प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • के यहोवाका साक्षीहरू साँचो ख्रिष्टियनहरू हुन्‌?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • ३. यहोवाका साक्षीहरू कसरी येसुको प्रेमको अनुकरण गर्छन्‌?

      येसुले आफ्ना चेलाहरूलाई असाध्यै प्रेम गर्नुहुने भएकोले तिनीहरू उहाँको लागि परिवार जस्तै थिए। (मर्कुस ३:३५ पढ्‌नुहोस्‌।) त्यसैगरि, संसारभरिका यहोवाका साक्षीहरू एउटा एकताबद्ध परिवारका भाग हुन्‌। त्यसैले हामी एकअर्कालाई भाइ वा बहिनी भनेर सम्बोधन गर्छौँ। (फिलेमोन १, २) हामी यो आज्ञा पनि पालन गर्छौँ: “सबै भाइहरूलाई प्रेम गर।” (१ पत्रुस २:१७) यहोवाका साक्षीहरू विभिन्‍न तरिकामा एकअर्कालाई यस्तो प्रेम गरेको देखाउँछन्‌। जस्तै: हामी संसारको जुनसुकै कुनामा बस्ने सङ्‌गी उपासकहरू खाँचोमा पर्दा मदत गर्न अघि सर्छौँ।

  • बप्तिस्मा—एउटा अर्थपूर्ण लक्ष्य
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • ६. बप्तिस्मा गर्दा हामी यहोवाको परिवारको भाग बन्छौँ

      बप्तिस्मा गर्दा हामी एकतामा बाँधिएको यहोवाका साक्षीहरूको विश्‍वव्यापी परिवारको भाग बन्छौँ। हामी जुनसुकै ठाउँ वा पृष्ठभूमिका भए तापनि हाम्रो विश्‍वास एउटै छ र हामी बाइबलको नैतिक स्तरअनुसार जीवन बिताउँछौँ। भजन २५:१४ र १ पत्रुस २:१७ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • कसैले बप्तिस्मा गर्दा यहोवा र सङ्‌गी उपासकहरूसितको तिनको सम्बन्ध कस्तो हुन्छ?

      चित्रहरूको सँगालो: बप्तिस्मा गरेकी एउटी बहिनी मण्डलीका भाइबहिनीसितको राम्रो सम्बन्धबारे सोच्दा खुसी हुन्छिन्‌। १. तिनी एउटी बहिनीलाई आफ्नो मनको बह पोख्छिन्‌। २. तिनी एउटी वृद्धालाई हिँड्‌न मदत गर्छिन्‌। ३. तिनी विभिन्‍न उमेरका भाइबहिनीसित खाना खान्छिन्‌। ४. तिनी अर्की बहिनीसित मिलेर एक जना पुरुषलाई सुसमाचार सुनाउँछिन्‌। ५. तिनी अधिवेशनमा बेग्लै जातिका दुई जना साक्षीसित सेल्फी खिच्छिन्‌।
  • मण्डलीमा एकता कायम राख्नुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • हामी यहोवाका उपासकहरूमाझ हुँदा राजा दाउदले जस्तै महसुस गर्छौँ। तिनले भने: “दाजुभाइहरू आपसमा मिलेर बस्नु कत्ति असल र मनोहर कुरा हो!” (भजन १३३:१) हाम्रो एकता आफसेआफ कायम भएको होइन। यसमा हामी प्रत्येकको महत्त्वपूर्ण भूमिका छ।

      १. यहोवाका उपासकहरूमाझ कुन कुरा विशेष छ?

      यदि तपाईँ कुनै अर्को देशको मण्डलीको सभामा उपस्थित हुनुभयो भने त्यहाँको भाषा नबुझे तापनि चिनेजानेका मानिसहरूमाझ भएको महसुस गर्नुहुनेछ। किन? किनभने हामी सबै ठाउँमा एउटै किसिमका प्रकाशनहरू प्रयोग गरेर बाइबल अध्ययन गर्छौँ। साथै हामी एकअर्काप्रतिको प्रेम देखाउन हरप्रयास गर्छौँ। हामी जहाँसुकै बसे पनि ‘सबैले यहोवाको नाम पुकार्छौँ अनि एक भएर उहाँको उपासना गर्छौँ।’—सपन्याह ३:९, फुटनोट।

      २. तपाईँ कसरी एकता कायम राख्न सक्नुहुन्छ?

      “एकअर्कालाई हृदयदेखि प्रगाढ प्रेम गर।” (१ पत्रुस १:२२) तपाईँ यो सल्लाह कसरी लागू गर्न सक्नुहुन्छ? अरूको कमीकमजोरीमा नभई असल गुणहरूमा ध्यान दिनुहोस्‌। तपाईँको जस्तै रुचि भएका साथीभाइसित मात्र सङ्‌गत गर्नुको सट्टा फरकफरक पृष्ठभूमिका दाजुभाइ दिदीबहिनीलाई पनि चिन्‍ने प्रयास गर्नुहोस्‌। हामीमा भेदभाव गर्ने झुकाव छ भने त्यसलाई जरैदेखि हटाउन पनि सक्दो प्रयास गर्न सक्छौँ।—१ पत्रुस २:१७ पढ्‌नुहोस्‌।a

      ३. सङ्‌गी ख्रिष्टियनसित मनमुटाव हुँदा तपाईँ के गर्नुहुनेछ?

      हामी एकतामा बाँधिएका छौँ तर त्रुटिरहित भने छैनौँ। कहिलेकाहीँ हामी एकअर्कालाई निराश पार्छौँ र चित्तसमेत दुखाउँछौँ। परमेश्‍वरको वचनले हामीलाई “एकअर्कालाई . . . क्षमा गरिरहो” भन्‍नुका साथै “यहोवा परमेश्‍वरले तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि क्षमा गर्नुपर्छ” भनेर बताउँछ। (कलस्सी ३:१३ पढ्‌नुहोस्‌।) हामीले धेरै पटक यहोवालाई दुःखी बनाएका छौँ। तैपनि उहाँले हामीलाई क्षमा गर्नुभएको छ। त्यसैले हामीले पनि आफ्ना दाजुभाइ दिदीबहिनीलाई क्षमा गरेको उहाँ चाहनुहुन्छ। तपाईँले कसैको चित्त दुखाएको याद गर्नुभयो भने समस्या सुल्झाउन आफै अग्रसर हुनुहोस्‌।—मत्ति ५:२३, २४ पढ्‌नुहोस्‌।b

      अझ खोतल्नुहोस्‌

      मण्डलीमा एकता र शान्ति कायम राख्न तपाईँ के गर्न सक्नुहुन्छ, थाह पाउनुहोस्‌।

      चित्रहरूको सँगालो: एक जना भाइ शान्ति कायम गर्दै छन्‌। १. एक भाइ तिनीसित रुखो बोली बोल्छन्‌। २. तिनी ती भाइले भनेको कुराबारे सोच्छन्‌। ३. तिनी अरूले चित्त दुखाउँदा के गर्ने भन्‍ने विषयमा बाइबलको सल्लाह विचार गर्छन्‌। ४. तिनी ती भाइसित भेट्‌छन्‌ र शान्ति कायम गर्छन्‌। तिनीहरू सँगै कफी पिउँछन्‌।

      मिलाप गर्न तपाईँले के गर्नुहुनेछ?

      ४. पूर्वाग्रह हटाउनुहोस्‌

      हामी सबै दाजुभाइ दिदीबहिनीलाई माया गर्न चाहन्छौँ। तर हामीलाई आफूभन्दा फरक देखिने व्यक्‍तिसित घुलमिल हुन गाह्रो लाग्न सक्छ। त्यतिबेला हामीलाई कुन कुराले मदत गर्न सक्छ? प्रेषित १०: ३४, ३५ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • यहोवा सबै किसिमका मानिसलाई आफ्ना साक्षीको रूपमा स्विकार्नुहुन्छ। यसले आफूभन्दा फरक किसिमका मानिसलाई हेर्ने तपाईँको दृष्टिकोणमा कस्तो प्रभाव पार्नुपर्छ?

      • तपाईँको टोलछिमेकका प्रायजसो मानिसले कस्तो किसिमको पूर्वाग्रह राख्छन्‌? तपाईँले किन त्यस्तो पूर्वाग्रह राख्नु हुँदैन?

      दोस्रो कोरिन्थी ६:११-१३ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • तपाईँ कसरी सबै दाजुभाइ दिदीबहिनीसित घनिष्ठ हुन सक्नुहुन्छ?

      ५. खुला मनले क्षमा गर्नुहोस्‌ र मिलाप गर्नुहोस्‌

      यहोवा कहिल्यै गल्ती गर्नुहुन्‍न अनि उहाँलाई हामीबाट क्षमा पनि चाहिँदैन। तैपनि उहाँ हामीलाई खुला मनले क्षमा गर्नुहुन्छ। भजन ८६:५ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • क्षमा गर्ने सन्दर्भमा यहोवा कत्तिको महान्‌ हुनुहुन्छ?

      • उहाँले गर्नुहुने क्षमाप्रति तपाईँ किन कृतज्ञ हुनुहुन्छ?

      • हामीलाई अरूसित शान्तिमा रहन गाह्रो बनाउने केही अवस्था के-के हुन्‌?

      हामी कसरी यहोवाको अनुकरण गर्न अनि दाजुभाइ दिदीबहिनीसित एकतामा रहन सक्छौँ? हितोपदेश १९:११ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • कसैले रिस उठाउँदा वा चित्त दुखाउँदा तपाईँ त्यस परिस्थितिलाई कसरी सम्हाल्न सक्नुहुन्छ?

      कहिलेकाहीँ हामी अरूको चित्त दुखाउन पुग्छौँ। त्यतिबेला हामीले के गर्नुपर्छ? भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

      भिडियो: शान्ति कायम गर्दा आशिष्‌ पाइन्छ (६:०१)

      • भिडियोमा देखाइएकी बहिनीले मिलाप गर्न के गरिन्‌?

      ६. दाजुभाइ दिदीबहिनीमा भएका असल गुणहरूमा ध्यान दिनुहोस्‌

      हामी दाजुभाइ दिदीबहिनीसित घनिष्ठ हुँदै जाँदा तिनीहरूका असल गुणहरू अनि कमीकमजोरी दुवै देख्छौँ। हामी कसरी तिनीहरूका असल गुणहरूमा ध्यान दिन सक्छौँ? भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

      भिडियो: असल ख्रीष्टियन बन्‍नुहोस्‌! (५:१०)

      • दाजुभाइ दिदीबहिनीमा भएका असल गुणहरू हेर्न तपाईँलाई कुन कुराले मदत गर्छ?

      यहोवा हाम्रा असल गुणहरूमा ध्यान दिनुहुन्छ। दोस्रो इतिहास १६:९क पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • यहोवा तपाईँका असल गुणहरूमा ध्यान दिनुहुन्छ भन्‍ने कुरा थाह पाउँदा तपाईँलाई कस्तो लाग्यो?

      हिराको औँठी।

      सुन्दर हिरामा केही खोट भए तापनि त्यो अनमोल नै हुन्छ। त्यसैगरि हाम्रा सबै दाजुभाइ दिदीबहिनी त्रुटिपूर्ण भए तापनि तिनीहरू यहोवाको नजरमा अनमोल छन्‌

      कोही-कोही भन्छन्‌: “उसले मसित क्षमा मागे पो मैले उसलाई क्षमा दिने!”

      • हामी किन अरूलाई क्षमा दिन तयार हुनुपर्छ?

      सारांश

      खुला मनले क्षमा गरेर अनि सबै दाजुभाइ दिदीबहिनीलाई माया गरेर तपाईँ मण्डलीको एकता कायम राख्नको लागि मदत गर्न सक्नुहुन्छ।

      तपाईँले के सिक्नुभयो?

      • तपाईँ कसरी पूर्वाग्रह हटाउन सक्नुहुन्छ?

      • सङ्‌गी ख्रिष्टियनसित मनमुटाव भयो भने तपाईँ के गर्नुहुनेछ?

      • क्षमा गर्ने सन्दर्भमा तपाईँ किन यहोवाको उदाहरण अनुकरण गर्न चाहनुहुन्छ?

      लक्ष्य

      अझ धेरै जान्‍नुहोस्‌

      येसुले बताउनुभएको एउटा उदाहरणले हामीलाई कसरी अरूको न्याय गर्नदेखि अलग रहन मदत गर्छ, हेर्नुहोस्‌।

      आँखाबाट मुढा निकाल (६:५६)

      के हामीले कुनै गल्ती गरेका छैनौँ जस्तो लाग्दा पनि माफी माग्नुपर्छ?

      “माफी माग्नु—शान्ति स्थापना गर्ने तरिका” (प्रहरीधरहरा, नोभेम्बर १, २००२)

      कसै-कसैले अरूसित कसरी भेदभावविना व्यवहार गर्न सिकेका छन्‌, थाह पाउनुहोस्‌।

      बाहिरी रूप हेरेर न्याय नगर्नुहोस्‌ (५:०६)

      मण्डलीको शान्ति भङ्‌ग हुनुअघि नै तपाईँ कसरी आपसी मतभेद सुल्झाउन सक्नुहुन्छ, थाह पाउनुहोस्‌।

      “प्रेमले उत्प्रेरित हुँदै मतभेद सुल्झाउनुहोस्‌” (प्रहरीधरहरा, मे २०१६)

      a प्रेमले कसरी ख्रिष्टियनहरूलाई सरुवा रोग फैलाउनदेखि होसियार हुन मदत गर्छ भन्‍ने विषयमा थाह पाउन नोट ६ हेर्नुहोस्‌।

      b व्यापार र कानुनी मामिलाहरू कसरी सुल्झाउन सकिन्छ भनेर थाह पाउन नोट ७ हेर्नुहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने