प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 १०/१ pp. २०-२३
  • तपाईंसित कस्तो प्रकारको पर्खने मनोवृत्ति छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंसित कस्तो प्रकारको पर्खने मनोवृत्ति छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • गलत कारणको लागि पर्खेको
  • यहोवा किन धीरजी हुनुहुन्छ
  • उचित तरिकामा पर्खने
  • पर्खंदै गर्दा सक्रिय
  • हाम्रो प्रभुको धीरजको अर्थ मुक्‍ति हो
  • तिनले कृपालु हुन सिके
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • यहोवाले योनासित धीरजी भई व्यवहार गर्नुभयो
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • यहोवाको कृपाबारे योनाले सिक्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • अरूलाई यहोवाको दृष्टिकोणबाट हेर्ने प्रयत्न गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 १०/१ pp. २०-२३

तपाईंसित कस्तो प्रकारको पर्खने मनोवृत्ति छ?

आजको संसारमा प्रायजसो मानिसहरू कसैलाई वा केही कुराको लागि पर्खन पऱ्‍यो भने अधीर हुन्छन्‌। तथापि, धर्मशास्त्रले भने परमेश्‍वरका जनहरूलाई “पर्खने मनोवृत्ति” विकास गर्न प्रोत्साहन दिन्छ। आफू वरपरका मानिसहरू जस्तो नभई अगमवक्‍ता मीकाले यस्तो घोषणा गरे: “मलाई बचाउनुहुने परमेश्‍वरको बाटो म हेर्नेछु [“पर्खने मनोवृत्ति देखाउनेछु,” NW]।”—मीका ७:७; विलाप ३:२६.

तर यहोवामा पर्खनु भन्‍नुको अर्थ के हो? मसीहीहरूले कसरी परमेश्‍वरको बाटो हेर्नुपर्छ? के यसो गर्ने उचित र अनुचित तरिकाहरू छन्‌? सा.यु.पू. नवौं शताब्दीका अगमवक्‍ता योनाको अनुभवले यस विषयमा पाठ सिकाउँछ।

गलत कारणको लागि पर्खेको

यहोवा परमेश्‍वरले योनालाई अश्‍शूरी साम्राज्यको राजधानी, निनवेमा गएर त्यहाँका मानिसहरूलाई प्रचार गर्ने आज्ञा दिनुभयो। निनवे “हत्यारा शहर” भनेर चिनिन्थ्यो किनभने त्यहाँ बर्बरता र क्रूरता व्याप्त थियो र यस तथ्यलाई इतिहासकार तथा पुरातत्त्वविद्‌हरूले पनि पुष्टि गरेका छन्‌। (नहूम ३:१) योना सुरुमा यस कार्यभारबाट भाग्न खोजे तर यहोवाले योनालाई निनवेमा जान बाध्य तुल्याउनुभयो।—योना १:३-३:२.

“योना शहरमा एक दिनको बाटो भित्र पसे, र यसो भनेर प्रचार गरे, ‘अबको चालीस दिनमा निनवे नाश हुनेछ!’ ” (योना ३:४) योनाको यस प्रयासबाट उल्लेखनीय परिणाम प्राप्त भयो: “निनवेका मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे, र तिनीहरूले उपवास बस्न भनी प्रचार गरे। तिनीहरूका साना ठूला सबैले भाङ्‌रा लगाए।” (योना ३:५) त्यसैकारण, “कोही पनि नष्ट नहोस्‌, तर सबै जनाले पश्‍चाताप गरून्‌ भन्‍ने इच्छा” गर्ने परमेश्‍वर, यहोवाले त्यस सहरलाई बचाउनुभयो।—२ पत्रुस ३:९.

योनाले कस्तो प्रतिक्रिया देखाए? विवरण यसो भन्छ: “तर योनालाई यो साह्रै मन परेन, र तिनलाई रीस उठ्यो।” (योना ४:१) किन? कुनै खास दिनभित्र सहरको नाश हुनेछ भनेर तिनले गरेको घोषणा पूरा नहुँदा अगमवक्‍ताको हैसियतमा आफ्नो बेइज्जत भएको तिनले महसुस गरेका हुन सक्छन्‌। स्पष्टतः तिनी अरूप्रति कृपा देखाउनु र अरूको उद्धारको भन्दा आफ्नै नाउँबारे बढी चिन्तित भए।

निस्सन्देह, अगमवक्‍ताको हैसियतमा आफ्नो काम त्याग्ने हदसम्म त योना पुगेनन्‌। यद्यपि, “त्यस शहरलाई के हुँदो रहेछ, सो हेर्नलाई” तिनी पर्खेर बसे। हो, तिनले ठसठस गर्दै के हुन्छ हेरौं भन्‍ने मनोवृत्ति राखे। आफूले सोचेजस्तो नहुने थाह पाएपछि तिनले एउटा छाप्रो बनाए र त्यस सहरलाई के हुँदो रहेछ, सो हेर्नलाई त्यसको मनि छायामा रिसाउँदै बसे। तथापि, यहोवालाई योनाको मनोवृत्ति मन परेन, त्यसैले उहाँले योनाको गलत सोचाइलाई मायालुपूर्वक सच्याउनुभयो।—योना ४:५, ९-११.

यहोवा किन धीरजी हुनुहुन्छ

निनवे सहरले पश्‍चात्ताप गरेकोले नाश हुनबाट बचाइए तापनि पछि यो फेरि दुष्ट मार्गमै फर्क्यो। नहूम र सपन्याह अगमवक्‍तामार्फत यहोवाले त्यसको विनाशको अग्रिमवाणी गर्नुभयो। “हत्यारा शहर[बारे]” बताउँदै यहोवाले अश्‍शूरलाई नाश गर्ने र निनवेलाई कामै नलाग्ने सुक्खा ठाउँ तुल्याउने घोषणा गर्नुभयो। (नहूम ३:१; सपन्याह २:१३) सा.यु.पू. ६३२ मा निनवेको विनाश भयो र यो फेरि कहिल्यै माथि उठ्‌न सकेन।

त्यसरी नै आजको संसारले पनि रगतको आहाल बगाएको छ र यो पुरातन निनवे सहरले बगाएको रगतभन्दा कता हो कता धेरै छ। यो र अन्य कारणहरूले गर्दा यहोवाले वर्तमान दुष्ट रीतिरिवाज पहिला कहिल्यै नभएको “महा संकष्ट[मा]” विनाश गर्नेछु भनी घोषणा गर्नुभएको छ।—मत्ती २४:२१, २२.

तैपनि, यहोवाले प्रतिज्ञा गरिएको विनाश तुरुन्तै ल्याउनुभएको छैन ताकि निनवेका जस्तै निष्कपट व्यक्‍तिहरूले पश्‍चात्ताप गरेर बच्न सकून्‌। प्रेरित पत्रुस परमेश्‍वरको धीरजबारे यसरी बताउँछन्‌: “कसै कसैले सम्झेझैं आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढीलो गर्नुहुन्‍न, तर कोही पनि नष्ट नहोस्‌, तर सबै जनाले पश्‍चाताप गरून्‌ भन्‍ने इच्छा गरेर प्रभुले तिमीहरूतर्फ धीरज देखाउनुभएको छ।”—२ पत्रुस ३:९, १०, १३.

उचित तरिकामा पर्खने

पत्रुस अझ यसो भन्छन्‌: “यी सबै कुराहरू यसरी पग्लन्छ भन्‍ने देखेर सबै पवित्र जीवन र भक्‍तिमा तिमीहरू कस्तो किसिमका मानिस हुनुपर्छ? परमेश्‍वरको त्यस दिनको बाटो हेर्दै, उत्सुक्‍तासाथ इच्छा गरेर।” (२ पत्रुस ३:११, १२) याद गर्नुहोस्‌, यहोवाको दिन पर्खंदै गर्दा हामीले “पवित्र जीवन र भक्‍तिमा . . . कस्तो किसिमका मानिस हुनुपर्छ” सो देखाउनुपर्छ अर्थात्‌ भन्‍ने हो भने, हामी निष्क्रिय होइन तर सक्रिय हुनुपर्छ।

