प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • सच्चाइभन्दा उत्तम अरू केही छैन
    प्रहरीधरहरा—१९९८ | जनवरी १
    • सच्चाइभन्दा उत्तम अरू केही छैन

      जि. एन. भान डेर बेलको वृतान्तमा आधारित

      जून १९४१ मा मलाई गेस्तापोसमक्ष लगे र जर्मनीस्थित बर्लिन नजिकको शाक्सनहाउसेन यातना शिविरमा पठाए। अप्रिल १९४५ को कुख्यात मृत्यु यात्रा नभएसम्म म त्यहाँ कैदी न. ३८१९० भएर रहें। तर ती घटनाहरूको बेलीबिस्तार लगाउनुअघि, म कसरी कैदी बनें त्यो बताउँछु है।

      प्रथम विश्‍वयुद्ध सुरु भएको केही दिनपछि १९१४ मा नेदरल्याण्डस्थित रोटर्ड्‌याममा मेरो जन्म भएको थियो। बुबा रेलवे कर्मचारी हुनुहुन्थ्यो र हाम्रो सानो डेरा रेलको बाटो नजिकै थियो। सन्‌ १९१८ मा युद्धविराम हुन थाल्दा बिरामी बोक्ने थुप्रै रेलहरू चर्को आवाज निकाल्दै सुइँकिएको देख्थें। पक्कै पनि ती रेलहरूमा युद्धभूमिबाट घरतर्फ लगिरहेका घाइते सिपाहीहरू भरिएका हुन्थे।

      जागिर खाने विचारले १२ वर्षको उमेरमा मैले स्कूल छोडें। आठ वर्षपछि यात्रुवाहक जहाजमा परिचारकको जागिर खान थालें। अनि त्यसपछि चार वर्षसम्म नेदरल्याण्ड र संयुक्‍त राज्यबीच चल्ने जहाजमा जागिर खाएँ।

      सन्‌ १९३९ को ग्रीष्म ऋतुमा न्यु योर्क बन्दरगाह पुगेपछि अर्को विश्‍वयुद्ध मच्चियो। त्यसैले हाम्रै जहाजमा आएका एक जना पुरुषले धार्मिक सरकारबारे चर्चा गरिएको सरकार (अंग्रेजी) नामक पुस्तक दिंदा मैले खुशीसाथ स्वीकारें। रोटर्ड्‌याम फर्केपछि अन्तै जागिर खोज्न थालें किनकि समुद्री जीवन त्यति सुरक्षित थिएन। सेप्टेम्बर १ मा जर्मनीले पोल्याण्डमाथि आक्रमण गऱ्‍यो र विभिन्‍न राष्ट्रहरू दोस्रो विश्‍वयुद्धमा मुछिए।

      बाइबल सच्चाइ सिक्ने

      मार्च १९४०, आइतबार बिहानै आफ्नो विवाहित दाइसँग भेटघाट गर्न गएथें। त्यति नै बेला यहोवाको एक जना साक्षीले ढोकाको घण्टी बजाए। मैले सरकार (अंग्रेजी) पुस्तक लिइसकेको छु भनें। अनि स्वर्ग के हो र त्यहाँ को जान्छन्‌ त भन्‍ने प्रश्‍न गरें। मैले यत्ति स्पष्ट तथा घतलाग्दो जवाफ पाएँ कि मनमनै भनें, ‘सच्चाइ यही हो।’ तिनलाई आफ्नो ठेगाना दिएँ र मलाई घरैमा भेट्‌ने अनुरोध गरें।

      जम्मा तीन चोटि भेटेर बाइबलबारे विस्तृत छलफल गरेपश्‍चात्‌ उक्‍त साक्षीसँग घर-घरको प्रचारकार्यमा भाग लिन थालिहालें। क्षेत्रमा पुगेपछि प्रचार थाल्ने ठाउँ उहाँले देखाउनुहुन्थ्यो, त्यसपछि एक्लै प्रचार गर्थें। त्यतिखेर नयाँ व्यक्‍तिहरूलाई त्यसरी नै प्रचार गर्न सिकाइन्थ्यो। सडकबाट नदेखिने गरी साहित्य प्रस्तुत गर्नु भन्‍ने सल्लाह पाएकोले सधैं घरभित्र पसेर मात्र प्रस्तुत गर्थें। युद्धको सुरुतिर निकै चनाखो हुनुपर्थ्यो।

      तीन महिनापछि मे १०, १९४० मा जर्मन सेनाले नेदरल्याण्डमाथि आक्रमण गऱ्‍यो। अनि मे २९ मा रिक कमिश्‍नर जिसिकभार्टले यहोवाका साक्षीहरूको संगठनमाथि प्रतिबन्ध लगाइएको घोषणा गरे। हामी स-साना समूहमा मात्र भेला हुन्थ्यौं र भेला हुने ठाउँहरूको सुइँको नपाओस्‌ भनेर साह्रै होसियार हुन्थ्यौं। विशेषगरि परिभ्रमण निरीक्षकहरूको भ्रमणले हामीलाई निकै सुदृढ पार्थ्यो।

      म असाध्यै धुम्रपान गर्थें। एक दिन मसँग अध्ययन गर्ने साक्षीलाई चुरोट दिएको त तिनी नपिउँदा रहेछन्‌। मैले भनें: “म त धुम्रपान छोड्‌न सक्दिनँ होला!” तथापि, केही दिनपछि सडकमा हिंड्‌दै गर्दा सोचें, ‘म यहोवाको साक्षी हुन चाहन्छु भने सकली साक्षी बन्‍नुपर्छ।’ अतः त्यसपछि कहिल्यै धुम्रपान गरिनँ।

      सत्यको पक्षमा खडा हुने

      जून १९४० अर्थात्‌ मेरो दाइको ढोकामा मैले साक्षीलाई भेटेको तीन महिना नबित्दै यहोवालाई आफ्नो समर्पणको प्रतीकात्मक रूप दिन बप्तिस्मा लिएँ। केही महिनापश्‍चात्‌, अक्टोबर १९४० देखि अग्रगामीको हैसियतमा पूर्ण-समय सेवा गर्न थालें। त्यतिखेर, मलाई अग्रगामीले ओढ्‌ने विशेष प्रकारको जाकेट दिइएको थियो। त्यसमा पुस्तक तथा पुस्तिकाहरू बोक्न थुप्रै खल्तीहरू हुन्थे र त्यसलाई कोटभित्र लगाउन मिल्थ्यो।

      जर्मनी कब्जाको सुरुदेखि नै यहोवाका साक्षीहरूलाई सिलसिलेवार ढंगमा खेदो गरेर पक्रियो। फेब्रुअरी १९४१ को एक बिहान, केही साक्षीहरूसँग क्षेत्र सेवकाईमा थिएँ। उनीहरू एकपट्टिको घरमा मानिसहरूसँग कुराकानी गर्दा, म उनीहरूको नजिकै अर्कोतिर प्रचार गर्थें। अलिबेरपछि, उनीहरूले किन बियाँलो गरेका होलान्‌ भनी हेर्न गएको त एउटा व्यक्‍तिसँग भेट भयो। उसले सोध्यो, “तिमीसँग पनि यस्ता स-साना पुस्तकहरू छन्‌ कि?”

      “छ नि,” मैले भनें। त्यति मात्र के भनेथें मलाई गिरफ्तार गरेर प्रहरी चौकी लग्यो। चार हप्तासम्म हिरासतमा कोच्चिएँ। धेरैजसो अफिसरहरू मित्रैलो थिए। गेस्तापोकहाँ पुऱ्‍याइएको छैन भने अबदेखि बाइबल साहित्य वितरण गर्दिनँ भनेर लिखित घोषणापत्रमा हस्ताक्षर गरे छुटकारा पाउन सकिन्थ्यो। मलाई त्यस्तो घोषणापत्रमा हस्ताक्षर गर्न लगाउँदा मैले यसो भन्दिएँ: “तपाईंहरूले एक लाख वा २० लाखै गुल्डेन दिनुभए पनि म हस्ताक्षर गर्दै गर्दिनँ।”

      केही समयपछि मलाई गेस्तापोसमक्ष लगे। तत्पश्‍चात्‌ जर्मनीस्थित शाक्सनहाउसेन यातना शिविरमा लगे।

      शाक्सनहाउसेनमा जीवन

      जून १९४१ मा म शाक्सनहाउसेनमा पुग्दा त्यहाँ १५० जना साक्षीहरू थुनामा परिसकेका थिए। तिनीहरूमध्ये प्रायः जर्मनहरू थिए। हामी नयाँ कैदीहरूलाई पृथक्करण भनिने शिविरमा हाले। त्यहाँ मसीही भाइहरूले हाम्रो खूब ख्याल गरे अनि हामीले भोग्नुपर्ने परिस्थितिसँग जुझ्न सुदृढ बनाए। एक हप्तापछि नेदरल्याण्डबाट साक्षीहरूको अर्को समूह आयो। सर्वप्रथम हामी सबैलाई बिहान सात बजेदेखि साँझ छ बजेसम्म ब्यारेकअघि एकै ठाउँमा उभिन लगाए। कहिलेकाहीं त हप्तैभरि वा त्योभन्दा बढीसम्म कैदीहरू त्यसरी उभिनुपर्थ्यो।

      कठोर व्यवहारको बावजूद पनि संगठित रहने र आध्यात्मिक आहार लिनुपर्ने आवश्‍यकता भाइहरूले बुझे। दिनैपिच्छे बाइबलको कुनै एउटा पदको विचार बताउने कार्यभार एक जनालाई दिइन्थ्यो। पछि, शिविरको प्रांगणमा भेला हुँदा साक्षीहरूले पालैसँग उक्‍त व्यक्‍तिलाई भेट्‌नुपर्थ्यो र तिनले तयारी गरेका कुरा सुन्‍नुपर्थ्यो। कुनै न कुनै उपायद्वारा, लुकीछिपी साहित्यहरू शिविरमा ल्याइन्थ्यो। अनि आइतबारैपिच्छे भेला भएर ती बाइबल साहित्यहरू अध्ययन गर्थ्यौं।

      जसोतसो गरेर एक प्रति केटाकेटी (अंग्रेजी) पुस्तक शाक्सनहाउसेनमा सुटुक्कै भित्र्यायौं। सन्‌ १९४१ को ग्रीष्म ऋतुमा संयुक्‍त राज्यको सेन्ट लुइसमा सम्पन्‍न भएको अधिवेशनमा उक्‍त पुस्तक विमोचन भएको थियो। अरूले थाह पाएर नष्ट नगरोस्‌ भन्‍नाखातिर त्यस पुस्तकलाई उधाऱ्‍यौं र सबैले पालैसँग पढ्‌न भाग भाग गरेर भाइहरूबीच बाँड्यौं।

      केही समयपछि, हाम्रो सभाहरूबारे शिविरका व्यवस्थापन पक्षले सुइँको पाएछन्‌। अतः साक्षीहरूलाई अलग अलग गरेर विभिन्‍न ब्यारेकहरूमा राखे। त्यसो गर्दा हामीले अन्य कैदीहरूलाई प्रचार गर्ने सर्वोत्तम मौका पायौं। फलस्वरूप, थुप्रै पोलिस, युक्रेनी तथा अरूले सच्चाइ स्वीकारे।

      नाजीहरूले बिबेलफोर्शर अर्थात्‌ यहोवाका साक्षीहरूको निष्ठा भंग गर्ने वा हत्या गर्ने खुल्लमखुल्ला धम्की दिए। फलस्वरूप, हामीले घोर सतावट सहनुपऱ्‍यो। आफ्नो विश्‍वास तिरस्कार गरेको लिखित घोषणापत्रमा हस्ताक्षर गरे वापत छुटकारा मिल्नेछ भनी बताइयो। केही भाइहरू त तर्क गर्न थाले, “फुक्का भएँ भने यहोवाको अझ बढी सेवा गर्न सक्नेछु।” कोही कोहीले त्यस्तो घोषणापत्र हस्ताक्षर गरे तापनि अभाव, अपमान र कुव्यवहारको बावजूद थुप्रै भाइहरूको विश्‍वास डगमगिएन। त्यसरी सम्झौता गर्ने कुनै कुनै भाइहरूको त पछि अत्तोपत्तोसमेत पाइएन। तथापि, खुशीको कुरा अरू चाहिं पुनः सच्चाइमा फर्के अनि हालसम्म सक्रिय साक्षीहरू छन्‌।

      कैदीहरूले क्रूर शारीरिक यातना पाएको दृश्‍य हामीलाई बलजफ्ती हेर्न लगाइन्थ्यो। जस्तै, डण्डाले २५ पटक हिर्काएको। एक चोटि त चार जनालाई झुण्डाएर प्राणदण्ड दिएको देखाइयो। ती अनुभवहरूले हृदयमा अमेट छाप पार्छन्‌। ब्यारेकमा मसँगै बस्ने अग्लो र सुन्दर भाइले मलाई यसो भने: “यहाँ आउनअघि त रगत देख्नेबित्तिकै म मूर्छा पर्थें। तर अब त कठोर भएको छु।” हामी कठोर भयौं तर भावशून्य चाहिं भएनौं। भन्‍ने हो भने हामीलाई सताउनेहरूप्रति मैले पटक्कै द्वेष राखिनँ न ता तिनीहरूलाई घृणा नै गरें।

      कमान्डो-सँग (कामदार) केही समयसम्म काम गरेपछि तीव्र ज्वरोले थलिएर मलाई अस्पताल भर्ना गरियो। नर्वेको दयालु डाक्टर र चेकोस्लाभाकियाको नर्सले मेरो असाध्यै राम्रो हेरविचार गरे। सायद तिनीहरूकै दयाले म बच्न सकें।

      मृत्यु यात्रा

      अप्रिल १९४५ तिर जर्मनीले युद्ध हार्न थाल्यो। पश्‍चिमी मित्र राष्ट्रहरू पश्‍चिमबाट पेल्दै अघि बढिरहेका थिए भने पूर्वबाट सोभियत। यातना शिविरका हजारौं मानिसहरूको हत्या गरेर सबै लासहरूलाई दुइ चार दिनभित्रै थन्को लगाउनु नाजीहरूका निम्ति सम्भव थिएन। अतः तिनीहरूले बिरामीहरू जतिलाई मार्ने र अरू कैदीहरूलाई चाहिं नजिकैको बन्दरगाहमा लग्ने फैसला गरे। त्यहाँ कैदीहरूलाई जहाजहरूमा कोचेर जहाजलाई समुद्रमा डुबाउने तिनीहरूको योजना थियो।

      अप्रिल २० को राति शाक्सनहाउसेनदेखि सालाखाला २६,००० कैदीहरूको यात्रा सुरु भयो। शिविरबाट हिंड्‌नअघि चिकित्सालयबाट हाम्रा बिरामी भाइहरू ल्याइयो। उनीहरूलाई लैजान एउटा गाडा तयार पारियो। छ देशहरूका जम्माजम्मी २३० जना साक्षीहरू थियौं। हामीहरूमध्ये भाइ आर्तर भिङक्लेर बिरामी हुनुहुन्थ्यो। उहाँले नेदरल्याण्डमा क्रियाकलाप विस्तार गर्न ठूलो योगदान पुऱ्‍याउनुभएको थियो। यात्रा गर्दा हामी साक्षीहरू सबैभन्दा पछाडि पऱ्‍यौं र जसोतसो हिंडिरहन एकअर्कालाई हौसला दिइरहन्थ्यौं।

      यात्रा सुरु गरेदेखि ३६ घण्टासम्म त नबिसाई हिंडेको हिंडेकै गऱ्‍यौं। खपी नसक्नु वेदना र थकाइले गर्दा हिंड्‌दा हिंड्‌दै म उङ्‌न थाल्थें। तर पछि पर्ने वा बिसाउने त सवालै थिएन किनकि सुरक्षाकर्मीहरूले गोली ठोक्लान्‌ भन्‍ने डर थियो। राति खुला मैदान वा जंगलमा सुत्थ्यौं। खाने कुरा अलिअलि पाउँथ्यौं वा पाउँदै पाउँदैनथ्यौं। अचाक्ली भोक लाग्दा म स्वीडेली रेड क्रसले दिएको दन्तमञ्जन चाट्‌थें।

      जर्मन सुरक्षाकर्मीहरूलाई रूसी तथा अमेरिकी फौजको पत्तो नभएकोले जंगलमा एक ठाउँ पाल टाँगेर चार दिनसम्म बस्यौं। यसमा त परमेश्‍वरकै हात हुनुपर्छ। किनकि हामी समयमा लुबेक खाडी पुग्न सकेनौं र हामीलाई पानीमा डुबाउने जहाज चढ्‌न परेन। अन्ततः १२ दिनसम्म २०० किलोमिटर जति यात्रा गरेपछि क्रिभिट्‌स वुड पुग्यौं। यो ठाउँ लुबेकदेखि लगभग ५० किलोमिटर टाढामा रहेको स्फारेन शहर नजिकै पर्छ।

      हाम्रो दायाँतिर सोभियतियालीहरू थिए, बायाँतिर अमेरिकीहरू। बडेमानका बन्दूकहरू पढ्‌केको चर्को आवाज र राइफलका गोली लगातार चलेको सुन्दा युद्ध मोर्चा नजिकै पुगेछौं भन्‍ने थाह भयो। जर्मन सुरक्षाकर्मीहरू साह्रै हड्‌बढाए; कतिले त सुइँकुच्चा ठोके। अरूले चाहिं आफूलाई नचिनोस्‌ भनी बर्दी फुकालेर मृतकहरूको कैदी पोशाक लगाए। रनभुल्लमा परेको हुनाले डोऱ्‍याइको लागि प्रार्थना गर्न हामी साक्षीहरू एकत्रित भयौं।

      अगुवाइ लिने भाइहरूले भोलि झिसमिसे उज्यालोमै बाटो लागेर अमेरिकी सैनीकहरूतर्फ जानुपर्छ भन्‍ने निर्णय गरे। मृत्यु यात्रा गर्ने झन्डै आधा जति कैदीहरूको मृत्यु भइसकेका वा यात्राको दौडान हत्या गरिएका भए तापनि सबै साक्षीहरू बचे।

      निम्भागेन शहर जान मैले क्यानाडाको सैनिक गाडी पाएँ। निम्भागेनमा मेरी दिदी हुनुहुन्थ्यो। तर त्यहाँ पुगेर पो उहाँ त बसाइँ सरिसक्नुभएछ भनेर थाह भयो। त्यसकारण, रटर्ड्‌यामतर्फ बाटो तताएँ। खुशीको कुरा, बाटोमा हिंड्‌दै गर्दा एउटा निजी गाडी चढ्‌न पाएँ र त्यसले सिधै गन्तव्यस्थानमा पुऱ्‍याइदियो।

      सच्चाइ नै मेरो जीवन भएको छ

      रटर्ड्‌याममा पाइला टेकेकै दिन अग्रगामी सेवाको लागि पुनः आवेदन भरें। तीन हप्तापछि त आफ्नो कार्यभार सँभाल्न जटफेन शहर पुगिसकेको थिएँ। त्यहाँ डेढ वर्ष सेवा गरें। त्यसताक शारीरिक तवरमा पुनः सुगठित भएँ। तत्पश्‍चात्‌ क्षेत्रीय निरीक्षक अर्थात्‌ परिभ्रमण सेवक नियुक्‍त भएँ। केही महिनापछि वाचटावर बाइबल स्कूल अफ गिलियडको लागि साउथ लान्सिङ, न्यू योर्कमा उपस्थित हुने निमन्त्रणा पाएँ। फेब्रुअरी १९४९ मा उक्‍त स्कूलको १२ औं कक्षामा स्नातक गरेपछि बेल्जियममा सेवा गर्न खट्टिएँ।

      मैले बेल्जियममा थरीथरीका सेवा गरें। शाखा कार्यालयमा पूरा आठ वर्ष अनि दुवै क्षेत्रीय निरीक्षक र जिल्ला निरीक्षकको हैसियतमा दशकौंसम्म सेवा गरें। सन्‌ १९५८ मा जस्टिनसँग विवाह गरें र तिनी मेरो परिभ्रमण साथी भएकी छिन्‌। अहिले धेरै उमेर खाइसके पनि बेला बेलामा परिभ्रमण निरीक्षकको हैसियतमा बलबर्कतले भ्याएसम्म सेवा गर्न पाएकोमा म आनन्दित छु।

      विगतका सेवकाईलाई सम्झिंदा म साँच्चै भन्‍नसक्छु: “सच्चाइभन्दा उत्तम अरू केही छैन।” निस्सन्देह, यो सधैं सजिलो त भएन। आफ्ना गल्तीहरू तथा कमजोरीहरूबाट सिक्नुपर्छ भन्‍ने मैले बुझेको छु। त्यसकारण, जवानहरूसँग कुरा गर्दा तिनीहरूलाई अक्सर यसो भन्‍ने गर्छु: “तपाईंहरूबाट पनि गल्तीहरू र गम्भीर पापहरूसमेत हुनसक्छन्‌। तर ढाँटेर त्यसलाई ढाकछोप नगर्नुहोस्‌। त्यसबारे आफ्नो आमाबाबुसँग वा कुनै प्राचीनसँग कुरा गर्नुहोस्‌। त्यसपछि आवश्‍यक सुधार गर्नुहोस्‌।”

      बेल्जियममा ५० वर्ष पूर्ण-समय सेवकाई गर्दा मैले देखेका स-साना बच्चाहरूले अहिले प्राचीनहरू र क्षेत्रीय निरीक्षकहरूको हैसियतमा सेवा गरेको पनि देख्ने सुअवसर पाएको छु। अनि देशभरिका १,७०० राज्य उद्‌घोषकहरू वृद्धि भएर २७,००० पुगेको पनि देखेको छु।

      म आफैलाई सोध्छु, “के यहोवाको सेवामा जीवन बिताउनुभन्दा अरू कुनै राम्रो कुरा होला र?” त्यस्तो कुरा पहिले पनि थिएन, अहिले पनि छैन र पछि पनि हुनेछैन। यहोवालाई सधैंभरि सेवा गरिरहन मेरी पत्नी र मलाई उहाँको डोऱ्‍याइ अनि आशिष्‌ रहिरहोस्‌ भनेर म प्रार्थना गर्छु।

      [पृष्ठ २६-मा भएको चित्र]

      सन्‌ १९५८ मा विवाह भएको केही समयपछि मेरी पत्नीसँग

  • “सबै देशका मानिसहरूलाई चेला बनाओ”
    प्रहरीधरहरा—१९९८ | जनवरी १
    • “सबै देशका मानिसहरूलाई चेला बनाओ”

      “यसकारण, गएर सबै देशका मानिसहरूलाई चेला बनाओ र पिता, पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ।” मत्ती २८:१९ मा येशूले दिनुभएको यो आज्ञालाई पवित्र धर्मशास्त्रको नयाँ विश्‍व अनुवाद-मा (अंग्रेजी) त्यसरी अनुवाद गरिएको छ। तथापि, उक्‍त अनुवादको आलोचना गरिएको छ। उदाहरणका लागि, एउटा धार्मिक समूहले निकालेको पर्ची यस्तो दाबी गर्छ: “हिब्रू पदबाट गर्न सकिने एउटै सही अनुवाद हो: ‘सबै देशका जातिहरूलाई चेला बनाओ!’ ” के यो सही हो त?

      “सबै देशका जातिहरूलाई चेला बनाओ” भन्‍ने अनुवाद थुप्रै बाइबल अनुवादहरूमा पाइन्छ र यो हिब्रू भाषाको शाब्दिक अनुवाद हो। त्यसो भए “सबै देशका मानिसहरूलाई चेला बनाओ . . . तिनीहरूलाई बप्तिस्मा देओ” भन्‍ने अनुवादको आधार के छ त? यसको प्रसंग। “तिनीहरूलाई बप्तिस्मा देओ” भन्‍ने अभिव्यक्‍तिले स्पष्टतया व्यक्‍तिविशेषलाई औंल्याउँछ, जातिहरूलाई होइन। जर्मन शास्त्रविद्‌ हान्स ब्रन्स यसो भन्छन्‌: “ ‘तिनीहरूलाई’ भन्‍ने [शब्दले] जातिहरूलाई नभएर (युनानी शब्दले स्पष्ट भिन्‍नता देखाउँछ) देशहरूका मानिसहरूलाई संकेत गर्छ।”

      यसबाहेक, येशूले दिनुभएको आज्ञा कसरी व्यवहारमा उतारियो, त्यो पनि विचार गर्नुपर्छ। पावल र बर्णाबासले एसिया माइनरको डर्बी शहरमा गरेको सेवकाईबारे हामी यस्तो लेखिएको पाउछौं: “तिनीहरूले त्यस शहरमा सुसमाचार प्रचार गरेर धेरै जनतालाई चेला बनाएर तिनीहरू फेरि लिस्त्रा, आइकोनियम हुँदै एन्टिओकमा फर्के।” (प्रेरित १४:२१) ध्यान दिनुहोस्‌, यहाँ पावल र बर्णाबासले डर्बी शहरलाई होइन तर डर्बी शहरका केही मानिसहरूलाई चेला बनाए।

      त्यसैगरि, सबै जातिहरूले होइन तर “हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड[ले]” परमेश्‍वरको सेवा गर्नेछ भनेर अन्तको समयबारे प्रकाशको पुस्तकले भविष्यवाणी गरेको छ। (प्रकाश ७:९) यसप्रकार, पवित्र धर्मशास्त्रको नयाँ विश्‍व अनुवाद ‘परमेश्‍वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्रको’ रूपमा भरपर्दो अनुवाद साबित भएको छ।—२ तिमोथी ३:१६.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने