प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bh chap. १९ pp. १८४-१९३
  • परमेश्‍वरको प्रेम पाउन लायक बन्‍नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको प्रेम पाउन लायक बन्‍नुहोस्‌
  • बाइबलले वास्तवमा के सिकाउँछ?
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको प्रेम महसुस गर्नुहोस्‌ र त्यसअनुरूप चल्नुहोस्‌
  • यहोवासित अझै नजिक हुनुहोस्‌
  • आनन्दित भई यहोवाको उपासना गर्नुहोस्‌
  • “साँच्चैको जीवन” पाउन अघि बढ्‌नुहोस्‌
  • यहोवा परमेश्‍वरसित नजिक हुनुहोस्‌
    बाइबलले हामीलाई के सिकाउँछ?
  • तपाईंलाई माया गर्ने परमेश्‍वरलाई माया गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • ‘तिमीले यहोवा तिम्रा परमेश्‍वरलाई प्रेम गर्नू’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • प्रेमले उन्‍नति गराउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
बाइबलले वास्तवमा के सिकाउँछ?
bh chap. १९ pp. १८४-१९३

अध्याय उन्‍नाइस

परमेश्‍वरको प्रेम पाउन लायक बन्‍नुहोस्‌

  • परमेश्‍वरलाई प्रेम गर्नुको अर्थ के हो?

  • हामी कसरी परमेश्‍वरको प्रेम पाउन लायक बन्‍न सक्छौं?

  • यहोवाले उहाँको प्रेम पाउन लायक बन्‍नेहरूलाई कस्तो इनाम दिनुहुनेछ?

हुरीबतासबाट बच्न ठाउँ खोज्दै एक मानिस

हुरीबतासबाट बच्न सुरक्षित ठाउँ चाहिएझैं अहिलेको समस्याग्रस्त संसारमा के तपाईंले यहोवालाई शरणस्थान बनाउनुभएको छ?

१, २. हाम्रो शरणस्थान को हुनुहुन्छ?

मानौं, तपाईं बाहिर कतै जाँदै हुनुहुन्छ। अचानक आकासमा कालो बादल मडारिन्छ। बेसरी हुरीबतास चल्न थाल्छ। तपाईं बिजुली चम्केको देख्नुहुन्छ अनि मेघ गर्जेको सुन्‍नुहुन्छ। हेर्दाहेर्दै मुसलधारे पानी पर्न थाल्छ। तपाईं हतारहतार ओत लाग्ने ठाउँ खोज्नुहुन्छ। सडक छेउमा एउटा घर देख्नुहुन्छ। तपाईं त्यो घरभित्र पस्नुहुन्छ अनि हावाहुरी, मुसलधारे पानीबाट बच्नुहुन्छ। त्यस्तो सुरक्षित ठाउँ पाउँदा तपाईंलाई कति ढुक्क लाग्छ!

२ जताततै सङ्‌कट अनि समस्याको कालो बादल मडारिरहेको यस संसारमा हामीलाई पनि शरणस्थान चाहिएको छ। त्यस्तो शरणस्थानले हामीलाई हरप्रकारको हानिनोक्सानीबाट जोगाउँछ। तर कसले हामीलाई त्यस्तो शरण दिन सक्छ? यहोवा परमेश्‍वरले। बाइबल यसो भन्छ: “उहाँ मेरो शरणस्थान र मेरो किल्ला हुनुहुन्छ, मेरा परमेश्‍वर, जसमा म भरोसा राख्तछु।”—भजन ९१:२.

३. हामी कसरी यहोवालाई आफ्नो शरणस्थान बनाउन सक्छौं?

३ सोच्नुहोस्‌ त, ब्रह्‍माण्डको सृष्टिकर्ता अनि सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवा हाम्रो शरणस्थान हुनुहुन्छ! उहाँले हामीलाई जुनसुकै कुराबाट जोगाउन सक्नुहुन्छ किनभने उहाँभन्दा शक्‍तिशाली केही छैन। हामीलाई कुनै प्रकारको हानिनोक्सानी पुगिहाल्यो भने पनि यहोवाले त्यसको क्षतिपूर्ति गर्न सक्नुहुन्छ। त्यसोभए यहोवालाई हामी आफ्नो शरणस्थान कसरी बनाउन सक्छौं? उहाँलाई भरोसा गरेर। साथै परमेश्‍वरको वचनले भनेजस्तै हामीले ‘आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख्नुपर्छ।’ (यहूदा २१) स्वर्गमा बस्नुहुने बुबासितको मायालु सम्बन्धलाई बलियो बनाइराखेर हामी उहाँको प्रेम पाउन लायक भइरहनुपर्छ। तब उहाँ हाम्रो शरणस्थान हुनुहुनेछ। तर हामी कसरी त्यस्तो मायालु सम्बन्ध गाँस्न सक्छौं?

परमेश्‍वरको प्रेम महसुस गर्नुहोस्‌ र त्यसअनुरूप चल्नुहोस्‌

४, ५. यहोवाले हामीलाई कुन-कुन तरिकामा प्रेम देखाउनुभएको छ?

४ यहोवाको प्रेम पाउन लायक बन्‍न सबैभन्दा पहिले उहाँले हामीलाई कसरी प्रेम गर्नुभएको छ, त्यो बुझ्नुपर्छ। तपाईंले यस किताबबाट सिकेका बाइबलका केही शिक्षा सम्झनुहोस्‌ त। यहोवा सृष्टिकर्ता हुनुहुन्छ। हामी आनन्दित होस्‌ भनेर उहाँले हामीलाई सबै कुरा दिनुभएको छ। जस्तै: बस्नको लागि सुन्दर पृथ्वी, खानेकुरा, पानी, प्राकृतिक स्रोतसाधन, विभिन्‍न किसिमका जीवजन्तु अनि मनै हर्ने सुन्दर दृश्‍य। यहोवा बाइबलका लेखक पनि हुनुहुन्छ। उहाँले आफ्नो वचन बाइबलमार्फत आफ्नो नाम अनि गुणहरू प्रकट गर्नुभएको छ। साथै उहाँले आफ्नो एक मात्र प्यारो छोरालाई पृथ्वीमा पठाउनुभयो, जसले हाम्रो खातिर दुःख भोग्नुभयो अनि हाम्रो निम्ति आफ्नो जीवन बलिदान दिनुभयो। (यूहन्‍ना ३:१६) यहोवाको यस्तो अमूल्य वरदानले गर्दा नै हामीले उज्ज्वल भविष्यको आशा पायौं।

५ हाम्रो भविष्य उज्ज्वल बनाउन परमेश्‍वरले अर्को एउटा कुरा पनि गर्नुभएको छ। उहाँले स्वर्गमा मसीही राज्य स्थापना गर्नुभएको छ। यस राज्यले चाँडै सबै दुःखकष्ट हटाएर पृथ्वीलाई सुन्दर बगैंचा बनाउनेछ। सोच्नुहोस्‌ त, हामी शान्त अनि आनन्दमय वातावरणमा सधैंभरि बाँच्नेछौं। (भजन ३७:२९) अनि अहिले हामी कसरी सुखी जीवन बिताउन सक्छौं, त्यो पनि परमेश्‍वरले सिकाउँदै हुनुहुन्छ। हामी कुनै रोकटोकविना यहोवालाई जुनसुकै बेला अनि जहाँसुकै प्रार्थना गर्न सक्छौं। उहाँले सबै मानिसजातिलाई र तपाईंलाई देखाउनुभएको प्रेमका यी त केही उदाहरण मात्र हुन्‌।

६. यहोवाले हामीलाई प्रेम गर्नुभएको हुँदा हामी के गर्न सक्छौं?

६ तपाईंले अब आफैलाई एउटा महत्त्वपूर्ण प्रश्‍न सोध्नुपर्छ। त्यो हो: ‘यहोवाले मलाई यति धेरै प्रेम गर्नुभएको छ भने अब मैले के गर्नुपर्छ?’ थुप्रैले यस्तो जवाफ देलान्‌: ‘यहोवाले मलाई प्रेम गर्नुभएकोले मैले पनि उहाँलाई प्रेम गर्नुपर्छ।’ के तपाईंलाई पनि त्यस्तै लाग्छ? एक पटक एक जना मानिसले सबैभन्दा ठूलो आज्ञा के हो भनेर सोध्दा येशूले यस्तो जवाफ दिनुभयो: “तिमीले यहोवा तिम्रा परमेश्‍वरलाई आफ्नो सारा मनले, आफ्नो सारा ज्यानले र आफ्नो सारा दिमागले प्रेम गर्नू।” (मत्ती २२:३७) तपाईंले यहोवा परमेश्‍वरलाई प्रेम गर्नुपर्ने पक्कै पनि थुप्रै कारण छन्‌। तर यहोवालाई आफ्नो सारा मनले, आफ्नो सारा ज्यानले र आफ्नो सारा दिमागले प्रेम गर्न के हाम्रो मनमा मात्र उहाँको माया भए पुग्छ?

स्याउको बियाँ

७. के यहोवाको माया मनमा मात्र भएर पुग्छ? व्याख्या गर्नुहोस्‌।

७ बाइबलमा बताइएझैं यहोवाको माया मनमा भएर मात्र पुग्दैन। वास्तवमा त्यो त सुरुवात मात्र हो। एउटा उदाहरण विचार गर्नुहोस्‌। स्याउको बीउ छ भने स्याउको बोट उमार्न पनि सकिन्छ। तर तपाईंलाई स्याउ खान मन लागेको बेला कसैले स्याउको बियाँ मात्र दियो भने तपाईंलाई कस्तो लाग्छ? पक्कै खुसी लाग्दैन! त्यसैगरि हाम्रो मनमा यहोवाको माया हुनु भनेको परमेश्‍वरप्रतिको प्रेमको सुरुवात मात्र हो। बाइबल यसो भन्छ: “परमेश्‍वरका आज्ञाहरू पालन गर्नु नै उहाँलाई प्रेम गर्नु हो र उहाँका आज्ञाहरू बोझिला छैनन्‌।” (१ यूहन्‍ना ५:३) यदि हामी परमेश्‍वरलाई साँच्चै प्रेम गर्छौं भने त्यो प्रेम काममा देखिनुपर्छ।—मत्ती ७:१६-२०.

८, ९. परमेश्‍वरलाई प्रेम गर्छौं अनि उहाँले गर्नुभएका सबै कुराको लागि धन्यवाद दिन चाहन्छौं भनेर हामी कसरी देखाउन सक्छौं?

८ परमेश्‍वरका आज्ञाहरू पालन गरेर अनि उहाँका सिद्धान्तहरू लागू गरेर हामी उहाँलाई प्रेम गर्छौं। उहाँको आज्ञा पालन गर्नु असाध्यै गाह्रो कुरा पनि होइन। यहोवाका नियमहरू बोझिला छैनन्‌। बरु ती पालन गर्दा हामी सुखी अनि आनन्दित हुन्छौं। (यशैया ४८:१७, १८) यहोवाको निर्देशनअनुसार जीवन बिताएर उहाँले गर्नुभएका सबै कुराको लागि कृतज्ञ छौं भनी देखाउन सक्छौं। तर दुःखको कुरा, आज संसारमा थोरैले मात्र त्यसो गरिरहेका छन्‌। हामी येशूको पालाका बैगुनी मानिसहरूजस्तो हुन चाहँदैनौं। येशूले दस जना कुष्ठरोगीलाई निको पार्नुहुँदा उहाँलाई धन्यवाद दिन एक जना मात्र फर्केर आयो। (लूका १७:१२-१७) हामी पक्कै पनि ती नौ जना बैगुनीजस्तो हुन चाहन्‍नौं!

९ त्यसोभए हामीले यहोवाको कुन-कुन आज्ञा पालन गर्नुपर्छ? यो किताब अध्ययन गरेर हामीले उहाँका थुप्रै आज्ञा थाह पाइसक्यौं। त्यसमध्ये केही फेरि विचार गरौं। परमेश्‍वरका आज्ञाहरू पालन गरेर हामी उहाँको प्रेम पाउन लायक भइरहन सक्छौं।

यहोवासित अझै नजिक हुनुहोस्‌

१०. यहोवा परमेश्‍वरको ज्ञान लिइरहनु किन महत्त्वपूर्ण छ, व्याख्या गर्नुहोस्‌।

१० यहोवासित नजिक हुने एउटा महत्त्वपूर्ण तरिका उहाँको ज्ञान लिएर उहाँलाई चिन्‍नु हो। हामीले उहाँबारे सधैं सिकिरहनुपर्छ। कठ्याङ्‌ग्रिने जाडोमा आगो ताप्दै हुनुहुन्छ भने के तपाईं त्यो आगो निभ्न दिनुहुन्छ र? अहँ, दिनुहुन्‍न! आगो निभ्न नदिन तपाईं दाउरा थपिरहनुहुन्छ। किनभने आगो निभ्यो भने चिसोले तपाईंको ज्यानै जान सक्छ! आगो निभ्न नदिन दाउरा चाहिएझैं यहोवाको प्रेम सेलाउन नदिन “परमेश्‍वरको ज्ञान” चाहिन्छ।—हितोपदेश २:१-५.

एक जना मान्छे आगोमा दाउरा थप्दै आगो तापिरहेका छन्‌

आगो निभ्न नदिन दाउरा चाहिएझैं परमेश्‍वरप्रतिको प्रेम सेलाउन नदिन उहाँको ज्ञान चाहिन्छ

११. येशूले सिकाउनुभएको कुराले चेलाहरूमा कस्तो प्रभाव पाऱ्‍यो?

११ येशू आफ्ना चेलाहरूले यहोवाप्रतिको प्रेम सेलाउन नदिएको अनि उहाँको बहुमूल्य सत्य वचनलाई माया गर्न नछोडेको चाहनुहुन्थ्यो। त्यसैले पुनर्जीवित भएपछि येशूले दुई जना चेलालाई भेट्‌नुभयो। उहाँले हिब्रू धर्मशास्त्रका केही भविष्यवाणी उल्लेख गरेर ती कसरी आफूमा पूरा भए भनेर तिनीहरूलाई बताउनुभयो। यसले तिनीहरूमा कस्तो प्रभाव पाऱ्‍यो? तिनीहरूले पछि यसो भने: “उहाँले बाटोमा हामीसित कुरा गर्दै धर्मशास्त्रको पूरै अर्थ खोलिदिनुहुँदा के हाम्रो मनमा छटपटी भइरहेको थिएन र?”—लूका २४:३२.

१२, १३. (क) परमेश्‍वरप्रतिको प्रेमलाई प्रबल बनाइराख्नु किन सजिलो छैन? (ख) प्रेम सेलाउन नदिन हामी के गर्न सक्छौं?

१२ पहिलो चोटि बाइबलको कुरा छर्लङ्‌ग बुझ्दा सायद तपाईंलाई असाध्यै खुसी लागेको थियो होला। आफूले सिकेको कुरा कसलाई भनूँ जस्तो लागेको थियो होला। सायद परमेश्‍वरको निम्ति जोस, आनन्द अनि प्रेमको भावना पनि मनमा पलायो होला। बाइबलको कुरा सिकेपछि थुप्रैले यस्तै महसुस गर्छन्‌। अब तपाईंले त्यस प्रेमलाई अझ प्रबल बनाउँदै लैजानुपर्छ। तर त्यसो गर्न सजिलो हुँदैन। किनकि येशूले यस्तो भविष्यवाणी गर्नुभयो: “धेरै जनाको प्रेम सेलाएर जानेछ।” (मत्ती २४:१२) हामी आफ्नो प्रेम सेलाउन दिन चाहँदैनौं। त्यसोभए यहोवा अनि बाइबल सत्यप्रतिको प्रेम सेलाउन नदिन तपाईंले के गर्नुपर्छ?

१३ हामीले यहोवा परमेश्‍वर अनि येशू ख्रीष्टको ज्ञान लिइरहनुपर्छ। (यूहन्‍ना १७:३) हामीले परमेश्‍वरको वचन बाइबलबाट सिकेका कुराहरू मनन गर्नुपर्छ। हामीले आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुपर्छ: ‘यहोवा परमेश्‍वरबारे मैले के सिकें? उहाँलाई आफ्नो सारा मन, दिमाग अनि ज्यानले प्रेम गर्नुपर्ने अर्को कुन कारण भेट्टाएँ?’ (१ तिमोथी ४:१५) त्यसरी मनन गर्दा यहोवाप्रति तपाईंको प्रेम झन्‌झन्‌ बढ्‌दै जानेछ।

१४. प्रार्थनाले हामीलाई यहोवासित नजिक हुन कसरी मदत गर्छ?

१४ यहोवासित नजिक हुने अर्को तरिका नियमित रूपमा प्रार्थना गर्नु हो। (१ थिस्सलोनिकी ५:१७) प्रार्थना हामीले पाएको विशेष सुअवसर हो भनेर अध्याय १७ मा सिकिसक्यौं। नियमित अनि खुलस्त कुराकानीले मानिसहरूबीचको सम्बन्धलाई बलियो बनाउँछ। त्यसरी नै नियमित तवरमा यहोवालाई प्रार्थना गर्दा उहाँसितको हाम्रो सम्बन्ध बलियो हुन्छ। तर हामी सचेत भएनौं भने हाम्रो प्रार्थना बिस्तारै भावशून्य हुन सक्छ। सधैं एउटै कुरा दोहोऱ्‍याएकोले हाम्रो प्रार्थना निरस भइरहेको हुन सक्छ। सानो बच्चाले आफ्नो बुबासित कुरा गरेजस्तै हामीले यहोवासित कुरा गर्नुपर्छ। हामीले आदरपूर्वक प्रार्थना गर्नुपर्छ तर मनको कुरा खुलस्त बताउनुपर्छ। (भजन ६२:८) व्यक्‍तिगत बाइबल अध्ययन गर्नु अनि मनैदेखि प्रार्थना गर्नु उपासनाका महत्त्वपूर्ण भाग हुन्‌। त्यसो गऱ्‍यौं भने हामी परमेश्‍वरको प्रेम पाउन लायक भइरहन सक्छौं।

आनन्दित भई यहोवाको उपासना गर्नुहोस्‌

१५, १६. प्रचारको कामलाई किन सुअवसर अनि धन भन्‍न सकिन्छ?

१५ व्यक्‍तिगत बाइबल अध्ययन र प्रार्थना हामी एक्लैले पनि गर्न सक्छौं। तर उपासनाको अर्को पक्ष पनि छ, जुन हामी अरूले देख्नेगरि गर्छौं। त्यो हो, हाम्रो आस्थाबारे अरूलाई बताउने। के तपाईंले बाइबलबाट सिकेको कुरा अरूलाई बताउन थाल्नुभयो? आफूले सिकेको कुरा अरूलाई बताउनु पवित्र सेवा चढाउने सुअवसर हो। (लूका १:७४) यहोवा परमेश्‍वरबारे सिकेको कुरा अरूलाई बताउँदा सबै साँचो ख्रीष्टियनलाई सुम्पिइएको एउटा महत्त्वपूर्ण जिम्मेवारी पूरा गरिरहेका हुन्छौं। त्यो हो, परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्ने।—मत्ती २४:१४; २८:१९, २०.

१६ प्रेषित पावल प्रचारको कामलाई धेरै मूल्यवान्‌ ठान्थे। तिनले यसलाई धनसित तुलना गरे। (२ कोरिन्थी ४:७) हुन पनि यहोवा अनि उहाँको उद्देश्‍यबारे अरू मानिसलाई बताउनुभन्दा ठूलो काम अरू हुनै सक्दैन। किनभने जसले हामीलाई यो काम सुम्पनुभयो, उहाँ सर्वोच्च मालिक हुनुहुन्छ अनि त्यो काम गरेर हामी उहाँबाट प्रशस्त आशिष्‌ पनि पाउन सक्छौं। तपाईंले यो काम गरेर निष्कपट मानिसहरूलाई स्वर्गमा बस्नुहुने बुबासित नजिक हुन अनि अनन्त जीवनको बाटोमा लाग्न मदत गर्न सक्नुहुन्छ। यस्तो सन्तुष्टि दिने काम अरू कुन होला र? यहोवा अनि उहाँको वचनबारे साक्षी दिंदा तपाईंको विश्‍वास र उहाँप्रतिको प्रेम पनि प्रगाढ हुँदै जान्छ। अनि यहोवा परमेश्‍वर पनि तपाईंको यस्तो प्रयास देखेर खुसी हुनुहुनेछ। (हिब्रू ६:१०) त्यसैले प्रचारको काममा व्यस्त भएर परमेश्‍वरको प्रेम पाउन लायक बनिरहनुहोस्‌।—१ कोरिन्थी १५:५८.

१७. अहिले मानिसहरूलाई प्रचार गर्नु किन जरुरी छ?

१७ मानिसहरूलाई प्रचार गर्नु असाध्यै जरुरी काम हो भनेर हामीले सम्झनुपर्छ। बाइबल यसो भन्छ: “जोडतोडले वचन प्रचार गर।” (२ तिमोथी ४:२) अहिले यो काम किन जरुरी छ? बाइबल यस्तो जवाफ दिन्छ: “परमप्रभुको भयानक दिन नजिकै छ, नजिकै, त्यो चाँडै आउँदैछ।” (सपन्याह १:१४) यहोवाले अब चाँडै यस दुष्ट युगको अन्त गर्नुहुनेछ। त्यसैले मानिसहरूलाई चेतावनी दिनुपर्छ! यहोवालाई आफ्नो सर्वोच्च शासकको रूपमा स्वीकार्ने समय अहिल्यै हो। परमप्रभुको भयानक दिन चाँडै आउँदै छ, “त्यसले ढीलो गर्नेछैन।”—हबकूक २:३.

१८. हामीले किन साँचो ख्रीष्टियनहरूसँग मिलेर यहोवाको उपासना गर्नुपर्छ?

१८ यहोवा हामीले साँचो ख्रीष्टियनहरूसित मिलेर उहाँको उपासना गरेको चाहनुहुन्छ। यसैकारण बाइबल यसो भन्छ: “आपसमा गहिरो चासो राखेर हामी एकअर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित बनाऔं, कसै-कसैलाई बानी परेजस्तै हामी एक ठाउँमा भेला हुन नछोडौं, बरु एकअर्कालाई प्रोत्साहन दिइरहौं, अनि दिन जति-जति नजिक हुँदै गइरहेको देख्छौं, झन्‌ बढी त्यसो गरिरहौं।” (हिब्रू १०:२४, २५) सभाहरूमा अरू भाइबहिनीसँगै भेला हुँदा हाम्रो प्यारो परमेश्‍वरको उपासना र प्रशंसा गर्ने राम्रो मौका पाउँछौं। यसरी भेला हुँदा हामी एकअर्कालाई बलियो बनाउनुका साथै प्रोत्साहन पनि दिन्छौं।

१९. मण्डलीमा एकअर्कालाई अझ गहिरो प्रेम गर्न हामी के गर्न सक्छौं?

१९ यहोवाका उपासकहरूसित सङ्‌गत गर्दा एकअर्कासितको मित्रता अनि प्रेम पनि प्रगाढ हुन्छ। तर हामीले एकअर्काको दुर्गुण खोज्नु हुँदैन। बरु यहोवाले जस्तै असल गुण हेर्नुपर्छ। अरू भाइबहिनीबाट कहिल्यै गल्ती हुँदैन भनेर नसोच्नुहोस्‌। नबिर्सनुहोस्‌, मण्डलीमा हामी सबैको प्रगति एकैनासको हुँदैन र हामी सबैबाट गल्ती हुन्छ। (कलस्सी ३:१३) यहोवालाई गहिरो प्रेम गर्नेहरूलाई आफ्नो घनिष्ठ मित्र बनाउने कोसिस गर्नुहोस्‌। यसो गर्दा परमेश्‍वरसितको तपाईंको सम्बन्ध पनि बलियो हुनेछ। मण्डलीका भाइबहिनीसित मिलेर यहोवाको उपासना गर्दा तपाईं उहाँको प्रेम पाउन लायक बन्‍नुहुनेछ। वफादार भई यहोवाको सेवा गरेर उहाँको प्रेम पाउन लायक बन्‍नेहरूलाई उहाँले कस्तो इनाम दिनुहुन्छ?

“साँच्चैको जीवन” पाउन अघि बढ्‌नुहोस्‌

२०, २१. “साँच्चैको जीवन” के हो र यो किन सुन्दर आशा हो?

२० यहोवाले आफ्ना वफादार सेवकहरूलाई जीवन दिनुहुन्छ। तर कस्तो किसिमको जीवन? हुन त हामी जीवित छौं किनभने हामी सास फेरिरहेका छौं, खाइरहेका छौं र पिइरहेका छौं। अनि खुसी भएको बेला यसो पनि भन्छौं, “यस्तो जिन्दगी पो जिन्दगी!” तर बाइबलअनुसार अहिले कसैले पनि साँचो अर्थमा जीवन बिताइरहेको छैन।

सुन्दर बगैंचामा परिवार रमाइलो गर्दै छन्‌

तपाईंले “साँच्चैको जीवन” पाएको यहोवा चाहनुहुन्छ। के तपाईं त्यो पाउन चाहनुहुन्छ?

२१ बाइबल हामीलाई “साँच्चैको जीवनलाई दह्रोसित पक्रिराख्न” आग्रह गर्छ। (१ तिमोथी ६:१९) यी शब्दबाट “साँच्चैको जीवन” भनेको भविष्यमा पाउने जीवन हो भनी बुझ्न सक्छौं। हामी त्रुटिरहित अवस्थामा पुगेपछि मात्र साँचो अर्थमा जीवन बिताइरहेका हुनेछौं। किनकि त्यतिबेला हामीले परमेश्‍वरको मूल उद्देश्‍यअनुरूप जीवन बिताइरहेका हुनेछौं। यहोवाले बसाल्नुहुने सुन्दर नयाँ संसारमा हामी पूर्णतया स्वस्थ हुनेछौं, चारैतिर शान्ति अनि खुसीयाली छाउनेछ। तब हामीले “साँच्चैको जीवन” अर्थात्‌ अनन्त जीवनको आनन्द उठाउनेछौं। (१ तिमोथी ६:१२) कस्तो सुन्दर आशा!

२२. तपाईं कसरी “साँच्चैको जीवन दह्रोसित पक्रिराख्न” सक्नुहुन्छ?

२२ हामी कसरी “साँच्चैको जीवन दह्रोसित पक्रिराख्न” सक्छौं? यसै प्रसङ्‌गमा पावलले ख्रीष्टियनहरूलाई “भलाइको काम” गर्न र “असल काममा धनी हुन” आग्रह गरे। (१ तिमोथी ६:१८) कुरा स्पष्ट छ, हामी बाइबलबाट सिकेको सत्यलाई कसरी लागू गर्छौं, त्यसमा धेरै कुरा निर्भर हुन्छ। तर के पावलले हामीले असल काम गरेर “साँच्चैको जीवन” कमाउन सक्छौं भन्‍न खोजेका हुन्‌? अहँ, होइन। किनभने हामीले त्यस्तो जीवन परमेश्‍वरको “असीम अनुग्रहद्वारा” मात्र पाउन सक्छौं। (रोमी ५:१५) यहोवा वफादार भई उहाँको सेवा गर्ने मानिसहरूलाई इनाम दिन रमाउनुहुन्छ। तपाईंले “साँच्चैको जीवन” बिताएको उहाँ चाहनुहुन्छ। परमेश्‍वरको प्रेम पाउन लायक बन्‍नेहरूले सुख-शान्तिले भरिएको अनन्त जीवन पाउनेछन्‌।

२३. परमेश्‍वरको प्रेम पाउन लायक बन्‍नु किन अत्यावश्‍यक छ?

२३ हामीले आफूलाई यस्तो प्रश्‍न सोध्नुपर्छ: ‘के म बाइबलअनुसार यहोवाको उपासना गर्दै छु?’ हरेक दिन ‘हो, म गर्दै छु’ भन्‍न सक्यौं भने सही बाटोमा हिंडिरहेका हुन्छौं। यहोवा हाम्रो शरणस्थान हुनुहुन्छ भनेर विश्‍वस्त हुन सक्छौं। यस दुष्ट युगमा उहाँले आफ्ना वफादार जनहरूको रक्षा गर्नुहुनेछ। नजिक आउँदै गरेको नयाँ संसारसम्म यहोवाले हामीलाई सकुशल डोऱ्‍याउनुहुनेछ। त्यो देख्न पाउँदा हामी पक्कै पनि असाध्यै रोमाञ्चित हुनेछौं। अनि यस अन्तको दिनमा यहोवाको उपासना गर्ने सही छनौट गरेकोमा हामी कत्ति रमाउनेछौं! त्यसैले सही छनौट गर्नुहोस्‌ अनि यहोवा परमेश्‍वरले दिनुहुने “साँच्चैको जीवन” पाउनुहोस्‌!

बाइबलले के सिकाउँछ?

  • परमेश्‍वरका आज्ञा पालन गरेर अनि उहाँका सिद्धान्त लागू गरेर हामी उहाँलाई साँचो प्रेम गर्छौं। —१ यूहन्‍ना ५:३.

  • परमेश्‍वरको वचन अध्ययन गरेर, मनैदेखि यहोवालाई प्रार्थना गरेर, उहाँबारे अरूलाई सिकाएर अनि सभाहरूमा उहाँको उपासना गरेर हामी उहाँको प्रेम पाउन लायक बन्‍न सक्छौं।—मत्ती २४:१४; २८:१९, २०; यूहन्‍ना १७:३; १ थिस्सलोनिकी ५:१७; हिब्रू १०:२४, २५.

  • परमेश्‍वरको प्रेम पाउन लायक बन्‍नेहरूले “साँच्चैको जीवन” पाउने आशा गर्न सक्छन्‌।—१ तिमोथी ६:१२, १९; यहूदा २१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने