प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ९/१ pp. १९-२४
  • यहोवाको दिनको बाटो हेर्दै बस्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको दिनको बाटो हेर्दै बस्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सम्झनुपर्ने हार्दिक अपील
  • गिल्ला गर्नेहरूको इच्छा
  • स्वेच्छाचारी तथा निन्दनीय
  • परमेश्‍वरको वचन भरपर्दो छ
  • अन्त आओस्‌ भन्‍ने उत्सुकता
  • यहोवाको जस्तै दृष्टिकोण राख्नु आवश्‍यक
  • के बितेर जानेछ?
  • आफ्नो आशामा ध्यान केन्द्रित गर्नुहोस्‌
  • अबिलम्ब भाव र नैतिक शुद्धतालाई कायम राख्नुहोस्‌
  • हाम्रो अनमोल विश्‍वासलाई थामिराखौं!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • धैर्यसाथ पर्खनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • गिल्ला गर्नेहरूदेखि सावधान!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • “परमप्रभुको भयानक दिन नजिकै छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ९/१ pp. १९-२४

यहोवाको दिनको बाटो हेर्दै बस्नुहोस्‌

“पछि-पछिका दिनहरूमा गिल्ला गर्नेहरू गिल्ला गर्दै . . . आउनेछन्‌।”—२ पत्रुस ३:३.

१. आधुनिक समयका एक जना मसीहीले के गर्न बिलम्ब गर्नु हुँदैन भनेर महसुस गरे?

करिब ६६ वर्षअघिदेखि पूर्ण-समय सेवामा लागिरहेका सेवकले लेखे: “म सधैं अबिलम्ब हुनुपर्ने गहिरो आवश्‍यकता महसुस गर्छु। आरमागेडोन मानौं, भोलि या पर्सि नै आउँदैछ जस्तो गरी म हरबखत त्यसबारे सोचिरहन्छु। (प्रकाश १६:१४, १६) बाजे र बुबाले जस्तै मैले पनि आफ्नो जीवन प्रेरितको [पत्रुस] आग्रहअनुसार बिताएको छु: ‘यहोवाको त्यस दिनको बाटो हेर्दै बस।’ प्रतिज्ञा गरिएको नयाँ संसारलाई ‘नदेखे तापनि त्यसलाई वास्तविकता’ (NW) ठानेको छु।”—२ पत्रुस ३:११, १२; हिब्रू ११:१; यशैया ११:६-९; प्रकाश २१:३, ४.

२. यहोवाको दिनको बाटो हेर्दै बस्नुको अर्थ के हो?

२ यहोवाको दिनको “बाटो हेर्दै बस” भनेर पत्रुसले प्रयोग गरेको अभिव्यक्‍तिको अर्थ हामीले त्यस दिनलाई हरबखत आफ्नो मनमस्तिष्कमा राख्नु हो। प्रतिज्ञा गरिएको नयाँ संसार बसाल्नअघि यस रीतिरिवाजलाई नष्ट गर्ने त्यो दिन असाध्यै नजीक छ भनेर हामीले कहिल्यै बिर्सनु हुँदैन। यो दिन हाम्रोनिम्ति साक्षात्‌ देखेजत्तिकै वास्तविक हुनुपर्छ। परमेश्‍वरको पुरातन समयका अगमवक्‍ताहरूका निम्ति त्यो दिन त्यतिकै वास्तविक थियो। त्यसैकारण त तिनीहरू अक्सर त्यसबारे बताइरहन्थे।—यशैया १३:६; योएल १:१५; २:१; ओबदिया १५; सपन्याह १:७, १४.

३. कुन कुन कुराले गर्दा पत्रुस यहोवाको दिनको सम्बन्धमा तुरुन्तै सल्लाह दिन उत्प्रेरित भए?

३ यहोवाको दिन “भोलि या पर्सि नै आउँछ” भनेजत्तिकै ठान्‍नू भन्दै पत्रुस हामीलाई किन आग्रह गर्छन्‌? किनकि खराब काम गर्ने कसै कसैले सजाय पाउने समय अर्थात्‌ ख्रीष्टको प्रतिज्ञा गरिएको उपस्थितिबारे गिल्ला गर्न थालेको देखियो। (२ पत्रुस ३:३, ४) त्यसैकारण, पत्रुसले आफ्नो दोस्रो पत्रको तेस्रो अध्यायमा यी गिल्ला गर्नेहरूको खण्डन गरेका छन्‌ र त्यसबारे अब हामी छलफल गर्नेछौं।

सम्झनुपर्ने हार्दिक अपील

४. पत्रुस हामीले के सम्झेको चाहन्छन्‌?

४ पत्रुसले यस अध्यायमा बारम्बार प्रयोग गरेको “हे प्रिय हो,” भन्‍ने वाक्यांशबाट भाइहरूप्रतिको स्नेह झल्किन्छ। सिकाइएको कुरा नबिर्सन हार्दिक अपील गर्दै पत्रुस कुरा थाल्छन्‌: “हे प्रिय हो, . . . तिमीहरूका निर्मल मनलाई सम्झना गराएर म जागृत गराउँछु, कि पवित्र अगमवक्‍ताहरूबाट अघाड़िनै बोलिएका वचनहरू, र तिमीहरूका प्रेरितद्वारा दिएको प्रभु र मुक्‍तिदाताको आज्ञालाई तिमीहरूले सम्झनुपर्छ।”—२ पत्रुस ३:१, २, ८, १४, १७; यहूदा १७.

५. यहोवाको दिनबारे केही भविष्यवक्‍ताहरूले के भने?

५ पत्रुसले पाठकहरूलाई सम्झन आग्रह गरेको “पवित्र अगमवक्‍ताहरूबाट अघाड़िनै बोलिएका वचनहरू” के हुन्‌? ती राज्य शक्‍तिमा ख्रीष्टको उपस्थितिबारे र अभक्‍तहरूको इन्साफबारे हुन्‌। पत्रुसले यसअघि पाठकहरूको ध्यान यी कुराहरूमा खिंचिसकेका थिए। (२ पत्रुस १:१६-१९; २:३-१०) यहूदाले अगमवक्‍ता हनोकको विषयमा बताए, जो दुष्टहरूमाथि आउने परमेश्‍वरको इन्साफबारे चेताउनी दिनेहरूमध्ये बाइबलमा लिपिबद्ध गरिएका पहिलो व्यक्‍ति थिए। (यहूदा १४, १५) हनोकपछि अरू अगमवक्‍ताहरू आए र तिनीहरूले लेखेका कुराहरू हामीले नबिर्सोस्‌ भनी पत्रुस चाहन्थे।—यशैया ६६:१५, १६; सपन्याह १:१५-१८; जकरिया १४:६-९.

६. ख्रीष्ट र उहाँका चेलाहरूले भनेका कुन कुराले यहोवाको दिनबारे अझ प्रस्ट पार्छ?

६ त्यसबाहेक पत्रुस पाठकहरूलाई “प्रभु र मुक्‍तिदाताको आज्ञा” सम्झनू भन्छन्‌। येशूका आज्ञाहरूमा यो सल्लाह पनि समावेश छ: “तिमीहरू आफ्नो विषयमा होशियार रहो, नत्रता तिमीहरूका मन वाक्क-ब्याक्क, . . . हुनेछन्‌, औ त्यो दिन तिमीहरूमाथि एक्कासि पासोझैं आइपर्ला।” “होशियार रहो, जागा बस र प्रार्थना गर, किनकि त्यो बेला कहिले हुने हो सो तिमीहरू जान्दैनौ।” (लूका २१:३४-३६; मर्कूस १३:३३) पत्रुस हामीलाई प्रेरितहरूका वचन सुन्‍न पनि आग्रह गर्छन्‌। उदाहरणका लागि, प्रेरित पावलले लेखे: “प्रभुको दिन ता रातमा चोर आएझैं आउनेछ। यसैकारण अरूहरूझैं हामी नसुतौं, तर जागा रहौं र होशियार होऔं।”—१ थिस्सलोनिकी ५:२, ६.