हो, उचित तरिकामा पर्खनुमा यहोवाको दिन उहाँले तोक्नुभएको दिनभन्दा एकछिन पनि ढिलो हुनेछैन भनी पूर्णतया विश्‍वस्त हुनु हो। त्यस्तो विश्‍वासले पवित्र जीवन र भक्‍तिका कार्यहरू गर्न उत्प्रेरित गर्छ र ती कार्यहरूमध्ये सबैभन्दा स्पष्ट देखिने परमेश्‍वरको राज्यको सुसमाचार प्रचारकार्य हो। प्रचार गर्ने सन्दर्भमा येशूले असल उदाहरण बसाल्नुभयो र उहाँले आफ्ना अभिषिक्‍त अनुयायीहरूलाई यस्तो निर्देशन दिनुभयो: “तिमीहरूका कम्मर कस्सिएका, र बत्ती बलिरहेका होऊन्‌, औ तिमीहरू त्यो मानिस जस्ता होओ, जसले आफ्ना मालिक विवाहको भोजबाट फर्किआएर घच्‌घच्याउँदा तिनका निम्ति झट्टै ढोका खोलिदिन्छ। धन्य ती दासहरू, जसलाई तिनका प्रभुले आउँदा जागिरहेका भेट्टाउनेछन्‌!”—लूका १२:३५-३७.

प्रथम शताब्दीका दासहरूले कठिन शारीरिक काम गर्नको लागि पटुकाले ‘कम्मर कस्थे।’ त्यसकारण मसीही असल कार्यको लागि फुर्तिलो र जोसिलो हुनुपर्छ। सायद मोजमस्ती वा भौतिक कुराहरूको पछि लागेर आध्यात्मिक गतिविधिमा “अल्छी” गर्ने झुकावको प्रतिरोध गर्नुपर्छ। बरु, यहोवाको महान्‌ र भयङ्‌कर दिन पर्खंदै तिनी “प्रभुको काममा प्रशस्त हुँदै” जानुपर्छ।—रोमी १२:११; १ कोरिन्थी १५:५८.

पर्खंदै गर्दा सक्रिय

यहोवाको दिन पर्खंदै यहोवाका साक्षीहरूले आफूलाई व्यस्त राखेका छन्‌। उदाहरणका लागि, सन्‌ २००३ सेवा वर्षमा तिनीहरूले यहोवाको वचन प्रचार गर्दै प्रत्येक दिन सरदर ३३,८३,००० घण्टा बिताए। विचार गर्नुहोस्‌, एक जना व्यक्‍तिले त्यति घण्टा पूरा गर्न एकछिन नबिसाई लगातार ३८६ वर्षको लागि प्रचार गरेको गऱ्‍यै गर्नुपर्छ!

जे होस्‌, हामीले आफूलाई यस्तो प्रश्‍न सोध्नु बेस हुनेछ, ‘व्यक्‍तिगत रूपमा कुरा गर्ने हो भने, मेरो पर्खने मनोवृत्ति कस्तो छ?’ येशूले बताउनुभएको एउटा दृष्टान्तमा विश्‍वासी अभिषिक्‍त मसीहीहरूबाट आशा गरिने लगनशीलताको वर्णन गरिएको छ। उहाँले तीन जना नोकरबारे बताउनुभयो: “[मालिकले] हरेकलाई तिनीहरूका आफ्ना आफ्ना खूबी अनुसार, एउटालाई पाँच तोड़ा, अर्कोलाई दुइ, र अर्कोलाई एक तोड़ा दिएर परदेशतिर लागे। तब पाँच तोड़ा पाउनेले तुरुन्तै गएर त्यो व्यापारमा लगाईकन अरू पाँच तोड़ा कमायो। त्यसरीनै दुइ तोड़ा पाउनेले पनि अरू दुइ कमायो। तर एक पाउनेले चाहिं गएर भूइँ खनेर आफ्ना स्वामीको धन लुकाइराख्यो। धेरै दिनपछि ती नोकरहरूका स्वामी आए, र तिनले तिनीहरूसँग हिसाब लिए।”—मत्ती २५:१५-१९.

तीनै जना नोकरले मालिक फर्कने समय पर्खेर बसे। मालिकलाई पर्खंदै गर्दा व्यस्त रहेका दुई जनालाई तिनको आगमनपछि यसो भनियो: “श्‍याबास असल र इमान्दार नोकर!” तथापि केही नगरी पर्खि मात्र रहेका नोकरलाई भने यस्तो स्याबासी दिइएन। मालिकले भने: “त्यो बेकम्मा नोकरलाई बाहिरको अँध्यारोमा फालिदेओ।”—मत्ती २५:२०-३०.

यो दृष्टान्त अभिषिक्‍त मसीहीहरूलाई लागू हुन्छ र हाम्रो आशा जस्तोसुकै भए तापनि यसमा हामी सबैको लागि एउटा पाठ छ। यहोवाको महादिन पर्खंदै उहाँको सेवामा लगनशील भई लागिरहेको मालिक येशू ख्रीष्ट चाहनुहुन्छ। प्रत्येकले “आफ्ना आफ्ना खूबी” र परिस्थितिअनुसार गरेको मेहनतको उहाँ मोल गर्नुहुन्छ। पर्खने समय अन्त हुँदा मालिकबाट “श्‍याबास” भनेको सुन्‍नु कस्तो आनन्दको कुरा हुनेछ!

हाम्रो प्रभुको धीरजको अर्थ मुक्‍ति हो

हामीले सोचेभन्दा वा आशा गरेभन्दा लामो समयसम्म यस दुष्ट रीतिरिवाज रहिरहेको छ भने नि? यस दुष्ट रीतिरिवाज अहिलेसम्म रहिरहनुको कारण छ। प्रेरित पत्रुसले यस्तो लेखे: “प्रभुको धीरजनै मुक्‍ति हो भनी सम्झ।” (२ पत्रुस ३:१५) परमेश्‍वरको उद्देश्‍यको सही ज्ञान र परमेश्‍वरको उद्देश्‍य पूरा हुने सन्दर्भमा हाम्रो आफ्नो भूमिका कत्ति न्यून छ भनी स्वीकार्दा यहोवाले यस दुष्ट रीतिरिवाज रहन दिउन्जेलसम्म हामीले धैर्य धारण गर्न सक्नेछौं।

मसीहीहरूलाई धीरजी हुने प्रोत्साहन दिन बाइबल लेखक याकूबले एउटा दृष्टान्त प्रस्तुत गरे। तिनले लेखे: “हेर, पृथ्वीको बहुमूल्य फलको आशा राखेर किसानले अगिल्लो र पछिल्लो वर्षा नहोउञ्जेल धैर्य धारण गरेर पर्खी रहन्छ। तिमीहरूले पनि धैर्य धारण गर, आफ्नो हृदयलाई स्थिर गराओ, किनभने प्रभुको आगमन नजीकै छ।”—याकूब ५:७, ८.

पर्खंदै गर्दा हामीले लत्तो छोडेको वा हरेस खाएको यहोवा परमेश्‍वर चाहनुहुन्‍न। उहाँले हामीलाई एउटा काम दिनुभएको छ र हामीले आफ्नो पर्खने समय त्यस काममा लगनशील भई चलायौं भने उहाँ प्रसन्‍न हुनुहुन्छ। हिब्रूहरूलाई प्रेरित पावलले लेखेका पत्रमा वर्णन गरिएहरूमध्ये हामी भएको उहाँ चाहनुहुन्छ: “तिमीहरू हरेकले पूरा आशाको निम्ति अन्तसम्मै त्यही किसिमको प्रयत्न देखाउनेछौ भन्‍ने हामी इच्छा गर्दछौं, कि तिमीहरू अल्छी मानिस होइन, तर विश्‍वास र धीरजद्वारा प्रतिज्ञाका हकदार हुनेहरूका देखा-सिकिगर्ने होओ।”—हिब्रू ६:११, १२.

त्यसैले हामी लखतरान नहोऔं। बरु, यहोवा परमेश्‍वरसँगको हाम्रो व्यक्‍तिगत सम्बन्ध, येशूको छुडौतीको बलिदानमा हाम्रो विश्‍वास र नयाँ रीतिरिवाजमा हाम्रो उज्ज्वल आशा नै हाम्रो जीवनलाई बल प्रदान गर्ने स्रोत होऊन्‌। येशूको दृष्टान्तमा “असल र इमान्दार” नोकरजस्तै हामी पनि स्याबास र इनामको योग्य साबित होऔं र भजनहारजस्तै हाम्रो परमेश्‍वरको प्रशंसामा व्यस्त रहौं जसले यसो भने: “मचाहिं निरन्तर आशा गरिरहनेछु, औ ज्यादा र अझै ज्यादा तपाईंको प्रशंसा गर्नेछु।”—भजन ७१:१४.

[पृष्ठ २१-मा भएको चित्र]

निराश भएका योनाले निनवेलाई के हुनेछ हेरौं भनी पर्खे

[पृष्ठ २२, २३-मा भएका चित्रहरू]

यहोवाको दिन पर्खंदै हामी ईश्‍वरीय भय प्रकट गरौं

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने