प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ६/१ pp. १४-१९
  • “विश्‍वासको निम्ति उत्कटसाथ लड”!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “विश्‍वासको निम्ति उत्कटसाथ लड”!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अनैतिकताको प्रतिरोध गर्नुहोस्‌
  • परमेश्‍वरद्वारा नियुक्‍त अख्तियारको आदर गर्नुहोस्‌
  • “आफैलाई परमेश्‍वरको प्रेममा राखिछोड़”
  • विश्‍वासमा रहिरहन हामीले अझ परिश्रम गरेर लड्‌नुपर्छ
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • धर्मत्यागीहरू देखि होसियार!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • झूटा शिक्षकहरूदेखि होशियार!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • यूहन्‍ना र यहूदाको पत्रका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ६/१ pp. १४-१९

“विश्‍वासको निम्ति उत्कटसाथ लड”!

“पवित्र जनहरूलाई सधैंको निम्ति दिएको त्यो विश्‍वासको निम्ति उत्कटसाथ कम्मर कस [ “लड,” NW]।”—यहूदा ३.

१. आज कुन अर्थमा साँचो मसीहीहरू युद्धमा मुछिएका छन्‌?

रणभूमिमा उत्रेका सिपाहीहरूको जीवन असाध्यै कठिन हुन्छ। युद्धका सारा हातहतियारहरू बोकेर घामपानी नभनी कैयौं किलोमिटर कदममा कदम मिलाएर हिंड्‌नु, हातहतियार चलाउने कठोर तालिम लिनु वा ज्यानै गुम्नसक्ने या अंगभंग हुनसक्ने अनेकन्‌ परिस्थितिहरू भएर गुज्रनु सजिलो कुरा होइन। साँचो मसीहीहरू राष्ट्र राष्ट्रबीचको युद्धमा भाग लिंदैनन्‌। (यशैया २:२-४; यूहन्‍ना १७:१४) तैपनि, हामी सबै आध्यात्मिक युद्धमा मुछिएका छौं भनेर चाहिं कहिल्यै बिर्सनु हुँदैन। येशू ख्रीष्ट र उहाँका अनुयायीहरूलाई शैतान पटक्कै मन पराउँदैन। (प्रकाश १२:१७) अतः साँच्चै भन्‍ने हो भने, यहोवा परमेश्‍वरको सेवा गर्न रोज्नेहरू सबै जना आध्यात्मिक युद्ध लड्‌ने पल्टनमा स्वतः भर्ती हुन्छन्‌।—२ कोरिन्थी १०:४.

२. यहूदा मसीही युद्धलाई कसरी वर्णन गर्छन्‌ र तिनको पत्रले यो युद्धको सामना गर्न कसरी मदत गर्छ?

२ येशूका सौतेनी भाइ यहूदाले अति उपयुक्‍त ढंगमा यस्तो लेखे: “हे प्रिय हो, तिमीहरूलाई हाम्रो सहभागी भएको उद्धारको विषयमा लेख्नालाई मैले हर तरहले प्रयत्न गर्दै थिएँ, तर पवित्र जनहरूलाई सधैंको निम्ति दिएको त्यो विश्‍वासको निम्ति उत्कटसाथ कम्मर कस [ “लड,” NW] भनेर हो। तिमीहरूलाई यस कुराको अर्ती दिएर लेख्न मलाई आवश्‍यक पऱ्‍यो।” (यहूदा ३) यहूदा मसीहीहरूलाई “उत्कटसाथ लड” भनेर आग्रह गर्दा “पीडा”-सँग सम्बन्धित शब्द चलाउँछन्‌। हो, यो संघर्ष कठिन मात्र होइन पीडादायीसमेत हुनसक्छ! के तपाईंलाई आध्यात्मिक युद्ध लडिरहन कहिलेकाहीं गाह्रो लाग्छ? यदि लाग्छ भने, यहूदाको छोटो तर प्रभावशाली पत्रले मदत गर्नसक्छ। यसले हामीलाई अनैतिकताको प्रतिरोध गर्न, परमेश्‍वरद्वारा नियुक्‍त अख्तियारको आदर गर्न र परमेश्‍वरको प्रेममा रहन आग्रह गर्छ। यो सल्लाह कसरी जीवनमा उतार्न सकिन्छ, आउनुहोस्‌ विचार गरौं।

अनैतिकताको प्रतिरोध गर्नुहोस्‌

३. यहूदाको समयमा मसीही मण्डली कुन आपत्‌कालीन परिस्थितिको चपेटमा परेको थियो?

३ यहूदाले त्यतिबेलाका कोही कोही मसीहीहरू शैतानसितको युद्धमा विजयी हुन नसकिरहेका देखे। बगाल आपत्‌कालीन परिस्थितिको चपेटमा परेको थियो। भ्रष्ट मानिसहरू “भित्र घुसेका छन्‌” यहूदा लेख्छन्‌। यी मानिसहरूले चालै नपाउनेगरि अनैतिकतालाई प्रोत्साहन दिइरहेका थिए। अनि चतुऱ्‍याइँसाथ “परमेश्‍वरको अनुग्रहलाई लुच्च्याइँमा फिरा[एर]” आफ्ना कर्तुत ठिकै छ भन्‍ने भान पारिरहेका थिए। (यहूदा ४) सायद, प्राचीन समयका केही नस्टीकहरूले गरेजस्तै तिनीहरूले पनि जति धेरै पाप गऱ्‍यो, उति नै परमेश्‍वरको अनुग्रह प्राप्त हुन्छ भन्‍ने तर्क गरे होलान्‌। अतः तिनीहरूका विचारमा जति धेरै पाप गऱ्‍यो उति फाइदाको कुरा थियो! अथवा दयालु परमेश्‍वरले पनि सजाय दिनुहुन्छ र? भन्‍ने विचार राखे होलान्‌। जेसुकै होस्‌, तिनीहरूको विचार गलत थियो।—१ कोरिन्थी ३:१९.

४. बितेका समयमा यहोवाले गर्नुभएका न्यायका कुन तीन धर्मशास्त्रीय उदाहरणहरू यहूदा उल्लेख गर्छन्‌?

४ यहूदा, तिनीहरूका दुष्ट तर्कहरूको खण्डन गर्न यहोवाले बितेको समयमा न्याय गर्नुभएको तीनवटा उदाहरण उल्लेख गर्छन्‌। ती हुन्‌: “विश्‍वास नगर्ने” इस्राएलीहरूको न्याय; स्त्रीहरूसँग पाप गर्न “आफ्ना घर-बार छोड़ने स्वर्गदूतहरू[को]” न्याय अनि “व्यभिचारमा परेर बिरानो शरीरको पछि लागेका” सदोम र गमोराका मानिसहरूको न्याय। (यहूदा ५-७; उत्पत्ति ६:२-४; १९:४-२५; गन्ती १४:३५) यहोवाले यी तीनै खेप पापीहरूको कडा न्याय गर्नुभयो।

५. यहूदाले कुन प्राचीन अगमवक्‍ताको भविष्यवाणी उद्धृत गर्छन्‌ र त्यो निश्‍चय नै पूरा हुनेछ भनी उक्‍त भविष्यवाणीले कसरी औंल्यायो?

५ पछि, त्योभन्दा पनि ठूलो न्यायबारे यहूदा उल्लेख गर्छन्‌। प्रेरित धर्मशास्त्रमा कतै नपाइने हनोकको भविष्यवाणी तिनी उद्धरण गर्छन्‌।a (यहूदा १४, १५) यहोवाले सबै अधर्मी र तिनीहरूका सबै अधर्म कामहरूको न्याय गर्नुहुने समयबारे हनोकले भविष्यवाणी गरेका थिए। चाखलाग्दो कुरा के छ भने, हनोकले भूतकाल प्रयोग गर्दै ती कुरा भनेका थिए। किनकि परमेश्‍वरको न्याय यति अचूक छन्‌ कि पूरा हुन अगावै हामीले पूरा भइसके बराबर सम्झे हुन्छ। मानिसहरूले हनोक अनि पछि नूहको हाँसो उडाए होलान्‌ तर तिनीहरू सबै विश्‍वव्यापी जलप्रलयमा स्वाहा भए।

६. (क) यहूदाका समयका मसीहीहरूलाई कुन कुरा स्मरण गराउन आवश्‍यक परेको थियो? (ख) यहूदाले दिएका सम्झौटाहरू किन मनमा लिनुपर्छ?

६ यहूदाले यी ईश्‍वरीय न्यायबारे किन लेखे? किनकि त्यतिखेर मसीही मण्डलीसँग संगत गर्ने कुनै कुनै मानिसहरूले विगतमा परमेश्‍वरको न्यायदण्ड निम्त्याउनेहरूले जत्तिकै घृणित अनि निन्दित पाप गरिरहेका थिए भनी तिनलाई थाह थियो। तसर्थ, मण्डलीहरूलाई केही आधारभूत आध्यात्मिक सच्चाइको स्मरण गराउन आवश्‍यक छ भनेर यहूदा लेख्छन्‌। (यहूदा ५) स्पष्टतः तिनीहरूका सबै कामहरू यहोवाले देख्नुभइरहेको थियो भन्‍ने कुरा तिनीहरूले बिर्से। हो, आफ्ना सेवकहरूले जानाजानी नियमहरू उल्लंघन गरेर आफैलाई र अरूलाई अपवित्र तुल्याउँदा उहाँ देख्नुहुन्छ। (हितोपदेश १५:३) यस्ता कामहरूले उहाँलाई असाध्यै दुःखी तुल्याउँछन्‌। (उत्पत्ति ६:६; भजन ७८:४०) भुसुने मानवहरूले ब्रह्‍माण्डका सार्वभौम प्रभुको भावनामा असर पुऱ्‍याउनसक्छन्‌ भन्‍ने विचार मात्र पनि भयावह छ। उहाँ हर दिन हामीलाई नियाल्नुहुन्छ। अनि जब हामी उहाँका पुत्र येशू ख्रीष्टको पदचिह्न पछ्याउने यथाशक्य कोसिस गर्छौं, तब हाम्रो व्यवहार देखेर उहाँ प्रसन्‍न हुनुहुन्छ। अतः यहूदाले दिएको जस्तो सम्झौटाहरूप्रति कहिल्यै असन्तोष प्रकट नगरौं, बरु ती पालन गरौं।—हितोपदेश २७:११; १ पत्रुस २:२१.

७. (क) गम्भीर गल्ती गर्नेहरूले तुरुन्तै मदत खोज्नु किन नितान्त आवश्‍यक छ? (ख) हामी कसरी अनैतिकतादेखि बच्नसक्छौं?

७ यहोवा हेरेर मात्र बस्नुहुन्‍न काम पनि गर्नुहुन्छ। न्यायको परमेश्‍वर हुनुभएकोले आफ्नो समयमा उहाँले दुष्कर्मीहरूलाई सजाय दिनुहुन्छ। (१ तिमोथी ५:२४) उहाँले बितेको समयमा पो न्याय गर्नुहुन्थ्यो, अहिले हामीले गरेका दुष्कर्महरूलाई के वास्ता गर्नुहुन्छ र? भन्‍नेहरू मूर्खहरू हुन्‌। आज अनैतिकतामा फस्नेहरूले तुरुन्त मसीही प्राचीनहरूको मदत माग्नु कत्ति महत्त्वपूर्ण छ! (याकूब ५:१४, १५) अनैतिकताले हाम्रो आध्यात्मिक लडन्तमा पुऱ्‍याउनसक्ने आँच सम्झेर हामी सबै गम्भीर हुनुपर्ने हो। हरेक वर्ष नोक्सानी भइरहेको छ। मतलब, हाम्रो बीचबाट थुप्रै मानिसहरू निष्कासित हुनुपरिरहेको छ। प्रायजसो बहिष्कृत हुनेहरूमध्ये धेरैजसो अनैतिक काम गरेर पश्‍चात्ताप नगर्नेहरू नै हुन्छन्‌। अतः अनैतिकतातर्फ धकेल्ने जुनसुकै प्रलोभनहरूको प्रतिरोध गर्न हामी दृढ हुनैपर्छ।—मत्ती २६:४१ तुलना गर्नुहोस्‌।

परमेश्‍वरद्वारा नियुक्‍त अख्तियारको आदर गर्नुहोस्‌

८. यहूदा ८ मा उल्लिखित “उच्च पदाधिकारीहरू” को हुन्‌?

८ यहूदाले उल्लेख गरेको अर्को समस्या, परमेश्‍वरद्वारा नियुक्‍त अख्तियारको आदर नगर्नु हो। उदाहरणका लागि, पद ८ मा माथि उल्लिखित दुष्ट पुरुषहरूलाई तिनी ‘उच्च पदाधिकारीहरूको निन्दा गरेको’ अभियोग लगाउँछन्‌। यी “उच्च पदाधिकारीहरू” को थिए त? तिनीहरू असिद्ध मानिसहरू नै थिए तर यहोवाको पवित्र आत्माले तिनीहरूलाई जिम्मेवारीहरू सुम्पेको थियो। उदाहरणका लागि, मण्डलीहरूमा प्राचीनहरू थिए जसलाई परमेश्‍वरको बगाल चराउने जिम्मेवारी दिइएको थियो। (१ पत्रुस ५:२) प्रेरित पावलजस्ता परिभ्रमण निरीक्षकहरू पनि थिए। अनि यरूशलेममा सम्पूर्ण मसीही मण्डलीमा लागू हुने निर्णयहरू गर्ने प्राचीनहरूको निकाय थियो, जसले परिचालक निकायको हैसियतमा काम गर्थ्यो। (प्रेरित १५:६) मण्डलीका कसै कसैले यी मानिसहरूको निन्दा वा आलोचना गरेका हुनाले यहूदा साह्रै चिन्तित थिए।

९. यहूदाले अख्तियार अनादर गर्ने सन्दर्भमा कुन उदाहरणहरू उद्धरण गर्छन्‌?

९ तिनीहरूको यस्तो अनादरपूर्ण बोलीको भर्त्सना गर्न पद ११ मा यहूदा अरू तीनवटा उदाहरणहरू सम्झौटास्वरूप उल्लेख गर्छन्‌। ती हुन्‌—कयिन, बिलाम र कोरह। कयिनले यहोवाको मायालु सल्लाह बेवास्ता गरेर जानाजानी हिंसात्मक घृणाको बाटो पछ्याए। (उत्पत्ति ४:४-८) बिलामले बारम्बार चेताउनी पाउँदा त्यो अलौकिक स्रोतबाटै आएको हो भन्‍ने प्रष्टै थियो। यहाँसम्म कि तिनकै गधैनीसमेत बोली! तर बिलामले स्वार्थी भएर परमेश्‍वरका जनहरूको विरुद्धमा षड्यन्त्र गर्न छोडेनन्‌। (गन्ती २२:२८, ३२-३४; व्यवस्था २३:५) कोरहले जिम्मेवारी नपाएका होइनन्‌ तर तिनी त्यतिमै सन्तुष्ट भएनन्‌। तिनले पृथ्वीभरिका सबैभन्दा विनम्र व्यक्‍ति मोशा विरुद्ध विद्रोह सुरु गरे।—गन्ती १२:३; १६:१-३, ३२.

१०. आज कोही कोही ‘उच्च पदाधिकारीहरूको निन्दा गर्ने’ पासोमा कसरी फस्छन्‌ र निन्दा गर्नदेखि किन परै रहनुपर्छ?

१० यहोवाले जिम्मेवारी सुम्पनुभएका मानिसहरूको सल्लाह सुन्‍नु अनि तिनीहरूको आदर गर्नुपर्छ भनेर उक्‍त उदाहरणहरूले कत्ति स्पष्टसित सिकाउँछन्‌! (हिब्रू १३:१७) नियुक्‍त प्राचीनहरूको गल्ती सजिलै खोज्न सकिन्छ किनकि तिनीहरू पनि हामीजस्तै असिद्ध छन्‌। तर तिनीहरूको गल्तीमा मात्र ध्यान दिइरह्‍यौं र तिनीहरूलाई कम आदर गऱ्‍यौं भने के “उच्च पदाधिकारीहरूको निन्दा” गरिरहेका हुनेछैनौं? पद १० मा यहूदा “आफूले जान्दै नजानेका कुराहरूमा निन्दा” गर्नेहरूको उल्लेख गर्छन्‌। कहिलेकाहीं कसै कसैले प्राचीनहरूको निकाय वा न्यायिक समितिले गरेका निर्णयहरूको आलोचना गर्छन्‌। यद्यपि, प्राचीनहरूले निर्णय गर्नका लागि विचार गर्नुपरेका सम्पूर्ण कुराहरू तिनीहरूलाई थाहै हुँदैन। अतः आफूलाई थाहै नभएको कुराको किन निन्दा गर्ने? (हितोपदेश १८:१३) यस्तो नकारात्मक कुरा गर्नेहरूले मण्डलीमा विभाजन ल्याउनुका साथै तिनीहरू सँगी मसीहीहरू जमघट भएका ठाउँहरूमा “पानी मुनि लुकेका चट्टान” सरह खतरनाक साबित हुनसक्छन्‌। (यहूदा १२, १६, १९, NW) हामीले अरूलाई आध्यात्मिक खतरामा पार्न कदापि चाहनु नपर्ने हो। त्यसकारण, बरु परमेश्‍वरको बगालको निम्ति लागिपर्ने र कडा मेहनत गर्ने जिम्मेवार मानिसहरूको मूल्यांकन गर्ने संकल्प गरौं।—१ तिमोथी ५:१७.

११. माइकलले शैतानलाई किन निन्दित दोष लगाएनन्‌?

११ नियुक्‍त अख्तियारको आदर गर्ने एक जनाको उदाहरण यहूदा उल्लेख गर्छन्‌। तिनी लेख्छन्‌: “प्रधान दूत माइकलले मोशाको लाशको विषयमा शैतानसँग विवाद गर्दा त्यसमाथि निन्दित दोष लाउन साहस नगरी, ‘तँलाई प्रभुले हप्काउनुहुन्छ’ भनेथे।” (यहूदा ९) प्रेरित धर्मशास्त्रमा यहूदाबाहेक अरू कसैले रेकर्ड नगरेको उक्‍त रोमाञ्चकारी विवरणले दुइटा सुस्पष्ट पाठ सिकाउँछ। यसले न्याय गर्ने काम यहोवाको हातमा सुम्पिन सिकाउँछ। स्पष्टतः झूटो उपासनालाई प्रोत्साहन दिन शैतानले विश्‍वासी पुरुष मोशाको लाश दुरुपयोग गर्न चाहन्थ्यो। कत्ति दुष्ट! यद्यपि, विनम्र भई माइकल न्याय गर्नबाट अलग रहनुभयो किनकि यहोवासँग मात्र त्यो अख्तियार थियो। तसर्थ, यहोवाको सेवा गर्न कोसिस गर्ने मानिसहरूको न्याय गर्नबाट हामी परै रहनुपर्छ।

१२. मसीही मण्डलीमा जिम्मेवारी वहन गर्नेहरूले माइकलको उदाहरणबाट के सिक्नसक्छन्‌?

१२ अर्कोतिर, मण्डलीमा अख्तियार पाउनेहरूले पनि माइकलबाट पाठ सिक्नसक्छन्‌। माइकल “प्रधान दूत” अर्थात्‌ दूतहरूमध्ये प्रमुख हुनुभए तापनि रिस उठ्‌दासमेत उहाँले आफ्नो अख्तियार दुरुपयोग गर्नुभएन। आफ्नो अख्तियार दुरुपयोग गर्नु यहोवाको सार्वभौमिकताको अनादर गर्नु हो भन्‍ने बुझेर विश्‍वासी प्राचीनहरू उक्‍त उदाहरण पछ्याउँछन्‌। यहूदाको पत्रले मण्डलीमा आदरयोग्य स्थानमा रहेर अख्तियार दुरुपयोग गर्नेहरूबारे थुप्रै कुरा बताउँछ। उदाहरणका लागि, पद १२ देखि १४ मा यहूदा “निष्फिक्रीसँग आफ्नै पेट भर्ने गोठालाहरू[को]” घोर भर्त्सना गर्छन्‌। (इजकिएल ३४:७-१० तुलना गर्नुहोस्‌।) अर्को शब्दमा भन्‍ने हो भने तिनीहरूको मुख्य चासो यहोवाको बगाल होइन आफ्नै स्वार्थ पूरा गर्नु थियो। यस्ता नकारात्मक उदाहरणहरूबाट आज प्राचीनहरूले धेरै कुरा सिक्नसक्छन्‌। वास्तवमा, यहूदाले यहाँ चलाएका शब्दहरूले हामी कस्तो मानिस हुन चाहँदैनौं, त्यसको ससक्‍त चित्रण गर्छ। हामी स्वार्थको दलदलमा धसियौं भने ख्रीष्टको सिपाही हुन सक्दैनौं; व्यक्‍तिगत चासोमा चुर्लुम्म डुब्छौं। यसको विपरीत, हामी येशूका शब्दअनुसार जीवन बिताऔं: “लिनुभन्दा दिनु अझ असल हो।”—प्रेरित २०:३५.

“आफैलाई परमेश्‍वरको प्रेममा राखिछोड़”

१३. हामी सबैले परमेश्‍वरको प्रेममा रहने उत्कट इच्छा किन राख्नुपर्छ?

१३ पत्रको अन्ततिर यहूदा यस्तो हृदयस्पर्शी सल्लाह दिन्छन्‌: “आफैलाई परमेश्‍वरको प्रेममा राखिछोड़।” (यहूदा २१) हामीलाई मसीही युद्ध लड्‌न असाध्यै मदत गर्ने एउटै कुरा छ। त्यो हो, यहोवाको प्रेममा रहनु। आखिर, प्रेम यहोवाको प्रमुख गुन पनि हो। (१ यूहन्‍ना ४:८) पावलले रोमका मसीहीहरूलाई यसरी लेखे: “म यो निश्‍चय जान्दछु, कि नता मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न प्रधानताहरूले, न वर्तमानको कुराहरूले, न पछि हुने कुराहरूले, न शक्‍तिहरूले, न उँचाइले, न गहराइले, न अरू कुनै सृष्टिले हाम्रा प्रभु ख्रीष्ट येशूमा भएको परमेश्‍वरको प्रेमबाट हामीलाई अलग गर्नसक्नेछ।” (रोमी ८:३८, ३९) तर यो प्रेममा रहने कसरी? यहूदाले बताएअनुसार हामीले अपनाउन सक्ने तीन तरिकालाई ध्यान दिनुहोस्‌।

१४, १५. (क) “अति पवित्र विश्‍वासमा” बनिरहनुको अर्थ के हो? (ख) आफ्नो आध्यात्मिक हातहतियार कस्तो अवस्थामा छ भनेर हामी कसरी जाँच्नसक्छौं?

१४ प्रथमतः यहूदा हामीलाई आफ्नो “पवित्र विश्‍वासमा” उन्‍नति गर्ने आग्रह गर्छन्‌। (यहूदा २०) हामीले यसअघिको लेखमा छलफल गरेझैं यस्तो उन्‍नति गर्नु भनेको सधैं चलिरहने प्रक्रिया हो। हामी त्यो भवनजस्तै हौं जसलाई हावापानीबाट जोगाउन बलियो बनाइराख्नुपर्ने हुन्छ। (मत्ती ७:२४, २५ तुलना गर्नुहोस्‌।) तसर्थ, कहिल्यै अनावश्‍यक रूपमा विश्‍वस्त नहोऔं। बरु, विश्‍वासको जग अझ बलियो बनाउने, अझ बलियो हुने अनि ख्रीष्टको अझ विश्‍वासी सिपाही हुनसक्ने बाटो खोजौं। उदाहरणका लागि, हामी एफिसी ६:११-१८ मा उल्लिखित आध्यात्मिक हातहतियारलाई विचार गर्नसक्छौं।

१५ हाम्रो आध्यात्मिक हातहतियार कस्ता छन्‌? के हाम्रो “विश्‍वासको ढाल” भनेजस्तो बलिया छन्‌? हालासालै सभाहरूमा कम उपस्थित हुन थालेको, सेवकाईमा जोस सेलाउँदै गएको वा व्यक्‍तिगत अध्ययनप्रतिको उत्साह घट्‌दै गएका लक्षणहरू देखा परेका छन्‌ कि? यस्ता लक्षणहरू खतरनाक छन्‌! अतः अहिल्यै सच्चाइमा प्रगति गर्दै बलियो हुन आवश्‍यक कदम चाल्नु जरुरी छ।—१ तिमोथी ४:१५; २ तिमोथी ४:२; हिब्रू १०:२४, २५.

१६. पवित्र आत्मामा प्रार्थना गर्नुको अर्थ के हो र हामीले यहोवासँग बारम्बार मागिरहनुपर्ने एउटा कुरा के हो?

१६ परमेश्‍वरको प्रेममा रहने दोस्रो तरिका खुरन्धार ‘पवित्र आत्मामा प्रार्थना गर्नु’ हो। (यहूदा २०) यसको मतलब यहोवाको आत्माको प्रभावमा र उहाँको आत्माप्रेरित वचनअनुरूप प्रार्थना गर्नु हो। प्रार्थना, व्यक्‍तिगत रूपमा यहोवासित घनिष्ठ हुने अनि उहाँप्रति हाम्रो भक्‍ति प्रकट गर्ने महत्त्वपूर्ण माध्यम हो। हामीले कहिल्यै यो अद्‌भुत विशेषाधिकारलाई हेलचेक्य्राइँ गर्नु हुँदैन! अनि प्रार्थना गर्दा एक पटक होइन बारम्बार पवित्र आत्मा मागिरहनसक्छौं। (लूका ११:१३) हामीले पाउनसक्ने बलहरूमध्ये यो सबैभन्दा शक्‍तिशाली बल हो। यस्तो मदत पाएर हामी सधैं परमेश्‍वरको प्रेममा रहन अनि ख्रीष्टको सिपाहीको हैसियतमा स्थिर बस्नसक्छौं।

१७. (क) दया देखाउने सन्दर्भमा यहूदाको उदाहरण किन उल्लेखनीय छ? (ख) हामी सबैले कसरी दया देखाइरहनसक्छौं?

१७ तेस्रो, यहूदा हामीलाई दया देखाइरहन आग्रह गर्छन्‌। (यहूदा २२) दया देखाउने सन्दर्भमा स्वयं तिनको उदाहरण उल्लेखनीय छ। नहोस्‌ पनि किन, आखिर मसीही मण्डलीमा बिस्तारै बिस्तारै फस्टाउँदै गइरहेको भ्रष्टाचार, अनैतिकता र धर्मत्याग देखेर तिनी बेकारमा विचलित भएका थिएनन्‌। यद्यपि, त्यस्तो परिस्थितिमा दयाजस्तो “कोमल” गुन देखाउनु अति जोखिमपूर्ण हुन्छ भन्ठानेर तिनी अत्तालिएनन्‌। बरु, तिनले भाइहरूलाई सम्भव भएसम्म दया देखाउन, अन्योलमा परेकाहरूसँग नम्रतासाथ तर्क गर्न अनि गम्भीर पापको बाटोमा लाग्नेहरूलाई ‘आगोबाट गाँजेर बचाउन’ आग्रह गरे। (यहूदा २३; गलाती ६:१) यो संकटग्रस्त समयका प्राचीनहरूका लागि कत्ति राम्रो प्रोत्साहन! तिनीहरू पनि सम्भव होउञ्जेल दया देखाउने कोसिस गर्छन्‌ तर आवश्‍यक परेको खण्डमा दृढ पनि हुन्छन्‌। त्यसैगरि, हामी पनि आपसमा दया देखाउन चाहन्छौं। उदाहरणका लागि, सानोतिनो कुरामा ईबी राख्नुको साटो प्रशस्त क्षमा देखाउनसक्छौं।—कलस्सी ३:१३.

१८. आध्यात्मिक युद्धमा हामी विजयी हुनेछौं भनेर कसरी निश्‍चित हुनसक्छौं?

१८ हामीले लड्‌नुपर्ने युद्ध सजिलो छैन। यो यहूदाले भनेजस्तै ‘उत्कट लडन्त’ हो। (यहूदा ३) हाम्रा शत्रुहरू शक्‍तिशाली छन्‌। शैतान मात्र होइन त्यसको दुष्ट संसार अनि हाम्रो आफ्नै असिद्धता हाम्रो विरुद्ध मोर्चा बाँधेर बसेका छन्‌। तैपनि, हामी विजयी हुन्छौं भनेर निश्‍चित हुनसक्छौं! किन? किनकि हामी यहोवाको पक्षमा छौं। यहोवा “महिमा, वैभव, पराक्रम र शक्‍ति सनातनदेखि अहिले र सदा सर्वदासम्म” पाउन योग्यको हुनुहुन्छ भनेर स्मरण गराउँदै यहूदा आफ्नो पत्र टुंग्याउँछन्‌। (यहूदा २५) के यो अति प्रभावशाली कुरा होइन र? अतः अब के त्यही परमेश्‍वरले “[तपाईं]हरूलाई लोट्‌नबाट रक्षा गर्न” सक्नुहुन्छ भनेर शंका गर्नुपर्ने कुनै ठाउँ छ? (यहूदा २४) अहँ, पटक्कै छैन! त्यसकारण आउनुहोस्‌, हामी सबैले अनैतिकताको प्रतिरोध गर्ने, परमेश्‍वरद्वारा नियुक्‍त अख्तियारको आदर गर्ने अनि परमेश्‍वरको प्रेममा रहने दृढ संकल्प गरौं। यसो गऱ्‍यौं भने हामी सबैले गौरवमय विजय हासिल गर्नेछौं।

[फुटनोट]

a यहूदाले अप्रामाणिक हनोकको पुस्तक-बाट (अंग्रेजी) उद्धरण गरेका हुन्‌ भन्‍ने केही अनुसन्धानकर्ताहरूको भनाइ छ। तथापि, आर. सि. एच. लेन्सकी टिप्पणी गर्छन्‌: “हामी प्रश्‍न गर्छौं: ‘अरूसित मेल नखाने हनोकको पुस्तक-को स्रोत के हो?’ यो पुस्तक पछि थपिएको हो अनि यसका विभिन्‍न भागहरू कहिले लेखिए, कोही पनि निश्‍चित छैन। यसका कतिपय अभिव्यक्‍तिहरू यहूदाको पुस्तकबाटै लिइएका हुन्‌ वा होइनन्‌ शायद त्यसबारे पनि कोही निश्‍चित हुनसक्दैन।”

पुनरावलोकनका लागि प्रश्‍नहरू

◻ यहूदाको पत्रले कसरी अनैतिकताको प्रतिरोध गर्न सिकाउँछ?

◻ परमेश्‍वरद्वारा नियुक्‍त अख्तियारको आदर गर्न किन अति महत्त्वपूर्ण छ?

◻ मण्डलीमा पाएको अख्तियार दुरुपयोग गर्नु किन असाध्यै गम्भीर कुरा हो?

◻ परमेश्‍वरको प्रेममा रहन कसरी प्रयत्न गर्नसक्छौं?

[पृष्ठ १५-मा भएको चित्र]

रोमी सिपाहीहरूजस्तो नभएर मसीहीहरू आध्यात्मिक युद्ध लड्‌छन्‌

[पृष्ठ १८-मा भएको चित्र]

मसीही गोठालाहरू स्वार्थले होइन प्रेमले सेवा गर्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने