-
परमेश्वरको इस्राएललाई छाप लगाउने कामप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
चार वटा बतासहरू
३. (क) स्वर्गदूतहरूले गर्ने कुन विशेष सेवा यूहन्नाले देख्छन्? (ख) “चार बतास” कुन कुराको प्रतीक हो?
३ यहोवाको क्रोध दन्कनुअघि स्वर्गका दूतहरूले एउटा खास काम गर्छन्। सो काम यूहन्नाले अब दर्शनमा देख्छन्। “त्यसपछि पृथ्वीमा, अथवा समुद्रमा, अथवा कुनै रूखमा बतास नचलोस् भनेर चार दूतहरू पृथ्वीका चारै बतासलाई रोकेर पृथ्वीका चारकुनामा उभिरहेका मैले देखें।” (प्रकाश ७:१) हाम्रालागि आज यसले के अर्थ राख्छ? यी “चारै बतासहरू” विनाशक न्यायका प्रतीक हुन् जो दुष्ट पार्थिव समाजमाथि, व्यवस्थाहीन मानवीय समाजको “समुद्र”माथि र पृथ्वीका मानिसहरूबाट शक्ति र समर्थन चुस्ने ठूल-ठूला रूखहरू समान शासकहरूमाथि बज्रनै लागेका छन्।—यशैया ५७:२०; भजन ३७:३५, ३६.
४. (क) चार स्वर्गदूतहरूले के लाई प्रतिनिधित्व गर्छन्? (ख) चार वटा बतासलाई छाडी दिएपछि शैतानको पार्थिव सङ्गठनमाथि के असर पर्नेछ?
४ निःसन्देह यी चार दूतहरूले स्वर्गदूतहरूका चार स्वर्गीय वर्गहरूलाई प्रतिनिधित्व गर्छन्। तोकिएको समय नआउञ्जेल यहोवाले न्याय कार्यान्वयन गर्नबाट रोक्न उक्त दूतहरूको नै प्रयोग गर्नुहुन्छ। तर ती स्वर्गदूतहरूले एकै पटक उत्तर, दक्षिण, पूर्व र पश्चिमबाट ईश्वरीय क्रोधको आँधी चलाउँदा, जताततै विध्वंस मच्चिनेछ। यो विध्वंस यहोवाले चार वटा बतास प्रयोग गर्दै प्राचीन एलामीहरूलाई तितरबितर र चूरचूर पार्नु हुँदा मच्चेको विध्वंस जस्तै हुनेछ। तर यो चाहिं धेरै नै विस्तृत स्तरमा हुनेछ। (यर्मिया ४९:३६-३८) यहोवाले आम्मोनको राष्ट्रलाई ध्वस्त पार्दा चलाउनु भएको “आँधी बेह्री”-लाई पनि माथ गर्ने तूफानी बतास चल्नेछ। (आमोस १:१३-१५) यहोवाको क्रोधको दिनमा उहाँले सदाका लागि आफ्नो सार्वभौमिकताको प्रमाणिकरण गर्नु हुँदा शैतानी सङ्गठनको कुनै पनि भाग यस पृथ्वीमा टिक्न पाउने छैन।—भजन ८३:१५, १८; यशैया २९:५, ६.
५. परमेश्वरको न्याय कार्यान्वयनको प्रभाव विश्वव्यापी तवरमा हुनेछ भनेर बुझ्न हामीलाई यर्मियाको भविष्यवाणीले कसरी मदत दिन्छ?
५ तर परमेश्वरको न्यायदण्डले सारा पृथ्वीमा नै विध्वंस मच्चाउने छ भनी के हामी निश्चित हुन सक्छौं र? यर्मिया अगमवक्ता के भन्छन्, फेरि सुन्नुहोस्: “परमप्रभु भन्नुहुन्छ, ‘हेर, विपत्ति एक जातिदेखि अर्को जातिसम्मै फैलिंदै जानेछ, पृथ्वीको पल्लो भागदेखि एउटा ठूलो तूफान चल्नेछ। त्यस दिन परमप्रभुले मार्नुभएकाहरू पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म हुनेछन्। तिनीहरूका निम्ति कसैले विलाप गर्नेछैन, नता ती लाशहरूलाई कसैले जम्मा गर्नेछ न गाडनेछ। तिनीहरू जमीनमा मल हुनेछन्।” (यर्मिया २५:३२, ३३) यसै तूफानी आँधीबेह्री चलेको बेलामा सारा संसारलाई अन्धकारले ढाक्नेछ। त्यसका शासकीय सङ्गठनहरू हल्लिएर लोप हुनेछन्। (प्रकाश ६:१२-१४) तर भविष्य सबैका लागि चाहिं अँध्यारो हुनेछैन। ती चार बतासहरू कसका निम्ति रोकेर राखिएका हुन्?
परमेश्वरका दासहरूमाथि छाप लगाउने
६. चारै बतासलाई रोक्न ती स्वर्गदूतहरूलाई कसले भन्छ र यसो गर्दा कुन काम पूरा गर्न सकिन्छ?
६ कसै कसैमाथि बचाउको छाप कसरी लगाइन्छ, सो यूहन्नाले यसप्रकार व्याख्या गर्छन्: “औ मैले अर्को एउटा दूतलाई जीवित परमेश्वरको छाप लिएर सूर्योदय हुनेपट्टिबाट उक्लेको देखें, औ पृथ्वी र समुद्रलाई हानि पुर्याउने अख्तियार दिइराखेका चारवटा दूतलाई यसो भनेर तिनले ठूलो सोरले भने, ‘हामीले हाम्रा परमेश्वरका दासहरूका निधारमा छाप नलगाउञ्जेलसम्म पृथ्वी, समुद्र र रूखहरूमाथि केही हानि नगर।’ ”—प्रकाश ७:२, ३.
७. वास्तवमा, पाँचौं स्वर्गदूत को हुन् र उनलाई चिन्ने मदत हामी कुन प्रमाणबाट पाउन सक्छौं?
७ यी पाचौं स्वर्गदूतको नाउँ त दिएको छैन। तापनि प्राप्त प्रमाणअनुसार उनी महिमित प्रभु येशू नै हुनुपर्छ। किनकि प्रधानदूत येशूले झैं यी स्वर्गदूतले अन्य स्वर्गदूतहरूमाथि अख्तियार चलाएको हामी यहाँ देख्छौं। (१ थिस्सलोनिकी ४:१६; यहूदा ९) यिनी पनि पूर्वबाटै उक्लेर आउँछन्, जसरी “सूर्योदयका राजाहरू” यहोवा र उहाँको ख्रीष्ट न्याय कार्यान्वयन गर्न आउनु हुन्छ र जसरी प्राचीन बेबिलोनलाई होंच्याउन राजा दारा र कोरेस पनि आएका थिए। (प्रकाश १६:१२; यशैया ४५:१; यर्मिया ५१:११; दानिएल ५:३१) ख्रीष्टलाई जस्तै यी स्वर्गदूतलाई पनि अभिषिक्त मसीहीहरूमाथि छाप लगाउने काम सुम्पिएको छ। (एफिसी १:१३, १४) यसबाहेक, विनाशको बतास चल्न थालेपछि जाति जातिहरूमाथि न्याय कार्यान्वयन गर्नमा अगुवाइ पनि येशूले नै लिनु हुनेछ। (प्रकाश १९:११-१६) अतः परमेश्वरका दासहरूमाथि छाप नलागुञ्जेल शैतानको पार्थिव रीतिरिवाजलाई नष्ट नगर्ने आदेश दिने व्यक्ति स्वभाविकतः येशूबाहेक अरू कोही हुन सक्तैन।
-
-
परमेश्वरको इस्राएललाई छाप लगाउने कामप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
[पृष्ठ ४-मा भएको पृष्ठभरिको चित्र]
-