प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 १२/१ pp. ९-१४
  • एपोक्यालिप्सको “सुसमाचार”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एपोक्यालिप्सको “सुसमाचार”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • प्रकाशको पुस्तकका पाठकहरू हो, रमाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • प्रकाशको पुस्तक—यसको अर्थ के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • प्रकाश—त्यसको आनन्दमय चरमोत्कर्ष!
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • प्रकाशको पुस्तक र तपाईं
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 १२/१ pp. ९-१४

एपोक्यालिप्सको “सुसमाचार”

“पृथ्वीमा रहनेहरू[लाई] . . . घोषणा गर्ने अनन्त सुसमाचार साथमा भएका एउटा दूत स्वर्गको बीचमा उड़िरहेको देखें।”—प्रकाश १४:६.

१. यहोवाका साक्षीहरूले एपोक्यालिप्सको पुस्तक परमेश्‍वरद्वारा प्रेरित भएको हो भनेर विश्‍वास गरे तापनि तिनीहरू किन “एपोक्यालिप्टीक सेक्ट” होइनन्‌?

यहोवाका साक्षीहरूलाई आरोप लगाइए जस्तो तिनीहरू “एपोक्यालिप्टीक सेक्ट” वा “डुम्सडे कल्ट” होइनन्‌। तथापि, तिनीहरू एपोक्यालिप्स वा प्रकाशको पुस्तकलाई परमेश्‍वरको प्रेरित वचनको एउटा भाग हो भनी स्वीकार्छन्‌। हो, प्रकाशको पुस्तकमा दुष्टहरूको न्याय हुनेछ भन्‍ने सन्देश छ। तर जन साक्षीकार्यमा परमेश्‍वरका सेवकहरू मुख्यतया एपोक्यालिप्स वा प्रकाशको पुस्तकलगायत बाइबलका अन्य ठाउँमा उल्लिखित अद्‌भुत आशामा ध्यान केन्द्रित गर्छन्‌। तसर्थ, तिनीहरू भविष्यसूचक शब्दहरू थपघट गर्दैनन्‌।—प्रकाश २२:१८, १९.

सुसमाचारका उद्‌घोषकहरू

२. यहोवाका साक्षीहरूले आफ्नो प्रचारकार्यमा अक्सर प्रयोग गर्ने केही शास्त्रपदहरू कुन कुन हुन्‌?

२ यहोवाका साक्षीहरूको जन सेवकाईको लागि अक्सर उल्लेख गरिने एउटा धर्मशास्त्रीय आधार येशूका यी शब्दहरू हुन्‌: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (मत्ती २४:१४) “राज्यको यो सुसमाचार” के हो? यसको जवाफमा थुप्रै साक्षीहरूले प्रकाश अध्याय २० र २१ का पदहरू उद्धृत गर्छन्‌। यी पदहरूमा ख्रीष्टको हजार वर्षीय शासन अनि उहाँको राज्यको सरकार र मानव समाजबारे बताइएको छ जहाँ मृत्यु, शोक र पीडा “हुनेछैन।”—प्रकाश २०:६; २१:१, ४.

३. यहोवाका साक्षीहरूको जन सेवकाई कुन कामसित सम्बन्धित छ?

३ यस्तो सुसमाचारका उद्‌घोषकहरूको हैसियतमा यहोवाका साक्षीहरू साँच्चै प्रतीकात्मक स्वर्गीय सन्देशवाहकका प्रवक्‍ताहरू हुन्‌। ती सन्देशवाहकहरूको काम पनि प्रकाशमा उल्लिखित छ। “पृथ्वीमा रहनेहरू हरेक जाति, कुल, भाषा र मानिसहरूलाई घोषणा गर्ने अनन्त सुसमाचार साथमा भएका एउटा दूत स्वर्गको बीचमा उड़िरहेको देखें।” (प्रकाश १४:६) ‘अनन्तको सुसमाचारमा’ “पृथ्वीको राज्य [वा शासन]” “हाम्रा प्रभुको र उहाँका ख्रीष्टको राज्य भएको छ” अनि “पृथ्वीका नष्टकारीहरूलाई नष्ट गर्नालाई” यहोवाको “इन्साफ गर्ने समय” आएको छ भन्‍ने घोषणा समावेश छ। (प्रकाश ११:१५, १७, १८) के यो सुसमाचार होइन र?

प्रकाशको पुस्तकले हामीलाई के बताउँछ

४. (क) प्रकाश अध्याय १ मा कुन आधारभूत सत्य उल्लेख गरिएको छ? (ख) सुसमाचारबाट लाभ उठाउन चाहनेहरूले के गर्नुपर्छ?

४ प्रकाशको पुस्तकको प्रथम अध्यायले यहोवा “अल्फा र ओमेगा . . . जो हुनुहुन्छ जो हुनुहुन्थ्यो र जो हुनआउनुहुने” सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुहुन्छ भनेर बताउँछ। यस अध्यायले उहाँको पुत्र येशू ख्रीष्टलाई “विश्‍वासयोग्य साक्षी,” “मरेकाबाट बिउँतनेहरूमध्ये ज्येष्ठ” अनि “पृथ्वीका राजाहरूका मालिक” भनी चिनाउँछ। यस अध्यायले येशूलाई “हामीलाई प्रेम गर्नहुने, र आफ्नो रगतले हाम्रा पापबाट हामीलाई छुड़ाउनुहुने” भनेर पनि बताउँछ। (प्रकाश १:५, ८) यसरी प्रकाशको पुस्तकले सुरुको अध्यायदेखि नै आधारभूत जीवनदायी सत्यबारे वर्णन गर्छ। यहोवाको सार्वभौमिकता नस्वीकार्ने, येशूले बगाउनुभएको रगतमा विश्‍वास नगर्ने अनि यहोवाले येशूको पुनरुत्थान गर्नुभयो र ख्रीष्ट अहिले परमेश्‍वरद्वारा नियुक्‍त पृथ्वीको शासक हुनुहुन्छ भनी विश्‍वास नगर्ने हो भने “पृथ्वीमा रहनेहरू[ले]” सुसमाचारबाट कुनै लाभ उठाउन सक्नेछैनन्‌।—भजन २:६-८.

५. प्रकाश अध्याय २ र ३ मा येशूको कस्तो भूमिका वर्णन गरिएको छ?

५ दोस्रो र तेस्रो अध्यायले येशूलाई आफ्ना चेलाहरूका मण्डलीहरूको स्वर्गमा हुनुहुने मायालु निरीक्षक भनी चित्रण गर्छ। प्रथम शताब्दीमा एसिया माइनरका सातवटा मण्डलीलाई लेखिएको पुस्तकमा पाइने प्रोत्साहन र ठोस सल्लाह आज पनि उपयोगी छ। ती मण्डलीहरूलाई पठाइएको सन्देशको सुरुमा प्रायः “तिम्रो काम . . . मलाई थाह छ” वा “तिम्रो कष्ट . . . मलाई थाह छ” भनी लेखिएको छ। (प्रकाश २:२, ९) हो, आफ्ना चेलाहरूको मण्डलीमा के के भइरहेको छ भनी ख्रीष्टलाई राम्ररी थाह थियो। उहाँले प्रेम, विश्‍वास, सेवकाईको लागि परिश्रम गर्ने, धीरज राख्ने अनि उहाँ र उहाँको वचनप्रति विश्‍वासी हुनेहरूको प्रशंसा गर्नुभयो। अरू कतिपयलाई चाहिं हप्काउनुभयो किनकि यहोवा र उहाँको पुत्रप्रति तिनीहरूको प्रेम सेलाएको थियो वा यौन अनैतिकता र मूर्तिपूजामा फसेका थिए अथवा धर्मत्यागी भएर तिनीहरूबीच गुटबन्दी थियो।

६. अध्याय ४ को दर्शनले मानिसहरूलाई कुन कुरा बुझ्न मदत गर्छ?

६ अध्याय ४ मा यहोवा परमेश्‍वरको स्वर्गीय सिंहासनको विस्मयकारी दर्शन छ। यो दर्शनले यहोवाको उपस्थितिको महिमा र उहाँले चलाउनुहुने स्वर्गीय शासन प्रणालीको झलक प्रस्तुत गर्छ। स्वर्गको बीचको सिंहासन वरिपरि मुकुट लगाएका शासकहरूको सिंहासनहरू छन्‌। तिनीहरू यहोवालाई दण्डवत्‌ गरेर यस्तो घोषणा गर्छन्‌: “हे हाम्रा प्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंलेनै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती भए, र सृजिए।”—प्रकाश ४:११.

७. (क) दूतले पृथ्वीबासीहरूलाई के गर्न आह्वान गर्छन्‌? (ख) हाम्रो शैक्षिक कार्यको एउटा प्रमुख उद्देश्‍य के हो?

७ के यसले वर्तमान समयका मानिसहरूको लागि कुनै अर्थ राख्छ? अवश्‍य राख्छ। तिनीहरू सहस्र वर्षीय राज्यमा जीवन बिताउन चाहन्छन्‌ भने ‘स्वर्गको बीचमा उड्‌ने दूतको’ यो घोषणा पालन गर्नुपर्छ: “परमेश्‍वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँको ठूलो इन्साफको समय आएको छ।” (प्रकाश १४:६, ७) यहोवाका साक्षीहरूको बाइबल शैक्षिक कार्यको एउटा प्रमुख उद्देश्‍य “पृथ्वीमा रहने” मानिसहरूलाई यहोवालाई चिन्‍न र उहाँको उपासना गर्न, उहाँ नै सृष्टिकर्ता हुनुहुन्छ भनी स्वीकार्न र खुसीसाथ उहाँको धार्मिक सार्वभौमिकताको अधीनमा बस्न मदत गर्नु हो।

आदरयोग्य थुमा

८. (क) अध्याय ५ र ६ मा ख्रीष्टलाई कसरी चित्रण गरिएको छ? (ख) सुसमाचार सुन्‍ने सबै मानिसहरूले यो दर्शनबाट के सिक्नसक्छन्‌?

८ अध्याय ५ र ६ ले येशू ख्रीष्टलाई सातवटा छाप भएको पुस्तक खोल्न योग्यको थुमाको रूपमा चित्रित गर्छ अर्थात्‌ उहाँ हाम्रो समयमा हुने घटनाहरूलाई लाक्षणिक शब्दमा प्रकट गर्नुहुन्छ। (यूहन्‍ना १:२९ तुलना गर्नुहोस्‌।) यो लाक्षणिक थुमाबारे स्वर्गमा यस्तो आवाज सुनिन्छ: “तपाईं त्यो पुस्तक लिने र त्यसका छाप खोल्ने योग्यको हुनुहुन्छ, किनभने तपाईं मारिनुभएको थियो, र तपाईंले आफ्नै रगतले हरेक कुल, भाषा, मानिस र जातिलाई हाम्रा परमेश्‍वरको निम्ति किन्‍नुभयो, औ तिनीहरूलाई हाम्रा परमेश्‍वरको निम्ति राज्य र पूजाहारी हुने तुल्याउनुभयो, तिनीहरूले पृथ्वीमाथि राज्य गर्छन्‌।” (प्रकाश ५:९, १०) ख्रीष्टले बगाउनुभएको रगतको आधारमा विभिन्‍न जातिबाट छानिएका एउटा सीमित संख्या “पृथ्वीमाथि राज्य गर्न” स्वर्गमा बोलाइन्छन्‌ भनेर उक्‍त दर्शनले बताउँछ। (प्रकाश १:५, ६ तुलना गर्नुहोस्‌।) ती मानिसहरूको सीमित संख्या कति हो भनेर प्रकाशको पुस्तकमा पछि प्रकट गरिएको छ।

९. अध्याय ६ मा ख्रीष्टलाई कसरी चित्रण गरिएको छ?

९ यही दर्शनमा येशूलाई “विजय गर्दै र विजय गर्नालाई” निस्केको सेतो घोडसवार भनेर पनि चित्रण गरिएको छ। खुसीको कुरा, एपोक्यालिप्सका अन्य तीन घोडसवारहरूले चित्रण गरेका विपत्तिहरू अर्थात्‌ तिनीहरूका घोडाको बेतोड कुदाइले गर्दा १९१४ को निर्णायक वर्षदेखि मानिसजातिले भोग्नुपरेको युद्ध, अनिकाल र मृत्युलाई उहाँले नामेट गर्नुहुनेछ। (प्रकाश ६:१-८) ख्रीष्ट अर्थात्‌ परमेश्‍वरको थुमाले मानिसजातिको छुटकारा र यहोवाका अद्‌भुत उद्देश्‍यहरू पूरा गर्न निर्वाह गर्नुहुने अनुपम भूमिका नै यहोवाका साक्षीहरूको बाइबल शैक्षिक कार्यको मूल विषय हो।

१०. (क) अध्याय ७ मा कस्तो महत्त्वपूर्ण जानकारी छ? (ख) राज्य पाउनेहरूबारे ख्रीष्टले के भन्‍नुभयो?

१० अध्याय ७ मा साँच्चै सुसमाचार छ। प्रकाशको पुस्तकमा मात्र येशूले भन्‍नुभएको “सानो बगाल[को]” संख्या तोकिएको छ जसलाई पिताले राज्य दिनुहुनेछ। (लूका १२:३२; २२:२८-३०) तिनीहरूलाई यहोवा परमेश्‍वरले आफ्नो पवित्र आत्माद्वारा छाप लगाउनुभएको छ। (२ कोरिन्थी १:२१, २२) प्रकाश पाउने प्रेरित यूहन्‍नाले यसरी पुष्टि गर्छन्‌: “एक लाख चवालीस हजारलाई छाप लाएको मैले सुनें।” (प्रकाश ७:४) यसपछिका अध्यायमा यति जना मानिसहरू थुमासँग स्वर्गको सियोन डाँडामा शासन गर्नलाई “मानिसहरूमध्येबाट किनिएका” हुन्‌ भनेर बताइएको छ। (प्रकाश १४:१-४) मसीहीजगत्‌का चर्चहरूले यो संख्याबारे अस्पष्ट र अपत्यारिलो जानकारी दिए तापनि चाखलाग्दो कुरा के छ भने, बाइबलविद्‌ इ. डब्ल्यु. बुलिंगर भन्छन्‌: “एउटा सरल तथ्य के हो भने, यस अध्यायमा एकातिर निश्‍चित संख्या छ भने अर्कोतिर अनिश्‍चित संख्या छ।”

११. (क) अध्याय ७ मा कस्तो सुसमाचार छ? (ख) “ठूलो भीड[का]” सदस्यहरूका लागि कस्तो आशा छ?

११ बुलिंगरले कस्तो अनिश्‍चित संख्याबारे बताइरहेका थिए? पद ९ मा प्रेरित यूहन्‍नाले यसरी लेखे: “यी कुरापछि हेर, कसैले गन्‍न नसक्ने हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड़ . . . मैले देखें।” (प्रकाश ७:९) ठूलो भीडमा को को छन्‌, अहिले परमेश्‍वरले तिनीहरूलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ अनि तिनीहरूको भविष्य कस्तो छ? एपोक्यालिप्सको पुस्तकको जवाफ पृथ्वीबासीहरूका लागि सुसमाचार हो। यस्तो लेखिएको छ: “यी तिनै हुन्‌ जो महा संकष्टबाट आएका छन्‌, र तिनीहरूले आफ्ना आफ्ना लुगाहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्‌।” ख्रीष्टले बगाउनुभएको रगतमा विश्‍वास गरेर तिनीहरू “महा संकष्टबाट” बच्नेछन्‌। ख्रीष्टले “तिनीहरूलाई जीवनका पानीहरूका फोहोरासम्म अगुवा भएर लानुहुनेछ, र परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।” (प्रकाश ७:१४-१७) हो, आज बाँचिरहेका करोडौं मानिसहरू वर्तमान दुष्ट रीतिरिवाज अन्त हुँदा बच्ने असंख्य ठूलो भीडको भाग हुनसक्छन्‌। सहस्र वर्षीय शासनको दौडान राजा येशू ख्रीष्टका प्रजाहरूको हैसियतमा उहाँले तिनीहरूलाई यसै पृथ्वीमा अनन्त जीवनतर्फ डोऱ्‍याउनुहुनेछ। के यो सुसमाचार होइन त?

“उहाँका इन्साफ सच्चा र धार्मिक हुन्छन्‌”

१२, १३. (क) अध्याय ८ देखि १९ मा के कुरा पाइन्छ? (ख) त्यस्ता भविष्यवाणीहरूको कारण इमानदार हृदय भएका मानिसहरू किन नतर्सिनुपर्ने हो?

१२ अध्याय ८ देखि १९ ले गर्दा नै एपोक्यालिप्स वा प्रकाशको पुस्तकलाई भयावह विपत्तिको भविष्यवाणी भएको पुस्तक हो भनेर चिनिएको हो। त्यसमा शैतानको वर्तमान रीतिरिवाजका विभिन्‍न तत्त्वहरू विरुद्ध (तुरही, विपत्ति र ईश्‍वरीय क्रोधले प्रतीकात्मक रूपमा चित्रित गर्ने) सशक्‍त सन्देशहरू छन्‌। त्यो न्याय सबैभन्दा पहिला झूटो धर्म (महान्‌ बेबिलोन) र त्यसपछि जनावरले चित्रित गर्ने अभक्‍त राजनैतिक प्रणाली विरुद्ध कार्यान्वयन गरिनेछ।—प्रकाश १३:१, २; १७:५-७, १५, १६.a

१३ यी अध्यायहरूले शैतान र त्यसका दूतहरू पृथ्वीमा झारेर स्वर्गलाई सफा बनाइएको छ भनेर बताउँछन्‌। सन्‌ १९१४ देखि यता दुःखकष्टहरू बढ्‌दै जानुको कारणबारे उक्‍त अध्यायहरूले तर्कपूर्ण जवाफ दिन्छन्‌। (प्रकाश १२:७ -१२) उक्‍त अध्यायहरूले यस पृथ्वीमा शैतानको दुष्ट रीतिरिवाजलाई विनाश गरिनेछ भनेर पनि लाक्षणिक भाषामा बताउँछ। (प्रकाश १९:१९-२१) के ती भयावह घटनाहरूको कारण इमानदार हृदय भएका मानिसहरू तर्सिनुपर्ने कारण छ? अहँ छैन किनकि परमेश्‍वरले न्याय गर्नुहुँदा स्वर्गीय फौज यसो भनेर कराउँछन्‌: “हल्लेलूयाह, मुक्‍ति, महिमा र शक्‍ति हाम्रा परमेश्‍वरका हुन्‌। किनकि उहाँका इन्साफ सच्चा र धार्मिक हुन्छन्‌।”—प्रकाश १९:१, २.

१४, १५. (क) वर्तमान दुष्ट रीतिरिवाजको अन्त कसरी धार्मिकतामा गरिनेछ? (ख) एपोक्यालिप्सको यो भाग इमानदार हृदय भएका मानिसहरूका लागि किन आनन्दको कारण हो?

१४ यहोवाले पृथ्वीका नष्टकारीहरूलाई नहटाई धार्मिक रीतिरिवाज ल्याउनुहुन्‍न। (प्रकाश ११:१७, १८; १९:११-१६; २०:१, २) तथापि, कुनै पनि मानव वा राजनैतिक राज्यले यसो गर्न सक्दैन। यहोवा अनि उहाँले नियुक्‍त गर्नुभएको राजा एवम्‌ न्यायाधीश येशू ख्रीष्टले धार्मिकतामा यसो गर्न सक्नुहुन्छ।—२ थिस्सलोनिकी १:६-९.

१५ यहोवाले वर्तमान दुष्ट रीतिरिवाज अन्त गर्ने उद्देश्‍य राख्नुभएको छ भनेर एपोक्यालिप्सले स्पष्टसित बताउँछ। “सबै घिनलाग्दा कामहरू देखेर शोक र विलाप गर्ने” पुरुष तथा स्त्रीहरूका लागि यो आनन्दको कुरा हो। (इजकिएल ९:४) यसले तिनीहरूलाई सुसमाचार घोषणा गर्ने दूतको आह्वान ढिलासुस्ती नगरी पालन गर्न उत्प्रेरित गर्नुपर्छ। उक्‍त दूतले यस्तो घोषणा गरे: “तिनले ठूलो सोरले भन्दारहेछन्‌, ‘परमेश्‍वरसँग डराओ, . . . किनकि उहाँको ठूलो इन्साफको समय आएको छ, र स्वर्ग, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुहुनेलाई दण्डवत्‌ गर।” (प्रकाश १४:७) यस्ता मानिसहरूले “परमेश्‍वरको आज्ञा पालन गर्ने, र येशूको साक्षी दिने” साक्षीहरू सँगसँगै यहोवाको उपासना अनि सेवा गर्न सकून्‌।—प्रकाश १२:१७.

गौरवमय सहस्र वर्षीय शासन

१६. (क) मसीहीजगत्‌का चर्चहरूले किन सहस्र वर्षीय आशा अस्वीकार गरेका छन्‌? (ख) आदर्श प्रार्थनाको सुनुवाइ हुन्छ भनेर यहोवाका साक्षीहरू किन विश्‍वास गर्छन्‌?

१६ प्रकाश अध्याय २० देखि २२ मा सहस्र वर्षे आशा गर्नुको धर्मशास्त्रीय कारण उल्लेख गरिएको छ। स्वर्ग र पृथ्वी आनन्दले भरिपूर्ण हुने हजार वर्षीय अवधि हुनेछ भनेर बाइबलको यही भागले मात्र बताउँछ। मसीहीजगत्‌का चर्चहरूले सहस्र वर्षीय आशालाई अस्वीकार गरेका छन्‌। चर्चको सिद्धान्तअनुसार धर्मी मानिस स्वर्ग अनि दुष्टचाहिं नरकमा जान्छन्‌। चर्चले पार्थिव प्रमोदवनमा विश्‍वासै गर्दैन। मसीहीजगत्‌का चर्चहरूका अधिकांश सदस्यहरूका लागि परमेश्‍वरको “इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌” भन्‍ने आदर्श प्रार्थनाको केही अर्थ छैन। (मत्ती ६:१०) तर यहोवाका साक्षीहरू त्यस्ता छैनन्‌। यहोवाले पृथ्वी “व्यर्थको वस्तु” होइन तर “आबाद गर्नलाई बनाउनुभयो” भनी तिनीहरू दृढ विश्‍वास गर्छन्‌। (यशैया ४५:१२, १८) तसर्थ, पुरातन भविष्यवाणी, आदर्श प्रार्थना र एपोक्यालिप्समा उल्लिखित सहस्र वर्षीय आशाले पनि त्यही कुरा बताउँछ। ख्रीष्टले आफ्नो हजार वर्षीय शासनकालमा स्वर्गमा झैं यस पृथ्वीमा पनि यहोवाको इच्छा पूरा गराउनुहुनेछ।

१७. “हजार वर्ष” शाब्दिक अर्थमै हजार वर्ष हो भनेर कुन कुराले बुझाउँछ?

१७ प्रकाश अध्याय २० को सुरुका सात पदहरूमा छ चोटि “हजार वर्ष” भन्‍ने वाक्यांश प्रयोग गरिएको छ। उल्लेखनीय कुरा के छ भने, उक्‍त पदहरूमा चार चोटि “एक हजार वर्ष” भनेर तोकेरै उल्लेख गरिएको छ र यसले शाब्दिक अर्थमा एक हजार वर्षलाई बुझाउँछ, मसीहीजगत्‌का थुप्रै टिप्पणीकारहरूले भनेजस्तो अनिश्‍चित लामो समयावधिलाई होइन। सहस्र वर्षमा के हुनेछ? प्रथमतः, शैतानलाई हजार वर्षसम्मै निष्क्रिय बनाइनेछ। (प्रकाश २०:१-३; तुलना गर्नुहोस्‌ हिब्रू २:१४) कस्तो सुसमाचार!

१८. (क) सहस्र वर्षलाई किन न्यायको “दिन” भन्‍न सकिन्छ? (ख) हजार वर्षको अन्तमा के हुनेछ?

१८ “इन्साफ गर्ने अख्तियार” “उहाँसँग [ख्रीष्ट] एक हजार वर्षसम्म राज्य” गर्नेहरूलाई दिइएको हुनाले वास्तवमा यो समयावधि न्याय गर्ने एक हजार वर्षीय “दिन” हो। (प्रकाश २०:४, ६; तुलना गर्नुहोस्‌ प्रेरित १७:३१; २ पत्रुस ३:८) त्यतिखेर मृतकहरूको पुनरुत्थान हुनेछ र त्यतिबेला तिनीहरूले जे गर्छन्‌ त्यसैको आधारमा “महा संकष्टबाट” बच्नेहरू सँगसँगै तिनीहरूको पनि न्याय हुनेछ। (प्रकाश २०:१२, १३) मानिसहरूको अन्तिम जाँच गर्न हजार वर्षको अन्तमा शैतानलाई केही समयको लागि छोडिनेछ अनि शैतान, त्यसका दूत र त्यसको पछि लाग्ने विरोधीहरूलाई सदासर्वदाको लागि नाश गरिनेछ। (प्रकाश २०:७-१०) जाँचमा सफल हुनेहरूको नाउँ “जीवनको पुस्तकमा” पक्कै लेखिनेछ अनि तिनीहरूले पार्थिव प्रमोदवनमा यहोवाको सेवा र उपासना गर्दै खुसीसाथ अनन्त जीवन बिताउनेछन्‌।—प्रकाश २०:१४, १५; भजनसंग्रह ३७:९, २९; यशैया ६६:२२, २३.

१९. (क) प्रकाशको पुस्तकमा बताइएका अद्‌भुत प्रतिज्ञाहरू अवश्‍य पूरा हुनेछ भनेर हामी किन निश्‍चित हुनसक्छौं? (ख) यसपछिको लेखमा के छलफल गरिनेछ?

१९ एपोक्यालिप्सको पुस्तकका सुसमाचारहरू यिनै हुन्‌। त्यो मानिसले रचेका फोस्रा प्रतिज्ञाहरू होइनन्‌। प्रेरित यूहन्‍नाले लेखे: “सिंहासनमा विराजमान हुनुहुनेले भन्‍नुभयो, ‘हेर, म सब कुरा नयाँ तुल्याउँछु।’ औ उहाँले भन्‍नुभयो, ‘लेख, किनकि यी कुराहरू विश्‍वासयोग्य र सत्य छन्‌।’ ” (प्रकाश २१:५) यी सुसमाचारहरू पूरा भएको हेर्न हामीले के गर्नुपर्छ? परमेश्‍वरलाई खुसी तुल्याउन चाहनेहरूका लागि प्रकाशको पुस्तकमा थुप्रै सल्लाह छ। ती सल्लाह पालन गर्नाले अहिले अनि सधैंभरि अपार आनन्द पाउनसक्छौं। यसबारे यसपछिको लेखमा छलफल गरिनेछ।

[फुटनोट]

a प्रकाशको पुस्तकको पूर्ण स्पष्टीकरणको लागि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित प्रकाश—त्यसको चरमोत्कर्ष निकट! पुस्तक हेर्नुहोस्‌।

पुनरावलोकनका लागि बुँदाहरू

◻ प्रकाश अध्याय ४ देखि ६ मा पाइने कुन कुन आधारभूत सत्य सुसमाचारको महत्त्वपूर्ण भाग हो?

◻ प्रकाश अध्याय ७ मा कस्तो सुसमाचार छ?

◻ प्रकाशमा उल्लिखित न्यायको सन्देश इमानदार हृदय भएका मानिसहरूका लागि तर्सिनुपर्ने कारण हो?

◻ कुन कुन तरिकामा सहस्र वर्ष न्यायको “दिन” हुनेछ?

[पृष्ठ १०-मा भएको चित्र]

राजा येशू ख्रीष्टले पृथ्वीबाट युद्ध, अनिकाल र मृत्यु पूर्णतया हटाउनुहुनेछ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने