प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ४/१ pp. १६-२१
  • “परमप्रभुको प्रशंसा गर!”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “परमप्रभुको प्रशंसा गर!”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हेर मसीही राजा!
  • “अन्त” कसरी आउँछ?
  • याहको प्रशंसा गर्ने समय
  • याहले गर्नु भएका इन्साफहरूका लागि उहाँको प्रशंसा गर
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • अनन्तका महाराजाको प्रशंसा गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • येशू ख्रीष्टको प्रकाशमा छुटकारा
    सन्‌ १९९३ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
  • “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु”
    “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु”
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ४/१ pp. १६-२१

“परमप्रभुको प्रशंसा गर!”

“सास हुने जति सबैले, परमप्रभुको प्रशंसा गर।”—भजन १५०:६.

१, २. (क) प्रथम शताब्दीमा कुन हदसम्म साँचो मसीही धर्म फस्टायो? (ख) प्रेरितहरूले कस्तो पूर्वचेताउनी दिइसकेका थिए? (ग) धर्मत्याग कसरी विकास भयो?

येशूले आफ्ना चेलाहरूलाई मसीही मण्डलीको रूपमा स्थापित गर्नुभयो। प्रथम शताब्दीमा त्यो निकै फस्टायो। घोर विरोधको बावजूद “सुसमाचार . . . स्वर्गमनि भएका सारा सृष्टिमा प्रचारियो।” (कलस्सी १:२३) तर येशू ख्रीष्टका प्रेरितहरूको मृत्युपछि शैतानले धूर्ततापूर्वक धर्मत्यागको बीउ रोप्यो।

२ यद्यपि, प्रेरितहरूले पहिल्यै चेताउनी दिइसकेका थिए। उदाहरणका लागि, पावलले एफिससका प्राचीनहरूलाई यसो भने: “तपाईंहरू आफै र पवित्र आत्माले परमेश्‍वरका मण्डलीमा चराउनलाई तपाईंहरूलाई धर्माधिकारी तुल्याउनुभएको र बगालसमेत, उहाँले आफ्नै रगतले किन्‍नुभएकोले होशियारी हुनुहोस्‌। किनभने मलाई थाह छ, कि म गएपछि बगाललाई स्वाहा पार्ने डरलाग्दा ब्वाँसाहरू पस्नेछन्‌। औ तपाईंहरू आफैमध्ये पनि कुनै कुनै, मानिसहरू बराल्ने कुरा बोलेर चेलाहरूलाई आफ्ना पछिपछि लैजानालाई खड़ा हुनुहुनेछन्‌।” (प्रेरित २०:२८-३०; २ पत्रुस २:१-३; १ यूहन्‍ना २:१८, १९ पनि हेर्नुहोस्‌।) तसर्थ, चौथौं शताब्दीमा धर्मत्यागी मसीही धर्मले रोमी साम्राज्यसित नङ र मासुजस्तै सम्बन्ध गाँस्यो। केही शताब्दीपछि पवित्र रोमी साम्राज्यले रोमको पोपसँग मिलेर संसारका अधिकांश मानिसहरूमाथि राज्य गऱ्‍यो। समयमा प्रोटेस्टेन्ट धर्म सुधारकहरूले क्याथोलिक चर्चको अचाक्ली दुष्टताको विरोध गरे। तर तिनीहरूले साँचो मसीही धर्म भने पुनर्स्थापना गर्न सकेनन्‌।

३. (क) कहिले अनि कसरी सारा सृष्टिमा सुसमाचार प्रचारियो? (ख) बाइबल आधारित कुन प्रत्याशा सन्‌ १९१४ मा पूरा भयो?

३ यद्यपि, १९ औं शताब्दीको अन्ततिर निष्कपट बाइबल विद्यार्थीहरूका समूह अरूलाई प्रचार गर्न र ‘स्वर्गमनि भएका सबैलाई सुसमाचारको आशा’ प्रदान गर्न पुनः व्यस्त थिए। बाइबलका भविष्यवाणी अध्ययन गरेर यो समूहले ३० वर्ष अगावै सन्‌ १९१४ “अन्यजातिको तोकिएको समय” अर्थात्‌ सा.यु.पू. ६०७ मा यरूशलेमको विनाशदेखि सुरु भएको “सात काल” वा २,५२० वर्षको अन्त हो भनेर औंल्याएका थिए। (लूका २१:२४; दानियल ४:१६) तिनीहरूले आशा गरेजस्तै सन्‌ १९१४ मा मानव जीवनले नयाँ मोड लियो। स्वर्गमा पनि ऐतिहासिक घटना भयो। त्यही वर्ष अनन्तका महाराजाले सँगी राजा येशू ख्रीष्टलाई स्वर्गीय सिंहासनमा बसाल्नुभयो। यसप्रकार यस पृथ्वीबाट सारा दुष्टता हटाएर पुनः प्रमोदवन स्थापित गर्ने तयारी सुरु भयो।—भजन २:६, ८, ९; ११०:१, २, ५.

हेर मसीही राजा!

४. येशूले आफ्नो नाउँ माइकलअनुरूप कसरी काम गर्नुभयो?

४ सन्‌ १९१४ देखि मसीही राजा येशूले कारवाही गर्न थाल्नुभयो। बाइबलमा उहाँलाई माइकल भन्‍ने नाउँ पनि दिइएको छ, जसको अर्थ हो, “परमेश्‍वर जस्तो को छ?” यहोवाको सार्वभौमिकतालाई उच्च पार्ने उहाँको लक्ष्य भएकोले उहाँलाई त्यो नाउँ सुहाउँछ। अब उहाँले कस्तो कारवाही गर्नुहुनेछ, त्यसबारे प्रकाश १२:७-१२ मा प्रेरित यूहन्‍नाले आफ्नो दर्शनद्वारा बताए: “स्वर्गमा लड़ाइँ भयो। माइकल र तिनका दूतहरू त्यस अजींगरजस्तै पशुसँग लड़ाइँ गर्न गए, अजींगरजस्तै पशु र त्यसका दूतहरूले युद्ध गरे। औ तिनीहरूले जित्नसकेनन्‌, नता तिनीहरूका निम्ति स्वर्गमा फेरि कुनै ठाउँ रह्‍यो। अनि त्यो अजींगरजस्तै पशु तल फ्याँकियो त्यो वृद्ध साँप, दियाबल र शैतान भनिने, सारा संसारलाई ठग्ने, पृथ्वीतलमा फ्याँकियो, र त्यसका दूतहरू त्यसका साथसाथै फ्याँकिए।” कति ठूलो पतन!

५, ६. (क) सन्‌ १९१४ पछि स्वर्गमा कुन रोमाञ्चकारी उद्‌घोषणा भयो? (ख) मत्ती २४:३-१३ कसरी यससित सम्बन्धित छ?

५ त्यसपछि स्वर्गमा यसो भन्‍ने उद्‌घोषणा सुनियो: “अब हाम्रा परमेश्‍वरको मुक्‍ति, शक्‍ति, राज्य र उहाँको ख्रीष्टको अख्तियार आएको छ, किनकि हाम्रा भक्‍तहरूलाई दोष लगाउने, जसले हाम्रा परमेश्‍वरका सामने दिनरात तिनीहरूलाई दोष लगाउँछ, त्यो फ्याँकिदिएको छ। औ थुमाको [ख्रीष्ट येशू] रगत, र तिनका वचनको साक्षीको कारण, र तिनीहरूले मृत्युसम्मै आफ्नो जीवनको पनि प्रेम नराखेका हुनाले तिनीहरूले [विश्‍वासी मसीहीहरू] त्यसलाई जितेका छन्‌।” त्यसरी जित्नुको अर्थ, येशूले दिनुभएको छुटकाराको अमूल्य बलिदानमाथि विश्‍वास गर्ने निष्ठावान्‌ जनहरूका निम्ति छुटकारा हो।—हितोपदेश १०:२; २ पत्रुस २:९.

६ स्वर्गमा यस्तो चर्को घोषणा भयो: “यसकारण हे स्वर्गहरू र तिनमा रहनेहरू हो, सबै रमाओ। पृथ्वी र समुद्रलाई धिक्कार छ, किनभने आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग तिमीहरूकहाँ तल गएको छ।” वर्तमान शताब्दीमा भएका विश्‍वयुद्धहरू, अनिकाल, रूढी, भुइँचालो र अपराधहरू पृथ्वीका लागि अगमवाणी गरिएको “धिक्कार” साबित भएको छ। मत्ती २४:३-१३ अनुसार येशूले यी घटनाहरू “जगत्‌को अन्तको चिन्ह” हुनेछन्‌ भनेर भविष्यवाणी गर्नुभएको थियो। भविष्यवाणीअनुरूप सन्‌ १९१४ देखि मानवजातिले पहिले कहिल्यै नभोगेका विपत्तिहरू भोगिरहेका छन्‌।

७. यहोवाका साक्षीहरू किन अविलम्ब प्रचार गर्छन्‌?

७ यो शैतानी विपत्तिको युगमा के मानवजातिले सुन्दर भविष्यको आशा गर्नसक्छ? अवश्‍य सक्छ। किनभने मत्ती १२:२१ मा येशूले यसो भन्‍नुभयो: “उनैको नाउँमा अन्यजातिहरूले आशा राख्नेछन्‌।” राष्ट्रहरूबीचको गञ्जागोलले वर्तमान समयलाई “जगत्‌को अन्त” मात्र नभई ‘मसीही राज्यको स्वर्गीय राजाको हैसियतमा येशूको उपस्थितिको चिन्हको’ रूपमा पनि इंगित गर्छ। त्यो राज्यको विषयमा येशू अझ यसो भन्‍नुहुन्छ: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (मत्ती २४:१४) आज पृथ्वीमा कसले मात्र परमेश्‍वरको राज्यको महान्‌ आशाबारे प्रचार गरिरहेका छन्‌? यहोवाका साक्षीहरूले! परमेश्‍वरको धार्मिक तथा शान्तिमय राज्यले पृथ्वीमाथि अधिकार गर्नै लागेको छ भनेर तिनीहरू जनसमक्ष र घर-घरमा अविलम्ब घोषणा गर्छन्‌। के तपाईं यो सेवकाईमा भाग लिइरहनुभएको छ? साँच्चै भन्‍ने हो भने, तपाईंले योभन्दा ठूलो सुअवसर कतै पाउन सक्नुहुन्‍न!—२ तिमोथी ४:२, ५.

“अन्त” कसरी आउँछ?

८, ९. (क) कसरी “परमेश्‍वरकै परिवारबाट” न्याय सुरु भयो? (ख) मसीहीजगतले कसरी परमेश्‍वरको वचनलाई उल्लंघन गरेका छन्‌?

८ मानवजाति न्यायको युगमा प्रवेश गरेको छ। हामीले १ पत्रुस ४:१७ बाट पाएको जानकारीअनुसार न्याय “परमेश्‍वरकै परिवार” अर्थात्‌ मसीही भनौंदा संगठनहरूबाट सुरु भयो। यो कुरा सन्‌ १९१४-१८ सम्म चलेको रक्‍तपातपूर्ण प्रथम विश्‍वयुद्ध सँगसँगै सुरु भएको “आखिरी दिन”-देखि स्पष्ट भएको छ। के मसीहीजगत निर्दोष साबित भयो त? त्यसको जवाफ पाउन सन्‌ १९१४ देखि चर्चहरूले युद्धहरूमा गरेको समर्थनलाई विचार गरे पुग्छ। आफूले रणभूमिमा प्रचार गरेका “निर्दोषहरूको जीवन-रक्‍त[ले]” के पादरीवर्ग कलंकित भएका छैनन्‌ र?—यर्मिया २:३४.

९ मत्ती २६:५२ अनुसार येशूले भन्‍नुभयो: “तरवार लिनेहरू सबै जना तरवारैबाट नष्ट हुनेछन्‌।” यस शताब्दीमा लडिएका युद्धहरूमा यो कति सत्य साबित भएको छ! पादरीहरूले जवानहरूलाई एउटै धर्म मान्‍ने अरू जवानहरूको समेत संहार गर्न आग्रह गरेका छन्‌। क्याथोलिकहरू क्याथोलिकहरूलाई र प्रोटेस्टेन्टहरू प्रोटेस्टेन्टहरूलाई मार्दैछन्‌। राष्ट्रियतालाई परमेश्‍वर र ख्रीष्टभन्दा उच्च स्थानमा राखिएको छ। हालै, केही अफ्रिकी राष्ट्रहरूमा बाइबल सिद्धान्तहरूलाई भन्दा आफ्नो जातीय पृष्ठभूमिलाई प्राथमिकता दिइएको छ। क्याथोलिकहरूको बाहुल्य भएको देश, रूवाण्डामा कम्तीमा ५,००,००० मानिसहरू जातीय हिंसामा मरे। लोसारभाटोरा रोमानो नामक भेटिकन समाचारपत्रमा पोपले यसो भन्दै स्वीकारे: “यो पूर्णतया जातीय संहार हो र दुःखलाग्दो कुरा क्याथोलिकहरूसमेत त्यसका लागि जिम्मेवार छन्‌।”—तुलना गर्नुहोस्‌ यशैया ५९:२, ३; मीका ४:३, ५.

१०. यहोवाले झूटो धर्ममाथि कस्तो न्याय गर्नुहुनेछ?

१० एकअर्काको ज्यान लिन प्रोत्साहित गर्ने वा आफ्ना सदस्यहरूले अरू धर्मावलम्बीहरूलाई स्वाहा पार्दा हात बाँधेर बस्ने धर्महरूलाई अनन्तका महाराजाले कुन दृष्टिले हेर्नुहुन्छ? झूट धर्मको विश्‍वव्यापी रीतिरिवाज, महान्‌ बेबिलोनबारे प्रकाश १८:२१, २४ ले यसो भन्छ: “एउटा बलवान दूतले जाँतोजस्तै एउटा ठूलो ढुंगा उठाए, र यसो भनेर समुद्रमा फाले, ‘यसरीनै महान्‌ शहर बेबिलोन ठूलो झोक्काले फालिनेछ, र फेरि कहिल्यै पाइनेछैन। औ त्यसैमा अगमवक्‍ताहरू, पवित्र जनहरू र पृथ्वीमा मारिएका सबैका रगत पाइएको थियो।’”

११. मसीहीजगतमा कस्ता घिनलाग्दा कार्यहरू भएका छन्‌?

११ बाइबलको भविष्यवाणीको पूर्तिअनुरूप मसीहीजगतमा घिनलाग्दा कुराहरू भएका छन्‌। (तुलना गर्नुहोस्‌ यर्मिया ५:३०, ३१; २३:१४) मुख्यतः पादरीवर्गको छाडा प्रवृत्तिले गर्दा तिनीहरूका बगालहरूमा छ्यापछ्याप्ती अनैतिकता पाइन्छ। तथाकथित मसीही राष्ट्र, संयुक्‍त राज्यमा आधाभन्दा बढी विवाहित दम्पतीहरू पारपाचुके गर्छन्‌। चर्चका सदस्यहरूबीच कैशोर गर्भधारण र समलैंगिकताको बिगबिगी छ। पादरीहरूले एक दुइ पटक मात्र होइन, निकै पटक कलिला केटाकेटीहरूलाई यौन दुर्व्यवहार गरेका छन्‌। भनिन्छ, पादरीहरूमाथि लागेका त्यस्ता मुद्दाहरू छिन्‍न संयुक्‍त राज्यमा मात्र क्याथोलिक चर्चहरूले एक दशकभित्र एक अरब अमेरिकी डलर खर्च गर्नुपर्ने हुन्छ। हो, प्रेरित पावलले १ कोरिन्थी ६:९, १० मा दिएका यो चेताउनीलाई मसीहीजगतले बेवास्ता गरेका छन्‌: “अधर्मीहरू परमेश्‍वरको राज्यको हकदार हुँदैनन्‌ भन्‍ने के तिमीहरूलाई थाह छैन? न ठगियौ। व्यभिचारीहरू, मूर्तिपूजकहरू, जारी गर्नेहरू, लुच्चाहरू, पुरुषगामीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, गाली गर्नेहरू, लुटाहाहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैन।”

१२. (क) अनन्तका महाराजाले कसरी महान्‌ बेबिलोन विरुद्ध कारवाही गर्नुहुनेछ? (ख) मसीहीजगत विपरीत परमेश्‍वरका जनहरू कुन कारणका लागि “हल्लेलूयाह” सामूहिक गीत गाउँछन्‌?

१२ चाँडै, अनन्तका महाराजा यहोवाले आफ्नो स्वर्गीय अतिरथी ख्रीष्ट येशूद्वारा महासंकष्ट सुरु गर्नुहुनेछ। प्रथमतः मसीहीजगत अनि महान्‌ बेबिलोनका सबै धर्महरूलाई यहोवाले नाश गर्नुहुनेछ। (प्रकाश १७:१६, १७) येशूले दिनुभएको छुटकाराको बलिदानद्वारा यहोवाले प्रबन्ध गर्नुभएको मुक्‍तिका लागि तिनीहरू अयोग्य साबित भएका छन्‌। तिनीहरूले परमेश्‍वरको पवित्र नाउँलाई तुच्छ सम्झेका छन्‌। (तुलना गर्नुहोस्‌ इजकिएल ३९:७) महंगा ठूल-ठूला भव्य घरहरूमा “हल्लेलूयाह” भन्‍ने गीत गाएर साँच्चै तिनीहरूले परमेश्‍वरको कत्रो उपहास गर्छन्‌! तिनीहरूले बाइबल अनुवादहरूबाट यहोवाको अमूल्य नाउँलाई हटाएका छन्‌। तर वास्तवमा तिनीहरूले चलाउने गरेको “हल्लेलूयाह” शब्दको अर्थ नै “याहको प्रशंसा गर” हो र “याह” “यहोवाको” संक्षिप्त रूप हो भन्‍ने कुरा तिनीहरूले सम्झेका छैनन्‌ जस्तो छ। बरु, छिट्टै परमेश्‍वरले महान्‌ बेबिलोनको न्याय गर्नुभएपछि “हल्लेलूयाह” सामूहिक गीत गाइनेछ भनेर प्रकाश १९:१-६ ले उपयुक्‍त ढंगमा उल्लेख गर्छ।

१३, १४. (क) त्यसपछि कुन उल्लेखनीय घटना हुन्छ? (ख) ईश्‍वरभीरु मानिसहरूले कस्तो आनन्ददायी नतिजा पाउँछन्‌?

१३ त्यसपछि राष्ट्र तथा मानिसहरूमाथि न्यायको घोषणा र कार्यान्वयन गर्न येशू ‘आउनुहुन्छ।’ उहाँ आफैले यसरी भविष्यवाणी गर्नुभयो: “तर जब मानिसको पुत्र [ख्रीष्ट येशू] स्वर्गदूतहरूसमेत आफ्नो महिमामा आउला, तब आफ्नो महिमाको [न्याय] सिंहासनमा बस्नेछ। औ उसको सामु [पृथ्वीका] सबै देशका मानिसहरू जम्मा हुनेछन्‌, र जसरी गोठालाले भेड़ालाई बाख्राबाट छुट्याउँछ, उसरीनै उसले तिनीहरू एकलाई अर्कोबाट छुट्याउनेछ। औ उसले भेड़ाहरूलाई आफ्नो दाहिने हातपट्टि, तर बाख्राहरूलाई देब्रेपट्टि राख्नेछ। तब राजाले आफ्ना दाहिने हातपट्टिकाहरूलाई भन्‍नेछन्‌, ‘आओ, ए मेरा पिताका धन्यका हो, जो राज्य जगत्‌को उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार पारिएको छ, त्यो अधिकार गर।’” (मत्ती २५:३१-३४) अनि पद ४६ ले बाख्राहरू “अनन्त दण्डमा, तर धार्मिकहरूचाहिं अनन्त जीवनमा जानेछन्‌” भनेर उल्लेख गर्छ।

१४ बाइबल पुस्तक प्रकाशले “राजाहरूका महाराजा, र प्रभुहरूका महाप्रभु” अर्थात्‌ स्वर्गमा हुनुहुने हाम्रो प्रभु येशू ख्रीष्टले त्यति बेला कसरी आरमागेडोनको युद्ध लड्‌नुहुनेछ र शैतानी रीतिरिवाजको राजनैतिक तथा व्यापारिक तत्त्वहरूलाई नष्ट पार्नुहुनेछ भनेर वर्णन गर्छ। यसरी ख्रीष्टले शैतानको सम्पूर्ण पार्थिव क्षेत्रमाथि “सर्वशक्‍तिमान परमेश्‍वरको क्रोध” पोखाउनुहुनेछ। यी ‘पहिलेका कुराहरू बितिसकेपछि’ ईश्‍वरभीरु मानिसहरूलाई गौरवमय नयाँ संसारमा प्रवेश गराइनेछ र त्यहाँ परमेश्‍वरले “तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।”—प्रकाश १९:११-१६; २१:३-५.

याहको प्रशंसा गर्ने समय

१५, १६. (क) यहोवाको भविष्यसूचक वचन पालन गर्नु किन अपरिहार्य छ? (ख) छुटकाराका लागि हामीले के गर्नुपर्छ, त्यसबारे अगमवक्‍ता तथा प्रेरितहरू के भन्छन्‌ र त्यसको अर्थ आज थुप्रै मानिसहरूले के गर्नु आवश्‍यक हुनसक्छ?

१५ न्याय गर्ने त्यो समय नजीकै छ! तसर्थ, अनन्तका महाराजाको भविष्यसूचक शब्द पालन गर्नुमा नै हाम्रो भलाइ छ। अहिलेसम्म झूटा धर्महरूका शिक्षा तथा परम्पराहरू त्यागिनसकेका मानिसहरूलाई स्वर्गीय आवाजले यसो भन्छ: “हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ। त्यसका पापसँग तिमीहरूको कुनै संगत हुन नपाओस्‌। त्यसका विपत्तिहरू तिमीहरूले भोग्न नपरोस्‌।” तर झूटो धर्मबाट उम्केर आउनेहरू कहाँ जानुपर्छ? सत्य एउटै भएजस्तै साँचो धर्म पनि एउटै मात्र हुनसक्छ। (प्रकाश १८:४; यूहन्‍ना ८:३१, ३२; १४:६; १७:३) हामीले अनन्त जीवन पाउने या नपाउने, त्यो साँचो धर्म खोज्नु र परमेश्‍वरको आज्ञा पालन गर्नुमा निर्भर छ। भजन ८३:१८ मा बाइबलले त्यस्तो परमेश्‍वरप्रति यसरी हाम्रो ध्यानाकर्षण गर्छ। “तपाईं जसको नाउँ यहोवा हो, तपाईं सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ।”—किङ जेम्स भर्सन।

१६ तथापि, हामीले अनन्तका महाराजाको नाउँ मात्र जानेर पुग्दैन। हामीले बाइबल अध्ययन गर्नुपर्छ र उहाँका विशिष्ट गुनहरूका साथै उद्देश्‍यहरू पनि सिक्नुपर्छ। त्यसपछि रोमी १०:९-१३ अनुसार अहिले परमेश्‍वरको इच्छा के छ, त्यसअनुरूप काम गर्नुपर्छ। प्रेरित अगमवक्‍ताहरूलाई उद्धृत गरेपछि उपरोक्‍त पदमा प्रेरित पावलले यसो भने: “प्रभुको [यहोवा, NW] नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।” (योएल २:३२; सपन्याह ३:९) उद्धार पाउने? हो, यहोवाले ख्रीष्टद्वारा प्रबन्ध गर्नुभएको छुटकाराको मोलमाथि अहिले विश्‍वास गर्ने थुप्रै मानिसहरूले आउँदै गरेको महासंकष्टमा शैतानी भ्रष्ट संसार नाश हुँदा छुटकारा पाउनेछन्‌।—प्रकाश ७:९, १०, १४.

१७. कुन महान्‌ आशाले आज हामीलाई मोशा र थुमाको भजन गाउन उत्प्रेरित गर्नुपर्ने हो?

१७ त्यसोभए छुटकाराको आशा गर्नेहरूले के गरोस्‌ भन्‍ने परमेश्‍वरको इच्छा छ त? त्यो हो, अहिले मोशा र थुमाको भजन गाओस्‌ र अनन्तका महाराजाको विजयको प्रत्याशा राख्दै उहाँको प्रशंसा गरोस्‌। अनि अरूलाई परमेश्‍वरका गौरवमय उद्देश्‍यहरू बताएर हामी त्यसो गर्छौं। बाइबलमा लेखिएका कुराहरू बुझ्दै जाँदा हामी अनन्तका महाराजालाई जीवन समर्पण गर्छौं। त्यसो गऱ्‍यौं भने, यस शक्‍तिशाली राजाले यशैया ६५:१७, १८ मा वर्णन गर्नुभएको परिस्थितिमा अनन्तसम्म बाँच्ने मौका पाउनेछौं: “हेर, म नयाँ आकाश [येशूको मसीही राज्य] र नयाँ पृथ्वी [धार्मिक नयाँ मानव समाज] सृष्टि गर्नेछु, र अघिअघिका कुराहरूको सम्झना हुनेछैन, नता ती स्मरणमा आउनेछन्‌। तर तिमीहरू मैले सृष्टि गरेको कुरामा सदा सर्वदा आनन्द गर र हर्ष मनाऊ।”

१८, १९. (क) भजन १४५ मा उल्लिखित दाऊदका शब्दहरूले कुन कुरा गर्न हामीलाई बाध्य गर्नुपर्ने हो? (ख) हामी ढुक्क भई यहोवाबाट के आशा गर्नसक्छौं?

१८ भजनरचयिता दाऊदले यी शब्दहरूद्वारा अनन्तका महाराजाको वर्णन गरे: “परमप्रभु महान्‌ र स्तुतिको अति योग्य हुनुहुन्छ। र उहाँको महानता अगम छ।” (भजन १४५:३) अन्तरिक्ष र अनन्तजस्तै उहाँको महानताको पनि कुनै सीमा छैन। (रोमी ११:३३) हाम्रो सृष्टिकर्ता अनि उहाँले आफ्नो पुत्रद्वारा प्रबन्ध गर्नुभएको छुटकाराको मोलको ज्ञान लिंदै जाँदा अनन्तका महाराजाको प्रशंसा गर्ने चाहना झन्‌ झन्‌ बढ्‌दै जानेछ। हामी भजन १४५:११-१३ ले भनेझैं गर्ने इच्छा गर्नेछौं: “तिनीहरूले तपाईंको राज्यको महिमाको वर्णन गर्नेछन्‌। र तपाईंको शक्‍तिको कुरा गर्नेछन्‌। उहाँका शक्‍तिशाली कार्यहरू र उहाँका राज्यको शाही महिमा मानिसहरूका सन्तानलाई जनाउनेछन्‌। तपाईंको राज्य अमर छ, र तपाईंको प्रभुत्व सबै पुस्तासम्म रहिरहनेछ।”

१९ हाम्रो परमेश्‍वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ भनी हामी ढुक्क हुनसक्छौं: “तपाईंले आफ्नो मुठी खोल्नुहुन्छ, र सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुन्छ।” अनन्तका महाराजाले कोमलतापूर्वक हामीलाई यी आखिरी दिनहरूको अन्तसम्मै डोऱ्‍याउनुहुनेछ। किनकि दाऊदले हामीलाई यस्तो आश्‍वासन दिए: “उहाँलाई प्रेम गर्ने सबैलाई परमप्रभुले जोगाउनुहुनेछ। तर सबै दुष्टहरूलाई उहाँले नाश गर्नुहुनेछ।”—भजन १४५:१६, २०.

२०. अन्तिम पाँच भजनहरूमा अनन्तका महाराजाले दिनुभएका निमन्त्रणाहरूप्रति तपाईं कस्तो प्रतिक्रिया व्यक्‍त गर्नुहुन्छ?

२० बाइबलका अन्तिम पाँच भजनहरू “हल्लेलूयाह” भन्‍ने निमन्त्रणाबाट सुरु अनि अन्त हुन्छ। त्यसैले भजन १४६ हामीलाई यस्तो निमन्त्रणा दिन्छ: “परमप्रभुको प्रशंसा गर, ए मेरो आत्मा, परमप्रभुको प्रशंसा गर्‌।” म बाँचुञ्जेल परमप्रभुको प्रशंसा गर्नेछु। मेरो जीवन रहुञ्जेलसम्मै मेरा परमेश्‍वरको स्तुति म गाउँदैरहनेछु।” के तपाईं यो निमन्त्रणालाई स्वीकार्नुहुन्छ? अवश्‍य, तपाईंले पनि उहाँको प्रशंसा गर्न चाहनुपर्ने हो! भजन १४८:१२, १३ मा वर्णन गरिएका यी मानिसहरूबीच तपाईं पनि होऊन्‌: “जवान ठिटा र कुमारीहरू, वृद्ध मानिस र केटा-केटीहरू। तिनीहरू सबैले परमप्रभुको नाउँको प्रशंसा गरून्‌, किनकि उहाँको नाउँ मात्रै उच्च मानिएको छ। उहाँको महिमा पृथ्वी र आकाशको मास्तिर छ।” त्यसकारण, मनतनले यो निमन्त्रणालाई स्वीकारौं: “परमप्रभुको प्रशंसा गर!” आउनुहोस्‌ हामी सबै मिलेर अनन्तका महाराजाको प्रशंसा गरौं!

तपाईं कस्तो टिप्पणी दिनुहुन्छ?

◻ येशूका प्रेरितहरूले कस्तो पूर्वचेताउनी दिए?

◻ सन्‌ १९१४ देखि कस्ता निर्णायक कारवाहीहरू गरिएका छन्‌?

◻ यहोवाले कसको न्याय गर्नै लाग्नुभएको छ?

◻ किन यो समय अनन्तका महाराजाको प्रशंसा गर्ने सर्वमहत्त्वपूर्ण समय हो?

[पृष्ठ १९-मा भएको पेटी]

गोलमालले भरिएको यो विपत्तिजनक युग

यस २० औं शताब्दीको प्रारम्भमा गोलमालले भरिएको युग उदाएको थियो भन्‍ने कुरालाई थुप्रै व्यक्‍तिहरूले स्वीकारेका छन्‌। उदाहरणका लागि, सन्‌ १९९३ मा प्रकाशित, सं.रा. सिनेटर डानियल प्याट्रिक मोइनिहानको कोलाहल (अंग्रेजी) नामक पुस्तकको प्राक्कथनमा “सन्‌ १९१४ को विपत्ति” शीर्षकअन्तर्गत यस्तो टिप्पणी गरिएको छ: “युद्धहरूले गर्दा संसार पूरै परिवर्तन भयो। सन्‌ १९१४ मा हुने र अहिलेसम्म कुनै किसिमको हिंसाले गर्दा सरकार परिवर्तन नभएका राष्ट्रहरू हाल आठवटा मात्र छन्‌। . . . बाँकी लगभग १७० समकालीन राष्ट्रहरू, जसमध्ये केही भर्खरै देखा परेका छन्‌, तिनीहरूले हालै थुप्रै विपत्ति भोगेका छन्‌।” साँच्चै भन्‍ने हो भने, सन्‌ १९१४ देखि सुरु भएको युगले एकपछि अर्को विपत्ति देखिरहेको छ।

सन्‌ १९९३ मै प्रकाशित अनियन्त्रित—बीसौं शताब्दीको प्रारम्भमा विश्‍वव्यापी गोलमाल (अंग्रेजी) नामक अर्को पुस्तक प्रकाशित भएको थियो। त्यसका ग्रन्थकार जुबेगनेफ ब्राजिन्स्की सं.रा. राष्ट्रिय सुरक्षा परिषद्‌का भूतपूर्व प्रमुख थिए। तिनी लेख्छन्‌: “बीसौं शताब्दीको प्रारम्भमा थुप्रै मानिसहरूले वास्तविक तर्क युगको सुरुआत हुनेछ भन्ठानेका थिए। . . . तर त्यसको ठीक विपरीत बीसौं शताब्दी सबैभन्दा रक्‍तपातपूर्ण घृणाले भरिएको युग भयो। त्यो फोस्रो राजनीति र अचाक्ली मारकाटको युग थियो। यही युगमा पहिलेभन्दा कयौं गुना नियोजित क्रूरता देखाइयो र एक दुइ जना होइन तर समूहका समूह मानिसहरू मारिए। वैज्ञानिक प्रगतिले ल्याउनसक्ने सम्भाव्य भलाइ र राजनैतिक कुकर्मबीच अहिले देखा परिसकेको भिन्‍नता भयावह छ। इतिहासमा कहिल्यै यसरी विश्‍वव्यापी तवरमा मारकाट मच्चिएका थिएनन्‌, कहिल्यै यति धेरै मानिसहरूले ज्यान गुमाएका थिएनन्‌ र विवेकहीन लक्ष्यहरू हासिल गर्न कहिल्यै यति लामो समयसम्म नरसंहार भएको थिएन।” कति सत्य!

[पृष्ठ १७-मा भएको चित्र]

सन्‌ १९१४ परमेश्‍वरको राज्य स्थापित भइसकेपछि माइकलले शैतान तथा त्यसका दूतहरूलाई पृथ्वीमा झार्नुभयो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने