प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • re chap. ५ pp. २२-२७
  • यूहन्‍नाले महिमावान येशूलाई देख्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यूहन्‍नाले महिमावान येशूलाई देख्छन्‌
  • प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रभुको दिनमा
  • एउटा पवित्र रहस्य उघारिन्छ
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • प्रकाशको पुस्तकका पाठकहरू हो, रमाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • येशू प्रोत्साहन दिन आउनु हुन्छ
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • ख्रीष्टले मण्डलीहरूसित कुरा गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
re chap. ५ pp. २२-२७

अध्याय ५

यूहन्‍नाले महिमावान येशूलाई देख्छन्‌

दर्शन १—प्रकाश १:१०–३:२२

विषय: येशूले पृथ्वीमा भएका आत्मिक इस्राएलीहरूको निरीक्षण गर्नुहुन्छ र तिनीहरूलाई आत्मीयतापूर्ण प्रोत्साहन दिनुहुन्छ

पूर्तिको समय: प्रभुको दिनको यस भाग १९१४ देखि सुरु हुन्छ र पृथ्वीमा विश्‍वासी अभिषिक्‍त जनको आखिरी सदस्यको मृत्यु र पुनरुत्थानपछि समाप्त हुन्छ

१. प्रथम दर्शनलाई कसरी प्रस्तुत गरिएको छ र त्यो वास्तवमा पूरा हुने समयलाई यूहन्‍नाले कसरी सङ्‌केत गरेका छन्‌?

प्रकाशको पुस्तकको प्रथम दर्शन अध्याय १-को पद-१० बाट सुरु हुन्छ। प्रकाशका अरू दर्शनहरूमाझैं यस दर्शनको सुरुमा पनि यूहन्‍नाले केही असाधारण कुरा देख्छन्‌ अथवा घोषित भएको सुन्छन्‌। (प्रकाश १:१०, १२; ४:१; ६:१) प्रथम दर्शनको पृष्ठभूमि प्रथम शताब्दी हो र समाचारहरूमा पनि यूहन्‍नाको समयका सातवटा मण्डलीहरूलाई नै सम्बोधन गरिएको छ। तर ती समाचारहरू खास प्रयोगमा आउने समयलाई सङ्‌केत गर्दै यूहन्‍नाले यसो भने: “प्रभुको दिनमा म आत्मामा थिएँ।” ( प्रकाश १:१०क) यो “दिन” कहिले हो? हाम्रो अशान्त समयका जबरजस्त घटनाहरूसित के त्यस दिनको केही सम्बन्ध छ? छ भने, हामीले यस भविष्यवाणीलाई गौरसित ध्यान दिनु पर्छ। मानौं यसैमा हाम्रो जीवन, हो, हाम्रो बचाव नै अडेको छ।—१ थिस्सलोनिकी ५:२०, २१.

प्रभुको दिनमा

२. प्रभुको दिन कहिले सुरु हुन्छ र अन्त कहिले हुन्छ?

२ अतः प्रकाशको पुस्तक पूरा हुने समय कहिले हो? तर यो बुझ्नुभन्दा पहिले त प्रभुको दिन भनेको के हो, सो पता लाउनु आवश्‍यक छ। प्रभुको दिन न्याय गर्ने र ईश्‍वरीय प्रतिज्ञाहरू पूरा हुने समय हुनेछ भनी प्रेरित पावलले सङ्‌केत गरेका छन्‌। (१ कोरिन्थी १:८; २ कोरिन्थी १:१४; फिलिप्पी १:६, १०; २:१६) त्यो “दिन” आउना साथै यहोवाका महान उद्देश्‍यहरू तिनीहरूको चरमोत्कर्षतर्फ गतिशीलतासाथ क्रमशः अघि बढ्‌छन्‌। त्यो “दिन” स्वर्गमा येशूको राज्यारोहण हुनासाथै सुरु हुन्छ। प्रभुको त्यो दिन येशूले शैतानको संसारमाथि न्यायिक दण्ड कार्यान्वयन गरी सक्नु भएपछि पनि समाप्त हुँदैन। त्यो दिनकै दौडान प्रमोदवन पुनःस्थापित गर्ने र मानवजातिलाई सिद्ध तुल्याउने काम गरिन्छ। त्यो दिनको अन्तमा येशूले आफ्नो “परमेश्‍वर अर्थात्‌ पितालाई राज्य सुम्पिदिनुहुनेछ।”—१ कोरिन्थी १५:२४-२६; प्रकाश ६:१, २.

३. (क) प्रभुको दिन कहिले सुरु भयो भनेर बुझ्ने मदत हामीलाई “सात काल” सम्बन्धी दानिएलको भविष्यवाणीले कसरी दिन्छ? (ख) सन्‌ १९१४ देखि नै प्रभुको दिन सुरु भएको हो भनी पृथ्वीका कुन कुन घटनाहरूले पुष्टि दिन्छन्‌?

३ प्रभुको दिन कहिले सुरु हुन्छ, सो बुझ्ने मदत हामीले बाइबलका अरू भविष्यवाणीहरूको पूर्तिबाट पाउँछौं। उदाहरणका लागि, दानिएलको व्याख्याअनुसार राजा दाऊदको घरानाको शासन ढालिने थियो; तर “सात काल” पछि चाहिं “सर्वोच्चको नै मानिसहरूमाथि सर्वाधिकार छ, र जसलाई उहाँले इच्छा गर्नुहुन्छ उसैलाईनै राज्य दिनुहुन्छ भन्‍ने कुरा” प्रष्ट हुनेछ भनियो। (दानिएल ४:२३, २४, ३१, ३२) उक्‍त भविष्यवाणीको पूर्ति यहूदाको राज्यलाई उजाड पारेको समयदेखि सुरु भयो। बाइबलको प्रमाणअनुसार सा.यु.पू. ६०७ को अक्टोबरसम्म यहूदाको राज्य पूर्ण रीतिले उजाडियो। प्रकाश १२:६, १४ बाट देखिन्छ कि ३ १/२ काल भन्‍नुको अर्थ १,२६० दिन हुन्छ; यसकारण, सात काल (उक्‍त सङ्‌खयाको दोब्बर) भन्‍नाले २,५२० दिन हुनुपर्छ। “एक दिनलाई एक वर्ष” ठान्यौं भने सातकाल जम्माजम्मी २,५२० वर्ष हुनेछ। (इजकिएल ४:६, NW) तसर्थ, ख्रीष्ट येशूले १९१४-को अन्ततिर स्वर्गमा शासन गर्न थाल्नु भयो। उक्‍त सालमै प्रथम विश्‍वयुद्ध दन्कियो र मानवजातिलाई आजसम्मै पिरोल्ने “कष्टको सुरू” पनि त्यतिबेलादेखि नै भयो। यो रक्‍तरञ्जित पृथ्वीका घटनाहरूले येशूको उपस्थितिको “दिन” १९१४ मै आरम्भ भयो भनेर अकाट्य पुष्टि दिन्छ!—मत्ती २४:३-१४.a

४. (क) प्रथम दर्शन पूरा हुने समयबारे प्रकाशकै शब्दहरूले के सङ्‌केत गर्छ? (ख) प्रथम दर्शनको पूर्ति कहिले समाप्त हुन्छ?

४ अतः यो प्रथम दर्शन र यसमा भएको उपदेश १९१४ देखि यता, प्रभुको दिनका लागि हो। यो हिसाबलाई पुष्टि दिने तथ्य प्रकाशको पुस्तकमै पाइन्छ। त्यहाँ परमेश्‍वरले आफ्नो साँचो र धार्मिक न्याय कार्यान्वयन गर्नु भएको वर्णन दिइएको छ र त्यसमा प्रभु येशू ख्रीष्टले प्रमुख भूमिका निभाउनु भएको देखिन्छ। (प्रकाश ११:१८; १६:१५; १७:१; १९:२, ११) प्रथम दर्शनको पूर्ति १९१४ मा सुरु भएको थियो भने त्यसको अन्त कहिले हुने हो? यहाँ सम्बोधित सङ्‌गठन परमेश्‍वरका अभिषिक्‍त जनहरूको पार्थिव मण्डली हो भनी प्रस्तुत समाचारहरूबाटै प्रष्ट हुन्छ। अतः त्यस अभिषिक्‍त मण्डलीको अन्तिम विश्‍वासी सदस्य मरेर उसले पुनःरुत्थानद्वारा स्वर्गीय जीवन पाएपछि यो प्रथम दर्शन सम्पूर्णतया पूरा हुनेछ। तर प्रभुको यो दिन चाहिं पार्थिव अरू भेडाहरूलाई आशिष दिंदै येशू ख्रीष्टको सहस्त्र वर्षीय शासनको अन्तसम्मै चल्नेछ।—यूहन्‍ना १०:१६; प्रकाश २०:४, ५.

५. (क) एउटा आवाजले यूहन्‍नालाई के गर्न अह्राउँछ? (ख) ती “सातैवटा मण्डली” मा पत्र पठाउन किन गाह्रो थिएन?

५ कुनै कुरा देख्नअघि यूहन्‍नाले यो पहिलो दर्शनमा केही कुरा सुन्छन्‌: “तुरहीको जस्तो यसो भन्‍ने एउटा ठूलो आवाज मेरो पछाड़ि मैले सुनें, ‘तिमी जे देख्तछौ एउटा पुस्तकमा लेख, र सातैवटा मण्डलीहरू अर्थात्‌ एफिसस, स्मर्ना, पर्गामम, थिआटायरा, सार्डिस, फिलाडेल्फिया र लाओडिसियामा यो पठाऊ।’ ” ( प्रकाश १:१०ख, ११) “सातैवटा मण्डलीहरू” लाई लेखि पठाउनु भनेर यूहन्‍नालाई तुरहीको आवाज जतिकै प्रभावशाली र अख्तियारपूर्ण स्वरले अह्राउँछ। उनले एक पछि अर्को समाचारहरू पाउन लागेका छन्‌। आफूले देखेका र सुनेका कुराहरूलाई उनले प्रकाशित गर्नु परेको छ। साथै, यहाँ उल्लिखित मण्डलीहरू जम्मै यूहन्‍नाको दिनमा साँच्चै नै थिए। तिनीहरू सबै नै पत्मोसदेखि समुद्र पारिपट्टिको क्षेत्र, एशिया माइनरमा थिए। रोमीहरूद्वारा निर्मित पक्का सडकहरूले गर्दा एउटा मण्डलीदेखि अर्को मण्डलीमा सजिलैसित जान सकिन्थ्यो। एक जना दूतलाई एउटा मण्डलीबाट अर्को मण्डलीमा समाचारको चर्मपत्र बोकेर लैजान गाह्रो हुँदैन थियो। यी सातवटा मण्डलीहरूलाई यहोवाका साक्षीहरूको आधुनिक क्षेत्रको एक भागसित तुलना गर्न सकिन्छ।

६. (क) “भएका कुराहरू” को अर्थ के हो? (ख) अभिषिक्‍त मसीहीहरूको वर्तमान स्थिति आज जस्तो छ, यूहन्‍नाको दिनमा पनि त्यस्तै थियो भनी हामी किन निश्‍चित हुन सक्छौं?

६ प्रकाशको पुस्तकका धेरैजसो भविष्यवाणीहरू यूहन्‍नाको समयपछि पूरा हुने वाला थिए। तिनीहरूले “यसपछि हुनआउने कुराहरू” लाई सङ्‌केत गर्दथे। तर सात मण्डलीहरूलाई दिइने सर-सल्लाह चाहिं त्यतिखेर ती मण्डलीहरूमा साँच्चै नै “भएका कुराहरू” सित सम्बन्धित छन्‌। यी समाचारहरू ती सात मण्डलीहरूमा नियुक्‍त विश्‍वासी प्राचीनहरूका साथै त्यस बेलाका अभिषिक्‍त जनहरूका जम्मै मण्डलीहरूका लागि मूल्यवान थिए।b त्यस भविष्यवाणीको मुख्य पूर्ति प्रभुको दिनमा हुनाकारण येशूले यहाँ भन्‍नु भएका कुराहरू वर्तमान मण्डलीहरूका अभिषिक्‍त मसीहीहरूमा पनि लागू हुन्छ।—प्रकाश १:१०, १९.

७. यो प्रथम दर्शनमा यूहन्‍नाले कसलाई देख्छन्‌ र त्यो आज हाम्रालागि यति महत्त्वपूर्ण र रोमाञ्चकारी किन छ?

७ यो प्रथम दर्शनमा यूहन्‍नाले ज्योतिर्मय प्रभु येशू ख्रीष्टलाई उहाँको स्वर्गीय महिमासहित देख्छन्‌। स्वर्गले नियुक्‍त गरेको प्रभुको ठूलो दिनसित सम्बन्धित भविष्यवाणीहरूको पुस्तकका लागि योभन्दा अझ उपयुक्‍त दर्शन अरू के हुन सक्थ्यो र? साथै, प्रभुको दिनमा बाँच्ने र उहाँको प्रत्येक आदेशलाई पालन गर्ने हामी जस्ताहरूका लागि योभन्दा महत्त्वपूर्ण कुरा अरू के हुन सक्छ र? तर यति मात्र होइन। शैतानले झन्डै २,००० वर्षअघि मसीही सन्तानको “कुर्कुच्चो” डस्दा यी सन्तानले सबै जाँच र सतावट सहनु हुँदै कष्टदायी मृत्यु समेत भोग्नु भयो। तर आज भने उहाँ स्वर्गमा जीवित हुनुहुन्छ। परमेश्‍वरको महान उद्देश्‍यलाई भव्य रूपमा पूरा गर्ने शक्‍ति उहाँलाई दिइएको छ!—उत्पत्ति ३:१५.

८. येशू अब के गर्न तम्तयार हुनुहुन्छ?

८ अब राजगद्दीमा विराजमान राजाको हैसियतमा येशू आफ्नो गतिविधि सुरु गर्न तम्तयार हुनुहुन्छ। यो थोत्रो तथा दुष्ट रीतिरिवाज र त्यसको दुष्ट ईश्‍वर शैतानमाथि यहोवाको अन्तिम न्याय कार्यान्वयन गर्न येशू यहोवाको मुख्य कार्यान्वयनकर्त्ता नियुक्‍त हुनु भएको छ। उहाँले अभिषिक्‍त जनहरूको मण्डली र तिनीहरूका सङ्‌गीहरूको ठूलो भीडका साथै सारा संसारको पनि न्याय गर्नु हुनेछ।—प्रकाश ७:४, ९; प्रेरित १७:३१.

९. (क) सुनको सामदानको माझमा हुनु हुने महिमावान येशूको वर्णन यूहन्‍नाले कसरी गर्छन्‌? (ख) मन्दिरजस्तो वातावरण र येशूले पहिरनु भएको वस्त्रबाट कुन कुरा बोध हुन्छ? (ग) उहाँको सुनौलो छाती फिताले कुन कुरालाई सङ्‌केत गर्दछ?

९ चर्को स्वर सुन्दा यूहन्‍ना फर्केर हेर्छन्‌ र यो देख्छन्‌: “मसँग बोल्नेलाई हेरौं भनेर म फर्कें। औ फर्केर हेर्दा सातवटा सुनका सामदान [देखें]।” ( प्रकाश १:१२) यी सातवटा सामदानहरू कुन कुराका प्रतीक हुन्‌, सो यूहन्‍नालाई पछि थाहा हुन्छ। तर अहिले भने उनको ध्यान सामदानको माझमा भएको व्यक्‍तितर्फ आकृष्ट हुन्छ। “सामदानको माझमा मानिसका पुत्रजस्तै पाउसम्मै पोशाक लगाउनुभएको र छातीमा सुनौला चौड़ा तेर्सो फिता बाँध्नुभएको एक जनालाई मैले देखें।” ( प्रकाश १:१३) जिल्ल परेका यी साक्षी यूहन्‍नाको सामु “मानिसको पुत्र”, येशूले भव्य तथा ज्योतिर्मय रूप धारण गर्नुहुन्छ। झकमक्क बलिरहेको सुनौलो सामदानबीच उहाँ तेजोमय महिमाका साथ देखा पर्नुहुन्छ। इन्साफ गर्ने शक्‍ति सहित येशू यहोवाको महान प्रधान पूजारीको हैसियतमा उपस्थित हुनुहुन्छ भन्‍ने कुराको आभास यूहन्‍नालाई यो मन्दिररूपी वातावरणबाट हुन्छ। (हिब्रू ४:१४; ७:२१-२५) येशूको त्यो लामो, रवाफिलो वस्त्र र उहाँले निभाउनु पर्ने पूजारीको भूमिका, दुवै मेल खान्छन्‌। पुरातन यहूदी प्रधान पूजारीहरूले जस्तै उहाँले पनि छातीमा फिता बाँध्नु भएको छ। यो सुनको फिताले मानौं उहाँको हृदयलाई नै ढाक्‍तछ। यसको अर्थ उहाँले यहोवा परमेश्‍वरबाट पाउनु भएको ईश्‍वरीय जिम्मेवारीलाई आफ्नो पूर्ण हृदयसाथ पूरा गर्नु हुनेछ।—प्रस्थान २८:८, ३०; हिब्रू ८:१, २.

१०. (क) येशूको हिउँजस्तो कपाल र अग्निमय आखाँले कुन कुरालाई सङ्‌केत गर्छन्‌? (ख) येशूको बल्दो पीतल जस्तो पाउले के महत्त्व राख्तछ?

१० यूहन्‍ना अझ यसप्रकार वर्णन गर्छन्‌: “उहाँको शिर र केश सेता ऊन, र हिउँजस्तै सेता थिए, र उहाँका नजरहरू आगोका ज्वालाजस्तै थिए।” ( प्रकाश १:१४) उहाँको हिउँजस्तै सेतो कपाल उहाँले आफ्नो लामो जीवनकालको दौडान हासिल गर्नु भएको बुद्धिको प्रतीक हो। (हितोपदेश १६:३१ सित तुलना गर्नुहोस्‌) र उहाँको अग्निमय आँखाहरूको अर्थ चाहिं उहाँले कुनै कुराको खोजबिन गर्नु हुँदा, जाँच गर्नु हुँदा अथवा आफ्नो अप्रसन्‍नता व्यक्‍त गर्नु हुँदा उहाँ सम्पूर्णतया सचेत र जागरुक रहनु हो। येशूको पाउमा पनि यूहन्‍नाको ध्यान आकृष्ट हुन्छ: “उहाँका पाउहरू आरानमा खारेर टल्काइराखेका पीतलजस्ता थिए, र उहाँको सोर चाहिं धेरै पानीहरूको आवाजजस्तै थियो।” ( प्रकाश १:१५) दर्शनमा येशूको पाउ झलझली बलिरहेको पीतलजस्तै छ। यो वर्णन यहोवा परमेश्‍वरको सामु जोश र इमान्दारीका साथ हिंड्‌ने व्यक्‍तिका लागि कति उपयुक्‍त छ। तर कुरा यति मात्र होइन। बाइबलमा अक्सर सुनले ईश्‍वरीय चीजहरूलाई जनाउछ र कहिलेकाहीं पीतल चाहिं मानवीय चीजहरूको प्रतीक हुन गएको छ।c अतः पृथ्वीमा सुसमाचार प्रचार गर्दै हिंड्‌नु हुँदा येशूका पाउ कति “सुन्दर” थिए, यसको सम्झना हामीलाई यो बल्दो पीतलको पाउले गराउँछ।—यशैया ५२:७; रोमी १०:१५.

११. (क) येशूको महिमावान पाउले हामीलाई कुन कुराको सम्झना गराउँछ? (ख) येशूको स्वर “धेरै पानीहरूको आवाजजस्तै” हुनु कुन कुराको एउटा सङ्‌केत हो?

११ अवश्‍य पनि एक जना सिद्ध मानवको हैसियतमा येशूको नूर स्वर्गदूत र मानिस, दुवैले स्पष्ट देख्न सक्थे। (यूहन्‍ना १:१४) उहाँको तेजोमय पाउबाट यो पनि बोध हुन्छ कि उहाँ यहोवाको सङ्‌गठनको पवित्र भूमिमा हिंड्‌नु हुँदैछ। यस सङ्‌गठनको उहाँ प्रधान पूजारी पनि हुनुहुन्छ। (प्रस्थान ३:५ सङ्‌ग तुलना गर्नुहोस्‌) ठूलो उँचाइबाट तल झरिरहेको छहराको गर्जन जस्तै उहाँको स्वर सुनिन्छ। कति प्रभावकारी र भयानक! तर कति उपयुक्‍त। किनकि औपचारिक तवरमा उहाँलाई नै परमेश्‍वरको वचन भनिन्छ र “धर्मपूर्वक संसारको इन्साफ” गर्न पनि उहाँ नै आउनुहुन्छ।—प्रेरित १७:३१; यूहन्‍ना १:१.

१२. “धारिलो दुइ-धारे तरवार” को महत्त्व के हो?

१२ “उहाँको दाहिने बाहुलीमा सातवटा ताराहरू थिए, र उहाँको मुखबाट धारिलो दुइ-धारे तरवार निस्केको थियो। उहाँको चेहरा चाहिं पूरा शक्‍तिसँग चम्केको सूर्यजस्तै थियो। जब मैंले उहाँलाई देखें तब मरेतुल्य भएर म उहाँका पाउमा घोप्टें।” ( प्रकाश १:१६, १७क) केही समयपछि यी सात ताराहरूको अर्थ स्वयं येशूले बताउनु हुन्छ। तर हेर्नुहोस्‌, उहाँको मुखबाट के निस्किरहेछ: “धारिलो दुइ-धारे तरवार।” कति सुहाउँदो प्रतीक! किनकि येशूलाई नै यहोवाका दुश्‍मनहरूमाथि उहाँको आखिरी न्यायिक फैसला घोषणा गर्न नियुक्‍त गरिएको छ। येशूको मुखबाट निस्कने निर्णायक वाणीहरूले गर्दा सबै दुष्ट जनहरू नष्ट हुनेछन्‌।—प्रकाश १९:१३, १५.

१३. (क) येशूको उज्ज्वल र चम्किलो रूपले हामीलाई कुन कुराको सम्झना गराउँछ? (ख) येशूबारे यूहन्‍नाले गरेको सम्पूर्ण वर्णन नै के को एउटा चित्रण हो?

१३ येशूको उज्ज्वल र चम्किलो रूपले हामीलाई मोशाको सम्झना गराउँछ। सीनै पर्वतमा यहोवाले मोशासित कुरा गरिसक्नु भएपछि मोशाको अनुहारबाट पनि ज्योति चम्केको थियो। (प्रस्थान ३४:२९, ३०) यस बाहेक झन्डै २,००० वर्षअघि आफ्ना तीन जना प्रेरितहरूको सामुन्‍ने येशूको रूप परिवर्त्तन हुँदा “उहाँको चेहरा सूर्यझैं चम्क्यो औ उहाँको वस्त्र ज्योतिझैं सेतो भयो।” (मत्ती १७:२) प्रकाशको यस दर्शनमा पनि येशू प्रभुको दिनमा हुनुहुन्छ र यहोवाको सामनेबाट आएको व्यक्‍तिको जस्तै ज्योति उहाँको अनुहारमा झल्किरहेछ। (२ कोरिन्थी ३:१८) वास्तवमा यूहन्‍नाको यो दर्शनले मुख्यतः तेजोमय महिमाको आभास दिन्छ। हिउँ जस्तो सेतो कपालदेखि लिएर अग्निमय आँखा, चम्किलो अनुहार र बल्दो पाउ जम्मै कुरा “कोही पुग्न नसक्ने ज्योतिमा” अब बस्नु हुने व्यक्‍तिको एउटा सर्वोत्तम दर्शन हो। (१ तिमोथी ६:१६) यो दृश्‍य यति यथार्थ, यति स्पष्ट छ! यो देखेर तीन छक्क परेको यूहन्‍नामाथि के असर पऱ्‍यो होला? यी प्रेरित यसो भन्छन्‌: “जब मैले उहाँलाई देखें तब मरेतुल्य भएर म उहाँका पाउमा घोप्टें।”—प्रकाश १:१७.

१४. महिमावान येशूबारे यूहन्‍नाले देखेको दर्शन पढ्‌दा हामीमाथि यसले कस्तो असर पार्नु पर्ने हो?

१४ यूहन्‍नाको रङ्‌गीन र विस्तृत विवरणसहितको दर्शनले गर्दा आज परमेश्‍वरका जनहरूको हृदय गहिरो मूल्याङ्‌कनको भावले भरिन्छ। हामीले प्रभुको दिनको ९० वर्षभन्दा बढी त काटी सक्यौं। यस समयावधिमा यो दर्शनको रोमाञ्चकारी पूर्ति भइ नै रहेको छ। येशूको राज्य-शासन हाम्रो लागि भविष्यको आशा मात्र होइन, एउटा जीवित र वर्तमान वास्तविकता हो। अतः त्यस राज्यको वफादार प्रजाको हैसियतमा ठूलो उत्सुकतासाथ हामीले यस प्रथम दर्शनमा यूहन्‍नाले वर्णन गर्न लागेको बाँकी विवरणलाई पनि विशेष ध्यान दिनु र महिमावान येशू ख्रीष्टको वाणी पालन गर्नु उचित हो।

[फुटनोटहरू]

a विस्तृत विवरणका लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको ८८-९२, २१५-२१८ पृष्ठहरू हेर्नुहोस्‌।

b प्रथम शताब्दीमा कुनै एउटा मण्डलीले एक जना प्रेरितबाट पत्र पाउँदा, अरू मण्डलीहरूलाई पनि सो पत्र पढ्‌नका लागि पठाउने चलन थियो र यसप्रकार सबैले उक्‍त पत्रमा भएको उपदेशबाट लाभ उठाउन सक्थे।—कलस्सी ४:१६-सित तुलना गर्नुहोस्‌।

c सुलेमानद्वारा निर्मित मन्दिरको भित्री सजावट जम्मै सुनको थियो अथवा सुनको पाताले ढाकेको थियो। तर आँगनमा चाहिं पीतल प्रयोग गरिएको थियो।—१ राजा ६:१९-२३, २८-३५; ७:१५, १६, २७, ३०, ३८-५०; ८:६४.

[पृष्ठ २३-मा भएको पेटी]

ती सात मण्डलीहरू भएका शहरहरूका भग्नावशेषहरूले बाइबलको वृत्तान्तलाई पुष्टि दिन्छ। प्रथम शताब्दीका मसीहीहरूले येशूका प्रोत्साहनयुक्‍त समाचारहरू यहीं नै पाएका थिए र ती समाचारहरूले आज विश्‍वव्यापी मण्डलीलाई पनि उत्साहित पार्दछ

पर्गामम

स्मर्ना

थिआटायरा

सार्डिस

एफिसस

फिलाडेल्फिया

लाओडिसिया

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने