खाँचोमा परेकाहरूलाई प्रेम देखाउने
खाँचोमा परेका भाइबहिनीहरूलाई प्रेम देखाउनु मसीहीहरूको दायित्व र सुअवसर दुवै हो। (१ यूहन्ना ३:१७, १८) प्रेरित पावलले यसरी लेखे: “मौका हुँदानै सबै मानिसतर्फ, खास गरेर विश्वासका घरानातर्फ, भलाइको काम गरौं।” (गलाती ६:१०) झन्डै चार दशकदेखि यहोवालाई सेवा गर्दै आएका एक भाइले हालै आफ्नी पत्नी बिरामी पर्दा र अन्ततः मृत्यु हुँदा मसीही भ्रातृप्रेमको अनुभव गरे। तिनी लेख्छन्:
“मेरी श्रीमती बिरामी हुँदा घरमै उनको हेरविचार गरेकोले मैले झन्डै दुइ महिनासम्म जागिर खान सकिनँ। मण्डलीका साथीहरू स्वेच्छापूर्वक हाम्रो मदतको लागि एक जुट हुँदा म कत्ति आनन्दित भएँ! हामीले उपहारस्वरूप थुप्रै वित्तीय सहयोग पायौं र कार्डमा ‘अतिरिक्त खर्चको लागि’ भनी लेखिएको हुन्थ्यो। यसबाट मैले ऋण, पानी, बिजुलीको महसुल र अन्य खर्चहरू टार्न सकें।
“मेरी श्रीमतीको मृत्यु हुनुभन्दा दुइ हप्ताअघि परिभ्रमण निरीक्षक आउनुभयो। यो एकदमै प्रोत्साहनदायी थियो। मण्डलीले त्यस हप्ताको अन्तमा हेर्ने स्लाइडसमेत हामीलाई देखाउनुभयो। टेलिफोन मार्फत हामीले सभाका भाषणहरूलगायत परिभ्रमण निरीक्षकले सञ्चालन गर्नुभएको क्षेत्र सेवकाईको लागि सभा सुन्न पायौं। यस्तै सभाहरूमध्ये एउटामा भेला भएका सबैले मेरी श्रीमतीलाई एकैचोटि ‘हेलो’ भने। अतः शारीरिक तवरमा चलहल गर्न नसकेर अलग्गै भए तापनि उनले कहिल्यै एक्लो महसुस गरिनन्।
“उनको मृत्यु भएको घण्टाभरमै झन्डै सबै प्राचीनहरू मेरो घरमा पुगिसकेका थिए। एकै दिनमा सय जनाभन्दा बढी भाइबहिनीहरू आए। उपस्थित सबैलाई पुग्ने गरी ‘अचम्मले’ खाना कहाँ कहाँबाट आइराख्थ्यो। मैले पाएका उपहारहरू, सहानुभूतिका अभिव्यक्तिहरू, सान्त्वनादायी शब्दहरू र मेरो लागि गरिएका प्रार्थनाहरू सबै सम्झेर सम्झी नसक्नु छ। यी सबैले मलाई निकै ढाडस र सान्त्वना दियो! मैले अन्ततः भाइहरूलाई खाना पकाउन र घर सफा गर्न अब मदत चाहिंदैन भन्नुपऱ्यो!
“यहोवाको संगठनबाहेक अरू कहाँ हामीले त्यस्तो अनुकम्पा, चिन्ता र प्रेमको निःस्वार्थ अभिव्यक्ति पाउँछौं र? आज मानिसहरूले आफ्नो साँचो मित्रहरू औंलामा गन्नसक्छन्। हामीले भने आध्यात्मिक भाइबहिनीहरूको ठूलो परिवार दिनुहुने यहोवाबाट आशिष् पाएका छौं!”—मर्कूस १०:२९, ३०.