यहोवाको संगठनले तपाईंको सेवकाईलाई टेवा पुऱ्याउँछ
“अनन्त सुसमाचार साथमा भएका एउटा दूत स्वर्गको बीचमा उड़िरहेको देखें।”—प्रकाश १४:६.
१. यहोवाका साक्षीहरूले के कस्ता परीक्षाहरू भोगेका छन् र तिनीहरूले सहनसक्नुको कारण के हो?
मसीही सेवकाईलाई टेवा पुऱ्याउने सन्दर्भमा यहोवाको स्वर्गीय संगठनको भूमिका बुझ्नु किन यत्तिको महत्त्वपूर्ण छ? तपाईं नै भन्नुस् न, यहोवाको स्वर्गीय फौजको सहायता नपाएका भए यस वैरी संसारमा यहोवाका साक्षीहरूले परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्नसक्थे होलान् र? राष्ट्रवादको जगजगी, निरंकुश राजनैतिक प्रणाली, विश्वयुद्ध तथा अन्य विरोधहरूको बावजूद साक्षीहरूले त्यसरी प्रचार गरिरहेका एक शताब्दी भइसक्यो। के साक्षीहरूले अन्तरराष्ट्रिय तवरमा सामना गर्नुपरेको पूर्वाग्रह, भेदभाव तथा हिंसात्मक सतावटहरू यहोवाको मदतबिना सहनसक्थे होलान्?—भजन ३४:७.
विश्वव्यापी विरोधको बावजूद बचाउ
२. प्रथम शताब्दीका र अहिलेका साँचो मसीहीहरूबीच के समानता छ?
२ यस २० औं शताब्दीमा धार्मिक तथा राजनैतिक शत्रुहरूले यहोवाको कार्य रोक्न वा निरुत्साहित पार्न कानुनी र अन्य प्रकारका अवरोध खडा गर्न सक्दो प्रयास गरेका छन्। मसीही भाइबहिनीहरूले सतावट भोगेका छन्, तिनीहरूका गलत अर्थ लगाइएका छन्, तिनीहरू विरुद्ध झूटो विवरण लेखिएका छन् अनि बदनाम गरिएका छन् अनि थुप्रै मारिएका समेत छन् र यी सबै कर्तुतहरू गर्न प्रायजसो महान् बेबिलोनका पादरीहरूले उस्काएका हुन्। प्रारम्भिक मसीहीहरूबारे भनिएझैं तिनीहरूबारे पनि यसै भन्न सकिन्छ, “यस पन्थको विषयमा ता हामीलाई यति थाह छ, कि जताततै मानिसहरू यसको विरुद्ध मात्रै बोल्दछन्।” ख्रीष्टको समयका यहूदी धर्मगुरुहरूले उहाँको सेवकाई बन्द गर्न अनेक गरेझैं अहिलेका पादरी तथा धर्मत्यागीहरूले राजनैतिक उपपतिहरूसित मिलेर यहोवाका जनहरूको विशाल शैक्षिक साक्षीकार्यलाई रोक्न खोजेका छन्।—प्रेरित २८:२२; मत्ती २६:५९, ६५-६७.
३. हेन्रीका जुरको निष्ठाबाट हामी के सिक्नसक्छौं?
३ उदाहरणका लागि, मार्च १, १९४६ मा पोल्याण्डको यस घटनालाई ध्यान दिनुहोस्। केल्म भन्ने ठाउँ नजिकै बस्ने १५ वर्षीया हेन्रीका जुर साक्षी भाइसित नजिकैको गाउँमा जिज्ञासु व्यक्तिहरूलाई प्रचार गर्न गएकी थिइन्। तिनीहरूलाई नारोडोभे शिवी जब्रोइने (राष्ट्रिय सैन्य दल) नाउँको क्याथोलिक सैनिक टोलीका सदस्यहरूले पक्रे। तिनीहरूले भाइलाई मरणासन्न स्थितिमा पुग्नेगरि कुटे। तर हेन्रीकाको कथा अर्कै छ। जबरजस्ती क्रूसको क्याथोलिक चिह्न गर्न लगाउन घण्टौंसम्म तिनलाई क्रूर सास्ती दिए। सास्ती दिनेहरूमध्ये एकले यसो भने: “तिमीलाई जे मन पर्छ त्यही विश्वास गर तर खालि क्रूसको क्याथोलिक चिह्न बनाऊ। नत्रभने गोली खानुपर्ला!” के तिनको निष्ठा कमजोर भयो? भएन। ती धार्मिक डरछेरूवाहरूले हेन्रीकालाई नजिकैको जंगलमा घिसार्दै लगेर गोली हाने। तर, तिनी विजयी भइन्! तिनीहरूले तिनको निष्ठा तोड्न सकेनन्।a—रोमी ८:३५-३९.
४. राजनैतिक तथा धार्मिक तत्त्वहरूले राज्यको प्रचारकार्यलाई कसरी दबाउन खोजेका छन्?
४ यहोवाका आधुनिक सेवकहरूले कठोर तथा अनादरपूर्ण व्यवहार भोग्दै आएको एक सय वर्षभन्दा बढी भइसक्यो। यहोवाका साक्षीहरू शैतानका प्रचलित धर्महरूको भाग होइनन् र हुन पनि चाहँदैनन्। त्यसकारण, तिनीहरू अनेक प्रकारका पक्षपातपूर्ण आलोचना वा कट्टर विरोधको तारो बन्न पुग्छन्। तिनीहरूमाथि राजनैतिक तत्त्वहरूले क्रूरतापूर्वक आक्रमण गरेका छन्। थुप्रै साक्षीहरू आफ्नो विश्वासको खातिर शहीद बनेका छन्। कथित प्रजातन्त्रहरूले समेत सुसमाचारको प्रचारमा बाधा पुऱ्याउन खोजेका छन्। क्यानाडा तथा संयुक्त राज्यमा सन् १९१७ तिर पादरीवर्गले त्यतिबेलाका साक्षीहरू अर्थात् बाइबल स्टुडेन्ट्समाथि धर्मपरिवर्तनको अभियोग लगाउन उस्काए। वाच टावर सोसाइटीका अधिकारीहरूलाई झूटो अभियोगमा झ्यालखानामा हाले तर पछि तिनीहरू दोषमुक्त गरिए।—प्रकाश ११:७-९; १२:१७.
५. यहोवाका सेवकहरूलाई कुन वचनले प्रोत्साहन दिएको छ?
५ शैतानले ख्रीष्टका भाइहरू तथा तिनीहरूका वफादार सहचरहरूको साक्षीकार्य रोक्न कुनै कसर बाँकी छोडेको छैन। यद्यपि, थुप्रै अनुभवहरूले देखाएअनुसार धम्की, डरत्रास, शारीरिक हिंसा, झ्यालखाना, यातना शिविर वा मृत्युले यहोवाका साक्षीहरूलाई रोक्न सकेको छैन। अनि इतिहास केलाउने हो भने यस्तै हुँदै आएको छ। एलीशाका यी शब्दहरूले निरन्तर प्रोत्साहन प्रदान गर्दै आएको छ: “नडरा, किनभने हामीसँग भएकाहरू तिनीहरूसँग भएकाहरूभन्दा धेरै छन्।” नडराउने एउटा कारण हो, दियाबलको डफ्फाभन्दा विश्वासी स्वर्गदूतहरू बढी छन्!—२ राजा ६:१६; प्रेरित ५:२७-३२, ४१, ४२.
यहोवाले जोसिलो प्रचारकार्यमा आशिष् दिनुहुन्छ
६, ७. (क) सुसमाचार प्रचार गर्न सुरुसुरुमा के कस्तो प्रयास गरिएको थियो? (ख) सन् १९४३ मा भएको कुन परिवर्तन लाभदायी साबित भयो?
६ यहोवाका साक्षीहरूले अन्त आउनुअघि महत्त्वपूर्ण साक्षीकार्यलाई जोडतोडका साथ अघि बढाउन यस २० औं शताब्दीमा थुप्रै प्रविधिहरू प्रयोग गरेका छन्। वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीका प्रथम अध्यक्ष पास्टर रसलले १९१४ मा स्लाइड तथा चलचित्रको साथमा बाइबल-आधारित टिप्पणी फोनोग्राफमा बजाएर “फोटो ड्रामा अफ क्रिएशन” नामक आठ घण्टा लामो बाइबल प्रस्तुति देखाए। यो देखेर त्यतिबेला थुप्रै मुलुकका दर्शकहरू दंग परे। पछि, १९३० तथा १९४० दशकमा यताउता बोकेर लैजान मिल्ने फोनोग्राफद्वारा घर-घर प्रचार गर्नेहरू भनी साक्षीहरू चिनिन थाले र तिनीहरू सोसाइटीका दोस्रा अध्यक्ष जे. एफ. रदरफोर्डका बाइबल भाषणहरू बजाउँथे।
७ सोसाइटीका तेस्रा अध्यक्ष नेथन एच. नोरको निर्देशनमा प्रचारकहरूका लागि हरेक मण्डलीमा पाठशाला स्थापना गर्ने निधो गरेर १९४३ मा एउटा साहसिक कदम चाले। साक्षीहरूलाई फोनोग्राफ रेकर्डिङ प्रयोग नगरी घर-घरमा प्रचार गर्न तथा सिकाउन प्रशिक्षण दिइनेथियो। त्यतिबेलादेखि मिसनरी, पूर्ण-समय अग्रगामी सेवक, मण्डलीका प्राचीन अनि वाच टावर सोसाइटीका जिम्मेवार निरीक्षकहरूलाई तालिम दिन अन्य पाठशालाहरूको प्रबन्ध मिलाइएका छन्। परिणाम कस्तो भएको छ?
८. साक्षीहरूले १९४३ मा कसरी ठूलो विश्वास देखाए?
८ सन् १९४३ मा दोस्रो विश्वयुद्ध भइरहेकै बेला ५४ वटा मुलुकमा जम्मा १,२९,००० साक्षीहरू मात्र सक्रिय थिए। यद्यपि, तिनीहरूसित अन्त आउनुअघि मत्ती २४:१४ पूरा हुनेछ भनी पूर्ण विश्वास तथा कटिबद्धता थियो। यस भ्रष्ट रीतिरिवाजलाई नाश गर्नुअघिका घटनाक्रमहरू हुनुभन्दा पहिले यहोवाले महत्त्वपूर्ण चेताउनीमूलक सन्देश घोषणा गर्न लगाउनुहुनेछ भनी तिनीहरू ढुक्क थिए। (मत्ती २४:२१; प्रकाश १६:१६; १९:११-१६, १९-२१; २०:१-३) के तिनीहरूको प्रयास सफल भएको छ?
९. साक्षीकार्य फस्टाएको छ भनेर कुन तथ्यहरूले देखाउँछन्?
९ अहिले सक्रिय साक्षीहरूको संख्या १,००,००० भन्दा बढी भएको मुलुकहरूको संख्या कम्तीमा पनि १३ छ। यीमध्ये थुप्रै मुलुकहरू क्याथोलिक चर्चको प्रभुत्व भएका ठाउँहरू हुन्। यद्यपि, अहिलेका अवस्था हेर्नुहोस्। ब्राजिलमा सुसमाचारका प्रकाशकहरू लगभग ४,५०,००० छन् र १९९७ मा १२,००,००० भन्दा बढी व्यक्तिहरू ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सवमा उपस्थित भए। अर्को उदाहरण मेक्सिको हो, जहाँ झण्डै ५,००,००० साक्षीहरू छन् र स्मरणार्थ उत्सवमा १६,००,००० भन्दा बढी उपस्थित भए। अन्य क्याथोलिक मुलुकहरू इटाली (लगभग २,२५,००० साक्षीहरू), फ्रान्स (लगभग १,२५,०००), स्पेन (१,०५,००० भन्दा बढी) र अर्जेन्टिना (१,१५,००० भन्दा बढी) हुन्। प्रोटेस्टेन्ट, क्याथोलिक तथा यहूदी धर्महरूले प्रभुत्व जमाएको संयुक्त राज्यमा लगभग ९,७५,००० साक्षीहरू छन् र स्मरणार्थ उत्सवमा २०,००,००० भन्दा बढी उपस्थित भए। पक्कै पनि गञ्जागोलपूर्ण शिक्षाहरूले भरिएको झूटो धर्मको विश्व साम्राज्य महान् बेबिलोनबाट एउटा ठूलो भीड बाहिर निस्केर परमेश्वरले प्रतिज्ञा गर्नुभएको “नयाँ स्वर्ग र नयाँ पृथ्वीको” स्पष्ट तथा निश्चित आशातर्फ फर्किरहेको छ।—२ पत्रुस ३:१३; यशैया २:३, ४; ६५:१७; प्रकाश १८:४, ५; २१:१-४.
मानिसहरूका आवश्यकताअनुरूप छाँटकाँट गर्ने
१०. कुनै कुनै इलाकाको परिस्थितिमा कस्तो हेरफेर भएको छ?
१० ख्रीष्ट येशू मार्फत यहोवातिर फर्केका कतिपय व्यक्तिहरू घर-घर प्रचारकार्यमै भेटिएका हुन्। (यूहन्ना ३:१६; प्रेरित २०:२०) तर अन्य तरिकाहरू पनि प्रयोग गरिएका छन्। समयले कोल्टो फेरेको छ र आर्थिक अवस्थाले गर्दा महिलाहरू पनि जागिर खान बाध्य भएका छन्। अक्सर हप्ताभरि कमै मानिसहरू मात्र घरमा भेटिन्छन्। त्यसकारण, यहोवाका साक्षीहरूले परिस्थितिअनुरूप छाँटकाँट गरेका छन्। येशू र उहाँका प्रारम्भिक चेलाहरूजस्तै जहाँ जतिबेला मानिसहरू भेटिन्छन्, तिनीहरू त्यहीं त्यतिबेला जान्छन्।—मत्ती ५:१, २; ९:३५; मर्कूस ६:३४; १०:१; प्रेरित २:१४; १७:१६, १७.
११. आज यहोवाका साक्षीहरूले कहाँ कहाँ प्रचार गरिरहेका छन् र परिणाम कस्तो भएको छ?
११ आज, साक्षीहरू अग्रसर भएर ठूलठूला सवारीसाधन बिसौनी, बजार इलाका, कारखाना, कार्यालय तथा व्यापार केन्द्र, स्कूल, प्रहरी कार्यालय, पेट्रोल पम्प, होटेल, चमेनागृह अनि सडकहरूमा सावधानीपूर्वक मानिसहरूलाई प्रचार गरिरहेका छन्। भनौं भने, मानिसहरू भेट्न सकिने सबै ठाउँमा प्रचार गर्छन्। अनि मानिसहरूलाई घरमा भेटेपछि बारम्बार जाने गर्छन्। यसरी छाँटकाँट गरेर व्यवहारिक ढंगमा काम गर्दा बढी मात्रामा बाइबल साहित्यहरू वितरण गर्न सम्भव भएको छ। भेडाखाले मानिसहरू भेटिएका छन्। नयाँ बाइबल अध्ययनहरू सुरु भएका छन्। मानव इतिहासको सबैभन्दा ठूलो शैक्षिक कार्यमा पचपन्न लाखभन्दा बढी स्वयंसेवी प्रचारकहरू जोसका साथ लागिरहेका छन्! के तपाईंले पनि तिनीहरूलाई साथ दिने सुअवसर पाउनुभएको छ?—२ कोरिन्थी २:१४-१७; ३:५, ६.
यहोवाका साक्षीहरू कुन कुराले उत्प्रेरित हुन्छन्?
१२. (क) यहोवाले आफ्ना जनहरूलाई कसरी सिकाइरहनुभएको छ? (ख) यस शिक्षाले कस्तो असर पारेको छ?
१२ यी सबै कार्यमा स्वर्गीय संगठनले कस्तो भूमिका खेल्छ? यशैयाले यस्तो भविष्यवाणी गरे: “तेरा सबै छोरा-छोरीहरू परमप्रभुबाट सिकाइएका हुनेछन्, र तेरा छोरा-छोरीहरूलाई ठूलो शान्ति मिल्नेछ।” (यशैया ५४:१३) यहोवाले पृथ्वीमा आफ्नो दृश्य संगठन मार्फत राज्य भवन, अधिवेशन तथा सम्मेलनहरूमा यस विश्वव्यापी एकताबद्ध भ्रातृत्वबारे सिकाइरहनुभएको छ। परिणामस्वरूप एकता र शान्ति छाएको छ। यहोवाको शिक्षा पाएका मानिसहरू अनुपम छन्, तिनीहरूले यस अमेल तथा विभक्त संसारमा जहाँसुकै भए तापनि एकअर्का अनि आफ्ना छिमेकीहरूलाई घृणा होइन तर आफूलाई जस्तै प्रेम गर्न सिकेका छन्।—मत्ती २२:३६-४०.
१३. प्रचारकार्यमा स्वर्गदूतहरूको डोऱ्याइ छ भनेर हामी कसरी निश्चित हुनसक्छौं?
१३ भावशून्यता वा सतावटको बावजूद यहोवाका साक्षीहरूलाई प्रचार गरिरहन उत्प्रेरित गर्ने तत्त्व प्रेम हो। (१ कोरिन्थी १३:१-८) प्रकाश १४:६ ले बताएअनुसार यस जीवन बचाउने कार्य स्वर्गबाट निर्देशित हो भनी तिनीहरूलाई थाह छ। स्वर्गदूतीय निर्देशनमा घोषणा भइरहेको यो कुन सन्देश हो? “परमेश्वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँको ठूलो इन्साफको समय आएको छ, र स्वर्ग, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुहुनेलाई दण्डवत् गर।” राज्यको सुसमाचार प्रचार गर्दा यहोवाको नाउँ प्रशंसा हुन्छ। प्राणीहरू तथा निराधार विकासवादलाई होइन तर सृष्टिकर्ता परमेश्वरको महिमा गर्न मानिसहरूलाई आमन्त्रित गरिंदैछ। अनि यो प्रचारकार्य किन यत्तिको महत्त्वपूर्ण छ? किनभने न्यायको घडी अर्थात् महान् बेबिलोन तथा शैतानको दृश्य संगठनका सारा तत्त्वहरूमाथि न्याय गर्ने समय आएको छ।—प्रकाश १४:७; १८:८-१०.
१४. यस महान् शिक्षण अभियानमा को को संलग्न छन्?
१४ हरेक समर्पित मसीहीले यो प्रचारकार्य गरेकै हुनुपर्छ। आध्यात्मिक प्राचीनहरूले मण्डलीको प्रचारकार्यमा नेतृत्व लिन्छन्। प्रशिक्षित अग्रगामीहरू यो काममा पूर्णतया व्यस्त छन्। जोसिला प्रकाशकहरूले महिनामा सक्दो समय बिताएर पृथ्वीको कुनाकाप्चासम्म सन्देश फैलाइरहेका छन्।—मत्ती २८:१९, २०; हिब्रू १३:७, १७.
१५. यहोवाका साक्षीहरूको प्रचारकार्यले पारेको प्रभाव कुन कुराले देखाउँछ?
१५ के यस्तो प्रयासले संसारमा कुनै असर पारेको छ? टिभी कार्यक्रम तथा समाचार पेटीहरूले बारम्बार यहोवाका साक्षीहरूबारे उल्लेख गर्नु नै एउटा स्पष्ट प्रमाण हो। यी कार्यक्रमहरूले प्रायजसो सबै मानिसहरूलाई भेट्ने हाम्रो दृढता तथा कटिबद्धतालाई प्रकाश पार्छन्। हो, अधिकांश मानिसहरूले सन्देश र यसका सन्देशवाहकहरूलाई इन्कार गरे तापनि हाम्रो जोस तथा निरन्तरताले गहिरो छाप पार्छन्!
साक्षीकार्य पूरा गर्ने हाम्रो जोस
१६. अहिले कम समय बाँकी रहेको हुँदा कस्तो मनोवृत्ति झल्काउनुपर्छ?
१६ यो रीतिरिवाज अन्त हुन कति समय बाँकी छ भनेर हामीलाई थाह छैन र थाह पाउनुपर्ने खाँचो पनि छैन। यहोवालाई सेवा चढाउनुको हाम्रो मनसाय शुद्ध छ भने यी कुराहरूले कुनै फरक नपार्नुपर्ने हो। (मत्ती २४:३६; १ कोरिन्थी १३:१-३) तर हामीलाई यो थाह छ, यहोवाको प्रेम, शक्ति र न्याय प्रकट हुन “पहिला” सुसमाचार प्रचार भएकै हुनुपर्छ। (मर्कूस १३:१०) तसर्थ, यस दुष्ट, अन्यायी तथा हिंस्रक संसारको अन्त हुन पर्खेको जतिसुकै वर्ष किन नहोस्, आफ्नो परिस्थितिअनुसार हाम्रो समर्पणको वाचाअनुरूप जीवन बिताउनुपर्छ। हामी वृद्ध वा बिरामी होऔंला तर जवान वा स्वस्थ छँदाको जस्तै जोसले अझै पनि यहोवाको सेवा गर्नसक्छौं। सायद, पहिलेजस्तो सेवकाईमा बढी समय बिताउन नसकौंला तर यहोवालाई चढाउने प्रशंसाको बलिदानको गुणस्तर भने अवश्य कायम गर्नसक्छौं।—हिब्रू १३:१५.
१७. हामी सबैले लाभ उठाउनसक्ने एउटा प्रोत्साहनदायी अनुभव बताउनुहोस्।
१७ तसर्थ, जवान होऔं या वृद्ध, हामी जोसिलो भई भेटेजति सबैलाई नयाँ विश्वको यथार्थ सन्देश सुनाऔं। हामी पनि, आमासित पसल गएकी ती लजालु सात वर्षीया केटीजस्तै होऔं। सबैले प्रचार गर्नु एकदमै महत्त्वपूर्ण छ भनेर उसले राज्यभवनमा सुनेकी थिई। त्यसकारण, उसले झोलामा दुइटा बाइबलआधारित पुस्तिका हाली। आमा पैसा तिर्न व्यस्त भएको बेला यी सानी केटी अन्तै हराई। आमा छोरीलाई खोज्न थालिन् र एउटी महिलालाई पुस्तिका दिइरहेकी देखिन्! छोरीले अलमल पो गरी कि भनेर आमाले उक्त महिलासित क्षमा मागिन्। तर उक्त महिलाले खुसीसाथ पुस्तिका लिइसकेकी थिइन्। नचिनेको मान्छेसित कुरा गर्ने साहस कसरी पायौ भनेर आमाले छोरी एक्लै हुँदा सोधिन्। “मनमनै एक, दुई, तीन भनें! अनि भन्न थालें!”
१८. तारिफयोग्य मनोभाव हामी कसरी देखाउनसक्छौं?
१८ विशेषगरि, अपरिचित व्यक्तिहरू वा अधिकृतहरूलाई सुसमाचार सुनाउन हामी सबैलाई उक्त अस्ट्रेलियाली केटीको जस्तै आत्मबल चाहिन्छ। हाम्रो कुरा नसुन्ने पो हुन् कि भनेर डर लाग्ला। येशूले बताउनुभएको यो कुरा हामी कहिल्यै नभुलौं: “तिमीहरूले के जवाफ दिने अथवा कसरी दिने भनी फिक्री नगर, किनभने पवित्र आत्माले त्यसै बेलामा तिमीहरूले भन्नुपर्ने कुरा तिमीहरूलाई सिकाउनुहुनेछ।”—लूका १२:११, १२.
१९. आफ्नो सेवकाईबारे तपाईंको दृष्टिकोण कस्तो हुनुपर्छ?
१९ त्यसकारण, परमेश्वरको आत्माले मदत गर्नेछ भनेर भरोसा राखेर दयालु ढंगमा अरू मानिसहरूलाई सुसमाचार सुनाउनुहोस्। लाखौं मानिसहरू अक्सर अयोग्य पुरुष तथा स्त्रीहरूमाथि भरोसा राख्छन् जो आज छन् त भोलि हुँदैनन्। हामी सधैंभरि रहनुहुने यहोवा र ख्रीष्ट येशू, पवित्र स्वर्गदूतहरू तथा पुनरुत्थान भएका अभिषिक्त मसीहीहरू संलग्न उहाँको स्वर्गीय संगठनमा भरोसा राख्छौं! त्यसकारण नबिर्सनुहोस्: “हामीसँग भएकाहरू तिनीहरूसँग भएकाहरूभन्दा धेरै छन्”!—२ राजा ६:१६.
[फुटनोटहरू]
a थप उदाहरणका लागि यहोवाका साक्षीहरूको वार्षिक पुस्तक १९९४ (अंग्रेजी) पृष्ठ २१७-२० हेर्नुहोस्।
तपाईं कस्तो जवाफ दिनुहुन्छ?
◻ यहोवाका जनहरूको बचाउमा परमेश्वरको स्वर्गीय संगठनले कस्तो भूमिका खेलेको छ?
◻ यस २० औं शताब्दीमा कुन राजनैतिक तथा धार्मिक तत्त्वहरूले यहोवाका साक्षीहरूमाथि आक्रमण गरेका छन्?
◻ यहोवाका साक्षीहरूले समयअनुसार आफ्नो सेवकाईलाई कसरी छाँटकाँट गरेका छन्?
◻ कुन कुराले तपाईंलाई प्रचार गर्न उत्प्रेरित गर्छ?
[पृष्ठ १७-मा भएको चित्र]
हेन्रीका जुर
[पृष्ठ १८-मा भएको चित्रहरू]
जापान
मार्टिनिक
संयुक्त राज्य
केन्या
संयुक्त राज्य
यहोवाका साक्षीहरू मानिसहरू भेट्ने जुनसुकै ठाउँमा जुनसुकै बेला प्रचार गर्छन्
[पृष्ठ २०-मा भएको चित्र]
यस शताब्दीको सुरुसुरुतिर राज्यको सन्देश फैलाउन फोनोग्राफ प्रयोग गरिन्थ्यो