-
एउटा अत्यन्त ठूलो भीडप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
अध्याय २०
एउटा अत्यन्त ठूलो भीड
१. एक लाख चौवालीस हजारमाथि छाप लाएको वर्णन गरी सकेपछि यूहन्नाले अर्को कुन समूहलाई देख्छन्?
एक लाख चवालीस हजारमाथि छाप लगाइएको वर्णन गरी सकेपछि यूहन्नाले शास्त्रको सबैभन्दा रोमाञ्चकारी प्रकाशको बयान गर्न थाल्छन्। आनन्दले गद्गद् हुँदै उनले यो बयान गरे होलान्: “यी कुरापछि हेर, कसैले गन्न नसक्ने हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड्, सिंहासन र थुमाको अगाडि सेता लुगा लगाएर हातमा खजूरका हाँगाहरू लिएर उभिरहेका मैले देखें।” (प्रकाश ७:९) हो, चार बतासलाई थामेर राख्दा आत्मिक इस्राएलका १,४४,०००-सदस्यहरू बाहेक अर्को समूह अर्थात् बहुभाषा बोल्ने अन्तर्राष्ट्रिय ठूलो भीडले पनि मुक्ति पाउने मौका पाउँछ।a—प्रकाश ७:१.
२. सांसारिक टिप्पणीकारहरूले ठूलो भीडबारे के अर्थ लगाएका छन् र बितेको समयमा बाइबल विद्यार्थीहरूले पनि यस समूहलाई के ठानेका थिए?
२ सांसारिक टिप्पणीकारहरूको भनाइअनुसार यो ठूलो भीड मसीही धर्म अपनाउने गैरयहूदीहरू अथवा स्वर्ग जाने मसीही शहीदहरू हुन्। बाइबल विद्यार्थीहरूले पनि बितेका समयहरूमा यस ठूलो भीडलाई स्वर्ग जाने द्वितीय श्रेणी ठानेका थिए। उदाहरणका लागि, १८८६-मा स्टडीज इन द स्क्रिप्चर्स, द डिभाइन प्लान अफ दि एजेज-मा यसो भनिएको थियो: “यिनीहरूले सिंहासन र ईश्वरीय स्वभाव पाउने इनाम गुमाउँछन्। तर अन्ततः ईश्वरीय स्वभावभन्दा कमसल आत्मिक अस्तित्व चाहिं प्राप्त गर्छन्। हुनत यिनीहरू पनि समर्पित हुन्। तर सांसारिक आत्माको वशमा साह्रै जकडिएका हुनाले यिनीहरू आफ्नो जीवनलाई बलिदानको रूपमा चढाउन असमर्थ हुन्छन्।” र यही विचार १९३०-सम्म पनि लाइट पुस्तकको प्रथम भागमा यसप्रकार व्यक्त गरिएको थियो: “ठूलो भीडका मानिसहरू ती हुन् जसले प्रभुका जोशिला साक्षीहरू हुने निम्तो स्वीकार गर्दैनन्।” यिनीहरूलाई एउटा आत्म-श्रेष्ठ समूह ठानिन्थ्यो जसले सच्चाइ थाह पाएर पनि यसबारे प्रचार गर्ने कुनै खास प्रयास गर्दैन थिए। यिनीहरूले स्वर्गमा द्वितीय श्रेणीको रूपमा प्रवेश गर्न पाए तापनि ख्रीष्टसित शासन गर्न चाहिं पाउने थिएनन्।
३. (क) पछि गएर प्रचारकार्यमा जोशिला र धार्मिक मनोवृत्ति देखाउने केही व्यक्तिहरूका लागि कुन आशा प्रस्तुत गरियो? (ख) सन् १९२३-को द वाच टावर-ले भेडा र बाख्राको उखानको के अर्थ लगाएको थियो?
३ तथापि, अभिषिक्त मसीहीहरूका अन्य अरू सङ्गीहरू पनि थिए जो पछिगएर प्रचारकार्यमा अति नै जोशिला भए। यिनीहरूको स्वर्ग जाने अभिलाषा थिएन। यहोवाका जनहरूद्वारा १९१८ देखि १९२२-सम्म उद्घोषित जन-भाषणको शीर्षकअनुरूप यिनीहरूको आशा थियो। मूलतः त्यो भाषणको शीर्षक थियो: “संसारको अन्त आइसक्यो—आजका लाखौं जीवित कहिल्यै मर्ने छैनन्।”b यसको केही समयपश्चात् नै अक्टोबर १५, १९२३-को वाच टावर पत्रिकामा येशूले भन्नु भएको भेडा र बाख्राको उखानको (मत्ती २५:३१-४६) यो अर्थ लगाइयो: “भेडाहरूले सबै राष्ट्रका ती मानिसहरूलाई प्रतिनिधित्व गर्छन् जो आत्माद्वारा अभिषिक्त नभए तापनि धार्मिक प्रवृत्तिका छन्। तिनीहरूले येशू ख्रीष्टलाई मनैबाट प्रभु स्वीकार गर्छन् र तिनीहरू उहाँको शासनअन्तर्गत् सुखमय समयहरूको आशा र प्रतीक्षामा छन्।”
४. पार्थिव वर्गबारे १९३१, १९३२ र १९३४-मा ज्योति कसरी झन् झन् चहकिलो हुँदै गयो?
४ केही वर्षपछि १९३१-मा भिन्डीकेशन नामक पुस्तकको प्रथम खण्डमा इजकिएल अध्याय ९-को छलफल गरियो। संसारको अन्त हुँदा बाँच्नका लागि निधारमा छाप लगाइएका मानिसहरू उपरोक्त उखानका भेडाहरू हुन् भनेर यो छलफलद्वारा बुझाइयो। १९३२-मा विमोचित भिन्डीकेशन पुस्तकको तेस्रो खण्डले गैरइस्राएली पुरुष यहोनादाबको धार्मिक मनोवृत्तिको वर्णन गऱ्यो। यो मानिसले इस्राएलको अभिषिक्त राजा येहूलाई साथ दिएका थिए। उनी येहूको रथमा चढेर झूटो धर्म मान्नेहरूको विरुद्धमा येहूको जोश हेर्न गएका थिए। (२ राजा १०:१५-१७) सोही पुस्तकले यो टिप्पणी गरेको थियो: “वर्तमान समयमा येहूले गरेको जस्तै काम [यहोवाका न्यायिक फैसलाहरू घोषणा गर्ने] चलिरहेको बेलामा यहोनादाबले चाहिं यहाँ पृथ्वीको एउटा खास श्रेणीका मानिसहरूलाई चित्रित गर्छन्, जो परमेश्वरको अनुग्रहका पात्रहरू हुन्। यिनीहरू शैतानको सङ्गठनअनुरूप छैनन्। यिनीहरू धार्मिकताको पक्षमा अडान लिन्छन्। यिनीहरूलाई प्रभुले आरमागेडोनमा बचाउनु हुनेछ। यिनीहरूलाई त्यो सङ्कष्टमय स्थितिमा सुरक्षित राख्नु भएर पृथ्वीमा अनन्त जीवन दिनु हुनेछ। हो, यिनीहरू नै ‘भेडा’ वर्गका हुन्।” यस्तो पार्थिव आशा राख्ने मसीहीहरूले पनि यहोवालाई आफ्नो जीवन समर्पण गरेपछि बप्तिस्मा लिनुपर्छ भनेर वाचटावर पत्रिकाद्वारा १९३४-मा स्पष्ट पारियो। यो पार्थिव श्रेणीबारे ज्योति झन्झन् चहकिलो हुँदै गइरहेको थियो।—हितोपदेश ४:१८.
५. (क) सन् १९३५-मा ठूलो भीडबारे के बुझ्न सम्भव भयो? (ख) सम्मेलनमा उपस्थित र पृथ्वीमा सधैंभरि बाँच्ने आशा भएको श्रोतागणलाई १९३५-मा जे. एफ. रदरफर्डले खडा हुने अनुरोध गर्दा के भयो?
५ प्रकाश ७:९-१७-को अर्थ अब सम्पूर्णतः स्पष्ट हुनै लागेको थियो! (भजन ९७:११) मे ३० देखि जून ३, १९३५-सम्म, वाशिङ्गटन डी. सी., संयुक्त राज्य अमेरिकामा आयोजित सम्मेलन यहोनादाबले चित्रित गरेका मानिसहरूका लागि “यथार्थमा सान्त्वनादायी र लाभप्रद हुनेछ” भन्ने आशा वाचटावर पत्रिकाले बारम्बार अभिव्यक्त गर्दै आएको थियो। र त्यस्तै भयो पनि! सम्मेलनमा उपस्थित करीब २०,००० श्रोताहरू समक्ष त्यतिबेला विश्वव्यापी प्रचारकार्यमा नेतृत्व लिइरहेका जे. एफ. रदरफर्डले “ठूलो भीड” विषयमा सनसनीयुक्त भाषण दिए। उनले यी आधुनिक अन्य भेडाहरू नै प्रकाश ७:९-मा उल्लिखित ठूलो भीड हुन् भनेर शास्त्रीय प्रमाण प्रस्तुत गरे। आफ्नो भाषणको चरमोत्कर्षमा वक्ताले यो अनुरोध गरे: “पृथ्वीमा सधैंभरि बाँच्ने आशा राख्नेहरू कृपया उभिनु हुन्छ कि?” श्रोतागणको ठूलो भाग जुरुक्क उभिए। अनि तिनीहरूलाई सङ्केत गर्दै वक्ताले यो घोषणा गरे: “हेर्नुहोस्! त्यो ठूलो भीड!” एकछिन त सन्नाटा छायो। फेरि तुरुन्तै जोडदार करतलध्वनि गुञ्जायमान भयो। यूहन्नावर्गका साथसाथै यहोनादाब समूह हर्षले विह्वल भए! भोलिपल्टै ८४०-जना नयाँ साक्षीहरूले बप्तिस्मा लिए। यीमध्ये धेरैजसोले ठूलो भीडका हुने दाबी गरे।
ठूलो भीडको पहिचान अझ पक्का
६. (क) पृथ्वीमा सधैंभरि बाँच्ने आशा राख्ने समर्पित मसीहीहरूको आधुनिक समूह नै ठूलो भीड हो भनेर हामी स्पष्टसित किन बुझ्न सक्छौं? (ख) ठूलो भीडका सेता वस्त्रहरू कुन कुराका प्रतीक हुन्?
६ परमेश्वरको पृथ्वीमा सधैंभरि बाँच्ने आशा राख्ने समर्पित मसीहीहरूको यो आधुनिक समूह नै ठूलो भीड हो भनी हामी यति निश्चित कसरी हुन सक्छौं? केही समयअघि मात्र “हरेक कुल, भाषा, मानिस र जाति”-बाट किनिएको एउटा स्वर्गीय समूहलाई यूहन्नाले दर्शनमा देखेका थिए। (प्रकाश ५:९, १०) हुनत ठूलो भीडलाई पनि यसरी हरेक कुल, भाषा र मानिसबाटै लिइएको हुन्छ। तर तिनीहरूको गन्तव्य स्थान चाहिं बेग्लै छ। तिनीहरूको संख्या परमेश्वरको इस्राएलको संख्याझैं पूर्वनिश्चित छैन। तिनीहरू अन्ततः जम्माजम्मी कति जना हुने हुन्, सो कुनै पनि मानिसले भन्न सक्तैन। तिनीहरूले आफ्ना लुगाहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्। यसको अर्थ तिनीहरू येशूको बलिदानमाथि विश्वास राख्छन् र यहोवाको नजरमा धर्मी ठहरिएका छन्। (प्रकाश ७:१४) तिनीहरूले मसीहलाई आफ्नो राजा स्वीकार्दै हातमा खजूरका हाँगाहरू हल्लाई रहेका छन्।
७, ८. (क) खजूरका हाँगाहरू हल्लाइँदा प्रेरित यूहन्नालाई निस्सन्देह कुन कुराको सम्झना भएको हुनुपर्छ? (ख) ठूलो भीडका जनहरूले खजूरका हाँगाहरू हल्लाउनुको अर्थ के हो?
७ यो दर्शन देखेर यूहन्नाले सम्भवतः ६० वर्षअघि पृथ्वीमा येशूको अन्तिम हप्ता झलझली सम्झे होलान्। नीसान महिनाको ९ तारिख, सा.यु. ३३-मा, भीडका भीडका मानिसहरू येशूलाई यरूशलेममा स्वागत गर्न जम्मा भएका थिए। तिनीहरूले “खजूरका हाँगाहरू लिएर उहाँलाई स्वागत गर्न निस्के, र ‘होसन्ना! धन्य परमप्रभुका नाउँमा आउने इस्राएलका राजा’ भन्दै कराए।” (यूहन्ना १२:१२, १३) सोही ढङ्गमा ठूलो भीडले पनि खजूरका हाँगाहरू लिएर कराउनुको अर्थ तिनीहरूले येशूलाई यहोवाद्वारा नियुक्त राजाको रूपमा बडो हर्षोल्लाससाथ स्वीकार्नु हो।
८ निस्सन्देह, यी खजूरका हाँगाहरू र हर्षमय जयजयकारहरूले यूहन्नालाई प्राचीन झुप्रो बासको चाडको पनि सम्झना गराउँछ। यस चाडको सम्बन्धमा यहोवाले यो आदेश दिनु भएको थियो: “पहिलो दिन तिमीहरूले असल असल रूखका फलहरू, खजूरका हाँगाहरू, धेरै पात भएका रूखहरूका हाँगाहरू, खोलाका बैंसहरू लिएर परमप्रभु तिमीहरूका परमेश्वरको सामने सात दिनसम्म खुशी मनाउनू।” खजूरका हाँगाहरूको प्रयोग हर्षोल्लासको एउटा प्रतीक थियो। ती कच्चा झुप्रोहरूले चाहिं यहोवाले आफ्ना मानिसहरूलाई मिश्रबाट बचाउनु भएर उजाडस्थानमा पालहरूमा बस्न दिनु भएको सम्झना गराउँथ्यो। यस चाडमा “विदेशी, टुहुरा-टुहुरी र विधवाहरू” सबैले भाग लिन्थे। सारा इस्राएललाई “औधी हर्षित” हुने प्रोत्साहन दिइन्थ्यो।—लेवी २३:४०; व्यवस्था १६:१३-१५.
९. ठूलो भीडले कुन हर्षोल्लासको गानमा भाग लिन्छन्?
९ यसैकारण ठूलो भीड आत्मिक इस्राएलको भाग नभए तापनि, तिनीहरूलाई खजूरका हाँगाहरू हल्लाउनु बिलकुल सुहाँउछ। किनभने तिनीहरूले पनि आनन्दपूर्वक परमेश्वर र थुमालाई विजय र मुक्तिको श्रेय दिन्छन्, र यसको विवरण यूहन्नाले यसप्रकार प्रस्तुत गर्छन्: “र ठूलो सोरले यसो भनेर ती कराउँदा रहेछन्, ‘सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्वर र थुमामा मुक्ति छ।’ ” ( प्रकाश ७:१०) यो ठूलो भीड सबै जातिहरूबाट अलग्गिएको भए तापनि तिनीहरू जम्मै त्यो एउटै “ठूलो सोरले” कराउँछन्। तर आफ्नो राष्ट्रिय र भाषीय विविधताको बावजूद तिनीहरू यसरी एकै स्वरले कसरी कराउन सक्छन्?
१०. ठूलो भीडका सदस्यहरू बेग्लाबेग्लै राष्ट्र र भाषाहरूबाट आएको भए तापनि तिनीहरू एउटै “स्वरले” कसरी कराउन सक्छन्?
१० यो ठूलो भीड आज पृथ्वीको एकमात्र एकताबद्ध अन्तर्राष्ट्रिय सङ्गठनको भाग हो। तिनीहरूले बेग्लाबेग्लै देशका लागि बेग्लाबेग्लै नियमहरू तोक्दैनन्। बरु, तिनीहरू जहाँ बसे तापनि बाइबलका सही सिद्धान्तहरूलाई व्यवहारमा उत्तार्छन्। तिनीहरू कुनै पनि राष्ट्रवादी अथवा क्रान्तिकारी आन्दोलनहरूमा भाग लिंदैनन्। तिनीहरूले वास्तवमा आफ्ना ‘तरवारहरू पिटेर हलोको फाली’ बनाएका छन्। (यशैया २:४) तिनीहरू बेग्लाबेग्लै सम्प्रदाय अथवा धार्मिक मतहरूमा विभाजित छैनन्। मसीहीजगतका धर्महरूलेझैं तिनीहरूले अलमलाउने अथवा विरोधाभासपूर्ण सन्देशहरूको घोषणा गर्दैनन्; ईश्वरको जयजयकार गाउने आफ्नो काम पनि तिनीहरूले कुनै पेशेवर पादरीवर्गलाई सुम्पेका छैनन्। तिनीहरूले मुक्तिको श्रेय पवित्र आत्मालाई दिंदैनन् किनभने तिनीहरू कुनै त्रिएक भगवानका सेवकहरू होइनन्। पृथ्वीभरि करीब २००-भन्दा बढी भौगोलिक इलाकाहरूमा तिनीहरू एकमुख भएर यहोवाको नाउँको पुकारा गर्छन्। तिनीहरू सच्चाइको एकमात्र शुद्ध भाषा बोल्छन्। (सपन्याह ३:९) मुक्तिको परमेश्वर, यहोवा र उहाँद्वारा नियुक्त मुक्तिका प्रमुखकर्ता, येशू ख्रीष्टमै मुक्ति छ भनी तिनीहरूले खुल्लमखुल्ला स्वीकार्छन्।—भजन ३:८; हिब्रू २:१०.
११. आधुनिक प्रविधिले ठूलो भीडलाई आफ्नो सोर अझ चर्को पार्न कसरी मदत दिएको छ?
११ यो संयुक्त ठूलो भीडको स्वरलाई आधुनिक प्रविधिले अझ चर्को पार्नमा मदत दिएको छ। पृथ्वीको अरू कुनै पनि धार्मिक सङ्गठनलाई ४०० भन्दा बढी भाषाहरूमा बाइबल अध्ययनमा मदत दिने साहित्यहरू प्रकाशित गर्ने खाँचो छैन। किनकि पृथ्वीका सबै मानिसहरूसमक्ष संयुक्त खबर पुऱ्याउने चासो अन्य कुनै पनि धार्मिक सङ्गठनलाई छैन। यस काममा अझ मदत दिन यहोवाका साक्षीहरूका अभिषिक्त परिचालक निकायको सुपरिवेक्षणमा एउटा मल्टी लेङ्गवेज इलेक्ट्रोनिक फोटोटाइपसेटिङ्ग सिस्टम (मेप्स)-को विकास गरियो। अनुवादित लेखहरू छाप्न यही मेप्स सिस्टम हाल १२५ भन्दा बढी देशहरूमा प्रयोग गरिंदैछ। यसले गर्दा अर्धमासिक पत्रिका द वाचटावर-लाई एकै साथ १३० भन्दा बढी भाषाहरूमा प्रकाशित गर्न सम्भव भएको छ। यहोवाका जनहरूले थुप्रै भाषाहरूमा यो जस्तै अन्य पुस्तकहरू पनि एकैसाथ प्रकाशित गर्छन्। यसप्रकार, प्रत्येक साल सम्पूर्ण प्रचलित भाषाहरूमा लाखौं-लाख प्रकाशनहरू वितरण गर्ने काममा यहोवाका साक्षीहरूले भाग लिन्छन्, जसमध्ये अधिकांश ठूलो भीडका सदस्यहरू हुन्। यसरी तिनीहरूले सबै जाति र भाषाका अझ धेरै मानिसहरूलाई परमेश्वरको वचन अध्ययन गर्न र ठूलो भीडको चर्को स्वरमा स्वर मिलाउन सहायता दिन्छन्।—यशैया ४२:१०, १२.
स्वर्गमा कि पृथ्वीमा?
१२, १३. ठूलो भीड कुन अर्थमा “सिंहासन र थुमाको अगाडि” उभिएको छ?
१२ ठूलो भीड “सिंहासनको अगाडि उभिनुको” अर्थ तिनीहरू स्वर्गमै छन् भनेको होइन भनी हामी कसरी भन्छौं? यस विषयमा अझ स्पष्ट प्रमाण उपलब्ध छ। उदाहरणका लागि, “अगाडि” (इ-नो-पियोन) भनेर यहाँ अनुवादित युनानी शब्दको शाब्दिक अर्थ हो “आँखाको सामु।” यो शब्दलाई धेरै पटक पृथ्वीमा रहेका मानिसहरूलाई सङ्केत गर्न चलाइएको छ जो यहोवाको “अगाडि” अथवा उहाँको “आँखाको सामु” छन्। (१ तिमोथी ५:२१; २ तिमोथी २:१४; रोमी १४:२२; गलाती १:२०) एक पटक इस्राएलीहरू उजाडस्थानमा हुँदा मोशाले हारुनलाई यसो भने: “इस्राएलका सारा समुदायलाई भन्नुहोस्, ‘परमप्रभुको सामने नजीक आओ किनभने उहाँले तिमीहरूको गनगन सुन्नुभएको छ।’ ” (प्रस्थान १६:९) त्यतिखेर यहोवाको सामने उभिनका लागि ती इस्राएलीहरूलाई स्वर्गमा लैजानु परेन। (लेवी २४:८ तुलना गर्नुहोस्।) बरु, तिनीहरू ठीक त्यहीं उजाडस्थानमा नै यहोवाको आँखाको सामु उभिए र उहाँको ध्यान तिनीहरूमाथि थियो।
१३ यसबाहेक हामी यो पनि पढ्छौं: “तर जब मानिसको पुत्र स्वर्गदूतहरूसमेत आफ्नो महिमामा आउला, तब आफ्नो महिमाको सिंहासनमा बस्नेछ। औ उसको सामु सबै देशका मानिसहरू जम्मा हुनेछन्।”c यो भविष्यवाणी पूरा हुँदा सम्पूर्ण मानवजाति स्वर्गमा हुनेछैनन्। नता “अनन्त दण्ड” भोग्नेहरू नै स्वर्गमा हुनेछन्। (मत्ती २५:३१-३३, ४१, ४६) बरु, समस्त मानिसजाति यहाँ पृथ्वीमै येशूको आँखाको अगाडि खडा हुनेछ र तिनीहरूको न्याय गर्न येशूको ध्यान तिनीहरूमाथि केन्द्रित हुनेछ। यस्तैप्रकार ठूलो भीड पनि “सिंहासन र थुमाको अगाडि उभिरहेको” अर्थ तिनीहरू यहोवा र उहाँको राजा ख्रीष्ट येशूको आँखाको सामु छन् र उहाँहरूले तिनीहरूको पक्षमा न्यायिक फैसला सुनाउनु हुन्छ।
१४. (क) “सिंहासनको वरिपरि” र [स्वर्गीय] “सियोन पर्वतमा” को उभिएको वर्णन गरिएको छ? (ख) ठूलो भीडले परमेश्वरको “मन्दिरमा” सेवा गरे तापनि तिनीहरू पूजारीवर्ग किन होइनन्?
१४ ती २४ जना प्राचीनहरू र १,४४,००० अभिषिक्त समूह यहोवाको “सिंहासनको वरिपरि” र “[स्वर्गीय] सियोन पर्वतमा” छन् भनेर वर्णन गरिएको छ। (प्रकाश ४:४; १४:१) ठूलो भीड कुनै पूजारीवर्ग होइन नता त्यो उच्च ओहदा तिनीहरूले कहिल्यै प्राप्त नै गर्नेछन्। तापनि प्रकाश ७:१५-अनुसार त्यो ठूलो भीड “परमेश्वरको मन्दिर”-मा सेवा गरिरहेको देखिन्छ। तर यहाँ मन्दिर भन्नुको अर्थ भित्रपट्टिको पवित्रस्थान होइन्। यसले परमेश्वरको आत्मिक मन्दिरको पार्थिव चोकलाई मात्र सङ्केत गर्दछ। किनभने यहाँ प्रयोग गरिएको युनानी शब्द ना-ओस्-ले यहोवाको उपासनाका लागि निर्मित सम्पूर्ण घर-आँगनलाई नै अक्सर बोध गराउँछ। आज भने त्यो घर-आँगनको सट्टा एउटा आत्मिक भवन छ जसले स्वर्ग र पृथ्वी दुवैलाई ढाक्छ।—मत्ती २६:६१; २७:५, ३९, ४०; मर्कूस १५:२९, ३०; यूहन्ना २:१९-२१-सित तुलना गर्नुहोस्, न्यु वर्ल्ड ट्रान्सलेशन रेफरेन्स बाइबल, फुटनोट.
-
-
एउटा अत्यन्त ठूलो भीडप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
[पृष्ठ १२१-मा भएको पृष्ठभरिको चित्र]
-