-
“पहिला उहाँले हामीलाई प्रेम गर्नुभयो”यहोवासित नजिक हुनुहोस्
-
-
“परमेश्वर प्रेम हुनुहुन्छ”
१५. यहोवाको प्रेमबारे बाइबल के भन्छ? उक्त वाक्य संरचना किन रोचक छ? (फुटनोट हेर्नुहोस्।)
१५ बाइबलले परमेश्वरको प्रेमबारे एउटा यस्तो कुरा बताएको छ, जुन उहाँका अरू तीन मुख्य गुणबारे बताएको छैन। बाइबलमा परमेश्वर शक्ति हुनुहुन्छ वा परमेश्वर न्यायी हुनुहुन्छ अथवा परमेश्वर बुद्धि हुनुहुन्छ भनेर कतै पनि लेखिएको छैन। हो, उहाँमा यी गुणहरू छन्, उहाँ नै यी गुणहरूको स्रोत हुनुहुन्छ अनि यी गुणहरू देखाउने सन्दर्भमा उहाँको बराबरीमा कोही आउन सक्दैन। तर उहाँको चौथो गुणबारे बाइबलमा यस्तो रोचक कुरा बताइएको छ: “परमेश्वर प्रेम हुनुहुन्छ।”b (१ युहन्ना ४:८) यसको अर्थ के हो?
१६-१८. (क) बाइबलमा किन “परमेश्वर प्रेम हुनुहुन्छ” भनिएको छ? (ख) यहोवाको प्रेमलाई चित्रण गर्न मानिसलाई नै रोजिनु किन उपयुक्त छ?
१६ “परमेश्वर प्रेम हुनुहुन्छ” भन्नुको अर्थ “परमेश्वर बराबर प्रेम हो” भन्ने त होइन। यस वाक्यलाई उल्टो बनाएर “प्रेम परमेश्वर हो” भन्न मिल्दैन किनकि परमेश्वर कुनै पनि निराकार गुणभन्दा कता हो कता श्रेष्ठ हुनुहुन्छ। उहाँ प्रेमलगायत अन्य थुप्रै गुण र भावना भएको व्यक्ति हुनुहुन्छ। तर प्रेम उहाँको अभिन्न भाग हो। एउटा स्रोतसामग्रीमा यस पदबारे यस्तो लेखिएको छ: “परमेश्वरको स्वभाव वा व्यक्तित्व नै प्रेम हो।” साधारणतया हामी यस भनाइलाई यसरी पनि बुझ्न सक्छौँ: यहोवाको शक्तिले उहाँलाई कुनै काम गर्न सक्षम बनाउँछ, न्याय र बुद्धिले उहाँको कामलाई डोऱ्याउँछ अनि प्रेमले भने उहाँलाई कदम चाल्न उत्प्रेरित गर्छ। उहाँले आफ्ना अन्य गुण देखाउनुहुँदा त्यसमा सधैँ उहाँको प्रेम झल्किन्छ।
१७ यहोवा प्रेमको मूर्तरूप हुनुहुन्छ भनेर हामी अक्सर सुन्ने गर्छौँ। त्यसैले सिद्धान्तमा बाँधिएर गरिने प्रेम अर्थात् अगापे प्रेमबारे सिक्न चाहन्छौँ भने हामीले यहोवाबारे सिक्नै पर्छ। तर यो सुन्दर गुण मानिसजातिमा पनि छ। कसरी? यसको जवाफ यहोवाले सबै कुरा सृष्टि गर्नुहुँदा बताउनुभएको कुरामा पाइन्छ, जुन उहाँले आफ्नो छोरालाई भन्नुभएको हुनुपर्छ: “आऊ, मानिसलाई हाम्रै स्वरूपमा, हामीजस्तै बनाऔँ।” (उत्पत्ति १:२६) हो, पृथ्वीमा भएका सबै जीवजीवातमध्ये मानिसले मात्र प्रेम देखाउने सन्दर्भमा यहोवाको अनुकरण गर्न सक्छ। उहाँले आफ्ना मुख्य गुणहरूलाई चित्रण गर्न विभिन्न जीवहरूलाई चलाउनुभएको दर्शन तपाईँले सम्झनुभएको छ होला। तर उहाँले आफ्नो प्रमुख गुण प्रेमलाई चित्रण गर्न भने आफ्नो सबैभन्दा उत्कृष्ट सृष्टि मानिसलाई नै रोज्नुभयो।—इजकिएल १:१०.
-
-
“पहिला उहाँले हामीलाई प्रेम गर्नुभयो”यहोवासित नजिक हुनुहोस्
-
-
b अन्य बाइबल पदहरूमा पनि यस्तै किसिमको वाक्य संरचना प्रयोग गरिएको छ। उदाहरणको लागि, “परमेश्वर ज्योति हुनुहुन्छ” र “परमेश्वर भस्म गर्ने आगो हुनुहुन्छ।” (१ युहन्ना १:५; हिब्रू १२:२९) यी पदहरूमा परमेश्वरलाई प्रतीकात्मक अर्थमा कुनै भौतिक कुरासित तुलना गरिएको छ। यहोवा ज्योतिजस्तै हुनुहुन्छ किनकि उहाँ पवित्र र न्यायी हुनुहुन्छ अनि उहाँमा रतीभर “अन्धकार” वा अशुद्धता छैन। साथै उहाँसँग विनाश गर्ने शक्ति भएकोले उहाँलाई आगोसित तुलना गर्न सकिन्छ।
-