येशूको मानव जीवनको आखिरी दिन
यो सा.यु. ३३, निसान १४, शुक्रबार अपराह्नको कुरा हो। पुरुष तथा महिलाहरूको हूल आफ्नो प्रिय मित्रको लाश गाड्ने तरखरमा छ। तिनीहरूमध्ये निकोदेमसले गाड्न लागेको लाश तयारी गर्न मसलाहरू ल्याउँछन्। त्यो कुटपिट गरेर चोट परेको लाशलाई बेर्न यूसुफ नाउँको व्यक्तिले सफा सुती कपडा ल्याउँछन्।
यी मानिसहरू को हुन् अनि यिनीहरू कसलाई गाड्ने तरखरमा छन्? यी घटनाले तपाईंलाई कसरी प्रभाव पारेको छ? यी प्रश्नहरूको जवाफको निम्ति हामी त्यसअघिको महत्त्वपूर्ण घटनालाई जाँचौं।
बिहीबार साँझ, निसान १४
यरूशलेममा चहकिलो पूर्णिमाको जून क्षितिजबाट विस्तारै उदयमान हुँदैछ। दिनभरि असाध्यै व्यस्त रहने शहर अहिले शान्त भएको छ। यसै साँझको हावामा भेडाको मासु पोलेको मगमग बास्ना आइरहेको छ। हो, हजारौं मानिसहरूले एउटा विशेष घटना अर्थात् निस्तार चाडको वार्षिक उत्सव मनाउन तयारी गरिरहेका छन्।
येशू र उहाँका १२ प्रेरितहरू एउटा ठूलो पाहुना कोठामा त्यो चाड मनाउन तयारी गरिएको टेबलको वरिपरि बसिरहेका छन्। सुन्नुहोस्, येशू बोल्दैहुनुहुन्छ। उहाँ भन्नुहुन्छ, “मैले दुःख भोग्न अघिनै यो निस्तार-चाड़ तिमीहरूसित मनाउने ठूलो इच्छा गरेथें।” (लूका २२:१५) धर्मगुरुहरूले आफूलाई जसरी भए पनि मार्न तम्सिइरहेका छन् भन्ने कुरा येशूलाई थाह छ। तर यो साँझ यी सब हुनुअघि एउटा महत्त्वपूर्ण घटना हुनै लागेको छ।
उत्सव मनाइसकेपछि येशूले घोषणा गर्नुहुन्छ: “तिमीहरूमध्ये एक जनाले मलाई धोकाबाजी गर्नेछ।” (मत्ती २६:२१) यो सुनेर प्रेरितहरू दुःखित हुन्छन्। धोका दिने को होला? केही क्षणको बहसपछि येशूले यहूदा इस्करयोतीलाई भन्नुहुन्छ: “तिमी जे गर्छौ चाँड़ै गरिहाल।” (यूहन्ना १३:२७) यद्यपि, त्यो धोकेबाज यहूदा नै हो भन्ने कुरा अरूले बुझ्न सकेको छैन। ऊ त्यति नै खेर येशूविरुद्ध रचेको षडयन्त्र, कायरतापूर्ण काम गर्न त्यहाँबाट निस्केर बाहिर जान्छ।
विशेष उत्सव
येशूले यहाँ एउटा नयाँ उत्सवको स्थापना गर्नुहुन्छ, जसले उहाँको मृत्युको स्मरण गराउनेछ। येशूले रोटी लिनुहुन्छ र धन्यवादको प्रार्थना चढाएपछि सबैलाई बाँड्नुहुन्छ। उहाँ भन्नुहुन्छ, “लेओ, खाओ, तिमीहरूका निम्ति दिएको यो मेरो शरीर हो।” सबैले रोटीको टुक्रा खाइसकेपछि उहाँले रातो दाखमद्यले भरिएको कचौरा लिनुहुन्छ अनि धन्यवाद चढाएपछि भन्नुहुन्छ, “तिमीहरू सबैले यसबाट पिओ।” येशूले तिनीहरूलाई बुझाउँदै भन्नुहुन्छ, “यो कचौरा तिमीहरूका निम्ति बगेको मेरो रगतमा भएको नयाँ करार हो।” उहाँले ती ११ विश्वासी प्रेरितहरूलाई आदेश दिनुहुन्छ: “मेरो सम्झनामा यो अक्सर गर्नेगर।”—मत्ती २६:२६-२८; लूका २२:१९, २०; १ कोरिन्थी ११:२४, २५.
त्यो साँझ येशूले मायालु ढंगमा आफ्ना प्रेरितहरूलाई पछि हुने घटनाको विषयमा तयार गराउनुहुन्छ अनि उनीहरूप्रति उहाँको गहिरो प्रेम प्रमाणित गर्नुहुन्छ। उहाँ बताउनुहुन्छ, “आफ्नो प्राण मित्रहरूका लागि अर्पण गरिदिनु भन्दा बढ़ता प्रेम कसैको हुँदैन। जे जे म तिमीहरूलाई आज्ञा गर्दछु, ती तिमीहरूले गऱ्यौ भने, तिमीहरू मेरा मित्र हौ।” (यूहन्ना १५:१३-१५) साँच्चै, ती ११ प्रेरितहरूले येशूको परीक्षा हुँदा साथ दिएर उहाँका मित्रहरू हुन् भनेर प्रमाणित गर्छन्।
साँझ, अर्थात् मध्यरात भइसकेको हुनसक्छ येशूले अविस्मरणीय प्रार्थना चढाउनुहुन्छ र यहोवाको प्रशंसाको गीतहरू गाउनुहुन्छ। त्यसपछि, उहाँहरू टहटह जून लागेको पूर्णिमाको रात शहर छोडेर किद्रोन खोल्सापारि जानुहुन्छ।—यूहन्ना १७:१–१८:१.
गेत्समनीको बगैंचामा
केही क्षणपछि येशू र उहाँका प्रेरितहरू गेतसमनीको बगैंचामा आइपुग्नुहुन्छ। आठ जना प्रेरितहरूलाई बगैंचाको प्रवेशद्वारमा छोडेर येशूले पत्रुस, याकूब र यूहन्नालाई अलिक परसम्म जैतूनको रूखहरू नजिक लैजानुहुन्छ। उहाँले तिनीहरूलाई भन्नुहुन्छ: “मेरो प्राण मरणान्त अति कष्टित भएको छ।” उहाँले फेरि यसो भन्नुहुन्छ, “तिमीहरू यहाँ बस, र जागा रहो।”—मर्कूस १४:३३, ३४.
येशू बगैंचामा गहिरो प्रार्थना गरिरहनुहुँदा तीन जना प्रेरितहरूले पर्खिरहेका हुन्छन्। उहाँ कराएर बिन्ती गर्नुहुन्छ: “हे पिता, तपाईंको इच्छा छ भ[ने] कचौरा मबाट हटाइदिनुहोस्।” येशूको काँधमा अत्यन्तै ठूलो जिम्मेवारी छ। यहोवाको एकमात्र पुत्रलाई अपराधी सरह शुलीमा झुण्डेको देख्दा उहाँका शत्रुहरूले के भन्ला भनेर सोच्नु उहाँको निम्ति कत्ति पीडादायी कुरा हो। तर त्योभन्दा दुःख त येशूलाई त्यतिखेर हुन्छ जब आफू त्यो पीडादायी जाँचमा असफल हुँदा मायालु स्वर्गीय पितालाई गिल्ला गर्नेहरूको ओइरो लाग्छ। येशूले एकाग्रतापूर्वक प्रार्थना गर्नुहुन्छ अनि उहाँ यति साह्रो कष्टमा पर्नुहुन्छ कि उहाँको पसिना रगतका ठूलठूला थोप्लाजस्तै भुइँमा खसिरहेका थिए।—लूका २२:४२, ४४.
येशूले अहिले भर्खरै तेस्रो पटक प्रार्थना गरिसक्नुभएको छ, मानिसहरू हातमा राँको र बत्ती लिएर त्यहाँ आइपुग्छन्। अघि अघि येशूतिर सरासर आउने यहूदा इस्करयोती नै हो। “हे गुरु, सलाम” भन्दै बडो कोमलताका साथ उहाँलाई म्वाइँ खान्छ। येशूले त्यसलाई भन्नुहुन्छ, “ए यहूदा, के तिमी मानिसको पुत्रलाई चुम्मनले धोकाबाजी गर्छौ?”—मत्ती २६:४९; लूका २२:४७, ४८; यूहन्ना १८:३.
यहाँ वास्तवमा के भइरहेछ भनेर प्रेरितहरूलाई झल्याँस्स हुन्छ। उनीहरूको प्रभु अनि प्रिय मित्र गिरफ्तार हुनै लाग्नुभएको छ। त्यसैकारण, पत्रुसले एक्कासी तरवार थुतेर मुख्य पूजाहारीको दासको कानै काटिदिन्छन्। येशूले तत्कालै भन्नुहुन्छ, “भयो, यहींसम्म रहनदेओ।” अनि उहाँले त्यो दासको कान निको पारिदिनुहुन्छ र भन्नुहुन्छ, “तिम्रो तरवार फेरि त्यसकै ठाउँमा हाल, किनभने तरवार लिनेहरू सबै जना तरवारैबाट नष्ट हुनेछन्।” (लूका २२:५०, ५१; मत्ती २६:५२) अफसर र सिपाहीहरूले येशूलाई पक्रे र बाँधे। डरले आत्तिएका र अलमल्ल परेका प्रेरितहरू येशूलाई छोडेर राति नै भाग्छन्।—मत्ती २६:५६; यूहन्ना १८:१२.
शुक्रबार बिहान, निसान १४
आधारात बितिसकेको छ र यो शुक्रबार बिहानको कुरा हो। येशूलाई पहिला भूतपूर्व प्रधान पूजाहारी हन्नासकहाँ लगिन्छ। हन्नासले प्रश्नहरू सोधिसकेपछि उहाँलाई प्रधान पूजाहारी कैयाफाको घरमा लगिन्छ। त्यहाँ महासभाका लागि मानिसहरू भेला भएका छन्।
धर्मगुरुहरू अब येशूविरुद्ध मुद्दा चलाउन झूठा प्रमाण दिने गवाहीहरूको खोजी गर्ने कोसिस गर्छन्। तथापि, ती झूठा गवाहीहरूको बयान मेल खाँदैन। तर पनि येशू चुप रहनुहुन्छ। कैयाफा बडो चतुऱ्याइँसित यो माग गर्छ: “म जीवित परमेश्वरको नाउँमा तँलाई भन्दछु, हामीलाई भन्, तँ परमेश्वरको पुत्र ख्रीष्ट होस् कि होइनस्!” कुरो ठीकै भएको कारण त्यसलाई होइन भन्न नमिल्ने भएको हुँदा येशूले हिम्मतका साथ यस्तो जवाफ दिनुहुन्छ: “म हुँ, औ तपाईंहरूले मानिसको पुत्रलाई शक्तिको दाहिने हातमा बसिरहेको र आकाशका बादलमा आइरहेको देख्नुहुनेछ।”—मत्ती २६:६३; मर्कूस १४:६०-६२.
कैयाफा चिच्याउँदै भन्छ, “यसले ता ईश्वर-निन्दा गरिरहेछ बस्, हामीलाई अब अरू साक्षीको के दर्कार पऱ्यो र?” त्यसपछि कतिले चाहिं येशूलाई थप्पड दिन्छन् र अनुहारमा थुक्छन्। अरूले चाहिं उहाँलाई हिर्काउँछन्, मुक्का लगाउँछन् र गाली गर्छन्। (मत्ती २६:६५-६८; मर्कूस १४:६३-६५) शुक्रबार उज्यालो हुनेबित्तिकै सभा फेरि भेला हुन्छन् अनि यसरी राता-रात गैरकानुनी रीतिमा सभा भएकोले त्यसलाई कानुनी जस्तै देखाउनको लागि सोधपुछ गर्छन्। येशूले आफूलाई उहाँ नै ख्रीष्ट, परमेश्वको पुत्र हुनुहुन्छ भनेर साहससित चिनाउनुहुन्छ।—लूका २२:६६-७१.
त्यसपछि येशूलाई मुख्य पूजाहारी र बूढा प्रधानहरूले घिसार्दै यहूदियाको रोमी हाकिम पन्तियूस पिलातसकहाँ जाँचबुझ गर्न लान्छन्। यसले हाम्रो जातिलाई बहकाउन लागेको, सिजरलाई कर तिर्न रोकेको र आफैलाई चाहिं “म राजा हुँ भनेको हामीले फेला पाऱ्यौं” भनेर तिनीहरूले उहाँमाथि दोष लगाए। (लूका २३:२; तुलना गर्नुहोस् मर्कूस १२:१७) येशूलाई प्रश्न गरिसकेपछि पिलातस घोषणा गर्छन्: “म यी मानिसमा केही दोष भेट्टाउँदिनँ।” (लूका २३:४) जब येशू गालीलका बासिन्दा हुनुहुन्छ भन्ने सुने तब तिनले उहाँलाई गालीलका शासक हेरोद एन्तिपसकहाँ पठाए, जो निस्तार चाडको निम्ति यरूशलेममा आएका हुन्छन्। हेरोद येशूमाथि लगाइएका अभियोगहरू सही हुन् कि होइनन् जान्न होइन तर तिनी येशूको चमत्कार हेर्ने तुलबुलीले मात्र भेट्न चाहन्छन्। तर येशूले उनको तुलबुली मेटाइदिनुको साटो चुप्प लागेर बसिरहनुहुन्छ। हेरोद र उनका सिपाहीहरूले उहाँको खिल्ली उडाउँछन् अनि पिलातसकहाँ नै पठाइदिन्छन्।
“यी मानिसले के खराबी गरेका छन् र?” भनेर पिलातस फेरि सोध्छन्। “मैले ता यिनमा मृत्यु लायकको केही कारण भेट्टाइनँ यसकारण म यिनलाई सजाय गरेर छोड़िदिनेछु।” (लूका २३:२२) छालाको डोरी गाँसेको चाबुकको कोर्राले येशूको नाङ्गो ढाडको छाला चरचरी चिर्रिने गरी हिर्काउन सुम्पिदिन्छन्। त्यसपछि, ती लावालश्करले उहाँको शिरमा काँडाको मुकुट लगाइदिन कर गर्छन्। तिनीहरूले उहाँलाई गिल्ला गर्छन् र काँडाको मुकुट शिरको छालाभित्र अझै गाडिदिंदै निगालोको लट्ठीले हिर्काउँछन्। अवर्णनीय दुखाइ र गाली खाएर पनि येशूले असाधारण गरिमा र सामर्थ्य कायम राख्नुहुन्छ।
येशूको दयनीय अवस्था देखेर ती मानिसहरूको मनमा सहानुभूति पलाउँछ कि भन्ने आशा राख्दै पिलातसले उहाँलाई फेरि पनि हूलको सामुन्ने उभ्याएर भन्छन्, “हेर, म यिनलाई तिमीहरूकहाँ बाहिर ल्याउँछु, औ म यिनमा केही दोष पाउँदिनँ भनी तिमीहरूले थाह पाओ।” तब मुख्य पूजाहारीहरू कराउँदै भन्छन्: “क्रूसमा टाँग्नुहोस्, क्रूसमा टाँग्नुहोस्!” (यूहन्ना १९:४-६) भीडले ज्यादै जिद्दी गरेको हुनाले पिलातस येशूलाई क्रूसमा टाँग्न तिनीहरूकै हातमा सुम्पिदिन्छन्।
पीडादायी मृत्यु
बिहानीको समय, सायद अपराह्न हुनलागेको छ। येशूलाई यरूशलेम बाहिर गोलगथा भन्ने ठाउँमा लगिन्छ। शुलीमा चढाएर येशूको हात र खुट्टामा किला ठोक्छन्। शुलीलाई ठाडो पारेर उभ्याउँदा शरीरको ओजनले किला ठोक्दा लागेका चोटहरू च्यातिंदाको असह्य पीडा शब्दहरूमा वर्णन गर्न सकिंदैन। त्यहाँ येशू र दुई अपराधीहरू क्रूसमा टाँगिएको हेर्न भीड भेला हुन्छन्। धेरैले येशूलाई दुर्वचन बोल्दै यसो भन्छन्, “यसले अरूलाई ता बचायो, आफूलाई चाहिं बचाउनसक्तैन!” साथै सिपाही र येशूसँगै टाँगिने दुई अपराधीहरूले पनि उहाँलाई गिल्ला गर्छन्।—मत्ती २७:४१-४४.
येशू शुलीमा टाँगिनुभएको धेरै बेर नभई अचानक मध्य दिनमै एउटा दैवी कारणले तीन घण्टासम्म निस्पट्ट अन्धकार हुन्छ।a सायद यही कारणले नै एउटा कुकर्मीले आफ्नो साथीलाई हकारेको हुनसक्छ। त्यसपछि ऊ येशूतिर फर्केर बिन्ती गर्छ: “तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्।” मर्नै लाग्दा पनि कस्तो अचम्मको विश्वास! येशूले त्यसलाई जवाफ दिनुहुन्छ, “आज, म तिमीलाई साँच्चै भन्दछु तिमी मसित प्रमोदवनमा हुनेछौ।”—लूका २३:३९-४३ [ NW]
दिउँसोको तीन बज्नै लागेको बेला येशूलाई अब आफ्नो अन्त नजिकै छ जस्तो लाग्छ। उहाँले त्यतिखेर भन्नुहुन्छ, “मलाई तिर्खा लाग्यो।” त्यसपछि, उहाँ चर्को सोरले कराउनुहुन्छ: “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभयो?” उहाँको निष्ठा सम्पूर्ण रूपमा जाँच होस् भनेर अब उहाँका पिताले उहाँमाथिबाट आफ्नो संरक्षण हटाउनु भएजस्तो उहाँलाई लाग्छ र त्यसैले उहाँले दाऊदका शब्दहरू दोहऱ्याउनुहुन्छ। कसैले सिर्कामा भिजाएको स्पञ्ज येशूको ओठमा लगाइदिन्छ। सिर्का लिएपछि येशूले लामो सास लिंदै भन्नुहुन्छ: “अब सिद्धियो।” त्यसपछि उहाँ कराउनुहुन्छ: “हे पिता, म मेरो आत्मा तपाईंको हातमा जिम्मा दिन्छु।” त्यसपछि उहाँले शिर निहुराउनुभएर प्राण त्याग्नुहुन्छ।—यूहन्ना १९:२८-३०; मत्ती २७:४६; लूका २३:४६; भजन २२:१.
अपराह्न भइसकेकोले सूर्यास्त भएर विश्राम दिन (निसान १५) सुरु हुनुअघि नै येशूको मृत शरीर गाड्न हतार-पतार प्रबन्ध मिलाउँछन्। महासभाको एक जना प्रतिष्ठित सदस्य र येशूको गुप्त चेला, अरमथिया शहरको यूसुफले येशूको शरीर गाड्ने आज्ञा पाउँछन्। निकोदेमस पनि महासभाको सदस्य हुन्। तिनले गुप्तरूपमा येशूमाथि विश्वास जाहेर गरेका थिए। तिनले चाहिं ३३ किलो मुर्र र किम्मती मसलाहरू दिएर सघाउँछन्। तिनीहरूले होसियारीसाथ लासलाई नजिकैको नयाँ चिहानमा राख्छन्।
फेरि जीवित!
आइतबार झिसमिसे उज्यालोमा मरियम मग्दलिनी र अरू आइमाईहरू येशूको चिहानमा जान्छन्। तर हेर्नुहोस्! चिहानको ढुंगा त गुडाइ राखेको रहेछ। किन हो, चिहान त रित्तो पो छ! पत्रुस र यूहन्नालाई खबर दिन मरियम मग्दलिनी दगुर्दै जान्छिन्। (यूहन्ना २०:१, २) तिनी त्यहाँबाट जानासाथै अरू आइमाईहरूको सामु एउटा स्वर्गदूत देखा पर्छन् र यसो भन्छन्: “तिमीहरू नडराओ।” तिनी आग्रह गर्दै भन्छन्: “अब चाँडो गएर उहाँका चेलाहरूलाई खबर देओ, उहाँको पुनरुत्थान भएको छ।”—मत्ती २८:२-७.
ती आइमाईहरूले येशू पुनरुत्थान हुनुभएको खबर भन्न दगुरिरहेको बेला येशूलाई भेट्टाउछन्! येशूले तिनीहरूलाई भन्नुहुन्छ, “जाओ, मेरा भाइहरूलाई यो कुरा भन।” (मत्ती २८:८-१०) पछि, मरियम मग्दलिनी चिहानमा रोइरहेकी बेला येशू देखा पर्नुहुन्छ। उनी असाध्यै खुसी हुन्छिन् र यो आश्चर्यजनक खबर भन्न चेलाहरूकहाँ दगुर्दै जान्छिन्। (यूहन्ना २०:११-१८) उहाँ साँच्चै पुनःजीवित हुनुभएको छ भनेर विश्वास दिलाउन बिर्सनै नसकिने त्यस आइतबारको दिन येशू पाँच पटकसम्म विभिन्न चेलाहरूको सामु देखा पर्नुहुन्छ।
तपाईं कसरी प्रभावित हुनुभएको छ?
तपाईंलाई १,९६६ वर्षअघिको घटनाहरूले यो २१ औं शताब्दीको सँघारमा कसरी प्रभाव पार्नसक्छ? यी घटनाहरू आफ्नै आँखाले देख्ने व्यक्ति भन्छन्: “यसैमा परमेश्वरको प्रेम हामीमा प्रकट भएको छ, कि हामी उहाँद्वारा जिऔं भन्ने हेतुले परमेश्वरले आफ्ना एक्लो पुत्रलाई यस संसारमा पठाउनुभयो। प्रेम यसैमा छ, हामीले परमेश्वरलाई प्रेम गरेका हौइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्चित हुनालाई उहाँका पुत्रलाई पठाउनुभयो।”—१ यूहन्ना ४:९, १०.
येशूको मृत्यु कसरी “एउटा प्रायश्चितको बलिदान” हो? यसले परमेश्वरसँग राम्रो सम्बन्ध जोड्न सम्भव बनाएको कारण यो प्रायश्चित हो। प्रथम मानिस आदमले परमेश्वरविरुद्ध विद्रोह गरेर आफ्नो सन्तानलाई पाप र मृत्युको दास बनाए। तर अर्कोतिर येशूले मानिसजातिलाई पाप र मृत्युको दासत्वबाट छुटकारा दिन आफ्नो जीवन दिनुभयो। यसरी परमेश्वरले आफ्नो दया र कृपा देखाउन सक्नुभयो। (१ तिमोथी २:५, ६) येशूको पाप-प्रायश्चितको बलिदानमा विश्वास गरेर तपाईं पापी आदमबाट पाएको दोषबाट मुक्त हुनसक्नुहुनेछ। (रोमी ५:१२; ६:२३) फलस्वरूप, यसले तपाईंको मायालु पिता, परमेश्वर यहोवासँग व्यक्तिगत सम्बन्ध जोड्ने ठूलो मौका खोल्छ। संक्षेपमा भन्ने हो भने, येशूको सर्वश्रेष्ठ बलिदान तपाईंको निम्ति अनन्त जीवन हुनसक्छ।—यूहन्ना ३:१६; १७:३.
यी विषयहरू र अन्य सम्बन्धित विषयहरूबारे छलफल गर्न अप्रिल १, बिहीबार साँझमा विश्वभरि हजारौं ठाउँहरूमा लाखौं मानिसहरू येशूको मृत्युको स्मरणार्थ उत्सव मनाउन भेला हुनेछन्। तपाईंलाई पनि त्यहाँ उपस्थित हुन स्वागत छ। तपाईं कुन समयमा कहाँ उपस्थित हुनुपर्छ, त्यसबारे बताउन तपाईंको क्षेत्रका यहोवाका साक्षीहरू खुसी हुनेछन्। उपस्थित हुनुभयो भने येशूको मानव जीवनको आखिरी दिनमा हाम्रा मायालु परमेश्वर र उहाँको प्रिय पुत्र येशूले गर्नुभएको कामको पक्कै पनि तपाईंले अझ गहिरो मूल्यांकन गर्न सक्नुहुनेछ।
[फुटनोट]
a अन्धकार सूर्य ग्रहणको कारण भएको हुन सक्दैन किनभने येशूको मृत्यु पूर्णिमाको दिन भएको थियो। सूर्य ग्रहण केही समयसम्म मात्र हुन्छ, त्यो पनि औंसीको रातमा जब चन्द्रमा पृथ्वी र सूर्यको बीचमा पर्छ।
[पृष्ठ ७-मा भएको चार्ट/चित्रहरू]
येशूको मृत्यु अनि पुनरुत्थान
निसान सा.यु. ३३ घटनाहरू महान पुरुषb
१४ बिहीबार साँझ निस्तार चाडको उत्सव; येशूले प्रेरितहरूको खुट्टा धुनुहुन्छ; यहूदाले येशूलाई धोका दिन्छ; ११३, अनु. २ देखि ११७, अनु. १ सम्म
येशूले आफ्नो मृत्युको स्मरणार्थ सुरु गर्नुहुन्छ (यस वर्ष बिहीबार, अप्रिल १ सूर्यास्तपछि मनाइनेछ);
उहाँको प्रस्थानको लागि प्रेरितहरूलाई तयार बनाउन उपदेश दिनुहुन्छ
मध्यरातदेखि झिसमिसे उज्यालोसम्म प्रार्थना र भजनपछि येशू र प्रेरितहरू गेतसमनीको बगैंचामा जानुहुन्छ; ११७ देखि १२० सम्म
येशू जोरसँग कराउँदै र आँसु बगाउँदै प्रार्थना गर्नुहुन्छ; यहूदा इस्करयोती ठूलो भीडको साथ आउँछ र
येशूलाई धोका दिन्छ; येशूलाई बाँधेर हन्नासकहाँ लैजाँदा प्रेरितहरू भाग्छन्;
येशूलाई महासभामा उपस्थित गराउन मुख्य पूजाहारी कैयाफाकहाँ लगिन्छ;
प्राणदण्ड सुनाइन्छ; मौखिक र शारीरिक दुर्व्यवहार गरिन्छ;
पत्रुसले येशूलाई तीन पटक इन्कार गर्छन्
शुक्रबार बिहान झिसमिसे उज्यालोमा येशू फेरि महासभाअघि देखा पर्नुहुन्छ; १२१ देखि १२४
पिलातसकहाँ लगिन्छ; हेरोदकहाँ पठाइन्छ; फेरि पिलातसकहाँ नै फर्काइन्छ;
येशूलाई कोर्रा लगाइन्छ, अपमान र कुटपिट गरिन्छ;
मानिसहरूको दबाउले गर्दा पिलातसले प्राणदण्ड दिन सुम्पिदिन्छ;
अपराह्नको समयमा प्राणदण्डको निम्ति गोलगथा लगिन्छ
मध्यदिनदेखि अपराह्नसम्म मध्याह्न हुन केही अघि क्रूसमा टाँगिन्छ; १२५, १२६
येशूको मृत्यु हुँदा लगभग तीन घण्टासम्म दिउँसै अन्धकार हुन्छ; भयंकर भूकम्प जान्छ;
मन्दिरको पर्दा दुई फ्याक भएर च्यात्तिन्छ
साँझपख येशूको शरीरलाई विश्राम दिन सुरु हुनुअघि नै बगैंचाको चिहानमा गाडिन्छ १२७, अनु. १-७
१५ शुक्रबार साँझ विश्राम दिन सुरु हुन्छ
शनिबार पिलातसले येशूको चिहानको निम्ति पाले पठाउँछन् १२७, अनु. ८,९
१६ आइतबार बिहान येशूको चिहान रित्तो भेटिन्छ; पुनरुत्थान हुनुभएको येशू निम्न चेलाहरूको सामु देखा पर्नुहुन्छ १२७, अनु. १० देखि १२९ को अनु. १० सम्म
(१) सालोम, योआन्ना र याकूबकी आमा मरियमलगायत महिला चेलाहरूको समूह; (२) मरियम मग्दलिनी;
(३) क्लिओपास र साथीहरू; (४) शिमोन पत्रुस; (५) प्रेरितहरू र अन्य चेलाहरू
[फुटनोट]
b यहाँ दिइएका संख्याहरूले आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तकको अध्यायहरूलाई देखाउँछन्। येशूको अन्तिम सेवकाईको शास्त्रीय जानकारी भएको विवरणपद हेर्नको निम्ति “सम्पूर्ण धर्मशास्त्र परमेश्वरबाट प्रेरित र लाभदायी छ” (अंग्रेजी) पुस्तकको पृष्ठ २९० हेर्नुहोस्। यी पुस्तकहरू वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित भएका हुन्।