प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ९/१५ pp. २१-२५
  • येशू ख्रीष्टको चालअनुसार चलिरहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशू ख्रीष्टको चालअनुसार चलिरहनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • येशू ख्रीष्टले कसरी आफ्ना अनुयायीहरूलाई डोऱ्‍याउनुहुन्छ
  • अख्तियार चलाउँदा सन्तुलित हुनुहोस्‌
  • सहानुभूति देखाउनुहोस्‌ र क्षमा दिनुहोस्‌
  • परमेश्‍वरको राज्यसम्बन्धी गतिविधिलाई पहिलो स्थान दिनुहोस्‌
  • वफादार हुनुहोस्‌
  • येशूले बसाल्नुभएको नमुनाअनुसार चल्नुहोस्‌
  • ख्रीष्टले आफ्नो मण्डलीको नेतृत्व लिनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • ‘ख्रीष्टको’ पछि किन लाग्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • ख्रीष्टको जस्तै मनोवृत्ति राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • परमेश्‍वरसित हिंड्‌ने—प्रारम्भिक कदमहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ९/१५ pp. २१-२५

येशू ख्रीष्टको चालअनुसार चलिरहनुहोस्‌

“[ परमेश्‍वरमा] रहन्छु भन्‍नेले आफै पनि उहाँको [ येशूको] चालअनुसार चल्नुपर्छ।”—१ यूहन्‍ना २:६.

१, २. येशूलाई एकदमै ध्यान दिएर हेर्न के गर्नुपर्छ?

प्रेरित पावलले यस्तो लेखे, “हाम्रा सामनेमा राखिदिएको दौड धीरजसँग दौडौं। औ विश्‍वासका कर्त्ता र सिद्ध तुल्याउनुहुने येशूलाई हेरौं।” (हिब्रू १२:१, २) विश्‍वासी भई चलिरहन येशू ख्रीष्टलाई हेर्नु आवश्‍यक छ।

२ मसीही युनानी धर्मशास्त्रमा “हेर” भनी प्रयोग गरिएको शब्दले मौलिक भाषामा “कतै पनि नअलमलीकन ध्यान दिनु,” “आफूले हेरिरहेको कुरा छोडेर अर्कोतिर ध्यान मोड्‌नु,” “एक टक लगाएर हेर्नु” भन्‍ने अर्थ बुझाउँछ। एउटा पुस्तक यसो भन्छ: “रङ्‌गशालामा दौडिरहेको ग्रीक धावकले आफू दौडिरहेको बाटोमा र लक्ष्यतिर नहेरी दर्शकहरूतिर मिलिक्क हेर्नासाथ उसको दौडको गति कम भइहाल्छ। मसीहीहरूको सन्दर्भमा पनि यसै भन्‍न सकिन्छ।” यताउता अलमलियौं भने हामी आध्यात्मिक तवरमा प्रगति गर्न सक्दैनौं। हामीले येशू ख्रीष्टलाई एकदमै ध्यान दिएर हेर्नुपर्छ। विश्‍वासका कर्त्ताको कुन कुरालाई हामीले हेरिरहेका छौं? “कर्त्ता” भनी अनुवाद गरिएको युनानी शब्दको अर्थ हो, “प्रमुख नेता, जसले नेतृत्त्व लिएर उदाहरण बसाल्छ।” येशूलाई एकदमै ध्यान दिएर हेर्न उहाँको उदाहरण पछ्याउनु जरुरी छ।

३, ४. (क) येशू ख्रीष्टको चालअनुसार चल्न चाहन्छौं भने के गर्नु आवश्‍यक छ? (ख) कस्ता प्रश्‍नहरूलाई हामीले विचार गर्नुपर्छ?

३ बाइबल यसो भन्छ: “[परमेश्‍वरमा] रहन्छु भन्‍नेले आफै पनि उहाँको [येशूको] चालअनुसार चल्नुपर्छ।” (१ यूहन्‍ना २:६) येशूले आफ्नो पिताको आज्ञा पालन गरेझैं हामीले पनि येशूका आज्ञाहरू पालन गरेर परमेश्‍वरमा रहनै पर्छ।—यूहन्‍ना १५:१०.

४ त्यसैले, येशूको चालअनुसार चल्न चाहन्छौं भने प्रमुख नेताको रूपमा उहाँलाई ध्यान दिएर हेर्नु अनि उहाँकै पाइलामा टेकेर हिंड्‌नु आवश्‍यक छ। यस सन्दर्भमा विचार गर्नुपर्ने यस्ता महत्त्वपूर्ण प्रश्‍नहरू छन्‌: आज येशू ख्रीष्टले हामीलाई कसरी डोऱ्‍याउनुहुन्छ? उहाँको चाल अनुकरण गर्दा हामीमा कस्तो असर पर्छ? येशू ख्रीष्टले बसाल्नुभएको नमुनाअनुसार चल्दा कस्ता लाभहरू प्राप्त हुन्छन्‌?

येशू ख्रीष्टले कसरी आफ्ना अनुयायीहरूलाई डोऱ्‍याउनुहुन्छ

५. स्वर्ग जानुअघि येशूले आफ्ना अनुयायीहरूलाई कस्तो प्रतिज्ञा गर्नुभयो?

५ पुनरुत्थान हुनुभएको येशू ख्रीष्ट स्वर्ग जानुअघि आफ्ना चेलाहरूसामु देखा पर्नुभयो र उनीहरूलाई एउटा महत्त्वपूर्ण काम अह्राउनुभयो। उहाँले यसो भन्‍नुभयो: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ।” त्यस अवसरमा प्रमुख नेता येशू ख्रीष्टले आफ्ना चेलाहरूले यो जिम्मेवारी पूरा गर्दा आफू पनि उनीहरूसितै हुने प्रतिज्ञा गर्नुभयो: “हेर, म सब दिन, अँ, जगत्‌को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।” (मत्ती २८:१९, २०) यस रीतिरिवाजको अन्तमा येशू ख्रीष्ट कसरी आफ्ना अनुयायीहरूसित हुनुहुन्छ?

६, ७. येशूले हामीलाई कसरी पवित्र आत्माद्वारा डोऱ्‍याउनुहुन्छ?

६ येशूले यसो भन्‍नुभयो, “शान्तिदाता अर्थात्‌ पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले नै तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ।” (यूहन्‍ना १४:२६) येशूको नाउँमा पठाइने पवित्र आत्माले आज हामीलाई डोऱ्‍याउनुका साथै बलियो बनाउँछ। यसले हामीलाई आध्यात्मिक ज्ञान र “परमेश्‍वरका गहिरा-गहिरा कुराहरू” बुझ्न मदत दिन्छ। (१ कोरिन्थी २:१०) यसबाहेक, “प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वस्तता, नम्रता, संयम[जस्ता]” परमेश्‍वरका गुणहरू आत्माका फल हुन्‌। (गलाती ५:२२, २३) पवित्र आत्माको मदतद्वारा हामी यी गुणहरू विकास गर्न सक्छौं।

७ बाइबल अध्ययन गर्नुका साथै आफूले सिकेका कुराहरू व्यवहारमा उतार्ने प्रयास गर्दा यहोवाको आत्माले हामीलाई बुद्धि, समझशक्‍ति, विवेक र ज्ञानमा बढ्‌न अनि जे ठीक र न्यायसंगत छ, सो बुझ्न मदत गर्छ। (हितोपदेश २:१-११) पवित्र आत्माले हामीलाई प्रलोभन अनि परीक्षा सहन पनि मदत गर्छ। (१ कोरिन्थी १०:१३; २ कोरिन्थी ४:७; फिलिप्पी ४:१३) ‘शरीर र आत्माका सबै किसिमका अशुद्धपनाहरूबाट आफूलाई शुद्ध पार्न’ मसीहीहरूलाई आग्रह गरिएको छ। (२ कोरिन्थी ७:१) के हामी पवित्र आत्माको मदतविना पवित्रता वा स्वच्छतासम्बन्धी परमेश्‍वरको स्तर अनुरूप जीवन बिताउन सक्छौं होला र? आज हामीलाई डोऱ्‍याउन येशूले चलाउनुहुने एउटा माध्यम पवित्र आत्मा हो र यहोवा परमेश्‍वरले आफ्नो पुत्रलाई यो पवित्र आत्मा चलाउने अख्तियार दिनुभएको छ।—मत्ती २८:१८.

८, ९. ख्रीष्टले कसरी “विश्‍वासी र बुद्धिमान दास[द्वारा]” डोऱ्‍याउनुहुन्छ?

८ आज ख्रीष्टले मण्डलीलाई डोऱ्‍याउनुहुने अर्को तरिका पनि विचार गर्नुहोस्‌। आफ्नो उपस्थिति र जगत्‌को अन्तबारे कुरा गर्दा येशूले यसो भन्‍नुभयो: “विश्‍वासी र बुद्धिमान दास को हो? उही हो, जसलाई त्यसको मालिकले ठीक-ठीक समयमा खान देओस्‌ भनेर आफ्नो परिवारमाथि खटाएको हुन्छ? धन्य हो त्यो नोकर, जसलाई त्यसको मालिकले आएर त्यसै गरिरहेको भेट्टाउनेछ। म तिमीहरूलाई साँच्चै भन्दछु, उसले त्यसलाई आफ्नो सारा सम्पत्तिमाथि नियुक्‍त गर्नेछ।”—मत्ती २४:३, ४५-४७.

९ येशू ख्रीष्ट “मालिक” हुनुहुन्छ र “दास[चाहिं]” पृथ्वीमा भएका अभिषिक्‍त मसीहीहरूको समूह हो। यही दास वर्गलाई पृथ्वीमा येशूको कामकुरा देखभाल गर्ने र ठीक-ठीक समयमा आध्यात्मिक भोजन पस्कने अभिभारा सुम्पिइएको छ। “विश्‍वासी र बुद्धिमान” दासमध्येकै दक्ष निरीक्षकहरूको एउटा सानो समूह मिलेर परिचालक निकाय बनेको हुन्छ र यस परिचालक निकायले दास वर्गको प्रतिनिधिको रूपमा सेवा गर्छ। विश्‍वव्यापी राज्य प्रचारकार्य र ठीक समयमा पोसिलो आध्यात्मिक भोजन उपलब्ध गराउने काममा उनीहरूले नेतृत्व लिन्छन्‌। यस प्रकार ख्रीष्टले आत्मा-अभिषिक्‍त “विश्‍वासी र बुद्धिमान दास” र यसको परिचालक निकायद्वारा मण्डलीलाई डोऱ्‍याउनुहुन्छ।

१०. प्राचीनहरूलाई हेर्ने हाम्रो दृष्टिकोण कस्तो हुनुपर्छ र किन?

१० ख्रीष्टले डोऱ्‍याउनुहुने अर्को तरिका “मानिसहरूलाई वरदान” अर्थात्‌ पुरुषहरूमध्ये वरदानद्वारा हो। यी पुरुषहरूमध्ये वरदान भनेको मसीही प्राचीनहरू अथवा निरीक्षकहरू हुन्‌। “सेवाको काममा र ख्रीष्टको शरीरको स्थापनमा पवित्र जनहरू[लाई]” सुसज्जित पार्न उनीहरू नियुक्‍त भएका हुन्छन्‌। (एफिसी ४:८, ११, १२) उनीहरूको विषयमा हिब्रू १३:७ यसो भन्छ, “तिमीहरूलाई परमेश्‍वरको वचन सुनाउने र तिमीहरूका अगुवाहरूलाई सम्झ र तिमीहरूका जीवनको नतिजालाई विचार गरेर तिनीहरूको विश्‍वासको देखासिकी गर।” प्राचीनहरूले मण्डलीमा नेतृत्त्व लिन्छन्‌। उनीहरूले ख्रीष्ट येशूको देखासिकी गर्ने भएकोले उनीहरूको विश्‍वास देखासिकी गर्न लायकको हुन्छ। (१ कोरिन्थी ११:१) पुरुषहरूमध्ये वरदानको आज्ञापालन गरेर अनि उनीहरूको अधीनमा बसेर प्राचीनको प्रबन्धको लागि हामी कृतज्ञता देखाउन सक्छौं।—हिब्रू १३:१७.

११. आज ख्रीष्टले आफ्ना अनुयायीहरूलाई कुन-कुन माध्यमद्वारा डोऱ्‍याउनुहुन्छ अनि उहाँको चालअनुसारै चल्न के-के गर्नुपर्छ?

११ हो, आज येशू ख्रीष्टले पवित्र आत्मा, “विश्‍वासी र बुद्धिमान दास” अनि मण्डलीका प्राचीनहरूद्वारा आफ्ना अनुयायीहरूलाई डोऱ्‍याउनुहुन्छ। ख्रीष्टको चालअनुसार चल्न उहाँले कसरी डोऱ्‍याउनुहुन्छ भनेर बुझ्नुपर्छ र त्यसै डोऱ्‍याइअनुसार चल्नुपर्छ। उहाँको चाल अनुकरण गर्नु पनि उत्तिकै जरुरी छ। प्रेरित पत्रुसले यस्तो लेखे: “यसैको निम्ति तिमीहरू बोलाइएका हौ। किनभने तिमीहरूले उहाँको पाइलामा टेकेर हिंड्‌नलाई एक उदाहरण तिमीहरूलाई दिएर ख्रीष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो।” (१ पत्रुस २:२१) येशूको उत्कृष्ट उदाहरण पछ्याउँदा हामी कस्तो व्यक्‍ति बन्‍न उत्प्रेरित हुन्छौं?

अख्तियार चलाउँदा सन्तुलित हुनुहोस्‌

१२. मण्डलीका प्राचीनहरूले ख्रीष्टको उदाहरणको कुन पक्षलाई विशेष ध्यान दिनुपर्छ?

१२ आफ्नो पिताबाट येशूले जति अख्तियार पाउनुभयो त्यति त अरू कसैले पाएन। तरैपनि आफूले पाएको अख्तियारलाई उहाँले सन्तुलित ढङ्‌गमा चलाउनुभयो। मण्डलीका सबै—त्यसमा पनि अझ विशेष गरी निरीक्षकहरूको “सहनशीलता सबै मानिसहरूलाई थाह” हुनुपर्छ। (फिलिप्पी ४:५; १ तिमोथी ३:२, ३) प्राचीनहरूले मण्डलीमा केही हदसम्म अख्तियार पाएका हुन्छन्‌। त्यसैकारण त्यो अख्तियार चलाउँदा उनीहरूले ख्रीष्टको पाइला पछ्याउनु नितान्त जरुरी छ।

१३, १४. परमेश्‍वरको सेवा गर्न अरूलाई प्रोत्साहन दिंदा कुन तरिकामा प्राचीनहरूले ख्रीष्टको अनुकरण गर्न सक्छन्‌?

१३ येशूले आफ्ना चेलाहरूको सीमिततालाई पनि ध्यानमा राख्नुभयो। चेलाहरूले दिन सक्नेभन्दा बढी कुरा उहाँले माग गर्नु भएन। (यूहन्‍ना १६:१२) येशूले आफ्ना अनुयायीहरूलाई कुनै दबाब नदिई परमेश्‍वरको इच्छा गर्ने सन्दर्भमा “प्रयत्न गर्न” प्रोत्साहन दिनुभयो। (लूका १३:२४) नेतृत्त्व लिएर अनि उनीहरूलाई उत्साहित गरेर उहाँले त्यस्तो प्रयत्न गर्ने प्रोत्साहन दिनुभयो। त्यस्तै गरी आज मसीही प्राचीनहरूले अरूलाई लाजमा पारेर अनि दोषी महसुस गराएर परमेश्‍वरको सेवा गर्न डर देखाउँदैनन्‌। बरु, परमेश्‍वर र येशू अनि आफ्नो छिमेकीप्रतिको प्रेमले यहोवाको सेवा गर्न प्राचीनहरू तिनीहरूलाई प्रोत्साहन दिन्छन्‌।—मत्ती २२:३७-३९.

१४ मानिसहरूलाई आफ्नो मुट्ठीमा राखेर येशूले आफ्नो अख्तियारको दुरुपयोग गर्नुभएन। उहाँले न त कडा स्तर तोक्नुभयो न तीन थुप्रो नियमहरू नै दिनुभयो। परमेश्‍वरले मोशालाई दिनुभएको व्यवस्थाका सिद्धान्तहरू राम्रोसँग बुझ्न मदत गरेर उहाँ मानिसहरूलाई उत्प्रेरित गर्न चाहनुहुन्थ्यो। (मत्ती ५:२७, २८) येशू ख्रीष्टको अनुकरण गर्दा प्राचीनहरू आफूलाई जस्तो मन लाग्यो त्यस्तो नियम नबनाउन होसियार हुन्छन्‌ वा आफ्नो व्यक्‍तिगत विचारधारामा ढिपी कस्ने गर्दैनन्‌। पहिरन र कोरीबाटी अथवा रमाइलो तथा मनोरञ्जन गर्ने सन्दर्भमा मीका ६:८, १ कोरिन्थी १०:३१-३३ र १ तिमोथी २:९, १० जस्ता बाइबल पदहरूमा दिइएको परमेश्‍वरका सिद्धान्तहरू चलाएर प्राचीनहरू अरूको हृदयसम्म पुग्ने कोसिस गर्छन्‌।

सहानुभूति देखाउनुहोस्‌ र क्षमा दिनुहोस्‌

१५. आफ्ना चेलाहरूले गल्ती गर्दा येशूले के गर्नुभयो?

१५ आफ्ना चेलाहरूले गल्ती गर्दा येशू ख्रीष्टले उनीहरूसित जसरी व्यवहार गर्नुभयो त्यस सम्बन्धमा पनि उहाँले हाम्रो लागि एउटा उदाहरण छोड्‌नुभयो। येशू यस पृथ्वीमा हुनुहुँदाको अन्तिम रात घटेका दुईवटा घटनालाई विचार गर्नुहोस्‌। गेतसमनीको बगैंचामा आइपुगेपछि येशूले “पत्रुस, याकूब, र यूहन्‍नालाई आफूसँग लैजानुभयो” र “जागा रहो” भन्‍नुभयो। त्यसपछि “अलि पर गएर उहाँ भुइँमा घोप्टनुभयो, र . . . प्रार्थना गर्नुभयो।” फर्केर आउँदा उहाँले “तिनीहरूलाई निदाइरहेको भेट्टाउनुभयो।” यो देखेपछि येशूले के गर्नुभयो? उहाँले भन्‍नुभयो: “आत्मा ता साँच्चै तयार छ, तर शरीर कमजोर छ।” (मर्कूस १४:३२-३८) पत्रुस, याकूब र यूहन्‍नालाई बेस्सरी गाली गर्नुको सट्टा उहाँले सहानुभूति देखाउनुभयो! त्यही रात पत्रुसले येशूलाई तीन चोटि इन्कार गरे। (मर्कूस १४:६६-७२) त्यसपछि येशूले पत्रुससित कस्तो व्यवहार गर्नुभयो? ‘प्रभुको पुनरुत्थान भयो र उहाँ शिमोन [पत्रुसकहाँ] देखा पर्नुभयो।’ (लूका २४:३४) “उहाँ केफासकहाँ, अनि बाह्रै जनाकहाँ देखापर्नुभयो” भनी बाइबल बताउँछ। (१ कोरिन्थी १५:५) रिसले आगो हुनुको सट्टा पश्‍चात्ताप गर्ने प्रेरितलाई येशूले क्षमा दिनुभयो र तिनलाई बलियो पार्नुभयो। पछि येशूले पत्रुसलाई ठूल्ठूला जिम्मेवारीहरू सुम्पनुभयो।—प्रेरित २:१४; ८:१४-१७; १०:४४, ४५.

१६. सँगी विश्‍वासीहरूले कुनै न कुनै तरिकामा हाम्रो चित्त दुखाउँदा वा अन्यायपूर्ण व्यवहार गर्दा हामी कसरी येशूको चालअनुसार चल्न सक्छौं?

१६ मानव असिद्धताको कारण सँगी विश्‍वासीहरूले कुनै न कुनै तरिकामा हाम्रो चित्त दुखाउँदा वा अन्यायपूर्ण व्यवहार गर्दा के हामीले पनि येशूले जस्तै सहानुभूति देखाउनु र क्षमा दिनु पर्दैन र? पत्रुसले आफ्ना सँगी विश्‍वासीहरूलाई यसो भने: “तिमीहरू सबै एक मनका, सहानुभूति देखाउने, भातृ-प्रेम गर्ने, कोमल हृदयका, नम्र मनका, खराबीको बदला खराबी नगर्ने, अथवा गालीको बदला गाली नदिने, तर उल्टा आशिष दिने होओ।” (१ पत्रुस ३:८, ९) कुनै व्यक्‍तिले हामीलाई सहानुभूति देखाउन र क्षमा दिन अस्वीकार गरेर येशूले जस्तो व्यवहार गरेन भने नि? त्यस्तो अवस्थामा समेत येशूको अनुकरण गर्ने र उहाँले जस्तै व्यवहार गर्ने कोसिस गर्नु हाम्रो दायित्व हो।—१ यूहन्‍ना ३:१६.

परमेश्‍वरको राज्यसम्बन्धी गतिविधिलाई पहिलो स्थान दिनुहोस्‌

१७. येशूले परमेश्‍वरको इच्छा पूरा गर्नुलाई पहिलो स्थान दिनुभयो भनेर कुन कुराले देखाउँछ?

१७ अर्को एउटा तरिकामा पनि हामीले येशू ख्रीष्टको चाल अनुकरण गर्नु आवश्‍यक छ। परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गर्नु येशूको जीवनकै सबैभन्दा महत्त्वपूर्ण कुरा थियो। सामरियाको सुखार सहर नजिकै सामरी स्त्रीलाई प्रचार गरिसकेपछि येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “मलाई पठाउनेको इच्छा पूरा गर्नु, र उहाँको काम पूरा गर्नुनै मेरो भोजन हो।” (यूहन्‍ना ४:३४) आफ्नो पिताको इच्छा पूरा गर्दा येशूले बल प्राप्त गर्नुभयो किनकि त्यो उहाँको लागि भोजन जत्तिकै पोसिलो, सन्तोषजनक र स्फूर्तिदायी काम थियो। येशूको अनुकरण गर्दै परमेश्‍वरको इच्छा पूरा गर्नुलाई नै जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा बनाउँदा के हाम्रो जीवन नीरस र अर्थहीन हुन्छ र?

१८. छोराछोरीलाई पूर्ण-समय सेवामा लाग्न प्रोत्साहन दिंदा कस्ता आशिष्‌हरू प्राप्त हुन्छन्‌?

१८ आमाबाबुले आफ्ना छोराछोरीलाई पूर्ण-समय सेवामा लाग्न प्रोत्साहन दिंदा आमाबाबु तथा छोराछोरी दुवैले थुप्रै आशिष्‌ पाउँछन्‌। एक जना बुबाले आफ्ना जुम्ल्याहा छोराहरूलाई सानैदेखि नै अग्रगामी सेवा गर्ने लक्ष्य राख्न प्रोत्साहन दिए। स्कूलको पढाइ सिद्धिएपछि ती जुम्ल्याहा छोराहरूले साँच्चै अग्रगामी गर्न थाले। छोराहरूले अग्रगामी गर्दा खुसीले गदगद्‌ भएको क्षण सम्झँदै यी बुबा यस्तो लेख्छन्‌: “हाम्रा छोराहरूले हामीलाई निराश पारेनन्‌। गर्वसाथ हामी भन्‍न सक्छौं, ‘छोराहरू ता परमप्रभुले दिनुभएको हक हुन्‌।’ ” (भजन १२७:३) अनि पूर्ण-समय सेवामा लाग्दा छोराछोरीले कसरी लाभ उठाउँछन्‌? पाँच छोराछोरीकी आमा यसो भन्छिन्‌: “अग्रगामी गरेको कारण उनीहरूले यहोवासितको आफ्नो सम्बन्धलाई कसिलो बनाउन सकेका छन्‌, व्यक्‍तिगत अध्ययन गर्ने उनीहरूको राम्रो बानी बसेको छ, आफ्नो समयलाई बुद्धिमानीसाथ प्रयोग गर्न र आफ्नो जीवनमा आध्यात्मिक कुरालाई पहिलो स्थान दिन सिकेका छन्‌। थुप्रै छाँटकाँट गर्नुपरे तापनि आफूले रोजेको बाटोमा हिंड्‌दा उनीहरूले पछुताउनुपरेको छैन।”

१९. भविष्यको लागि योजना बनाउँदा युवाहरूले कुन कुरामा होस पुऱ्‍याउनुपर्छ?

१९ युवाहरू हो, भविष्यमा के गर्ने योजना छ? के तपाईं कुनै पेसामा लागेर ठूलो मान्छे बन्‍न खोजिरहनुभएको छ? अथवा के तपाईं पूर्ण-समय सेवालाई आफ्नो पेसा बनाउने विचारमा हुनुहुन्छ? पावलले यस्तो सल्लाह दिए: “कसरी हिंड्‌छौ ठीकसँग हेर, निर्बुद्धि जस्तो होइन, तर बुद्धिमान मानिसजस्तो, समयको अवसर विचार गरेर सम्झ, किनभने समय खराब छ।” तिनले यसो पनि भने: “यसैकारण मूर्ख नहोऊ, तर प्रभुको इच्छा के रहेछ, सो बुझ।”—एफिसी ५:१५-१७.

वफादार हुनुहोस्‌

२०, २१. येशूले आफ्नो वफादारी कसरी देखाउनुभयो र हामी कसरी उहाँको वफादारिता अनुकरण गर्न सक्छौं?

२० येशूको चालअनुसार चल्न हामीले उहाँको वफादारिता अनुकरण गर्नु खाँचो छ। येशूको वफादारिताको विषयमा बाइबल यसो भन्छ: “उहाँले परमेश्‍वरको स्वरूपमा भएर परमेश्‍वरसितै बराबरको हुनलाई, जोगाइराख्ने धन जस्तो सम्झनुभएन, तर आफूलाई रित्याईकन कमाराको रूप लिएर मानिसहरूको समानतामा हुनुभयो। औ रूपमा मानिसजस्तो भएर मृत्युसम्मै आज्ञाकारी हुनुभयो” अनि “मृत्युसम्मै आफूलाई होच्याउनुभयो।” येशूको लागि परमेश्‍वरको इच्छा जे थियो वफादार भई त्यसै गरेर उहाँले यहोवाको सार्वभौमिकता उच्च पार्नुभयो। शासनाको खम्बाको मृत्युसम्मै उहाँ आज्ञाकारी हुनुभयो। हामीसित पनि यस्तै “मन” हुनुपर्छ र वफादार भई परमेश्‍वरको इच्छाअनुसार जीवन बिताउनुपर्छ।—फिलिप्पी २:५-८.

२१ आफ्ना विश्‍वासी प्रेरितहरूप्रति पनि येशू वफादार हुनुभयो। उनीहरूका थुप्रै कमीकमजोरी भए तापनि येशूले उनीहरूलाई “अन्त्यसम्मनै” प्रेम गर्नुभयो। (यूहन्‍ना १३:१) त्यस्तै गरी, हाम्रा भाइहरूका कमीकमजोरीको कारण हामीले अरूको आलोचना गर्ने बानी बसाल्नु हुँदैन।

येशूले बसाल्नुभएको नमुनाअनुसार चल्नुहोस्‌

२२, २३. येशूले बसाल्नुभएको नमुनाअनुसार चल्दा कस्ता लाभहरू प्राप्त हुन्छन्‌?

२२ हुन त हो, असिद्ध भएकोले हाम्रो सिद्ध उदाहरण येशूको चालअनुसारै हामी चल्न सक्दैनौं। तर सकेसम्म उहाँको चालअनुसारै चल्ने प्रयास भने गर्न सक्छौं। यसको लागि ख्रीष्टले कसरी डोऱ्‍याउनुहुन्छ भनी बुझ्नु र उहाँले बसाल्नुभएको नमुनाअनुसारै चल्नु आवश्‍यक छ।

२३ ख्रीष्टको अनुकरण गर्दा थुप्रै आशिष्‌ प्राप्त हुन्छ। आफ्नो कुरामा होइन तर परमेश्‍वरको इच्छा पूरा गर्नुलाई महत्त्वपूर्ण ठान्दा हाम्रो जीवन अझ अर्थपूर्ण र सन्तोषजनक हुन्छ। (यूहन्‍ना ५:३०; ६:३८) हाम्रो अन्तस्करण सफा हुन्छ। हाम्रो चाल उदाहरणीय हुन्छ। मेहनत गर्ने र बोझले दबिएका सबैलाई येशूले आफूकहाँ आएर स्फूर्ति पाउन निम्तो दिनुभयो। (मत्ती ११:२८-३०) येशूको उदाहरण पछ्यायौं भने हामीसित सरसङ्‌गत गर्ने व्यक्‍तिहरूलाई हामी पनि स्फूर्ति दिन सक्नेछौं। त्यसकारण आउनुहोस्‌, येशूको चालअनुसार चलिरहौं।

के तपाईंलाई याद छ?

• आज ख्रीष्टले आफ्ना अनुयायीहरूलाई कसरी डोऱ्‍याउनुहुन्छ?

• परमेश्‍वरले दिनुभएको अख्तियार चलाउँदा प्राचीनहरूले कसरी ख्रीष्टको डोऱ्‍याइ पछ्याउन सक्छन्‌?

• अरूको कमीकमजोरी देखिंदा हामी कसरी येशूको उदाहरण पछ्याउन सक्छौं?

• युवाहरूले कसरी राज्यसम्बन्धी गतिविधिलाई पहिलो स्थानमा राख्न सक्छन्‌?

[पृष्ठ २३-मा भएको चित्र]

मसीही प्राचीनहरूले हामीलाई ख्रीष्टको डोऱ्‍याइअनुसारै चल्न मदत गर्छन्‌

[पृष्ठ २४-मा भएका चित्रहरू]

युवाहरू हो, मसीही जीवनलाई सफल बनाउन कस्ता योजनाहरू बनाइरहनुभएको छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने