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्ने समय निकाल्न कहिलेकाहीँ गाह्रो हुन सक्छ। किनभने एल्डरहरूले सबैभन्दा पहिला आफ्नो परिवारको भौतिक, भावनात्मक र आध्यात्मिक आवश्‍यकताहरू पूरा गर्नुपर्छ। तिनीहरू साक्षीकार्यमा पनि नेतृत्व लिन्छन्‌। साथै तिनीहरू सभा, सम्मेलन तथा अधिवेशनहरूमा आफूले पाएको भाग तयारी गर्छन्‌ र प्रस्तुत गर्छन्‌। कसै-कसैले अस्पताल सम्पर्क समिति वा स्थानीय डिजाइन/निर्माण विभागमा पनि सेवा गर्छन्‌। एल्डरहरू साँच्चै व्यस्त छन्‌!

एक एल्डर भिडियो कन्फरेन्सबाट गोठालो भेट गर्दै छन्‌। ती एल्डरको बाइबल खुल्लै छ र ट्याबलेटमा “परिवारमा आनन्द खेती गर्नुहोस्‌” भन्‍ने भिडियो देखिन्छ।

मायालु एल्डरहरू व्यस्त भए तापनि परमेश्‍वरको बगालको हेरचाह गर्न यथासक्दो गर्छन्‌ (अनुच्छेद १४-१५ हेर्नुहोस्‌)

१४. एल्डरहरूलाई बगालको हेरचाह गर्न कुन कुराले उत्प्रेरित गर्छ? (१ पत्रुस ५:१-४)

१४ पत्रुसले सङ्‌गी एल्डरहरूलाई ‘परमेश्‍वरको बगालको हेरचाह गर’ भन्‍ने सल्लाह दिए। (१ पत्रुस ५:१-४ पढ्‌नुहोस्‌।) तपाईँ एल्डरहरू भाइबहिनीलाई प्रेम गर्नुहुन्छ र तिनीहरूको हेरचाह गर्न चाहनुहुन्छ भनेर हामीले बुझेका छौँ। तर असाध्यै व्यस्त वा थकित भएकोले कहिलेकाहीँ यो जिम्मेवारी पूरा गर्न सक्दिनँ जस्तो तपाईँहरूलाई लाग्ला। त्यसो हो भने तपाईँ के गर्न सक्नुहुन्छ? आफ्नो भावना यहोवालाई पोख्नुहोस्‌। पत्रुसले यस्तो लेखे: “यदि कसैले सेवा गर्छ भने उसले परमेश्‍वरले दिनुहुने बलमा भर पर्दै सेवा गरोस्‌।” (१ पत्रु. ४:११) तपाईँको मण्डलीका भाइबहिनीले यस युगमा समाधान हुन नसक्ने समस्याहरू भोगिरहेका छन्‌ होला। तर यो कुरा कहिल्यै नबिर्सनुहोस्‌: तपाईँले दिने मदतभन्दा “मुख्य गोठालो” येसुले दिनुहुने मदत कता हो कता धेरै छ! अनि उहाँ अहिले र नयाँ संसारमा पनि त्यसो गर्न सक्नुहुन्छ। तर यहोवा एल्डरहरूले आफ्ना भाइबहिनीलाई प्रेम गरेको, तिनीहरूको हेरचाह गरेको र “बगालको निम्ति उदाहरण” भएको मात्र चाहनुहुन्छ।

१५. एक जना एल्डर कसरी बगालको हेरचाह गर्छन्‌? (तस्बिर पनि हेर्नुहोस्‌।)

१५ लामो समयदेखि एल्डरको रूपमा सेवा गरेका विलियमले परमेश्‍वरको बगालको हेरचाह गर्नुको महत्त्व बुझेका छन्‌। कोभिड-१९ महामारी सुरु भएपछि तिनी र तिनको मण्डलीका एल्डरहरूले आ-आफ्नो समूहका भाइबहिनीसित प्रत्येक हप्ता सम्पर्क गर्ने कुरालाई प्राथमिकता दिए। त्यसो गर्नुको कारणबारे तिनी यसो भन्छन्‌: “त्यतिबेला हाम्रा थुप्रै भाइबहिनी घरमा एक्लै हुनुहुन्थ्यो अनि त्यस्तो बेला मनमा चाहिने नचाहिने कुराहरू आउँछ।” विलियम समस्यामा परेका भाइबहिनीको कुरा ध्यान दिएर सुन्छन्‌। अनि तिनीहरूको चिन्ताको विषय के हो र तिनीहरूलाई कस्तो मदत चाहिएको छ भनेर बुझ्ने कोसिस गर्छन्‌। त्यसपछि तिनी ती भाइबहिनीलाई प्रोत्साहन मिल्ने खालको प्रकाशन वा भिडियो हाम्रो वेबसाइटमा खोज्ने गर्छन्‌। तिनी यसो भन्छन्‌: “अहिले बगालको हेरचाह गर्नु झनै जरुरी भएको छ। मानिसहरूलाई यहोवाबारे सिक्न मदत गर्नु जत्ति महत्त्वपूर्ण छ, परमेश्‍वरको बगालको हेरचाह गर्नु र तिनीहरूलाई सत्यमा रहिरहन मदत गर्नु पनि त्यत्ति नै महत्त्वपूर्ण छ।”

यहोवालाई तपाईँको तालिम पूरा गर्न दिनुहोस्‌

१६. पत्रुसले लेखेका पत्रहरूबाट सिकेका पाठहरू हामी कसरी लागू गर्न सक्छौँ?

१६ यस लेखमा पत्रुसले लेखेको दुई वटा पत्रबाट सिक्न सकिने केही पाठ हामीले छलफल गऱ्‍यौँ। आफूले उन्‍नति गर्नुपर्ने कुनै क्षेत्र तपाईँले याद गर्नुभयो होला। जस्तै: तपाईँ नयाँ संसारमा पाइने आशिष्‌हरूबारे अझ धेरै मनन गर्न चाहनुहुन्छ कि? तपाईँ स्कुलमा, काम गर्ने ठाउँमा वा अन्य ठाउँमा अनौपचारिक साक्षी दिने लक्ष्य राख्न सक्नुहुन्छ कि? भाइबहिनीलाई अझ धेरै प्रगाढ प्रेम देखाउने कुनै तरिका याद गर्नुभयो कि? एल्डरहरू हो, के तपाईँ स्वेच्छाले र तत्परतासाथ परमेश्‍वरको बगालको हेरचाह गर्न अझ कटिबद्ध हुनुभयो? इमानदार भई यी प्रश्‍नहरू विचार गर्दा आफूले उन्‍नति गर्नुपर्ने कुनै क्षेत्र याद गर्नुहुन्छ होला। तर निराश नहुनुहोस्‌। किनकि “प्रभु [येसु] दयालु हुनुहुन्छ।” (१ पत्रु. २:३) उहाँले तपाईँलाई उन्‍नति गर्न मदत गर्नुहुनेछ। पत्रुसले हामीलाई यस्तो आश्‍वासन दिए: “परमेश्‍वर . . . आफैले तिमीहरूको तालिम पूरा गर्नुहुनेछ। उहाँले तिमीहरूलाई स्थिर बनाउनुहुनेछ, तिमीहरूलाई बलियो पार्नुहुनेछ र तिमीहरूलाई दह्रोगरि खडा गर्नुहुनेछ।”—१ पत्रु. ५:१०.

१७. यहोवाको सेवामा लागिरह्‍यौँ र उहाँलाई हाम्रो तालिम पूरा गर्न दियौँ भने कस्तो इनाम पाउनेछौँ?

१७ पत्रुसले एकपटक आफू परमेश्‍वरको छोराको छेउमा उभिन समेत लायकको छैन भन्‍ने महसुस गरे। (लुका ५:८) तर यहोवा र येसुको मायालु साथ पाएकोले तिनी वफादार भई येसुको पछि लागिरहे। त्यसो गरेकोले तिनले “हाम्रा प्रभु अनि उद्धारक येसु ख्रिष्टको चिरस्थायी राज्यभित्र महिमायुक्‍त प्रवेश” पाए। (२ पत्रु. १:११) कत्ति ठूलो इनाम! पत्रुसजस्तै तपाईँ पनि यहोवाको सेवामा लागिरहनुभयो र उहाँलाई आफ्नो तालिम पूरा गर्न दिनुभयो भने तपाईँले पनि अनन्त जीवन पाउन सक्नुहुन्छ। ‘तपाईँको विश्‍वासले गर्दा तपाईँले इनामस्वरूप उद्धार पाउनुहुनेछ।’—१ पत्रु. १:९.

निम्न विषयहरूमा पत्रुसले हामीलाई कस्ता सम्झौटाहरू दिए?

  • यहोवाको दिनको बाटो हेर्न

  • मानिसको डरलाई जित्न

  • आपसमा “प्रगाढ प्रेम” गर्न

गीत १०९ प्रगाढ प्रेम

a यस लेखमा पत्रुसले लेखेका पत्रहरूबाट सिकेका पाठहरूले परीक्षाहरूको सामना गर्न कसरी मदत गर्न सक्छ भनेर बुझ्नेछौँ। साथै एल्डरहरूले गोठालोको काम कसरी गर्न सक्छन्‌ भनेर पनि बुझ्नेछौँ।

b इस्वी संवत्‌ ६६ मा रोमीहरूले यरुसलेममा पहिलो पटक आक्रमण गर्नुभन्दा अघि नै प्यालेस्टाइनमा बस्ने ख्रिष्टियनहरूले पत्रुसका दुवै पत्र पाएका हुन सक्छन्‌।

c jw.org मा उपहारस्वरूप पाएको बहुमूल्य एकतालाई जोगाउनुहोस्‌ भन्‍ने भिडियो हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने