अध्याय एक्काइस
यहोवाको उद्देश्यले महिमित सफलता हासिल गर्छ
१, २. (क) आफ्ना बुद्धिमान् सृष्टिको लागि यहोवाको उद्देश्य के हो? (ख) परमेश्वरका उपासकहरूको एकताबद्ध परिवारमा क-कसलाई समावेश गरियो?
सबै बुद्धिमान् सृष्टि एकताबद्ध भई एक मात्र साँचो परमेश्वरको उपासना गर्नु अनि परमेश्वरका सन्तानको हैसियतमा महिमित स्वतन्त्रताको आनन्द उठाउनु—यहोवाको मायालु उद्देश्य यही हो। अनि धार्मिकता रुचाउनेहरूको उत्कट इच्छा पनि त्यही हो।
२ यहोवाले सृष्टिको कार्य सुरु गर्नुहुँदा यो महान् उद्देश्य पूरा गर्न थाल्नुभयो। उहाँको पहिलो सृष्टि एक जना पुत्र हुनुहुन्थ्यो जो पुनरुत्थान हुनुभएदेखि ‘परमेश्वरको उज्ज्वल महिमा र परमेश्वरकै तत्त्वको प्रतिबिम्ब’ हुनुभएको छ। (हिब्रू १:१-३) यो पुत्र, परमेश्वर एक्लैले सृष्टि गर्नुभएको हुँदा अनुपम हुनुहुन्थ्यो। त्यसपछि यही पुत्रमार्फत अरू सबै सृष्टि गरियो: पहिला स्वर्गमा स्वर्गदूतहरू, त्यसपछि पृथ्वीका मानिसहरू। (अय्यूब ३८:७; लूका ३:३८) यी सबै मिलेर एउटा विश्वव्यापी परिवार बन्यो। तिनीहरू सबैको लागि यहोवा, विश्वव्यापी सार्वभौम परमेश्वर र तिनीहरूको मायालु पिता हुनुभयो।
३. (क) हाम्रा प्रथम मातापिताबाट हामी सबैले के पाएका छौं? (ख) यहोवाले आदमका सन्तानको लागि कस्तो मायालु प्रबन्ध मिलाउनुभयो?
३ हाम्रा प्रथम मातापिताले जानाजानी पाप गरेको हुँदा तिनीहरूलाई मृत्युदण्ड दिइयो र अदनको बगैंचाबाट निकालिनुका साथै परमेश्वरले तिनीहरूलाई त्याग्नुभयो। तिनीहरू उहाँको विश्वव्यापी परिवारको भाग भएनन्। (उत्पत्ति ३:२२-२४; व्यवस्था ३२:४, ५) हामी सबै तिनीहरूकै सन्तान भएको हुँदा हामीसित जन्मजात पापी झुकावहरू छन्। तर आदम र हव्वाका कोही-कोही सन्तानले धार्मिकता रुचाउनेछन् भनेर यहोवालाई थाह थियो। त्यसकारण यी “परमेश्वरको सन्तान[ले] महिमाको स्वतन्त्रता” प्राप्त गर्ने मायालु प्रबन्ध मिलाउनुभयो।—रोमी ८:२०, २१.
इस्राएलले अनुग्रह प्राप्त स्थान गुमाउँछ
४. यहोवाले पुरातन इस्राएललाई कस्तो सुअवसर दिनुभयो?
४ आदमको सृष्टिभन्दा लगभग २,५०० वर्षपछि यहोवाले कसै-कसैलाई उहाँसित विशेष सम्बन्धमा बाँधिने सुअवसर दिनुभयो। उहाँले पुरातन इस्राएललाई आफ्नो जन बनाउन रोज्नुका साथै व्यवस्था दिनुभयो। (उत्पत्ति १२:१, २) तिनीहरूलाई एउटा राष्ट्र बनाउनुभयो र आफ्नो उद्देश्य पूरा गर्न चलाउनुभयो। (व्यवस्था १४:१, २; यशैया ४३:१) तथापि, तिनीहरू अझै पाप र मृत्युको दासत्वमा भएको हुँदा सुरुमा आदम र हव्वाले पाएका महिमित स्वतन्त्रताको आनन्द उठाउन सकेनन्।
५. इस्राएलीहरूले परमेश्वरसित आफ्नो विशेष सम्बन्ध कसरी गुमाए?
५ जे होस्, इस्राएलीहरूको यहोवासित विशेष अनुग्रह प्राप्त सम्बन्ध थियो। तिनीहरूले यहोवालाई आफ्नो पिताको हैसियतमा आदर गर्ने र उहाँको उद्देश्यअनुरूप कार्य गर्ने जिम्मेवारी पनि पाएका थिए। येशूले यो दायित्व पूरा गर्नुपर्ने महत्त्वलाई जोड दिनुभयो। (मत्ती ५:४३-४८) तथापि, इस्राएल राष्ट्रले यसो गर्न सकेन। ती यहूदीहरूले “हाम्रा एउटै पिता हुनुहुन्छ, अर्थात् परमेश्वर” भनेर दाबी गरे तापनि तिनीहरूको काम र मनोभाव त्यसको ठीक विपरीत भएको येशूले बताउनुभयो। (यूहन्ना ८:४१, ४४, ४७) सा.यु. ३३ मा यहोवाले व्यवस्था रद्द गर्नुभयो र इस्राएलसित परमेश्वरको विशेष सम्बन्ध अन्त भयो। तर के यसको मतलब अब उप्रान्त मानिसहरूले परमेश्वरसित विशेष सम्बन्धको आनन्द उठाउनै सक्ने थिएनन् त?
‘स्वर्गका कुरा’ जम्मा गर्ने
६. पावलले एफिसी १:९, १० मा उल्लेख गरेका “प्रबन्ध[को]” उद्देश्य के हो?
६ मानिसजातिमध्ये कसै-कसैले परमेश्वरसित विशेष सम्बन्धको आनन्द उठाउन सक्छन् भनी पावलले देखाए। उदाहरणका लागि, विश्वास प्रदर्शन गरेर यहोवाको घरानाको सदस्य हुन सक्ने उहाँको प्रबन्धबारे पावलले यसप्रकार लेखे: “हामीलाई [परमेश्वरको] इच्छाको रहस्य जान्न दिनुभएर उहाँको अभिप्रायअनुसार, जो उहाँले ख्रीष्टमा ठहराउनुभयो, चाहे स्वर्गका, चाहे पृथ्वीका, सबै कुरा ख्रीष्टमा गाभ्नालाई समयको पूर्णताको प्रबन्धको निम्ति।” (एफिसी १:९, १०) यो “प्रबन्ध” येशू ख्रीष्टमा केन्द्रित छ। उहाँद्वारा मानिसहरू परमेश्वरसित अनुमोदित सम्बन्धमा बाँधिन्छन्। तिनीहरूमध्ये थोरैले स्वर्गमा जाने प्रत्याशा पाएका छन्। अरू थुप्रै भने पृथ्वीमा सधैंभरि बाँच्नेछन्।
७. ‘स्वर्गका कुरा’ के हुन्?
७ पहिला, सा.यु. ३३ पेन्तिकोसदेखि ‘स्वर्गका कुराहरूमा’ ध्यानकेन्द्रित गरियो अर्थात् स्वर्गीय राज्यमा ख्रीष्टसित सहशासक हुनेहरू जम्मा गरियो। येशूको बलिदानको मोलमाथि गरेको विश्वासको आधारमा तिनीहरू परमेश्वरबाट धर्मी कहलिए। (रोमी ५:१, २) समयको दौडान यहूदी तथा अन्यजाति पनि समावेश गरिए अनि ‘स्वर्गका कुराको’ संख्या १,४४,००० पुग्यो। (गलाती ३:२६-२९; प्रकाश १४:१) त्यसमध्ये शेषजन मात्र पृथ्वीमा छन्।
‘पृथ्वीका कुरा’ जम्मा गर्ने
८. ‘पृथ्वीका कुराहरू’ के हुन् र यहोवासित तिनीहरूको सम्बन्ध कस्तो छ?
८ त्यही प्रबन्धअनुसार ‘पृथ्वीका कुरा’ पनि जम्मा भइरहेको छ। सधैंभरि बाँच्ने प्रत्याशासहित पृथ्वीमा लाखौं मानिसहरू अहिले जम्मा गरिंदैछ। राज्य शासकका शेष जनहरूसित मिलेर तिनीहरू यहोवाको नाउँको महिमा गर्छन् र उहाँको उपासनालाई उच्च पार्छन्। (यशैया २:२, ३; सपन्याह ३:९) तिनीहरू यहोवालाई “पिता” भनेर सम्बोधन गर्छन् किनभने उहाँ नै जीवनको स्रोत हुनुहुन्छ भनेर तिनीहरू मानिलिन्छन्। अनि येशूले बगाउनुभएको रगतमा विश्वासको आधारमा तिनीहरूको परमेश्वरसमक्ष अनुमोदित सम्बन्ध छ। (प्रकाश ७:९, १४) तर तिनीहरू असिद्ध हुनाकारण पूर्णतया परमेश्वरको सन्तान कहलिन अझ बाँकी छ।
९. रोमी ८:२१ ले मानिसजातिको लागि कस्तो प्रतिज्ञा गर्छ?
९ यी पार्थिव आशा भएका सबै मानव सृष्टिले “विनाशको बन्धनबाट छुटकारा” पाउने समयको उत्कट प्रतीक्षा गर्छन्। (रोमी ८:२१) आरमागेडोनको चरमोत्कर्षमा ख्रीष्ट र उहाँका स्वर्गदूतीय सेनाहरूले महासंकष्टको समापन गर्दा त्यस्तो स्वतन्त्रता प्राप्त हुनेछ। यसको मतलब शैतानको सम्पूर्ण दुष्ट रीतिरिवाजको विनाश हुनेछ अनि त्यसपछि ख्रीष्टले राज्य शक्तिमा हजार वर्ष शासन गर्नुहुनेछ।—प्रकाश १९:१७-२१; २०:६.
१०. यहोवाका सेवकहरूले प्रशंसाको कस्तो भजन गाउनेछन्?
१० पृथ्वीमा यहोवाका उपासकहरू एकताबद्ध भएर स्वर्गमा उहाँका उपासकहरूको जस्तै भावना व्यक्त गर्दा कस्तो उत्प्रेरणादायी हुनेछ: “हे परमप्रभु, परमेश्वर सर्वशक्तिमान, तपाईंका काम ठूला र आश्चर्यपूर्ण छन्। तपाईं युगयुगका महाराजा, तपाईंका मार्ग धार्मिक र सत्य छन्। हे परमप्रभु, तपाईंको डर कसले मान्दैन? र तपाईंको नाउँको महिमा कसले गर्दैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ। सबै जातिहरू तपाईंको सामने आएर दण्डवत् गर्नेछन्। किनभने तपाईंको धार्मिक कार्यहरू प्रकट भएका छन्।” (प्रकाश १५:३, ४) हो, यहोवाका सबै सेवकहरू एक मात्र साँचो परमेश्वरको उपासनामा एकताबद्ध हुनेछन्। मरेकाहरूको समेत पुनरुत्थान हुनेछ अनि यहोवाको प्रशंसा गर्न स्वरमा स्वर मिलाउने मौका पाउनेछन्।—प्रेरित २४:१५.
भविष्यमा अद्भुत स्वतन्त्रता
११. महासंकष्टबाट बच्नेहरूले कस्तो अद्भुत स्वतन्त्रताको आनन्द उठाउनेछन्?
११ महासंकष्टको चरमोत्कर्षमा पुग्दा, आरमागेडोनमा पृथ्वीबाट सबै दुष्टता हटाएपछि शैतान अर्थात् दियाबल “यस संसारको देव” रहिरहनेछैन। यहोवाका उपासकहरूले शैतानका धूर्त प्रभावको सामना गर्नुपर्नेछैन। (२ कोरिन्थी ४:४; प्रकाश २०:१, २) त्यस उप्रान्त झूटो धर्मले यहोवाको गलत प्रतिनिधित्व गर्नेछैन अनि मानव समाजमा हानिकारक प्रभाव पार्नेछैन। साँचो परमेश्वरका सेवकहरूले मानव अख्तियारवालाहरूको हातमा अन्याय तथा अत्याचार भोग्नेछैनन्। कस्तो अद्भुत स्वतन्त्रताको आनन्द उठाउन सकिनेछ!
१२. कसरी सबै जना पाप र त्यसका असरहरूबाट मुक्त हुनेछन्?
१२ “संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा” येशूले मानिसजातिका पापहरू रद्द गर्न आफ्नो बलिदानको मोलको पूर्ण उपयोग गर्नुहुनेछ। (यूहन्ना १:२९) येशू पृथ्वीमा हुनुहुँदा एक जना मानिसको पाप क्षमा गर्नुभएको प्रमाणस्वरूप त्यस व्यक्तिलाई निको पार्नुभयो। (मत्ती ९:१-७; १५:३०, ३१) त्यसरी नै, परमेश्वरको राज्यको स्वर्गीय राजाको हैसियतमा ख्रीष्ट येशूले चमत्कारपूर्ण ढंगमा अन्धा, गुंगा, बहिरा, अंगभंग भएका, मानसिक बिरामी र अन्य रोगबिमार भोगिरहेकाहरूलाई निको पार्नुहुनेछ। (प्रकाश २१:३, ४) सबै आज्ञाकारी मानिसहरूको लागि “पापको अधीनमा भएको व्यवस्था” रद्द गरिनेछ अनि फलतः तिनीहरूको सोचाइ तथा कार्य, तिनीहरू स्वयं तथा परमेश्वरको लागि मनमोहक हुनेछ। (रोमी ७:२१-२३) सहस्र राज्य शासनको अन्तमा तिनीहरू मानव सिद्धतामा पुग्नेछन् अनि एक मात्र साँचो परमेश्वरको ‘स्वरूप र प्रतिरूपमा’ हुनेछन्।—उत्पत्ति १:२६.
१३. सहस्र शासनको अन्तमा ख्रीष्टले कस्तो कदम चाल्नुहुनेछ र परिणाम कस्तो हुनेछ?
१३ ख्रीष्टले मानिसजातिलाई सिद्धतामा पुऱ्याएपछि आफूलाई सुम्पिएको अख्तियार पितालाई फर्काउनुहुनेछ: “उहाँले सारा प्रभुत्व, सारा अख्तियार र शक्ति नामेट गरेर परमेश्वर, अर्थात् पितालाई राज्य सुम्पिदिनुहुनेछ, तब अन्त हुन्छ। किनकि उहाँले सारा शत्रुलाई आफ्ना पाउमनि नराखुञ्जेल उहाँले राज्य गर्नैपर्छ।” (१ कोरिन्थी १५:२४, २५) स्रहर्ष राज्य शासनले आफ्नो उद्देश्य पूरा गरिसकेको हुनेछ; त्यसपछि यहोवा र मानिसजातिबीच सहायक सरकारको खाँचो पर्नेछैन। पाप र मृत्यु पूरै हटाएर मानिसजातिले छुटकारा पाइसकेपछि उद्धारकको रूपमा येशूको आवश्यकता पर्नेछैन। बाइबल यस्तो वर्णन गर्छ: “जब सबै कुरा उहाँको अधीनमा भएका हुन्छन्, तब परमेश्वर सबैमा सर्वश्रेष्ठ हुनालाई, सबै कुरा उहाँको अधीनमा ल्याउनुहुने पुत्र पनि उहाँको अधीनमा हुनुहुनेछ।”—१ कोरिन्थी १५:२८.
१४. सिद्ध पारिएका मानिसहरूले के सामना गर्नुपर्नेछ र किन?
१४ यसपछि, सिद्ध तुल्याइएका मानिसजातिले एक मात्र साँचो परमेश्वरको सधैंभरि उपासना गर्ने छनौट गरेको देखाउने मौका पाउनेछन्। यसर्थ, तिनीहरूलाई आफ्ना सन्तानको हैसियतमा पूर्णतया स्वीकार्नुअघि उहाँले ती सिद्ध मानिसहरूको अन्तिम परीक्षा गर्नुहुनेछ। शैतान र त्यसका प्रेतहरू अगाध खाँदबाट निकालिनेछन्। यहोवालाई साँच्चै प्रेम गर्नेहरूलाई यसले कुनै स्थायी नोक्सानी पुऱ्याउनेछैन। तर विश्वासघाती भई यहोवाप्रति अनाज्ञाकारी हुनेहरू सदाको लागि सर्वनाश गरिनेछन् अनि त्यस सँगसँगै सुरुको विद्रोही र त्यसका प्रेतहरू पनि नाश हुनेछन्।—प्रकाश २०:७-१०.
१५. यहोवाका सबै बुद्धिमान् सृष्टिमाझ कस्तो अवस्था पुनः कायम हुनेछ?
१५ त्यसपछि अन्तिम परीक्षाको बेला उहाँको सार्वभौमिकता उच्च पार्ने सिद्ध मानवहरूलाई परमेश्वरले आफ्नो सन्तानको रूपमा स्वीकार्नुहुनेछ। त्यसबेलादेखि परमेश्वरको विश्वव्यापी परिवारको हैसियतमा उहाँका सन्तानहरूले महिमित स्वतन्त्रताको पूरा उपभोग गर्नेछन्। स्वर्ग र पृथ्वीका सबै बुद्धिमान् सृष्टि, उहाँलाई एक मात्र साँचो परमेश्वरको हैसितयमा उपासना गर्न पुनः एकताबद्ध हुनेछन्। यहोवाको उद्देश्यले महिमित सफलता हासिल गर्नेछ! के तपाईं त्यो आनन्दित, अनन्तकालीन, विश्वव्यापी परिवारको भाग हुन चाहनुहुन्छ? चाहनुहुन्छ भने, हामी तपाईंलाई बाइबलले १ यूहन्ना २:१७ मा दिएको यो सल्लाह मनमा राख्न प्रोत्साहन दिन्छौं: “संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।”
पुनरावृत्ति छलफल
• अदनमा विद्रोह हुनुअघि यहोवाका सबै उपासकहरूको उहाँसित कस्तो सम्बन्ध थियो?
• परमेश्वरका सेवकहरूको काँधमा कस्तो जिम्मेवारी छ?
• भविष्यमा अझै को-को परमेश्वरका सन्तान हुनेछन् अनि यो उपासनामा एकताबद्ध हुने यहोवाको उद्देश्यसित कसरी सम्बन्धित छ?
[पृष्ठ १९०-मा भएको चित्र]
आज्ञाकारी मानवहरूले विश्वव्यापी प्रमोदवनमा जीवनको आनन्द उठाउनेछन्