गिल्ला गर्नेहरूको इच्छा

७, ८. (क) परमेश्‍वरको चेताउनीमूलक सन्देशको गिल्ला गर्नेहरू कस्ता मानिसहरू हुन्‌? (ख) ती गिल्ला गर्नेहरू के दाबी गर्छन्‌?

७ पुरातन समयका इस्राएलीहरूले यहोवाका अगमवक्‍ताहरूको ठट्टा गरेजस्तै कसैकसैले यस्ता चेताउनीहरूलाई माथि भनेझैं ठट्टामा उडाउन थालेकोले नै पत्रुसले यस्तो सल्लाह दिएका हुन्‌। (२ इतिहास ३६:१६) पत्रुस बताउँछन्‌: “पहिलेनै यो जान, कि पछि-पछिका दिनहरूमा गिल्ला गर्नेहरू गिल्ला गर्दै, तिनीहरूका आफ्नै अभिलाषामा यसो भन्दै आउनेछन्‌।” (२ पत्रुस ३:३) यहूदा भन्छन्‌, यी गिल्ला गर्नेहरूको इच्छा “भक्‍तिहीन” छन्‌। तिनी यिनीहरूलाई “आत्मा [“आध्यात्मिकता,” NW] नभएका विलासीहरू” भन्छन्‌।—यहूदा १७-१९.

८ पत्रुसले “शरीरअनुसार अशुद्ध इच्छामा चल्ने” झूटा शिक्षकहरू सम्भवतः आध्यात्मिकता नभएका यी गिल्ला गर्नेहरू नै हुनसक्छन्‌ भने। (२ पत्रुस २:१, १०, १४) विश्‍वासी मसीहीहरूलाई खिसी गर्दै यिनीहरू सोध्छन्‌: “उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो? किनभने पिता-पुर्खाहरू मरेका दिनदेखिनै सृष्टिको शुरूदेखि जस्तैगरी सबै कुरा चलिआएका छन्‌।”—२ पत्रुस ३:४.

९. (क) ढिलासुस्ती नगर्नू भनी परमेश्‍वरको वचनमा बारम्बार दिइएको सल्लाहलाई गिल्ला गर्नेहरू कसरी हल्का पार्न खोज्छन्‌? (ख) यहोवाको दिनको बाटो हेर्दै बस्नु हाम्रोनिम्ति किन सुरक्षा हो?

९ किन यस्तो गिल्ला? ख्रीष्टको उपस्थिति कहिल्यै हुनेछैन, परमेश्‍वरले मानव कामकुरामा कहिल्यै हस्तक्षेप गर्नुभएको छैन नता गर्नुहुनेछ भन्‍ने धारणा किन? किनकि, ढीलासुस्ती नगर्नू भनी परमेश्‍वरको वचनमा बारम्बार दिइएको सल्लाहलाई हल्का बनाएर यी पशुतुल्य गिल्ला गर्नेहरू अरूलाई आध्यात्मिक निद्रामा झुलाएर आफ्नो स्वार्थी मनोकामना पूरा गर्न सजिलै आफ्नो शिकार बनाउन चाहन्छन्‌। आध्यात्मिक तवरमा जागा रहन कत्ति सशक्‍त प्रोत्साहन! यहोवाको दिनको बाटो हेर्दै बस्न, उहाँको नजर हामीमाथि छ भनेर सधैं सम्झिरहौं। यसो गऱ्‍यौं भने, जोशका साथ यहोवाको सेवा गर्न हामी उत्प्रेरित हुनेछौं र नैतिक शुद्धता कायम राख्न सक्नेछौं।—भजन ११:४; यशैया २९:१५; इजकिएल ८:१२; १२:२७; सपन्याह १:१२.

स्वेच्छाचारी तथा निन्दनीय

१०. गिल्ला गर्नेहरू गलत छन्‌ भनी पत्रुस कसरी प्रमाणित गर्छन्‌?

१० यस्ता गिल्ला गर्नेहरू महत्त्वपूर्ण तथ्यलाई बेवास्ता गर्छन्‌। यिनीहरू जानाजानी त्यसो गर्छन्‌ र अरूले पनि ती नसम्झोस्‌ भन्‍ने यत्न गर्छन्‌। किन? ताकि मानिसहरूलाई सजिलै फसाउन सकियोस्‌। पत्रुस लेख्छन्‌, “तिनीहरूले जानीबुझीकन पनि बिर्से।” के बिर्से? “परमेश्‍वरका वचनबाट स्वर्गहरू अघिदेखिनै थिए, र पृथ्वीचाहिं पानीबाट र पानीलेनै बनिएको हो . . . [र] . . . यसैबाट त्यस समयको संसार जलमय भएर नष्ट भएको थियो” भन्‍ने कुरा। (२ पत्रुस ३:५, ६) हो, नूहको समयमा यहोवाले जलप्रलयद्वारा पृथ्वीको दुष्टता हटाउनुभयो। यही तथ्यलाई येशूले पनि जोड दिनुभयो। (मत्ती २४:३७-३९; लूका १७:२६, २७; २ पत्रुस २:५) त्यसकारण, गिल्ला गर्नेहरूले भनेजस्तै “सृष्टिको शुरूदेखि जस्तैगरी” सबै कुरा चलिआएका छैनन्‌।

११. प्रारम्भिक मसीहीहरूका कस्ता असामयिक प्रत्याशाहरूले गर्दा कसै कसैले तिनीहरूको ठट्टा गरे?

११ विश्‍वासी मसीहीहरूका प्रत्याशा त्यतिखेर पूरा नभएको हुँदा यिनीहरूले तिनीहरूलाई ठट्टामा उडाएका होलान्‌। हुन पनि, येशूको मृत्यु हुनु केही समयअघि उहाँका चेलाहरूले “परमेश्‍वरको राज्य तुरुन्तै प्रकट हुनलागेको छ भन्‍ने सम्झेका थिए।” उहाँको पुनरुत्थान भएपछि पनि तिनीहरूले तुरुन्तै परमेश्‍वरको राज्य स्थापित हुने हो कि भनेर सोधे। यसबाहेक, पत्रुसले दोस्रो पत्र लेख्नुभन्दा करिब दश वर्षअघि कोही कोही सम्भवतः प्रेरित पावल वा तिनका सहयोगीहरूले “प्रभुको दिन आएको छ भनी” लेखेका “वचन[बाट]” “अचानक चञ्चल” भएका थिए। (लूका १९:११; २ थिस्सलोनिकी २:२; प्रेरित १:६) तथापि, येशूका चेलाहरूले यस्ता प्रत्याशाहरू गर्नु गलत थिएन, असामयिक मात्र थियो। यहोवाको दिन कुनै पनि हालतमा आउने थियो!

परमेश्‍वरको वचन भरपर्दो छ

१२. ‘यहोवाको दिनबारे’ गरिएका भविष्यवाणीहरूको सन्दर्भमा परमेश्‍वरको वचन कसरी भरपर्दो साबित भएको छ?

१२ सुरुमै उल्लेख गरिएझैं मसीही-पूर्व अगमवक्‍ताहरूले यहोवाले लिनुहुने बदलाको दिन नजीक छ भनेर अक्सर चेताउनी दिन्थे। सा.यु.पू. ६०७ मा मनमानी गर्ने जनहरूसित बदला लिनुभएर ‘यहोवाको दिनको’ सानो झलक यहोवाले देखाउनुभयो। (सपन्याह १:१४-१८) पछि बेबिलोन र मिश्रलगायत अन्य राष्ट्रहरूले पनि त्यस्तै खाले ‘यहोवाको दिन’ भोग्नुपऱ्‍यो। (यशैया १३:६-९; यर्मिया ४६:१-१०; ओबदिया १५) प्रथम शताब्दीको यहूदी रीतिरिवाजको अन्तबारे पनि भविष्यवाणी गरिएको थियो र रोमी सेनाले सा.यु. ७० मा यहूदियालाई सर्वनाश गर्दा त्यो भविष्यवाणी पूरा भयो। (लूका १९:४१-४४; १ पत्रुस ४:७) तर पत्रुस भविष्यमा आउने ‘यहोवाको दिनबारे’ बताउँछन्‌, जसको सामु विश्‍वव्यापी जलप्रलयसमेत सानो देखिनेछ!

१३. यस रीतिरिवाजको अन्त पक्का छ भनेर कुन ऐतिहासिक उदाहरणले देखाउँछ?

१३ आउँदै गरेको त्यो विनाश बताउन सुरु गर्दै पत्रुस यसो भन्छन्‌: “त्यही वचनले।” तिनले भर्खरै मात्र “परमेश्‍वरका वचनबाट” जलप्रलयअघिको पृथ्वी “पानीबाट र पानीलेनै बनिएको हो,” भनेका थिए। सृष्टिबारे बाइबल विवरणले पनि त्यस्तै भन्छ। त्यसैकारण, परमेश्‍वरको वचन वा निर्देशनमा घनघोर पानी पर्दा जलप्रलय हुन सम्भव भयो। पत्रुस अझै भन्छन्‌: “तर अहिलेको आकाशहरू र पृथ्वीचाहिं [परमेश्‍वरको] त्यही वचनले, भक्‍तिहीन मानिसको इन्साफ र विनाशको दिनसम्म छुट्‌टयाई आगोको निम्ति साँचेर राखिएका छन्‌।” (२ पत्रुस ३:५-७; उत्पत्ति १:६-८) यो पक्कै हुनेछ भन्‍ने परमेश्‍वरको भरपर्दो वचन छ! उहाँले आफ्नो महा दिनको बल्दो रीसमा यस रीतिरिवाजको “स्वर्ग र पृथ्वीलाई” खत्तम गर्नुहुनेछ! (सपन्याह ३:८) तर कहिले?

अन्त आओस्‌ भन्‍ने उत्सुकता

१४. हामी “आखिरी दिन[मा]” छौं भनी किन विश्‍वस्त हुनसक्छौं?

१४ येशूका चेलाहरू अन्त कहिले आउँछ भनेर जान्‍न चाहन्थे। त्यसैकारण तिनीहरूले सोधे: “तपाईंको आगमन र जगत्‌को अन्तको चिह्न के हुन्छ?” तिनीहरूले पक्कै पनि यहूदी रीतिरिवाजको अन्त कहिले हुनेछ भनेर सोध्दै थिए तर येशूले मुख्यतः वर्तमान ‘स्वर्ग र पृथ्वीले’ भोग्ने विनाशलाई केन्द्रित गरेर जवाफ दिनुभयो। येशूले ठूलठूला युद्ध, अनिकाल, भैंचालो, रोग र अपराध हुनेछन्‌ भनेर भविष्यवाणी गर्नुभयो। (मत्ती २४:३-१४; लूका २१:५-३६) सन्‌ १९१४ देखि येशूले दिनुभएका “जगत्‌को अन्तको” यी चिह्नहरूलगायत प्रेरित पावलले उल्लेख गरेका “आखिरी दिन” चिनाउने घटनाहरू पूरा भइरहेको हामीले देखेका छौं। (२ तिमोथी ३:१-५) निस्सन्देह, हामी यस रीतिरिवाजको अन्तमा बाँचिरहेका छौं भन्‍ने जोडदार प्रमाणहरू हुन्‌ यी!

१५. येशूले दिनुभएको चेताउनीको बावजूद मसीहीहरूमा के गर्ने झुकाउ देखिएको छ?

१५ यहोवाको दिन कहिले आउनेछ भनेर जान्‍न यहोवाका साक्षीहरू उत्सुक छन्‌। उत्सुकताकै कारण तिनीहरूले अन्त कहिले आउला भनेर बेला बेलामा अनुमान लगाउन खोजेका पनि छन्‌। तर त्यसो गरेर येशूका प्रारम्भिक चेलाहरूजस्तै तिनीहरू पनि “त्यो बेला कहिले हुने हो सो तिमीहरू जान्दैनौ” भनेर मालिकले दिनुभएको चेताउनीलाई ध्यान दिन चुकेका छन्‌। (मर्कूस १३:३२, ३३) गिल्ला गर्नेहरूले विश्‍वासी मसीहीहरूलाई तिनीहरूको यस्तो असामयिक प्रत्याशाको कारण ठट्‌टामा उडाएका छन्‌। (२ पत्रुस ३:३, ४) तथापि, यहोवाको दिन आउने नै छ, र यो उहाँको समय तालिकाअनुसार आउनेछ भनी पत्रुस निश्‍चिन्त भई बताउँछन्‌।

यहोवाको जस्तै दृष्टिकोण राख्नु आवश्‍यक

१६. हामी कुन सल्लाह बुद्धिमानीसाथ पालन गर्छौं?

१६ समयबारे हामीले यहोवाको जस्तै दृष्टिकोण राख्नु आवश्‍यक छ। किनकि पत्रुस हामीलाई सम्झाउँछन्‌: “तर हे प्रिय हो, यो एउटा कुरो नबिर्स, कि प्रभुमा एक दिन हजार वर्षझैं र हजार वर्ष एक दिनझैं हुन्छ।” यसको तुलनामा हाम्रो ७० वा ८० वर्षे आयु कत्ति छोटो छ! (२ पत्रुस ३:८; भजन ९०:४, १०) अतः परमेश्‍वरका प्रतिज्ञाहरू पूरा हुन ढिलो भएजस्तो लागेको छ भने, हामीले परमेश्‍वरका अगमवक्‍ताको यो सल्लाह पालन गर्नु आवश्‍यक छ: “त्यो [ठहराएको समय] पूरा हुनु ढीलो भए तापनि त्यसको बाटो हेर्दै बस्‌, किनभने त्यो निश्‍चय पूरा हुनेछ, त्यसले ढीलो गर्नेछैन।”—हबकूक २:३.

१७. आखिरी दिन धेरैले आशा गरेभन्दा लामो भइरहे तापनि हामी कुन कुरामा विश्‍वस्त हुनसक्छौं?

१७ यस रीतिरिवाजको अन्तिम दिन धेरैले आशा गरेभन्दा किन लामो भएको छ? राम्रै कारणको लागि र यसबारे पत्रुस यसो भन्छन्‌: “कसै कसैले सम्झेझैं आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढीलो गर्नुहुन्‍न, तर कोही पनि नष्ट नहोस्‌, तर सबै जनाले पश्‍चात्ताप गरून्‌ भन्‍ने इच्छा गरेर प्रभुले तिमीहरूतर्फ धीरज देखाउनुभएको छ।” (२ पत्रुस ३:९) सम्पूर्ण मानवजातिको भलाइ के मा छ, यहोवा त्यसलाई विचार गर्नुहुन्छ। मानिसहरूको जीवनमा उहाँ चासो लिनुहुन्छ किनकि उहाँ भन्‍नुहुन्छ: “दुष्टको मृत्यु म चाहन्‍नँ, बरू दुष्ट मानिसले आफ्नो चाल त्यागेर जिओस्‌ भन्‍ने म चाहन्छु। आफ्नो दुष्ट चाल त्याग, ती त्यागिहाल।” (इजकिएल ३३:११) अतः हाम्रो सबैभन्दा बुद्धिमान्‌ मायालु सृष्टिकर्ताको उद्देश्‍य पूरा गर्न अन्त ठीक समयमै आउनेछ भनी हामी विश्‍वस्त हुनसक्छौं!

के बितेर जानेछ?

१८, १९. (क) यहोवाले यस रीतिरिवाजको अन्त गर्ने निधो किन गर्नुभएको छ? (ख) यस रीतिरिवाजको अन्तबारे पत्रुस कसरी व्याख्या गर्छन्‌ र वास्तवमा के नाश हुनेछ?

१८ आफ्ना सेवकहरूलाई यहोवा साँच्चै माया गर्नुहुन्छ। त्यसैले तिनीहरूलाई आकुलव्याकुल पार्ने जत्ति सबैलाई उहाँले हटाउनुहुनेछ। (भजन ३७:९-११, २९) यो विनाश अचानक आउनेछ भनी पावलले भनेको कुरालाई ध्यानमा राख्दै पत्रुस लेख्छन्‌: “प्रभुको दिन चोर जस्तैगरी आउनेछ, जसमा आकाशचाहिं ठूलो शब्दले बितिजानेछ, [“तर तत्त्वहरू चाहिं उखुम गर्मीले पग्लिहाल्नेछ,” NW] र पृथ्वी र त्यसमा भएका कामहरू चाहिं [“प्रकट,” NW] हुनेछ।” (२ पत्रुस ३:१०; १ थिस्सलोनिकी ५:२) जलप्रलयमा यो भौतिक स्वर्ग र पृथ्वी नाश भएनन्‌ नता यहोवाको दिनमै नाश हुनेछन्‌। उसो भए के “बितिजानेछ” वा नाश हुनेछ?

१९ “स्वर्ग” जस्तै उच्चस्थानमा बसेर मानिसजातिमाथि थिचोमिचो गर्ने मानव सरकार र अभक्‍त मानव समाज अर्थात्‌ “पृथ्वी[को]” अन्त हुनेछ। “ठूलो शब्दले” शायद स्वर्ग तुरुन्तै विनाश हुने कुरालाई संकेत गर्दो हो। आजको पतित मानव संगठनले बनेको “तत्त्वहरू चाहिं” “पग्लिहाल्नेछ” वा विनाश हुनेछ। अनि “पृथ्वी” “त्यसमा भएका कामहरू[समेत]” “प्रकट” हुनेछ। विनाश योग्य यस सम्पूर्ण विश्‍वव्यापी रीतिरिवाजलाई नाश गर्नुहुँदा यहोवाले मानिसहरूका दुष्ट कार्यहरू पूर्णतया प्रकट गर्नुहुनेछ।

आफ्नो आशामा ध्यान केन्द्रित गर्नुहोस्‌

२०. आउन लागेका घटनाहरूको ज्ञानले हाम्रो जीवनमा कस्तो प्रभाव पारेको हुनुपर्छ?

२० यी नाटकीय घटनाहरू नजीकै भएकोले हामी “सबै पवित्र जीवन र भक्‍तिमा . . . परमेश्‍वरको त्यस दिनको बाटो हेर्दै, उत्सुकतासाथ इच्छा गरेर,” लागिरहनुपर्छ भनेर पत्रुस भन्छन्‌। यसमा शंका गर्नुपर्ने कुनै ठाउँ छैन! “आगलागी भएको आकाश पग्लिहाल्नेछ, र तत्त्वहरू चाहिं उखुम गर्मीले गलिहाल्नेछ।” (२ पत्रुस ३:११, १२) यी नाटकीय घटनाहरू भोलि नै सुरु हुनसक्ने भएको हुँदा हामीले गरिरहेका र गर्ने योजना गरेका प्रत्येक कुरालाई यसले असर गर्नुपर्छ।

२१. वर्तमान स्वर्ग र पृथ्वीको ठाउँ के ले लिनेछ?

२१ यो पुरानो रीतिरिवाजको ठाउँ के ले लिनेछ, पत्रुस अब हामीलाई यसरी बताउँछन्‌: “तर उहाँको प्रतिज्ञा बमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले बास गर्छ।” (२ पत्रुस ३:१३; यशैया ६५:१७) वाह! कति ठूलो छुटकारा! ख्रीष्ट र उहाँका १,४४,००० सह-शासकहरूले “नयाँ” सरकारी “आकाश” गठन गर्नेछन्‌ र “नयाँ पृथ्वी” चाहिं यस संसारको अन्तमा जोगिने मानिसहरू मिलेर बन्‍नेछ।—१ यूहन्‍ना २:१७; प्रकाश ५:९, १०; १४:१, ३.

अबिलम्ब भाव र नैतिक शुद्धतालाई कायम राख्नुहोस्‌

२२. (क) आध्यात्मिक तवरमा निष्खोट र निष्कलंक रहन हामीलाई के ले मदत गर्नेछ? (ख) कुन खतराबारे पत्रुस हामीलाई सचेत गराउँछन्‌?

२२ “यसकारण हे प्रिय हो,” पत्रुस अझै भन्छन्‌, “यी कुराको बाटो हेर्ने भएर शान्तिसाथ तिमीहरू प्रभुको दृष्टिमा निष्खोट र निष्कलंक ठहरिनालाई प्रयत्न गर। . . . [यसबाहेक] . . . प्रभुको धीरजनै मुक्‍ति हो भनी सम्झ।” यहोवाको दिनलाई उत्सुकतासाथ पर्खंदा र त्यो दिन आउन ढिलो भएजस्तो लागे तापनि त्यसलाई ईश्‍वरीय धीरजको अभिव्यक्‍ति सम्झँदा आध्यात्मिक तवरमा निष्खोट र निष्कलंक रहन मदत पाउनेछौं। तर खतरा भने अवश्‍य छ! “हाम्रा प्रिय भाइ पावल[का] पत्रहरूमा कुनै कुनै कुराहरू बुझ्न कठिन छन्‌, जो अशिक्षित र चञ्चलहरूले, अरू धर्मशास्त्रहरूलाई पनि तिनीहरूले गरेकाझैं, तिनीहरूकै नाश निम्ति बङ्‌ग्याएका छन्‌,” भनेर पत्रुस चेताउनी दिन्छन्‌।—२ पत्रुस ३:१४-१६.

२३. पत्रुसको अन्तिम सल्लाह के हो?

२३ स्पष्टतः, पावलले पत्रमा उल्लेख गरेका परमेश्‍वरको अनुग्रहलाई बंग्याएर पत्रुसको समयका झूटा शिक्षकहरूले छाडा कामहरू गर्न पाएको छुटको रूपमा लिए। अन्तिम सल्लाह लेख्दा शायद पत्रुसको मनमा यही कुरा खेलिरहेको हुनुपर्छ: “यसकारण तिमीहरू, हे प्रिय हो, यी कुराहरू अघिबाटै थाह पाएका भएर होशियार रहो, नत्रता दुष्टहरूका भ्रमबाट एकातिर लागेर तिमीहरू आफ्ना दृढ़ताबाट पतित हुनेछौ।” त्यसपछि तिनी यो आग्रह गर्दै पत्र टुंग्याउँछन्‌: “हाम्रा प्रभु र मुक्‍तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्‌दै जाओ।”—२ पत्रुस ३:१७, १८.

२४. यहोवाका सबै सेवकहरूले कस्तो मनोवृत्ति राख्नुपर्छ?

२४ प्रस्ट छ, पत्रुस आफ्ना भाइहरूलाई स्थिर गराउन चाहन्छन्‌। सुरुमा उद्धरण गरिएका ८२ वर्षीय विश्‍वासी साक्षीले राखेझैं मनोवृत्ति सबैले राखून्‌ भन्‍ने इच्छा तिनी गर्छन्‌: “मैले आफ्नो जीवन प्रेरितको आग्रहअनुसार बिताएको छु: ‘यहोवाको त्यस दिनको बाटो हेर्दै बस।’ प्रतिज्ञा गरिएको नयाँ संसारलाई ‘नदेखे तापनि त्यसलाई वास्तविकता’ (NW) ठानेको छु।” आउनुहोस्‌, हामी सबै त्यसरी नै जीवन बिताऔं।

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

◻ यहोवाको दिनको “बाटो हेर्दै” बस्नुको अर्थ के हो?

◻ गिल्ला गर्नेहरू जानाजानी कुन कुरालाई बेवास्ता गर्छन्‌ र किन?

◻ गिल्ला गर्नेहरूले के कारण विश्‍वासी मसीहीहरूको ठट्टा गरेका छन्‌?

◻ हामीले कस्तो दृष्टिकोण अपनाउनुपर्छ?

[पृष्ठ २३-मा भएको चित्र]

यहोवाको दिनको . . .

[पृष्ठ २४-मा भएको चित्र]

. . . र त्यसपछिको नयाँ संसारको बाटो हेर्दै बस्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने