प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 १२/१५ pp. ११-१६
  • ‘यहोवाको दिनबाट’ बच्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘यहोवाको दिनबाट’ बच्ने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • नूहको दिनमा यहोवाले कार्य गर्नुहुन्छ
  • सदोम र गमोरामाथि यहोवाको न्यायिक सजाय
  • इस्राएलले “आँधी–बेह्रीको” कटनी गर्छ
  • यहोवाले धर्मत्यागी यहूदाको लेखा लिनुहुन्छ
  • प्रथम शताब्दीको “महा संकष्ट”
  • महा संकष्टबाट बचाइएका मानिसहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उद्धारको लागि जनसमक्ष घोषणा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • हामी अझ बढी जागा हुनु जरुरी छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • के तपाईं यहोवाको दिनको लागि तयार हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 १२/१५ pp. ११-१६

‘यहोवाको दिनबाट’ बच्ने

“परमप्रभुको दिन महा र साह्रै डरलाग्दो छ, त्यसमा को टिक्नसक्छ र?”— योएल २:११.

१. ‘यहोवाको भयानक दिन’ किन आनन्ददायी अवसर हुनुपर्ने हो?

“डरलाग्दो”! यसरी परमेश्‍वरका अगमवक्‍ता योएलले “परमप्रभुको दिन[को]” वर्णन गर्छन्‌। तथापि, यहोवालाई प्रेम गर्ने तथा येशूको छुडौतीको बलिदानको आधारमा उहाँलाई समर्पण गर्ने हामीहरू यहोवाको दिन झन्‌ झन्‌ नजिक हुँदै जाँदा डरले थरथर काँप्नु पर्दैन। निस्सन्देह, त्यो दिन विस्मयकारी हुनेछ तर त्यसको साथसाथै महान्‌ छुटकाराको दिन र शदियौंदेखि मानवजातिलाई पिरोलिरहेको दुष्ट रीतिरिवाजबाट मुक्‍त हुने दिन पनि हुनेछ। त्यस दिन पर्खेर बसिरहेका परमेश्‍वरका जनहरूलाई योएल “खुशी भएर रमाहट गर्‌” भन्छन्‌ “किनभने परमप्रभुले ठूला ठूला कामहरू गर्नुभएको छ।” अझ आश्‍वासन दिंदै यसो भन्छन्‌: “परमप्रभुको नाउँ लिने जोसुकै पनि बचाइनेछ।” अनि परमेश्‍वरको राज्य प्रबन्धअन्तर्गत “परमप्रभुले भन्‍नुभए अनुसार . . . बाँचेर उम्कनेहरू हुनेछन्‌, औ बाँकी रहेकाहरूमा ती हुनेछन्‌, जसलाई परमप्रभुले बोलाउनुहुन्छ।”—योएल २:११, २१, २२, ३२.

२. परमेश्‍वरको उद्देश्‍य कार्यान्वयन हुनेबारे यी दिनहरूमा के के हुन्छ: (क) “प्रभुको दिनमा” (ख) “यहोवाको दिनमा”?

२ यहोवाको भयानक दिन र प्रकाश १:१० मा उल्लिखित “प्रभुको दिन” बेग्लाबेग्लै हो। प्रभुको दिनमा प्रकाश अध्याय १ देखि २२ भित्र उल्लिखित १६ वटा दर्शनहरू पूरा हुन्छन्‌। येशूले आफ्ना चेलाहरूको यस प्रश्‍नको जवाफमा भविष्यवाणी गर्नुभएका सबै घटनाहरू पूरा हुने समयावधि यही प्रभुको दिनमा पर्छ: “यो कुरा कहिले हुनेछन्‌, र तपाईंको आगमन र जगत्‌को अन्तको चिह्न के हुन्छ?” स्वर्गमा येशूको उपस्थिति हुँदा पृथ्वीमा डरलाग्दा ‘युद्ध, अनिकाल, घृणा, रोग तथा कुकर्म’ हुन थाल्यो। यी दुःखहरू दिन दुगुना रात चौगुना हुँदै जाँदा येशूले ईश्‍वरभीरु मानिसहरूलाई सान्त्वना दिन यस वर्तमान समयमा आफ्ना चेलाहरू पठाउनुभएको छ। यी चेलाहरूले “राज्यको यो सुसमाचार सारा संसारमा . . . साक्षीको निम्ति प्रचार” गरेर सान्त्वना दिइरहेका छन्‌। पछि, प्रभुको दिनको चरमसीमा अर्थात्‌ वर्तमान दुष्ट रीतिरिवाजको “अन्त” हुँदा यहोवाको भयानक दिन सुरु हुनेछ। (मत्ती २४:३-१४; लूका २१:११) त्यही दिन यहोवाले शैतानको भ्रष्ट संसारमाथि द्रुत गतिमा न्याय गर्नुहुनेछ। “आकाश र पृथ्वी थरथर काम्नेछ, तर परमप्रभु आफ्नो प्रजाको निम्ति शरणस्थान . . . हुनुहुनेछ।”—योएल ३:१६.

नूहको दिनमा यहोवाले कार्य गर्नुहुन्छ

३. अहिले र नूहको दिनको अवस्था कसरी मिल्दोजुल्दो छ?

३ अहिलेको विश्‍व परिस्थिति लगभग ४,००० वर्षअघि “नूहका दिन[को]” जस्तै छ। (लूका १७:२६, २७) उत्पत्ति ६:५ मा हामी यस्तो लेखिएको पाउँछौं: “पृथ्वीमा मानिसहरूको दुष्टता बढ़ी भएको र तिनीहरूको हृदयको विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो।” आजको संसारसित कस्तो ठ्याक्कै मिल्ने बयान! जताततै दुष्टता, लोभ र क्रूरता छ। कहिलेकाहीं हामीलाई यस्तो लाग्नसक्छ, मानवजाति अहिले जत्तिको पतित अवस्थामा त पहिले कहिल्यै पुगेको थिएन। तर “आखिरी दिनमा” के के हुनेछ भन्‍ने सन्दर्भमा प्रेरित पावलको यो भविष्यवाणी झन्‌ झनै पूरा हुँदैछ: “खराब मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन्‌ झन्‌ खराब हुँदै जानेछन्‌।”—२ तिमोथी ३:१, १३.

४. प्रारम्भिक समयमा झूटो उपासनाले कस्तो प्रभाव पाऱ्‍यो?

४ के धर्मले नूहको समयका मानिसहरूलाई छुटकारा दिनसक्थ्यो होला? त्यसको विपरीत, त्यतिबेलाको धर्मत्यागी धर्मले त्यो खस्केको अवस्थालाई झन्‌ बिगार्थ्यो होला। हाम्रा प्रथम मातापिता “त्यो वृद्ध साँप, दियाबल र शैतान[को]” झूटो शिक्षाको शिकार भएका थिए। आदमपछिको दोस्रो पुस्तादेखि “परमप्रभुको नाउँको पुकारा गर्न शुरू” भयो तर पक्कै पनि तिनीहरूले उहाँको नाउँ बदनाम गरेर पुकार्थे। (प्रकाश १२:९; उत्पत्ति ३:३-६; ४:२६) पछि, परमेश्‍वरप्रति ऐकान्तिक भक्‍ति नचढाउने विद्रोही स्वर्गदूतहरूले मानिसका सुन्दरी छोरीहरूसित अवैध यौनसम्बन्ध राख्न मानव रूप धारण गरे। यिनीहरूबाट जन्मेका ठिमाहा सन्तान अर्थात्‌ नपीलहरूले मानवजातिलाई थिचोमिचो गर्नुका साथै दुर्व्यवहार गर्न थाले। यस्तो पैशाचिक प्रभावमा परेर “सबै प्राणीले पृथ्वीमा आफ्नो चाल-चलन भ्रष्ट पारिसकेका थिए।”—उत्पत्ति ६:१-१२.

५. नूहको दिनका घटनाहरू बताउँदै येशू हामीलाई कस्तो चेताउनीमूलक आग्रह गर्नुहुन्छ?

५ तर एउटा परिवार भने यहोवाप्रति निष्ठावान्‌ रहे। यसर्थ, परमेश्‍वरले “अभक्‍तहरूको संसारमा जलप्रलय गराउनुहुँदा धर्मका प्रचारक नूह र अरू सात जनालाई जोगाउनुभयो।” (२ पत्रुस २:५) त्यो जलप्रलयले यहोवाको भयानक दिनको पूर्वचित्रण गऱ्‍यो र त्यस भयानक दिनले यस रीतिरिवाजको अन्तलाई संकेत गर्छ जसबारे येशूले यसरी भविष्यवाणी गर्नुभयो: “त्यस दिन र घड़ीको विषयमा कसैले जान्दैन, नता स्वर्गका दूतहरूले, न पुत्रले, तर पिताले मात्र। तर जस्तो नूहको दिनमा भएथ्यो, उस्तैगरी मानिसको पुत्रको आगमन हुनेछ। किनकि जसरी जलप्रलयका अघाड़िका दिनमा नूह जहाजमा नपसेका दिनसम्म, मानिसहरू खाइरहेका, र पिइरहेका र विवाह-बारी गरिरहेका थिए, औ जलप्रलय आएर सबलाई स्वात्तै नलगुञ्जेल तिनीहरूले थाहै पाएनथे, उसैगरी मानिसको पुत्रको आगमन पनि हुनेछ।” (मत्ती २४:३६-३९) हामी पनि अहिले त्यस्तै अवस्थामा छौं। त्यसकारण येशूले हामीलाई “आउनलागेका कुराहरूबाट उम्कन र मानिसको पुत्रको सामने खड़ा हुनसक्नलाई हर घड़ी प्रार्थना गर्दै जागा” रहने आग्रह गर्नुहुन्छ।—लूका २१:३४-३६.

सदोम र गमोरामाथि यहोवाको न्यायिक सजाय

६, ७. (क) लूतको दिनका घटनाहरूले कुन कुराको पूर्वसंकेत दिन्छन्‌? (ख) यसले हामीलाई कस्तो सुस्पष्ट चेताउनी दिन्छ?

६ जलप्रलयको सयौं वर्षपछि पृथ्वीमा नूहका सन्तानहरूको संख्या बढिसकेको थियो। त्यतिबेला विश्‍वासी अब्राहाम र तिनका भतिजा लूतले यहोवाको अर्को भयानक दिन प्रत्यक्ष देखे। लूत र तिनको परिवार सदोम शहरमा बस्थे तर सदोम र गमोरा दुवै घिनलाग्दो यौन अनैतिकतामा फसेका थिए। त्यहाँका मानिसहरूको प्रमुख चासो भौतिक कुरामा थियो र यसले लूतकी पत्नीलाई समेत असर गर्न थालिसकेको थियो। यहोवाले अब्राहामलाई यसो भन्‍नुभयो: “सदोम र गमोराको विरुद्धमा ठूलो आवाज उठेको छ, औ तिनीहरूका पाप साह्रै ज्यादा भएको छ।” (उत्पत्ति १८:२०) अब्राहामले धर्मी जनहरूका खातिर ती शहरहरू नाश नगर्न यहोवासित बिन्ती गरे तर यहोवाले त्यहाँ दश जना पनि धर्मी मानिस नभेटिएको घोषणा गर्नुभयो। परमेश्‍वरका स्वर्गदूतहरूले लूत र तिनका दुइ जना छोरीलाई बचाएर नजिकैको शहर सोहरमा लगे।

७ त्यसपछि के भयो? हाम्रो “आखिरी दिन[लाई]” लूतको समयसित तुलना गर्दै लूका १७:२८-३० यसो भन्छ: “लूतका दिनमा पनि त्यस्तै भएको थियो, मानिसहरू खाँदैथिए, पिउँदैथिए, किनबेच गर्दैथिए, रोप्तैथिए, बनाउँदैथिए, तर जुन दिन लूत सदोमबाट निस्केथे, आकाशबाट आगो र गन्धक बर्षेर सबैलाई नष्ट पाऱ्‍यो। त्यस्तै रीतिले मानिसको पुत्रको प्रकट हुने दिन पनि हुनेछ।” सदोम र गमोराले यहोवाको त्यस विस्मयकारी दिन जे जति विपत्ति भोगे, त्यो येशूको उपस्थिति भइरहेको अहिले हाम्रो समयको लागि एउटा सुस्पष्ट चेताउनी हो। मानिसजातिको वर्तमान पुस्ता पनि “व्यभिचारमा परेर बिरानो शरीरको पछि लागेका” छन्‌। (यहूदा ७) यसबाहेक, अहिले हाम्रो समयमा यौनप्रतिको अनैतिक दृष्टिकोणले गर्दा कतिपय “रूढ़ी” मच्चिरहेका छन्‌ जसबारे येशूले भविष्यवाणी गर्नुभएको थियो।—लूका २१:११.

इस्राएलले “आँधी–बेह्रीको” कटनी गर्छ

८. इस्राएलले कुन हदसम्म यहोवासितको करार पालना गऱ्‍यो?

८ समयको दौडान यहोवाले इस्राएललाई “समस्त मानिसहरूमध्ये . . . एक निज धन . . . पूजाहारीहरूको एक राज्य, र एक पवित्र जाति” बन्‍न छान्‍नुभयो। तर तिनीहरूले ‘उहाँको कुरा साँच्चै सुनेर उहाँको करार पालन गरेको’ खण्डमा मात्र यो सम्भव हुनेथियो। (प्रस्थान १९:५, ६) के तिनीहरूले यस महान्‌ सुअवसरको कदर गरे? अहँ पटक्कै गरेनन्‌! हो, त्यस राष्ट्रका केही विश्‍वासी व्यक्‍तिहरू उहाँप्रति निष्ठावान्‌ रहे। जस्तै—मोशा, शमूएल, दाऊद, यहोशापात, हिजकियाह, योशियाह तथा अन्य समर्पित अगमवक्‍ता तथा अगमवादिनीहरू। यद्यपि, राष्ट्रको हैसियतमा तिनीहरू वफादार रहेनन्‌। समय बित्दै जाँदा त्यो राज्य दुइ भागमा टुक्रियो—इस्राएल र यहूदा। साधारणतया भन्‍ने हो भने दुवै राष्ट्र, वरपरका राष्ट्रहरूको मूर्तिपूजा तथा परमेश्‍वरको अनादर हुने प्रचलनहरूमा मुछिन थाले।—इजकिएल २३:४९.

९. यहोवाले विद्रोही दश कूलको राज्यमाथि कसरी न्याय गर्नुभयो?

९ यहोवाले कसरी न्याय गर्नुभयो? आमोसले उल्लेख गरेको यस सिद्धान्तअनुरूप उहाँले सदाजस्तै यस्तो चेताउनी दिनुभयो: “निश्‍चय परमप्रभुले आफ्ना दास अगमवक्‍ताहरूलाई आफ्नो रहस्य प्रकट नगरीकन केही गर्नुहुनेछैन।” आमोस स्वयंले इस्राएलको उत्तरी राज्यलाई यसरी धिक्कारे: “परमप्रभुको दिन तिमीहरू किन चाहन्छौ? त्यो ता अन्धकारमय हुन्छ, उज्यालो होइन।” (आमोस ३:७; ५:१८) यसबाहेक, आमोसका सँगी अगमवक्‍ता होशेले यस्तो घोषणा गरे: “तिनीहरू बतास छर्दछन्‌, र तिनीहरूले आँधी–बेह्रीको कटनी गर्नेछन्‌।” (होशे ८:७) सा.यु.पू. ७४० मा यहोवाले अश्‍शूरी सेनाहरू चलाएर इस्राएलको उत्तरी राज्यलाई सदाको लागि विनाश गर्नुभयो।

यहोवाले धर्मत्यागी यहूदाको लेखा लिनुहुन्छ

१०, ११. (क) यहोवाले किन यहूदालाई क्षमा गर्नुभएन? (ख) कस्ता घिनलाग्दा कुराहरूले त्यस राष्ट्रलाई भ्रष्ट पारेका थिए?

१० यहोवाले यहूदाको दक्षिणी राज्यमा पनि आफ्ना अगमवक्‍ताहरू पठाउनुभयो। तैपनि, मनश्‍शे र तिनका उत्तराधिकारी आमोनजस्ता यहूदाका राजाहरूले परमेश्‍वरको दृष्टिमा जे खराब छ, त्यही गरिरहे। तिनीहरूले ‘निर्दोष रगत बगाए अनि मूर्तिहरूको सेवा गरेर त्यसलाई पूजे।’ आमोनका छोरा योशियाहले यहोवाको नजरमा जे असल छ, त्यही गरे तापनि तिनीपछिका राजा तथा प्रजाहरू यति बिघ्न दुष्टतामा मुछिए कि तिनीहरूलाई “परमप्रभुले . . . क्षमा गर्नुभएन।”—२ राजा २१:१६-२१; २४:३, ४.

११ यहोवाले अगमवक्‍ता यर्मिया मार्फत यस्तो घोषणा गर्नुभयो: “यस देशमा छक्क पर्ने र डरलाग्दो काम भएको छ। अगमवक्‍ताहरू झूटा अगमवाणी कहन्छन्‌। औ पूजाहारीहरू आफ्नै आदेशमा शासन गर्छन्‌। मेरो प्रजा चाहिं यस्तै हुनु रूचाउँछन्‌। तर अन्त्यको समयमा तिमीहरू के गर्नेछौ?” यहूदाको राष्ट्र असाध्यै रक्‍तदोषी भएको थियो र त्यहाँका बासिन्दाहरू चोरी, हत्या, व्यभिचार, झूटो कसम खाने, अरू देवताहरूको उपासना गर्ने तथा अन्य घिनलाग्दा कार्यहरूमा संलग्न भएर भ्रष्ट भएका थिए। परमेश्‍वरको मन्दिर “डाँकूहरूको ओढ़ार” भएको थियो।—यर्मिया २:३४; ५:३०, ३१; ७:८-१२.

१२. धर्मत्यागी यरूशलेमलाई यहोवाले कसरी सजाय दिनुभयो?

१२ यहोवाले यस्तो घोषणा गर्नुभयो: “म उत्तरदेखि [अर्थात्‌ कल्दीदेखि] विपत्ति र ठूलो सत्यनाश ल्याउनेछु।” (यर्मिया ४:६) तसर्थ, उहाँले धर्मत्यागी यरूशलेम र यसको मन्दिरलाई विनाश गर्न त्यतिबेला विश्‍वशक्‍ति बेबिलोन अर्थात्‌ “सारा पृथ्वीको घन” प्रयोग गर्नुभयो। (यर्मिया ५०:२३) सा.यु.पू. ६०७ मा नबूकदनेसरको पराक्रमी सेनाको घेराउमा परेपछि यो शहर तहसनहस भयो। “बाबेलका राजाले सिदकियाहका छोराहरूलाई रिबलामा तिनकै आँखाको सामने मारे। बाबेलका राजाले यहूदाका सबै भारादारहरूलाई पनि मारे। तिनले सिदकियाहका आँखा निकाले, र बाबेलमा लान तिनलाई सांग्लाले बाँधे। त्यसपछि कल्दीहरूले राजाको महल र मानिसहरूका घरहरू जलाइदिए, र यरूशलेमको पर्खाल भत्काइदिए। तब शहरमा छोड़िएका बाँकी मानिसहरू र तिनीकहाँ भागेर आउनेहरूलाई र अरू मानिसहरूलाई प्रहरीहरूका कप्तान नबूजरदानले कैद गरेर बाबेलमा लगे।”—यर्मिया ३९:६-९.

१३. सा.यु.पू. ६०७ मा आइपरेको यहोवाको दिनमा को को बचे र किन?

१३ साँच्चै कस्तो भयानक दिन! यद्यपि, यहोवाको आज्ञा पालन गर्ने केही व्यक्‍तिहरू भने त्यस भयानक न्यायबाट बचे। यसमा गैरइस्राएली रेकाबीहरू थिए जसले यहूदीहरूजस्तो नभएर नम्र तथा आज्ञाकारी मनोभाव देखाए। यर्मियालाई हिलाम्मे इनारमा मर्नदेखि जोगाउने विश्‍वासी नपुंसक कूशी एबेदमेलेक र यर्मियाका वफादार लेखनदास बारूक पनि बचे। (यर्मिया ३५:१८, १९; ३८:७-१३; ३९:१५-१८; ४५:१-५) यस्तैहरूलाई यहोवाले यो घोषणा गर्नुभयो: “जुन उपायहरू मैले तिमीहरूका निम्ति गरेको छु ती म जान्दछु। . . . [ती] भलाइको निम्ति हुन्‌, बुराइको निम्ति होइन। तिमीहरूलाई भविष्य सुधार्न र एउटा आशा दिनलाई हो।” यस प्रतिज्ञाको सानो पूर्ति सा.यु.पू. ५३९ मा भयो जब बेबिलोनका विजेता, राजा कोरेसले ईश्‍वरभीरु यहूदीहरूलाई छुटकारा दिए र फलस्वरूप तिनीहरू यरूशलेमको शहर तथा मन्दिर पुनर्निर्माण गर्न फर्के। वर्तमान समयमा बेबिलोनी धर्म त्यागेर यहोवाको शुद्ध उपासनामा लागेका व्यक्‍तिहरूले पनि यहोवाको पुनर्स्थापित प्रमोदवनमा अन्तसम्म शान्तिमय महिमित भविष्यको आशा गर्नसक्छन्‌।—यर्मिया २९:११; भजन ३७:३४; प्रकाश १८:२, ४.

प्रथम शताब्दीको “महा संकष्ट”

१४. यहोवाले किन इस्राएललाई सदाको लागि त्याग्नुभयो?

१४ अब हामी सा.यु. प्रथम शताब्दीतिर ध्यान देऔं। यतिञ्जेल ती पुनर्स्थापित यहूदीहरू फेरि धर्मत्यागी भइसकेका थिए। यहोवाले आफ्ना एकलौटो पुत्रलाई अभिषिक्‍त जन वा मसीह हुन यस पृथ्वीमा पठाउनुभयो। सा.यु. २९ देखि ३३ बीच येशूले यसो भन्दै इस्राएलभरि प्रचार गर्नुभयो: “पश्‍चाताप गर। किनभने स्वर्गको राज्य नजीक आइपुगेको छ।” (मत्ती ४:१७) यसबाहेक, उहाँले आफूसँगसँगै त्यस राज्यको सुसमाचार घोषणा गराउन चेलाहरू जम्मा गर्नुभयो र तिनीहरूलाई प्रशिक्षण दिनुभयो। यहूदीहरूका शासकहरूले कस्तो प्रतिक्रिया देखाए? तिनीहरूले येशूको अपमान गरे र उहाँलाई खाँबामा लट्‌काई क्रूर शासना दिंदै मारेर जघन्य अपराध गरे। यसउप्रान्त यहोवाले यहूदीहरूलाई आफ्नो जाति ठान्‍नुभएन। उहाँले तिनीहरूलाई सदाको लागि त्याग्नुभयो।

१५. पश्‍चात्तापी यहूदीहरूले के गर्ने सुअवसर पाए?

१५ पुनरुत्थान हुनुभएको येशूले सा.यु. ३३ पेन्तिकोसको दिन पवित्र आत्मा खन्याउनुभयो र यसको लगत्तै त्यहाँ भेला भएका यहूदी तथा धर्मपरिवर्तन गरेर यहूदी मत स्वीकारेका व्यक्‍तिहरूसमक्ष विभिन्‍न भाषाहरूमा बोल्न उहाँका चेलाहरूले शक्‍ति पाए। त्यहाँ उपस्थित भीडलाई सम्बोधन गर्दै प्रेरित पत्रुसले यस्तो घोषणा गरे: “यिनै येशूलाई परमेश्‍वरले बिउँताउनुभयो। जुन कुराको हामी सबै गवाही छौं। . . . त्यसैकारण इस्राएलका सारा घरानाले यो निश्‍चय जानून्‌, कि येशू, जसलाई तपाईंहरूले क्रूसमा टाँग्नुभयो, परमेश्‍वरले उहाँलाई प्रभु, र ख्रीष्टसमेत तुल्याउनुभयो।” इमानदार हृदय भएका यहूदीहरूले कस्तो प्रतिक्रिया देखाए? “यो कुरा तिनीहरूका हृदयमा गड़यो,” तिनीहरूले आफ्ना पापहरूको पश्‍चात्ताप गरेर बप्तिस्मा लिए। (प्रेरित २:३२-४१) त्यसपछि राज्य प्रचारकार्य द्रुत गतिमा अघि बढ्यो र ३० वर्षभित्र “स्वर्गमनि भएका सारा सृष्टिमा प्रचारियो।”—कलस्सी १:२३.

१६. जन्मजात इस्राएलीहरूमाथि न्याय गर्नुअघि जे जति घटनाहरू भए, त्यसमा यहोवाले कसरी हात हाल्नुभयो?

१६ अब भने यहोवाले त्याग्नुभएको जन, जन्मजात इस्राएलीहरूमाथि न्याय गर्ने समय आएको थियो। तत्कालीन सांसारिक राष्ट्रहरूबाट हजारौं मानिसहरू मसीही मण्डलीमा ओइरिरहेका थिए र “परमेश्‍वरका” आत्मिक “इस्राएल[को]” हैसियतमा अभिषिक्‍त भइरहेका थिए। (गलाती ६:१६) तर त्यतिबेलाको यहूदी समाज कटु घृणा र गूटबन्दी हिंसामा चुर्लुम्मै डुबेको थियो। पावलले लेखेअनुसार ‘उच्च अख्तियारवालाहरूका अधीनमा रहनुको’ साटो तिनीहरूले रोमी शासनको खुलेआम विद्रोह गरे। (रोमी १३:१) तर त्यसपछिका घटनाहरूमा यहोवाले हात हाल्नुभयो। सा.यु. ६६ मा सेनापति ग्यालसको नेतृत्वमा रोमी सिपाहीहरूले यरूशलेम घेरे। यी आक्रमणकारी रोमी सेनाले मन्दिरको पर्खालमनि सुरुंग खने। जोसेफसको ऐतिहासिक विवरणअनुसार त्यो शहर र त्यहाँका बासिन्दाहरूका लागि साँच्चै संकष्ट थियो।a तर अचानक यी आक्रमणकारी सिपाहीहरू फर्के। फलस्वरूप मत्ती २४:१५, १६ मा उल्लेख गरिएको येशूको भविष्यवाणीअनुसार उहाँका चेलाहरूले ‘पहाड़हरूतिर भाग्ने’ मौका पाए।

१७, १८. (क) यहोवाले यहूदीहरूमाथि कस्तो संकट ल्याउनुभएर न्याय गर्नुभयो? (ख) को को ‘बचाइए’ र यो कुन कुराको छाया थियो?

१७ तथापि, संकष्टको चरमसीमामा यहोवाले पूर्णतया न्याय दिन अझ बाँकी नै थियो। सा.यु. ७० मा सेनापति टाइटसको नेतृत्वमा रोमी सेनाहरू आक्रमण गर्न फेरि फर्के। यस पटकको लडाइँ भने निर्णायक थियो! एकआपसमै बाझाबाझ गरिरहेका यहूदीहरूको रोमीहरूअगि केही लागेन। त्यहाँको मन्दिरलगायत त्यो शहर तहसनहस भयो। हड्डी र छाला मात्र भएका लगभग एक लाख यहूदीहरूले दुःखकष्ट भोगे अनि मरे। सालाखाला ६,००,००० लाश शहरको ढोकाबाहिर फ्याँकियो। शहरको विध्वंशपछि ९७,००० यहूदीहरू बन्दी बनाएर लगिए र तीमध्ये थुप्रैले चाहिं रोमीहरूका रंगशालाहरूमा रक्‍तपिपासु दर्शकहरूको प्यास मेटाउन आफ्नो ज्यान गुमाउनुपऱ्‍यो। साँच्चै, त्यस महासंकष्टबाट बचाइनेहरू यर्दनपारि पहाडहरूतिर भाग्ने आज्ञाकारी मसीहीहरू मात्र थिए।—मत्ती २४:२१, २२; लूका २१:२०-२२.

१८ यसप्रकार, येशूले भन्‍नुभएको “जगत्‌को अन्त[सम्बन्धी]” महान्‌ भविष्यवाणीको प्रथम पूर्ति भयो र यसको चरमसीमा भन्‍नु नै सा.यु. ६६-७० मा विद्रोही यहूदी राष्ट्रमाथि यहोवाले न्याय गर्नुभएको दिन थियो। (मत्ती २४:३-२२) यद्यपि, त्यो त सारा संसारमाथि आउनै लागेको महासंकष्ट अर्थात्‌ “परमप्रभुको त्यो महा र भयंकर दिन आउनभन्दा अघि” हुने कुराहरूको छाया मात्र थियो। (योएल २:३१) त्यसबाट तपाईं कसरी “बच्न” सक्नुहुन्छ? यसपछिको लेखले बताउनेछ।

[फुटनोट]

a जोसेफसको विवरणअनुसार आक्रमणकारी रोमीहरूले शहर घेर, पर्खालहरूमनि सुरुंग खने अनि यहोवाको मन्दिरको ढोकामा आगो लगाउन सुरसार कसे। यसले गर्दा भित्र थुनिएका यहूदीहरू आत्तिए किनभने अब तिनीहरू बच्ने कुनै उपाय थिएन।— यहूदीहरूको लडाइँ (अंग्रेजी) पुस्तक २, अध्याय १९.

पुनरावृत्तिका लागि प्रश्‍नहरू

◻ “प्रभुको दिन” कसरी “यहोवाको दिन[सित]” सम्बन्धित छ?

◻ नूहको दिनलाई विचार गर्दै हामीले कुन चेताउनी पालना गर्नुपर्छ?

◻ सदोम र गमोराले कसरी जोडदार पाठ सिकाउँछ?

◻ प्रथम शताब्दीको “महा संकष्टमा” कसलाई बचाइयो?

[पृष्ठ १५-मा भएको चित्र]

यहोवाले नूह र लूतको परिवारका साथै सा.यु.पू. ६०७ र सा.यु. ७० मा छुटकारा दिनुभयो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने